Category: गण्डकी प्रदेश

  • निर्वाचनलाई लक्षित गरी सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठक

    निर्वाचनलाई लक्षित गरी सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठक

    काठमाडौं, कात्तिक ६-
    संसदीय निर्वाचन नजिकिँदै जाँदा गृह मन्त्रालयले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन कदम चालेको छ ।

    ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्ने भएको हो ।

    गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार चुनावमा सातै प्रदेशको सुरक्षा अवस्था बुभ्mन तथा त्यहाँको सुरक्षा अवस्था प्रभावकारी बनाउन प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गरिएको हो ।

    सोहीअनुसार आज आइतबार बागमती प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा बैठक बस्दैछ । बाँकी ६ वटा प्रदेशमा भने तिहारलगत्तै बैठक आयोजना हुने गृहले जनाएको छ ।

    गृहमन्त्रीको प्रमुख आतिथ्यतामा तथा गृहसचिवको अध्यक्षता रहने प्रदेशस्तरीय सुरक्षा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, केन्द्रीय सुरक्षा निकायका प्रमुख, प्रदेशस्तरीय सुरक्षा निकाय प्रमुख, प्रदेशअन्तर्गतका सबै जिल्लाका तीनवटै निकायका सुरक्षा प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी र प्रदेश सचिवको उपस्थिति रहनेछ ।

  • पोखराका व्यवसायी आन्दोलित, राष्ट्रबैंक घेर्ने चेतावनी

    पोखराका व्यवसायी आन्दोलित, राष्ट्रबैंक घेर्ने चेतावनी

    पोखरा, ५ कात्तिक –

    बैंक तथा वित्तिय संस्थाले अस्वभाविक रूपमा ब्याजदर बढाएपछि पोखराका व्यवसायी आन्दोलित भएका छन् । होटल संघ पोखराले एकतर्फी रूपमा बढाएको ब्याजदर तत्कालै नघटाए राष्ट्र बैंक र अर्थ मन्त्रालय घेराउ गर्ने चेतावनी दिएको छ ।

    संघ अन्तर्गतका ब्यवसायी भेला भएर बैंक तथा वित्तिय संस्था विरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् । संघका अध्यक्ष लक्ष्मण सुवेदीले तिहारसम्म कुर्ने र ब्याजदर नघटाए आन्दोलन सुरु हुने बताए । ‘तिहारसम्म हेर्छौं । नभए राष्ट्रबैंक र अर्थमन्त्रालय घेर्ने निर्णय भएको छ,’ उनले भने, ‘७ प्रतिशतमा लिएको ब्याज अहिले १८ प्रतिशत पुग्यो । हामीले कसरी तिर्ने यत्रो ब्याज ?’

    कोरोनाले थलिएको ब्यवसायमा चर्को ब्याजदरले झनै आक्रान्त पारेको उनको भनाई छ । होटल संघ मात्रै होइन, पोखराका उद्योगी व्यवसायीको छाता संस्था पोखरा उद्योग बाणिज्य संघ पनि बैंकविरुद्ध खनिएको छ । संघले बैठक नै बसेर आन्दोलनका कार्यक्रम तय गरेको छ । संघले ब्याजदर १ अंकमा झार्न माग राखेको छ । उद्योग व्यवसाय कोभिडका कारण थलिएको र अहिले बैंक तथा वित्तिय संस्थाले ब्याजदर बढाएपछि झनै आक्रान्त हुने अवस्था आएको संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताए ।

    ‘बैंकहरुले ब्याजदर अस्वभाविक रुपमा बढाए । सबै बाँच्नुपर्छ । तर यो त अति भएन र ?,’ उनी भन्छन्, ‘आइतबार सरोकारवालाको बैठक राखेका छौं । बैठकले जे निर्णय गर्छ त्यही कार्यान्वयन हुन्छ ।’ उनले आन्दोलन गर्नुको विकल्प नभएको बताए । व्यवसायीले आरोप लगाए जस्तो बैंकले ब्याजदर नबढाएको बैंकहरुको भनाइ छ । अहिले डिपोजिटमा पनि दर बृद्धी भएको छ । त्यतिमात्रै होइन, बजारमा मुद्रा तरलता नभएका कारण लगानी गर्ने पैसा नभएको उनीहरुले बताए ।

    बैंकले आफूखुशी ब्याजदर बढाएपनि नियामक निकाय राष्ट्र बैंक चुप छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज ७ प्रतिशतबाट १५ प्रतिशत हुँदै अहिले १८ प्रतिशतसम्म पुगेको छ । वित्तीय संस्थाले ४० प्रतिशत सम्म लाभांश बाँड्दा घाटामा रहेको व्यवसायिक क्षेत्रलाई भने तर्साउने नियतका साथ काम गरिरहेको व्यवसायीहरुको आरोप छ । अहिले यहाँका अधिकांश बैंकको लगानी अनुत्पादक क्षेत्रमा छ । – न्युज कारखाना

  • गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

    काठमाडौं, ३ कात्तिक
    आज बिहीबार मुलुकका केही प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    पश्चिमी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसम बदलीसँग केही क्षेत्रमा हल्का वर्षा हुने गरेको हो ।

    महाशाखाका अनुसार राति पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    शुक्रबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको हुनसक्ने महाशाखाले आकलन गरेको छ ।

  • पुरुष फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

    पुरुष फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

    पोखरा, १ कात्तिक –

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब बीच प्रतिश्पर्धा हुने भएको छ । मंगलबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । यता एपीएफले सुदुरपश्चिमलाई ५–१ को गोल अन्तरले पराजीत गरेर फाइनल यात्रा तय गरेको छ ।

    गण्डकी र आर्मीबीचको खेलमा परिवर्तित खेलाडी सुदिल राईले निर्णायक गोल गरे । आर्मी समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

    दोस्रो सेमिफाइनल खेलमा एपीएफ र सुदुरपश्चिमले पहिलो हाफ १–१ गोलको बराबरी खेलेपनि दोस्रो हाफमा सुदूरपश्चिम सम्हालिन नसक्दा पराजित भयो । एपीएफको जितमा प्रदिप लामाले २, नविन लामाले १, विकु तामाङले १ तथा हरि कार्कीले १ गोल गरे । सुदुरपश्चिमका लागि कुवेर सिंहले सान्त्वना गोल फर्काए । एपीएफ समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

    प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते बिहीबार पोखरा रंगशाला स्थित फुटबल मैदानमा हुनेछ । बिहीबार नै तेस्रो स्थानका लागि गण्डकी र सुदुरपश्चिमबीच पहिलो खेल हुनेछ । -न्युज कारखाना

  • पौडीमा तेस्रो दिन राष्ट्रिय कीर्तिमानको ओइरो

    पौडीमा तेस्रो दिन राष्ट्रिय कीर्तिमानको ओइरो

    काठमाडौं, ३१ असोज

    नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको पौडी प्रतियोगितामा आज तेश्रो दिन ७ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । यस्तै पूर्व कीर्तिमानलाई तोड्ने क्रममा आज १३ कीर्तिमान भंग भएका छन् ।

    ४०० मिटर पुरुष फ्रिस्टायलमा ४ कीर्तिमान, १०० मिटर बटरफ्लाईमा ३, महिला १०० मिटर बटफ्लाईमा १, पुरुष २०० मिटर ब्रेष्टस्ट्रोकमा २, महिला २०० मिटर ब्रेष्टस्ट्रोकमा १, पुरुष ५० मिटर ब्याकस्ट्रोकमा १ र ४०० मिटर फ्रिस्टायल रिलेमा १ कीर्तिमान भंग भएका छन् ।

    ४०० मिटिर पुरुष फ्रिस्टायलमा नासिर याह्या हुसेनको नाममा १३ औं सागमा रहेको ४ मिनट ३३.०५ सेकेन्डमा समयलाई आज चार खेलाडीले उछिनेका छन् । सेनाका नासिरले ४ मिनट ८.६४ सेकेन्ड समयका साथ आफ्नो रेकर्डमा सुधार गर्दै स्वर्ण जिते ।

    यस्तै रजत पदक जितेका एनआरएनका आशिष सापकोटाले पनि नासिरको पूर्व रेकर्डलाई उछिन्दै ४ मिनट २२।४५ सेकेन्डको समयमा दूरी पार गरे । तेश्रो स्थानमा रहेका बागमतीका ईरभिन श्रेष्ठले पनि नासिरको पूर्व रेकर्डलाई उछिन्दै ४ मिनट २५.७४ सेकेन्ड समयका साथ कास्य जिते । चौथो स्थानमा रहेका बागमतीका सेरेन सिंहले पनि नासिरको पूर्व कीर्तिमान लाई उछिने । उनले ४ मिनट २५.९२ सेकेन्ड समयमा दुरी पार गरेका थिए ।

    बिरौटास्थित फिसटेल एकेडेमीमा भएको प्रतियोगिताको १०० मिटर बटरफ्लाईमा अनुभव सुब्बाले २५ औं खुला राष्ट्रिय पौडी च्याम्पियनसिपमा राखेको ५९।७७ सेकेन्डको समयलाई भंग गर्दै सेनाका नासिर हुसेनले ५७.८६ सेकेन्डको नयाँ कीर्तिमान सहित स्वर्ण जिते । दोश्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि पूर्व कीर्तिमानलाई उछिन्दै ५९.६८ सेकेन्ड समयका साथ रजत प्राप्त गरे । यस्तै तेश्रो स्थानमा रहेका अनुभव सुब्बाले कास्य पदक प्राप्त गर्ने क्रममा आफ्नो पुर्व समयलाई सुधार गर्दै ५९.७३ सेकेन्ड समयमा दूरी पुरा गरे ।

    महिला १०० मिटर बटरफ्लाईमा एनआरएनकी एश्ले सापकोटा डङ्गोलले गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको १ मिनट ९।९७ सेकेन्ड समयलाई भंग गर्दै १ मिनट ७।७४ सेकेन्ड समयका साथ स्वर्णमा आफ्नो नाम लेखाईन् । नेपाल पुलिसकी मेगन गुरुङ्गले रजत र बागमतीकी रोशा न्यौपानेले कास्य जितिन् ।

    पुरुष २०० मिटर ब्रेष्टस्ट्रोक तर्फ एनआरएनका आशिष सापकोटाले २ मिनट २९.६० सेकेन्डको नयाँ कीर्तिमा कायम गर्दै स्वर्ण जिते । यस विधामा यस अघि सुभम श्रेष्ठको नाममा २ मिनट ३१.१५ सेकेन्ड समयको कीर्तिमान कायम थियो । दोश्रो स्थानमा रहेका प्रदेश १ का विकास कुमालले पनि पूर्व रेकर्डलाई उछिन्दै २ मिनट ३०.७६ सेकेन्ड समयमा साथ रजत पाए । बागमतीका सेरेन सिंहले कास्य पाए ।

    महिला तर्फको यसै विधामा सेनाकी डुवाना लामाले २ मिनट ४३.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय रेकर्ड सहित स्वर्ण प्राप्त गरिन् । उनले आजै विहान हिट चरणमा आफ्नै नाममा रहेको २ मिनट ४४.६८ सेकेन्डको समयमा आफ्नै नाममा १३ औं सागमा राखेको कीर्तिमानलाइ भंग गर्दै १ मिनट ४४.२८ नयाँ रेकर्ड राखेकी थिईन् । सेनाकी उपास्ती महर्जनले रजत र पुलिसकी अदिप्सा बैद्यले कास्य पदक पाए ।

    पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा सेनाका एलेक्जेण्डर शाहले २७।४६ सेकेन्डको नयाँ समयका साथ स्वर्ण हात पारे । उनले आजै विहान भएको हिट चरणमा आफुलेनै १३ औं सागमा राखेको २८।०३ सेकेन्डको समयमा सुधार गर्दै २७।५४ को नयाँ समयमा दुरी पुरा गरेका थिए । एपिएफका तेन्जिङ्ग नामदोल रायन गुरुङ्गले रजत र सेनाका अनुभव सुब्बाले कास्य पदक पाए ।

    सोही विधाको महिला तर्फ ओलम्पियन गौरिका सिंहले स्वर्ण जितिन् । सेनाको टिमबाट खेलेकी उनले ३०।८० समयका साथ दुरी पुरा गर्दै स्वर्ण जितेकी हुन् ।

    पुरुष ४०० मिटर फ्रिस्टायल रिलेमा पनि आज राष्ट्रिय रेकर्ड तोडिएको छ । सेनाका अनुभव सुब्बा, दिलिप थापा मगर, नासिर याह्या हुसेन र एलेक्सजेण्डर शाहको समूहले ३ मिनट ४५।५१ सेकेन्ड नयाँ समयको कीर्तिमान सहित स्वर्ण जिते । दोश्रो स्थानमा रहेको नेपाल पुलिसले पनि ३ मिनट ४६।३७ सेकेन्ड समयका साथ रजत जिते । एपिएफले कास्य पदक पायो । १३ औं सागमा एलेक्सजेण्डर शाह, अनुभव सुब्बा, सैयद हेम्जा शाह र तेन्जिन नामडोल रायन गुरु -न्युज कारखाना

  • मेमे पोखरी घुम्न जाँदा बेपत्ता युवतीको शव भेटियो

    मेमे पोखरी घुम्न जाँदा बेपत्ता युवतीको शव भेटियो

    लमजुङ, २२ असोज –

    चार हजार आठ सय मिटरको उचाइमा रहेको मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव आज भेटिएको छ । दसैँ मनाउनका लागि ऐतिहासिक एवं पर्यटकीयस्थल मेमे पोखरी घुम्न जाँदा बेपत्ता बेँसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मिला तामाङको शव फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलका अनुसार नेपाली सेना, प्रहरीलगायत टोलीले सो स्थान नजिकै घुम्रो खर्कमा युवतीको शव फेला पारेको हो । यसअघि मृतक युवतीका श्रीमान् सर्लाहीको लालबन्दीका २६ वर्षीय बुद्ध तामाङको सोही क्षेत्रमा लेक लागेर मृत्यु भएको थियो । शर्मिलाका बुबा ५० वर्षीय खेमबहादुर तामाङ, भाइ १६ वर्षीय च्याम्बो तामाङ र काकाको छोरा १९ वर्षीय करण तामाङको प्रहरीले उद्धार गरेको छ । तीनैजना

    करिब चार हजार मिटर उचाइको च्यार्बोस्थित भेडीगोठमा भेटिएका प्रहरीले जनाएको छ । बेँसीसहरबाट उक्त पोखरी पुग्न तीन दिन लाग्छ । उनीहरु असोज १६ गते त्यसतर्फ गएका थिए । फर्किने क्रममा शर्मिला र उनका श्रीमान् बुद्धको मृत्यु भएको हो । दुवैको शव प्रहरीले बेँसीसहर ल्याउँदै छ ।

  • गोरखामा एकै परिवारका तीन जना रुखमा झुण्डिएको अवस्थामा फेला

    गोरखामा एकै परिवारका तीन जना रुखमा झुण्डिएको अवस्थामा फेला

    गोरखा,२१ असोज-
    गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

    “सात वर्षका दुई बालकको काप्राको रुखमा झुण्डिएको अवस्था फेला परेको छ”, उनले भने, “बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ ।” घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुण्ड्याएर हत्या गरी आफूले आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ ।

    घरबाट झण्डै डेढ किलोमिटर पश्चिमदक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको उनले बताए । हेमबहादुरको शव भने बालकहरू झुण्डिएको रुखभन्दा केही पर अर्को रुखमा फेला परेको प्रहरीले छ ।

    घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको उनले बताए । “घटना कसरी घट्यो भनेर खुल्न बाँकी नै छ”, उनले भने, “शवको मुचुल्का उठाउनका लागि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ, तिनै जनाको शव पोष्टमार्टमका लागि शव गोरखा अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।”

    बिहान स्थानीयले रुखमा मान्छे झुण्डिएको देखेपछि घटनाका बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए । मृतक राना डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेर बसेका थिए ।

  • लमजुङमा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता

    लमजुङमा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता

    लमजुङ २१ असोज –

    दसैंको समयमा लमजुङको ऐतिहासिक पर्यटकीय मेमेपोखरी (४,८०० मि.) घुम्न गएका एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

    सँगै गएका ५ जनामध्ये ३ जना भेडीगोठमा बसिरहेका छन् । मौसम खराबीका कारण उनीहरूको उद्धार हुन सकेको छैन । लमजुङको बेंसीसहर नगरपालिका १०, साँधुका २६ वर्षीय बुद्ध तामाङ अर्थात् दयासागर योन्जनको मृत्यु भएको हो । उनीसँगै यात्रा गरिरहेकी श्रीमती २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन छन् ।

    उनीहरूको खोजी कार्यमा जुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु विकका अनुसार मेमे पोखरी घुम्न गएका ५ जनामध्ये एक जनाको श्रीमान्‌को मृत्यु भएको र श्रीमती बेखबर बनेको अन्य ३ जनाले बताएका छन् । शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करीब ४ हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेको विकले बताए ।

    दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले मेमे पोखरी घुम्न गएका युवकलाई लेक लागेको जानकारी आएपछि प्रहरीलाई खबर गरेको र टाप गाउँका युवाहरूलाई उद्धारका लागि पठाएको बताए ।

    लमजुङ सदरमुकाम बेंसीसहरबाट बराहपोखरी पुग्न ३ दिन लाग्छ । यसका लागि १ दिनमा बराहपोखरी पुग्नुपर्छ । न्युज कारखाना

  • घाँटीमा मासुको हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु

    घाँटीमा मासुको हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु

    लमजुङ १८ असोज –

    मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ ।

    मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर दमैको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । न्युज कारखाना

  • मनास्लु हिमालमा पुनः हिमपहिरा- एक जनाको मृत्यु

    मनास्लु हिमालमा पुनः हिमपहिरा- एक जनाको मृत्यु

    गोरखा ,१७ असोज-
    उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एक जनाको मृत्यु भएको छ।

    आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना भने तत्काल नै सम्पर्कमा आएका थिए।

    पहिरामा परेका शेर्पा भने सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो। घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उनले बताए।

    मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाई शव परीक्षणका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको एसपी खनालले जानकारी दिए।

    मृतकको शव परीक्षणपछि आफन्तलाई बुझाइने गोरखा प्रहरीले जनाएको छ। आइतबार बिहान पनि दोस्रो आधार शिविरमा हिमपहिरा गएको थियो। यसअघि गएको सोमबार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरा गएको थियो।

    उक्त हिमपहिरामा परी दुईजनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए। सोमबार गएको हिमपहिरामा सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो।