Blog

  • सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित

    सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित

    काठमाडौं, १५ साउन –
    सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतबार प्रमाणित गरेका छन् । संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका हुन् ।

    विधेयकमा गैरआवसीय नेपाली नागरिकताको व्यवस्था, आमाका नामबाट नागरिकता हस्तान्तरणका लागि स्वघोषणाको सर्त लगायतका व्यवस्था गरेको छ ।

    प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको थियो ।

    सभामुखले प्रमाणित गरेपछि अब यो विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइनेछ । राष्ट्रपतिको कार्यालयले प्रमाणिकरण गरेर जारी गरेपछि राजपत्रमा प्रकाशित गरिनेछ । -न्युज कारखाना

  • गुनासो नआउने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

    गुनासो नआउने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौं साउन १५ –

    सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।

    मन्त्रायलले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमासिक र वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मन्त्रालयको साख उच्च हुने र जनताको गुनासो नआउने गरी काम गर्न मन्त्रालयअन्तगर्तका निकायका प्रमुखलाई निर्देशन दिए ।

    सूचना प्रविधिको प्रयोगलाई उच्च महत्वका साथ टेलिफोन तथा इन्टरनेट सेवालाई व्यावहारिक रुपमै सर्भसुलभ, भरपर्दो र सर्वसाधारण पहुँचयोग्य बनाउने सरकारको योजना रहेको सुनाउँदै सरकारका प्रवक्ता कार्कीले पछिल्लो समयमा मन्त्रालयले सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा दीर्घकालीनरूपमा सकारात्मक प्रभाव पार्ने गरी कार्ययोजना बनाइरहेको र ती योजना कार्यान्वयन भइसकेपछि मन्त्रालयको साख अझै उच्च हुने विश्वास व्यक्त गरे । आव २०७८–७९ बारे मन्त्री कार्कीले भने, “हामीले अहिलेसम्म राम्रै गरेका छौँ, मन्त्रालयअन्तर्गत सबै निकायको कामबाट हामी असन्तोष हुनुपर्ने अवस्था छैन, तर यतिमै सन्तोष हुने हो भने जनताले अपेक्षा गरेअनुसार लक्ष्यमा पुग्न सक्दैनौँ, अब त्यतातर्फ केन्द्रित हुनुपर्ने आवश्यकता छ ।”

    संस्थालाई अगाडि बढाउन नेतृत्वले ‘मोटिभेसन’ गर्नुपर्नेमा जोड दिँदै उनले सुशासन, पारदर्शिता र जवाफदेहिता कायम राखेर सबैलाई जिम्मेवारीका साथ अगाडि बढ्नसमेत निर्देशन दिए । गत आवमा १२२ माइलस्टोन योजना तोकेकोमा ६७ माइलस्टोन पूर्ण रुपमा कार्यान्वयन भएको, ४३ वटा माइलस्टोन योजना कार्यसम्पन्न हुने दिशामा अग्रसर भएको र ३२ माइलस्टोनहरु सुरु नै नभएको अवस्था रहेको मन्त्री कार्कीको भनाइ छ । ४२ वटा माइलस्टोनमा किन अपेक्षित सफलता हासिल हुन सकेन, ३२ वटा किन सुरु नै भएन भन्ने बारेमा समीक्षा गर्नुपर्नेमा मन्त्री कार्कीले जोड दिए ।

    उनले भने, “हामीले योजनालाई अगाडि बढाउनका लागि कहाँ–कहाँ समस्या छन्, ती समस्यालाई समाधान गर्न सकेनौँ भने सधैँ हामी यस्तै समीक्षा बैठक गर्नेछौँ र यो मन्त्रालयले गर्न खोजेको काम फलानो अन्त्रालयले अवरोध गरेका कारण हामी अगाडि बढ्न सकेनौँ भन्ने कुरा हुन्छ, त्यसले गर्दा नीतिगत रुपमै त्यसलाई समाधान नगरिकन हाम्रो गति तेजीका साथ अगाडि बढ्न सक्दैन ।” मन्त्री कार्कीले मितव्ययिता अपनाउँदै पूँजीगत खर्चमा वृद्धि गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर आगामी दिनमा अगाडि बढ्न निर्देशन दिँदै हुलाक सेवाको आवश्यकताअनुसार अमयानुकूल बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

    उनले भने,, “गोरखापत्रको भवन बनाउनुपर्ने आवश्यकता छ, र त्यसको निमित्त बजेट तर्जुमा गर्ने कुरामा मन्त्रालयको ध्यान पुगेको छ, चलचित्र क्षेत्र पनि त्यतिकै महत्वपूर्ण छ, चलचित्र क्षेत्रलाई हाम्रो देशका हरेक कुनाकाप्चा हामी जहाँ जाहुँ, त्यहाँ पूर्वाधारमै मात्रै विकास गर्न सकियो भने हरेक क्षेत्र फिल्मि सुटिङका लागि इफक्टिभ क्षेत्र हुन्छ, भाषाको हिसाबले संस्कृतिको हिसाबले, भूगोलको हिसाबले इफेक्टिभ हुन्छ, यी सबै क्षेत्रको महत्वलाई बुझेर अगाडी बढाउनुपर्ने अहिले हामीसँग अपेक्षा छ, त्यो अपेक्षा पूरा गर्न सबै लाग्नुपर्नेछ ।”

    राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले सञ्चार क्षेत्रलाई लैङ्गिक समानताको मुद्दा समावेश गर्नुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले जुन काम जुन त्रैमासिकमा सकिनुपर्ने हो त्यही त्रैमासिकमा सम्पन्न गर्ने गरी आगामी आवको योजना बनाउन निकायका प्रमुखलाई निर्देशन दिए । राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले राससले २०५३ सालसम्मको आर्काइभको काम सकिसकेको र आगामी आवभित्रमा आर्काइभको सम्पूर्ण कार्य सम्पन्न गर्ने जानकारी दिए । -रासस

  • भूकम्पले दुई घर भत्किए, १७ घर चर्किए (अपडेट)

    भूकम्पले दुई घर भत्किए, १७ घर चर्किए (अपडेट)

    खोटाङ, १५ साउन –
    खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्पले दुईवटा घर भत्किनुका साथै १७ घर चर्किएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका गंगा राई र हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको हो ।

    मानवीय क्षति नभए पनि दुबै परिवार विस्थापित भएका छन् । हालसम्म भूकम्पले मात्तिमविर्तामा १७ घर चर्किएको विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले बताए । हालसम्म मानवीय क्षति भएको जानकारी नआएको प्रशासनले जनाएको छ ।

    भूकम्पलगत्तै साकेला गाउँपालिकाका पाँचवटै वडामा क्षतिको विवतरण संकलन भइरहेको गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताए । वर्षा भइरहेका कारण क्षतिको विवरण संकलनमा कठिन भइरहेको छ । मात्तिमविर्ताका वडाध्यक्ष जीवन न्यौपानेले दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बढी क्षति पुगेको बताए ।

    क्षति मूल्यांकनका लागि पत्राचार

    हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्यांकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ ।

    आइतबार बिहान भूकम्प गएलगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलिटी एसेसमेन्टका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह मन्त्रालयलाई पत्राचार गरेको हो । भूकम्पबाट भौतिक एवं मानवीय क्षतिको तत्काल एसेसमेन्ट गर्न प्राधिकरणबाट प्राविधिक टोली पठाएर सहयोग गर्न अनुरोध गरिएको नगर प्रमुख विमला राईले बताइन् । न्युज कारखाना

  • जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त

    जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त

    काठमाडौं, साउन १५-
    नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

    संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उहाँलाई पुन: अर्थमन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।

    बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिनुभएको थियो ।

  • आज देशभर कोरोनाको ६२० जना नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

    आज देशभर कोरोनाको ६२० जना नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

    काठमाडौं, १५ साउन-
    पछिल्लो २४ औं घण्टामा देशमा कोरोना भाइरसको ६२० जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६५१ जनाको पीसीआर र ३ हजार १९५ जनाको एन्टीजेन विधिबाट गरी कुल ५ हजार ८४६ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो ।

    बितेको चौबिस घण्टामा २९७ जना कोरोना भाइरसका संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

    हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ५६७ रहेको छ ।

  • ६० वर्षअघि अमेरिकाले किन अन्तरिक्षमा पड्काएको थियो परमाणु बम

    ६० वर्षअघि अमेरिकाले किन अन्तरिक्षमा पड्काएको थियो परमाणु बम

    काठमाडौं, साउन ६ –
    आजभन्दा करीब ६० वर्षअघि अमेरिकाले यस्तो ठाउँमा परमाणु बम विस्फोट गराएको थियो, जुन त्यस समयमा अकल्पनीय थियो । त्यस्तो ठाउँमा पनि परमाणु बम विस्फोट गराइन्छ कसैले सोचेको पनि थिएन ।

    पृथ्वीभन्दा ४ सय किलोमिटर माथि अन्तरीक्षमा उक्त परमाणु बम विस्फोट भएको थियो । त्यस समय उक्त दृश्य हेर्नका लागि मानिसहरु हवाई टापुस्थत होनोलुलुको तटमा जम्मा भएका थिए । अन्तरीक्षमा परमाणु बम विस्फोटका असरहरु हेर्न उनीहरु लालायित थिए ।

    उक्त विस्फोटका क्रममा आकाशमा उत्तरी प्रकाश (नर्दन लाइट्स) जस्तै प्रकाश तैरिएको देखिएको थियो ।

    यो घटना सन् १९६२ जुलाई ९ को हो । अन्तरीक्षमा हुन गइरहेको अविश्वसनीय र अलौकिक घटना हेर्नका लागि हवाई टापुको होनोलुलुमा मानिसहरु तटमा जम्मा भएर व्यग्रताका साथ पर्खिरहेका थिए । त्यसक्रममा मानिसहरुले अन्तरीक्षमा भएको विस्फोट त देखे नै उत्तरी ध्रुवमा देखिने अरोरा बोरिएलिस अर्थात् नर्दन लाइट्सको पनि आनन्द लिन पाए । तर उक्त विस्फोटका कारण विभिन्न ठाउँहरुका विद्युतीय उपकरणमा क्षति पुगेको थियो ।

    अमेरिकाले अन्तरीक्षमा गराएको उक्त परमाणु बम विस्फोटलाई ‘स्टारफिस प्राइम’ नाम दिएको थियो । यो अमेरिकाको अपरेशन फिशबाउलको हिस्सा थियो । उक्त अपरेशन अन्तरगत अमेरिकाले पाँचवटा परमाणु बम विस्फोट गराएको थियो । जसमा स्टारफिस सबैभन्दा ठूलो र भयानक विस्फोट थियो । यस विस्फोटका क्रममा १.४ मेगाटन ऊर्जा निस्किएको थियो । अर्थात् यो १४ लाख टन टिएनटी विस्फोट बराबर थियो ।

    यो विस्फोट जन्स्टन टापुको ठीक माथि अन्तरीक्षमा ४ सय किलोमिटरको उचाइमा गरिएको थियो । यसका कारणले प्रशान्त महासागरको ठूलो क्षेत्रको आकासमा उत्तरी प्रकाशजस्तो दृश्य देखिएको थियो । साथै ठूलो क्षेत्रमा विद्युतीय उपकरणमा पनि क्षति पुगेको थियो ।

    एक सैन्य दस्तावेजका अनुसार क्वाइयालिनको माथि आकारमा करीब २२५४ किलोमिटर पश्चिमतर्फ एक घना वातावरण छाएको थियो । जब विस्फोट भयो तब अन्तरीक्षमा तीव्र रुपमा सेतो प्रकाश निस्कियो । त्यसपछि बादलको बनावट पूर्णरुपमा परिवर्तन भयो । त्यसको ठ्याक्कै पछि सेतो प्रकाश हरियो रङको ठूलो चम्किलो बलजस्तै बन्यो ।

    अमेरिकाले अन्तरीक्षमा उक्त परमाणु बम विस्फोटन गर्नुको कारण सोभियत संघलाई जवाफ दिनु थियो । सोभियत संघले त्यस अगाडि गरेको त्यस्तै खालको परमाणु बम परीक्षणको प्रतिउत्तरमा अमेरिकाले उक्त विस्फोटन गराएको थियो । साथै उक्त विस्फोटनको उद्देश्य पृथ्वीको चुम्बकीय शक्तिको जाँच गर्नु पनि थियो । साथै अन्तरीक्षमा परमाणु विस्फोटनलाई सोभियत संघका विरुद्धमा हतियारको रुपमा प्रयोग गर्न सकिने सम्भावनाका विषयमा पनि अमेरिकाले थाहा पाउन चाहेको थियो ।

    उक्त विस्फोटनका कारण अन्तरीक्षमा रहेका विभिन्न स्याटेलाइटहरु बन्द भएका थिए । उक्त विस्फोटको एक दिन पश्चात् प्रक्षेपण गरिएका स्याटेलाइटहरुले पनि उच्च दरको विकीरणको सामना गरेका थिए ।

    विस्फोटनस्थल भन्दा करीब १४ सय किलोमिटर टाढा रहेको हवाई टापुमा विभिन्न घर, भवन तथा कार्यालयका विद्युतीय उपकरणहरुमा क्षति पुगेको थियो । सडकको बत्ती बन्द भएको थियो र विभिन्न ठाउँमा बिजुली शट भएको थियो । कतिपय ठाउँमा त चोरीको अलार्म समेत आफैं बजेको थियो । त्यसका साथै सञ्चार प्रणालीमा पनि भारी असर परेको थियो । उक्त परीक्षणबाट अमेरिकाले अन्य शत्रु मुलुकको विद्युतीय प्रणालीलाई कसरी ध्वस्त बनाउन सकिन्छ भन्ने कुरा सिकेको थियो ।

  • साढे ५४ अङ्कले बढ्यो, आज ४ अर्ब ६० करोड रुपैयाँको कारोबार

    साढे ५४ अङ्कले बढ्यो, आज ४ अर्ब ६० करोड रुपैयाँको कारोबार

    काठमाडौं, साउन १५-
    हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ५४ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ९५ दशमलव १० विन्दुमा पुगेको छ ।

    आज फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । यस्तै जीवन बीमा समूहको शेयर चार सय १२ र निर्जीवन बीमा कम्पनीको शेयर तीन सय ७४ अङ्कले बढेको छ ।

    नेप्से सूचक बढेको दिन दुई सय २० वटा कम्पनीका एक करोड १३ लाख कित्ता शेयर चार अर्ब ६० करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २१ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज नेपाल इन्सुरेन्स, नेको इन्सुरेन्स, आईएमई जनरल इन्सुरेन्स, प्रुडेन्सियल इन्सुरेन्स, एनएलजी इन्सुरेन्स, युनाइटेड मर्दी हाइड्रो, स्वाभिमान लघुवित्त र युनाइटेड इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    समग्र बजार बढे पनि नेपाल हाइड्रो पावर कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

  • साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीको मृत्यु

    साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीको मृत्यु

    काठमाडौं, १५ साउन-
    वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८ र ७९ मा मृत्यु भएको छ ।

    साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।

    मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । ८ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ ।

    दूतावासका अनुसार मृत्यु भएकाहरुमध्ये ११२ जनाको प्राकृतिक कारण ९ह्दयघाट समेत० र ३४ जनाको आत्महत्या कारण ज्यान गुमाएका हुन् ।

    यस्तै, ३१ जनाको सडक दुर्घटनामा परी, १४ जनाको कार्य क्षेत्रमा दुर्घटनाका कारण र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । एक जना नेपालीको भने हत्या भएको थियो ।

  • नागरिकतादेखि मसान घाटसम्मै विभेद, नागरिकतामै ‘कुकुर कामी’ नाम

    नागरिकतादेखि मसान घाटसम्मै विभेद, नागरिकतामै ‘कुकुर कामी’ नाम

    दैलेख, १५ साउन-
    करिब ५० वर्षअघि रुमगाउँ अर्थात अहिलेको भगवतीमाई गाउँपालिका–२ ।

    त्यसबेलै गाउँमा सामाजिक विकृतिविरुद्ध सशक्त प्रतिरोध गरिरहेका थिए नेप्टो कामी । नेप्टो कामीले दलितको मृत्यु भए फलाँटेमा किन जलाउने रु बालटारमै दाहसंस्कार गर्न किन नपाउने रु भन्दै आएका थिए ।

    बालटारमा क्षेत्री–ठकुरीलाई मात्रै जलाउने तर दलितलाई फलाँटेमा जलाउने परम्परालाई उनी तोड्न चाहन्थे । उनले यो विषय उठाए पनि समाधान भने भएको थिएन । अभियान पूरा नहुँदै उनको ४१ वर्षको उमेरमा मृत्यु भयो ।

    २७ जेठ ०२९ मा मृत्युपछि नेप्टो कामीका अनुयायी युवादस्ताले उनको इच्छाअनुसार बालटारमा शब जलाउन लिएर गए । ठकुरीको चिहानघाटमा दलितको लास जलाउन दिनुहुन्न भनेर ठुकुरी र क्षेत्रीको ठूलै दलबल गयो र त्यहाँ जलाउन दिएनन् पनि ।

    ठकुरीको लास जलाउने ठाउँमा कामीको लास जलाउन दिनुहुन्न भनेर हुलदंगा हुन थालेपछि मलामी गएका पाका पुराना मानिसले ‘यो तमासा नगरौं, आफ्नै चिहानघाट लैजाऊँ’ भनेर मध्यमार्गी विचार अनुसार फलाँटेमै ल्याएर जलाए ।

    ‘नेप्टालाई बालटार लिया बाटो बिराएर,
    ल्याउन त फलाँटे ल्याए फेरि फिराएर १’

    नेप्टो कामीलाई ठुकुरीको चिहानघाटमा जलाउन खोज्दा त्यहाँ अनुमति नभएपछि कामीकै चिहानघाटमा ल्याएर जलाउनु परेको त्यो बेलाको अतिजातिवाद र शोषण दमनको प्रतिक झल्काउने यो देउडा गीत बनेको थियो ।

    नेप्टो कामीले सुरुवात गरेको सामाजिक संघर्षमा पछिल्लो पुस्ताले निरन्तरता दिए । यही क्रममा दलितहरू मरे शंख बजाउन नपाइने कुप्रथाविरुद्ध आन्दोलन छेडे ।

    खासमा क्षेत्री(ठकुरी मरेको बेला मात्र शंख बजाउँदा उनीहरूका इष्टमित्र जम्मा हुन सजिलो पर्छ र दलित मर्दा चाहीँ बजाउन नदिएको खण्डमा कुन जातको मान्छे मरेछ भन्ने थाहा हुनुपर्छ भनेर भिन्न देखाउन यस्तो गरेको भनाइ छ ।

    दलित मरेको बेला पनि शंख बनाउने गरेमा झुक्किएर मलामी जान भेला हुने अवस्था हुन्छ भनेर दुविधा नहोस् भनेर यस्तो गरिएको हो ।

    दलित मरेको बेला गैरदलित मलामी नजाने भएकोले उतिबेला दलित मरेको बेला शंख बजाउन नदिइएको पाका मानिसहरूको अनुमान छ ।

    दलित मर्दा पनि शंख बजाउन पाउनुपर्छ भनी ४० को दशकमा कट्टी, बडाभैरव, बिन्ध्यवासिनी, चौराठा लगायत गाउँमा समेत दलितहरुले संघर्ष गरेपछि स्थानीय प्रशासनले नै दलित मर्दा पनि शंख बजाउन चाहे बजाउन पाउने, नरोक्नु भन्ने आदेशपछि अहिले सबै गाउँमा दलितले निर्वाद रुपमा शंख बजाउन थालेका छन् ।

    दलितहरुको मलामी जान नपरोस् भनेर शंख बजाउन रोकिएको थियो । शंख खुले पनि दैलेखमा दलितहरूको मलामी क्षेत्रीबाहुन अहिले पनि आउँदैनन् । पद, प्रतिष्ठामा रहेका कोही दलित र उनका आफन्त मरे सामान्य सदाचार देखाउन छिटपुट मलामी आउँछन् तर सबैकोमा आउँदैनन् ।

    नेप्टोलाई बालटारमा जलाउन नपाएको गीत बन्यो, निरन्तर संघर्षले दलितहरूलाई जलाउन पाउने अबस्था बनेको छ । सामाजिक रुपमा सबैको सहभागितामा दलितहरूको मलामी अझैं पूर्ण रुपमा खुलेको छैन ।

    गैरदलितहरू मरेको बेला चाहिँ दलितहरूलाई दाउरा काट्न लगाउनकै लागि बोलाएरै लैजान चलन थियो । अहिले बलजफ्ती भने घटेको छ ।

    भकुण्डोलाई जति बढी बल लगाएर भूईंमा दबाइन्छ उति नै माथि उफ्रिन्छ भने जस्तै दलितहरूलाई थिचोमिचो भयो यति विद्रोह झाङ्गिदै आयो । रुमलगायतको क्षेत्रमा यसको ज्वाला अझै बढ्यो । खासगरी माओवादी सशस्त्र युद्धको समयमा दलितहरूमाथि हुने शोषणविरुद्ध गरिएका क्रियाकलापले दलितहरूलाई आत्मविश्वास बढायो ।

    सामाजिक विभेदविरुद्ध जति नै दलित सशक्त भए उति नै विभेद जोगाउन चाहनेहरू जुर्मुराउन पनि छाडेनन् । माओवादी सशस्त्र युद्धको मेला जातीय समानता थालिएका क्रियाकलापले दलितहरूलाई दृढता बढायो ।

    युद्धकालमा लुकेका क्षेत्री ठकुरीहरू माओवादी शान्ति प्रक्रियामा आएपछि चाहिँ ‘दलित बढ्ता भएका ठेगान लगाउनुपर्छ,’ भन्ने मानसिकता राखेर गतिविधि बढाउन थाले ।

    ३२ साउन ०६५ मा रक्षाबन्धनका दिन हामीलाई पनि धागो बाँधिदिनुस् भनी आग्रह गरेका दलितहरुलाई त्यसबेला २२ वर्षका रुमका पण्डित दीपक उपाध्यायले दलितलाई रक्षा बन्धन बाँध्दिन्न भनेपछि स्थानीय दलितले जातीय विभेदको मुद्दा दर्ता गरे, अदालतले तीन महिना कैद र एक हजार जरिवाना गर्‍यो ।

    यो घटनामा गैरदलितहरू संगठित रुपमा दलितहरूलाई ठिक पार्नुपर्छ भन्नेमा लागे । यसको फलस्वरुप वैशाख ०६६ मा ब्राम्हण संघ दैलेखले दलितहरूलाई पनि रक्षाबन्धन बाध्नैपर्ने हो भने ज(जमानी छाडिदिन्छौं भनी आन्दोलन गरे ।

    तत्कालिन प्रमुख जिल्ला अधिकारी बलदेब गौतमले ब्राम्हणलाई कारवाही गर्छु भनेपछि ब्राम्हण संघले आन्दोलन फिर्ता लियो । रुम, कट्टी, बडाभैर, मेहतलोलीलगायत भेगमा दलितहरूको गल्ती खोज्न तम्सेको गैरदलित समुदायका लागि असोज ०६६ मा जगनाथ अर्थात अहिलेको भगवतीमाई गाउँपालिका–४ बुङ्चीका २१ वर्षीय अमृत बिकले ठकुरी छोरीलाई विवाह गरेको विषयमा ठकुरीहरुले कुटपिट गरी ६० हजार जरिवाना र दुई ओटा खसी लुटेका थिए ।

    सरकारले अन्तरजातीय विवाहको अनुदान घोषणा गरेकै समयमा त्यहाँको ठकुरी समाजले कुटपिट गर्नुसँग जरिवाना र खसी लुट्ने काम भएको भनी दैलेखको जिल्ला स्तरीय दलित नेतृत्वको अगुवाईमा जातीय विभेदको मुद्दा अदालत पुगेको थियो ।

    अदालते यो घटनाका मुख्य दोषी ६ जनालाई ६० हजार नगद र खसीको मूल्य फिर्ता गर्नुपर्ने, जनही आठ महिना कैद र पाँच हजारको दरले जरिवाना गर्यो ।

    रुम र यो क्षेत्र अर्थात बेस्तडा भेगमा पुरानत समयदेखि कति विभेद थियो भन्ने कुरा प्रमाण अहिलेको भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका ६२ वर्षका कविराम कामीको नागकिताको प्रमाणपत्र ।७ जेठ २०४६ मा गाउँ पुगेको नागरिकता टोलीले दिएको नागरिकतामा उनको नाम कुुकुर कामी लेखिएको छ । के कोही बाहुन क्षेत्रीलाई भए नागरिकता मै कुकुर लेखिन्थो रु नागरिकताको प्रमाणपत्र नै दशी प्रमाण हो, यो भेगमा दलितहरूले कति शोषण र दमन भोगे माथिका उदाहरणले प्रष्टाउँछ । -न्युज कारखाना

  • खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज हुन्छ : ऊर्जामन्त्री भुसाल

    खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज हुन्छ : ऊर्जामन्त्री भुसाल

    काठमाडौं, साउन १५-
    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताउनुभएको छ ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा आज यहाँ आयोजित ‘अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य’ विषयक कार्यशालामा मन्त्री भुसालले वास्तविक प्रवद्र्धकलाई प्रोत्साहित गर्नेतर्फ आवश्यक कदम चाल्न पनि सरकार तयार रहेको उल्लेख गर्नुभयो ।

    उहाँले हाम्रो पहिलो प्राथमिकता भनेको देशमा अधिकतम विद्युत् उत्पादन गर्दै आन्तरिक खपत वृद्धि गरी प्रतिव्यक्ति विद्युत् खपतलाई क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा तुलनायोग्य अवस्थामा पु¥याउने र आर्थिक उत्पादकत्व वृद्धि गर्ने नै रहेको बताउँदै स्वदेशी खपतभन्दा बढी हुने विद्युत् अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुको विकल्प पनि नरहेको प्रष्ट पार्नुभयो ।

    जलस्रोतको अधिकतम उपयोग गरी विद्युत् उत्पादन गर्न विद्यमान क्यु ४० को डिजाइन व्यवस्थालाई हटाई जलविद्युत् आयोजना विकास गर्ने व्यवस्था लाइसेन्स र पिपिएमा मिलाउन खोजिएको उहाँको भनाइ थियो । नदी प्रवाह आयोजनाहरुको पिपिए पुनःसुरु गर्नेतर्फ गृहकार्य सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

    उहाँले भारतले नेपालका विभिन्न छ आयोजनाको करिब ३६५ मेगावाट विद्युत् भारतीय एक्सचेञ्ज बजारमा निर्यात गर्नसक्ने गरी स्वीकृति प्रदान गरेअनुसार नेपालले सो बराबरको विद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गरिरहेको र थप आयोजनाको विद्युत् निर्यात स्वीकृति प्राप्त गर्न राजनीतिक तथा कूटनीतिक प्रयास भइरहेको जानकारी दिनुभयो ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्नाथ पौडेलले नेपालको विद्युत्को आन्तरिक खपत बढाउन र निर्यात गर्नका लागि विद्युत् उत्पादन, प्रशारण र वितरणको लागतलाई घटाउन आवश्यक रहेको बताउँदै यी तीनै क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी र जल तथा शक्ति आयोगकको सचिवालयका सचिव दिनेश घिमिरेले विद्युत्को आन्तरिक खपतमा वृद्धि र विद्युत् निर्यातबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने भएकाले बढीभन्दा बढी विद्युत् उत्पादन र प्रसारण लाइनको विस्तारमा जोड दिनुपर्ने बताउनुभयो ।

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत् व्यापारबाट प्राधिकरणले छोटो समयमै राम्रो आम्दानी गर्न सकेको् तथ्याङ्क प्रस्तुत गर्दै आन्तरिक रुपमा विद्युत्को खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय भान्छा र उद्योगधन्दामा विद्युत्को खपत बढाउनुपर्नेमा जोड दिनुभयो । -रासस