नारायणगढ–मुग्लिन दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या पाँच पुग्यो

चितवन, कात्तिक २३-
नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान ३ बजे बस र इलेक्ट्रिक माइक्रोबस आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका अनुसार माइक्रो बसका चालकको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको नामथर वतन अझै नखुलेको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङको मात्र पहिचान खुलेको छ। माइक्रो बस चालकसहित तीन पुरुष र एक महिलाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।

मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनापछि उपचारका लागि लगिएका उनीहरू सबैको मृत्यु भरतपुर अस्पतालमा भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

ज्यान गुमाउने र घाइते सबै माइक्रोबसका यात्रुहरू हुन् । बसमा सवार यात्रुहरुको अवस्था भने सामान्य नै रहेको र चालक घाइते भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *