Category: लुम्बिनी प्रदेश

  • रहस्यमय मृत्यु भएको ७३ दिनपछि अमृताको दाहसंस्कार

    रहस्यमय मृत्यु भएको ७३ दिनपछि अमृताको दाहसंस्कार

    बुटवल, १० असार-
    रहस्यमय ढंगले ज्यान गुमाएकी रुपन्देहीकी अमृता खत्री टण्डनको ७३ दिनपछि शुक्रबार दाहसंस्कार गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरकी अमृताको शुक्रबार माइती पक्षले दाहसंस्कार गरेको हो ।

    प्रहरीले माइती र घर पक्षसँग बिहीबार सहमति जुटाएपछि माइती पक्ष दाहसंस्कारका लागि तयार भएको थियो । सोही सहमति अनुरुप अमृताको शुक्रबार तिलोत्तमा ३ स्थित मगरघाटमा दाहसंस्कार गरिएको अमृताका दाजु पुष्पक खड्काले जानकारी दिए ।

    विभिन्न चरणमा भएको छलफलपछि बिहीबार दुवै पक्षबीच सहमति जुटेको हो । जस अनुसार घर पक्षले अमृताको नाममा कुनै काम गर्नेगरी अक्षयकोष बनाउने र छोराको शिक्षादिक्षाको लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिने सहमति भएको छ ।

    गएको चैत ३० गते राति अमृताको शंकास्पद मृत्यु भएपछि माइती पक्ष आन्दोलनमा उत्रिएको थियो । लामो समय आन्दोलनमा उत्रिएपछि पनि माग सुनुवाई नभएपछि माइती पक्षले लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको शव उठाउन मानेका थिएनन् ।

    पाँचसय मिटरको दूरीमा रहेको माइतीबाट घर गएको आधा घण्टामै उनको मृत्यु भएको भनिए पनि माइती पक्षले भने उनको हत्या गरिएको भन्दै परिवारका सदस्यलाई कारबाही गर्न माग गर्दै आएका थिए ।

    उनीहरुले अमृताको मृत्युमा श्रीमान प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दीपा टण्डनको हात रहेको भन्दै उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएर सडक आन्दोलनमा उत्रिएका थिए ।

    अमृताका माइती पक्षले दिएको जाहेरी अनुसार जिल्ला अदालत रूपन्देहीले श्रीमान प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाए पनि सासू–ससुरा दुवैलाई भने प्रमाण नपुगेको भन्दै यसअघि नै रिहा गरिसकेको थियो ।

    तर माइती पक्षले घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने भन्दै अन्त्येष्टि गर्न अस्वीकार गर्दै आएका थिए । यसअघि पोष्टमर्टमका लागि पनि रूपन्देही प्रशासनले निष्पक्ष छानबिन गर्ने प्रतिवद्धता जनाएपछि मात्रै माइती पक्ष सहमत भएका थिए ।- न्युज कारखाना

  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

    रुकुम,असार ७-
    रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो । औषधि अभाव भएपछि अहिले उक्त केन्द्रमा बिरामी आउनै छाडेका छन् । सुरु–सुरुमा आयुर्वेद स्वास्थ्योपचारतिर आकर्षित भएका नागरिक पछिल्लो समय औषधि पाउन छाडेपछि उपचारबाट वञ्चित हुन पुगेका हुन् ।

    उपचारका लागि स्वास्थ्य केन्द्रसम्म धाउनेलाई अहिले खाली हात फर्काउनुपर्ने अवस्था सिर्जना भएको केन्द्रका प्रमुख डा गनेश अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले केन्द्रमा ग्यास्टिक र रुघाखोकीको मात्र औषधि उपलब्ध छ ।

    रुकुमपूर्वमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गएको जेठ २६ गतेदेखि सेवा सुरु गरेको थियो ।

  • स्वदेशी चियाको प्रवर्द्धन गर्न बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी सुरु

    स्वदेशी चियाको प्रवर्द्धन गर्न बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी सुरु

    बुटवल, ३ असार-

    स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा देशभरीका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन् ।

    आफुले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदर्शनीको उदघाटन गरेका थिए । प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्दै आएका निजी क्षेत्रका नेपाल टि एसोसिएसन, हिमालयन अर्थोडक्समा टि प्रोड्युसर एसोसिएन नेपाल, नेपाल टि प्रोड्युसर एसोसिएसन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटि टि एसोसिएसन नेपालमा आवद्ध एक सय बढी ब्यवसायीहरुबाट उत्पादित चियाका ब्राण्डहरु राखिएका छन् ।

    कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री केसीले स्वदेशी उत्पादनमूलक उद्योग स्थापनाका लागि प्रदेश सरकार जग्गा उपलव्ध गराउन समेत तयार रहेको बताए । “बजार प्रवद्र्धन मात्र भनेर पुग्दैन, आन्तरिक उत्पादन पनि बढाउनुपर्छ, तपाईहरु उत्पादनको योजना लिएर आउनुस्, लुम्बिनी प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा जग्गा उपलव्ध गराउन तयार छ,” उनले भने ।

    लुम्बिनी प्रदेश सरकारले स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने नीति लिएको उल्लेख गर्दै उनले विदेशी उत्पादन निरुत्साहित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले आउने दशै तिहारमा भारतबाट आउने गरेको फुलमालालाई पूर्ण प्रतिबन्धन लगाईने जनाउँदै निजी क्षेत्रसँग सहकार्य गरेर जान प्रदेश सरकार सधैं अग्रसर रहेको बताए । उनले व्यवसायीहरुलाई लुम्बिनी प्रदेशको गुल्मी लगायतका जिल्लामा उत्पादित कफीको प्रबद्र्धन र बजारीकरण गरिदिन आग्रह समेत गरे ।

    कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले आम नागरिकलाई चिया पिउने सही तरिका बताउने र नेपाली चियाको बारेमा बजार बिस्तार गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको बताए ।

    नेपाली उत्पादन नेपालमा खपत भएर आर्थिक रुपमा सबल हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ । विजनेश हबका रुपमा बुटवललाई चिनाउने रुपमा कार्यक्रम गरिन लागेको उनले बताए ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दिपक खनालले नेपालबाट ठूलो परिमाणमा चिया नर्यात हुने गरेको बताउँदै बोर्डले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि पहिलोपल्ट चिया प्रदर्शनी कार्यक्रम आयोजना गरेको जानकारी दिए ।

    बोर्डका कृषि विकास अधिकृत चन्द्र पुरीले स्वदेशी उत्पादनको प्रयोगलाई बढाउन, स्वदेशी चियाको आम उपभोक्तामाझ जनचेतना जगाउन र आम नेपालीमा स्वदेशी उत्पादनको प्रयोग गर्ने बानी बसाल्नका लागि पनि यो प्रदर्शनी सहयोगी हुने विश्वास व्यक्त गरे ।

    त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नेपाल टि एसोसिएसनका कमल मैनालीलगायतले पनि मुलुकको आर्थिक उन्नती र समृद्धिको यात्रालाई अघि बढाउन स्वदेशी उत्पादन बढाउनुपर्ने र स्वदेशी वस्तु निर्यात गरी विदेशी मुर्जा आर्जन गर्ने दिशातर्फ अघि बढ्नुपर्नेमा जोड दिएका थिए । नेपाली चिया विश्व बजारमा निकै ख्याती कमाएको भएपनि देशकै धेरै ठाउँमा पुग्न नसकेको उनले बताए । सिटिसी र अर्थोडक्स चिया मध्ये सिटिसी उपभोक्ताहरु माझ माग भएको उनले बताए । देशका ७० जिल्लामा अर्थोडक्स चियाको बारेमा जानकारी नपाएको भेटिएको एक अनुसन्धानमा देखिएको पनि उनले बताए । सिटिसी चिया ५० प्रतिशतले आन्तरिक माग पुग्ने बाँकी विदेश निर्यात हुने बताउँदै उनले अर्थोडक्स चिया ८० प्रतिशतभन्दा बढी विदेश जाने गरेको जानकारी दिए ।

    नेपाली चियाको गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ । आर्थिक वर्ष २०७७/०७८ मा नेपालले तीन अर्ब ७९ करोड रुपैया मूल्य बराबरको चिया निर्यात गरेको छ । चियाको ईतिहासलाई केलाउँदा ईलामको तत्कालीन बडाहाकिम गजराज सिह थापाले बिसं १९२० मा इलाममा चिया रोपण गरेपछि नेपालमा चिया खेती शुरु भएको मानिन्छ । नेपाली चियाको इतिहास १५० वर्षभन्दा पुरानो छ । आव २०७७/०७८ मा नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया रोपण भएर २३ हजार ७४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको थियो । १६ हजार बढी चिया किसान र ६० हजार भन्दा बढी श्रमिकहरु चियाको विभिन्न मूल्य श्रृखलामा संलग्न रहेका छन । अहिलेकै चियाको उत्पादन र बिदेश निर्यातको अनुपात हेर्दा नेपालबाट वार्षिक १० अर्बको निर्यात मूल्य बनाउने सम्भावना रहेको छ । प्रदर्शनीमा ३० वटा स्टलहरु राखिएका छन् । कार्यक्रम शनिबार सम्म चल्ने छ ।न्युज कारखाना

  • इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण

    इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण

    बुटवल, ३ असार-

    प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण भएको छ ।

    हेलकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण भएको विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

    प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए । करिब २० मिनेट हेलिकप्टर रोकिने क्रममा प्रधानमन्त्री देउवाले राजनैतिक भेटघाट गरेका थिए ।

    उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, नेपाली कांग्रेस रुपन्देहीका सभापति एवम् तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खान, नेपाली कांग्रेस सिद्धार्थ नगर सभापति कोशिस बहादुर खड्का, तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुरुङ, नगर अध्यक्ष दिपेन्द्र बुढाप्रीती, युवा नेता एवम् पूर्व जिल्ला सदस्य ओमकुमार श्रेष्ठ लगायतका नेताहरुले भेटघाट गरेका थिए । करिब २० मिनेटको भैरहवा बसाईपछि प्रधानमन्त्री देउवा धनगढी प्रस्थान गरेका छन् ।न्युज कारखाना

  • एक बालिकालाई करणी गरेको आरोपमा जनप्रतिनिधि पक्राउ

    एक बालिकालाई करणी गरेको आरोपमा जनप्रतिनिधि पक्राउ

    रोल्पा, असार ३-

    एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् ।

    गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी प्रहरी नियन्त्रणामा

    लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी प्रहरी नियन्त्रणामा

    बुटवल, ३१ जेठ-

    लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी वली खत्री प्रहरी नियन्त्रणमा पुगेकी छन। परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कुटपिट गरेपछि स्थानीयले ढोका थुनेर वलीलाई प्रहरीको जिम्मा लगाएका हुन ।

    राज्यमन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीमानलाई मेरो पाोइ खोइ भन्दै घरभित्र आएर आफूलाई कुटपिट गरेको पीडित महिलाले बताएकी छन । बिमलाले एकराज बस्नेतलाई आफ्नो पोइ भन्दै बस्नेतकी पत्नी र छोरीलाई कुटपिट गरेको स्थानीयको भनाइ छ ।

    राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिएर जिप्रका तुलसीपुरमा पुर्‍याएकाे हो ।

    मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा म‌गलबार बिहान प्रवेश गरेकी हुन् । घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    उनले मिनाको कोठा भित्रको दराजका कपडा निकाल्दै आँफुले आफ्नो श्रीमान एकराजका लागि ती कपडा किनिदिएको भन्दै मनपरी निकाल्ने र फाल्ने गरेको मिनाले आरोप लगाइन । बिमलाले मिनाको कोठाका कपडाहरु यत्रतत्र छरिदिएकी थिइन् ।

    मन्त्रीले नै सीमा नाघेर अर्काको घर भित्र घुसेर मनपरी गरेको भन्दै स्थानीय आक्रोसित भएका छन् । केही समय पहिले राज्य मन्त्री बिमला र मिनाका पति एकराज बस्नेतको बीचको प्रेम प्रसङ्ग बाहिरीएको थियो ।न्युज कारखाना

     

  • सांस्कृतिक कार्यक्रम हेरेर फर्किँदा अपहरण, अपहरणपछि सामूहिक बलात्कार

    सांस्कृतिक कार्यक्रम हेरेर फर्किँदा अपहरण, अपहरणपछि सामूहिक बलात्कार

    कपिलवस्तु, १९ जेठ-

    सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी कपिलवस्तु वाणगंगा नगरपालिकाकी एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । १७ वर्षीया बालिकाको अपहरणपछि बलात्कार भएको प्रहरीले जनाएको छ ।

    बलात्कार गरेको आरोपमा रुपन्देहीको कञ्चन गाउँपालिकाका छ जना युवालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा कञ्चन गाउँपालिका वडा नम्बर– ५ का निरज कार्की, वडा नम्बर– ४ का राहुल सिंजाली, सुलभ केसी, वडा नम्बर– ३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापा रहेका छन् ।

    मङ्गलबार राति करिब ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा बालिकाको अपहरण भएको थियो ।

    घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा रुपन्देही कञ्चन गाउँपालिकाका युवाहरूले मोटरसाइकल र स्कुटरको प्रयोग गरी अपहरण गरेको सूचना पाएपछि रातिदेखि प्रहरीले खोजतलास गरेको थियो ।

    सोही क्रममा बुधबार मध्याह्न उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए ।

    अनुसन्धानको क्रममा उनीहरूले बालिकालाई अपहरण पछि कञ्चन गाउँपालिका– ३ रुद्रपुरमा लगी बलातकार गरेको खुलेको उनले बताए ।-न्युज कारखाना

  • स्थानिय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक

    स्थानिय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक

    काठमाडौ, १४ जेठ-
    स्थानिय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक आब्हान र सुरुसमेत हुन थालेका छन ।

    शुक्रवार देखी बाग्मती प्रदेश, कर्णाली र गण्डकी प्रदेश सभा सुचारु भए लगत्तै प्रदेश १, मधेस प्रदेश र सुदरपश्चिम प्रदेशले पनि बैठक आब्हान गरेका छन ।

    प्रदेश १ र सुदुरपश्चिमले १६ जेठका लागि र मधेस प्रदेश सभाको बैठक १९ जेठका लागि बैठक आब्हान गरिसकिएको छ भने लुम्बिनी प्रदेशले भने अझै मिति तय गरिसकेको छैन् । १ असारमा बजेट ल्याउनु पर्ने संवैधानिक ब्यवस्थाका कारण पनि प्रदेश सभा बैठक धमाधम आब्हान गरिएका हुन ।

    शुक्रवार देखी जारी बाग्मती प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतले प्रदेश युवा परिषद २०७६ लाई संसोधन गर्न बनेको बिद्येयकलगायत ५ वटा अध्यादेश संसोधन गर्नका लागि प्रदेश सभा बैठकमा पस्ताव गरेका छन भने गण्डकी प्रदेशले पुर्व पदाधिकारीलाई सुबिधा दिने गरी कानुन निमार्ण गर्न समिति निमार्ण गरेको छ ।

    गण्डकी प्रदेशका प्रशासन महाशाखाका सचिवको संयोजकत्वमा अर्थ र कानुन मन्त्रालयका सचिव रहने गरी तीन सदस्य समितिसमेत गठन गरेको सरकारका प्रवक्ता कुमार खडकाले जानकारी दिएका छन ।

    यसैगरी, कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७९/८० को बिनियोजन बिद्येयकको सिद्धान्त, उदेश्य र प्राथमिकता तथा प्रमुख नीति प्रदेश सभा बैठकमा प्रस्तुत गरेको छ । अर्को बैठक १६ जेठका लागि आब्हान गरिसकेको छ ।-न्युज कारखाना

  • बिहानै तीन प्रदेशमा वर्षा, दिउँसाे हावाहुरीसहित वर्षाकाे सम्भावना

    बिहानै तीन प्रदेशमा वर्षा, दिउँसाे हावाहुरीसहित वर्षाकाे सम्भावना

    काठमाडाैं, ८ जेठ-

    आइतबार बिहान बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा वर्षा भएकाे छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली छ ।

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ । लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना छ । देशका अन्य प्रदेशका केही स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएकाे छ ।

    राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    साेमबारकेही स्थानहरुमा र मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।न्युज कारखाना

     

     

  • भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

    भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

    काठमाडौं, २ जेठ-

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन् ।

    भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा उनी लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    भारतीय प्रधानमन्त्री मोदीले आज ६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्कने छन् । उनी प्रधानमन्त्री देउवाको निमन्त्रणमा बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन लुम्बिनी आएका हुन् । -न्युज कारखाना