Blog

  • कुलमानको आग्रहपछि प्रचण्डले हटाए तस्बिर अंकित चुनावी पोस्टर

    कुलमानको आग्रहपछि प्रचण्डले हटाए तस्बिर अंकित चुनावी पोस्टर

    काठमाडौं, ३० चैत-

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर अंकित चुनावी पोस्टर सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन् ।

    बुधबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा आफू, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर अंकित चुनावी पोस्टर राखेका थिए । सरकारी तलब बुझ्ने घिसिङको तस्बिरलाई चुनावी प्रचार प्रसारको सामग्री बनाउँदा निर्वाचन आचार संहिता आकर्षित हुने भन्दै जनस्तरमै आलोचना भएको थियो ।

    कार्यकारी निर्देशक घिसिङले पनि आफूलाई नसोधी चुनावी पोस्टरमा आफ्नो तस्बिर राखिएकोमा आपत्ति जनाउँदै हटाउन प्रचण्डको निजी सचिवालयलाई निर्देशन दिएका थिए । ‘मलाई नसोधी चुनावी पोस्टरमा मेरो तस्बिर राखिएको रहेछ । यसमा मेरो विमति छ । मैले पोस्टर हटाउन भनेको छु,’ घिसिङले न्युज कारखानासँग भनेका थिए ।

    प्रचण्डका स्वकीय सचिव रमेश मल्लले निर्देशक घिसिङले पोस्टर हटाउन आग्रह गरेको स्वीकार्दै भने, ‘अरु साथीले प्रचण्डको सामाजिक चलाउँदा गडबड गरेछन् ।’ त्यसको समयपछि प्रचण्डको फेसबुक पेजबाट घिसिङको तस्बिर अंकित चुनावी पोस्टर हटाइएको छ । तर, प्रचण्डकी छोरी गंगा दाहालको फेसबुक पेजमा भने सो पोस्टर कायमै छ ।

    प्रचण्डले राखेको प्रचार सामग्रीमा प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको थियो ।- न्युज कारखाना

     

  • कंगोमा वीरगति प्राप्त नेपाली शान्ति सैनिकलाई अन्तिम सम्मान

    कंगोमा वीरगति प्राप्त नेपाली शान्ति सैनिकलाई अन्तिम सम्मान

    काठमाडौं, ३० चैत-

    नेपाली सेनाले अफ्रिकी राष्ट्र कंगोमा केही दिनअघि विरगती प्राप्त गरेका सैनिक प्युठ अनिल गुरुङप्रति अन्तिम सम्मान अर्पण गरेको छ ।

    गुरुङको शव मंगलबार काठमाडौं ल्याइएको थियो ।

    यही चैत २२ गते कंगोमा विद्रोही समूहले चलाएको गोली लागी उनको मृत्यु भएको छ ।

    छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित श्रद्धाञ्जली तथा अन्तिम सम्मान अपर्ण कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले सम्मान स्वरुप उनको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली स्वरुप फूलमाला अर्पण गरेका थिए ।

    रक्षा सचिव किरणराज शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेको नेपाली सेनाले जनाएको छ ।

    सो अवसरमा संयुक्त राष्ट्रसंघको तर्फबाट नेपालका लागि राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डले गुरुङको पार्थिव शरीरमा राष्ट्रसंघको झण्डा ओढाई सम्मान प्रकट गरेका थिए ।

    गुरुङको पार्थिव शरीरमा फूलमाला अर्पण गरेपश्चात नेपाली सेनाको टुकडीले अन्तिम सम्मान स्वरुप सलामी अर्पण गरेको थियो ।

    श्रद्धाञ्जली तथा अन्तिम सम्मान कार्यक्रम पश्चात गुरुङको पार्थिव शरीरलाई आजै नेपाली सेनाको हेलिकप्टरद्वारा गृहजिल्ला सुर्खेत लगी परिवारजनलाई हस्तान्तरण गरि नेपाली सेनाको स्थान विशेषमा तैनाथ युनिटबाट अन्तिम सलामी प्रदान गरिने छ ।- न्युज कारखाना

  • सांघाइमा कोभिड बढेको बढ्यै, प्रतिबन्ध उल्लंघन गर्नेलाई कडा कारबाही

    सांघाइमा कोभिड बढेको बढ्यै, प्रतिबन्ध उल्लंघन गर्नेलाई कडा कारबाही

    सांघाई, ३० चैत-

    कोभिड १९ लकडाउनसम्बन्धी नियम उल्लंघन गर्ने जो कोहीलाई कडा कारबाही गरिने सांघाइले चेतावनी दिएको छ । लकडाउनबीच संक्रमितको संख्या बढिरहेका बेला सो चेतावनी आएको हो ।

    सांघाइमा दैनिक संक्रमितको संख्या २५ हजार नाघेको छ । सहर प्रहरी विभागले एउटा सूचना जारी गर्दै कोभिड उल्लंघन गर्नेलाई कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

    ‘यस सूचनाको प्रावधान उल्लंघन गर्नेलाई सार्वजनिक सुरक्षा निकायबाट कानुन बमोजिम कडा कारबाही गरिने छ । यदि यो अपराध हो भने उनीहरूलाई कानूनअनुसार अनुसन्धान गरिनेछ’ विभागले एक विज्ञप्तिमा भनिएको छ ।

    ‘एउटै हृदयले महामारीसँग लड्न र प्रारम्भिक विजयको लागि मिलेर काम गर्नसमेत विभागले आह्वान गरेको छ ।- एजेन्सी

  • कोभिड लकडाउनमा बारम्बार रक्सी पार्टी आयोजना गर्ने बेलायती प्रधानमन्त्री र अर्थमन्त्रीलाई जरिमाना

    कोभिड लकडाउनमा बारम्बार रक्सी पार्टी आयोजना गर्ने बेलायती प्रधानमन्त्री र अर्थमन्त्रीलाई जरिमाना

    लन्डन, ३० चैत-

    कोभिड लकडाउनको समयमा आयोजना गरिएको पार्टीलाई लिएर बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अर्थमन्त्री ऋषी सुनकलाई जरिमाना गरिने भएको छ ।
    प्रधानमन्त्री कार्यलय डाउनिङ स्ट्रिटका प्रवत्ताले भनिन्, ‘ प्रधानमन्त्री र अर्थमन्त्रीलाई महानगरीय प्रहरीले निश्चित जरिमानको सूचना जारी गर्न लागेको छ ।’
    उनीहरूलाई कति जरिमाना गर्न लागिएको हो भन्ने बारेमा भने सार्वजनिक गरिएको छैन् ।

    बेलायतमा कोभिड महामारीका कारण सरकारले तेस्रो लकडाउन गरेर सर्वसाधारणलाई घरभित्रै बस्न बाध्य पारिरहेका बेला डाउनिङ स्ट्रिट र क्याबिनेट कार्यलयमा १२ ओटा जमघट आयोजना भएका थिए ।

    ‘रक्सी’ पार्टीको बेलायत र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका मुख्य समाचारका विषय बनेका थिए । सोही विषयलाई लिएर प्रधानमन्त्रीमाथि राजीनामा दिन चौतर्फी दबाब परेको थियो ।

    कोभिड पीडितका परिवारलेसमेत प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए । ‘बोरिस जोनसन र ऋषि सुनकले कानून तोडेका छन् र बेलायती जनतालाई पटक पटक झूट बोलेका छन्’ विपक्षी लेबर पार्टीका नेता केयर स्टाररले ट्वीट गरे, ‘उनीहरूले राजीनामा दिनुपर्छ । कन्जरभेटिभ पार्टी सत्ता चलाउन पूर्णरुपमा अयोग्य छ । बेलायत अझ राम्रो हकदार छ ।’

    यसैबीच, महानगरीय प्रहरीले भनेको छ, ‘ह्वाइटहल र डाउनिङ स्ट्रिटमा कोभिड–१९ नियम उल्लंघन गरेको आरोपको अनुसन्धान जारी छ ।’- एजेन्सी

  • कुलमान घिसिङले प्रचण्डकाे सचिवालयलाई भने : पोस्टरमा मेरो तस्वीर राख्न मिल्दैन, हटाउनोस्

    कुलमान घिसिङले प्रचण्डकाे सचिवालयलाई भने : पोस्टरमा मेरो तस्वीर राख्न मिल्दैन, हटाउनोस्

    काठमाडौं, ३० चैत-

    नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेकपा (माओवादी केन्द्र)ले आफ्नो तस्वीर अनुमति विना चुनावी पोस्टरमा राखेकोप्रति आपत्ति जनाएका छन् ।

    माओवादी अध्यक्ष प्रचण्डले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत बुधबार विहान सार्वजनिक गरेको चुनावी पोस्टरमा घिसिङको पनि तस्वीर राखिएको थियो ।

    पोस्टरमा प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्वीर प्रयोग गरी ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको ह्यासट्याग भोट फर सीपीएन माओइस्ट’ लेखिएको थियो । यो पोस्टर सार्वजनिक भएपछि घिसिङले आपत्ति जनाएका हुन् ।

    ‘ यो कुरा मलाई थाहा थिएन । मेरो तस्वीर हटाइदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सचिवालयलाई भनेको छु । हटाउँछु भनेका छन् । निर्वाचन आचारसंहिता र कर्मचारी आाचारसंहित दुवैले मेरो तस्वीर राख्न दिंदैन । थाहा पाउने वित्तिकै हटाउन भनेको छु,’ प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङले न्युज कारखानासँग भने ।- न्युज कारखाना

     

  • वर्ष समीक्षाः अब्दुल्लाहमय नेपाली फुटबल

    वर्ष समीक्षाः अब्दुल्लाहमय नेपाली फुटबल

    रमेश सुवेदी
    काठमाडौं, ३० चैत-

    कोरोना भाइरसका कारण नेपाली खेलकुद चल्न सक्ने अवस्थामा थिएन । लथालिंग थियो । कुनै संघ आफ्ना कार्यक्रम अगाडि बढाउन सक्ने अवस्थामा थिएनन् । तर यस्तो अवस्थामा नेपाली खेलकुदको सबैभन्दा ठंलो र चलायमान रहने अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने प्रशिक्षक विभागमा रहने गरी कुवेत नागरिक अब्दुल्लाह अल्मुताइरीलाई नेपाल झिकायो ।

    अब्दुल्लाहलाई एन्फाका तत्कालीन प्रवक्ता किरण राईले सातदोबाटोस्थित मुख्यालयमा २२ चैत २०७७ मा मुख्य प्रशिक्षकको रूपमा सार्वजनिक गरे । यो त भयो वर्ष २०७७ को कुरा । अहिले हामी वर्ष २०७८ को अन्त्यमा छौं । याे वर्ष नेपाली फुटबलमा देखिएका, भएका समसामयिक विषयलाई प्रस्तुत गर्नेछौं ।

    कोरोनाका कारण ०७८ वर्षको सुरुआतमा सरकारले अत्यावश्यकबाहेक अन्य कार्य गर्न नदिने निर्णय गर्‍याे । यस्तो अवस्थामा पहिलो पटक भएको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) भने जारी रह्यो । सात टोली सहभागी रहेको एनएसएलमा वैशाख र जेठमा आयोजना भएको थियो ।

    एसएसएस समाप्तिसँगै प्रशिक्षक अब्दुल्लाहले कतार फिफा विश्वकप-२०२२ छनोटको दोस्रो चरणका लागि ३२ खेलाडीलाई प्रारम्भिक छनोटमा स्थान दिए । जसमा त्यसअघिका नियमित र नयाँ १३ खेलाडी टिम बाहिर रहे । ६ नयाँ खेलाडीलाई पहिलो पटकअवसरसमेत दिए । यसपछि उनले आफ्नो पहिलो भ्रमणका रूपमा इराकतर्फ लागे । जहाँ टोलीले सुधारिएको खेल प्रदर्शन गर्दै घरेलु टोलीलाई ६-२ को नतिजा सुम्पियो ।

    यो त भयो वर्षको सुरुआत र नेपालले अब्दुल्लाहको प्रशिक्षणमा खेलेको पहिलो प्रतियोगिता । पहिलो खेलसँगै प्रशिक्षक अब्दुल्लाहको चर्चा चुलिँदै गयो । यसपछि नेपाली टिमले कुवेतमा दोस्रो चरणका खेल खेल्यो । २० जेठमा चाइनिज ताइपेइलाई २-० ले पराजित गर्याे । २४ र २८ जेठमा नेपाल क्रमशः जोर्डन र अष्ट्रेलियासँग समान ३-० अन्तरले पराजित भयो ।

    यी भए मैदानभित्रका कुरा । मैदान बाहिरसमेत प्रशिक्षक अब्दुल्लाह सधै चर्चाको शिखरमा रहे । १० साउनमा उनले अप्रत्यासित निर्णय गरे । एन्फाको बैठक चलिरहँदा एन्फाकै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले आफूलाई बरम्बार तनाव दिएको र आफू मुख्य प्रशिक्षक पदबाट राजीनामा दिन एन्फा गइरहेको फेसबुकमा ‘स्टाटस’ राखे । यसरी यो विवाद एक्कासि समाजिक सञ्जालमा त भरियो भरियो । एन्फा बैठकसमेत प्रभावित भयो ।

    यसपटक आमसमर्थकको गाली पाएका वरिष्ठ उपाध्यक्षले फेसबुक बन्द गर्नसम्म पुगे । यसरी यो घटनाले आमसर्वसाधारणलाई तताइरहेको बेला प्रशिक्षक अब्दुल्लाहले भने एन्फामा कुनै राजीनामा पत्र बुझाएका थिएनन् ।

    आगामी १५ जेठ हुँदै ६ असारलाई सरेको एन्फा निर्वाचनलाई प्रभावित पार्दै आफूविरुद्ध षडयन्त्र रचिएको पंकजले तत्काल पत्रकार सम्मेलन गर्दै बताएका थिए । जुन विषयमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासमेत मुछिए । जसलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले समिति नै बनाएर छानबिन गर्ने निर्णय गर्‍याे । तर त्यसले कुनै आधार पाउन सकेन ।

    बेलाबेला समाजिक सञ्जालमा आफ्ना समर्थकलाई मख्ख बनाउन विभिन्न उपाय अपनाउने अब्दुल्लाह सधै चर्चाको विषय बनिरहे । यो चर्चा र यस्ता घटना माल्दिभ्समा भएको १३औं साफ च्याम्पियनसिपमा समेत उनले देखाए ।

    नेपाल टिम पहिलो पटक साफ इतिहासमा फाइनल पुग्दा उनले नेपाली टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको घोषणा गरे । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल चिरपरिचित भारतसँग ३-० अन्तरले पराजित भयो । यसपछि उनले आफू नेपाल नफर्कने र घर जाने निर्णय लिए । तर एन्फासँग उनले पुन: कर्मथलो फर्कने र अर्काे एक वर्षका लागि सम्झौता गर्ने निर्णय गरे । सोहीअनुसार नेपाल फर्किए र दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै एक वर्ष नेपालमै बिताउने निर्णय लिए ।

    प्रशिक्षक अब्दुल्लाह नेपालमा कुनै पनि समय गुमनाम रहेनन् । नेपाल आएपछि नै सामाजिक सञ्जाल खोलेर चलेका र चर्चामा आएका खेलकुद पत्रकारलाई साथी बनाएका उनी हाल करिब एक लाख हाराहारी मानिसहरूले पछ्याउने (फलो गरिएको) मा रहेका छन् ।

    उनको नेतृत्वमा नेपालले हालसम्म १६ खेल खेलेको छ । जसमा केही आधिकारिक प्रतियोगिता, आधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण, केही गुपचुप मैत्रीपूर्ण र केही आधिकारिक नभएका खेल छन् । नेपालले खेलेको १६ खेलमध्ये आधा अर्थात नौ खेलमा हार बेहोरेको छ । पाँच खेलमा जित निकाल्दा दुई खेलमा हार बेहोरेको छ । यस्तै ३६ गोल बेहोर्दा १६ गोल गरेको छ ।

    यस बीचमा नेपालले कतार फिफा विश्वकप-२०२२ छनोटअन्तर्गत दोस्रो चरणका खेल खेल्यो । यस्तै साफ च्याम्पियनसिपको फाइनलसहित पाँच खेल खेल्दा आठ मैत्रीपूर्ण खेल खेल्यो ।

    यस वर्ष एन्फाले राष्ट्रिय टिमको खेलसँग सँगै आफ्नो तालिकामा रहेको ए डिभिजन लिग र बी डिभिजन लिगसमेत आयोजना गर्‍याे । मछिन्द्र फुटबल क्लब लगातार सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेर महादेशीय कप खेल्न छनोट भयो । यस्तै ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लबले शीर्ष डिभिजन लिगको हैसियत गुमाए ।

    यता, बी डिभिजन लिग च्याम्पियन बन्दै चर्च ब्वाईज युनाइटेड र उपविजेता बन्दै खुमलटार युथ क्लबले शीर्ष डिभिजन लिगको हैसियत बनाए ।

    यस वर्ष पुरुष फुटबलको तुलनामा महिला खेल कम भयो र प्रदर्शनसमेत खस्कियो । महिला टिमले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो भने एक एएफसी महिला एसियन कप छनोट खेल्यो । समग्रमा महिला टोलीले चार अन्तर्राष्ट्रिय खेल खेल्यो ।

    यस्तै उमेर समूहमा महिला टोलीले यु-१९ र यु-१८ साफ च्याम्पियनसिप खेले । जहाँ युवा टोली सफल हुन सकेनन् । वर्ष २०७८ को अन्त्यमा महिला लिग चलिरहेको छ भने सहिद स्मारक सी डिभिजन लिग हुने तय थियो । तर पुनः एन्फा भित्रको विवादका कारण यो प्रतियोगिता छायाँमा परेको छ र १० दिन पर थकेलिएको छ ।

    वर्षको अन्त्यको कुरा गर्दै गर्दा आगामी चुनावले माहोल तातिएको छ । अध्यक्षका प्रत्यासी देखिएका हालका अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्बाङबीच ठूलो रस्साकस्सी चलेको छ ।

    यस वर्ष फुटबल टोलीले खेलेको १६ खेल
    १. नेपालविरुद्ध इराकः २-६
    २. नेपालविरुद्ध चाइनिज ताइपेइ २-०
    ३. नेपालविरुद्ध जोर्डनः ०-३
    ४. नेपालविरुद्ध अष्ट्रेलियाः ०-३
    ५. नेपालविरुद्ध भारतः १-१
    ६. नेपालविरुद्ध भारतः १-२
    ७. नेपालविरुद्ध ओमानः २-७
    ८. नेपालविरुद्ध माल्दिभ्सः १-०
    ९. नेपालविरुद्ध श्रीलंकाः ३-२
    १०. नेपालविरुद्ध भारतः ०-३
    ११. नेपालविरुद्ध बंगलादेशः १-१
    १२. नेपालविरुद्ध भारतः ०-३
    १३. नेपालविरुद्ध मौरिससः १-०
    १४. नेपालविरुद्ध मौरिससः १-०
    १५. नेपालविरुद्ध थाइल्यान्ड ०-२
    १६. नेपालविरुद्ध चोनबुरी एफसीः १-३
    – न्युज कारखाना

  • सुनको मूल्य ६ सयले बढ्यो

    सुनको मूल्य ६ सयले बढ्यो

    काठमाडौँ, ३० चैत-

    नेपाली बजारमा बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
    मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।- न्युज कारखाना

     

  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

    हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, ३० चैत्र-

    नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५२ पैसा र बिक्री दर १२२ रुपैयाँ १२ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ नौ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ६ पैसा र बिक्री दर १५८ रुपैयाँ ८४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २३ पैसा र बिक्री दर १३० रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३४ पैसा र बिक्री दर ९० रुपैयाँ ७८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ एक पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४८ पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली नाै रुपैयाँ ६८ पैसा र बिक्री दर नाै रुपैयाँ ७२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ आठ पैसा र बिक्री दर १९ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २९ पैसा र बिक्री दर ३३ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ८७ पैसा र बिक्री दर नाै रुपैयाँ ९२ पैसा कायम भएको छ ।- न्युज कारखाना

     

  • बागमती प्रदेशले जारी गर्‍याे चार अध्यादेश

    बागमती प्रदेशले जारी गर्‍याे चार अध्यादेश

    राजन कटुवाल
    हेटौंडा, ३० चैत

    बागमती प्रदेश सरकारले थप चार अध्यादेश जारी गरेको छ ।

    प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश, स्थानीयतहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेको छ ।

    जारी अध्यादेशलाई प्रदेश सभाको आगामी बैठक सुरु भएको ६० दिनभित्रप्रतिस्थापनविधेयक पेश गरी प्रदेश सभा बैठकबाट पारित गर्नुपर्नेछ । चारै अध्यादेश २४ चैतमै प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणीकण गरेका थिए ।

    प्रदेश प्रमुखको कार्यालयकाअनुसार २२ चैतमा बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेका अध्यादेश प्रदेश प्रमुख शर्माले २४ चैतमा प्रमाणीकरण गरेका हुन् ।

    बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थापना गरेको प्रदेशकै गौरवको योजनाको रुपमा लिइएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पताललाई अलग गर्ने गरी अध्यादेश जारी भएको छ । अहिले उक्त विधेयकको विभिन्न राजनीतिक दल तथा संघ संस्थाले विरोध गरिरहेका छन् ।

    चिकित्सा शिक्षा अध्यापन गराउने गरी हेटौंडा अस्पतालमा अहिले संरचना निर्माणको काम भइरहेको छ । प्रदेश सरकारले प्रतिष्ठानको आफ्नो अलग्गै अस्पताल बनाउने भन्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने गरी कानुन ल्याएको हो ।- न्युज कारखाना

  • भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

    भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

    भोजपुर, ३० चैत-

    भोजपुरको रामप्रसादराई गाउँपालिका–५ कावाखोलामा मंगलबार राति ट्रयाक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ट्याक्टरमा सवार रामप्रसादराई गाउँपालिका–७ बासिखोराका २० वर्षीय जेबि राई रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ईट्टा लिएर भोजपुरबाट बासिखोरातर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर गएराती १० बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो ।

    ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी मानेभङज्याङले जनाएको छ ।- न्युज कारखाना