Category: विशेष

  • अर्बाैं खर्चिए पनि मुग्लिन सडकको अवस्था उस्तै : २ महिनामा १६ दिन पहिरो, १ सय १७ घण्टा सडक अवरुद्ध

    अर्बाैं खर्चिए पनि मुग्लिन सडकको अवस्था उस्तै : २ महिनामा १६ दिन पहिरो, १ सय १७ घण्टा सडक अवरुद्ध

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, भदौ ८
    देशको राजधानी काठमाडौँसँग जोड्ने मुख्य सडकका रुपमा रहेको नारायणगढ मुग्लिन सडकमा वर्षात सुरु भएसँगै पहिरो झर्ने क्रम सुरु हुन्छ । यस वर्षको वर्षातमा पनि सडकमा पटकपटक पहिरो खस्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।

    सडक डिभिजन कार्यालय भरतपुरको तथ्यांक अनुसार असार ६ देखि भदौ ४ सम्मको दुई महिनामा १६ दिन पहिरो खस्यो । यसबीचमा १ सय १७ घण्टा ८ मिनट सडक दुईतर्फी अवरुद्ध रह्यो । यसबीचमा सडक घन्टौँसम्म एकतर्फी मात्र सञ्चालन भएको छ ।

    दैनिक करिब ११ हजार मालवाहक र यात्रुवाहक सवारीसाधन गुड्ने उक्त सडक राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग हो । ३६ किलोमिटरमा फैलिएको सडकको दासढुंगादेखि मुग्लिनसम्म झण्डै २४ किलोमिटरमा कहाँ कतिखेर पहिरो खस्छ भन्ने कुनै टुंगो छैन । सडकमा पटकपटक पहिरो खस्दा यात्रुहरुले सास्ती खेप्नुपरेको छ । यो वर्षको तथ्यांकलाई हेरौं ।

    वर्षात सुरु भएसँगै यो वर्ष कहाँकहाँ पहिरो खस्यो ? कति घण्टा अवरोध ?
    असार ६ : नाम्सी पुलमा पहिरो खस्दा १ घण्टा ५५ मिनेट सडक अवरुद्ध
    असार ७ : डुम्रे, रिग्दी र सिमलताल–सेतीदोभानमा पहिरो खस्दा ५ घण्टा ५० मिनेट अवरुद्ध
    असार ८ : डुम्रे, रिग्दी र सिमलताल–सेतीदोभानमा पहिरो खस्दा ३ घण्टा अवरुद्ध
    असार ९ : १८ किलोमा पहिरो खस्दा २ घण्टा १० मिनेट अवरुद्ध
    असार ११ : १८ किलोमा पहिरो खस्दा १ घण्टा ४० मिनेट अवरुद्ध
    असार १४ : तुइनखोला पुलमा पहिरो खस्दा २७ घण्टा १५ मिनेट सडक अवरुद्ध
    असार १६ : तुइनखोला पुल र नाम्सीमा पहिरो खस्दा २४ घण्टा ४५ मिनेट सडक अवरुद्ध
    असार १८ : तुइनखोला पुलमा पहिरो खस्दा ४ घण्टा ४५ मिनेट सडक अवरुद्ध
    असार २३ : कालीखोलामा पहिरो खस्दा ९ घण्टा सडक अवरुद्ध
    असार २७ : कालीखोलामा पहिरो खस्दा ४० मिनेट सडक अवरुद्ध
    साउन ९ : कालीखोला र तुइनखोलामा पहिरो खस्दा १ घण्टा १० मिनेट अवरुद्ध
    साउन १३ : कालीखोलामा पहिरो खस्दा ५ घण्टा ५ मिनेट अवरुद्ध
    साउन १४ : कालीखोला र तुइनखोलामा पहिरो खस्दा ६ घण्टा सडक अवरुद्ध
    साउन २० : जलबिरे झर्नामा १ घण्टा सडक अवरुद्ध
    साउन २३ : कालीखोलामा पहिरो खस्दा ९ घण्टा सडक अवरुद्ध
    भदौ ४ : टोपेखोलामा १७ घण्टा सडक अवरुद्ध

    उक्त सडकमा खटिएका साईट इन्जिनियर सागर कार्कीले नारायणगढ–मुग्लिन सडकखण्डको भौगोलिक संरचना नै कमजोर रहेकाले वर्षेनी पहिरो खस्ने गरेको बताए । यसका साथै स्थानीय निकायले सडक माथिका डाँडाहरुमा जथाभावी खनेर सडक बनाउँदा पहिरो खस्ने क्रम झन् बढेको उनको भनाइ छ । यस्तै सडक विस्तार गर्दा सडक खनिएकाले पनि पहिरो जाने गरेको छ । साथै सडकखण्डमा १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्तो काटिएका ठाउँमा पहिरो खस्न सक्ने जोखिम ठानी सावधानी अपनाइएको कार्कीले बताए ।

    वर्षेनी पहिरो गइरहने यस सडकखण्डमा सयौंको सँख्यामा सवारीहरुमा क्षति हुने गरेको छ । सयौं घाइते हुने गरेका छन् । कहिले काहीँ सवारी पहिरोमै पुरिँदा मानिसको ज्यान समेत जानेको गरेको छ । एक महिना अघिमात्र माथिबाट खसेका ढुङ्गा लागेर मोटरसाइकल पल्टिनुका साथै, गाडीका सिसाहरु फुटेका थिए । केही मानिसहरु ढुङ्गा खस्दै गर्दा सवारी साधन छोडेर भाग्दै गरेका भिडियो पनि आएको थियो । त्यस यता भने सवारी साधनमा कुनै क्षति भने भएको छैन ।

    ०७२ मा सडक स्तरोन्नति गर्दा ३१ ठाउँमा पहिरोको जोखिम पहिचान गरी ती स्थानमा चट्टान झर्न नदिन रड गाडेर जाली लगाउनेदेखि सडक भत्किन नदिन नदीकिनारमा पाइलिङ गर्ने र आरसिसी वाल लगाउने काम गरिएको थियो । त्यति खेर ५० करोड खर्च गरेर काम गरिएको थियो । तर, अझै पहिरो नियन्त्रणमा आउन सकेको छैन । नयाँ–नयाँ ठाउँमा पनि पहिरो खस्दै गएका छन् ।

    नारायणगढ–मुग्लिन सडकमध्ये ३४ किलोमिटर विश्व बैंकको ऋण सहयोगमा पाँच वर्षअघि मात्र तीन अर्ब ४० करोड खर्च गरेर दुई लेनमा स्तरोन्नति गरिएको हो । सडक स्तरोन्तीपछि झन् पहिरो खस्ने क्रम बढ्दै गएको सडक डिभिजनको तथ्यांकमा देखिन्छ ।

     

  • गाँजाको तालमा अक्सफोर्ड कलेजको बस चलाउँदा ठूलो दुर्घटना, मिडियामाथि कलेजको गुण्डागर्दी

    गाँजाको तालमा अक्सफोर्ड कलेजको बस चलाउँदा ठूलो दुर्घटना, मिडियामाथि कलेजको गुण्डागर्दी

    – हिरालाल आचार्य ‘चितवन’
    चितवन, भदौ ४
    चितवनको टिकौली जंगलमा गत साउन ३१ गते ठूलो दुर्घटना गराएको अक्सफोर्ड कलेज गैंडाकोटका चालकले गाँजा खाएर बस चलाएको पाइएको छ ।

    चालकमाथि गरिएको मादक पदार्थ सेवन र लागू पदार्थ सेवन जाँचका क्रममा चालकले गाँजा खाएको पुष्टि भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् सूचना अधिकारी विजयराज पण्डितका अनुसार चालकको रगत परीक्षण गर्दा गाँजामा पाइने तत्व भेटिएको हो । चितवन मेडिकल कलेजको प्रयोगशालामा उक्त परीक्षण गर्दा गाँजा खाएको पुष्टि भएको हो ।

    चालक नवलपुरको गैँडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियार (भरत) रहेका छन् ।

    गत साउन ३१ गते दिउँसो पूर्व–पश्चिम राजमार्गको  टिकौली जंगलमा अक्सफोर्ड कलेजको बसले शव बोकेको बोलेरो र ६ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको गैँडाकोटको अक्सफोर्ड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो । साथै अन्य ६ वटा दुईपाङ्ग्रे सवारी साधन पनि त्यही दुर्घटनमा परेका थिए ।

    दुर्घटनामा २० जना घाइते भएकोमा केहीको अझै उपचार जारी छ । घटनाको प्रकृति हेर्दा निकै खतरनाक रहेको थियो । प्रहरीले तीव्र गतिका कारण बसले नियन्त्रण गुमाई दुर्घटना गराएको जनाएको छ । घाइते सबैको अक्सफोर्ड कलेजले नै उपचार गर्ने भनी जिम्मा लिइसकेको छ ।

    उनीहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भएको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोमा क्रमशः स्वास्थ्य सुधार हुँदै आएको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण दाहसंस्कारमा सहभागिता जनाउने र क्रिया बस्नुपर्नेहरु नै अस्पतालमा भर्ना हुनुपरेको हो ।

    अहिले चालकले गाँजा खाएर सवारी चलाएको कुरा प्रशारण गर्ने विभिन्न सञ्चारमाध्यमहरुमा अक्सफोर्ड कलेजले गुण्डागर्दी पारामा धम्काउने काम गरिरहेको छ । चितवन पोष्ट दैनिक, नारायणी अनलाइनको समाचार कक्षमै पुगि अक्सफोर्ड कलेजबाट खटिएका ८/१० जना युवाहरु मिलेर धम्काएका हुन् । यसको विरोधमा ती सञ्चार गृहहरुले विज्ञप्ति निकालेर विरोध गरिसकेका छन् ।

    ( चितवन आज मिडिया हाउस प्रालि कलेजको यस्तो कदमप्रति खेद प्रकट गर्दै कसैका डर र धम्कीका अगाडि कायर नबन्ने स्पष्ट पार्न चाहन्छ । )

  • १५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्षमा पनि सकिएन (भिडियोसहित)

    १५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्षमा पनि सकिएन (भिडियोसहित)

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, साउन २६ –
    १५ महिनामा सक्नुपर्ने साढे ४ किलोमिटर भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । वहुवर्षिय योजनामा निर्माणाधीन रहेको यो सडकका लागि चालु आर्थिक वर्षमा सरकारले बजेट नै नछुट्याएपछि सडक विस्तारको काम अझै अलपत्र हुने देखिएको छ ।

    दुईवटा ठेक्कामा काम भइरहेको सो सडक निर्माणको काम हुँदै गर्दा सरकारले योजनामा नै राखेको छैन अर्थात बजेट नै विनियोजन गरेको छैन ।

    सडक डिभिजन चितवनका सूचना अधिकारी इन्जिनियर चन्द्रेश्वर शाहले योजनामा नपरेपछि सडक विभागमा पत्राचार गरिएको बताए । ठेकेदार कम्पनीले बिल भुक्तानीका लागि निवेदन दिइसकेको भए पनि कार्यालयसँग उक्त सडकका लागि बजेट नहुँदा समस्या भएको उनले बताए ।

    केन्द्रीय बस टर्मिनलबाट विशाल चोकसम्म २.२ किमि र विशाल चोकबाट आँपटारीसम्म २.२ किमि गरी दुई खण्डमा काम भइरहेको छ । पूरै ४.४ किमि सडक दुई लेनमा व्यवस्थित गर्न २०७३ सालमा सम्झौता भई रुख काट्ने र खन्ने काम भएको थियो । त्यही समयदेखि सडकको अवस्था विजोक छ । त्यसको एक वर्ष नबित्दै सडकलाई ४ लेन बनाउनका लागि योजना परिवर्तन गरिएको थियो । र सम्झौतामा पनि परिवर्तन गरियो ।

     

    पहिले सम्झौता गरिएको निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवालाई बस टर्मिनलदेखि विशालचोकसम्मको सर्भिसलेन बाहेकको काम गर्न भनियो । उक्त काम १३ करोड लागतमा १५ महिनामा सक्ने गरी २०७३ पुसमा सम्झौता गरिएको थियो । पटकपटक म्याद थप गर्दै आइएको उक्त खण्डमा मा ९७ प्रतिशत काम सम्पन्न भइसकेको छ । उक्त निर्माण कम्पनीलाई कारबाही स्वरुप हर्जना तिराइराखिएको छ । पहिलो चरणमा दैनिक ०.०५ प्रतिशत हर्जना तोकेर कारबाही सुरु गरिएको हो । निर्माण कम्पनीले १० प्रतिशतसम्म हर्जना तिरिसक्दा पनि काम नसके ठेक्का सम्झौता रद्द गरेर कालोसूचीमा राख्ने व्यवस्था खरिद ऐनमा रहेको छ ।

    https://www.facebook.com/chitwanaja01/videos/816393083361327

    दोश्रो खण्ड विशालचोकदेखि आँपटारी सम्मको पूरै र पहिलो खण्डको सर्भिस लेनकोे काम रायमाझी पशुपति जेभी निर्माण कम्पनीले गर्दै छ । २०७७ साल असारमा २६ करोड लागतमा २० महिनामा काम सक्ने गरी सम्झौता भएको थियो । सम्झौता अनुसार २०७८ साल फागुनमा काम सम्पन्न भइसक्नु पर्दथ्यो । यो खण्डमा पनि पटकपटक म्याद थप भइसकेको छ । पछिल्लो पटक म्याद थप भएको अवधि मंसिरसम्म छ । हालसम्म ७० प्रतिशत मात्र काम सकिएको छ ।

    अहिले बजेट नै विनियोज नगरेपछि सडकको काम अझै अलपत्र हुने देखिएको हो ।

    सडक निर्माण सुस्त गतिमा हुँदा सडक ६ वर्षसम्म विजोक अवस्थामा रह्योे । यसमा मुख्य जिम्मेवार निर्माण कम्पनी नै हो । निर्माण कम्पनीका लापरबाही विरुद्ध स्थानीयले पटकपटक सडकमा धर्ना बसेर सडकको काम छिटो गर्न माग गर्दै आए । जति गरे पनि सडकको अवस्था उस्तै रहेको स्थानीयहरुले गुनासो गरेका छन् । नयाँ पिच बनेपनि सडकमा खाल्डाखुल्डी छन् । जेब्रा क्रसिङ्ग र फुटपाथ नबन्दा पैदलयात्रीले दुखः पाउने गरेका छन् । बाइपास सडक भएर यात्रा गर्ने यात्रु, सवारी चालक, व्यावसायी र स्थानीयले यस्तै गुनासो सुनाएका छन् ।

     

  • मुग्लिन सडकमा बारम्बार पहिरो : अलपत्र परेका यात्रुलाई स्थानीय व्यापारीले ठग्दै (फोटो/भिडियो)

    मुग्लिन सडकमा बारम्बार पहिरो : अलपत्र परेका यात्रुलाई स्थानीय व्यापारीले ठग्दै (फोटो/भिडियो)

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, असार १७ –
    यस वर्ष पनि मनसुन सुरु भएसँगै नारायणगढ मुग्लिन सडकखण्डमा पहिरोले सास्ती दिन थालेको छ ।

    दुईदिन अघि इच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलमा खसेको पहिरोले ३१ घण्टासम्म सडक अवरुद्ध गराएको थियो । त्यसपछि पनि पुनः सानातिना पहिरा खस्ने र सडक केही घण्टा अवरुद्ध हुने क्रम चलिरह्यो ।

    ३१ घण्टा अवरुद्ध भएर सञ्चालनमा आएको दुई दिनपछि हिजो राति १ बजे पुनः ३ नं. पुलमै ठूलो पहिरो खस्यो । उक्त पहिरोका कारण सडक अहिले साँझ ६ बजेसम्म अवरुद्ध छ ।

    देशको राजधानी काठमाडौँसँग जोड्ने मुख्य सडकका रुपमा रहेको नारायणगढ मुग्लिन सडक अवरुद्ध हुँदा देशभरको ध्यान केन्द्रित हुन्छ । यस सडक भएर दैनिक १० हजारको हाराहारी सवारी आवातजावत गर्ने गर्छन् ।

    वर्षेनी पहिरो गइरहने यस सडकखण्डमा सयौंको सँख्यामा सवारीहरुमा क्षति हुने गरेको छ । सयौं घाइते हुने गरेका छन् । कहिले काहीँ सवारी पहिरोमै पुरिँदा मानिसको ज्यान समेत जानेको गरेको छ ।

    दुई दिन अघिमात्र माथिबाट खसेका ढुङ्गा लागेर मोटरसाइकल पल्टिनुका साथै, गाडीका सिसाहरु फुटेका थिए । केही मानिसहरु ढुङ्गा खस्दै गर्दा सवारी साधन छोडेर भाग्दै गरेका भिडियो पनि आएको थियो ।

    दुई वर्ष अघि पहिरो रोकथामका लागि पहिरोको उच्च जोखिम क्षेत्र भनेर पहिचान गरिएका ३० वटा स्थानका पहाडमा तारजाली समेत लगाइएको थियो । अहिले तारजाली लगाएको भन्दा अन्य नयाँ स्थानबाट पहिरो गइरहेको सडक डिभिजन कार्यालयका इन्जिनियर सागर कार्कीले बताए ।

    पहिरो पन्छाउने काममा खटिएका इन्जिनियर सागर कार्कीले नारायणगढ–मुग्लिन सडकखण्डको भौगोलिक संरचना नै कमजोर रहेकाले वर्षेनी पहिरो खस्ने गरेको बताए । यसका साथै स्थानीय निकायले सडक माथिका डाडाँहरुमा जथाभावी खनेर सडक बनाउँदा पहिरो खस्ने क्रम झन् बढेको उनको भनाइ छ । साथै सडकखण्डमा १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्तो काटिएका ठाउँमा पहिरो खस्न सक्ने जोखिम ठानी सावधानी अपनाइएको कार्कीले बताए ।

    मौरी पुल र १८ किलोको पहिरो न्युनिकरणका लागि सडक विभागको विज्ञ टोली आएर अध्ययन गरेर गइसकेको र यसैवर्षबाट काम सुरु गर्ने योजना रहेको उनले बताए ।

    सडक डिभिजनले पहिरो पन्छाउन भनेर उच्च जोखिम रहेको स्थानमा २ वटा एक्साभेटर तयारी अवस्थामा राखेको छ ।

    पहिरो गएर सडक अवरुद्ध भएपछि हजारौं यात्रु अलपत्र पर्ने गरेका छन् । ती अलपत्र परेका यात्रुहरुले आफूहरुले साह्रै दुखः पाएको र यहाँका व्यापारीले आफूहरुको दुखलाई फाइदा उठाएर ठगीको व्यापार गरिरहेको गुनासो गरेका छन् ।

    पहिले २०० पर्ने खानाको ४५०, २० रुपैयाँ पर्ने एउटा चाउचाउको ५० रुपैयाँ, २० पर्ने पानीको ४० रुपैयाँ, ५ पर्ने आलुचपको २० रुपैयाँसम्म लिएर त्यहाँका व्यापारीले यात्रुहरुलाई ठग्ने गरेको गुनासो गरेको छन् ।

    साथै पहिरो कुन बेला खुल्ने हो त्यसको जानकारी दिन, अनि यात्रुहरुलाई केही मर्का परेको छ की भनेर बुझ्न राज्यका कुनै पनि निकाय नआउँदा आफूहरुलाई यो देशमा सरकार नै नभएको अनुभव भएको विचल्लिमा परेका यात्रुहरुको गुनासो छ ।

    चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलले यात्रुहरु ठगिएको गुनासो आएको बताउँदै कालोबजारी गर्न खोज्नेलाई कारबाही गरिने बताएका छन् । साथै उनले जाममा परेका सवारीको व्यवस्थापन गर्नका लागि मानिसको वस्ती भएको क्षेत्रमा सवारी रोक्ने काम गरिएको बताए ।

    उनले रातिको समयमा सकेसम्म यात्रा नगर्न, सडक लेनको पूर्ण पालना गर्न र पहिरो पन्छाउने टोलीसँग समन्वय गरेर मात्रै हिँड्न आग्रह गरेका छन् । यससँगै वैकल्पिक सडकमार्गको प्रयोग गर्न र पहिरो खसेको छ छैन यकिन गरेर मात्रै हिँड्न उनको सुझाव छ ।

    तर दोश्रो पटक फेरि पहिरो गई लामो समयसम्म सडक अवरुद्ध हुँदा पनि प्रशासनको तर्फबाट स्थानीय पसलहरुमा कुनै अनगुगमन तथा कारबाही भएको पाइँदैन ।

    नारायणगढ मुग्लिन सडक खण्डमा समयसमयमा विभिन्न विज्ञहरुले पहिरो रोकथामका लागि अध्ययन गरी विभिन्न सुझाव नदिएका पनि होइनन् । तर सुझावअनुसार पहिरो रोकथामका सबै काम गर्न नसकिएको उक्त सडकमा खटिने इन्जिनियरहरुले नै बताउने गरेका छन् ।

         

  • नारायणगढको नारायणी किनारमा सी बीचको झल्को, बढ्यो पर्यटकीय चहलपहल

    नारायणगढको नारायणी किनारमा सी बीचको झल्को, बढ्यो पर्यटकीय चहलपहल

    चितवन, असार १२ –
    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवनको भरतपुर महानगरपालिका १ स्थित नारायणगढ बजार स्थिति नारायणी नदी किनारलाई सी बीच मोडलमा विकास गरिएपछि पर्यटकीय चहलपहल बढेको छ ।

    यसले चितवनलाई अब पर्यापर्यटन मात्रै होइन, जल पर्यटनका लागि पनि उपयुक्त थलो बनाएको छ ।

    समुन्द्रिक किनारको सी बीच जस्तै झल्को दिने गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न महानगरले गुरुयोजना बनाएर केन्द्रको समन्वयमा बजेट ल्याएर विकासका पूर्वाधार निर्माण गरेको हो ।

    सो ठाउँमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यकरणको काम सम्पन्न गरेको छ । सो मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङस्थल लगायतका काम गरेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्र्माण आयोजनाले आरतीस्थल निर्माण र विद्युतीकरणको काम गर्दैछ । महानगरपालिकाले आफ्नै बजेटमा त्यहाँ हरियाली र थप आकर्षक बनाउन काम गरिरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले बताए ।

    नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक गणेश मरासिनीका अनुसार कार्यालयले नारायणगढको नारायणी पुलदेखि उत्तरतर्फ नौ सय ८५ मिटर क्षेत्रमा नदीको बगरक्षेत्र सकिएपछि पानी नजिक पक्की तटबन्ध निर्माण गरेको छ । नदीको सतहदेखि दुई दशमलव पाँच मिटर उचाइमा ११ खुट्किला निर्माण गरिएको हो । रु १५ करोड ९२ लाखमा सम्झौता भई काम सम्पन्न भएको हो ।

    फराकिला रहेका खुड्किलामा मानिस बिहान बेलुका हिँडडुल गर्ने र बस्ने गरेका छन् । खुड्किलाको पाँचपाँच मिटरको फरकमा वृक्षरोपण समेत गरिएको छ । यसले झन् सौन्दर्य बढाएको छ ।

    महानगरपालिकाले गतवर्ष नै नदीको सिमाना सुरु हुने स्थान नजिक दुई दशमलव चार किलोमिटर पदयात्रा निर्माण गरेको थियो । अहिले त्यसलाई थप सुन्दर बनाउन एक सय हाराहारी चारपाङ्ग्रे सवारी अट्ने तीन पार्किङस्थल, बगैँचालगायत निर्माणका काम भइरहेका छन् । महानगरपालिकाको ६ करोड ५० लाख बजेटमा सो काम सम्पन्न हुने चरणमा रहेको महानगरपालिकाले जनाएको छ ।

    यसैगरी पानी छेउकै खुड्किला र नदी सिमानाको पैदलमार्गको बीचमा रहेको बगरको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । त्यहाँ बगैँचा, फुटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट, बीच भलिबल, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा तथा बालबालिकाको खेल, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङलगायत संरचना निर्माण गर्ने महानगरको गुरुयोजनामा उल्लेख छ । नारायणीको पुलबाट नारायणी लिफ्ट सिँचाइसम्मको दुई दशमलव पाँच किलोमिटर लामो सो भूभाग १५ बिघा क्षेत्रमा फैलिएको छ ।

    त्यसैगरी नारायणी नदीको सोही क्षेत्रमा आरती प्लेटफर्म निर्माण गरिँदै छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले दुई करोडको लागतमा कामको तयारी गरेको छ ।

    नारायणी घुम्न आएकाहरुले नदी किनार विदेशको झल्को दिने गरी बनाइएकोमा प्रशंसा गरेका छन् । यद्यपी खानेपानीको व्यवस्था र सार्वजनिक शौचालयको संख्यामा पनि वृद्धि गनुपर्ने आवश्यकता नारायणी घुम्न आएकाहरुले औंल्याएका छन् ।

    नारायणी आएका सुलोचना उपाध्याय, बालकृष्ण पौडेल, अमृत कुमार मास्के, राममाया श्रेष्ठ र सुलोचना उपाध्यायलाई हामीले प्रतिक्रिया लिँदा पहिले भन्दा राम्रो लागेको बताए ।

    पर्यटकीय चहलपहल बढेसँगै नारायणी नदीमा सञ्चालित ८ कम्पनीका ३० मोटर बोट, किनारमा रहेका २०० भन्दा बढी ठेला व्यावसायी र फोटो खिच्न खटिएका १०० भन्दा बढी क्यामेरा म्यानको व्यावसाय पनि फस्टाएको छ ।

  • चितवनमा खडेरीको असर : बारीमै सुके मकैका बोट, किसान चिन्तित

    चितवनमा खडेरीको असर : बारीमै सुके मकैका बोट, किसान चिन्तित

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, जेठ ३० –
    लामो समयसमम्मको खडेरीले चितवनका बारीमा मकैका बोट सुकेका छन् । आकाशे पानीको भरमा रहेका किसानहरुको सबै मकै बारीमै सुक्न थालेको हो । भूमिगत सिँचाईं गरिरहेका किसानहरुको मकै पनि त्यति राम्रो हुन सकेको छैन ।

    यतिखेर मकैको दाना लाग्ने र पाक्ने बेला हो । दाना लागेका मकै नपाक्दै सुकेका छन् भने दाना नगलागेका मकैमा दाना लाग्न सकेको छैन । खेडेरी बढ्दै जाँदा मकैको टुप्पा कुहिने रोग समेत लाग्न थालेको किसानहरुले बताएका छन् ।

    भरतपुर महानगरपालिका २० का किसान नारायणदत्त रिमालले खडेरीले गर्दा आफूहरु मर्कामा परेको सुनाए । कहिले बिउ अभाव, कहिले मल अभाव त कहिले अनेकथरी समस्या झेल्दै आइएको र अहिले घोगा लाउने बेलामा खडेरी परेर झन् पीडा थपिएको रिमाल बताउँछन् ।

    माडी नगरापालिका १ की अनुपा महत्तोले विगतका वर्षमा मकै बेचेर खर्च टार्ने गरेको भएपछि यसपाली मकै सुक्दा गाह्रो पर्ने दुखेसो सुनाइन । उनले कतिपय मकैमा घोगा नै नलागेको र घोगा लागि हालेपनि भित्र थोतो रहेको बताइन् ।

    अरुको बारी भाडामा लिएर मकै खेती गरेका भरतपुर २३ का किसान शोभाखर जैशीले लगाएको खेतालाको ज्याला र बिउको लगानी समेत नउठेको बताए । सुकेका कारणले गर्दा गाईभैँसीले पनि घाँस खाना छाडेको उनको भनाइ छ ।

    कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले सिँचाइ पुगेको ठाउँ बाहेक अन्यत्रको मकै यसपाली जोगाउन कठिन रहेको बताए । उनले यसपाली जिल्लामा मकै उत्पादनमा व्यापक कमी आउने आंकलन गरिएको जानकारी दिए ।

  • चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायमा उत्साह (भिडियोसहित)

    चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायमा उत्साह (भिडियोसहित)

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, जेठ १ –
    चितवनको चौकिडाडामा सुरु भएको प्याराग्लाइडिङ्गमा पर्यटकहरुको चहलपहल बढाउन होटल व्यावसायीहरुले सहयोग गर्ने भएका छन् ।

    हिमालय फ्रन्टियर्स प्याराग्लाईडिङ प्रालिले आज दासढुङ्गामा राखेका चितवनको पर्यटन विकासमा प्याराग्लाइडिङ्ग नामक अन्र्तक्रिया कार्यक्रममा होटल व्यावसायीहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    बैशाख १ गतेबाट भरतपुर–२९ चौकीडाँडाबाट सुरु भएको प्याराग्लाईडिङले चितवनको पर्यटनमा नयाँ आयाम थपेको छ । प्याराग्लाइडिङको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रुपमा उद्घाटन गरेका थिए ।

    पोखराको शरङकोटमा १० वर्षदेखि प्याराग्लाइडिङ्ग गरिरहेको उक्त कम्पनीले व्यावसाय विस्तार गर्दै चितवनमा पनि ल्याएको हो ।

    ३० मिनेटको प्याराग्लाइडिङका लागि अहिले ६ हजार रुपैयाँ लाग्ने हिमालय फ्रन्टियर्स प्याराग्लाईडिङ प्रालिले जनाएको छ । चौकीडाडालाई विशेष पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न बम्जी जम्प, होटल, हिल स्टेशन बनाउने गरी कम्पनीले अध्ययन सुरु गरिसकेको जनाएको छ ।

    प्याराग्लाइडिङ्गले चितवनमा पर्यटकका लागि अर्को आकर्षण थपिएको र जसले पर्यटकको बसाइ लम्बाउने भन्दै आजको कार्यक्रममा होटल व्यावसायीले खुसी व्यक्त गरेका छन् ।

    हेर्नुहोस्, भिडियो :

     

  • तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

    तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, बैशाख २०
    १ महिनादेखि तालाबन्दी हुँदा चितवनमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसमा अध्ययनरत विद्यार्थी आफ्नो सेमेष्टरको अन्तिम परीक्षा दिनबाट वञ्चित भएका छन् ।

    देशका अन्य आंगिक क्याम्पसमा धमाधम परीक्षा भइरहँदा रामपुर क्याम्पसमा भने नेविसंघले गरेको तालाबन्दीले परीक्षा अनिश्चित मात्र बनेको छैन विद्यार्थीकै भविष्यमाथि खेलबाड भएको छ ।

    आफूहरुले परीक्षा दिन पाउनुपर्ने र नियमित पठनपाठन हुनुपर्ने माग राख्दै विद्यार्थीहरु आज जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेको छन् । विद्यार्थीहरुले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउँदै तालाबन्दी खोली पढ्ने वातावरण बनाइदिन माग गरेका छन् ।

    प्रशासन अगाडि विद्यार्थीहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड नगर, परीक्ष खै ?, कृषि प्रधान देशको कृषि शिक्षा यस्तै हुनुपर्ने, चार वर्षे कोष चार दुना ८ वर्ष लाग्ला जस्तो छ लगायतका कुराहरु लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

    पाँचौ सेमेष्टरको परीक्षा चैत २६ बाट सुरु भएर सकिसकेको छ । यसैगरी सातौं सेमेष्टरको परीक्षा बैशाख ७ गतेबाट सुरु भएको छ । दोश्रो सेमेष्टरको परीक्षा जेठबाट गर्ने त्रिविको कार्यतालिका छ ।
    आफूहरुले परीक्षा दिन नपाउँदा भविष्यमाथि चिन्ता लागेको र छिटो परीक्षा दिने वातावरण मिलाइदिन प्रशासनसमक्ष माग गरेका छन् ।

    ज्ञापन पत्र बुझ्दै सहायक सिडिओ चिरञ्जिवी शर्माले आगामी आइतबारसम्म नेविसंघ वार्तामा आएर सहमति नगरे प्रशासनले ताला फुटालिदिने आश्वासन विद्यार्थीहरुलाई दिए ।

    क्याम्पस प्रमुख मिलन सुवेदीले विद्यार्थीहरुले पूरा गर्नै नसकिने माग राखेर तालाबन्दी गरेकाले वार्ता सफल हुन नसकेको बताए । स्ववियु निर्वाचन खारेज गराई पुनः निर्वाचन गराउनुपर्ने, क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने माग राख्दै नेविसंघ आन्दोलनमा उत्रिएको छ ।

    स्वास्थ्य सम्बन्धि एउटा माग पूरा गरेपनि विद्यार्थीहरुले तालाबन्दी नखोेलेपछि प्रशासनको सहयोग मागिएको उनको भनाइ छ । प्रशासनले पनि उपचुनावको कारण देखाउँदै समयमै सहयोग नगर्दा विद्यार्थीहरुलाई परीक्षामा सहभागी गराउन नसिकएको उनले बताए । राजनीतिक विषय भएका कारण कसैले पनि केही गर्न नसकेको उनको भनाइ छ ।

    नेविसंघका सभापति आशिष देवकोटाले आफूहरुको माग पूरा हुनुपर्ने बताए । मेरो आफ्नै पनि परीक्षा रोकिएको बताउँदै उनले यो आफूहरुको बाध्यता भएको बताए । उनले क्याम्पस प्रमुखको वर्खास्ती र स्ववियु निर्वाचन पुनः हुनुपर्ने बताए ।

     

  • नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

    नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, चैत ३०
    देशको तेश्रो पर्यटकीय गन्तव्य चितवन सौराहा नयाँ वर्षका बेला पर्यटकले भरिएको छ । नयाँ वर्ष मनाउन आन्तरिक पर्यटक सौराह पुगेका हुन् ।

    देशका विभिन्न भागबाट सौराह पुगेका पर्यटकका कारण अहिले सौराहा भरिभराउ छ । सौराहका ९० प्रतिशतभन्दा बढी होटल भरिएको क्षेत्रीय होटल व्यावसायी संघ सौराहाका अध्यक्ष गंगा गिरीले जानकारी दिए । कोभिडपछि आन्तरिक पर्यटकहरु बढ्दै गएको गिरीले बताए ।

    उनले नयाँ वर्षमा सौराहमा ३५ सय जति आन्तरिक र ५०० जति बाह्य पर्यटक रहेको बताए । उनले सौराहमा दैनिक ४ हजार ५ सय पर्यटक आएमा मात्र सौराहको पर्यटन व्यावसाय फस्टाउने बताए । नयाँ वर्षपछि सौराहलाई चलायमान राख्न घुमौ चितवन अभियान लिएर देश दौडाहमा जाने योजना बनाएको उनले जानकारी दिए ।

    होटल व्यावसायी एवम् क्षेत्रीय होटल व्यावसायी संघ सौराहका पूर्व अध्यक्ष दिपक भट्टराईले कोभिडपछि पहिलोपटक नयाँ वर्षमा सौराहका होटल पर्यटकले भरिएको बताए । उनले ७० प्रतिशत जति आन्तरिक र बाँकी बाह्य पर्यटक रहेको बताए । बाह्यमा विशेष गरी चाइनिजी र भारतीय पर्यटक बढी छन् । अब सौराहको पर्यटन व्यावसाय चलायमान हुँदै जाने संकेतहरु देखिएको भट्टराई बताउँछन् । उनले चिनिया पर्यटकहरुको बुकिङ्ग आइरहेको बताए ।

    नयाँ वर्षमा ठूलो कार्यक्रम नराखिएपनि साँझ पख सडकमा विभिन्न जातीका झाँकी प्रदर्शन गर्ने गरिएको छ । यसका अलवा होटलभित्रै पनि होटलहरुले साँस्कृतिक कार्यक्रम राखेका छन् ।

    नयाँ वर्ष मनाउन देशका विभिन्न स्थानबाट सौराहा आएका आन्तरिक पर्यटकले सौराह आउँदा रमाइलो लागेको बताएका छन् ।
    पर्यटकीय गन्तव्यका हिसाबले देशको तेश्रो भए पनि सौराहा वाइल्डलाइफ पर्यटनको पहिलो गन्तव्य हो । सौराहाको विकल्पका रुपमा उदाइरहेको पश्चिम चितवनको मेघौली पनि पर्यटकले भरिभराउ भएको छ ।

    मुख्य गरी सौराहा तथा मेघौली आउने पर्यटक हात्ती, डुङ्गा, जिप सफारी गरेर चितवन राष्ट्रिय निकुञ्जमा रहेका गैँडा, बाघलगायत जङ्गली जनावर हेर्न रुचाउँछन् ।

     

  • चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

    चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, चैत ११
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पूरानो नागरिकतालाई सर्वाेच्च अदालतले मान्यता नदिएपछि चितवन निर्वाचन क्षेत्र नम्बर २ संघीय सांसद बिहिन छ ।

    उक्त क्षेत्रमा आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा भइसकेको छ । उपनिर्वाचन गराउन निर्वाचन आयोगले धमाधम तयारी तीव्र पारिरहेको छ । चैत २० गते उम्मेद्वारी दर्ता गर्ने मिति तोकिएको छ ।

    यस्तो अवस्थामा चितवन २ निर्वाचन मय बन्दै गएको छ । चुनाव लड्नका लागि १८ वटा राजनैतिक पार्टीले दल दर्ता गराएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि पनि सभापति रवि लामिछानेलाई नै उठाउने बताउँदै आएको छ । उक्त पार्टीबाट लामिछानेबाहेक अन्य व्यक्ति उम्मेद्वारको आकांक्षी देखिएका छैनन् । नागरिकता पुनः प्राप्त गरेपछि लामिछाने फेरि उपनिर्वाचनको तयारीमा जुटेका छन् । केही दिनअघि चितवन आएका लामिछानेले चितवन–२ का मतदाताले आफूलाई फेरि जिताउनेमा ढुक्क रहेको बताएका थिए ।

    उम्मेद्वारी दर्ता गर्ने मिति नजिकँदै जाँदा अन्य पार्टीहरुबाट भने को उम्मेद्वार बन्छ भन्ने टुंगो छैन ।
    गत निर्वाचनमा दोश्रो बनेका नेपाली कांग्रेसका उमेश श्रेष्ठ पनि उम्मेद्वारको आकांक्षी छन् । उनी लामिछानेको पद रिक्त भएपछि आफूलाई स्वतः निर्वाचित गराउन माग गर्दै निर्वाचन आयोग पुगेका थिए । तर संविधानमै यस्तो व्यवस्था नभएको भन्दै आयोगले उनलाई फिर्ता पठाएको थियो ।

    कांग्रेसभित्र श्रेष्ठमात्र होइनन् उनी सहित ११ जना उम्मेद्वारका आकांक्षी छन् । नेपाली कांग्रेस चितवन उपसभापति राजिव न्यौपानेले क्षेत्रीय समितिबाट उमेद्वारका लागि ११ जनाको नाम जिल्ला समितिमा आएको र त्यसलाई केन्द्रीय समितिमा सिफारिस गरिएको जानकारी दिए ।

    कांग्रेसबाट पूर्व उम्मेद्वार उमेश श्रेष्ठ, जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, देवेन्द्र गुरुङ, पूर्व बागमती प्रदेश मन्त्री मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, भरतपुरकी पूर्व उपमयेर पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ आकांक्षी छन् ।

    नेकपा एमालेले पनि उम्मेद्वारको टुंगो लगाइ सकेको छैन । नेकपा एमाले जिल्ला कमिटी चितवनका अध्यक्ष रामप्रसाद न्योपानेले एमालेले आकांक्षीको नाम संकलन गर्ने काम सुरु गरि नसकेको बताए । उनले आफूहरु पार्टीको ग्रासरुट अभियानमै व्यस्त रहेको र अभियान लगत्तै सर्वसहमतिमा उम्मेद्वार टुंगाइने बताए ।

    एमालेमा पूर्व उम्मेद्वार कृष्ण भक्त पोखरेल, ०७४ को निर्वाचनमा भरतपुर महानगरका मेयरका उम्मेद्वार देवी ज्ञवाली, बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदी, पोल्ट्रि विज्ञ एवम् व्यावसायी डा. तिलचन्द्र भट्टराई, कालिका नगरपालिकाका पूर्व मेयर गोपि श्रेष्ठ र आफू स्वयमको नाम पनि चर्चामा रहेको पार्टी अध्यक्ष न्यौपानेले बताए ।

    यीनै मध्येबाट एक उम्मेद्वार बन्न सक्ने उनले संकेत गरेका छन् । अघिल्लो पटकका उम्मेद्वार तथा दुई पटकसम्म चुनाव जितेका कृष्णभक्त पोखरेलले भने यसपाली आकांक्षा देखाएका छैनन् ।

    नेकपा माओवादी केन्द्रमा हालसम्म कसैको दाबी र चर्चा छैन । गत चुनावमा गठबन्धन गरेर माओवादीले कांग्रेसलाई समर्थन गरेको थियो । यसपाली पनि उही गठबन्धन दोहोरिने संकेत देखिएकाले माओवादीका जिल्ला नेताहरु केन्द्रको निर्णय कुरेर बसिरहेका छन् ।

    यसैगरी राप्रपाले पनि चितवन–२ को उपनिर्वाचनका लागि उमेद्वारको टुंगो लगाइ सकेको छैन । राप्रपा भरतपुर महानगर कमिटीका सचिव सुलभ सिग्देलले उम्मेद्वारको टुंगो लगाउने गरी बैठक बस्ने तयारी भइरहेको जानकारी दिए ।

    राष्ट्रिय जनमोर्चाले चितवन–२ को उपनिर्वाचनमा उपाध्यक्ष जनकराज शर्मालाई उमेद्वार बनाउने निर्णय गरेको छ ।

    मंसिर ४ को निर्वाचनमा चितवन–२ मा रवि लामिछाने ४९ हजार दुई सय ६४ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत प्राप्त गरेका थिए ।

    निर्वाचन कार्यालयका प्रमुख भिमसेन कार्कीले मंसिरको तुलनामा अहिले ४६८ मतादाता थपिन सक्ने आंकलन गरिएको बताए ।