Blog

  • जुम्लाको मालपोतसेवा सुधारिँदै

    जुम्लाको मालपोतसेवा सुधारिँदै

    जुम्ला, ३० चैत्त-

    सेवा सुरु भएकाे एक सय वर्षपछि मालमोत कार्यालय जुम्लाको सेवामा सुधार देखिएकाे छ । सधैँ सुस्त इन्टनेट, जनशक्ति र उपकरण अभाव झेल्दै आएको कार्यालयले केही समयदेखि यस्ताे गुनासाे व्यहाेर्नु परेकाे छैन् । इन्टरनेटकाे गतिमा सुधार, जनशक्ति र उपकरण चुस्तदुरुस्त भएपछि सेवाग्रहीले गुनासाे गर्न छाडेका छन् । अहिले सेवामा सरलीकरणको अभ्यास समेत सुरु भएको सेवाग्राहीहरूकाे भनाइ छ ।

    भूमि व्यवस्थापना तथा अभिलेख विभागका अनुसार मालपोत कार्यालय जुम्ला, नापी कार्यलय जुम्लाले लिखित रजिष्ट्रेसन पारित गर्न थालेकाे एक सय वर्ष पुगेको छ । साेही अवसरमा बुधबार सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएकाे छ । साे अवसरमा मालपोतका निमित्त कार्यालय प्रमुख नरेन्द्रवहादुर रोकायाले चालु आर्थिक वर्षको हालसम्म भएका लिखत राजीनामा लगायत कार्यालयले गर्दै आएको काम बारे जानकारी गराए ।

    उनले दलित, अपांगता भएका व्यक्ति र महिलाका नामा जग्गा पास गर्दा राज्यले नै छुट दिने व्यवस्था गरेको बताए । उनले भने, ‘यस वर्ष दुई सय ६३ जना महिलाकाे नाममा जग्गा पास, ४५ जना दलित र एक अपांगता भएका एक जनाकाे नाममा पास भएकाे छ ।’ उनले मलापोतमा उठेको राजश्व ५० प्रतिशत प्रदेश र ४० प्रतिशत सम्बन्धित स्थानीय तहमा जाने गरेको बताए । उनले भने, ‘चालु आर्थिक वर्षको २०७८/०७९ काे चैतसम्म एक करोड, ५१ लाख ७२ हजार नाै सय ५४ रुपैयाँको राजश्व असुल भएको छ ।

    मालपोतमा दुई सय २७ मुद्दा
    मालमोत कार्यालय जुम्लामा नामसारीका लागि एक सय १३ मुद्दा परेको कार्यालय प्रमुख रोकायाले बताए । जसमा ९० वटा फर्छौट भएका छन् । यस्तै मोठ कायममा ७३ वटा, लालपुर्जा प्रतिलिपिसम्बन्धी ६ वटा, घर कायम नाै वटा, दाखिला १६ वटा, अदालतको दाखिला ८ वटा, बैंकको लिलामसम्बन्धी एक, हक सफा एक वटा मुद्दा गरी दुई सय २७ वटा मुद्दा थिए ।

    कार्यालयमा इन्टरनेटको समस्या समाधानको लागि नेपाल टेलिकमबाट लिजलाइन जडान गरिएको छ । हाल कार्यालयमा नायब सुब्बा तीन, खरिदार तीन, सलेपा एक, कम्प्युटर अपरेटर तीन जना र कार्यालय सहयोगी चार जना गरी जम्मा १४ जना जनशक्ति छन् ।

    दलितलाई राजश्वमा २५ प्रतिशत छुट
    मालपोत कार्यालयमा जग्गा रजिस्टेसन गर्ने दलित समुदायले राजश्वमा २५ प्रतिशत छुट पाएका छन् । चालु आर्थिक वर्षको हालसम्म ४५ जना दलितका नाममा जग्गा रजिस्टेसन हुँदा उनीहरूले २५ प्रतिशत राजश्वमा छुट पाएका हुन् । न्युज कारखाना

  • बाजुरामा ७० मतदान केन्द्र : ३८ अतिसंवेदनशील, २५ संवेदनशील

    बाजुरामा ७० मतदान केन्द्र : ३८ अतिसंवेदनशील, २५ संवेदनशील

    जीवन कैला
    बाजुरा, ३० चैत-

    बाजुरामा ७० मतदान केन्द्रमध्ये ३८ मतदान केन्द्र अतिसंवेदनशील र २५ संवेदनशील तोकिएको छ । जिल्ला सुरक्षा समितिले बाजुराले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ३८ मदनान केन्द्र अतिसंवेदनशील र २५ संवेदनशील र सातवटा सामान्य रहेको जनाएको छ ।

    मतदान केन्द्रलाई तीन तहमा विभाजित गरी सुरक्षा समिति विश्लेषण गरेको जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताएका छन् । बाजुरामा नौवटा स्थानीय तह रहेका छन् । बडिमालिका नगरपालिकाको दुईवटा संवेदनशील र सातवटा सामान्यमा रहेका छन् ।

    त्रिबेणी नगरपालिकामा ५ वटा अतिसंवेदनशील र तीनवटा संवेदनशील रहेको तोकिएको छ । बुढीगंगा नगरपालिकामा ६ वटा अतिसंवेदनशील र चारवटा संवेदनशील मतदान केन्द्र छन् । बुढीनन्दा नगरपालिकामा ६ वटा अतिसंवेदनशील र ६ वटा संवेदनशील रहेका छन् । खप्तड छेडेदह गाउँपालिकामा चार अतिसंवेदनशील र तीनवटा संवेदनशील रहेका छन् । गौमुल गाउँपालिकामा पाँचवटा अतिसंवेदनशील र एकवटा संवेदनशील रहेका छन् ।

    जगन्नाथ गाउँपालिकामा चारवटा अतिसंवेदनशील र दुईवटा संवेदनशील छन् । स्वामीकार्तिक खापर गाउँपालिकामा दुईवटा अतिसंवेदनशील र तीनवटा संवेदनशील छन् । हिमाली गाउँपालिकामा पाँच वटाअतिसंवेदनशील र तीनवटा संवेदनशील रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले जानकारी दिए ।

    निर्वाचनमा भाग नलिने राजनीतिक समूहका गतिविधि, भौगोलिक विकटता, सञ्चार असुविधा, भौगोलिक विकटता र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर जिल्ला सुरक्षा समितिले अति अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा मतदान केन्द्र छुट्याएको बिष्टले बताए ।

    सुरक्षा समितिले बनाएको मादण्डका आधारमा सबै मतदान केन्द्रहरुको अनुगन गरिने जनाएको छ । मतदान केन्द्र सुरक्षा अवस्थालाई हेरेर मतदान अघि, मतदानको दिन र मतदान पश्चात हुने सुरक्षा चुनौतिको विश्लेषण गरी कडा सुरक्षा योजना बनाइएको विष्टले जानकारी दिए ।

    जिल्लाका ७० वटामतदान केन्द्रका र ११२ वटामतदान स्थलहरु छन् । जिल्लामा कुल ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिला गरि जम्मा ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपालगायत १३ वटाराजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका जिल्ला निर्बाचन कार्यालय बाजुराले जनाएको छ ।- न्युज कारखाना

  • आइसीसी वरियता : दीपेन्द्र विश्व वरियताको शीर्ष १० भित्र

    आइसीसी वरियता : दीपेन्द्र विश्व वरियताको शीर्ष १० भित्र

    काठमाडौं, ३० चैत-

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन् ।

    आइसीसीले बुधबार जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औँ स्थानमा छन् ।

    दीपेन्द्रको यो वरीयता नेपाली क्रिकेटरले आईसिसीको वरीयतामा हासिल गरेको सबैभन्दा उच्च स्थान हो ।

    यसअघि यो उपलब्धी नेपाली टोलीका पूर्व कप्तान पारस खड्काको नाममा थियो । पारसले ट्वान्टी २० अलराउन्डर वरीयताको २५औँ स्थान हासिल गरेका थिए ।

    घरेलु मैदानमा सम्पन्न त्रिदेशीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सोही आधारमा वरीयताको शीर्ष १० भित्र अटाएका हुन् ।

    यस्तै, ट्वान्टी २० बलिङ वरीयतामा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । पछिल्लो हप्ता वरीयताको ३७औँ स्थानमा रहेका सन्दीप नयाँ वरीयताको ३८औँ स्थानमा छन् ।

    यस्तै, ट्वान्टी २० बलिङ वरीयताको शीर्ष सयभित्र अटाएका नेपाली टोलीका अर्का बलर अविनास बोहरा वरीयताको ८६औँ स्थानमा छन् ।

    ट्वान्टी २० ब्याटिङ वरीयतामा कुशल भुर्तेल ३६औँ र u ३८औँ स्थानमा छन् । यस्तै, ब्याटिङ वरीयताको शीर्ष सयभित्र अटाएका आसिफ ९९औँ स्थानमा छन् ।

    यस्तै, एकदिवसीय वरीयतामा कप्तान सन्दीप लामिछाने ४८औं स्थानमा छन् ।- न्युज कारखाना

  • उठाइयो हात नभएको लिंगो

    उठाइयो हात नभएको लिंगो

    भक्तपुर, ३० चैत-

    बिस्का जात्राको क्रममा बुधबार दिउँंसो पोटरी स्क्वायरमा हात नभएको लिंगो (नेपाल भाषामा ल्योसिंद्यो) ठडाइएको छ । प्रत्येक वर्ष वर्षको अन्तिम दिन दिउँंसो यहाँं यसरी नै लिंगो उठाउने गरिन्छ ।

    यो लिगोलाई स्थानीय टोलबासीले उठाउने गरिन्छ । डोरीको सहायताले लिंगोलाई उठाउने गरिन्छ । लिंगो उठाएको हेर्न हजारौं स्थानीयवासी हेर्न पुग्छन् ।

    प्रसिद्ध बिस्का जात्राको चौथो दिन लिंगो उठाइन्छ । जात्रा २७ चैतदेखि सुरु भएको थियो । पाँंचतले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो । यो जात्रा हेर्न दसौं हजार मानिस जात्रास्थल पुग्ने गर्दछन् । भक्तपुरको बिस्केट जात्रा आठ रात नौ दिन लामो हुने गर्दछ । जात्रा ५ वैशाखमा सकिन्छ ।- न्युज कारखाना

  • नवौँ राष्ट्रिय खेलकुद २२-२८ जेठसम्म

    नवौँ राष्ट्रिय खेलकुद २२-२८ जेठसम्म

    काठमाडौं, ३० चैत-

    आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक संजालमार्फत सो घोषणा गरेका हुन् ।

    नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ । मन्त्री गहतराजले लेखेका छन्- नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता” आगामी २०७९ साल २२-२८ जेठमा गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐेतिहासिक निर्णय गरेको छ।

    यसअघि आठौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिम नेपालगंजमा आयोजना भएको थियो ।- न्युज कारखाना

  • अर्घाखाँचीमा ट्रयाक्टरबाट खसेर १२ वर्षीया बालिकाको मृत्यु

    अर्घाखाँचीमा ट्रयाक्टरबाट खसेर १२ वर्षीया बालिकाको मृत्यु

    अर्घाखाँची, ३० चैत-

    अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ मा आज गुडिरहेको ट्रयाक्टरबाट खसेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय रोम बहादुर कुमालकी १२ वर्षीया छोरी नहमुना कुमाल रहेकी छिन् ।

    दुर्गाफाटबाट ढुङ्गा लिएर आउँदै गरेको लु २ त ९३७१ नम्बरको ट्रयाक्टरबाट खस्दा उनलाई सोही ट्रयाक्टरले किचेको थियो ।

    ट्रयाक्टर सहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।- न्युज कारखाना

     

  • पदयात्रा पर्यटनमा सकारात्मक सङ्केत

    पदयात्रा पर्यटनमा सकारात्मक सङ्केत

    गण्डकी, ३० चैत-
    कोरोनाका कारण सुस्ताएको पदयात्रा पर्यटनले गति लिन थालेसँगै यस क्षेत्रमा लाग्ने व्यवसायी उत्साहित बनेका छन् ।पछिल्ला दिनमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रुपमा स्थापित बन्दै गएका अन्नपूर्ण आधार शिविरको पदयात्रा होस वा मर्दी हिमालको पदयात्राका लागि दैनिक ठूलै सङ्ख्यामा पदयात्री जाने गरेका छन् । पछिल्ला दिनमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि पदयात्राका लागि आउन थालेसँगै पदयात्रा मार्गका व्यवसायीमा उत्साह थपिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले बताउनुभयो ।

    समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्राका लागि युरोपियन, इटालियनलगायत स्थानका विदेशी पर्यटक आउन थालेको उहाँले बताउनुभयो । पछिल्ला समयमा कोरोना सङ्क्रमणको दर घट्दै गएको र जनजीवन सामान्यावस्थामा फर्किंदै गरेको अवस्थामा फागुनको अन्तिम सातादेखि नै पर्यटकको चाप बढ्दै गएको उहाँले जानकारी यिदनुभयो ।

    उहाँका अनुसार पदमार्गअन्तर्गतका होटेल सबै स्थानमा खुली पर्यटकको सेवामा लागेका छन् । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमाल अन्नपूर्णको काखमा गरिने गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रामध्ये पर्छ । सर्वप्रथम सन् १९५० जुन ३ मा फ्रान्सका हिमाल आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम (८,०९१) को सफल आरोहण गरेसँँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । सो सफलतासँगै सन् १९५३ मे २९ मा सर्वप्रथम तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

    अन्नपूर्ण पदयात्रा मार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गका योजनाकार कर्णेल जिम्मी रवर्टस (बेलायत) हुन् । उनले सन् १९६५÷६६ मा अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गबारे दैनिकी लेखेका थिए । समुद्र सतहदेखि चार हजार १३० मिटरमा अवस्थित अन्नपूर्ण आधार शिविर पदयात्रा मार्गको पहिलो यात्री एरिक सिप्टन (१९६६) हुन् । उनले गरेको पदयात्रासँगै यस क्षेत्रको पदयात्रामा आकर्षण बढ्दै गएको हो । तथ्याङ्कानुसार नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पदयात्राका लागि नै आउने गर्छन् । त्यस्तै १० प्रतिशत हिमाल आरोहण र २० प्रतिशत अन्य पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गर्छन ।

    आजभन्दा चार दशकअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडी बस्नुपथ्र्याे । पछिल्लो तीन दशकयता पदयात्रा मार्गमा पर्याप्त होटल नरहे पनि यहाँका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्र«े आधार शिविर र अन्नपूर्ण आधार शिविरमा हाल २६ होटेल सञ्चालनमा रहेकोमा पछिल्ला समयमा ती होटेलको क्षमता विस्तारसँगै नयाँ होटेल खोल्ने क्रम पनि सुरु भएको छ ।

    उक्त क्षेत्रमा स्थानीय सरकार, पर्यटन व्यवसायीसहित सरोकारवालाबीच सहमति कायम गरी अन्य १० वटा होटेल थप्ने निर्णय गरिएकोमा दुई तीन वटा होटेल बनिसकेको र अन्य बन्ने क्रममा रहेको स्थानीय समाजसेवी एवं अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डानुसार यसअघि यहाँका २६ होटेल प्रत्येकमा छ कोठाका दरले १५६ कोठा रहेका थिए ।

    संयोजक गुरुङका अनुसार अन्नपूर्ण आधार शिविर र यहाँको पर्यटकीय महत्वलाई उजागर गर्न अन्नपूर्ण सेञ्चुरी समितिले वार्षिकरुपमा अन्नपूर्ण म्याराथनसमेत आयोजना गर्दै आएकोमा विगत दुई वर्षयता कोरोना कहरले प्रभावित बनाएको छ । प्रत्येक वर्ष जुन ३ (अन्नपूर्ण डे) का अवसरमा गरिने म्याराथनमा विदेशी धावकसमेत सहभागी बन्ने गरेका छन् ।

    पदयात्रा मार्गकै देउरालीको पूर्वतर्फको पहाडमा अवस्थित गौतम बुद्धको आकृति, दोभान र हिमालयका बीचमा अवस्थित अतिप्राचीन पूजनीयम बराह र त्यहाँबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातोपानीको कुण्डजस्ता स्थललाई थप व्यवस्थित गर्दै लैजाने गरी स्थानीयले प्रयास थालेका छन् । पदमार्गमा पर्ने धार्मिक पर्यटकीय महत्वको पुजनीयम् बराहको मन्दिर बनाउने काम भइरहेको छ ।

    पदयात्रा पर्यटनमा पछिल्ला समयमा बढ्दै गएको पर्यटकको आकर्षणले आफूहरूलाई थप उत्साहित बनाएको बताउँदै सचिव गुरुङले यसलाई आफूहरूले शुभ सङ्केतका रुपमा लिएको बताउनुभयो । कोरोना कहर पछि पर्यटको आगमनलाई बढाउन आफूहरूले होटेलको मेनुका आन्तरिक पर्यटकका लागि ३० प्रतिशतसम्म छुट दिएको उहाँको भनाइ छ ।

    अन्नपूर्ण आधार शिविरको पदमार्गसँगै कास्कीकै अर्को महत्वपूर्ण मर्दी हिमाल पदमार्गमा पनि पर्यटकको चाप बढ्दै गएको युवा पर्यटन व्यवसायी सुदीप गौतमले जानकारी दिनुभयो ।

    मर्दी हिमालमा पदयात्राका लागि पछिल्ला दिनमा दैनिक १०० भन्दा बढी सङ्ख्यामा पर्यटक आउने गरेको जनाउँदै उहाँले पदयात्रा पर्यटनमा सकारात्मक सङ्केत मिलेको र यसले व्यवसायीमा उत्साह थपेको बताउनुभयो । (रासस)

  • ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा दुईजना प्रहरी कर्मचारीको मृत्यु, सातजना घाइते

    ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा दुईजना प्रहरी कर्मचारीको मृत्यु, सातजना घाइते

    ओखलढुङ्गा, ३० चैत-

    ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हर्कपुरमा प्रहरी कर्मचारी सवार बोलेरो दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा सातजना प्रहरी घाइते भएका छन् ।

    सोलुखुम्बुबाट विराटनगरतर्फ जाँदै गरेको बा १७ च १०९४ नम्बरको बोलेरो आज बिहान ९ बजे भिरबाट १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो ।

    दुर्घटनामा परी प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजबंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार भूपेन्द्र खनाल, प्रहरी जवान रूपन विष्ट र चालक लीलाप्रसाद खनाल घाइते भएका छन् ।

    दुर्घटनामा घाइते भएकामध्ये तीन जनालाई उपचारको लागि काठमाण्डौको नेपाल प्रहरी अस्पताल ल्याईएको छ भने अन्यको ओखलढुङ्गाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।- न्युज कारखाना

     

  • मारिओपोल सहरमा १ हजार युक्रेनी सेनाले आत्मसमर्पण गरे

    मारिओपोल सहरमा १ हजार युक्रेनी सेनाले आत्मसमर्पण गरे

    मस्को, ३१ चैत-

    रुसले रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले बुधबार पूर्वीयुक्रेनको रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएको हो ।

    सो सहरलाई मस्कोले एक महिनाभन्दा बढी समयदेखि घेरा हालेको छ । ‘मारिओपल सहरमा ३६ औँ मरिन ब्रिगेडका १ हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले आफ्नो हतियार त्यागे र आत्मसमर्पण गरे’, मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।- एजेन्सी

  • वर्ष २०७८ : नेपाली सिनेमामा उपलब्धि कम, विवाद र असफलता बढी

    वर्ष २०७८ : नेपाली सिनेमामा उपलब्धि कम, विवाद र असफलता बढी

    काठमाडौं, २९ चैत-
    २०७८ मा १३ वटा नेपाली चलचित्र रिलिज भए । रिजिल त भए तर, लगानीसमेत उठाउन सकेनन् । नाै महिना लामो बन्दाबन्दीमा परेकाले चलचित्र बजार ठप्प रह्याे । दशैं तिहारको बीचमा रिलिज भएका चलचित्र दुई दिन पनि चल्न सकेनन् । त्यसपछि पुनः हल बन्द गरियो । हल खुलेसँगै थप चलचित्र रिलिज भए । तर, तिनले पनि न दर्शक कमाए न पैसा ।

    १५ वैशाखबाट कोरोनाको दोस्रो लहरले देशैभरका सिनेमा हल बन्द भए । १५ भदौबाट हल खोल्ने सरकारले निर्णय गर्‍यो । तर, फिल्म नहुँदा हल खुलेनन् । १७ असोजबाट हल खुले । पहिलो दिन नै दुईवटा हलिउड चलचित्र ‘फास्ट एन्ड फ्युरियस ९’ र नोबडी रिलिज भए ।

    हलिउड चलचित्र प्रदर्शनमा आएपछि नेपाली चलचित्रकर्मी पनि जुर्मुराए । त्यसपछि २६ असोज अर्थात् फुलपातिको दिन शोभित बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘डाँडाको वरपीपल’ प्रदर्शनमा आयो । जसले दर्शकको साथ पाउन सकेन् ।

    त्यसपछि ‘धूम-४’, ‘ओभरडोज’, ‘चुरीफुरी’, ‘कठपुतली’, ‘सकिन भुल्न तिमीलाई’, ‘चपली हाइट-३’ रिलिज भए । त्यसपछि फेरि तेस्रो लहर आयो ।सिनेमा हल बन्द भए ।

    पुनः हल खुलेपछि फागुनदेखि क्रमशः ‘म यस्तो गीत गाउँछु २’, ‘लप्पन छप्पन २’, ‘आकाशे खेती,’ ‘चिसो एस्ट्रे,’ ‘हेल्लो जिन्दगी’ र ‘मैले आई लभ यू भन्नै सकिनँ’ रिलिज भए । तर कुनैले पनि लगानी उठाउन सकेनन् । यो समय भने हलको शो र विदेशी फिल्मको प्रभुत्वको समस्या थिएन ।

    समस्या त फिल्मको कथा, सिनेम्याटिकको थियो । राम्रो चलचित्र बनाउन नसकिएपछि चलचित्र निर्माताहरूले भने दर्शकलाई दोष दिए । नेपाली चलचित्रले दर्शकलाई हलसम्म तान्न नसकिरहेका बेला विदेशी चलचित्रले राम्रै व्यापार गरे ।

    तिहारको अवसरमा बलिउड फिल्म ‘सूर्यवंशी’ रिलिज भयो । जसले दर्शक हलसम्म तान्यो । अक्षयकुमार अभिनिति उक्त चलचित्रले दर्शकलाई हलसम्म तानेको थियो । तर, त्यही अवधिमा रिलिज भएका नेपाली चलचित्रले भने पानीसम्म भन्न पाएन ।

    त्यस्तै आलिया भट्ट अभिनित बलिउड चलचित्र ‘गंगुबाई काेठियावाडी’ ले नेपाली दर्शकलाई हलसम्म तानेको थियो । साउथ इन्डियन स्टार अल्लु अर्जुन अभिनित चलचित्र ‘पुष्पा’ १७ डिसेम्बारबाट रिलिज भयो । जुन चलचित्र हेर्न दर्शकको ओइरो लाग्यो । त्यहीबेला हलिउड फिल्म ‘स्पाइडर म्यान नो वे होम’ प्रदर्शनमा आयो । यो चलचित्र हेर्न पनि दर्शक हलसम्म पुगे ।

    त्यसपछि २५ मार्चदेखि साउथ इन्डियन चलचित्र ‘आरआरआर’ प्रदर्शनमा आयो । जसलाई हेर्न दर्शकको ओइरो लाग्यो । १२ करोडभन्दा बढीको कलेक्सन गरिसकेको यो चलचित्रले अझै दर्शक पाइरहेको छ ।

    यो वर्ष नेपाली चलचित्रका लागि व्यापारभन्दा विवादले प्रश्रय पायो । कहिले महानायकको विवाद त कहिले विदेशी चलचित्र नेपालमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने विवाद । कोरोना महामारीले थलिएको चलचित्र क्षेत्रलाई सुधार गर्ने अवसर थियो । त्यसका लागि चलचित्रकर्मी तयारीमा लाग्नुपर्ने थियो । तर, उनीहरू आपसी झैझगडामा व्यस्त देखिए ।

    महानायकको विवाद

    २६ असोजबाट प्रदर्शनमा आएको चलचित्र ‘डाँडाको वरपीपल’ लाई दर्शकले बहिस्कार नै गरे । त्यसको कारण थियो- महानायक विवाद । निषेधाज्ञापछि हल खुल्यो । चलचित्र पनि प्रदर्शनमा आयो । चलचित्र प्रदर्शनअघि चलचित्र निर्माता पक्षले पत्रकार सम्मेलनको आयोजना गर्‍यो ।

    जहाँ शोभित बस्नेतले अभिनेता भुवन केसीलाई महानायकको उपाधि दिए । नेपालको एक मात्र महानायक भन्दै भुवन केसीलाई सम्बोधन गरेको शोभितले पछि माफी नै माग्नुपर्ने अवस्था आयो । भुवनलाई महानायक भनेपछि यसअघिका महनायक भनिएका राजेश हमालका फ्यान रिसाए । यही बीचमा चलचित्रको ‘देउराली बनेछ डुंगाको’ गीत सार्वजनिक भयो । जुन गीतले सबैभन्दा बढी डिसलाइक पायो ।

    महानायक विवाद चर्किने देखेपछि शोभितले कार्यक्रम राजेश हमालको तस्बिर नै राखेर माफी मागे । यति मात्र नभएर राजेश हमाललाई प्रत्यक्ष भेटेर गल्ती भएको भन्दै माफी मागे । महानायक विवाद पहिलोपटक भने भएको होइन् । यसअघि पनि पटकपटक यसरी महानायकबारे विवाद चलिरहेको थियो । जसले विवाद सिर्जना खोज्यो अन्ततः उसैले माफी माग्नुपर्ने अवस्था आएको थियो ।

    पल शाहको हिरासत यात्रा

    नेपाली चलचित्र क्षेत्रको अर्को दुखद् घटना हुन पुग्यो । चलचित्र क्षेत्रका उदीयमान अभिनेता पल शाह बलात्कार प्रकरणमा पक्राउ परे । नाबालिग गायिकाले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै तनहुँ र नवलपुरमा उजुरी दिइन् । जसले गर्दा उनी यतिबेला पुर्पक्षका लागि हिरासतमा छन् ।

    यो विषयमा गायक दुर्गेश थापा, सरोज ओलीलगायतका कलाकार पनि विवादमा तानिए । पल शाह प्रकरणबाटै दुर्गेशलाई चलचित्रको दृश्यबाटै हटाइयो । १ वैशाखबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर-४’ बाट उनलाई हटाइएको थियो ।

    यो वर्ष अधिकांश चलचित्रका कलाकार म्युजिक भिडियोतिर लागे । चलचित्र क्षेत्रमा स्टारडम कमाइसकेका अभिनेता अभिनेत्रीको म्युजिक भिडियो मोह राम्रै देखियो । म्युजिक भिडियो मात्र नभएर उनीहरूले टिकटकतिर पनि राम्रै उपस्थिति जनाउन पुगे ।

    तिहारको अवसरमा पूजा शर्माको चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ प्रदर्शनमा आयो । तामझाम साथ प्रचारप्रसार गरियो । दर्शकहरू हलसम्म पुगे । पूजा शर्मा आफैं देशदौडाहमा लागिन् । पल शाह बलात्कार प्रकरणमा मुछिएपछि उनी पलको बचाउमा लागिन् । उनले पल शाहले बलात्कार गरेको नभई उनलाई फसाउन लागेको भन्दै रोइलो गर्दै हिँडिन् । जसले गर्दा उनको चर्चा पनि राम्रै भयो ।

    करिश्माको राजनीतिक मोह

    सदावहार नायिकाकाे परिचय बनाएकी अभिनेत्री करिश्मा मानन्धरले यही वर्ष पार्टी परिवर्तन गरिन् । उनी एमाले प्रवेश गरेकी छन् । जुन विषय पनि चर्चामा रह्यो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबाट उनले आफ्नो राजनीतिक करिअर सुरू गरेकी थिइन् । बाबुराम पार्टी परिवर्तन गराउँदै जसपामा लागेपछि उनी निस्क्रिय जस्तै बनेकी थिइन् ।

    लामो समय निस्क्रिय जस्तै बनेकी करिश्मा केपी ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेकी हुन् । आफू पदको लोभले पार्टी प्रवेश नगरेको उनले बताएकी थिइन् । पार्टीले जस्तो खालको जिम्मेवारी दिए पनि निर्वाह गर्ने उनको भनाइ थियो । तर, यतिबेला उनी आफुलाई पद चाहियो भन्दै हिँडिरहेकी छन् ।

    गीत संगीतको वर्ष

    यो वर्ष गीत संगीत क्षेत्रले भने राम्रै चर्चा पायो । कोरोना महामारीका कारण चलचित्र क्षेत्र चलायमान हुन नसकिरहेका बेला गीत संगीतमा भने लाखौंको लगानी भित्रियो । केही कलाकारले राम्रै नाम र दाम पनि कमाए । जसमा गायक प्रकाश सपुत, महेश काफ्ले, प्रकाश दुतराज, गायिका समीक्षा अधिकारी, एलिना चौहान, अञ्जु पन्त, रचना रिमाललगायतका गायक गायिका चर्चामा रहे ।

    प्रकाश सपुतको गीत ‘पीर’ ले खुबै चर्चा पायो । द्वन्द्वकालीन घटनामा आधारित भएर बनाइएको गीत राजनीति वृत्तबाट चर्चामा रहेको थियो । माओवादी नेता तथा कार्यकर्ताहरूले विरोध जनाएपछि उनले विवादित यौनकर्मीको दृश्य हटाउँदै पुनः भिडियो अपलोड गर्नुपरेकाे थियाे ।

    यो वर्ष अभिनेत्री प्रिंयंका कार्की तथा ऋचा शर्मा आमा बने । प्रियंकाले छोरीलाई जन्म दिइन् भने ऋचाले छोरा पाइन् । चर्चित हास्य कलकार मनोज गजुरेलले दोस्रो बिहेसमेत गरे ।

    जितु नेपालको मुन्द्रेको कमेडी क्लब बन्द हुन पुग्यो । उक्त शोका कलाकार उमेश राई उर्फ फुलन्देकी आमाले शो छोडेपछि उनी कार्यक्रम नै बन्द गर्न पुगेको थिए । फुलन्देकी आमा यतिबेला अर्को शो कमेडी विथ स्टारमा छिन् ।

    यसरी २०७८ लाई फर्केर हेर्दा गीत संगीत क्षेत्रमा सन्तोषजनक प्रगति देखियो । चलचित्र क्षेत्रको हकमा भने करोडौं लगानी बालुवामा पानीसरह नै भयो । साउड इन्डियन चलचित्र ‘पुष्पा’ र ‘आरआरआर’ले नेपालबाट करोडौं पैसा कमाउन सफल भयो । १ वैशाखबाट प्रदर्शन आउन लागेको अर्को चलचित्र केजीएफ च्याप्टर-२ ले पनि आक्रामक व्यापार गर्ने देखिएको छ ।

    नेपाली चलचित्रकर्मीहरू भने विदेशी चलचित्रलाई प्रतिबन्ध लगाउनुपर्ने माग उठाउँदै आएका छन् । यतिसम्म कि उनीहरूले त चलचित्र विकास बोर्डलाई ज्ञापनपत्र नै बुझाउन पुगे । आफ्नो कमीकमजोरी सुधार गर्दै दर्शकलाई हलसम्म तान्ने खालको चलचित्र बनाउनुको साटो उनीहरू विदेशी चलचित्रमाथि प्रतिबन्ध लगाउनुपर्ने माग अघि सारिरहेका हुन् ।- न्युज कारखाना