Blog

  • पाँच लाख घुससहित मालपोतका प्रमुख पक्राउ

    पाँच लाख घुससहित मालपोतका प्रमुख पक्राउ

    जनकपुर, २८ चैत-
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ ।

    आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको रु पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई पक्राउ गरेको र उहाँमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिनुभयो । (रासस)

  • सुनको मूल्य एक लाख एक सय

    सुनको मूल्य एक लाख एक सय

    काठमाडौँ, २८ चैत-
    नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर छ । आइतबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम भएको महासंघले जनाएको छ ।- न्युज कारखाना

     

  • बिवेकशिलको घोषणा: काठमाडौं महानगरका मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार

    बिवेकशिलको घोषणा: काठमाडौं महानगरका मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार

    काठमाडौं, २८ चैत-
    विवेकशिल साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि समिक्षा बास्कोटालाई मेयर तथा कीर्ति तुलाधरलाई उपमेयरको उमेदवार बनाउने निर्णय गरेको छ ।

    ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनस्र्थापित गरौँ’ नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको हो ।

    प्रवक्ता शरदराज पाठकका अनुसार बास्कोटा वागमती प्रदेशकी पूर्व संयोजक तथा केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन । उनका अनुसार ३८ वर्षीया बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुन मैं स्नातकोत्तर गरेकी छिन । गत निर्वाचनमा काठमाडौँ– १ ‘क’ बाट प्रदेशसभाको उमेदवारसमेत बनेकी बाँस्कोटाले २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन ।

    उता, उपमेयरकी उम्मेदवार तुलाधर सो पार्टीका केन्द्रीय सदस्य हुन । नेपाल जेसीजको तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक तुलाधार अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष भएकी थिइन । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीया तुलाधर विभिन्न संघ संगठनको नेतृत्वदायी भूमिकामा रहेको प्रवक्ता पाठकले जानकारी दिए ।

    ‘विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौँ पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएको परिप्रेक्षमा महानगरपालिकालाई दुईजना इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिवद्ध महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूवात हुने’ विश्वास पार्टी अध्यक्ष रवीन्द्र मिश्रले व्यक्त गरेका छन्।- न्युज कारखाना

  • भरतपुर महानगरपालिका : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्काेतर्फ

    भरतपुर महानगरपालिका : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्काेतर्फ

    चितवन, २८ चैत-
    आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर) को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा यहाँका जनताको अपेक्षा भने फरक छ । यहाँका जनताको अपेक्षा भने सुशासन, पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, कृषि उत्पादनमा अनुदान, व्यवस्थित बसोबास, पर्यटन प्रबद्र्धन, दिगो आर्थिक विकास जस्ता विषय जनताको चासोका विषय बनेका छन् ।

    चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपाने शिक्षा र स्वास्थ्य निःशुल्क गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुहुन्छ । हुँदै नहुनेले शिक्षा र स्वास्थ्य निःशुल्क रुपमा पाउनुपर्ने भन्दै उहाँले हुनेखानेले सहज र सर्वसुलभ रुपमा शिक्षा र स्वास्थ्य पाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरले शिक्षा र स्वास्थ्य सकेसम्म निःशुल्क गर्नुपर्छ, पैसा लिनुपर्दा सर्वसुलभ हुनुपर्छ ।”

    २१औँ शताब्दीमा पनि उपचार नपाएर कसैले पनि मर्न नहुने उहाँको भनाइ छ । रोजगारीका लागि आवश्यक शिक्षा र तालिमको प्रबन्ध महानगरले गर्नुपर्ने न्यौपानेले बताउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराई दिगो आर्थिक विकासको रणनीतिअनुसार महानगरमा काम गर्नुपर्ने बताउनुहुन्छ । वातावरण संरक्षण गर्न महानगरले ध्यान दिनुपर्ने भन्दै उहाँले प्राथमिकतामा फोहरमैला व्यवस्थापन, महानगरवासीको प्रतिव्यक्ति आय वृद्धिका लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योग व्यवसाय खोल्ने वातावरण सिर्जना गरेर रोजगारी दिने गरी काम गर्नुपर्छ ।”

    पोल्ट्री व्यवसायी उहाँले पोल्ट्रीको हबका रुपमा परिचित यहाँबाट फार्म विस्थापित हुँदै गएको भन्दै पोल्ट्रीसँग सम्बन्धित उद्योग स्थापनामा सहजीकरण गर्नुपर्ने बताउनुभयो । उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्ष राजु पौडेल महानगरवासीको पहिलो अपेक्षा रोजगारी भएको बताउनुहुन्छ । सुशासनको प्रत्याभूति दिलाउँदै सहज सुविधा पाउने वातावरण सिर्जना गर्न उहाँको जोड छ । कृषि उत्पादनको आधारमा दिइने अनुदान प्रभावकारी भएको भन्दै उहाँले त्यस अनुरुपको काम गर्नुपर्ने बताउनुभयो । महानगरले प्रतिलिटर दूधमा रु तीन दिएको अनुदान प्रभावकारी भएको भन्दै यही मोडलमा काम गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

    ग्रामीण क्षेत्रमा सडक सञ्जाल राम्रो बनेको भन्दै उहाँले सार्वजनिक यातायात सहज बनाउनु, खेलकुदमा जोड दिन, खुल्ला विश्वविद्यालय स्थापनामा पहल गर्न, स्मार्ट सिटीको काम सम्पन्न गर्न नागरिकको माग रहेको बताउनुहुन्छ ।

    व्यवसायी दिनेशकुमार चुके पूर्वाधार विकासमा फड्को मारेको भए पनि अपेक्षाकृत हुन अझै बाँकी रहेको बताउनुहुन्छ । रोजगारमूलक उद्योगको स्थापना गर्न, बाहिरबाट बसाइसराइ गरी आएकालाई सर्वसुलभ रुपमा आवासको व्यवस्था गर्न उहाँले जोड दिनुभयो । पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएको भन्दै उहाँले यसको व्यवस्थित व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो । पर्यटकीय क्षेत्रमा लगानी आवश्यक रहेको उहाँको भनाइ छ ।

    नजिकै रहेको नगर वन झुक्किएर बनेको टापु भएको भन्दै नारायणीमा रहेका यस्ता टापुहरु निकालेर नदीलाई एउटै धारमा बगाउने व्यवस्था गर्नुपर्ने उहाँको तर्क छ । उहाँले भन्नुभयो, “नारायणी तटबन्धमा अरबौं खर्च गर्ने होइन, नदीजन्य पदार्थ निकालेर खर्बौको आम्दानी गर्नुपर्छ ।” यसबाट लाखौं बिघा जमिन निस्कन र भरतपुर महानगर बच्ने उहाँको तर्क छ ।

    महानगरभित्र बाँझो जमिन राख्न नहुने भन्दै उहाँले बाँझो जमिन राख्नेलाई कारबाही गर्ने गरी ऐन नियम बनाउनुपर्ने बताउनुभयो । मौसम अनुसारको खेतीमा जोड दिनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बेमौसमी खेती रोक्नुपर्छ ।” व्यावसायिक र कृषि क्षेत्रमा हुने दलालीतन्त्रको अन्त्य गर्नु उहाँको भनाइ छ । जमिनमा आधुनिक प्रविधि प्रयोग गरेर खेती गर्न प्रोत्साहन गर्नुपर्ने गौतमले बताउनुभयो ।(रासस)

  • चितवनका राजकुमार शर्मा ४ दिनदेखि बेपत्ता, कसैले देखे सम्पर्क गरिदिन परिवारको आग्रह

    चितवनका राजकुमार शर्मा ४ दिनदेखि बेपत्ता, कसैले देखे सम्पर्क गरिदिन परिवारको आग्रह

    चितवन, चैत २७ –
    चितवनका राजकुमार शर्मा विगत ४ दिनदेखि वेपत्ता भएका छन् ।

    हाल पोखराको हलन चोकमा होटल व्यावसासय सञ्चालन गर्दै आएको शर्मा २३ गतेदेखि वेपत्ता भएका परिवारले जनाएको छ ।

    पहेँलो रंगको ज्याकेट र निलो रंगको प्यान्टमा घरबाट निस्किएका राजकुमारलाई कहिँकतै देखेमा ९८४९७७४२२१, ९८०९१७४५३३ र ९८६९८८४५०१ मा सम्पर्क गर्न तथा नजिककैको प्रहरी कार्यालयमा खबर गर्न परिवारले आग्रह गरेको छ ।

    शर्मालाई सिसिटीभि फुटेजमा हेर्दा २३ गते देवघाटधाममा देखिएको थियो ।

  • रत्ननगर– ९ मा एमालेको सम्पर्क कार्यालय स्थापना

    रत्ननगर– ९ मा एमालेको सम्पर्क कार्यालय स्थापना

    चितवन, चैत २७ –

    नेकपा एमाले वडा कमिटी रत्ननगर ९ ले पार्टीको सम्पर्क कार्यालय स्थापना गरेको छ ।

    भानु चोकमा स्थापित कार्यालयको आज आइतबार एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् नगर प्रमुख नारायण वनले उद्घाटन गरेका हुन् ।

    स्थानीय तहको निर्वाचनलाई लक्ष्ति गरेर सम्पर्क कार्यालय स्थापना गरिएको रत्ननगर ९ का एमाले वडा कमिटी अध्यक्ष लेखनाथ आचार्यले जानकारी दिए ।

     

  • राप्रपालाई असफल हुने छुट छैन : राजेन्द्र लिङ्देन

    राप्रपालाई असफल हुने छुट छैन : राजेन्द्र लिङ्देन

    राजन कटुवाल
    हेटौंडा, २७ चैत-

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई असफल हुने छुट नभएको बताएका छन् । राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले अन्य राजनीतिक दललाई असफल हुने छुट भएपनि राप्रपालाई छुट नभएको बताएका हुन् ।

    उनले देश आर्थिक चपेटामा परेको बेला अहिले सत्तामा रहेका राजनीतिक दलले देशलाई संकटबाट जोगाउन कुनै योजना नबनाएको आरोप लगाए ।

    ‘पटक पटकको आन्दोलन तथा झुटा भाषणबाट ल्याएको व्यवस्था परिवर्तन भयो तर नेपाली जनताको अवस्था परिवर्तन भएन,’ उनले भने, ‘सीमित राजनीतिक दलले देशलाई बन्धक बनाएर राखेका छन् ।’

    सीमित नेताहरुले गर्दा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिवर्तन भएको उनले आरोप लगाए । अहिले देशको कुनै पनि वर्ग खुशी नभएको बताउँदै लिङ्देनले देशका पचासौं लाख युवा वैदेशिक रोजगारमा जानु दुखदायी भएको बताए ।

    अहिलेका ठूला भनिएका दलका लुट्न नसकेका कार्यकर्ता पनि खुसी छैनन्,’ उनले भने, ‘भ्रष्टाचारबाट कमाएको पैसाको नोट भ्रष्ट नेताको घरमा छ ।’ विदेशबाट लिइएको ऋण अनुत्पादक क्षेत्रमा खर्च गरिएको उनको आरोप छ ।- न्युज कारखाना

  • मकवानपुरका ३५ किलो गाँजासहित पाँचजना पक्राउ

    मकवानपुरका ३५ किलो गाँजासहित पाँचजना पक्राउ

    हेटौंडा, २७ चैत-

    मकवानपुर प्रहरीले ३५ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मनहरि गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

    चितवनबाट हेटौंडा आउँदै गरेको बा. ८ ख ८१०६ नम्बरको बसको पछाडिको सिटमा बसेका यात्रुको झोलाले लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्ने चितवनको राप्ती नगरपालिका–१ का १९ वर्षीय सरोज तामाङ, ११ नम्बर वडाका २५ वर्षीय सूर्यबहादुर स्याङ्बो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबीलाल तामाङ छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

    यसैबीच, मकवानपुर प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हरियालीबा खटिएको टोलीले विशेष सूचनाको आधारमा हेटौंडा ७ नागस्वतीका २२ वर्षीय सन्देश ब्लोनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

    ब्लोनको घरमा चेकजाँच गर्ने क्रममा दराज र पलङमा लुकाएर राखेको अवस्थामा एक हजार ४० ट्याब्लेट ट्रामा, ५२५ ट्याब्लेट नाईट्रोभेट र १० बोतल मोरक्स पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।- न्युज कारखाना

     

  • भरतपुरको मेयरमा नेकपा एमालेका तर्फबाट विजय सुवेदी उम्मेद्वार (भिडियो)

    भरतपुरको मेयरमा नेकपा एमालेका तर्फबाट विजय सुवेदी उम्मेद्वार (भिडियो)

    चितवन, चैत २७ –

    भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) मा नेकपा एमालले विजय सुवेदीलाई उम्मेद्वार बनाउने भएको छ ।

    आज बसेको नेकपा एमाले भरतपुर महानगर कमिटीको विस्तारित बैठकले सर्वसम्मतीले सुवेदीलाई मेयरको उम्मेद्वार बनाउने घोषणा गरेको हो ।

    उक्त प्रस्तावमा पोलिटव्युरो सदस्य देवि ज्ञवाली, समर्थकमा कृष्णभक्त पोखरेल र महानगर कमिटी अध्यक्ष शंकर थपलियाले घोषणा गरेका थिए ।

  • अनेरास्ववियुले चितवनमा भोलि विद्यार्थी नेताहरुलाई प्रशिक्षण दिँदै

    अनेरास्ववियुले चितवनमा भोलि विद्यार्थी नेताहरुलाई प्रशिक्षण दिँदै

    चितवन, चैत २७ –
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) जिल्ला कमिटी चितवनले विद्यार्थी नेताहरुलाई प्रशिक्षण दिने भएको छ ।

    भोलि सोमबार ११ बजेदेखि निर्माण व्यवसायि संघ भरतपुरको हलमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको अनेरास्ववियु जिल्ला कमिटी चितवन प्रशिक्षण विभाग प्रमुख लिलाराम पौडेलले जानकारी दिए ।

    अनेरास्ववियु जिल्ला कमिटीका सम्पूर्ण सदस्य, पालिका कमिटीका सम्पूर्ण पदाधिकारी, कलेज कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई प्रशिक्षण दिन लागिएको पौडेलले बताए ।

    पौडेलका अनुसार अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष एवम् नेकपा एमालेका केन्द्रीय सदस्य युवा नेता माधव ढुंगेल, अनेरास्वियु केन्द्रीय प्रशिक्षण विभाग प्रमुख झपेन्द्र खत्री, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विद्यार्थी इन्चार्ज केशव आचार्यले प्रशिक्षण दिनेछन् ।

    ढुंगेलले अनेरास्ववियुका कार्यदिशा र कार्यभारका बारेमा, खत्रीले संगठन संचालन, पद्दती, विधि र प्रक्रियाका बारेमा र आचार्यले स्थानीय निर्वाचनमा अनेरास्ववियुको भूमिकाका बारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।