Blog

  • अन्तिम खेलमा समेत नेपाल अफगानिस्तानसँग पराजित

    अन्तिम खेलमा समेत नेपाल अफगानिस्तानसँग पराजित

    काठमाडौं, २९ चैत-

    एएफसी फुटसल एसियन कप–२०२२ छनोटअन्तर्गत अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ८–१ अन्तरले पराजित भएको छ ।

    मंगलबार कीर्गिस्तानको बिश्केकमा सान्त्वना जितको खोजीमा रहेको नेपाल अफगानिस्तानसँग ठूलो अन्तरले पराजित भएसँगै खेलिएको तीनै खेल विपक्षीलाई सुम्पिएको छ ।

    लगातार दुई खेल हारेसँगै प्रतियागिताबाट बाहिरिएको नेपालले आज अन्तिम खेल खेलेको थियो । नेपाल ७–० ले पछि परेको स्थितिमा सुमित श्रेष्ठले एक सान्त्वना गोल गरेका थिए ।

    यसअघि नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ अन्तरले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा ताजकिस्तानसँग ११–१ ले लज्जास्पद हार बेहोर्याे ।

    यस समूहबाट उज्वेकिस्तान र ताजकिस्तान एसिया कपमा स्थान बनाउँदा अफगानिस्तान र नेपाल भने बाहिरिएका छन् ।- न्युज कारखाना

  • जुम्ला उत्पादन हुने अतिस औषधिको रुपमा प्रयोग गरिँदै

    जुम्ला उत्पादन हुने अतिस औषधिको रुपमा प्रयोग गरिँदै

    जुम्ला, २९ चैत

    स्थानीय भाषामा अतिस वा निरमसी नामले चिनिने लाेपाेन्मुख वनस्पतिलाई जिल्ला वनस्पति अनुसन्धान केन्द्र जम्लाले औषधिकाे रुपमा प्रयाेग गर्ने भएकाे छ ।

    जिल्ला वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रमेश बस्नेतका अनुसार यसको जराबाट ज्वरो, रुघाखोकी, पखाला, रक्त बिकार, कलेजोसम्बन्धी समस्या भएकामा हुने गरेकाे छ । चिकित्सकहरूका अनुसार अतिसकाे जरा वाथराेग, छारेराेग, भाेक नलाग्ने समस्या नियन्त्रणमा पनि राहत मिल्ने गरेकाे प्रमुख बस्नेतले बताए ।

    स्थानीयवासीले अतिसकाे बिरूवा गाईवस्तुको खुरमा घाउ आएकाे बेला समेत प्रयोग गर्दै आएका छन् । यसबाहेक जुम्लामा पाइने अतिस, पदम चाल, डाँलेचुक, लौठ सल्ला, रोजमेरी, देवदियार लागयत पनि औषधिकाे रुपमा स्थानीयले प्रयाेग गरिरहेका छन् । प्रमुख बस्नेतलले भने- कर्णाली प्रदेशमा पाइने ६१ प्रकार वनस्पतिमाथि अनुसन्धान भइरहेकाे छ । केन्द्रले लगुपत्र र टुकी फूल पनि उत्पादन गर्दै आएको छ ।- न्युज कारखाना

  • दुई दिनदेखि जुम्लामा विद्युत सेवा अवरुद्ध

    दुई दिनदेखि जुम्लामा विद्युत सेवा अवरुद्ध

    जुम्ला, २९ चैत-

    जुम्लामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत नहुँदा यहाँका नागरिक अध्यारोमा बस्न बाध्य भएका छन् ।

    जुम्लामा राष्ट्यि प्रसारण लाइनमा जोडिए पनि पटकपटक अवरुद्ध हुँदा यहाँका नागरिक अध्यारोमा बस्न बाध्य भएका हुन् । दैलेख, कालिकोट खण्डमा विद्युत प्रसारण लाइनमा खराबी आएपछि बिजुली अवरुद्ध भएको विद्युत प्रराधिकरणले जनाएको छ ।

    कालिकोटदेखि जुम्ला ११ केभिए राष्ट्यि विद्युत प्रशारण लाइन जडान भएको छ । तर, पटक पटक बिग्रने भएका कारण जुम्लीले बिजुली आपूर्तिको समस्या जुम्लावासीले भोग्दै आएका छन् ।

    ३३ केभिएको लाइन जुम्ला नपुगेसम्म बिजुली आपूर्तिमा समस्या आइरहने नागरिक समाजका अगुवा राजबहादुर महत बताउँछन् । दुई दिनदेखि बिजुली आपूर्ति नहुँदा स्थानीयवासीले मोबाइलसमेत चार्ज गर्न पाएका छैनन् ।

    नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले विद्युत प्रसारण लाइनमर्मत जारी रहेको बताए । यहाँ उत्पादित बिजुलीको क्षमताले सबै ठाउँमा धान्न सकेको छैन । उनले भने, ‘जुम्लामा उत्पादन भएको घघुत्ती पावरहाउसबाट भ्याससम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, टुँडिखेल, बजार, विजयनगर क्षेत्रमा लाइन सञ्चालन गर्ने तयारीमा छौँ ।’

    नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले बताए । उनका अनुसार दुल्लु कालिकोट ३३ केभिए लाइनमा समस्या देखिएको हो । त्यो क्षेत्रमा कालिकोट वितरण केन्द्रले हेर्ने हो । अहिले छाेटाे समयका लागि कोहलपुरबाटै बिजुली आएको छैन । त्यो त एकैछिनमा आउँछ । यस्तै, कालिकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलेका अनुसार दुल्लु खण्डमा समस्या आएको हो । मर्मतका लागि टोली पुगेको छ । मंगलबार बेलुकासम्म लाइन आउने उनले बताए । न्युज कारखाना

  • जसपा सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी माओवादीमा प्रवेश, यसको देशभर प्रभाव पर्छ : प्रचण्ड

    जसपा सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी माओवादीमा प्रवेश, यसको देशभर प्रभाव पर्छ : प्रचण्ड

    काठमाडौं, २९ चैत

    जनता समाजवाद पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    कोटेश्वर पेरिसडाँडास्थित माओवादी मुख्यालयमा आयोजित कार्यक्रममा चौधरीसहित कांग्रेस, एमालेलगायतका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । चौधरी जसपा परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चौधरीसहित नेता कार्यकर्ताको माओवादी प्रवेशले सुदूरपश्चिममात्र नभएर देशभर प्रभाव पर्ने बताएका छन् ।

    देशको विकास र समृद्धि गर्ने पार्टी माओवादी रहेको र यही पार्टी चौधरी जस्ता नेता कार्यकर्ताको प्रवेश झनै सहयोग पुग्ने उनको भनाइ छ । न्युज कारखाना

  • भरतपुर महानगरको प्रमुखमा कांग्रेसका २५ जना आकांक्षी

    भरतपुर महानगरको प्रमुखमा कांग्रेसका २५ जना आकांक्षी

    चितवन, २९ चैत-
    भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसबाट दुई दर्जन बढी आकांक्षी देखिएका छन् । प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाले महानगर नगर समितिमा नाम दर्ता गराएका छन् ।

    महानगर प्रमुखका लागि केन्द्रीय सदस्य, पूर्वसांसद, बहालवाला जनप्रतिनिधि, पार्टीको जिल्ला तथा नगरको चुनावमा पराजित उम्मेदवारदेखि विजयी नेता आकांक्षी देखिएका छन् । कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरुङ, प्रदेश मन्त्री मिलनबाबु श्रेष्ठ, उपप्रमुख पार्वती शाह ठकुरी, पूर्व जिल्ला सचिव उत्तम जोशी, निवर्तमान कोषाध्यक्ष शङ्कर कँडेल, प्रदेश कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, महानगर सभापति चित्रसेन अधिकारी र निर्वतमान महानगर सभापति भरत अधिकारी आकांक्षी हुनुहुन्छ ।

    यस्तै पूर्व सांसद जगन्नाथ पौडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, नीलकण्ठ रिजाल, गौरीकुमारी श्रेष्ठ, मीना कुमारी खरेल, सुवोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, प्रकाश अधिकारी, प्रा डा केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा सूर्यकान्त घिमिरे, हीरामणि अधिकारी र घनश्याम दवाडी समेत महानगर प्रमुखको आकांक्षी हुनुहुन्छ ।

    यस्तै, उपप्रमुख पदका लागि २४ जना आकांक्षी हुनुहुन्छ । टङ्कनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्णबहादुर गुरुङ, राजीव न्यौपाने, वीरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बराल र रवी भद्र शर्मा खनाल आकांक्षी हुनुहुन्छ ।

    यस्तै सो पदका लागि अन्य आकांक्षीमा निर्मलराज पौडेल, सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरुङ, विनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र बिदुर केसी हुनुहुन्छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले क्षेत्रबाट सिफारिस भई आएका नामलाई पार्टीको विधान अनुसार केन्द्रमा पठाइने बताउनुभयो ।(रासस)

  • बेवाारिसे अवस्थामा शव फेला

    बेवाारिसे अवस्थामा शव फेला

    मान्म, २९ चैत-
    कालीकोटको तिलागुफा नगरपालिका–२ कैलासल्ला राहदह वनमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

    पहिचान नखुलेको एक पुरुषको शव स्थानीयवासीले फेला पारेका हुन् । शव फेला परेपछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट शव बरामद गरेको छ । शव जिल्ला अस्पताल मान्ममा राखिएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

  • युक्रेनमा रुसी हमलामा ४८ लाख बालबालिका विस्थापित

    युक्रेनमा रुसी हमलामा ४८ लाख बालबालिका विस्थापित

    किभ, ३१ चैत-

    युक्रेनमा रुसी हमलापछि ४८ लाख बालबालिका विस्थापित भएका छन् । यो युक्रेनका बालबालिकाको कुल जनसंख्याको झन्डै दुई तिहाई हो ।

    राष्ट्रसंघीय बालकोष युनिसेफका आपतकालीन कार्यक्रम निर्देशक म्यानुअल फोनटाइनले यति ठूलो संख्यामा बालबालिका विस्थापित भएको पहिलो पटक देखेको उनले टिप्पणी गरेका छन् ।

    शरणार्थी बालबालिकामध्ये २८ लाख देशभित्रै र २० लाख अन्य देशमा विस्थापित भएको उनले बताए । २४ फेब्रुवरीदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १४२ जना बालबालिकाको मृत्यु भएको राष्ट्रसंघले पुष्टि गरेको छ । एजेन्सी

  • चालु खाता ४ खर्ब ६२ अर्बभन्दा बढी घाटामा, प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि

    चालु खाता ४ खर्ब ६२ अर्बभन्दा बढी घाटामा, प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि

    काठमाडौं, २९ चैत-

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्तसम्म सरकारको चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता फागुनसम्मको अवधिमा ३ अर्ब ८८ करोडले घाटामा रहेको छ ।

    फागुन महिनासम्ममा पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशतले कमी आई ७ अर्ब कायम भएको राष्ट्र बैंकले जनाएको छ । सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि भई १६ अर्ब ३० करोड पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ९१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब १८ करोड रहेको थियो ।

    राष्ट्र बैंकका अनुसार २०७८ फागुनसम्ममा शोधनान्तर स्थिति २ र्ख ५८ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति फागुनसम्म आइपुग्दा २ अर्ब १७ करोडले घाटामा रहेको छ ।- न्युज कारखाना

  • सार्वजनिक जग्गा अतिक्रमण रोक्न ठूलो चुनौती : मन्त्री झाँक्री

    सार्वजनिक जग्गा अतिक्रमण रोक्न ठूलो चुनौती : मन्त्री झाँक्री

    काठमाडौं, २९ चैत-

    सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण रोक्नु ठूलो चुनौती भएको बताएकी छिन् ।

    सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम नरोकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् । अतिक्रमण हुँदा प्राकृतिक विपत्ती निम्तिएको अवस्थामा २०० जना मान्छेलाई आश्रय दिने ठाउँ नभएको पनि बताइन् ।

    सहर पनि कुरुप भएको र एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाइ छ ।

    त्यसो नगरिए सहरी बस्न मात्र नभइ देखाउन लायक पनि नहुने बताइन् । सोही कारण एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्वयन गर्ने क्रममा सहरीसँगै खानेपानी, ऊर्जा, सडक, सञ्चार, गृहलगायतका मन्त्रालयबीच सहकार्य र समन्वय हुनुपर्ने मन्त्री झाँक्रीले बताएकी छिन् ।
    न्युज कारखाना

     

  • महिला लिगमा एक सय गोल पूरा, उच्च गोलकर्ताको दौडमा सावित्रा

    महिला लिगमा एक सय गोल पूरा, उच्च गोलकर्ताको दौडमा सावित्रा

    रमेश सुवेदी
    काठमाडौं, २९ चैत-

    चितवनमा जारी राष्ट्रिय महिला लिगमा एक सय गोल पूरा भएको छ । सारदानगरमा चलिरहेको लिगमा पहिलो चरणको खेल सकिन बाँकी रहँदा सय गोल पूरा भएको हो ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिगको दोस्रो संस्करण चितवन र विराटनगरमा आयोजना गर्दैछ । पहिलो चरणका खेल चितवनमा चलिरहेको छ । जसमा एक चरणका बाँकी खेल आज (मंगलबार) र भोलि (बुधबार)समाप्त हुँदै छन् ।

    दोस्रो चरणका खेलहरू विराटनगरस्थित सहिद रंगशालामा आयोजना हुनेछ । पहिलो चरणमा कुल २८ खेल हुनेछन् । जसमा २४ खेल समाप्त भइसकेको छ ।

    हालसम्म २४ खेल पुरा हुँदा एक सय १० गोल भएका छन् । लिगको सयौँ गोल गर्ने खेलाडी सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबकी मन्जली कुमारी योञ्जन बनिन् । मन्जलीले धनगढी उपमहानगरपालिकाविरुद्ध २५औँ मिनेटमा गोल गर्दै जारी लिगको सतक गोल गरेकी हुन् ।

    यसअघि लिगको पहिलो गोल त्रिभुवन आर्मी फुटबल क्लबकी रश्मि कुमारी घिसिङले गरेकी थिइन । लिगको ५०औँ गोल एपीएफकै सावित्रा भण्डारी (साम्बा)ले पूरा गरेकी हुन् । उनले चन्द्रपुरविरुद्ध ह्याट्रिक गर्ने क्रममा लिगको ५०औँ गोल गरेकी थिइन् ।

    जारी लिगमा उच्च गोलकर्ताको शीर्षस्थानमा एपीएफकै सावित्रा भण्डारी (साम्बा) रहेकी छिन् । उनले पाँच खेलमा १३ गोल गरेकी छिन् । जसमा तीन ह्याट्रिक रहेको छ ।

    चोटका कारण एक वर्षपछि मैदानमा पुनरागमन गरेकी साम्बाले वालिङ नगरपालिका र धनगढीविरुद्ध समान चार गोल गर्दा चन्द्रपुरविरुद्ध तीन गोल गरेकी छिन् । यस्तै, नेपाल पुलिस र ललितपुर महानगरपालिकाविरुद्ध समान एक गोल गरेकी छिन् ।

    उच्च गोलकर्ताको दौडमा आर्मीकी रश्मिकुमारी घिसिङ सात गोल, धनगढीकी चन्द्रा भण्डारी ६ गोल, शर्मिला थापा मगर पाँच गोल र मन्जलीकुमारी योञ्जन चार गोल गरी क्रमशः एकदेखि पाँचौ स्थानमा छन् ।

    तीन गोल गर्ने खेलाडीमा आठ जना छन् भने १२ खेलाडीले दुई गोल गरेका छन् । एक गोल गर्ने २६ खेलाडी छन् भने एक खेलाडीले आत्माघाति गोल गरेकी छिन् ।

    जारी लिगमा ६ खेल खेलेको एपीएफले सतप्रतिशत जितका साथ १८ अंक जोडेर शीर्षस्थानमा छ । दोस्रो स्थानको पुलिसको तीन जित र एक हार सहित १५ अंक बनाएर दोस्रो स्थानमा छ ।

    तेस्रो स्थानमा रहेको आर्मीको समान ६ खेलबाट चार जित र दुई हारसहित १२ अंक छ । विराटनगर चौँथो स्थानमा रहँदा धनगढी पाँचौँ स्थानमा छ । चन्द्रपुर छैँटौँ स्थानमा रहँदा ललितपुर सातौँ र वालिङ विनाअंक पुछारमा छ ।- न्युज कारखाना