Blog

  • सामाजिक समावेशीकरणलाई टेवा पुर्‍याउने महानगरको लक्ष्य : उपप्रमुख डंगोल

    सामाजिक समावेशीकरणलाई टेवा पुर्‍याउने महानगरको लक्ष्य : उपप्रमुख डंगोल

    काठमाडौँ , २९ असार ।
    काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेटका परिलक्षित उद्देश्य हासिल गर्न लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई टेवा पुग्ने कार्यक्रम मार्फत समतामूलक समाज निर्माण गर्ने विषयलाई प्राथमिकता दिने भएको छ ।

    स्थानीय भाषा, संस्कृति तथा सम्पदाहरूको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पु–याउने, बढ्दो बेरोजगार दरलाई न्यूनीकरण गर्न स्वदेशमै सीप तथा तालिम दिई स्वरोजगार बनाई बिदेसिने दर घटाउने जस्ता लक्ष्यहरू पनि लिएको छ ।

    ‘आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेटका परिलक्षित उद्देश्य हासिल गर्न उपलब्ध श्रोत, सूचना र मानव संसाधनको उच्चतम परिचालन गर्दै विकासको गतिलाई तीव्रता दिने, स्थानीय स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्ने जस्ता विषयलाई जोड दिने छौँ,’ महानगर उपप्रमुख सुनिता डङ्गोलले भनिन् , ‘सामाजिक, आर्थिक, भौतिक पूर्वाधार विकास मार्फत समुन्नत र समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा महानगरको आर्थिक गतिविधिहरू मार्फत योगदान, खाद्य गुणस्तरलाई प्राथमिकता दिई गुणस्तरीय वस्तु तथा सेवा जनतालाई उपलब्ध गराउने लक्ष्य लिएका छौँ ।’

    आगामी आर्थिक वर्षका लागि राजश्व असुलीलाई प्रभावकारी बनाउन व्यवसाय करमा नयाँ करदाता पहिचान गर्ने, करदाताहरूलाई व्यवसाय कारोबारस्थलमा नै गई समन्वय तथा सहजिकरण गर्ने कार्यलाई प्राथमिकतामा राख्ने पनि उनले उल्लेख गरिन् ।

    ‘अगामी आर्थिक वर्ष २०८२–०८३ मा करको दायरामा नआएका करदाताहरूलाई करको दायरामा ल्याउन पौष मसान्तसम्म कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिइएको छ । बहाल करलाई एकद्वार प्रणाली मार्फत सङ्कलन गर्न सङ्घीय सरकारसँग समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाइनेछ ।

    साथै कर प्रतिको अपनत्व र विश्वास अभिवृद्धि गर्न केही करका शीर्षकमा सिफारिस दस्तुर निःशुल्क गरिएको छ,’ उनले भनिन्, ‘कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञसहितको सरोकारवाला निकायसँग सहकार्य गर्ने कार्यक्रमहरू प्रस्ताव गरिएको छ । कारदातालाई वस्तुगत सङ्घहरूसँग आबद्ध गरी दायरा फराकिलो बनाउने सोच अधि सारिएको छ ।’

  • प्रधानमन्त्रीबाट हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन

    प्रधानमन्त्रीबाट हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन

    काठमाडौँ, असार २९-
    प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज(आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गर्नुभएको हो ।

    त्यस अवसरमा प्रधानमन्त्री ओलीले खेत नजिकै नदी भए पनि सिँचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने आह्वान गर्नुभयो । उहाँले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना काम गर्न स्थानीय तहलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस

  • जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्छः ज्ञानेन्द्र शाही

    जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्छः ज्ञानेन्द्र शाही

    काठमाडौं, असार २९-
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले भिजिट भिसाका नाममा निरन्तर मानवतस्करी भएको भन्दै छानविनका लागि संसदीय समिति गठन गर्न सरकार डराएको बताएका छन् ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उनले संसदीय समिति नभएसम्म आफूहरूको आन्दोलन जारी रहने जिकिर गरे । त्यस्तै शाहीले केही महिना अघि खानेपानीमन्त्रीले जुम्लामा रहेको संघीय खानेपानी कार्यालय खारेज नहुने प्रतिबद्धता जनाए पनि अहिले खारेज भएको भन्दै आपत्ति जनाए ।

    उनले जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्ने उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टीकी सुमना श्रेष्ठ र शाहीले धारणा राखेपछि दुई दलका सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । रासस

  • अभिनेता श्रीनिवास रावको निधन, ७५० भन्दा बढी फिल्ममा गरेका थिए काम

    अभिनेता श्रीनिवास रावको निधन, ७५० भन्दा बढी फिल्ममा गरेका थिए काम

    काठमाडौं :असार २९,
    वरिष्ठ तेलुगु अभिनेता कोटा श्रीनिवास रावको निधन भएको छ। राव विगत केही दिनदेखि उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए।

    बीबीसी तमिलका अनुसार रावले चार दशकभन्दा बढीको करियरमा ७५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्।

    श्रीनिवास रावले विभिन्न भाषाका चलचित्रमा काम गरेका छन्।

    तेलंगानाका मुख्यमन्त्री ए रेवन्त रेड्डी, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू, अभिनेताबाट राजनीतिज्ञ बनेका तथा आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण र अन्य नेताहरूले श्रीनिवास रावको निधनमा शोक व्यक्त गरेका छन्।

    पद्मश्री पुरस्कार विजेता श्रीनिवास राव पनि विधायक भइसकेका छन्।

  • बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

    बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

    काठमाडौँ , असार २९-
    चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ ।

    ल्हेन्दे खोलाको बाढीले केरूङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि सीमापारी तिब्बतर्फ जमेको पानी उपकरणका सहायताले खोल्न सुरु गरेको हो । स्थानीय सीमासुरक्षा अधिकारीका अनुसार ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुङ्गा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० भन्दा बढी कन्टेनर डुबेका छन् ।

    यही असार २३ गते केरूङबाट सामान लिइ फर्केका ती कन्टेनर समय अभावका कारण नेपालतर्फ प्रवेश गर्न नपाएपछि तिब्बतर्फ नै थन्किएका ती कन्टेनर सोही दिन राति आएको बाढीका कारण डुकानमा परेका हुन् । स्थानीय केरुङ खोलामाथिको राजमार्गमा लामबद्ध राखिएका कन्टेनरसहित आसपासमा रहेका केही घरसमेत डुबानमा परेको सीमासुरक्षा अधिकारीहरूले जनाएका छन् ।

    नेपाततर्फ रसुवा भन्सार कार्यालय हाताभित्र जाँचपास भएका तर चालक अभावका कारण काठमाडौँ लैजान नसकिएका ७० वटा विद्युतीय कार, सिनो कम्पनीको छ वटा ठूला ट्रक र चालु अवस्थामा रहेका २४ वटा नेपाली कन्टेनर बगाएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिनुभयो ।

    यसैगरी, क्षतिग्रस्त अवस्थामा रहेका केही सवारीसाधनलाई अहिले सुरक्षित स्थानमा सार्न लागेको उहाँले बताउनुभयो ।

    असार २४ गते एक्कासी आएको ल्हेन्दे खोलाको बाढीले छ जना चिनियाँ, तीन जना नेपाल प्रहरी र पाँच नेपाली कामदारलाई बगाएको रसुवागढीस्थित वरिष्ठ चिनियाँ प्राविधिक वाङले जानकारी दिनभयो ।

    यसैगरी, रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दु्रवप्रसाद अधिकारीका अनुसार एक चिनियाँ कम्पनीमा काम गर्नेसहित छ जना नेपाली सवारी चालकसमेत गरी जम्मा २० जनालाई बाढीले बगाएको छ ।

    त्यस्तै, बाढीले रसुवागढीस्थित सुक्खा बन्दरगाह निर्माणमा संलग्न तिब्बत फुली कन्स्ट्रक्सको टिफर एक, सिमेन्ट घोल्ने मिक्स्चर एक, स्काभेटर एक, रोलार एक र हाइलक्स जिप एकसमेत बगाएको छ । उहाँले भन्नुभयो, “खोलामा एक्कासी बाढी आए छ, नजिकै रहेका सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ जान भन्दै कराउन थाले, हामी अतालिएर भाग्यौँ, भाग्न नभ्याउने केही साथीलाई बाढीले बगायो, हामी भने उम्केर घट्टेखोलातर्फ पुगी ज्यान जोगाउन सफल भयौँ ।”

    यसैगरी गोसाइँकुण्ड गापा–२ का अध्यक्ष कामी छिरिङ तामाङले भन्नुभयो, “बाढी आएको सूचना पाउनासाथ भन्सार यार्डका मानिसको याद आयो । डिलमा बसेर उनीहरूलाई भाग भन्दै सतर्क गरायौँ । त्यसपछि जोखिममा रहेका आफ्ना वडावासीलाई सजक रहन अनुरोध ग¥यौँ, त्यै पनि अकल्पनीय बाढीका कारण ठूलो धनजनको क्षति हुनपुग्यो, यहाँ अहिले हामी दुःखको अवस्थमा छौँ ।”

    अध्यक्ष तामाङले समग्र क्षतिको यकीन विवरण तयार गरी बाढीपीडितलाई राहत दिन तथा काम विशेषले हाल केरुङमा रहेका नेपाली दाजुभाइलाई सकुशल घर फर्काउने वातावरण तयार गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

    स्थानीय पुरूषोत्तम पौडेलले ‘मानसरोवर–कैलाश’ दर्शन गरी फर्केका यात्रुलाई रसुवागढीस्थित मितेरी पुल बगाएपछि तातोपानी नाका हुँदै नपालतर्फ आउने व्यवस्था मिलाइएको बताउनुभयो । यसैगरी मानसरोवर कैलाश यात्रा सम्पन्न गरी नेपालतर्फ प्रवेश गरिसकेका यात्रुलाई भने यही असार २४ र २५ गते हेलिकप्टरमार्फत गन्तव्यस्थानतर्फ पु¥याइएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बद्ध सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा जुटेका र अशक्त एवं असहायको सहयोगमा तैनाथ रहेका छन् ।

    बाढीका कारण स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मका अधिकांश सडकखण्ड ध्वस्त भएपछि पूर्ण रुपमा सडक अवरुद्ध भई त्यसक्षेत्रको जनजीवन सुनसान रहेको छ । वडाअध्यक्ष तामाङका अनुसार अहिले रसुवागढी आसपासका क्षेत्रमा बाढीबाट पुगेको क्षतिको विवरण लिने काम सुरु भएको तथा स्थानीय बासिन्दा एवं कर्मचारी भयभित अवस्थामा रहेको अवस्था छ । रासस

     

  • पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएकामा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त गर्नुभएको छ ।

    पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएकामा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त गर्नुभएको छ ।

    काठमाडौँ, असार २९-
    राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले पत्रकारका रुपमा उहाँले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दै त्यो सधैँ स्मरणीय हुने बताउनुभएको छ । आज शोक सन्देश जारी गर्दै उहाँले निर्वाचन आयुक्तका रुपमा शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको कुशलतापूर्वक नेतृत्व गर्नुभएको स्मरण गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले स्वर्गीय शर्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । रासस

  • नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाटः सभामुख घिमिरे

    नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाटः सभामुख घिमिरे

    काठमाडौँ, असार २९-
    सभामुख देवराज घिमिरेले नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकवि भानुभक्त आचार्यबाट भएको बताउनुभएको छ ।

    भानुभक्तको २१२औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्त रुपमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भाषा, साहित्य र संस्कृतिमा क्षेत्रमा भानुभक्तले गरेको योगदानकै कारण विश्वभर फैलिएका नेपाली भाषीले उहाँको सम्मान गर्ने गरेको बताउनुभयो । नेपाली भाषालाई अझै विश्वस्तरमा लैजाने गरी काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो ।

    युवापुस्तामा भानुभक्तको विचार पु¥याउन अझै काम गर्नुपर्नेमा पनि सभामुख घिमिरेले जोड दिनुभएको थियो । साहित्यका माध्यमबाट देश निर्माणमा योगदान गर्नेको सम्मान हुने वातावरणले नै यसको विकास सहयोग पुग्ने उहाँको भनाइ थियो ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली भाषालाई आजको अवस्थासम्म ल्याउन भानुभक्तले गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । नेपाली संसारका विभिन्न भू–भागमा फैलिएसँगै नेपाली भाषाको पनि विस्तार भएको उहाँले सुनाउनुभयो । रामायणमार्फत नै भानुभक्तले नेपाली भाषालाई विश्वभर फैल्याएको मन्त्री पन्तको भनाइ थियो ।

    प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियतामा तनहुँमा विभिन्न भाषाभाषीका आदिकविको प्रतिमालगायत संरचना बनाउन लागिनु सुखद रहेको बताउनुभयो । प्रतिष्ठानले पनि विविध भाषाभाषीका प्रतिमा बनाउन लागेको जानकारी पनि उहाँले गराउनुभयो ।

    सम्मानित व्यक्तित्व साहित्यकार तुलसी दिवसले संस्कृति र साहित्यलाई केबल देखाउने रुपमा मात्र नलिइ सांस्कृतिक, साहित्यिक एवं भाषिक व्यक्तिलाई सम्मान गरिनुपर्ने बताउनुभयो । भाषा, साहित्यका लागि आफूले ९० देशमा निमन्त्रणा पाएर त्यहाँ पुगी विचार राखेको स्मरण गर्दै त्यसैका लागि सम्मान पाएको अनुभूति भएको सुनाउनुभयो । नेपाली भाषा, साहित्यमा उहाँले गर्नुभएको योगदानको स्मरण यस वर्षको भानु जयन्तीका अवसरमा अभिनन्दन गरिएको हो ।

    कार्यक्रममा साहित्यकार डा नवराज लम्साल, प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदी, भानु प्रतिष्ठानका पदाधिकारीलगायतले उहाँले नेपाली भाषा, साहित्य र सांस्कृतिक एकीकरणका लागि गर्नुभएको योगदान महत्वपूर्ण रहेकामा जोड दिनुभएको थियो । कार्यक्रमअघि रानीपोखरीस्थित भानु प्रतिमास्थलबाट सुरु भएको ¥याली प्रज्ञा प्रतिष्ठानको परिसरमा आएर समापन भएको थियो ।

    आदिकवि भानुभक्तको जन्म विसं १८७१ असार २९ मा भएको थियो भने निधन १९२५ असोज ६ मा भएको हो । भानुभक्तले संस्कृतमा लेखिएको अध्यात्म रामायणलाई नेपाली भाषामा अनुवाद गरी योगदान गर्नुभएको थियो । रासस

  • क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने

    क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने

    काठमाडौँ, असार २९-
    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताउनुभएको छ ।

    नेपालमा औषधि उपलब्ध नभएकाले उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटाउन अन्तरराष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो चरणको औषधि नेपाल ल्याइएको उहाँको भनाइ छ । यसअघि मन्त्री पौडेलले त्यस्ता औषधि प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने निर्णय गर्नुभएको थियो ।

    डाइरेक्ट रिलिफले वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा मन्त्री पौडेलले औषधि अभावमा विदेश गएर महङ्गो खर्च गनुपर्ने बिरामीको बाध्यता हटाउन लामो मेहनतपछि सफलता प्राप्त भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

    डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महङ्गा औषधी नेपालको आवश्यकताअनुसार पाँच वर्षसम्म सहयोग स्वरुप उपलब्ध गराउने मन्त्री पौडेलले जानकारी दिनुभयो ।

    “क्यान्सरको औषधि महङ्गो हुँदा विपन्न नागरिकलाई समस्या छ”, मन्त्री पौडेलले भन्नुभयो, “राज्यको लगानीबीना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं ।” हाल ३७ प्रकारका औषधि क्रमैसँग आउने भए पनि अन्य आवश्यक औषधि समेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलको भनाइ छ ।

    मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधी पठाउने व्यवस्था मिलाइएको समेत बताउनुभयो । मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसङ्ग निकाल्दै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसार गरेर सहयोग गरिदिन आग्रह गनुभयो ।

    मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा भीम सापकोटाले पाँच वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधि प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिनुभयो । वन हर्ट वर्ल्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले मन्त्री पौडेलको विशेष पहलबाट मात्र औषधि प्राप्त भएको उल्लेख गर्दै नेपालका लागि ठूलो उपलब्धि भएको बताउनुभयो ।

    स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र काठमाडौँस्थित वीर अस्पताललाई हस्तान्तरण गरिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । रासस

  • चितवनमा उत्पादित प्याजले बजार नपाएपछि….

    चितवनमा उत्पादित प्याजले बजार नपाएपछि….

    चितवन, असार २९ –
    उत्पादित प्याजले बजार नपाएपछि यहाँका किसानले स्थानीय प्रविधि प्रयोग गरी भण्डारण सुरु गरेका छन् ।

    भरतपुर महानगरपालिका–२७ का शिवकुमार महतोले सामाजिक सञ्जालमा देखेको प्रविधिको प्रयोग गरेर आफूले उत्पादन गरेको प्याजको भण्डारण गर्न थाल्नुभएको बताउनुभयो । उहाँले स्टिलको जालीको भकारी बनाएर टेबुल पङ्खाको सहायताले प्याजको भण्डारण गर्नुभएको हो । उहाँले भन्नुभयो, “मैले सामाजिक सञ्जालमा खोज्दा प्याज भण्डारण गर्नका लागि घरेलु उपाय भेटाएर यसरी भण्डारण गरेको हुँ ।”

    स्टिलको जाली मुनि पनि जाली बनाएर केही भाग खुला छाडेर खडाइको सहायताले प्याजलाई सुक्खा बनाएर राख्ने गरेको उहाँले बताउनुभयो । उहाँले प्याजलाई विगत तीन महिनादेखि यसैगरी भण्डारण गरेर राख्नुभएको छ । यसो गर्दा प्याजभित्रको तातो हावा बाहिर जाने र चिसो हावाले प्याजलाई बाफिन नदिने हुन्छ । जसका कारण प्याज कुहिने र टुसा पलाउने समस्या नहुने उहाँको बुझाइ छ ।

    प्याज उत्पादन हुने समयमा थोक मूल्य प्रतिकेजी रु २० परेपछि घाटामा बिक्री नगर्ने योजनासहित आफूले भण्डारणको उपाय अपनाएर काम गरेको उहाँले बताउनुभयो । उहाँले यसरी एक टन प्याज भण्डारण गरेर राख्नुभएको छ । यसलाई अहिले मूल्यमा सुधार आएपछि बजारमा पुर्याउन थालेको उहाँले बताउनुभयो । अहिले थोकमा प्रतिकेजी रु ५० भन्दा बढीपर्न थालेपछि प्याज बिक्री गर्न लागेको शिवकुमारले जानकारी दिनुभयो ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रमअन्तर्गत प्याज बिक्री नभएपछि महतोले भण्डारणको विधि र प्रविधि आफैँले खोजेर भण्डारण गर्नुभएको हो ।
    कार्यालयले चितवनको १० हेक्टर क्षेत्रफलमा व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रम आयोजना गरेको थियो । अधिकांशले कुहिने समस्या आएपछि सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका थिए ।

    एकाइका प्रमुख महेश रेग्मीका अनुसार कार्यक्रमअन्तर्गत १३५ टन प्याज उत्पादन भएको थियो । प्याज उत्पादन भएसँगै भण्डारणमा देखिएको समस्या यो विधिले समाधान गर्न सक्ने भएकाले आगामी वर्षको कार्यक्रममा यसलाई समावेश गरिएको उहाँले बताउनुभयो । यस कार्यक्रममा सहभागी किसानलाई भण्डारणका लागि यो विधिलाई प्रोत्साहन गर्ने योजनामा एकाइ रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रम लागू गरिएको ठाउँमा रेडक्रियोल र नासिक ५३ जातको प्याजलाई व्यावसायिक खेतीमा प्रयोग गरिएको थियो । रासस

  • ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्दै

    ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्दै

    काठमाडौँ,असार २९-
    युवाहरू रोजगारी तथा अध्ययनका लागि विदेशिँदा ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्ने टीकापुरका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

    छोराछोरी उच्च शिक्षा अध्ययन तथा वैदेशिक रोजगारीका लागि विदेशिँदा नेपालमा रहेका ज्येष्ठ नागरिक स्याहारमा समस्या बढ्न थालेको स्थानीय हिरासिंह विष्टले बताउनुभयो । “अब हामीले ज्येष्ठ नागरिक स्याहार केन्द्रहरू सुविधासम्पन्न बनाउनुपर्छ, हरेक घरका युवा विदेशिन थालेकाले हामीलाई पछि समस्या हुन्छ”, उहाँले भन्नुभयो, “सन्तानले रकम दिने तर समय दिन नसक्ने अवस्था आएकाले बुढेसकालमा वृद्ध सेवा समितिमा बस्न सकिन्छ, त्यसैले यहाँ धनीवर्गबाट लगानी हुनुपर्छ ।”

    टीकापुरस्थित वृद्ध सेवा समितिमा भएको छलफलमा बोल्ने वक्ताहरूले विगतमा जस्तो अब नेपाली आमाबुबाले छोराछोरीबाट राम्रो स्याहार पाउन कठिन हुनेमा चिन्ता गरेका छन् । टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन लुहार विकले ज्येष्ठ नागरिकका अनुभव युवाले लिनुपर्ने बताउनुभयो । वडाध्यक्ष विकले १२ कक्षापछि बालबालिका विदशिने क्रम बढेकाले ज्येष्ठ नागरिकको सीप, ज्ञान युवाले लिन नपाउने, ज्येष्ठ नागरिकले पनि स्याहार नपाउने समस्या देखिने चिन्ता बढेको बताउनुभयो ।

    वृद्ध सेवा समितिका अध्यक्ष बलबहादुर रावलले पछिको आश्रयस्थल आश्रम नै हुने लक्षण देखिएकाले सरकार र समाजमा हुनेखानेहरू मिलेर ज्येष्ठ नागरिक बस्ने आश्रयस्थल सुविधासम्पन्न बनाउनुपर्ने बताउनुभयो । “बुढेसकालमा घरमा बस्दा पनि मानिसलाई एक्लोपन हुन्छ”, उहाँले भन्नुभयो, “समूहमा बस्ने, ज्ञान, सीप बाँड्ने गरेमा एक्लोपन कम हुन्छ ।”

    समाजसेवी धनराज उपाध्यायले स्वर्गीय मोहनबहादुर रावलले सहयोग लिएर बनाएको वृद्ध सेवा समितिको भवन विस्तारमा थप्न पालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो । वृद्ध सेवा समितिका पूर्वअध्यक्ष तथा सल्लाहकार कण्ठराज गिरीले ज्येष्ठ नागरिकलाई सङ्गठित गर्ने र उनीहरूको अधिकारका लागि काम गर्न आवश्यक रहेको बताउनुभयो ।

    वृद्ध सेवा समितिले ज्येष्ठ नागरिक सम्मान, दिवा सेवा, सचेतना, अन्तरक्रियाजस्ता कार्यक्रम गर्ने गरेको छ । संस्थाले यस वर्ष ज्येष्ठ नागरिक सम्मान, अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस, माघमा ज्येष्ठ नागरिक महिलालाई खिचडी खुवाउने, ज्येष्ठ नागरिक जनचेतना कार्यक्रम, असहाय, ज्येष्ठ नागरिक महिलालाई कपडा वितरण, विद्यालय र क्याम्पसमा ज्येष्ठ नागरिकलाई लाग्ने रोग, अल्जाइमर्स, डिमेन्सिया र स्ट्रोक सम्बन्धमा जानकारी गराउनेजस्ता कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    त्यसैगरी, ज्येष्ठ नागरिक दसैँ मिलन कार्यक्रम, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारबाट अनुदान प्राप्त भएमा पूर्ववत् रूपमा सञ्चालन गरिएका कार्यक्रमलाई निरन्तरता दिने, ज्येष्ठ नागरिक तीर्थाटन कार्यक्रम, ज्येष्ठ नागरिक योगाभ्यास तथा प्रवचन, दिवा सेवा कार्यक्रमको निरन्तरता, मोहन प्रतिभा कोषबाट सम्मान कार्यक्रमजस्ता कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । रासस