Category: विशेष

  • कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

    – भीष्मराज ओझा
    काठमाडौँ, २९ चैत
    सामान्यतः वन्यजन्तुबाट हुने क्षतिका बारेमा बढी चर्चा हुने गरेको छ । तर मानवीय क्रियाकलापकै कारण बर्सेनि ठूलोमात्रामा हुने वन्यजन्तुको क्षतिबारे भने कम चर्चा हुन्छ । वन्यजन्तुबाट मानवीय क्षति, घरपालुवा जनावर, घरगोठ र कृषिबाली नष्ट हुने गरेको छ । त्यस्तै माननीय क्रियाकलापका साथै चोरी सिकार, पूर्वाधार निर्माण र सडक दुर्घटना परेर वन्यजन्तुको क्षति हुन्छ ।

    आर्थिक वर्ष २०७९/८० मा मात्र २० वटा संरक्षित क्षेत्रहरुमा विभिन्न ४७ किसिमका ५५८ वटा वन्यजन्तु र जिवको मृत्यु भएको थियो । त्यसमध्ये प्राकृतिक कारणले १८७, सडक दुर्घटनाबाट १४१, चोरी शिकारबाट १४, करेन्ट लागेर १०, नहरमा डुबेर २०, तारजालीमा परेर १४, कुकुरको आक्रमणबाट ११३, पासो/जालमा परेर पाँच, कारण नखुलेको २९ र अन्य कारणले २५ वन्यजन्तुको मृत्यु भएको थियो ।

    यसरी मृत्यु भएका वन्यजन्तुमा गैंडा, बाघ, हात्ती, अर्ना, गौरी गाई, हिउँ चितुवा, कृष्णसार, चरी बाघ, चौका, चित्तल, रतुवा, निलगाईलगायत छन् । तराईका संरक्षित क्षेत्रहरुमा मृत्यु हुने वन्यजन्तुको संख्या बढ्दो छ भने पहाड तथा हिमाली क्षेत्रमा यो संख्या तुलनात्मक रुपले कम देखिन्छ । सबैभन्दा बढी वन्यजन्तुको मृत्यु चितवन राष्ट्रिय निकुञ्जमा ११८ र सबैभन्दा कम मकालु बरुण र खप्तड राष्ट्रिय निकुञ्जमा एक÷एक भएको थियो ।

    विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा पछिल्लोपटक पूर्वाधार विकासका कार्य तीब्र रुपमा बढेका छन् । यसै सन्दर्भमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माणका विभिन्न मोडेलबारे बहस भएका छन् । कतिपय स्थानमा त्यस्ता निर्माणको सुरुआत समेत भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा रहेकोे जलदेवी सामुदायिक वनअन्तर्गत आपटारीमा पर्ने पुलमुनि वन्यजन्तुको आहोरदोहोरका लागि बनाइएको ‘अन्डरपास’ प्रभावकारी देखिएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता उमेशविन्दु श्रेष्ठका अनुसार सरकारले संरक्षण क्षेत्रमा ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८’ अनुसार नै पूर्वाधार निर्माण गरिरहेको छ । उहाँ भन्नुहुन्छ, “नारायणगढ–हेटौडा–पथलैया सडक खण्ड विस्तार गर्ने योजनामा पनि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार डिजाइन गर्ने काम सुरु भएको छ । दुई स्थानमा दुई÷दुई किलोमिटर लामो सवारी साधनका लागि ‘फ्लाईओभर’ सडकको प्रस्ताव गरिएको छ ।” जैविक मार्गमा निर्माण हुने यस्ता ‘फ्लाईओभर’ सडकबाट वन्यजन्तुलाई ओहोरदोहोर गर्न सहज हुन्छ ।

    वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न तुलनात्मक निकै खर्चिलो छ । तैपनि जैविक विविधता र वन्यजन्तुको बासस्थान संरक्षण गर्न आवश्यक स्थानमा आर्थिक अवस्थाले धान्न सक्ने जति वन्यजन्तुमैत्री पूर्वाधार बनाउन लागिएको उहाँको भनाइ छ । “हाल निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्डमा समेत जैविक मार्ग पर्ने विभिन्न १३ स्थानमा पुल कल्भर्टलाई केही माथि उठाएर वन्यजन्तुलाई आवतजावत गर्न मिल्ने गरी ‘अन्डरपास’ बनाउने काम भइरहेको छ” प्रवक्ता श्रेष्ठ भन्नुहुन्छ ।

    वन्यजन्तुुको आवतजावतलाई सुरक्षित तुल्याई वन्यजन्तु दुर्घटना कम गर्न तथा मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनिकरण गर्न वन्यजन्तुको बासस्थान र हिँडडुलका क्षेत्रमा निर्माण हुने रेखात्मक प्रकृतिका पूर्वाधार संरचनालाई वन्यजन्तुमैत्री बनाउन उक्त निर्देशिका बनाईएको हो । निर्देशिकामा राष्ट्रिय निकुन्ज, आरक्ष, जैविक मार्ग वा रामसार सूचिमा सुचीकृत सिमसार क्षेत्रलाई अति संवेदनशील क्षेत्र भनी परिभाषित गरिएको छ । यस्तो क्षेत्रमा पर्ने सडक, रेलमार्ग, नहर, नदी नियन्त्रणसम्बन्धी बाँध, तटबन्ध, ग्यास तथा तेलका पाइप लाइन, विद्युत् आयोजनाका बाँधलगायत पूर्वाधार निर्माण गर्दा निर्देशिका लागू गर्नुपर्ने प्रावधान छ ।

    विश्व वन्यजन्तु कोष (डब्लुुडब्लुएफ) नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङ वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा सरकारले लागू गरेको नीति सकारात्मक प्रयत्न भएको बताउनुहुन्छ । युएसआइडीको सहयोगमा डब्लुडब्लुएफ नेपालले पनि यस सम्बन्धमा काम गरिरहेको छ । “वन्यजन्तुमैत्री पूर्वाधार निर्माण वन्यजन्तुका लागि मात्र होइन, यो त मानिस र घरपालुवा जनावरको सुरक्षाका लागि पनि हो”, उहाँ भन्नुहुन्छ, “मानिसले गर्ने यातायातको सुरक्षाका लागि पनि यस्ता पूर्वाधार आवश्यक छन् ।”

    वन्यजन्तुमैत्री पूर्वाधार भविष्यमा सस्तो हुन जान्छ :

    विश्वलगायत छिमेकी मुलुक भारतमा पनि यस्ता धेरै वन्यजन्तुमैत्री पूर्वाधार निर्माण भइसकेका छन् । नेपालले भर्खरै सुरु गर्न लागेकाले त्यस्ता अनुभवबाट नेपालले लाभ लिन सक्ने राष्ट्रिय प्रतिनिधि डा गुरुङको भनाइ छ । वन्यजन्तुमैत्री पूर्वाधार निर्माण सुरुमा अलिकती महङ्गो देखिए पनि वन्यजन्तु र संरक्षण क्षेत्रको दिगो व्यवस्थापनले भविष्यमा सस्तो हुन जान्छ । बाघ, गंैडा हात्तीजस्ता वन्यजन्तु विश्वकै सम्पत्ती भएकाले यसमा लाग्ने थप खर्च दातृ निकायबाट अनुदानका रुपमा पनि लिन सकिन्छ ।

    भायडक्ट, पुल, फ्लाइओभर, कल्भर्ट वा यस्तै प्रकृतिका पूर्वाधारको मुनिबाट वन्यजन्तु आवतजावत गर्न सक्ने अण्डसपास संरचना बनाउन सकिन्छ । त्यस्तै भिलेज रोड ब्रीज, इको ब्रीज, क्यानोपी ब्रीज वा यस्तै प्रकृतिका पूर्वाधारको माथिबाट वन्यजन्तु आवतजावत गर्ने ओभरपास संरचना बनाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

    नेपालमा रहेका ११८ किसिमका पारिस्थिकीय प्रणालीहरुमध्ये हालसम्म ८० किसिमका पारिस्थिकीय प्रणालीहरु संरक्षित क्षेत्रभित्र पर्दछन् । यी पारिस्थिकीय प्रणालीहरुको संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, छ संरक्षण क्षेत्र र १३ मध्यवर्ती क्षेत्र घोषणा भई संरक्षण तथा व्यवस्थापकीय कार्यहरु सञ्चालन हुँदै आएका छन् ।

    चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख डिलबहादुर पुर्जा पुन पनि पूर्वाधारमैत्री निर्माणबाट मात्र जैविक विविधताको दिगो संरक्षण गर्न सकिनेमा जोड दिनुहुन्छ । उहाँका अनुसार पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गर्न निकुञ्जको टिकौलीमा पर्ने सडक खण्डमा वन्यजन्तु ओहोरदोहोर गर्नका लागि दुई किमी लामो ‘फ्लाईओभर’ राख्ने सहमति भएको छ ।

    टिकौली र बरण्डाभारलगायत क्षेत्र मुलुककै लाइफ लाइन सडकखण्ड पनि हो । यस क्षेत्रमा भारतको बाल्मिकी निकुञ्जदेखि महाभारतसम्म जोड्ने जैविक मार्ग करिडोर पनि पर्छ,” प्रमुख पुन भन्नुहुन्छ, “यस खण्डको विकासलाई पनि रोक्न सकिदैन । जैविक विविधताको संरक्षणका लागि करिडोर जोगाउन वन्यजन्तुमैत्री पूर्वाधार निर्माण पनि अपरिहार्य छ ।” यसले गर्दा वन्यजन्तुको निरन्तर ओहोरदोहोर हुने र यातायातका साधन पनि २४सै घण्टा निर्वाध सञ्चालन गर्न सकिन्छ ।

    चितवन निकुञ्ज क्षेत्रमा पर्ने हुलाकी राजमार्गका सन्दर्भमा पनि कसरादेखि बनकट्टा क्षेत्रमा पर्ने धु्रवा पोष्ट छेउबाट पनि यस्तै करिब दुई किमी लामो ‘फ्लाईओभर’ बनाउन सके जैविक विविधतालाई कम असर पर्ने आफूले सुझाव दिएको उहाँ बताउँनुहुन्छ ।

    नेपालले जैविक विविधता संरक्षणको क्षेत्रमा अवलम्बन गरेको विभिन्न नीति तथा योजना अन्तर्राष्ट्रिय मञ्चहरुमा उच्च प्रशंसा हुँदै आएको छ । त्यसका बाबजुद जैविक विविधता संरक्षणमा केही चुनौतीको सामना गर्नु परिरहेको छ । निकुञ्ज वरपर बढ्दो जनघनत्व र प्राकृतिक स्रोत माथिको निर्भरता, वातावरणीय व्यवस्थापन योजना विनाका विकास निर्माण, जलवायु परिवर्तनको प्रभाव, मानव वन्यजन्तु द्वन्द्व तथा अव्यवस्थित भू–उपयोगका कारण संरक्षित क्षेत्रमा पर्न गएको असर मुख्य चुनौती हुन् ।

    निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष वासु ढुङ्गाना संरक्षण क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार नबनाउँदा संरक्षणका लागि प्रत्युपादक हुने गरेको बताउँनुहुन्छ । जैविक विविधतामा असर पर्छ भनेर हाम्रो जस्तो विकासोन्मुख मुलुकले विकास निर्माणका काम रोक्नु पनि हुदैन, तर जैविक विविधताको संरक्षणलाई नजरअन्दाज पनि गर्नुहुँदैन, उहाँ भन्नुहुन्छ, “वन्यजन्तुको ओहोरदोहोरका लागि ‘अन्डरपास’ र ‘ओभरपास’ आवश्यकताअनुसार बनाएर निर्माणको काम गर्नुपर्छ ।”

    क्षति न्यून गर्न वन्यजन्तुमैत्री पूर्वाधार आवश्यक :

    संरक्षित क्षेत्रका राजमार्ग, सडक वा अन्य स्थानमा मानव र वन्यजन्तुबीचको द्वन्द्वबाट हुने क्षति न्यूनीकरण गर्न वन्यजन्तुमैत्री पूर्वाधार आवश्यक पर्ने एक अध्ययनले समेत देखाएको छ । रेखीय वा लामो प्रकृतिको पूर्वाधार (सडक, सिँचाइ, प्रसारणलाइन, रेलका लिङ्कलगायत) निर्माण गर्दा अपनाउनुपर्ने सावधानी र वातावरणीय पक्षप्रति ख्याल नगर्दा मानव–वन्यजन्तु द्वन्द्वका घटना बढेका छन् । यस्ता दुर्घटनाबाट जैविक विविधता संरक्षणमा गरेको खर्च खेर जाने र संरक्षणमा प्राप्त उपलब्धि मासिने देखिएको छ ।

    नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले केही समयअघि यस विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले स्थलगत अध्ययन गरेको थियो । तराईका बारादेखि कैलालीबीचका सबै जिल्लाको स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गरिएको छ । प्रतिवेदनमा तराईका जिल्लामा भइरहेका भौतिक पूर्वाधारको अवस्था, प्रभावित क्षेत्र, पूर्वाधार निर्माणका सकारात्मक तथा नकारात्मक पक्ष, वन्यजन्तुमैत्री निर्माणका आधार, निर्माणका क्रममा सम्बोधन गर्नुपर्ने विषय तथा क्षेत्रलाई समेटिएको छ ।

    अध्ययनमा पूर्व पश्चिम सडक विस्तार, हुलाकी मार्ग, सिँचाइ आयोजना (सिक्टा र रानीजमरा–कुलेरिया), मोतीहारी–अमलेखगञ्ज पाइपलाइन, चुरेमा निर्माणाधीन मदन भण्डारी राजमार्ग, ललितपुर–निजगढ फास्ट ट्रर्याक, प्रस्तावित निजगढ विमानस्थललगायतका निर्माण आयोजनाहरुलाई समेटिएको छ । वन्यजन्तुमैत्री पूर्वाधार निर्माणका केही काम भए पनि ती पर्याप्त नभएको र हाल निर्माण भएकाभन्दा अझ स्तरीय र प्रभावकारी निर्माण आवश्यक देखिएको प्रतिवेदनको निष्कर्ष छ ।

    वन्यजन्तु सजिलै र स्वतन्त्ररूपमा ओहोरदोहोर गर्नसक्ने खालका पूर्वाधार निर्माण गर्नुपर्ने, भौतिक पूर्वाधार निर्माण गर्नुपूर्व जैविक मार्ग, वन्यजन्तुको वासस्थान र संवेदनशील अवस्थामा रहेका ‘बोटलनेक’ (वन्यजन्तु ओहोरदोहोर गर्ने साँघुरो जैविक क्षेत्र) को नक्सा तयार गर्नुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ ।

    प्रतिवेदनमा चितवनको बरण्डाभारस्थित राजमार्गमा वन्यजन्तु ओहोरदोहोर गर्न बनाइएको ‘अन्डरपास’ प्रभावकारी भएको पाइएको उल्लेख छ । वन्यजन्तुको बासस्थान, गतिविधिलगायत अध्ययन गरेर मात्र ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउनुपर्ने सुझाव दिइएको छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सडक विभाग, केन्द्रीय तथा प्रादेशिक सम्बन्धित मन्त्रालय, मध्यवर्ती क्षेत्र विकास परिषद्, संरक्षण क्षेत्र तथा वन उपभोक्ता समूहबीच सहकार्य तथा समन्वय अनिवार्य छ ।

    स्थानीय तहमा तीव्र गतिमा भइरहेका सडक, सिँचाइ, रेलमार्गलगायतका निर्माण कार्यलाई जैविक विविधतामैत्री बनाउनुपर्ने, ठूला सिँचाइ, नहर र कुलोको दुवै किनारमा फेन्सिङ गरी वन्यजन्तु स्वतन्त्ररूपमा ओहोरदोहर गर्न मिल्ने गरी उपयुक्त र वैज्ञानिक पूर्वाधार निर्माण गर्नु आवश्यक छ । – रासस

  • फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

    काठमाडौं, फागुन २२-

    मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामकाे सर्भर डाउन भएको छ ।

    नेपाली समयअनुसार मंगलबार बेलुकी करिब ९ बजेदेखि धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडेको हो।

    प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैं लगआउट हुने र लगइन नहुने समस्या देखिएको छ।

    केही देशमा गुगल प्ले स्टोर पनि नचलेको भन्दै प्रयोगकर्ताहरूले ट्विटरमा लेखेका छन्।

     

  • सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

    –हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, ६ फागुन
    चितवनका किसानहरु सडकमा दुध पोखेर आन्दोलनमा उत्रिएका छन् ।

    उत्पादित दुधले बजार नपाएको र बिक्री भएको दुधको पनि भुक्तानि दुग्घ उद्योगहरुबाट नपाइएको भन्दै किसानहरु आन्दोलित बनेका हुन् ।

    चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न सहकारीबाट आन्दोनका किसानहरुको प्रतिनिधित्व रहेको थियो ।

    उनीहरुले सडकमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । त्यसपछि किसानहरु फेरि सडकमा नारा लगाउँदै केन्द्रिय बस टर्मिनल चोकमा पुगेर दुध पोखेका हुन् ।

    दुध बिक्री हुन छाडेको र दुध बिक्री बापतको पैसा पनि महिनौँसम्म नपाएपछि किसान सडकमा दुध फाल्न बाध्य भएको चितवन जिल्ला दुध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । दुध बेचेको पैसा लामो समयसम्म पनि नपाएपछि किसान समस्यामा परेको उनले बताए । अध्यक्ष बगालेका अनुसार किसानलाई बैंकको ब्याज तिर्न र गाईभैँसीको दाना–चोकर खुवाउन समेत कठिनाइ हुन् थालेको छ ।

    साउन महिनादेखि किसानहरुले बिक्रि गरेको दुधको भुक्तानी दुध विकास संस्थान र निजी डेरी उद्योगहरुबाट करिब ५२ करोड रुपैयाँ लिन बाँकी रहेको बगालेले जानकारी दिए ।

    हेरौं फोटोफिचर :

     

     

     

  • उपरदाङगढी जाने आन्तरिक पर्यटकलाई शक्तिखोरमा बसेर ठग्दै ग्रिन हिल रेष्टुरेण्ट

    उपरदाङगढी जाने आन्तरिक पर्यटकलाई शक्तिखोरमा बसेर ठग्दै ग्रिन हिल रेष्टुरेण्ट

    चितवन, माघ २७ –
    चितवनको शक्तिखोरमा सञ्चालित ग्रिन हिल रेष्टुरेण्टले ग्राहकहरुलाई ठग्ने गरेको खुलेको छ ।

    ब्रोइलर कुखुराको मासु र एकमुठि चिउरामात्र खाजा खाएको ३०० का दरले रकम लिएपछि उपरदाङगढी हिँडेका युवाहरुले उक्त कुरा पत्ता लगाएका हुन् ।

    खाजा खाएपछि बिल माग गर्दा फेमली होटल एण्ड खाजा घरको नाममा पान नम्बर समेत उल्लेख नभएको बिल होटल काउण्टरबाट पाइएको ती युवाहरुले बताएका छन् ।

    ग्रिन हिल रेष्टुरेण्टको दर्ता प्रमाण पत्र, खानाखाजाको दररेट (मेनु), बिल लगायतका कागजात माग गर्दा पनि उक्त होटलले देखाउन सकेको छैन ।

    यस विषयमा प्रतिक्रिया लिन खोज्दा होटल साहुसँग सम्पर्क हुन सकेन भने होटलका स्टाफहरुले प्रतिक्रिया दिन मानेनन् ।

    यसरी चितवनको पूरानो सदरमुकाम उपरदाङ्गढी हिँडेका पर्यटकलाई यस होटलले ठग्ने गरेको पाइएको हो । यसतर्फ चितवन प्रशासन र सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

  • संरक्षणको पर्खाइमा चितवनको बाल्मीकि आश्रम : भारत हुँदै जानुपर्ने बाध्यता

    संरक्षणको पर्खाइमा चितवनको बाल्मीकि आश्रम : भारत हुँदै जानुपर्ने बाध्यता

    – राधेश्याम विश्वकर्मा
    भैरहवा (रुपन्देही), १७ माघ
    बाल्मीकि आश्रम जान त्रिवेणी हुँदै गण्डक ब्यारेजबाट पारिपट्टि भारतको बाल्मीकि नगर हुँदै जानुपर्छ । नेपालतर्फबाट बागमती प्रदेशमा रहेको चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको बाल्मीकि आश्रममा जाने बाटो नभएकाले गण्डकी प्रदेशबाट गण्डक ब्यारेज हुँदै भारतको बाल्मीकि नगर पुग्नुपर्ने बाध्यता रहेको छ ।

    गण्डक ब्यारेजको छेउ हुँदै बाल्मीकि नगरबाट केहीबेर हिँडेपछि बाल्मीकि रिजर्भ टाइगर रिसोर्ट आउँछ । पहिलो सोधपुछ त्यहीँ हुन्छ । त्यहाँ एक सय रुपैयाँ गाडी प्रवेश शुल्क तिरेपछि प्रवेश गर्न पाइन्छ । त्यहाँबाट भित्र छिरेर पाँच÷छ किलोमिटर जङ्गलको बाटो अगाडि बढेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को पोस्ट आउँछ । एसएसबीको सोधपुछ पछि पाँच÷सात मिनेटको बाटो हिँडेपछि पञ्चभद्र (ताम्रभद्र) नदी आउँछ । उक्त नदी तरेपछि आउने अर्को नदी सोनभद्र (सोना) पनि तरेपछि मात्र नेपाल टेकिन्छ । सोनभद्र नदी तरेपछि बाल्मीकि आश्रम नेपालमा स्वागत गर्दछ भनेर लेखिएको बोर्ड भेटिन्छ ।

    बाल्मीकि आश्रम पुग्ने जोसुकैलाई पनि त्यहाँँको सुनसात स्थिति र अव्यवस्थाले आश्चर्यचकित तुल्याउँछ । यही माघ ८ गते भगवान् रामको जन्मभूमि अयोध्यामा श्रीराम मन्दिरको भव्य प्राणप्रतिष्ठा भयो । विश्वभरिका हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र राममन्दिरको प्राणप्रतिष्ठाले विश्वभरि चर्चा पायो । भगवान् राम जन्मेको अयोध्यामा विश्वभरिका हिन्दूको ध्यान केन्द्रित हुँदा रामकै अर्धाङ्गिनी सीता बसेको तथा उहाँका छोराहरु लव र कुश हुर्किएको बाल्मीकि आश्रममा भने कुनै चहलपहल भएन ।

    रामायणको महत्वपूर्ण पाटोका रुपमा रहेको हाल नेपालमा पर्ने बाल्मीकि आश्रम संरक्षणको पर्खाइमा रहेको छ । चितवन जिल्लाको माडी नगरपालिका–१ मा पर्ने यस आश्रमबारे धेरै नेपाली नै अनभिज्ञ रहेका छन् । नेपालमै रहेको बाल्मीकि आश्रम पुग्नलाई भारत हुँदै जानुपर्ने बाध्यता अहिले पनि रहेको छ ।

    महर्षि बाल्मीकिले तपस्या गरेर ज्ञान प्राप्त गरेका र यहाँ बसेर रामायण लेखेको विश्वास गरिन्छ । त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रोपटक वनबास जाँदा यहाँ पुगेको तथा लब र कुशलाई जन्म दिएको विश्वास गरिन्छ । यहाँ महर्षि बाल्मीकि, सीता र लब–कुशसँग जोडिएका धेरै प्रमाणहरु यत्रतत्र छरिएर रहेका छन् तर त्यसको संरक्षणको प्रयास भएको देखिँदैन । बाल्मीकि आश्रमलाई भारतीयले ठूलो तीर्थस्थलको रुपमा मान्ने गरेका छन् ।

    नेपालमा रहेको बाल्मीकि आश्रममा ठूलो सङ्ख्यामा भारतीयहरु आउँदा नेपालीहरु भने नगण्य रुपमा पुग्ने गरेका छन् । “यहाँ आउने ९९ प्रतिशत श्रद्धालु भारतीय रहने गर्दछन् भने फाटफुट रुपमा नेपाली पुग्ने गरेका छन्”, स्थानीय रामशरणले भन्नुभयो, “यसको प्रमुख कारण भारत हुँदै आश्रम जानुपर्ने बाध्यता नै मुख्य हो ।”

    हालै मात्र त्रिवेणीधाममा बाल्मीकि आश्रमलाई लक्षित गरी झोलुङ्गे पुलको निर्माण भएको छ तर बाटो नै नभएको ठाउँमा निर्माण भएको पुल सदुपयोग हुने कि नहुने भन्नेमा नै अन्यौल रहेको छ । राम बनवास बसेर अयोध्या आएपछि माता सीतालाई पुनः दोस्रो पटक बनवास पठाइएको स्थान हो बाल्मीकि आश्रम । आश्रममा रहनुभएका पुजारी शेखर सुवेदीका अनुसार आश्रम वरिपरि त्रेतायुगकालीन विभिन्न अवशेषहरु देख्न सकिन्छ । सीता माताको सिलौटो, उहाँले कन्दमूल खाने स्थान, अमृत कुवा, लब–कुश जन्मिएको स्थान, उनीहरुले पढेको स्थान, विश्वमित्रले देहत्याग गरेको स्थान, लब–कुशले अश्वमेध यज्ञको घोडा बाँधेको स्थानदेखि माता सीता पाताल गएको स्थानहरु यहाँ रहेका छन् ।

    जङ्गलमा यत्रतत्र छरिएर रहेका यी महत्वपूर्ण ऐतिहासिक सम्पदाको भने संरक्षणको अभाव देखिएको छ । आश्रममा आउने श्रद्धालुको प्रत्यक्ष पहँुचमा रहेका यी सम्पदाहरु कुनै पनि बेला नासिएर जाने खतरा रहेको छ । आश्रमका पुजारी सुवेदीका अनुसार तत्कालीन राजा महेन्द्रले बाल्मीकि आश्रमका लागि १२ बिगाहा जमिन छुट्याउनु भएको थियो । तर हाल वन क्षेत्रमा रहेको भन्दै त्यहाँ आश्रमले कुनै पनि काम गर्न पाएको छैन ।

    आश्रमको वरिपरि तीनवटा पुरानो घर, सशस्त्र प्रहरीको बिओपी रहेको छ । बाल्मीकि आश्रममा दुईवटा नयाँ मन्दिर बनाइएको छभने एउटा पुरानो मन्दिर रहेको छ । त्यहाँ फूल प्रसाद बेच्ने मान्छे मात्र देखिन्छन् ।

    बाल्मीकि आश्रममा भौतिक पूर्वाधार र सञ्चार सुविधा राम्रो छैन । यस ऐतिहासिक ठाउँको संरक्षण र प्रचारप्रसार हुन सकेको छैन । विद्युत् लाइन विस्तार नहुँदा सोलारबाट केही उज्याले भने देख्न सकिन्छ । आश्रममा भएको सशस्त्र प्रहरीलाई मोबाइल चार्ज गर्न पनि अन्यत्र जानुपर्छ भने सञ्चार सेटले पनि काम गर्दैन । विद्यालय, स्वास्थ्य चौकीदेखि प्राथमिक आवश्यकतामा पर्ने शौचालयहरुको समेत अभाव रहेको छ । खानेपानी तथा बाटोको समस्या पनि त्यस्तै रहेको छ ।

    नेपालतर्फ बाटो खुलेको भए बाल्मीकि आश्रम जान पैसा तिरेर दुःख झेलेर भारतीय भूमि प्रयोग गर्नु नपर्ने आश्रमका पुजारी सुवेदी बताउनुहुन्छ । गजेन्द्र मोक्ष धाम क्षेत्रबाट बाटो खोल्न सके तीन किलोमिटर दूरीमै नेपालतर्फबाट बाल्मीकि आश्रम पुग्न सक्ने उहाँको भनाइ छ । “भारतीय पर्यटकको लर्को लाग्ने बाल्मीकि आश्रममा नेपाल सरकारले भने बेवास्ता गरेको छ, भारत हुँदै आउँदा नेपालीले अनेक समस्या झेल्नुपर्छ ।”

    गजेन्द्रमोक्ष क्षेत्रमा बनेको लब कुश झोलुङ्गे पुलबाट बाल्मीकि आश्रम जाने बाटो नबनाइएकाले उक्त झोलुङ्गे पुल फोटो खिच्न मात्र प्रयोग भएको उहाँको भनाइ छ । “गजेन्द्रमोक्ष धामबाट कि त पक्की पुल बनाएर बाल्मीकि आश्रम जाने मोटर बाटो बनाउनु प¥यो कि त झोलुङ्गे पुल हुँदै आश्रमसम्म पुग्ने पैदल मार्ग बनाउनु प¥यो अनि मात्र बाल्मीकि आश्रम जानका लागि नेपालीलाई सहज पहुँच हुने देखिन्छ” सुवेदीले सुझाव दिनुभयो

    पश्चिम नवलपरासीबाट पूर्व सांसद रहनुभएका देवेन्द्रराज कँडेलले बाल्मीकि आश्रममा धेरै नेताहरुले आश्वासन दिए पनि व्यवहारमा लागू हुन नसकेको गुनासो गर्नुभयो । उहाँले रामायण सर्किटको विकास गरी त्यसमा बाल्मीकि आश्रमलाई पनि समेटनुपर्ने धारणा राख्नुभयो । यसका लागि सरकारले कूटनैतिक तवरले पहल गर्नुपर्ने उहाँको भनाइ छ । “रामको जन्मस्थल अयोध्या आउने पर्यटकहरुलाई लब–कुशको जन्मस्थल र माता सीता पाताल गएको स्थानबारे पनि जानकारी हुनु आवश्यक छ”, कँडेलले भन्नभयो, “तर हामीले यसलाई संरक्षणको अभावमा पहिचान दिलाउन सकेका छैनौँ ।”

    बाल्मीकि आश्रमसम्म आउने झोलुङ्गे पुल तयार भए पनि चितवन राष्ट्रिय निकुञ्जको कारण यसको सदुपयोग हुन नसकेको उहाँले बताउनुभयो । पर्यटकको प्रचुर सम्भावना रहेको बाल्मीकि आश्रममा सबैको सहकार्यले रामायण परिपथ (सर्किट)कै रुपमा अगाडि बढाउनु पर्ने उहाँ बताउनुहुन्छ ।

    भारतमा राम मन्दिरको प्राणप्रतिष्ठासँगै नेपालमा रहेको बाल्मीकि आश्रमबारे नेपालीको चासो बढेको छ । भैरहवाबाट बाल्मीकि आश्रम पुग्नुभएका सिद्धार्थ अग्रवालले बाल्मीकि आश्रमको अवस्था दयनीय रहेको बताउनुहुन्छ । “अयोध्यामा भएको राम मन्दिरको प्राणप्रतिष्ठापछि बाल्मीकि आश्रम हेर्ने इच्छा थियो तर यहाँ आउँदा धेरै दुःख पाएँ”, उहाँले भन्नुभयो “नेपालतर्फ निकुञ्जले बाटो दिएको छैन रे, विकाससँगै संरक्षण नै नपाएर महत्वपूर्ण सामग्रीहरु लोप हुने, हराउने अवस्था रहेको छ ।”

    रामायण परिपथको कुराहरु उठिरहेको र जनकपुरसम्म रेल नै पुगेको अवस्थामा बाल्मीकि आश्रम साइकलमा समेत पुग्न सक्ने अवस्था नरहेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । नेपालका सम्बन्धित निकायहरुले यहा ध्यान दिन अग्रवालले आग्रह गर्नुभयो । ऐतिहासिक बाल्मीकि आश्रम संरक्षणको पर्खाइमा छ, नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय र वन मन्त्रालयले तत्काल कदम चालेर संसारकै प्रसिद्ध ठाउँ बाल्मीकि आश्रमलाई प्रवद्र्धन गर्न जरुरी रहेको सरोकारवालाहरुको सुझाव रहेको छ । – रासस

  • भरतपुर महानगरमा उद्यमशीलता र सृजनशीलता : अवस्था, संभावना र चुनौती

    भरतपुर महानगरमा उद्यमशीलता र सृजनशीलता : अवस्था, संभावना र चुनौती

    – हिरालाल आचार्य ‘डायमण्ड’
    एक लाइनमा भन्नुपर्दा उद्यमशीलता भनेको उपलब्ध अवसर तथा स्रोत र साधनको उच्चतम प्रयोग गरी अर्थ उपार्जन गर्ने उद्देश्यले प्रेरित भएर गरिने मानवीय आर्थिक क्रियालापहरु हो । उद्यम कार्यमा सृजनशीलता भनेको नविनतम र अरुभन्दा फरक कार्य गर्न खोज्नु तथा नयाँ वस्तु उत्पादन गर्न खोज्नु हो ।

    उद्यमी बन्न जोखिम बहन गरी व्यावसायिक कार्य गरिएको हुन्छ । जोखिम कम गरी व्यावसायिक सफलता हाँसिल गर्न सीप, सुझबुझ, अनुभव आदिको आवश्यकता पर्दछ ।

    आजको आधुनिक युगमा व्यक्ति, समाज र राष्ट्रका लागि लागि उद्यमशीलता अत्यन्त महत्वपूर्ण छ । यस्तै व्यवसायी, उद्यमी, उपभोक्ता, लगानीकर्ता तथा सरकारी दृष्टिकोण समेतमा उद्यमशीलता महत्वपूर्ण छ ।

    उद्यमशीलताले उपलब्ध स्रोत र साधनको अधिकतम् सदुपयोग गरी देशको कुल ग्राहस्थ उत्पादनमा समेत वृद्धि गर्न सघाउँछ । यसले सरकारको राजश्व समेत बढाउँछ । समाजमा स्वरोजगार बन्नेहरुको संख्यामा वृद्धि गराउँछ । रोजगारीका विभिन्न अवसर सृजना गर्दछ । व्यक्ति, समाज र राष्ट्रको अर्थतन्त्र सुदृढ पार्न मदत गर्दछ । त्यसैले पनि उद्यमशीलताको विकास गर्नु अपरिहार्य छ ।
    व्यक्ति र समाजलाई उद्यमशील बन्न राज्य र तीनका निकायहरुले सक्दो भूमिका खेलेको हुनुपर्छ । संघीय गणतन्त्रात्मक देश नेपालमा स्थानीय सरकारको भूमिका अझ महत्वपूर्ण रहेको छ । जनतासँग सबैभन्दा नजिक रहेको सरकार स्थानीय सरकारले आफ्नो पालिकामा उद्यमशीलता र सृजनशीलता वृद्धि गर्न वर्षेनी विभिन्न योजनाहरु ल्याइरहेका हुन्छन् ।

    मध्य नेपालमा अवस्थित चितवन जिल्लाको एकमात्र महानर भरतपुर महानगरमा हरेक क्षेत्रमा उद्यमशीलताको संभावना छ । व्यापारिक उद्यम, उत्पादन उद्यम, लघु उद्यम, कृषि उद्यम, पर्यटन उद्यम तथा सेवा उद्यम लगायतका विभिन्न उद्यम क्षेत्रको संभावना यहाँ छ ।

    घरेलु कार्यालय चितवनको तथ्यांकअनुसार भरतपुर महानगरपालिका भित्र क्षेत्रभित्रका उद्योगहरुको विवरण यसप्रकार छ । कृषिमुलक उद्योग ३६६५, उत्पादनमुलक उद्योग २४४२, सेवामुलक उद्योग २३०९, पर्यटनमुलक ६९२, विज्ञान तथा सूचना प्रविधिमुलक ६ र उर्जामुलक १ गरी ९११५ वटा उद्योग रहेका छन् ।

    पुनः दोश्रो पटक महानगरपालिका प्रमुखमा निर्वाचित भएर आउनुभएकी रेनु दाहालको कार्यकाल लगातार ६ वर्ष पुगिसकेको छ । दाहाल महानगरपालिकामा आएपछि विकासले तीव्रता लिनुका साथै उद्यमीहरुको सँख्यामा पनि क्रमशः बढ्दै गएको तथ्यांकमा देखिन्छ ।

    जनगणना २०७८ अनुसार चितवन जिल्लामा कुल जनसँख्या ७ लाख २२ हजार १६८ रहेको छ । जसमा पुरुष ३ लाख ५४ हजार ७१ र महिला ३ लाख ६८ हजार ९७ रहेका छन् । सात वटा पालिका रहेको चितवनमा भरतपुर महानगरपालिकामा मात्र ३ लाख ६९ हजार ३७७ जनसँख्या रहेको छ । जसमा पुरुष १ लाख ७९ हजार ७४४ र महिला १ लाख ८९ हजार ६३३ रहेका छन् ।

    जिल्लामा १ लाख ५३ हजार ६६२ घरधुरी र १ लाख ८२ हजार ८३ परिवार रहेका छन् । जसमा महानगरभित्र मात्र ७७ हजार ८३८ घर र ९८ हजार २८८ परिवार छन् ।

    भरतपुर महानगरपालिकाले महानगरवासीलाई उद्यमी बन्न र सृजनशील बन्न विभिन्न तरिकाबाट अभिप्रेरित गरिरहेको छ । पहिलो प्राथमिकतामा महानगरपालिकाले महानगरवासीलाई उद्यम कार्यका लागि चाहिने सीप प्रदानमा जोड दिएको छ ।

    जसअन्तर्गत महानगरका विभिन्न शाखाहरुले विभिन्न तवरबाट भिन्नभिन्न किसिमका तालिम प्रदान गरिरहेको छ । यसका अलवा उद्यमशील र सृजनशील बन्न चाहने व्यक्तिहरुलाई अन्य विभिन्न निकायसँगको सहकार्यमार्फत थप साथ उपलब्ध गराउँदै आएको देखिन्छ ।

    राज्यको अर्काे निकाय सिटीईभीटी अन्तर्गतको नारायणी बहुप्राविधि र भरतपुर बहु प्राविधिकले पनि महानगरमा विभिन्न प्राविधिक तालिमहरु सञ्चालन गरिरहेको छ । साना तथा घरेलु उद्योग कार्यालयले पनि आफ्नै तरिकाले काम गरिरहेको छ । अन्य सामाजिक संघ संस्था एवम् गैह्रसरकारी संस्थाहरुले पनि उद्यमशीलता र सृजनशीलता विकासका लागि विभिन्न कार्यक्रम महानगरभित्र सञ्चालन गरिरहेका छन् ।

    अहिले महानगरपालिकाको कदमको चर्चा गरौं :

    महानगरपालिकाको महिला शाखाले विशेष गरी महिला उद्यमशीलता विकासका लागि काम गरिरहेको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरेको छ । विपन्नहरुको बाहुल्यता भएको वस्तीलाई लक्षित गरी ल्याइएको यस कार्यक्रमबाट यस आवमा भरतपुर महानगरपालिकाको २३, २४, २७ र २८ वडाका विभिन्न वस्तीका बासिन्दाहरु लाभान्वित भएका छन् । यस कार्यक्रमबाट यस आवमा मात्र २०० जना लाभान्वित भएका शाखाको तथ्यांकमा देखिन्छ । यस अन्तर्गत प्राकृतिक संरक्षण कोष सौराहसँगको सहकार्यमा पर्यटन उद्यम विकासका लागि नेचर गाइडको तालिम, होटल बराहीमा कुक सम्बन्धि तालिम, व्यापारिक उद्यम विकासका लागि ब्युटी पार्लर सम्बन्धि तालिम, कृषि उद्यम विकासका लागि कुखुरा पालन र पशुपालन सम्बन्धि तालिम सञ्चालन गरिएको महाशाखा प्रमुख शान्ता कुमार पौडेलले जानकारी दिनुभयो । यसैगरी अचार बनाउने तालिम, केराको सुत्लाबाट रेसा बनाउने र रेसाबाट हस्तकलाका विभिन्न सामग्री बनाउने तालिम, सिलाई कटाई तालिम यस आवमा गरिएको छ ।

    तालिम लिएपछि भरतपुर २३ का महिलाहरुले केराको सुत्लाबाट हस्तकलाका विभिन्न सामग्री बनाएर विदेशमा समेत निर्यात गर्ने गरेको पाइएको छ । यसैगरी अचार बनाउने तालिम लिएपछि व्यावसाय नै सुरु गरेर अचारको व्यापार गरिरहेका छन् । सिलाई कटाईको तालिम लिएकाहरु मध्ये केहीले पसल नै खोलेर काम गरिरहेको पाइयो । यसरी तालिम पश्चात आफ्नो जीवनस्तरमा परिवर्तन भएको प्रत्यक्ष अनुभुति उनीहरुले गरेका छन् । तर सिमित संख्यामा दिइएको तालिम पर्याप्त नभएको र लिन चाहने जति सबैलाई तालिम उपलब्ध गराउनु पर्ने माग तालिम लिन नपाएकाहरुको छ ।

    स्थानीयको उक्त कुरालाई संवोधन गर्दै शाखाले अब मागको आधारमा जसले जे चाहन्छ त्यसै किसिमको तालिम उपलब्ध गराउन अझ बढी सक्रिय भएर लाग्ने योजना बनाउने महाशाखा प्रमुख पौडेलले बताउनु भएको छ ।

    त्यसैगरी सुरक्षित आप्रवासन (सामी) कार्यक्रम भरतपुर महानगरपालिकामा पनि सञ्चालित छ । उद्यमशीलता र सृजनशीलता विकास गर्न यस कार्यक्रमले विशेष गरी एउटा टोलमा वैदेशिक रोजगारमा गएकाहरुको समूह जम्मा गर्ने गरेको छ । कार्यक्रम अन्तर्गत भरतपुर महानगरका फोकल पर्शन सुकदेव ढकालका अनुसार उक्त समूहलाई वित्तिय साक्षरता सम्बन्धि तालिम प्रदान गर्दै आइराखिएको छ ।

    वित्तिय साक्षरता तालिम अन्तर्गत विदेशमा गएका व्यक्ति पठाएको पैसाको हिसाबकिताब राख्नका लागि पासबुक उपलब्ध गराउने गरिएको छ । गैह्र उत्पादन क्षेत्रमा कम खर्च गरी उत्पादनको क्षेत्रमा बढी खर्च गर्न प्रोत्साहन गर्ने, विदेशबाट पठाएको पैसा उद्यम कार्यमा लागाउन इच्छुक भएकाहरुलाई आवश्यक तालिम दिन सम्बन्धित निकायसँग समन्वयन गराइदिने लगायतका कार्यहरु भइरहेको छ । यसले विदेशबाट भित्रिएको रेमिट्यान्सलाई उत्पादनमुखी कार्यमा खर्च गर्न र उद्यमशीलता बन्न सघाइरहेको छ । हाल सामीको यो कार्यक्रम भरतपुर महानगरपालिकाको १८, १९, २१ र २४ मा लागु छ । कार्यक्रमबाट लाभान्वित भएका केही परिवारले सामीको तालिम लिएपछि फजुल खर्च कम गरी कृषिमा व्यावसायिक बन्न सघाएको बताएका छन् । आगामी वर्षमा अन्य वडाहरुमा यो कार्यक्रम लैजाने योजना सामीको छ ।

    सहकारी तथा रोजगार प्रवद्र्धन शाखाले ‘मेयरसँग उद्यमशीलता तालिम’ तालिम दिने तयारी गरेको छ । मागका आधारमा दिन लागिएको तालिममा २५० जनाको आवेदन परेको र १४८ जनालाई छनौट गरिएको शाखा प्रमुख रामबाबु पौडेलले जानकारी दिए । तालिम लिने मान्छे तयार भइसकेका छन् भने अब तालिम दिने मान्छे छनौट गर्न टेण्डर खुलाइएको छ । तालिम अन्तर्गत वरिष्ठा, कम्प्युटर अपरेटर, प्लम्बिङ्ग, इलेक्ट्रिशियन, केश कटन, मोबाइल मर्मत लगायतका रहेका छन् । यी तालिम पाइसकेपछि उनीहरु स्वरोजगार भई उद्यम कार्यमा लाग्ने विश्वास शाखाको छ ।

    कृषि शाखाले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई विशेष प्राथमकिता दिएर उद्यमशीलता विकासका लागि युवा लक्षित विभिन्न कार्यक्रमहरु गरिरहेको छ । यस आवमा मात्र ३९ जना युवा यो कार्यक्रमबाट लाभान्वित भएका छन् । यस आवमा युवाहरुलाई च्याउ खेती गर्न तथा मौरी पालन गर्नका लागि युवाहरुलाई प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम गरिएको आर्थिक विकास महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिनुभयो । यसैगरी व्यावसायिक कृषिमा लाग्नका लागि अनुदान रकम, सिँचाइका लागि बोरिङ्, उन्नत बीउ, मेशिनरी औजार सहयोग गरेको छ ।

    विदेशबाट फर्किएका युवाहरुले महानगरबाट प्रोत्साहित भई च्याउ खेती तथा मौरी पालन गरिरहेका छन् । पछिल्लो समय तोरीमा विषादी छर्ने मात्रा बढ्दै गएकाले मौरीपालनमा चुनौती थपिएको बताउँदै किसानहरुले यसतर्फ पनि महानगरले सचेत गराउनु पर्ने बताएका छन् ।

    महानगरको कृषि शाखाले विषादी कसरी प्रयोग गर्ने भन्ने बारे सचेतना गराइराखिएको र अबको वर्षबाट अझ थप प्रभावकारी ढंगबाट अघि बढ्ने जनाएको छ ।

    भरतपुर महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम पनि सञ्चालित छ । यस आव ०७९÷८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका आयोजनाहरुबाट ७८ जनालाई रोजगारी प्रदान गरिएको छ । छोटो अवधिका यस्ता रोजगारबाट प्राप्त आम्दानीलाई कृषिमा थोरै भए पनि लगानी गरेर व्यावसायिक कृषि गर्न प्रोत्साहन गरिएको रोजगार संयोजक सन्देश वाग्ले बताउँछन् ।

    यसैगरी महानगरपालिकाको शिक्षा शाखाले ‘पढ्दै कमाउँदै’ कार्यक्रम भरतपुर २० को भीमनगर मावि र भरतपुर २५ को प्रभात माविमा सञ्चालन गरेको छ । भीमनगर माविमा विद्यार्थीहरुले कृषि कर्म पनि गर्ने गरेका छन् । कृषिबाट उत्पादित सामग्री बिक्री गरी उनीहरुले आम्दानी गर्ने गर्दछन् । प्रभात माविमा सीपमुलक विभिन्न कक्षाहरु विद्यालय स्तरबाटै सञ्चालनमा छन् । यस कार्यक्रमलाई अझै बढाउँदै लैजाने योजना रहेको शिक्षा शाखा अधिकृत दिपक सिग्देलको भनाइ छ ।

    चितवनको सौराह देशको तेश्रो पर्यटकीय गन्तव्य हो । सौराह जस्तै गरी पर्यापर्यटनको संभावना बोकेको अर्काे ठाउँ मेघौलीमा पर्यटकीय विकास गर्न महानगरले खोजिरहेको छ । त्यसका लागि सर्वप्रथम त्यस क्षेत्रका बासिन्दालाई पर्यटन उद्यममा लाग्न विभिन्न तरिकाले महानगरको पर्यटन शाखाले सहकार्य गरिरहेको छ ।

    भरतपुर महानगरपालिका भित्र सञ्चालित उद्योग व्यावसाय, यहाँ भइरहेका विकास निर्माणका काम आदि क्षेत्रमा सबैभन्दा पहिला महानगरबासीलाई प्राथमिकतामा राखेर रोजगार प्रदान गर्न सिंगो महानगरपालिकाको टिम लागिरहेको छ । महानगरबासीलाई हरेक क्षेत्रमा दक्ष बनाएर यहाँका काममा यहीँका दक्ष जनशक्ति प्रयोग गर्ने महानगरपालिकाको दिघो योजना रहेको महानगरपालिकाले जनाएको छ ।

    के गर्दैछन् राज्यका अन्य निकाय ?
    उद्यमशीलता र सृजनशीलता विकासका लागि साना तथा घरेलु उद्योग कार्यालय चितवनले पनि भरतपुर महानगरभित्र विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । कार्यालयका सूचना अधिकारी नारायण प्रसाद खनालले भरतपुर महानगरपालिका भित्र उद्यमशीलता र सृजनशीलता विकास गर्न चालु आवमा मात्र ७ वटा कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

    वडा नम्बर २३ मा केराको सुत्लाबाट कलात्मक हस्तकलाका सामान बनाउने तालिम, वडा नम्बर २५ मा खाद्य प्रशिक्षण सम्बन्धि तालिम र मासु तथा अन्य कुराको अचार बनाउने तालिम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनको सहकार्यमा प्रदान गरिएको छ । त्यसैगरी वडा नम्बर १९ मा व्यावसायिक झोला बनाउने तालिम, वडा नम्बर ९ मा ब्युटी पार्लर सम्बन्धि तालिम, भरतपुर १० मा कंक्रिट उद्योगहरुको गुणस्तर सुधारका लागि तालिम, वडा नम्बर १ मा व्यावसायिक झोला बनाउने तालिम गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यसैगरी हाल भरतपुर २ मा कार्यालयले गुडिया बनाउने तालिम दिइरहेको छ । यी सबै कार्यक्रमबाट ३०० जना लाभान्वित भएका छन् ।

    चितवन उद्योग संघ र जिल्लाका पालिकाहरुसँगको सहकार्यमा जिल्ला भरिनै उद्यमशीलता विकास गर्न कार्यालयले काम गरिरहेको देखिन्छ ।

    उद्यमशीलता र सृजनशीलता विकासका लागि काम गर्ने राज्यको अर्काे निकाय काउन्सिल फर टेक्निलकल एजुकेशन एण्ड भोकेशनल ट्रेनिङ्ग (सिटिईभिटी) अन्तर्गत चितवनमा तीन वटा निकाय छन् । ती तीन वटै निकाय भरतपुरमा छन् । भरतपुर १० मा रहेको नारायणी बहुप्राविधिक शिक्षालय, स्कुल अफ हेल्थ साइन्स र भरतपुर २३ मा रहेका भरतपुर बहुप्राविधि शिक्षालयले आफआफ्नै तरिकाले महानगरभित्र काम गरिरहेका छन् ।

    नारायणी बहुप्राविधिक शिक्षालयले भरतपुर महानगरपालिका भित्र यस आवमा १६ वटा कार्यक्रम गरेको शिक्षालय प्रमुख सरिता रेग्मीले जानकारी दिनुभयो । तालिममा प्लम्बिङ्ग, सिभिल इन्जिनियर, सेक्युरिटी गार्ड, पुस्तकालय, मन्टेश्वरी (इशिडिएफ) का तालिम सञ्चालन गरेको छ छ । यसबाट ३०० जना महानगरबासी लाभान्वित भएका छन् । तालिम लिएकाहरु मध्ये अधिकांश आआफ्नो काममा लागि सकेको पाइएको शिक्षालयले जनाएको छ । साथै शिक्षालयले विभिन्न समयावधीका विभिन्न सीपमुलक कक्षाहरु छात्रवृत्तिमा सञ्चालन गरिरहेको छ ।

    भरतपुर बहुप्राविधि शिक्षालयले लामो तथा छोटो अवधिका विभिन्न सीपमुलक तालिम तथा कक्षाहरु सञ्चालन गरिरहेको छ । छोटा अवधिका सीपमुलक तालिम अन्तर्गत यस आवमा मात्र शिक्षालयले ३९० घण्टे ५ वटा तालिम सञ्चालन गरेको छ । प्रति तालिममा २० जनाका दरले सहभागी गराई कुकिङ्ग, बेकरी, बारिष्ता, लाइब्रेरी र इलेक्ट्रिशियनय तालिम प्रदान गरिएको शिक्षालय प्रमुख रविन्द्र आचार्यले जानकारी दिए ।

    साथै शिक्षालयमा छात्रवृत्ति कोटामा तीन वर्षे, २४ महिने, १० महिने विभिन्न कक्षाहरु सञ्चालित छन् । डिप्लोमा इन होटल म्यानेजमेन्ट, कुकिङ्ग आदि कक्षाहरु सञ्चालित छन् ।

    कृषि उद्यम विकास गर्न राज्यका अन्य निकायहरु कृषि ज्ञान केन्द्र चितवन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र सिँचाई कार्यालयले पनि महानगरभित्र काम गर्र्दै आइरहेका छन् ।

    अन्य संघ संस्थाहरुको पनि उत्तिकै भूमिका :
    चितवन उद्योग संघले पनि उद्यमशीलता र सृजनशीलता विकास गर्न विभिन्न काम गरिहरको छ । चितवन उद्योग संघको पाठशाला विभागले पनि विभिन्न तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । यस आवमा मात्र चितवन उद्योग संघबाट १९ वटा तालिम तथा कार्यक्रम भएका छन् । गत चैतमा मात्र उद्यमशीलता विकास तालिम ७ दिनसम्म २५ जनालाई प्रदान गरिएको थियो । अचार बनाउने, नवप्रवर्तनीय उद्यम अन्तर्गत उद्यमी विकास कार्यक्रम, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि कानुनी मापदण्ड विषयक सचेतना गोष्ठी लगायतका १९ वटा कार्यक्रमबाट यस आवमा कुल ५५० जना लाभान्वित भएका छन् ।

    उद्योग वाणिज्य संघ (उवा संघ) चितवनले विदेशबाट आएकाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन विभिन्न तालिमहरु सञ्चालन गरिरहेको जाएको छ । संघले उद्यमशीलता र सृजनशीलता सम्बन्धी तालिम दिनका लागि लर्निङ्ग सेन्टर पनि बनाउँदै गरेको संघका अध्यक्ष चुन नारायण श्रेष्ठ बताउनु हुन्छ । विभिन्न क्याम्पस तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुलाई समयसमयमा उद्यमशीलता र सृजनशीलताका बारेमा अभिमुखीकरण कार्यक्रम उवासंघले गर्ने गरेको छ ।

    यसका अलवा बैंकहरुले उद्यमशीलताका लागि ऋण उपलब्ध गराएर सहयोग गरिरहेका छन् । अन्य सामाजिक संघ संस्थाले विभिन्न कार्यक्रम गरेर, गैह्र सरकारी सँस्थाहरु (एनजिओ र आईएनजिओ) ले विभिन्न कार्यक्रम गरेर महानगरभित्र उद्यमशीलता विकासका लागि काम गरिरहेको पाइन्छ ।

    अन्तिममा, महानगरपालिकालाई केही सुझाव :
    उद्यमशीलता विकास र सृजनशील कार्यमा भएका गतिविधिको केन्द्रिकरण गरेर तथ्यांक राख्ने कुनै काम भएको देखिँदैन । सरकारी निकायहरुले आआफ्नै पारामा कार्यक्रम ल्याउँदा कतै एउटै मान्छेले पटकपटक तालिम लिने तर काम नगर्ने र काम गर्न चाहने तर अहिलेसम्म तालिम लिन नपाएकाहरुको जमात ठूलै छ ।

    उद्यमशीलता र सृजनशीलता विकासमा महानगरपालिकाले गर्नुपर्ने अझै थुप्रै कामहरु बाँकी छन् । जसमा महानगरपालिकालाई केही सुझावहरु बुँदागतरुपमा यहाँ उल्लेख गरिएको छ ।

    १. भरतपुर महानगरपालिकाका सम्बन्धित शाखाहरुले आफूले गरेको कामहरुको व्यवस्थित ढंगबाट तथ्यांक राख्ने र त्यसलाई महानगरपालिकाले एकिकृत गरी एकमुष्ट तथ्यांक राख्ने र त्यसलाई विश्लेषण गर्ने जिम्मेवार अधिकारी तोक्नुपर्ने तथा शाखा नै बनाउनु पर्ने देखिन्छ ।

    २. उद्यमशीलता र सृजनशीलता विकासका लागि अब तालिममात्र प्रदान गरेर होइन नगरबासीलाई उद्यम कार्यमा लाग्न सहुलियत दरमा ऋण समेत उपलब्ध गराउनु पर्ने देखिन्छ । लघुवित्त, बैंक, सहकारी लगायतका वित्तिय संस्थाहरुसँग महानगरपालिकाले नीतिगतरुपमै सहकार्य गरी महानगरबासीलाई ऋण उपलब्ध गराउन सके त्यसले लगानी बढाउने र उद्यमशीलता विकासमा थप टेवा पुग्ने देखिन्छ ।

    ३. उद्यमका लागि आवश्यक सल्लाह दिन विज्ञको व्यवस्था गरी महानगरबासीलाई तालिमदिएपछि पनि काम गर्ने बेलामा आवश्यक सल्लाह सुझाव दिनुपर्ने देखिन्छ ।
    ४. सीपमुलक तालिम लिएर स्वदेशमा केही नगरी विदेशमा जानेहरु पनि बढ्दै गएका छन् । तसर्थ उनीहरुलाई यहीँ केही गर्ने वातावरण बनाउन महानगरपालिकाले अध्ययन गरी त्यसैअनुरुपको नीति बनाउनु पर्ने देखिन्छ ।
    ५. महानगरपालिकामा देश विदेशका लगानी भित्र्याउन सहज किसिमको नीति ल्याउन आवश्यक छ ।
    ६. यहाँ बढी संभावना रहेको कृषि उद्यम हो । कृषिमा उद्यमशीलता बढाउन समयमा मलबीउको उपलब्धता, सिँचाईंको उपलब्धता, विज्ञको व्यवस्था, उत्पादनपछि बजारको सुनिश्चितता गर्नमा महानगरपालिकाले अब ध्यान दिनुपर्ने देखिन्छ ।
    ७. नीजि क्षेत्रसँगको सहकार्यमा उत्पादित वस्तुहरुलाई बजारीकरण गर्ने कार्यमा महानगरपालिकाले नीतिगतरुपमै टेवा पु¥याउनु पर्ने देखिन्छ ।
    ८. नविनतम व्यावसायको पहिचान गरी त्यसको विकास गर्नका लागि थप पहल गर्नुपर्ने देखिन्छ ।
    ९. उद्यमशीलता सम्बन्धि विषयहरु विद्यालयस्तरमै समावेश गराउनु पर्ने देखिन्छ ।
    १०. महानगरपालिका, शैक्षिक संस्था र नीजि क्षेत्र मिलेर त्रिकोणात्मक सम्बन्ध बनाई उद्यम विकासमा सहकार्य गरेर अघि बढ्नुपर्ने देखिन्छ ।
    ११. भरतपुरको अधिकांश भूभाग ग्रामीण क्षेत्रमै पर्ने भएकाले ग्रामीण उद्यमशीलताका समस्याहरुको पहिचान गरी त्यसलाई समाधान गर्न पहल गर्न सके उद्यमशीलतामा थप विकास हुने देखिन्छ ।
    १२. घरेलु उद्योगग्राम निर्माण गर्नुपर्ने एवम् व्यावसायिक परियोजना बनाउनु पर्ने देखिन्छ ।

    ‘डायमण्ड’को उपनामले पत्रकारिता क्षेत्रमा परिचित लेखक हिरालाल आचार्य ग्यालेक्सी फो के टेलिभिजन र चितवन आज डटकम अनलाइनका चितवन संवाददाता हुनुहुन्छ ।

  • कृषि विश्वविद्यालयमा नियतवश विद्यार्थीलाई फेल गराएको आरोप : उत्तरपुस्तिका देखाउन विद्यार्थीको माग

    कृषि विश्वविद्यालयमा नियतवश विद्यार्थीलाई फेल गराएको आरोप : उत्तरपुस्तिका देखाउन विद्यार्थीको माग

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, मंसिर २६ –
    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा कृषि संकाय अन्तर्गतको पाँचौ सेमेष्टरको मोलिकुलर एण्ड पपुलेशन जेनेटिक्स विषयको मौका परीक्षा दिएका विद्यार्थीहरुले रिले अनशन सुरु गरेका छन् । विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयको मुल गेट अगाडि विद्यार्थीहरुले हिजोबाट अनसन सुरु गरेका हुन् ।

    विश्वविद्यालयले नियतवश विद्यार्थीहरुलाई फेल गराएको आरोप लगाउँदै विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर रिले अनशन सुरु गरेका हुन् । विद्यार्थीहरुले आफूले परीक्षा दिएको उत्तरपुस्तिका हेर्न पाउनु पर्ने माग राखेका छन् ।

    विद्यार्थीहरुले उपलब्ध गराएको तथ्यांकअनुसार केन्द्रबाट नियमित परीक्षा दिएका १८३ जनामा ९६ जना फेल भए । मौका परीक्षा दिएका ९६ जनामा ४७ जना फेल भएका छन् । अहिले विद्यार्थीहरुले आठौं सेमेष्टरको परीक्षा दिइसकेका छन् ।

    तर पाँचौ समेष्टरको परीक्षामा झुल्नु परेको भन्दै विद्यार्थीहरु आक्रोशित बनेका हुन् । मौका परीक्षा पनि लामो समयपछि गर्ने अनि त्यसमा नियतवश विद्यार्थीहरुलाई इगो राखेर फेल गराइएको उनीहरुको आरोप छ ।

    अरु सबैमा सेमेष्टर र विषयमा राम्रो नम्बर ल्याएर रेगुलर पास भएका समेत यही एउटा विषयमा फेल भइरहेको विद्यार्थीहरुले जनाएका छन् ।

    सर्वाेच्च अदालतले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका काठमडौंमा रहेका दुई क्याम्पसका विद्यार्थीहरुको मुद्दामा केही वर्ष अघि सुनुवाई गर्दै उत्तरपुस्तिका हेर्न दिन आदेश दिएको थियो । कृषि विश्वविद्यालयले त्यही नजिरलाई सम्झेर उत्तरपुस्तिका देखाउनुपर्ने विद्यार्थीहरुको माग छ । अन्यथा आफूहरु सर्वोच्चसम्म पुग्ने विद्यार्थीहरुले बताएका छन् ।

    यस विषयमा परीक्षा नियन्त्रक कार्यालयले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

    भिडियोमा हेरौं, विद्यार्थीहरुको प्रतिक्रिया :

     

  • काँसघारी बन्यो चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ध्वस्त हुँदै संरचना

    काँसघारी बन्यो चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ध्वस्त हुँदै संरचना

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, असोज २०
    चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको जग्गामा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला लामो समयदेखि अलपत्र हुँदा काँसघारीमा परिणत हुन पुगेको छ ।

    ३ अर्ब लागत अनुमान गरी जनस्तरबाट सहयोग उठाएर निर्माण गर्ने गरी धुर्मुस सुन्तली फाउण्डेशनले २०७५ सालमा क्रिकेट रंगशाला निर्माणको थालनी गरेको थियो ।

    ५० करोडभन्दा बढी रकम खर्च भइसकेको, १८ करोड ऋण रहेको र थप सहयोग जुट्न नसकेको भन्दै धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिकालाई रंगशालाको जिम्मेवारी सुम्पेर २०७८ पुषमा कामबाट हात झिक्यो । त्यस यता रंगशाला निर्माणको काम अघि बढ्न सकेको छैन ।

    रंगशालामा संरचनाहरु ध्वस्त हुँदै गएका छन् । रडहरु खिइँदै गएका छन् । रंगशाला काँसघारीमा परिणत भएको छ । खेलाडी दौडनुपर्ने मैदानमा स्याल दौडिरहेका छन् ।

    कलाकार सिताराम कट्टेल धुर्मुस रंगशाला निर्माणको अभियानलाई निरन्तरता दिन आग्रह गर्दै भरतपुर महानगरपालिकादेखि सिंहदरबारसम्म धाइरहेका छन् । जनस्तरबाट पनि उक्त रंगशाला अब सरकारले नै बनाउनुपर्ने आवाज उठिरहेको छ ।

    स्थानीयहरुले पनि रंगशालामा स्याल दौडन थालेको प्रतिक्रिया दिएका छन् । उनीहरुले रंगशालालाई निर्माण गर्ने भै छिटो गरिहाल्नु पर्ने हैन भने स्थानीयलाई खेलकुद गर्न छोडिदिनुपर्ने धारणा राखे । करोडौंका सामान खिएर नष्ट भइरहेको देख्दा आफूहरुलाई निकै पीडा हुने गरेको स्थानीय बताउँछन् ।

    रंगशालाको निर्माणको परियोजनामा २०७५ माघ १६ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हस्ताक्षर भएको थियो । उक्त कार्यक्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका तत्कालिन महामन्त्री सशांक कोइराला, तत्काली खेलकुद मन्त्री जगतबहादुर सुनुवार लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । उनीहरुकै उपस्थितिमा भरतपुर महानगरपालिकासँग धुर्मुस सुन्तली फाउण्डेशनले रंगशाला निर्माण गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । त्यसपछि रंगशालाको निर्माण कार्य सुरु गरिएको थियो ।


    धुर्मुस सुन्तली फाउण्डेशनले रंगशाला निर्माणका लागि सहयोग जुटाउन मेचि महाकाली अभियान गर्नुका साथै विदेशमा समेत विभिन्न कार्यक्रम ग¥यो । सिटमा नाम लेख्ने अभियान चलायो । महायज्ञ लगायो । रंगशालाको नमुना खेलमैदान तयार भएपछि कलाकार भर्सेस क्रिकेट खेलाडीको प्रतिस्पर्धा समेत गराइयो । धुर्मुस सुन्तलीको यो प्रयास रंगशाला निर्माणका लागि खर्च उठाउन पर्याप्त भएन । अन्ततः धुर्मुस सुन्तलीले रंगशाला निर्माणको कामबाट हात झिके ।

    २०७८ पौष २ गते उनीहरुले भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरणका लागि अनुरोध पत्र पठाएको थियो । त्यसपछि अहिले भरतपुर महानगरपालिको १ जना कुरुवा राखेर रंगशाला कुर्नुबाहेक अरु थप केही काम अघि बढाउन सकेको छैन । महानगरपालिका प्रमुख रेनु दाहालले रंगशाला हामै्र पालामा बनाउँछौं भन्दै पटकपटक आश्वासन भने दिन छाडेकी छैनन् ।

    कामबाट हात झिेकेपछि धुर्मुस सुन्तलीमाथि रंगशालाको उधारो र ऋणमाथि निरन्तर प्रश्न उठिरह्यो । एक वर्षसम्म चुप बसेका धुर्मुस गत चैतमा रंगशाला पुगेर ३० मिनेटको भिडियो बनाइ आफ्नो सामाजिक संजालमा हाले ।

    रंगशाला निर्माणका लागि सहयोग गर्छु भनि महायज्ञमा कबुल गरेकाहरुले समेत रकम नदिँदा आफूहरु संकटमा परेको उनको भनाइ थियो । महायज्ञबाट ६९ करोडको आश्वास पाए पनि रकम भने जम्मा ९ करोड रुपैयाँमात्र उठेको उनले बताए ।

    धुर्मुसले बोलकबोल गरेको रकम उठला र तिरौंला भनि उधारो समान ल्याएर काम गरेको बताउँदै उनले पैसा नउठ्दा तिर्न नसकिएको प्रतिक्रिया दिए । सरकार, विभन्न संघ संस्था, व्यक्तिहरु सबैले म दिन्छु तिमी काम अगाडि बढाउ भन्दै हौशला प्रदान गरेकाले आफूले उधारोमा समान ल्याउनुका साथै ऋण खोजेका उनको भनाइ थियो । यो धुर्मुसको मात्र रंगशाला हो भनि गलत भाष्य निर्माण गरी सरकारले नै असहयोग गर्दा यो अवस्था आएको उनको निष्कर्ष थियो ।

  • चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रु र व्यावसायी मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

    चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रु र व्यावसायी मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, असोज ७ –

    भरतपुर महानगरपालिकाले पूर्व चितवन र पश्चिम चितवनबाट आउने सार्वजनिक सवारी साधनलाई नारायणगढ प्रवेशमा रोक लगाएपछि यात्रुहरुले दुखः पाइ रहेका छन् । बजारभन्दा टाढा रहेको बसपार्कमा झरेका यात्रुहरु अटो र म्याजिकको चर्काे भाडा तिरेर हिँड्न बाध्य छन् ।

    पूर्वि चितवनबाट पूर्वपश्चिम राजमार्ग हुँदै नारायणगढ आउने स्थानीय सवारी साधनलाई भरतपुर महानगरपालिकाले गन्तव्य स्थलसम्म पुग्न नदिई बीच बाटोमा रहेको बसपार्कसम्म मात्र आउन दिने निर्णय गरेपछि यात्रुहरुले विगत ८ महिनादेखि सास्ती खेप्नु परेको हो ।

    पुल्चोक–गोन्द्राङ्ग सडक सिक्स लेनमा विस्तार गर्न लागिएको अवस्थामा भीड व्यवस्थापन गराउन भन्दै महानगरपालिकाले सवारी प्रवेशमा रोक लगाउने निर्णय गराएको थियो । यस निर्णयले बसपार्क पनि व्यवस्थित बन्ने महानगरपालिकाको सोच थियो ।

    महानगरको निर्णअनुसार पूर्वि चितवनबाट आउने सवारी केन्द्रीय बसपार्क (पारस बसपार्क) सम्म मात्र आउन पाउँछन् र पश्चिम चितवनबाट आउने सवारी चौबिसकोठीबाट बसपार्क पुग्नुपर्ने हुन्छ ।

    यो निर्णयले विशेष गरी पूर्वि चितवनबासीलाई समस्या परेको छ । त्यसैले उक्त निर्णय भएदेखि नै पूर्वि चितवनबाट यसको विरोध भइरहेको छ ।
    टिकौली जंगल कटेको केही समयमै आउने बसपार्क ओर्लेका यात्रुहरु म्याजिक र अटो चढेर राजमार्ग हुँदै नारायणगढ तिर आउनुपर्दछ । बसपार्कबाट नारायणगढ तर्फ नै छन् प्रशाशनिक कार्यालय, विद्यालय र अस्पतालहरु । यस्ता अधिकांश कार्यालय राजमार्ग वरिपरि छन् ।

    सिमित संख्यामा स्थानीय बसलाई नारायगगढ आउन नदिएको महानगपालिकाले म्याजिक र अटोेको भने व्यवस्थापन गर्न सकेको छैन । अटो र म्याजिकको संख्या अत्याधिक हुँदा राजमार्ग अस्तव्यस्त छ । बसपार्कमै सवारी रोकिन थालेपछि बजारमा म्याजिक र अटोहरु थपिँदै गएका छन् । अटोको भाडादर कायम नगरिँदा अटोले लुट मच्चाइरहेका छन् ।

    महानगरपालिकाका प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले बसापार्कमा बस रोक्ने निर्णयलाई पुनः विचार गर्न सकिने बताए । बजारमा अटोको चर्काे भाडा रहनुका साथै म्याजिक र अटोको सँख्या बढी भएको स्वीकार गर्दै उनले यसको नियमन गर्ने अधिकार आफूहरुसँग नहुँदा समस्या परेको बताए ।

    महानगरपालिकाको यो निर्णयअघि सवारी साधनहरु राजमार्गमा पर्ने नारायणगढसम्म आउँथे र त्यहाँबाट फर्केर बसपार्क जान्थे । उनीहरुले यात्रुहरुलाई विभिन्न तोकिएका स्थानमा ओराल्दथे ।

    म्याजिक र अटो व्यावसायीलाई मनपरी गर्न छुट दिएको महानगरपालिका उनीहरुकै स्वार्थमा बसहरुलाई प्रवेश गर्न नदिइएको भन्दै मिनिबस व्यावसायीले पनि विरोध जनाइरहेका छन् ।

    यसैगरी पूर्वपश्चिम राजमार्ग भएकाले बसहरुलाई चोकचोकमा यात्रु ओराल्ने व्यवस्था मिलाई पुल्चोकसम्म गएर पुनः फर्काउने व्यवस्था मिलाउन पूर्वि चितवनका जनप्रतिनिधि, राजनैतिक दल र विद्यार्थी संगठनहरुले माग गर्दै आएका छन् ।

    चितवन २ का जनप्रतिनिधि रवि लामिछाने, चितवन १ का जनप्रतिनिधि हरि ढकाल, नेकपा एमाले चितवन, विभिन्न विद्यार्थी संगठनहरुले महानगरको निर्णयबाट यात्रुले दुखः पाएको भन्दै निर्णय फिर्ता लिन माग गरिरहेका छन् ।

    यात्रुहरुले यो निर्णयले आफूहरुलाई सास्ती भएको दुखेसो गरेका छन् । विशेष गरी विद्यार्थीहरु मर्कामा परेका छन् । सवारी नारायणगढ बजारको पुलचोकसम्म आएर फर्कँदा कुनै फरक पर्दैन किनकी त्यो पूर्वपश्चिम राजमार्ग हो ।

    यदि बजारको भिड नै व्यवस्थापन गर्न खोजिएको हो भने म्याजिकको बिगबिगी र अटोको लुटतन्त्रलाई अन्त्य गर्दै ठूला सवारी साधन सिटीबसहरु सञ्चालनमा ल्याउनु पर्ने हो । तर महानगरपालिकाले भने उल्टो नीति लिएको छ ।

  • लाखौं रकम कुम्ल्याएर जनशक्ति विद्यालय गैंडाकोटका प्रअ कालिका देवकोटाले दिए राजीनामा

    लाखौं रकम कुम्ल्याएर जनशक्ति विद्यालय गैंडाकोटका प्रअ कालिका देवकोटाले दिए राजीनामा

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, भदौ २५ –
    श्री जनशक्ति आधारभुत विद्यालय गैंडाकोट १३ बेल्डिहाका पूर्व प्रअ कालिका प्रसाद देवकोटाले आर्थिक हिनामिना गरी स्वेच्छिक अवकाश लिएको तथ्य बाहिरिएको छ ।
    पूर्ब प्रधानाध्यापक कालिका प्रसाद देवकोटाले विद्यालयको ९ लाख ५० हजार रुपैयाँ रकम हिनामिना गरेको पाइएको हो ।

    २०६७ सालमा प्रअ बनेका गैंडाकोट १३ निवासी देवकोटाले २०७६ सालमा स्वेच्छिक अवकाश लिएका थिए । तरअवकाश हुने बेलामा विद्यालयको आर्थिक क्रियाकलाप प्रष्टरुपमा पारेर जानुको सट्टा आर्थिक हिनामिना गरी रकम कुम्ल्याएर हिँडेको पाइएको हो । देवकोटाले अनियमितता गरेको कुरा लेखा परीक्षण प्रतिवेदन २०७७/०७८ ले पुष्टि गरिसकेको छ ।

    विद्यालयको स्वतन्त्र रुपमा लेखा परीक्षण गर्ने जिम्मा पाएको भरतपुर ३ मा अवस्थित होम बस्नेत एण्ड एसोसियट्सले गरेको स्वतन्त्र लेखा परीक्षणको प्रतिवेदनले पूर्व प्रअ देवकोटाले ९ लाख ५० हजार हिनामिना गरेको पुष्टि भएको हो । विद्यालयमा बन्दै गरेको चार कोठे आरसिसि भवन निर्माण, विद्यालयमा भएको महायज्ञका बेला देवकोटाले ठूलो रकम हिनामिना गरेको प्रतिवेदनमा देखिन्छ ।

    उक्त अनियमितताका विषयमा निर्णय गर्दै विद्यालय व्यवस्थापन समितिले पनि पूर्व प्रअ देवकोटाले ९ लाख ५० हजार बराबरको रकम फिर्ता गर्नुपर्ने प्रतिवेदन तयार पारेको छ । पूर्व प्रअ देवकोटालाई उक्त रकम फिर्ता गर्न पटकपटक ताकेता गर्दा पनि देवकोटाले अटेर गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम प्रसाद पौडेल बताउँछन् । रकम फिर्ता गर्न माग गरी पूर्व प्रअ देवकोटालाई पत्र पठाएको भोलि पल्ट विद्यालयमा अज्ञात समूह पठाएर धाकधम्की समेत दिने, सिसा फुटाउने अध्यक्ष पौडेल बताउँछन् । विभिन्न राजनितिक ब्यक्तिहरुको आड लिएर धम्कीको भाषाहरु प्रयोग गर्ने र त्यो पैसा तिर्न पर्दैन भन्दै हिँड्ने गरेको उनले बताए ।

    पूर्व प्रअ देवकोटालाई विद्यालयमा स्वयम उपस्थिति भई हिसाबकिताबका बारेमा बुझाउन विद्यालय व्यवस्थापन समिति र लेखापरीक्षकले पटकपटक बोलाए पनि प्रअ उपस्थिति हुन नमानेको विद्यालय व्यवस्थापन समितिको प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    विद्यालयका हालका प्रधानाध्यापक कपिल बाबु अर्यालले सम्बन्धि कागजातहरु आफूले नगरपालिकामा उपलब्ध गराइसकेको बताए । उनले सबै कागजात र प्रमाणहरु पेस गरेर पूर्व प्रअबाट रकम असुल उपर गरी पाउँ भनि नगर शिक्षा र जिल्ला शिक्षा समन्वयन समितिमा पेस गरिसकेको बताए ।

    अनियमितता भएको प्रतिवेदनहरु आएपछि भ्रष्टाचार मुक्त समाजका युवा अभियन्ता स्थानीय गैंडाकोट १३ निवासी संजय भीम बहादुर थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा उक्त अनियमितताको विरुद्धमा उजुरी समेत दिएका छन् । पहिलो पटकको उजुरीमा कुनै प्रमाण पेस नगरेको भन्दै अख्तियारले तामेलीमा राखेपछि थापाले प्रमाण समेत समावेश गरी पुनः उजुरी दिएका छन् ।

    थापाले नगरपालिकाको शिक्षा शाखा, जिल्ला शिक्षा समन्वयन सबैतिर प्रमाणसहित उजुरी दिइसकेको भए पनि अहिलेसम्म उक्त उजुरी उपर कुनै पनि निकायले निर्णय गरेका छैनन् । यसरी छानबिन गर्नुपर्ने निकायको ढिलासुस्ति अझै जारी रहे आफू अनसन बस्ने तयारीमा रहेको भ्रष्टाचार मुक्त समाजका युवा अभियान्ता थापा बताउँछन् ।
    नगरपालिकाको शिक्षा शाखाले अख्तियारबाट आफूहरुलाई पत्र आएको र उक्त पत्रमा माग गरिएका कागजात विद्यालयबाट झिकाएर अख्तियार पठाउने तयारी गरिराखिएको जनाएको छ । पालिका भित्रका विद्यालयको नियमन गर्ने अधिकार पालिका कार्यालयसँग छ । तर ३ वर्ष भइसक्दा पनि नगरपालिकाले यस विषयमा कुनै कदम नचाल्नुले गैंडाकोट नगरपालिको गतिविधि पनि संकास्पद देखिएको स्थानीयहरुले बताउने गरेका छन् ।

    विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम्, गैंडाकोट १३ का पूर्व वडाध्यक्ष पदमलाल पौडेलले देवकोटाले उक्त रकम फिर्ता गर्नैपर्ने बताए । देवकोटाले गरेको आर्थिक हिनामिनाको विरुद्ध आफूहरु अब कानुनी उपचारको खोजीमा लाग्ने उनको भनाइ छ ।

    यस विषयमा पूर्व प्रअ कालिका प्रसाद देवकोटाले ५ लाख ७९ हजार आफूले पाउनु पर्ने र आफूले तिर्नुपर्ने रकम १ लाख ३२ हजारमात्र रहेको प्रतिक्रिया दिए । उनले स्वतन्त्र लेखापरीक्षकको रिर्पाेट राजनैतिक प्रतिशोधका आधारमा गलत निकालिएको आरोप समेत लगाएका छन् ।