Category: लुम्बिनी प्रदेश

  • एकीकृत समाजवादी केन्द्रीय सदस्यले त्यागे पार्टी

    एकीकृत समाजवादी केन्द्रीय सदस्यले त्यागे पार्टी

    बुटवल, ५ असोज-

    प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाईंले विद्रोहको औचित्य पुष्टि नभएकाले आफू पुरानै घर एमालेमा फर्किएको बताएका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा अर्थ एवं योजना विभागको प्रमुख रहेका चापागाईं पार्टी परित्याग गरेर एमालेमा फर्किएका थिए ।

    प्रेस चौतारी नेपाल रुपन्देहीको जिल्ला कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले भने, ‘जुन उद्देश्यले समाजवादी पार्टी स्थापना भएको थियो, त्यसको औचित्य पुष्टि हुन सकेन, त्यसकारण म पुरानै घर फर्किएको हुँ ।’

    नेकपा एकीकृत समाजवादीमा बसेर काँग्रेसको कार्यकर्ता बन्नु बाहेक अरू उपाय नदेखेपछि आफू पुरानै मातृ पार्टीमा फर्किएको बताए । ‘सत्तारुढ गठबन्धनमा बस्नु भनेको काँग्रेसको कार्यकर्ता बन्नु हो, त्यो बाहेक अरू केही हुन सक्दैन, कांग्रेसको कार्यकर्ता बन्नु भन्दा मैले बरु पुरानै पार्टीमा फर्किनु उचित ठाने,’ उनले भने ।

    चापागाईंले एमालेबाट विद्रोह गरेर नयाँ प्रकारको राजनीतिक अभ्यास सुरु गर्न खोजेर समाजवादी गठन गरेको भए पनि त्यसले कुनै परिणाम दिन नसकेको भन्दै बरु एमाले नै देशको सच्चा कम्युनिस्ट भएको र यसले मात्रै मुलुकलाई निकास दिन सक्ने बताए । ‘मैले करिब एक वर्ष बाटो बिराएकै हुँ, तर विगतलाई बिर्सेर म इमान्दारिपुर्वक फर्किएको छ र बाँकी जीवन एमालेमै रहेर बिताउँछु,’ उनले भने । उनले आफूले योगदान गरेको प्रेस चौतारीसँग केही समय टाढा रहे पनि छोटो समयले फेरि एकैठाउँ फर्काएको पनि बताए । उनले समाजवादीमा लागेका अन्य थुप्रै नेताहरू पुरनो पार्टीमा फर्किने पनि बताए ।

    बैठकमा प्रेस चौतारीका केन्द्रीय सचिव प्रदीप आचार्य, केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज अमृत गिरी, केन्द्रीय सदस्यद्वय नवराज कुँवर, अमृता अनमोल, सल्लाहकारद्वय शेरबहादुर केसी दिनेश पाण्डे, प्रदेश महासचिव निरु गौतम, प्रचार विभाग रुपन्देहीका सचिव नरेश केसी लगायतले पनि सम्बोधन गरेका थिए ।

    बैठकले आउँदै गरेको विजयादशमी, तिहार, छठ एवं नेपाल संवतका अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको संगठनका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।

     

  • लागूपदार्थसहित काठमाडौंका दुई जना युवा महोत्तरीमा पक्राउ

    लागूपदार्थसहित काठमाडौंका दुई जना युवा महोत्तरीमा पक्राउ

    महोत्तरी, ४ भदौ-

    प्रतिबन्धित लागूऔषधसहित महोत्तरीमा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा काठमाडौं जडीबुटी बस्ने २२ वर्षीय रवीन्द्र श्रेष्ठ र काठमाडौंकै बुढानीलकण्ठ बस्ने २७ वर्षे सनत सिवाकोटी हुन् ।

    सोमवार राति बर्दिबासस्थित इलाका प्रहरी कार्यालय गौरिडाडाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्दा उनीहरू सवार बागमती प्रदेशको २७५५ नम्बरको मोटरसाइकलमा राखिएको लागूपदार्थ फेला परेको इलाका प्रहरी कार्यालय गौरिडाडाले जनाएको छ ।

    मोटरसाइकलको सिटको बिच भागमा कालो रङको झोला भित्र रातो रङको प्लास्टिकमा नाइट्रोभेट-१० लेखिएको २५ (पच्चिस) पत्ता, एक पत्तामा ३० चक्कीको दरले जम्मा ७५० (सात सय पचास) चक्की र अल्कोहल स्वाब टोरुण्डा दि अल्कोहल ट्याम्पिन डि अल्कोहल लेखिएको ९४ (चौरान्बे) पुरिया सहित फेला पारिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका प्रमुख रवि रावलले जानकारी दिए ।

    पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत महोत्तरीबाट दिन १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • लुम्बिनीमा कर्मचारीलाई निकालेर छाेरा, ज्वाँइ र सालालाई नियुक्ति दिएपछि मारमा सेवाग्राही !

    लुम्बिनीमा कर्मचारीलाई निकालेर छाेरा, ज्वाँइ र सालालाई नियुक्ति दिएपछि मारमा सेवाग्राही !

    मोहम्मद हबिब
    भैरहवा, २४ साउन –

    बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह निर्वाचनपछि लुम्बिनी सांस्कृतिक नगरपालिका पुराना कर्मचारी निष्काशन र नयाँ नियुक्तिले कार्यालय पुनः विवादित बनेको छ । हुनतः रुपन्देहीका अन्य पालिकामा पनि कर्मचारी निष्काशनको विवाद नभएको होइन तर लुम्बिनीमा प्रमुख प्रशासकीय अधिकृत नै यसमा लागेपछि कार्यालयका सबै शाखाका कर्मचारी भयवित बनेका छन् ।

    नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयको निर्णयले साउनदेखि कार्यालय पूर्णत चल्न सकेको छैन । करारका कर्मचारीहरुलाई बिना कुनै कारण निकाल्ने, कामै गर्न नसक्ने अदक्ष आफन्तलाई विभिन्न पदमा स्वार्थका नियुक्ति दिएपछि नगरपालिकाका काम प्रभावित हुन पुगेको उपप्रमुख कल्पना हरिजनले बताइन् ।

    नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गोप्य रुपमा टिप्पणी उठाएर यही साउन १ गतेदेखि करारमा रहेका ९ जना कर्मचारीलाई बर्खास्त गरी १३ जना नयाँ कर्मचारी भर्ना गरेका छन् । नयाँ कर्मचारीलाई भर्ना गर्ने निर्णय गरेपछि विदामा बसेका प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले निर्णय कार्यान्वयनका लागि निमित्त प्रमुख रचना गौतम पाण्डेय क्षेत्रीलाई निर्देशन गरका थिए । निमित्त प्रमुख रचना पाण्डेयले कानुन सम्बत नभएको भने पछि र प्रमुख प्रशासकीय अधिकृतले भने अनुसार नगरेको कारण उनलाई पनि वडा सचिवमा सरुवा गरेका छन् ।

    कार्यपालिकामा निर्णय नै नगरी फर्जी निर्णय गराई कर्मचारी हटाउने तथा नयाँ कर्मचारी भर्ना गर्ने विषयमा आफूहरुले बिरोध जनाउँदै आएको उपप्रमुख हरिजनले पत्रकार सम्मेलन गरी जानकारी दिइन् ।

    यति मात्र होइन वडा अध्यक्ष र विद्यालयलाई जानकारी नै नगराई सरुवा पत्र आएपछि नगरपालिकाको वडा नम्बर ९ मा रहेको जग्गा १६ कठ्ठा १० धु्र विद्यालयको नाममा सिफारिस गर्न लागेको, स्वास्थ्यका प्राविधिक कर्मचारीलाई वडा सचिवमा सरुवा गरेको, नगर प्रमुखको छोरालाई अहेब र ज्वाँइलाई सहायक सब इन्जिनियर त्यस्तै आफ्नै नातामा सालो पर्नेलाई कम्प्युटर अपरेटरको पदमा नियुक्ति दिएको उपाध्यक्ष हरिजनले आरोप लगाइन् ।

    ‘हाम्रो माग सबै कुरा कार्यपालिका बोर्डमा आएर प्रस्ताव पेस भएर जानु पर्छ । प्रक्रियागत रुपमा दक्ष कर्मचारी नियुक्त हुनु पर्छ, पु्राना कर्मचारीलाई बिन कारण स्पष्टीकारण बिना निकल्न नमिलने उनले भनिन् । नयाँ नियुक्तिमा मेरो आपत्ति छैन तर कम्प्युटर खोल्न नजान्नेलाईलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरेर नगरपालिकाको विकास कसरी होला’ उनले प्रश्न गरिन् ।

    साउन १ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृतको साउन १५ मा सरुवा पत्र आएको र अहिले पनि हाजिर नभई रातिमा कार्यालय खोलेर गलत निर्णय एकलौटी रुपमा गर्दै आएको आरोप लागेको छ । साउन २० गते नै अधिकृत स्तरका कर्मचारीलाई आफू अनुकुल काम नगरेको भन्दै वडा सचिवमा सरुवा पठाएका छन् । छलफल भइसकेका विभिनन जिम्मेवार शाखाका सिलिङ बजेटलाई नै रातो किताबमा छाप्नु पहिलै नै घटाएर आफू अनुकुल शीर्षकमा ल्याएको उपाध्यक्ष तथा कर्मचारीहरुको आरोप छ ।

    नगरपालिकाले पुराना सेवा करारका ९ जना कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएर आफ्ना परिवार र आफन्तसहित ११ जनालाई नियुक्ति दिलाएका छन्।

    कार्यपालिका बैठकको निर्णय बिना कर्मचारीलाई हटाएर मेयर र कार्यकारीले गलत गरेको उनको आरोप छ ।
    नगरपालिकाका सूचना अधिकारी अशोक पाण्डेयले कर्मचारीलाई काम गर्न नगरपालिकामा अप्ठ्यारो महसुस भइरहेको बताए । ‘हामीलाई काम गर्न सहज बतावरण नभएपछि हामी सबै शाखाका कर्मचारीहरुले पनि ध्यानाकर्षण गराएका छौ’ उनले भने ।

    वडामा सचिव नभएका कारण काम प्रभावित नहोस् भन्नका लागि सरुवा गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले प्रतिक्रिया दिए । ‘भएकै जनशक्तिबाटै व्यवस्थापन गर्नका लागि यो निर्णय गरेको हो, यो आवश्यकता अनुसार भएको छ, कुनै प्रतिशोधले होइन’, उनले भने । विवादका विषयमा प्रतिक्रिया लिन खोज्दा नगर प्रमुख सजरुद्दिन मुसलमान बोल्न चाहेनन् ।
    जनप्रतिनिधि र कर्मचारीको कारण अहिले नगरमा विवाद सिर्जना हुँदा यस्को प्रत्यक्ष मारमा नगरवासी परेका छन् ।

  • बहिनी बस चलाउने, दिदी भाडा उठाउने : छोराछोरी गाडी नचलाउन भन्छन्, दिदी बहिनी मान्दैनन्

    बहिनी बस चलाउने, दिदी भाडा उठाउने : छोराछोरी गाडी नचलाउन भन्छन्, दिदी बहिनी मान्दैनन्

    बुटवल, २६ असार-
    त्यति ठूलो गाडी कसरी चलाउँदा हुन् ? कसरी रोक्न सकिन्छ होला ? सानो छँदा यस्तै कौतूहल राख्थिन् कपिलवस्तुकी निमा सारु । उनको सपना थियो–साँच्चै ठूलो भएपछि गाडी कुदाउने ।

    सीप भए जुनसुकै पेसाबाट सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन् । अनि उनलाई सहचालक बनेर सघाइरहेकी छन् सहोदर दिदी शान्ता मल्लले । बुटवल–कृष्णनगर रुटमा सार्वजनिक बस चलाउने निमा आफू सबैका लागि उदाहरण बनेको बताउँछिन् ।

    हरेक दिन बुटवलको अस्पताल लाइन र पुरानो बसपार्कमा लु१ज २८१२ नम्बरको सारू ट्राभल्स गाडी रोकेर निमा र शान्ता यात्रु खोजिरहेका भेटिन्छन् । निमा गाडीको चालक सिटबाट यात्रुतर्फ आँखा डुलाउँछिन् भने शान्ताले यात्रुहरू”लाई आग्रह र अनुरोध गर्दै आफ्नो बसतिर तान्ने प्रयास गरिरहेकी हुन्छिन् । वरिपरि हेर्ने मान्छेहरू भने अचम्म मानिरहेका हुन्छन् ।

    निमा र शान्ता सहोदर दिदीबहिनी हुन् । कपिलवस्तु वाणंगगा नगरपालिका–८ का यी दिदीबहिनीले यात्रुलाई सेवा दिन थालेको आठ वर्ष बित्यो । ‘गाडीका ‘स्टाफ’ हुन् भन्ने थाहा नपाएर होला कहाँ जाने हो भनेर सोध्दा यात्रुले किन भनेर समेत भन्छन्,’ निमा भन्छिन्, ‘सुरुसुरुमा कोही त महिला चालक र सहचालक देखेपछि सिटमा बसिसकेका यात्रु पनि झर्ने गरे तर अहिले चिनेका मानिस खोजिखोजी हाम्रै गाडीमा आउँछन् ।’

    प्रायः पुरुषले गर्ने काम चालक र सहचालकमा महिलालाई देख्दा मानिसहरू छक्क पर्नु स्वाभाविक नै मान्छिन् निमा । निमाले बसको ‘स्टेरिङ’ घुमाएको यात्रु हेरिरहन्छन् ।

    २०५३ सालमा तत्कालीन प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण भएपछि घर परिवारले वाणगंगाका धनबहादुर सारूसँग निमाको विवाह गरिदिए । १६ वर्षको उमेरमै बिहेपछि केही वर्ष बालबच्चा हुर्काउँदैमा उनको समय बित्यो । त्यसपछि उनले गाउँको एउटा सहकारीमा कार्यालयको ‘क्यासियर’ का रूपमा काम गर्न थालिन् । त्यसका लागि उनले स्कुटर चढेर जानुपर्ने भयो ।

    स्कुटर लाइसेन्स अनिवार्य भयो उनलाई । २०७० सालमा लाइसेन्स निकालिन् । गाडी चलाउने सपना त मनमा छँदै थियो । २०७१ सालमा बुटवलको एक इन्स्टिच्युटबाट गाडीको लाइसेन्सका लागि आवेदन फाराम खुलेको थाहा पाइन् । सवारीचालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिएपछि गाडी चलाउन सिक्न थालिन् । लाइसेन्स ट्रायल परीक्षा पास गरेपछि पहिलो पटकमै गाडीको लाइसेन्स निस्कियो । त्यसपछि गाडी हाँक्ने उनको हौसला बढ्दै गयो ।

    उनले पति धनबहादुरलाई भनिन्, ‘अब मैले गाडी चलाउन गाडी किन्नुपर्‍यो ।’ पतिले सहजै स्वीकार गरे । २०७२ वैशाखमा गाडी (विङ्गर) किनियो । सुरुमा घरबाट राजमार्गसम्म गाडी लगिन् उनले । तर राजमार्गमा चलाउन डराइन् । चालक जागृत श्रेष्ठलाई राखेर आफू सहचालक भइन् । चालकको पूर्ण विश्वास नहुने, घर गए आउने ठेगान नहुने हुँदा उनलाई हैरानी पनि भयो । चालकलाई तलब दिनुभन्दा आफूले गाडी चलाउने र दिदीलाई सहचालक बनाएर अगाडि बढ्न थालिन् । त्यसपछि सुरु भएको हो दिदीबहिनीको गाडी यात्रा ।

    पतिको साथ र समर्थनले नै आफू बस चालक बन्न सफल भएको निमा बताउँछिन् । ‘मेरो श्रीमानले प्रोत्साहन र समय दुवै दिनुभयो । गाडी किनिदिनुभयो । त्यसैले म आज सार्वजनिक गाडीको चालक हुन सफल भएँ,’ निमाले भनिन् । निमाका पति धनबहादुर बिजुलीका काम गर्छन् ।

    दिदीबहिनी बिहानदेखि रातिसम्म सडकमै हुन्छन् । साँझ ८–९ बजेसम्म उनीहरू सडकमै हुन्छन् । दैनिक निश्चित रुटमा कम्तीमा तीन ट्रिप चलाउनुपर्छ तर रुट कहिले कहाँ, कहिले कहाँ ?

    अर्घाखाँचीबाट शान्ताको परिवार पनि निमाको नजिकै बसाइसराइ गरी आएको हो । उनीहरूको मूल घर (जन्म) अर्घाखाँचीको छत्रदेव केरुङ्गामा हो । शान्ताका पति रोजगारीको सिलसिलामा भारतमा छन् । बहिनीको प्रस्तावमा दिदी शान्ताले पनि साथ दिइन् । अहिले बहिनी गाडीमा लोकदोहोरी गीत घन्काउँदै गाडी कुदाउँछिन्, दिदी भाडा उठाउँछिन् । ‘के थाहा लेखेको के रहेछ, आखिर हामी दिदीबहिनी गाडी लाइनमा आउँछौं भन्ने,’ शान्ता भन्छिन् ।

    बहिनी निमाको इच्छाशक्ति, कामप्रति रुचि र प्रतिबद्धताले नै पुरुष दबदबा रहेको यातायात क्षेत्रमा चुनौतीको सामना गर्दै सफल भएको शान्ताको भनाइ छ । ‘काममा लाग्नुपर्छ, अघि बढ्नुपर्छ भन्ने कुरा सधैँ भित्री मनमा बहिनीको थियो,’ शान्ता भन्छिन्, ‘अहिले आएर मलाई पनि यसैमा जोड्न सफल भइन् ।’

    आफ्नो मेहनत, परिश्रमले दिदीबहिनीले फड्को मारेका छन् । निमा उमेरले ४१ वर्ष र शान्ता ४२ वर्षकी भइन् । आफ्नो पेसाप्रति दिदीबहिनी पूर्ण सन्तुष्ट छन् । ‘महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् भनेर देखाउन पाउँदा आफूलाई गर्व लाग्छ,’ निमा भन्छिन् ।

    अहिले गाडीबाट सबै खर्च कटाएर निमाको मासिक एक लाख रुपियाँभन्दा बढी कमाइ हुन्छ । ‘तेल महंगो भएको छ । खर्च धेरै छ, मर्मत सम्भारमा पनि खर्च धेरै लाग्न थाल्यो, सबै खर्च कटाएर दैनिक ४५ सयदेखि पाँच हजार रूपैयाँसम्म बचत हुन्छ,’ उनले भनिन् ।

    पहिलो कोरोना महामारी आउनुभन्दा अगाडि नै निमाले गाडीको किस्ता तिरिसकेकी थिइन् । ‘धन्न कोरोना अगाडि गाडीको किस्ता तिरेर सकिएको थियो । एक वर्ष गाडी थन्किँदा के हुन्थ्यो होला हालत ?,’ निमाले विगतमा यातायात क्षेत्रले भोगेको समस्या सम्झिइन् ।

    निमाका दुई छोरी र एक छोरा छन् । ठूलो छोरी २४ वर्षकी भइन् । छोरा १७ वर्षका भए । निमालाई छोराछोरीले गाडी नचलाउन सुझाव दिन्छन् तर निमा आफूले सक्ने उमेरसम्म गाडी लाइनमै काम गर्ने सोचमा छिन् ।

    ‘मैले गाडी चलाउँदा छोराछोरीलाई लाज भयो रे त्यहीँ भन्छन् तर मैले सक्ने उमेरसम्म गाडी चलाउने हो,’ उनले हौसलाका साथ भनिन् । महिला चालकको रूपमा बुटवल यातायात प्रालिले निमालाई सम्मान समेत गरेको छ ।

    निमाले राम्रो गाडी चलाउँछिन् भन्ने सुनेपछि आजभोलि गाडीको ‘क्यू’ बाहिरको समयमा पनि उनी रिजर्भमा टाढा–टाढासम्म पुग्छिन् । ‘रिजर्भमा जाने हो भनेर फोन गर्छन् । कहिले सुपादेउराली, कहिले सौराहा त कहिले दाङ–घोराही हुँदै बर्दियासम्म पनि पुगेकी छु,’ उनले भनिन् । -न्युज कारखाना

  • रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा

    रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा

    रुपन्देही ,असार २५-
    रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नुका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।

    गत वर्ष रु २५ हजार प्रति मेट्रिकटन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रति मेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा सोचेअनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ वटा इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका महासचिव अजयकुमार गुप्ताले बताए ।

    उनले प्राकृतिक प्रकोप, बेमौसमी वर्षातको साथै भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावले इँटा उद्योगलाई असर पारेको जानकारी दिए . महासचिव गुप्ताले भन], “इँटा उद्योगमा ६० प्रतिशत कोइलामा मात्र खर्च हुने गर्छ । नेपाली इँटा व्यवसायीले गुणस्तरहीन कोइला पनि चर्को मूल्यमा खरिद गर्नुपर्ने हुँदा आउने एक याम पछि इँटा उद्योग बन्द गर्ने मनसायमा इँटा उद्योगी पुगेका हुन् ।”

    जिल्लामा करिब ४८ इँटा उद्योग दर्ता भई सञ्चालनमा आएका छन् तर पछिल्लो समय डिजेलमा भएको मूल्यवृद्धिका कारण कोइला ढुवानी खर्च बढ्नुका साथै सोचेअनुसार इँटाको माग नहुँदा सञ्चालित इँटा उद्योगसमेत बिक्री तथा बन्द हुने अवस्थामा पुगेको महासचिव गुप्ताको भनाइ थियो ।

    त्यस्तै लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका सदस्य दीपक पौडेलले इँटा व्यवसायीका विषयमा सरकारको ध्यान नपुगेको आरोप लगाए । उनले कोइला आयातमा नेपाल सरकारले सहजीकरण गर्नाका साथै जिल्लामा उत्पादित इँटाको माग बढाउनुपर्नेमा जोड दिए।

    रुपन्देहीमा उत्पादित इँटा पाल्पा, स्याङ्जा, कास्की, काठमाडौँ, अर्घाखाँची, रोल्पालगायत विभिन्न पहाडी जिल्लामा पुग्ने गरेको छ । छिमेकी राष्ट्र भारतमा पनि इँटा व्यवसायीले इँटा उत्पादनको लागत थेग्न नसकेर एक लाख इँटा उद्योग बन्द गर्ने अखिल भारतीय इँटा एवं टायल व्यवसायी महासङ्घले घोषणा गरेको र यसको असर नेपालमा समेत पर्ने अनुमान गरिएको छ । – रासस

  • अभद्र व्यवहारको आरोपी राज्यमन्त्री विमला खत्रीले दिइन् राजीनामा

    अभद्र व्यवहारको आरोपी राज्यमन्त्री विमला खत्रीले दिइन् राजीनामा

    बुटवल, १५ असार-

    लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवम् सांसद सुदर्शन बरालले जानकारी दिए ।

    ‘उहाँले आज मात्रै राजीनामा दिनु भएको हो । राजीनामाको पत्र मुख्यमन्त्री कार्यालय पुगिसकेको छ,’ बरालले भने ।

    गत जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेको राज्यमन्त्री खत्रीविरुद्ध किटानी उजुरी परेको छ ।

    अभद्र व्यवहारको आरोपमा उजुरी परेपछि छानबिन गर्न सरकारले समिति समेत गठन गरेको छ । उक्त समितिलाई छानबिनमा सघाउन भन्दै उनले राजीनामा दिएकी बताएकी छन् ।

    खत्रीको राजीनामा पत्र मुख्यमन्त्री कार्यालयमा नपुगेको मुख्यमन्त्री कार्यालयका प्रवक्ता नरेन्द्र कुमार रानाले जानकारी दिए । ‘विषयवस्तुमा छलफल भएको छ, तर आधिकारिक राजिनामा आएको छैन’ मुख्यमन्त्री कार्यालयले भन्यो ।

    माओवादी केन्द्रका प्रमु सचेतक तुलाराम घर्तीले १२ असारमै खत्रीले राजीनामा दिएको र आज मुख्यमन्त्री कुलप्रसाद केसीले सदनलाई जानकारी दिने बताए ।-न्युज कारखाना

     

  • रुपन्देहीमा बन्दैछ देशकै ठूलो र स्वचालित आलु उद्योग

    रुपन्देहीमा बन्दैछ देशकै ठूलो र स्वचालित आलु उद्योग

    बुटवल, १५ असार-

    रुपन्देहीमा मुलुककै ठूलो र पहिलो स्वचालित आलु उद्योग स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुद्धोधन गाउँपालिकाको मैनहियामा स्थापना हुन लागेको यो उद्योग वातानुकुलित समेत हुनेछ ।

    रुपन्देहीका प्रतिष्ठित उद्योगी कृष्ण पौडेलले फस्ट च्वाइस् फूड प्रालि नामक आलु उद्योगको स्थापना गर्न लागेका हुन् । बुटवलमा मासु उद्योगको सफलतापछि उनले आलु उद्योग सञ्चालनमा ल्याउन लागेका हुन् ।

    आलु उद्योग अर्थात फ्रेन्च फ्राई उत्पादन गर्ने उद्योगले ६ महिनाभित्र उत्पादन सुरु गर्दैछ । उद्योगी पौडेल नेपालमै मासुलाई आधुनिकीकरण गरेर नमुना उद्योगी बनेका थिए । करिब दुई अर्ब लागतमा उनले अहिले आलु उद्योग सुरु गर्न लागेका हुन् ।

    ‘जर्मन प्रविधिमा आधारित यो उद्योगले अबको ६ महिनामा उत्पादन सुरु गर्नेछ,’ उद्योगी पौडेलले भने । उद्योगको उत्पादन क्षमता प्रति घण्टा दुई हजार केजी रहेको र प्रत्यक्ष रुपमा एक सय ५० जनाभन्दा बढील रोजगारी पाउँछन् । यो उद्योगले वार्षिक करिब साढे ६ अर्बको आयातलाई घटाउनेछ । हाल नेपालमा वार्षिक करिव १२ अर्वको आलु तथा यसका परिकारहरुको आयात भैरहेको छ । उनले अहिले जुन भन्सार दरमा फ्रेन्च फ्राईको आयात भएको छ यसलाई नबढाउन र यथास्थितिमा राख्न आग्रह गरेका छन् ।-न्युज कारखाना

     

  • कोरोना जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

    कोरोना जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

    मोहम्मद हबिब
    भैरहवा, १३ असार-

    कोभिड महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म पनि नपाएको भन्दै स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन् ।

    आफूहरुले ज्यानलाई जोखिममा राखी कसैले हेर्न पनि नखोजेको विरामीका लागि अहोरात्र खटिए पनि हालसम्म कोरोना जोखिम भत्ता नपाएको भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

    उनीहरूले संघर्ष समिति गठन गरी आन्दोलन गर्नुपर्ने स्थिति आएको बताए । २०७८ वैशाखदेखि पुससम्म खटिने स्वास्थ्यकर्मीहरूलाई सरकारले कोरोना जोखिम भत्ता दिने निर्णय गरे पनि हालसम्म पनि नपाइएको स्वास्थ्यकर्मी गोपाल उपाध्यायले भने । ‘हामीले धेरै पख्र्यौं अझैसम्म पनि सरकारले बेवास्ता गरेकाले बाध्य भएर यो अवस्थामा आउनुपरेको हो,’ उनले भने । अस्पतालका कर्मचारीले ७ असारमै संघर्ष समिति बनाएर आन्दोलनमा गएको उपाध्यायले बताए ।

    भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ताबापतको रकम पाएका छैनन्। उनीहरूले साउनदेखि पुससम्मको एक करोड ४९ लाख ८० हजार रकम लिनुपर्नेछ । प्रदेश सरकार र संघीय सरकारले ५०–५० प्रतिशत जोखिम भत्ता ६ महिनाका लागि दिने उदघोष् गरेका थिए ।

    संघर्ष समितिका सचिव जनकराज पन्तले अरु जिल्ला रकम आए पनि कोभिड डेडिकेटेड अस्पतालका स्वास्थ्यकर्मीले केही रकम नपाएपछि आन्दोलन गर्नुबाहेकको विकल्प नरहेको बताए ।-न्युज कारखाना

  • एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता

    एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता

    रामपुर, असार १२-

    पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने बताउनुभयो ।

    साथै ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराइने भएको छ । सरकारको नीतिअनुसार यसअघि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध हुँदै आएकामा गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न लागेको हो ।

    गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल सामाजिक सुरक्षाभत्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको र आगामी साउन १ देखि नै भत्ता दिन सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार कार्यविधि निर्माण साउन १ गतेबाटै मासिक रु एक हजारका दरले वितरण गरिनेछ ।

    गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ६४ करोड ९८ लाख छ हजार ५७० बराबरको बजेटसहित गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष सारुले आगामी पाँच वर्षभित्र निस्दीलाई अतिकम विकसित गाउँपालिकाबाट विकासशील गाउँपालिकामा स्तरोन्नति गर्ने बताउनुभयो ।

  • भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव

    भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव

    भैरहवा, ११ असार-

    राष्ट्रिय खेल भलिबलको पुर्वाधार विकासमा सरकारले लगानी बढाउनु पर्ने खेलप्रेमीहरूले सुझाव दिएका छन् । बुटवलमा शनिबार सम्पन्न लुम्बिनी प्रदेश भलिबल संघको प्रथम साधारण सभा तथा अधिवेशनमा सहभागीहरूले खेल विकासमा सरकारको लगानी बढाउन सुझाव दिएका हुन् ।

    लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले सरकारका संरचनाहरू संघीयतामा अघि बढ्दै गर्दा खेलकुद संघीय संरचनामा जान नसक्नु दुःखद् भएको बताए । संघीय सरकारको मातहतमा रहेका संरचनामा रहँदा प्रदेशका धेरै खेलकुद गतिविधि अघि बढ्न नसकेको उनको भनाइ छ । नीतिगत रुपमा ऐन संशोधन गरेर संघीय संरचनामा पुनःसंरचना गर्न जरुरी रहेको उनले बताए । भलिबललाई प्राथमिकता राख्दै प्रदेशमा राष्ट्रियस्तरको स्टेडियम र प्रतियोगिताहरू आयोजनाका लागि प्रदेश सरकारको बजेटमा सम्बोधन भएको उनलेघ बताए ।

    साबिक मध्यपश्चिमान्चल भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागीले खेलमा राजनीतिको प्रभाव देखिन नहुने भन्दै व्यक्तिको क्षमता र दक्षताका आधारमा खेलको नेतृत्व आउनुपर्ने सुझाव दिए ।

    कार्यक्रममा केन्द्रीय उपाध्यक्ष निरोज मास्के, केन्द्रीय सदस्य किशोर आचार्यले भलिबल खेल विकास गर्न सबैको सहयोग जरुरी रहने बताए । भलिबल खेललाई व्यवसायिक बनाउँदै खेल र खेलाडीको विकासमा लाग्नुपर्ने उनीहरूले सुझाव दिए ।

    कार्यक्रममा सचिव भीम वलीले प्रदेश संरचना नयाँ हुँदा केही कठिनाई देखिएको बताए । यसलाई सुधार गर्दै अघि बढ्ने उनले बताए । प्रदेश परिषद् अन्तर्गत रहेर जिल्ला र खेल सम्बन्ध संघसंस्थाहरूलाई समेट्ने गरी अघि बढेको बताए । लुम्बिनी प्रदेशका ११ जिल्ला संघको अधिवेशन सम्पन्न भैसकेको उनले बताए ।-न्युज कारखाना