रुपन्देहीको रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु

भैरहवा, २२ जेठ

रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस आज बिहान ४:३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले बताएको छ।

लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय क्षति भएको छ । बसमा ३२ जना सवार रहेका जिल्ला ट्राफिक प्रहरी प्रमुख केशब केसीले बताए । बस रुपन्देहीको रोहिणी गाउँपालिका-४ र ओमसतिया गाउँपालिका-४ को सीमामा रोहिणी नदीमा खसेको हो ।

घाइतेहरुको प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको छ । उनीहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

भैरहवा-परासी सडकखण्डमा पर्ने रोहिणी पुलबाट यसअघि पनि पटक-पटक गाडीहरू खोलामा खस्ने गरेका छन् । पुल घुम्तीमा रहेको कारण पनि चालकहरू झुक्किएर दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *