Blog

  • च्याउले पनि एक अर्कामा कुराकानी गर्न सक्ने वैज्ञानिकको अनौठो खुलासा

    च्याउले पनि एक अर्कामा कुराकानी गर्न सक्ने वैज्ञानिकको अनौठो खुलासा

    एजेन्सी, चैत २५ –
    बेलायती वैज्ञानिकहरूले एउटा अनौठो तथ्य पत्ता लगाएका छन् । युनिभर्सिटी अफ द वेस्ट अफ इंगल्याण्डका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानबाट च्याउनले समेत एक अर्कामा कुराकानी गर्न सक्ने तथ्य पत्ता लागेको हो ।

    यतिमात्र होइन च्याउसँग ५० वटा शब्दको शब्दकोष पनि हुने दाबी वैज्ञानिकहरूको छ ।

    वास्तवमा यस्तो कुरा पत्याउनै गाह्रो लाग्दा र तर प्राध्यापक एन्ड्रयू एडमाट्ज्कीले विभिन्न ४ वटा च्याउका प्रजातिमा गरेको अनुसन्धानबाट यो पुष्टि भएको हो ।

    उनले च्याउका ४ प्रजातिको विद्युतीय क्रियाकलापका बारेमा अधययन गरेका थिए । ती चार प्रजातिमा एनोकी, स्प्लिट गिल, घोस्ट र क्याटरपिलर फंगी हुन् ।

    शोधकर्ताका अनुसार च्याउको विद्युतीय तरंग मानिसको भाषाजस्तै हुने गर्दछ । रोयल सोसाइटी ओपन साइन्समा प्रकाशित उक्त शोध प्रतिवेदन अनुसार च्याउको शब्दकोषमा कुल ५० शब्द हुन्छन् र तिनै शब्दको प्रयोग गरेर च्याउहरू आपसमा संवाद गर्दछन् ।

    वैज्ञानिकका अनुसार च्याउले एक आपसमा मौसम तथा आसन्न खतराहरूका बारेमा कुराकानी गर्दछन् । – एजेन्सी

  • सिँचाइ आयोजना सुरु भएको ३६ वर्षपछि कामको सुरुवात

    सिँचाइ आयोजना सुरु भएको ३६ वर्षपछि कामको सुरुवात

    हेमन्त केसी

    जाजरकोट, २६ चैत-
    जाजरकोटको पूर्वी क्षेत्रमा रहेका दुई ठूला आयोजना निर्माण कार्य सुरु भएको ३६ वर्षपछि कामको सुरुवात भएको छ । बारेकोट गाउँपालिका-४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजनाको २०४२ सालमा कामको सुरुवात भएको थियो । अर्को भेरी नगरपालिकाको भुरचौरमा रहेको भुरचौर सिँचाइ आयोजनाको निर्माणको लागि समितिले अध्ययन गरिरहेको छ ।

    भुरचौरको सिँचाइ योजना २०४३ सालमा सुरु भएर बीचमै अलपत्र परेको थियो । नायकबाडाको सिँचाइ आयोजना तत्कालीन वन सहायक मन्त्री दीपबहादुर सिंहको पालामा सुरु गरिएको भए पनि बीचमै काम रोकिएको थियो । यी दुवै आयोजना निर्माण गर्नका लागि पहल नहुँदा रोकिएको अवस्थामा रहेका थिए ।

    कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले माघ २३ गते पद बहाली गर्दा दुवै आयोजना निर्माणका लागि आयोजनाको अवस्था पत्ता लगाउन एक समिति गठन गर्न निर्देशन दिँदै कामको सुरुवात गरेका थिए । अध्ययन समितिले नायकबाडा सिँचाइ आयोजनाको काम गर्न सकिने निष्कर्ष निकालेको छ ।

    भुरचौर सिँचाइ आयोजना बारे विस्तृत अध्ययन जारी रहेको बताइएको छ । शुक्रबारमात्र कर्णालीका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले सातै प्रदेशका र संघीय सरकारको बीचमा प्रस्तावित सिँचाइ नीतिमाथिको छलफलको क्रममा दुवै आयोजनाका विषयमा लिखित प्रस्ताव राखेका थिए ।

    वर्षेनी नयाँ-नयाँ योजना प्रस्ताव हुने तर काम बीचमै छोडेर जाने कार्यले गर्दा ठूला योजना अलपत्र परेको भन्दै पुराना आयोजना सकेर मात्र नयाँमा जानुपर्ने अन्तरक्रियामा सहभागीले जोड दिएका थिए । आयोजना छनोट गर्दा बस्तुबादी र लगानी उठ्ने हुनुपर्नेमा जोड दिइएको थियो ।

    कर्णालीको रिपोट खास धरातलबाट आएको भन्दै ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुलासले उच्च प्रशंसासमेत गरेकी थिइन् । नायकबाडा सिँचाइ योजना निर्माण भएमा यहाँका दुई वटा वडाको भारी जमिनमा सिञ्चित हुने छन् । वर्षेनी खाद्यान्न झेल्ने बारेकोटमा यो सिँचाइ योजनाले उत्पादनमा वृद्धि गरी आर्थिक रूपमा बलियो बनाउने स्थानीयवासी जनकबहादुर शाहीले जानकारी दिए ।

    अहिले आकासे पानीको भरमा नायकबाडा, मैनालगायतका ठाउँमा खेती हुँदै आएको छ । धानबाली लगाउँदा आकासे पानी हेरेर मात्र रोपाइ हुने गरेको छ । बारेकोट गाउँपालिकाको सबैभन्दा बढी खेतीयोग्य जमिन नायकवाडामै रहेको छ ।

    लगानी धेरै लग्ने भएपछि आयोजना बीचमै अलपत्र परिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । करिब १२ किलोमिटर लामो नहरबाट नायकबाडामा पानी लिनुपर्ने अवस्था रहेको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको समेत यी आयोजनामा विशेष चासो रहेको छ । यो आयोजना निर्माण कार्य सुरु हुन थालेको सूचना पायलगतै स्थानीयवासी खुसी भएका छन् ।

    उता भुरचौरमा तत्काल सिँचाइ तथा खानेपानीको अवस्था आपूर्ति गर्नका लागि प्रदेश सरकारकै पहलमा लिफ्टमार्फत पानी तानेर समस्या हल भइरहेको छ । भेरी नदीबाट पानी तानेर आपूर्ति गरिएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए । वृहत् आयोजना भएकाले सानोतिनो लगानीले दुवै आयोजना निर्माण गर्न नसकिने प्रमुख शाहीले बताए ।- न्युज कारखाना

  • बेलायतले पनि लगायो पुटिनका छोरीमाथि प्रतिबन्ध

    बेलायतले पनि लगायो पुटिनका छोरीमाथि प्रतिबन्ध

    लन्डन, २६ चैत-

    बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरुलाई प्रतिबन्धको सूचीमा राखेको छ । रुसले युक्रेन हमला गरेको भन्दै बेलायतले पुटिनका छोरीहरुलाई प्रतिबन्धको सूचीमा राखेको हो ।

    बेलायतले पुटिनका वयस्क छोरी कातेरिना तिखोनोभा र मारिया भोरोन्तोभा, विदेशमन्त्री सर्गेई लाभरोभकी छोरी सर्गेइभना विनोकुरोभाको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको हो ।

    तीनै जनालाई यस साताको सुरुमा अमेरिकाले प्रतिबन्ध लगाएको थियो ।

    रुसी राष्ट्रपतिका भित्रि वृत्तका मानिसहरुलाई प्रतिबन्ध लगाउने पहलस्वरुप बेलायतको पछिल्लो कदम आएको हो । युक्रेनमा रुसले हमला सुरु गरेपछि बेलायतलगायत पश्चिमा देशहरुले मस्कोमाथि प्रतिबन्ध लगाउँदै आएका छन् ।- एजेन्सी

     

  • निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

    निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

    काठमाडौँ, २६ चैत-
    निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका आधारमा तयार गरिएको निर्वाचन आचारसंहिता हिजोदेखि लागू भइसेको छ ।

    आचारसंहितामा निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

    अघिल्ला निर्वाचनमा मतपरिणामलाई नै प्रभावित पार्ने गरी पद र पैसाका माध्यमबाट चलखेल भएको भन्ने व्यापक जनगुनासो आएपछि आयोगले यस पटक आचारसंहिताको अनुगमन र कार्यान्वयनलाई विशेष प्राथमिकतामा राखेको छ । आयोगबाट जारी आचारसंहितामा भनिएको छ, “सामाजिक सञ्जालमा गलत भ्रामक सूचना प्रवाह गर्न, गराउन वा झुटा साइट, एकाउण्ट सञ्चालन गर्न वा गराउन कसैको चरित्र हत्या हुनेगरी व्यक्तिगत लाञ्छना वा मानहानी हुने प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न प्रकाशन वा प्रसारण गर्न निषेध गरिएको छ ।”

    कुनै राजनीतिक दल वा उम्मेदवारले आप्mनो निजी वा आधिकारिक पेजमा आप्mनो सिद्धान्त, विचार, प्रतिबद्धता र कार्ययोजना राखी प्रचारप्रसार गर्न सकिने नै हुँदा सामाजिक सञ्जालको उपयोगलाई मर्यादित र व्यवस्थित ढङ्गले परिचालन गर्न आयोगले आग्रह गरेको छ ।

    के गर्न पाइँदैन

    आचार संहिताले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटु जस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन रोक लगाएको छ ।

    राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला एवं निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने तथा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टि–सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने आचारसंहितामा उल्लेख छ ।

    निर्वाचन आचारसंहितालाई पालना गर्न निर्वाचन तथा मतगणनामा खटिने कर्मचारी, राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधि, मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिले निर्वाचनको कार्यमा खटिँदा अनुसूचीबमोजिमको प्रतिबद्धतापत्रमा दस्तखत गर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । निर्वाचनको परिणामको विषयमा कुनै अदालतमा प्रश्न उठाउन पाउने नागरिक अधिकारलाई कुण्ठित गर्ने नभई निर्वाचन व्यवस्थापनमा स्वच्छता, निष्पक्षता र प्रभावकारिता अभिवृद्धि गर्नेमा आयोग विश्वस्त छ ।

    के गर्न पाइन्छ

    राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारको सिलसिलामा पचहत्तर ग्रामसम्मको कागजमा तीनसय वर्ग इन्चसम्म आकारको एउटै रङको पर्चा, उम्मेदवारको कार्यालयमा तीन बाइ तीन फिटसम्मको दलको झण्डा र सोही नापको चुनाव चिह्न र उम्मेदवारले ‘ए’ फोर साइजको कागजमा आप्mनो व्यक्तिगत पहिचान (बायोडाटा) को विवरण वितरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

    राजनीतिक दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा बैठक, भेला वा यस्तै प्रकृतिका प्रचारप्रसारसम्बन्धी कार्यक्रम गर्दा तथा निर्वाचन अधिकृतको अनुमति लिई सवारीसाधन प्रयोग गर्दा सोहीबमोजिमको आकार र सङ्ख्याको दलको झण्डा र चुनाव चिह्न मात्र प्रयोग गर्न आयोगले आग्रह गरेको छ ।

    कुनै लाभको पद धारण नगरेको भन्ने व्यवस्थालाई उम्मेदवार आफैँले स्वघोषणामार्फत उम्मेदवारी दर्ता गराउन सक्ने र स्वघोषणाको निज स्वयं नै जिम्मेवार हुने व्यवस्था रहेको छ ।

    स्थानीय तहका बाहालवाला पदाधिकारीको अधिकारका लागि भोलि हुनसक्ने खतरा र दुर्घटनाबाट बच्न राजीनामा वा स्वघोषणासम्बन्धी प्रावधानबारे आयोगले समयमै जानकारी गराएको आयोगको भनाइ छ । स्थानीय तहका बहालवाला पदाधिकारीको उम्मेदवारी दर्ता तथा छानबिनको विषयलाई ऐन नियमको परिधिभित्र रही तदनुरूप नै कार्यान्वयन गरिने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

    निर्वाचन आचारसंहिता नैतिक बन्धनको संहिताको रूपमा रहेको कानूनी दस्तावेज एवं सरोकारवाला सबैले पालना गर्नका लागि स्वीकार गरिएको नैतिक नियम हो । आचारसंहिता कार्यान्वयनमा केही कानूनी र संरचनागत सीमितता रहे पनि आचारसंहिताको प्रयोग कानूनभन्दा माथि हुने भएकाले राजनीतिक दल र उम्मेदवारलगायत अन्य सबै निर्वाचन सरोकारवालाबाट आचारसंहिताको पूर्ण पालना हुन्छ भन्ने आयोगले विश्वास लिएको छ ।

    हुनसक्छ उम्मेदवारी रद्ध

    आचारसंहिताको उल्लङ्घन भएमा आचारसंहिता उल्लङ्घनको प्रकृति र स्वरूप हेरी सचेत गराउने, सूचना सार्वजनिक गर्ने, कानूनतः जरिवाना वा दण्डसजायलाई कार्यान्वयन गर्ने तथा उम्मेदवारको उम्मेदवारी रद्दसम्म हुने कानूनी व्यवस्थालाई कार्यान्वयन गरिने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

    राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित सरोकारवालासँगको समन्वय र सहजीकरणलाई व्यवस्थित गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न आचारसंहिताको अनुगमनलाई आयोगले प्राथमिकताको विषय बनाएको छ । आचारसंहिता अनुगमनलाई केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न अनुगमन संरचना क्रियाशील रहने आयोगले जनाएको छ ।

    निर्वाचनमा अनलाइन प्रकाशन तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आपूmले प्रकाशन, प्रसारण र सम्प्रेषण गरेको निर्वाचन सामग्रीप्रति जिम्मेवार बनाई दुरुपयोग र त्यसबाट हुने साइबर अपराधको नियमन र नियन्त्रण गरी निर्वाचनमा डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित हस्तक्षप रोक्ने विषय निकै चुनौतीपूर्ण रहेको आयोगले महसुस गरेको छ ।

    सामाजिक सञ्जालबाट हुनसक्ने निर्वाचनसम्बन्धी तथ्यहीन, गलत, भ्रामक, अनुमानित र आचारसंहिता विपरित सूचना तथा जानकारीको सम्प्रेषण तथा सम्भावित मित्थ्या सूचना, दुष्प्रचार, सूचना तोडमोड र द्वेषपूर्ण अभिव्यक्तिको नियमन र नियन्त्रणका लागि आयोगले संयन्त्र बनाएको छ । (रासस)

  • आयाल निगमको कोष रित्तियो, दुई सातापछि नै पेट्रोल खरिदमा समस्या हुनसक्ने

    आयाल निगमको कोष रित्तियो, दुई सातापछि नै पेट्रोल खरिदमा समस्या हुनसक्ने

    काठमाडौं, २६ चैत-
    निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ ।

    पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्जात छ । जुन रकमले पेट्रोलियम पदार्थ आयात हुँदैन ।

    भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नियमित रुपमा बुझाउनु पर्ने रकम तिर्न नसक्ने देखिएकाले पेट्रोलियम पदार्थको आयतमा समस्या देखा परिसकेको निगमका प्रवक्ता विनित उपाध्यायले बताए ।

    ‘अबको २३ तारिखमा आइओसीलाई १४ अर्ब जति बुझाएपछि मात्रै पेट्रोलियम पदार्थ सहज तरिकाले आपुर्ति हुन्छ तर अहिलेसम्म मूल्य स्थिरिकरण कोषमा २५ करोड रुपैयाँ बाँकी छ, अन्त कतै पनि कुनै कोषमा रकम बाँकी छैन्,’ प्रवक्ता उपाध्यायले न्युज कारखानासँग भने, ‘निगमसँग रहेको मौज्जात र मूल्य स्थिरिकरण कोषमा रहेका सबै रकम सकिएपछि पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा निगम पुगेको छ, अर्को महिनादेखि नै समस्या पर्ने देखिएको छ ।’

    उनका अनुसार पेट्रोलियम पदार्थको मागअनुसार आईओसीलाई नियमित रुपमा बुझाउने रकममा १४ दिनपछि नै दुई अर्ब रुपैयाँ नपुग्ने देखिसकेको छ । ‘अब पेट्रोल किन्न २५ करोड मात्रै बाँकी छ, बुझाउनु पर्ने १४ अर्ब हुन्छ, केही रकम घाटामा खरिद गरिएको पेट्रोलियम पदार्थ बिक्रीबाट उठाउन सकिए पनि दुई अर्ब पुग्दैन,’ उपाध्यायले भने, ‘त्यसका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको थियो, अर्थले ऋण उपलब्ध गराउनका लागि राष्ट्रिय बाणिज्य बैंकलाई पत्र लेखिदिएको छ ।’ उनका अनुसार १४ दिनपछि पेट्रोलियम पदार्थका आयातका लागि रकम दिन नसके अप्ठयारो अवस्था आउने निगमले अर्थ मन्त्रालयलाई जानकारी गराउन बाध्य भएको थियो ।

    गत २२ चैतमा अन्तिम पटक मूल्यवृद्धि गर्दा पनि गत महिना नौ अर्ब २७ करोड घाटा ब्योहोर्नु परेको सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिएका थिए । उनका अनुसार आर्थिक बर्ष २०७८÷७९ को हालसम्म ३३ अर्ब रुपैयाँ घाटामा रहेको छ ।

    गत असार मसान्तसम्म १५ अर्ब ८० करोड रकम सञ्चित गरेको निगमले कोष रित्तिएपछि गत २२ चैत मूल्य स्थिरिकरण कोषवाट चार अर्ब २० करोड लिएर भारतीय आयल कर्पोरेशनलाई पठाएको थियो । स्थिरिकरण कोषमा पनि २५ करोड मात्रै मौज्जाद रहेपछि निगमले बैंकसँग ऋणका लागि आग्रह गरेको छ तर कुनै निर्णय आइनसकेको प्रवक्ता उपाध्यायले जानकारी दिए । न्युज कारखाना

     

  • खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्छ : प्रचण्ड

    खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्छ : प्रचण्ड

    चितवन, २६ चैत-
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्ने बताउनुभएको छ ।

    प्रज्ञास्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको भरतपुर साइक्लिङ म्याराथुन, २०७८ को समापन समारोहमा उहाँले खेल क्षेत्रलाई सबैले प्रेरित गर्नुपर्ने बताउनुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले चितवन सबै दृष्टिकोणले खेल क्षेत्रको केन्द्र बन्दै गइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र अन्य इन्डोर खेलको पूर्वाधार निर्माणले यसको सम्भावनालाई उजागार गरेको छ ।”

    निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको बाँकी काम पूरा गर्नेगरी सहमति कायम भई प्रक्रिया अगाडि बढिरहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “छिट्टै निर्माणकार्य सुरु हुनेछ ।”

    साइकल परापूर्वकालदेखि मानव जीवनको अभिन्न अङ्गका रूपमा रहेको भन्दै उहाँले पछिल्ला दिनमा साइक्लिङ खेलको रूपमा समेत विकास भएकोमा खुसी व्यक्त गर्नुभयो ।

    पुरस्कार वितरण कार्यक्रममा युवा तथा खेलकूदमन्त्री महेश्वरराज गहतराजले प्रज्ञास्मृति प्रतिष्ठानले सुन्दरनगरी भरतपुरमा साइक्लिङ म्याराथुन गरेर अनुकरणीय काम गरेको बताउनुभयो ।

    उहाँले साइक्लिङ खेललाई प्रवद्र्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । स्वस्थ र सभ्य नागरिक उत्पादन गर्न खेल क्षेत्रमा सम्पूर्ण नागरिकलाई केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै मन्त्री गहतराजले खेलका माध्यमबाट पर्यटन प्रवद्र्धन र आर्थिक वृिद्ध गर्न सकिने बताउनुभयो ।

    उहाँले नागरिकस्तरबाट निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी काम अगाडि बढाउन नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गर्ने जानकारी दिनुभयो । राष्ट्रिय सहमतिको गौरवको आयोजना कुनै पनि हालतमा अलपत्र नबन्ने उहाँको भनाइ थियो ।

    कार्यक्रममा बागमती प्रदेश खेलकूद विकास समितिका अध्यक्ष सूर्य भण्डारीले खेलको माध्यमबाट स्वस्थ समाज निर्माण गर्न सकिने भन्दै बागमती प्रदेश खेलकूद समितिले सोहीबमोजिम आफ्ना गतिविधि अगाडि बढाएको बताउनुभयो ।

    कार्यक्रममा तीन घण्टा २३ मिनेटमा ६५ किलोमिटर पूरा गरी मेरिना राना मगर प्रथम हुनुभयो भने सुधा तिमिल्सिनाले ४ घण्टा १२ मिनेट १३ सेकेण्डमा ६५ किमी पार गरी दोस्रो स्थान हासिल गर्नुभयो ।

    त्यस्तै पुरूषतर्फ दुई घण्टा १२ मिनेट १९ सेकेण्डमा ६५ किमी पूरा गरी सन्दीप श्रेष्ठ प्रथम र त्रिभुवन आर्मी क्लबबाट दीपेश चौधरी दोस्रो बन्नुभयो ।

    म्याराथुनमा मास्टर सेरोमेनीमा विजयीहरूलाई पुरस्कृत गरिएको थियो । म्याराथुनमा उत्कृष्ट साइकल राइडर सुरज राना मगर एक घण्टा ५६ मिनेटमा ६५ किमी दूरी पूरा गरी सर्वोत्कृष्ठ बन्नुभयो । कार्यक्रममा विभिन्न विधाका ४१ जना विजयी खेलाडीलाई नगद पुरस्कार तथा मेडल प्रदान गरिएको थियो । चितवनसहित ११ जिल्लाका खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । (रासस)

  • बर्दिबासमा रेल्वे स्टेसन बनाउन दिदैनौँ : स्थानीय

    बर्दिबासमा रेल्वे स्टेसन बनाउन दिदैनौँ : स्थानीय

    महोत्तरी, २६ महोत्तरी-

    ब्रोडजेग रेल्वेको पूर्वधार निर्माण आयोजनाले बर्दिबासमा जगा अधिग्रहण गरेर रेल्वे स्टेसन बनाउने प्रक्रिया अगाडि बढाए पनि स्थानीयवासीले स्६ेसन बनाउन नदिने चेतावनी दिएका छन् ।

    स्थानीयवासीले शुक्रबार पत्रकार सम्मेलन आयोजाना गरी बर्दिबास जस्तो सानो ठाउँमा रेल्वे स्टेसन बनाउँदा थप भिडभाड र होहल्ला हुने भएकाले स्टेसन बनाउन नदिने घोषणा गरेका हुन् ।

    बर्दिबास कै सेरोफेरोमा सरकारी जग्गा प्रसस्त हुँदाहुँदै बस्तीको बीचमा स्टेसन बनाउँदा धेरै ठूलो असर पर्ने स्थानीयको ठहर छ ।

    रेल्वे स्टेसन बन्ने पक्का भएपछि सरकारले २०७३ सालमा करिब ६० बिगाहा जमिन सहमतीमै सरकारले अधिग्रहण गरेको थियो ।

    यता, अधिग्रहणमा परेका जग्गाधनीको निर्धारित मुआब्जामा समेत असन्तुष्टि छ । उचित मुआब्जाको पर्खाइमा रहेका स्थानीयले न्युनतम सात लाखदेखि ८१ लाखसम्म मुआब्जा निर्धारण भएपछि असन्तुष्टि जनाएका हुन् ।

    मुआब्जा निर्धारण समितिले एक बर्ष अगाडि नै अधिग्रहण गरेको जग्गालार्इ विभिन्न ३५ शीर्षकमा विभाजन गरी न्युनतम सात लाखदेखि ८१ लाखसम्म मुआब्जा दिने निर्णय गरेको थियो ।

    चलनचल्तीको मूल्यभन्दा निर्धारित मुआब्जा निक्कै कम भएको बताउँदै आएका स्थानीयले अहिले भने रेल्वे स्टेसननै बन्न नदिने बताएका छन् ।

    मुआब्जा पीडितहरूले रेल्वे स्टेसनले विकासभन्दा पनि विनास ल्याउने भएकाले आवश्कता महसुस नगरेको बताए ।

    ६ बर्षदेखि जग्गा अधिग्रहण गरेर किसानलाई बन्धनमा राखेको पनि पीडितहरूको भनाइ छ ।

    ‘मूल्य पुनरावलोकनको लागि प्रयास गर्दा कतै सुनुवाइ भएन अब हामी ससंक्त प्रतिवाद गर्छौ ।’ संघर्ष समितिका डाकराज पोखरेलले भने ।

    बर्दिबासवाट मुआब्जा भन्दा पनि रेल्वे स्टेसन नै हटाउनु पर्ने स्थानीय नेता डा. कृष्ण हमालको भनाइ छ ।  बर्दिबास जस्तो सानो ठाउँमा बिघौ जग्गा अधिग्रहण गरेर बनाउने रेल्वे स्टेसन जरुरी नभएको हमालको जिकिर छ ।

    रेल्वे स्टेसन बन्दा ८४ परिपार बेघर हुने उनको भनाइ छ । करिब दुई सय घरधुरी अहिले जग्गा अधिग्रहणको कारणले पीडित बनिरहेको मुआब्जा संघर्ष समितिले जनाएको छ ।- न्युज कारखाना

  • युक्रेनले आफ्ना नागरिकलाई भन्यो —तत्काल लुहान्स्क खाली गर्नू

    युक्रेनले आफ्ना नागरिकलाई भन्यो —तत्काल लुहान्स्क खाली गर्नू

    किभ, २६ चैत-

    रुसी सेनाले पूर्वी युक्रेनमा गोलाबारी तीब्र पारेसँगै युक्रेन सरकारले सर्वसाधारणलाई लुहान्स्कबाट सुरक्षित क्षेत्रमा जान अनुरोध गरेको छ । सो क्षेत्रमा ठूलो संख्यामा रुसी फौज परिचालन भएका छन् । सो क्षेत्रका सहर र गाउँमा अझै ३० प्रतिशत वासिन्दा रहेको रायटर्स समाचार संस्थाले जनाएको छ ।

    रुसले पूर्वीयुक्रेनको दोनबासमा आफ्नो हमला तीव्र पारेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले त्यहाँ खाली गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो । यसैबीच, रुसले युक्रेनमा आफ्नो सैन्य नेतृत्वलाई पुनर्गठन गरेको छ । जनरल अलेक्जेन्डर दिभोरनिकोभलाई सम्पूर्ण जिम्मेवारी दिइएको छ ।

    जनरल अलेक्जेन्डरमा सिरियामा भएका रुसी कारबाहीमा राम्रो अनुभव भएको पश्चिमा अधिकारीहरुले बताएका छन् ।- एजेन्सी

  • हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    मङ्गलबारे, २६ चैत-
    इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

    बिहान मर्निङ वाकमा निस्कनुभएका उहाँलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो । बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उहाँलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताउनुभयो । घरबाट करिब दुई सय मिटर टाढा उहाँलाई हात्तीले आक्रमण गरेको हो । (रासस)

  • पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीलालाई उपाधि

    पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीलालाई उपाधि

    दिलमाया शाही
    जुम्ला, २६ चैत-

    कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको १६ वर्षमुनिको पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीला विष्ट प्रथम भएकी छन् । कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतिय भएकी छिन् ।

    यस्तै पुरूषतर्फ अशोक बिक प्रथम भएका छन् भने दिपेन्द्र बुढा द्वितीय र कविन्द्र बुढा तृतीय भएको क्लबका अध्यक्ष सरोज शाहीले बताए । खुला पाँच किलोमिटर दौडमा विकास बुढा प्रथम, हरिबहादुर रावत द्वितीय र हर्क रावत तृतीय भएका छन् ।- न्युज कारखाना