Blog

  • म बिनाको एमाले हेर्नलाई २०/२५ वर्ष पर्खिनुपर्छ : प्रधानमन्त्री ओली

    म बिनाको एमाले हेर्नलाई २०/२५ वर्ष पर्खिनुपर्छ : प्रधानमन्त्री ओली

    झापा, असार ३० –
    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको नेतृत्व गर्न पार्टी सदस्यता नविकरण गरेर पार्टीको काममा सक्रिय रहेको बताएको केही दिनपछि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझ २०/२५ बर्ष पार्टीको नेतृत्वमा रहने बताएका छन्। आइतबार नेकपा एमाले झापाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अझै २०/२५ बर्ष पार्टीको नेतृत्वमा रहने दोहोर्‍याए।

    उनले यस्ता अभिव्यक्ति यस अघि दिँदै आएका थिए। तर आइतबारको अभिव्यक्ति भण्डारीको पार्टी अध्यक्ष बन्ने भन्ने अभिव्यक्ति आएको केही दिनपछि आएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘ओलीबिनाको एमाले अहिले कल्पना नगरे हुन्छ। ओलीबिनाको एमालेको कल्पना गरेको भए अझ २०/२५ बर्ष पर्खनुपर्छ।’ उनले पार्टीलाई विखण्डन गराउन एमाले भित्र केही प्रयास भइरहेको बताए। उनले भने, ‘२०/२५ बर्ष पर्ख न केपी ओलीबिनाको एमाले हेर्न पाइहालिन्छ नि। हतार गरेर हुँदैन।’ केपी ओली बिनाको एमाले हेर्न हतार गर्नेहरू आफैं अप्ठ्यारामा पर्ने उनको भनाइ थियो। उनले भने, ‘मूलाको बोट नछिप्पिँदै तान्नुभयो त्यान्द्रो मात्र आउँछ। छिप्पिन दिनुभयो भने मूला निकै बढेको हुन्छ। त्यसैले छिटो तान्ने प्रयास नगर्नुहोला।’

    ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर सङ्कल्पका साथ लाग्ने हो भने एमालेलाई कसैले हराउन नसक्ने दाबी गरे।

  • बढ्यो सुनको मुल्य आज कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुनको मुल्य आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ असार ३०
    नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो ।

    जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार उक्त सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

    यसैगरी चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

  • साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पास नभए आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनी

    साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पास नभए आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनी

    काठमाडौं   असार ३०, 
    नेपाल शिक्षक महासंघले साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पास नभए आन्दोलनमा जाने चेतावनी दिएको छ। महासंघले साउन २ गतेसम्म पर्खिने र त्यतिबेलासम्म पनि पास नभए पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जनाएको छ।

    महासंघले अहिले विद्यालय, विद्यार्थी, शिक्षक-कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी हुने सम्भावना क्रमशः कमजोर हुँदै गएको उल्लेख गरेको जनाएको छ। महासंघले सरकारले आफूसँग भएका विगतका सहमतिहरूलाई बेवास्ता गरी विद्यालय शिक्षा विधेयकमा शिक्षक-कर्मचारीमैत्री प्रावधानहरू समावेश गर्न नचाहेको आरोप लगाएको छ।

    ‘संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको फेरि एकपटक गम्भीर ध्यानाकर्षण गराउँछौं।’ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा हामी संवाद र छलफल छोडेर आन्दोलन तर्फ होमिने कुरा उद्घोष गर्दछौं। राज्यपक्षप्रतिको आकोश, निराशा र अविश्वासको जगमा उठ्ने यो आन्दोलनले ल्याउन सक्ने गम्भीर अवस्थाप्रति सचेत रहन सम्बन्धित पक्षसँग आग्रह गर्दै त्यसबाट उत्पन्न हुने असहज परिस्थिति र परिणामप्रति राज्यपक्ष नै जिम्मेवार हुने कुरा समेत प्रष्ट पार्न चाहन्छौं।’

    महासंघले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलिरहेका छलफल र निर्णयबाट विगतका सहमतिलाई बङ्ग्याउने, तोडमरोड गर्ने तथा आम शिक्षक-कर्मचारीको भावना विपरीतका प्रबन्धहरु अघि बढाउने प्रयत्न भएको दाबी गरेको छ। ‘आम शिक्षक-कर्मचारीको भावना तथा विद्यालय शिक्षाको आवश्यकताप्रति बेखबर रही उपसमितिबाट आएको निर्णय र प्रतिवेदन तथा त्यसपछि समितिमा चलिरहेको छलफल एवम् उठाइएका विषयवस्तु हेर्दा सम्बन्धित पक्षले चैत्र – बैशाखको गौरवशाली शिक्षक- कर्मचारी आन्दोलन र विगतका सहमति बिर्सिएको प्रतीत हुन्छ।’ विज्ञप्तिमा भनिएको छ, ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलिरहेका छलफल र निर्णयबाट विगतका सहमतीलाई बङ्ग्याउने, तोडमरोड गर्ने तथा आम शिक्षक-कर्मचारीको भावना, शिक्षण पेसाको मर्यादा र सबलीकरण विपरीतका प्रबन्धहरू अघि बढाउने प्रयत्न भएको छ। समितिमा जारी छलफल र सरोकारित मन्त्रालयको प्रस्तुति हेर्दा राज्यपक्ष ने शि. महासङ्घसँग भएका सहमति, देशको शैक्षिक आवश्यकता र समस्याको सम्बोधन गर्ने दिशातर्फ केन्द्रित हुनुभन्दा शासकीय दम्भ र शिक्षाकर्मीप्रतिको आग्रह एवम् हेपाहा प्रवृत्तिप्रति लिप्त रहेको देखिन्छ।’

    सरकार र शिक्षक महासंघबीच वैशाख १७ गते ९ बुँदे सहमति गर्दै १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो। तर, समय सीमा सकिएको १५ दिन बितिसक्दा पनि विधेयक समितिमै अड्किएको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिका सदस्य एक मत हुँदा पनि नेपाली कांग्रेस र सरकारका कारण विधेयक समितिबाट पारित हुन नसकेको आरोप लगाएका छन्।

     

  • विपद् प्रतिकार्यका लागि तयारी रहन रास्वपाको अपिल

    विपद् प्रतिकार्यका लागि तयारी रहन रास्वपाको अपिल

    काठमाडौँ असार ३०, 
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता कार्यकर्तासहित शुभेच्छुकहरूलाई मनसुनका बेला हुनसक्ने सम्भावित विपद्का घटनाको न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरू सक्रियतापूर्वक जुट्न विशेष अपिल गरेको छ ।

    पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

    मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्ने र यसबाट ठुलो जनधनको क्षति हुन सक्ने विगतका अनुभवले देखाएको तथा मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा सवैजना थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको रास्वपाले जनाएको छ ।

    ‘विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो । यही मर्मलाई आत्मसात् गर्दै, मनसुनको समयमा आउन सक्ने सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा यो विज्ञप्तिमार्फत विशेष आह्वान गर्दछौँ’, कार्यवाहक अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    रास्वपाले विपद्को घडीमा दलीय स्वार्थभन्दा माथि उठेर सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको भन्दै पार्टीका सबै सदस्यहरूलाई उच्च सतर्कता अपनाउँदै, मानवीय सेवाको उच्चतम भावनाका साथ सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ ।

  • कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल आषाढ ३० गते । सोमबार । ईश्वी सन् २०२५ जुलाई १४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । श्रावण कृष्णपक्ष । तिथि–चतुर्थी, ४६ घडी १४ पला, बेलुकी ११ बजेर ४८ मिनेट उप्रान्त पंचमी । नक्षत्र–धनिष्ठा, ५ घडी ४५ पला, बिहान ७ बजेर ३६ मिनेट उप्रान्त शतभिषा । योग–आयुष्मान, ३० घडी ५७ पला, बेलुकी ५ बजेर ४१ मिनेट उप्रान्त सौभाग्य । करण–बव, दिउसो १२ बजेर २८ मिनेट उप्रान्त बालव, बेलुकी ११ बजेर ४८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कुम्भ ।

    चितवनमा सूर्योदय बिहान ०५ बजेर १८ मिनेट । सूर्यास्त बेलुकी ७ बजेर ० मिनेट । दिनमान ३४ घडी १४ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेको छ । अनलाइन व्यापार तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    कर्मक्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । व्यापार तथा शेयर बजारको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोजगार पाइने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेको छ । तपाईँको शालीन स्वभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासिल गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । धनधान्य तथा सुखमा वृद्धि हुनेछ भने शेयर बजारबाट नाफा कमाउन सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । धेरै समय दिए मात्र व्यापार व्यवसायमा आम्दानी गर्न सकिनेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला । तर पनि शेयर बजारबाट भने नाफा कमाउन सकिनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबिच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दूरीको धार्मिक यात्रा हुनेछ । व्यापार तथा शेयर बजारबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    समय राम्रो रहेकोले सानो प्रयत्नले उपलब्धिमूलक काम गर्न सकिनेछ । व्यापार, उद्योग तथा वित्तीय बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । पारिवारिक माहौलमा फिल्म हेर्न तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । मावली पक्षको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम उच्च स्थानमा आउनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    शुभ तथा माङ्गलिक समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दूरीको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग, शेयर बजार तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममाको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । छोटो दूरीको यात्रा तय हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    आफन्त साथीभाइ तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रसन्न हुनेछ । व्यापार तथा शेयर बजारको लगानी फस्टाएर जानेछ । विशेष गरी होटल तथा रेस्टुरेन्टमा लगानी गर्नेहरूका लागी आजको दिन फलदायी रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेको छ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नी बिच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरू भन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी बढाई प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । तर पनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् । शेयर बजार तथा अनलाइन व्यापारबाट नाफा कमाउन सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • रुपन्देही उपनिर्वाचनको लागि राप्रपाबाट छ जनाको नाम सिफारिस

    रुपन्देही उपनिर्वाचनको लागि राप्रपाबाट छ जनाको नाम सिफारिस

    भैरहवा, २९ असार
    रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट छ जनाको नाम सिफारिस गरिएको छ ।

    राप्रपा जिल्ला कार्यसम्पादन समितिको आज बसेको बैठकले छ जनाको नाम सिफारिस गरेको प्रवक्ता दिलीपकुमार मल्लिकले बताउनुभयो ।

    सिफारिस हुनेहरूमा पार्टीको जिल्ला अध्यक्ष तथा पूर्वनगरप्रमुख सागर प्रताप राणा, केन्द्रीय सदस्य वसन्तविक्रम शाही, नगर सदस्य क्याप्टेन गौरव बोहरा, जिल्ला सदस्य ई प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा तथा जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलीपकुमार मल्लिक रहनुभएको छ ।

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असार मसान्तसम्म सम्भावित उम्मेदवारको नाम पठाउन जिल्ला कार्य समितिलाई निर्देशन दिएको थियो ।

    विसं २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा रुपन्देही–३ मा राप्रपाका दीपक बोहरा निर्वाचित हुनुभएको थियो । गत चैतमा बोहराको निधन भएपछि निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि उपनिर्वाचन तोकेको हो ।

  • गर्मीबाट छाला जोगाउन अपनाउनुहोस् यी पाँच घरेलु उपाय

    गर्मीबाट छाला जोगाउन अपनाउनुहोस् यी पाँच घरेलु उपाय

    गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम र प्रदूषणले छालामा धेरै नराम्रो असर गर्छ। जसका कारण छालाको रंग कालो देखिन थाल्छ। टेनिङले छालाको प्राकृतिक चमक पनि कम गर्छ। अनुहारमा नीरसताका कारण आत्मविश्वास पनि कम हुन थाल्छ। यस्तो अवस्थामा गर्मीमा छालाको हेरचाह गर्ने सही दिनचर्या पालना गर्नुहोस्।

    कतिपयले टेनिङको समस्याबाट बच्न ब्यूटी क्रिमको प्रयोग गर्छन तर यसमा पाइने केमिकलले छालालाई हानी पुर्‍याउँछ। छालाको टेनिङ हटाउन प्राकृतिक चीजहरू प्रयोग गर्न सक्नुहुन्छ। यसले छालामा कुनै नराम्रो असर पर्दैन । हामी तपाइलाई केही सरल टिप्सहरूका बारेमा जानकारी दिनेछौं ।

    कागतीको रस

    कागती एक प्राकृतिक ब्लीच हो र यसमा भिटामिन सी प्रचुर मात्रामा हुन्छ, जसले टोनिङ कम गर्न मद्दत गर्छ। कागतीको रसले छालाको सतहबाट मृत कोशिकाहरू हटाउँछ। गुलाब जलमा कागतीको रस मिसाएर टोनिङ भएको ठाउँमा लगाउन सक्नुहुन्छ। १० देखि १५ मिनेटपछि मनतातो पानीले अनुहार सफा गर्नुहोस्।

    एलोवेरा जेल

    एलोभेरा छालाको लागि धेरै लाभदायक छ। यसले छालालाई हाइड्रेट मात्र गर्दैन, टोनिङ पनि कम गर्छ। तपाईंले ताजा एलोवेरा जेल निकालेर छालामा १५-२० मिनेट लगाएर धुनुहोस्।

    दही र बेसार

    दही र बेसारको फेस प्याक छालाका लागि निकै फाइदाजनक हुन्छ दहीमा ल्याक्टिक एसिड हुन्छ, जसले छालालाई एक्सफोलिएट गर्छ र बेसारमा एन्टिअक्सिडेन्ट हुन्छ, जसले छालाको रंगलाई सुधार गर्छ। एक चम्चा दहीमा एक चिम्टी बेसार मिसाएर अनुहारमा लगाउनु होस् र १५–२० मिनेटपछि धुनुहोस् । यो प्याकले छालालाई टोनिङबाट राहत प्रदान गर्न मद्दत गर्नेछ।

    ओटमिल स्क्रब

    ओटमिल एक राम्रो स्क्रब हो, जसले छालालाई गहिरो सफा गर्छ। दूधमा मिसाएर पेस्ट बनाउनुहोस् र टोनिङ भएको ठाउँमा हल्का मसाज गर्नुहोस्। यसले टोनिङ मात्र कम गर्दैन, छालालाई मुलायम पनि बनाउँछ।

    टमाटर

    टमाटरमा लाइकोपीन हुन्छ, जसले छालालाई सूर्यको किरणबाट हुने क्षतिबाट बचाउँछ। टमाटरको रस छालामा लगाउनाले छालामा चमक आउँछ । यसले छालालाई निकै नरम र चम्किलो पनि बनाउँछ । (एजेन्सी)

  • बाढीले खोला थुनिएपछि बनेको तालको पानी खोल्न थालियो

    बाढीले खोला थुनिएपछि बनेको तालको पानी खोल्न थालियो

    रसुवा, २९ असारः 
    यही असार २४ गते बिहान ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरुङखोला खोल्ने कार्य अगाडि बढेको छ ।

    खोलामा पानीको बहाव ठूलो मात्रामा प्रवाह भइरहेका कारण चिनियाँ पक्षले शुक्रबारदेखि विस्तारै थुनिएको पानी खोल्न थालेको हो ।

    ल्हेन्दे खोलाको बाढीले केरुङतर्फबाट आएको खोलालाई रोकी रसुवागढीस्थित दुई खोला मिसिएको सङ्गमस्थलमा ढुङ्गा र ठूलाठूला काठदाउरा थुप्रिएर पानी थुनिन गई ताल बनेपछि त्यसलाई क्रमिक रूपमा खोल्न थालिएको हो । तत्पश्चात् चीनतर्फ पुरिएका ३० वटा नेपाली कन्टेनर झिक्ने प्रयास भइरहेको सीमा सुरक्षा अधिकारीले जनाएका छन् ।

    २३ गते केरुङमा सामान लोड गरी फर्केका ती कन्टेनर निर्धारित समयमा नेपाल पस्न नसक्दा गढीदेखि उत्तरतर्फको केरुङ खोलास्थित किनारको राजमार्गमा राखिएकामा ढुबानमा परेका थिए । नेपाली कन्टेनरका साथै खोलाको तटीय क्षेत्रमा रहेको चिनियाँ एक भवन पनि डुबेको बताइएको छ ।

    रसुवा भन्सार कार्यालय हाताभित्रबाट बाढीले बगाएका/डुबानमा परेका ७० वटा विद्युतीय कार, छवटा ठुला ट्रक, २४ वटा कन्टेनर र क्षतिग्रस्त केही सवारीसाधनलाई सुरक्षित स्थानमा सार्ने कार्य अगाडि बढाइएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

  • रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग

    रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग

    काठमाडौँ, २९ असारः  
    निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय गरेको छ ।

    आयोका अनुसार मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति निर्धारण गरिनेछ । उक्त मितिसम्म देशभरबाट सङ्कलित मतदाताको विवरणलाई अद्यावधिक प्रक्रियामा लगिने र सङ्कलित मतदाता विवरण साउन ४ गते आयोगको ‘वेबसाइट’मा प्रकाशन गरिने आयोगका प्रवक्ता एवं सहसचिव निता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

    आगामी साउन १५ देखि २२ गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन र कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिनसक्ने पनि आयोगले जनाएको छ ।

    यसैगरी, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएमा एक स्थानमा मात्र कायम गर्न निवेदन सङ्कलन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिनेलगायत कार्यहरू गर्ने गरी कार्यक्रम निर्धारण गरिएको पनि प्रवक्ता अर्यालले जानकारी दिनुभयो । यसरी मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी आगामी भदौ २५ गते अन्तिम मतदाता नामावली प्रकाशित हुने उहाँले बताउनुभयो ।

    मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन साउन १५ देखि २२ गतेसम्म त्रुटि सच्याउन अनलाइन प्रणालीबाट समेत निवेदन, सूचना, उजुरी दिन सकिने आयोगले जनाएको छ ।

  • काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड बराबरको बजेट ल्यायो

    काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड बराबरको बजेट ल्यायो

    काठमाडौँ, २९ असारः 
    आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु २५ अर्ब ७६ करोड ४३ लाख बराबरको बजेट ल्याएको छ ।

    महानगरका उपप्रमुख सुनिता डङ्गोलले आज काठमाडौँ महानगरपालिका नगरसभाको १७औँ अधिवेशनमा आगामी आर्थिक वर्षको विनियोजन पेस गर्नुभएको हो । “आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, कार्यालय सञ्चालन तथा प्रशासनिक, पूर्वाधार विकास, सामाजिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट सञ्चित कोषमा भार पर्ने खर्च रु २५ अर्ब ११ करोड ४३ लाख ११ हजार र जग्गा एकीकरण आयोजनाहरू तथा अन्य निकायबाट प्राप्त हुने कार्यक्रमका लागि खर्च रकम रु ६५ करोड सञ्चित कोषमा भार नपर्ने गरी कुल रु २५ अर्ब ७६ करोड ४३ लाख ११ बराबर विनियोजन गरिएको छ”, उपप्रमुख डङ्गोलले भन्नुभयो ।

    बजेटको स्रोतमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र बैङ्क मौज्दातबाट रु २० अर्ब १२ करोड ६४ लाख व्यहोरिने जनाइएको छ ।

    यसैगरी, नेपाल सरकार तथा प्रदेश सरकारबाट ससर्त तथा समानीकरण अनुदान र राजस्व बाँडफाँटबाट प्राप्त हुने रु चार अर्ब ९८ करोड ७९ लाख ४१ हजार बराबर रकमलाई पनि बजेटको स्रोतमा देखाइएको छ । आगामी आवका लागि राजस्व सङ्कलन प्रभावकारी बनाउन नयाँ करदाता पहिचान गर्ने, कारोबार हुने स्थलमा नै गएर समन्वय गर्नेलगायत नीति अवलम्बन गरिने जनाइएको छ ।

    महानगरले आगामी पुस मसान्तसम्म करको दायरामा आउने करदाताका लागि छुटको व्यवस्था पनि ल्याएको छ । यस्तै, महानगरले उठाउने बहाल करलाई एकद्वार प्रणालीमा आबद्ध गर्न सङ्घीय सरकारसँग समन्वय गरिने जनाइएको छ ।