Category: वाग्मती प्रदेश

  • ५ महिनामै बागमती प्रदेशका प्रमुख सचिवको सरुवा

    ५ महिनामै बागमती प्रदेशका प्रमुख सचिवको सरुवा

    हेटौँडा कार्तिक २७
    बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालको ५ महिनामै सरुवा भएको छ । अर्थ प्रशासनमा लामो अनुभव भएका बराललाई सचिवमा बढुवा भएपछि २०८२ जेठ १९ मा बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको थियो ।

    जिम्मेवारी पाएको ५ महिनामै उनलाई बागमती प्रदेशको प्रमुख सचिवबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको हो । बराल दुई वर्षपछि पुनः अर्थ मन्त्रालयमा फर्किएका हुन् ।

    सोमबार कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । उनले शुक्रबारबाट आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नेछन् ।

    बराल यसअघि उनी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख थिए । बरालले यसअघि अर्थ मन्त्रालयमा बजेट महाशाखा, राजस्व प्रशासन महाशाखा प्रमुख तथा आन्तरिक राजस्व विभागको महानिर्देशक जस्ता महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन् ।

    दिनेश घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरेपछि रिक्त रहेको राजस्व सचिवमा बराललाई ल्याइएको हो । यसैगरी मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको प्रमुख सचिवमा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई सरुवा गरेको छ ।

  • फोहोरमैला व्यवस्थापनमा बागमती प्रदेश सरकारको नयाँ खाका, दक्षिणकालीलाई ‘मोडेल पालिका’ बनाइने

    फोहोरमैला व्यवस्थापनमा बागमती प्रदेश सरकारको नयाँ खाका, दक्षिणकालीलाई ‘मोडेल पालिका’ बनाइने

    हेटौंडा, कात्तिक २१-
    बढ्दो सहरीकरणसँगै स्थानीय तहका लागि चुनौती बनेको फोहोरमैला व्यवस्थापनमा बागमती प्रदेश सरकारले महत्वाकांक्षी र रणनीतिक कदम चालेको छ। प्रदेश सरकारले ‘क्लस्टर मोडेल’ र ‘पाइलट प्रोजेक्ट’ मार्फत दिगो समाधान खोज्ने उद्देश्यले भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटाको नेतृत्वमा एक विशेषज्ञ कार्यदल गठन गरी काम अगाडि बढाएको छ।

    बिहीबार सम्पन्न कार्यदलको पहिलो बैठकले फोहोर व्यवस्थापनमा प्रदेशले अभिभावकीय र सहजकर्ताको भूमिका खेल्दै स्थानीय तहहरूलाई एकीकृत प्रणालीमा जोड्नुपर्नेमा जोड दिएको छ।

    दक्षिणकालीलाई ‘मोडेल पालिका’ बनाइनेःमन्त्री देवकोटा बैठकलाई सम्बोधन गर्दै मन्त्री डा.दिनेशचन्द्र देवकोटाले काठमाडौँको दक्षिणकाली नगरपालिकालाई ‘पाइलट प्रोजेक्ट’का रूपमा विकास गरी स्रोतबाटै फोहोर व्यवस्थापनको नमुना तयार गर्ने योजना सुनाउनुभयो। “हामी दक्षिणकालीलाई एउटा ‘सो पिस’ परियोजनाको रूपमा विकास गर्नेछौँ,” उहाँले भन्नुभयो, “यो परियोजना सफल भएमा यसलाई प्रदेशका ११९ वटै पालिकामा विस्तार गरिनेछ।”

    उहाँका अनुसार कार्ययोजना दुई चरणमा कार्यान्वयन हुनेछ। पहिलो, आगामी २–३ महिनाभित्र प्रदेशस्तरीय वैज्ञानिक कार्यविधि तयार गर्ने र दोस्रो, सोही कार्यविधिका आधारमा दक्षिणकालीमा नमुना परियोजना सञ्चालन गर्ने। यो परियोजनालाई बहुवर्षीय र साझेदारीमा आधारित बनाइनेछ, जसमा प्रदेश र स्थानीय तहको संयुक्त लगानी रहनेछ।

    मन्त्री देवकोटाले विगतका प्रयासहरूबाट पाठ सिक्दै अब ठोस परिणाम दिने गरी काम अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “विगतमा काम नहुँदा आउने निराशालाई हामीले सकारात्मक दबाबका रूपमा लिएका छौँ। अब शंका गर्ने ठाउँ छैन, यो काम अगाडि बढ्छ।” मन्त्री देवकोटाले आगामी ८–१० महिनाभित्रै यसबाट ठोस नतिजा आउने विश्वास व्यक्त गर्नुभयो।

    ‘क्लस्टर मोडेल’ नै दिगो समाधानः विज्ञ
    बैठकमा फोहोरमैला व्यवस्थापन विज्ञ डा. ढुण्डी पाठकले अधिकांश पालिकाहरूसँग स्रोत र प्राविधिक क्षमता नभएकाले एकल प्रयास असम्भव रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हरेक पालिकाले छुट्टाछुट्टै ल्यान्डफिल साइट बनाउनु आर्थिक र वातावरणीय दुवै दृष्टिकोणले असम्भव छ। दुई वा सोभन्दा बढी पालिका मिलेर साझा पूर्वाधार बनाउँदा लागत घट्छ र व्यवस्थापन प्रभावकारी हुन्छ।” उहाँले प्रदेश सरकारले स्पष्ट कार्यविधि बनाएर कुन पालिकाले कस्तो अवस्थामा सहयोग पाउने भन्ने मापदण्ड तोक्नुपर्ने तथा पालिकाहरूलाई प्राविधिक मार्गदर्शनका लागि एक समर्पित इकाई स्थापना गर्नुपर्ने सुझाव दिनुभयो।

    ‘सिस्डोल मानसिकता’को वैज्ञानिक समाधान आवश्यक : सचिव मरहठ्ठा
    मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले फोहोर व्यवस्थापनको सबैभन्दा ठूलो चुनौती ‘सिस्डोल मानसिकता’ रहेको बताउनुभयो । उनले फोहोर देख्नेबित्तिकै घृणा गर्ने र व्यवस्थापन केन्द्र स्थापना हुँदा आफ्नो ठाउँ नै बर्बाद हुने मानसिकताको वैज्ञानिक समाधान खोज्नुपर्ने धारणा राख्नुभयो ।

    ‘फोहोर समस्या होइन, अर्बौंको स्रोत हो,’ उनले भने, ‘तर यसलाई व्यवस्थापन गर्न नसकेर हामीले ठूलो आर्थिक भार बोकिरहेका छौँ ।’ एकल प्रयास सम्भव नभएकाले एकीकृत क्षेत्रीय व्यवस्थापन मोडेलमा जान प्रदेश सरकाले सहजीकरण गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

    दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले प्रदेश सरकारले विनियोजन गरेको बजेट सुनिश्चित भएमा नगरपालिका तत्काल काम अगाडि बढाउन तयार रहेको बताउनुभयो । ‘बजेट सुनिश्चित हुने हो भने हामी तत्काल योजना बनाएर काम गर्न सक्छौँ,’ उहाँले भन्नुभयो, ‘तर विगतमा जस्तै यता योजना बनाउँदा उता विनियोजित बजेट काटिने हो कि भन्ने चिन्ता छ ।’

    उनले दिगो समाधानका लागि पहिलो चरणमा फोहोर संकलन र वर्गीकरण केन्द्रजस्ता आधारभूत पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । ‘पहिलो कुरा त संरचना बनाउनुप¥यो । कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिनेलाई मल बनाउनेतर्फ जान सकियो भने मात्र यो दीर्घकालीन हुन्छ,’ उहाले भन्नुभयो ।

    प्रदेश सरकारसँग मिलेर काम गर्न पालिका उत्सुक रहेको नगर प्रमुख बस्नेतले बताए । उनले पूर्वाधारसँगै फोहोर व्यवस्थापनका लागि आवश्यक मेसिन तथा औजारहरू पनि चाहिनेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

    कार्यदलका संयोजक एवं मन्त्रालयका सहरी विकास महाशाखा प्रमुख इन्जिनियर भुपेन्द्रकुमार यादवले फोहोरमैला व्यवस्थापनका लागि दक्षिणकाली नगरपालिकालाई ‘मोडेल पालिका’ बनाउन बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले २ करोड विनियोजन गरेको जानकारी दिनुभयो ।

  • जिल्ला प्रशासन कार्यालयमा गैँडाको मूर्ति अनावरण

    जिल्ला प्रशासन कार्यालयमा गैँडाको मूर्ति अनावरण

    रत्ननगर, भदौ ३-
    रत्ननगर उद्योग वाणिज्य सङ्घले जिल्ला प्रशासन कार्यालय परिसरमा निर्माण गरेको गैँडाको माउ बच्चाको मूर्ति अनावरण गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र सङ्घका अध्यक्ष शङ्कर गिरीले संयूक्त रुपमा गैँडाको मूर्ति अनावरण गरेका हुन् ।

    सङ्घका अध्यक्ष गिरीले जिल्लाको पर्यटन विकासको लागि सकारात्मक सन्देश प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय परिसर भित्र गैँडाको मूर्ति निर्माण गरिएको बताए।

    चितवन जिल्लाको पहिचानको रुपमा स्थापित एकसिँगे गैँडाको मूर्ति प्रशासन कार्यालयमा राख्दा जिल्ला प्रतिको माया जागृति हुनुको साथै यसले सफारी पर्यटनको विकासमा टेवा पुग्ने उनले बताए ।

    अध्यक्ष गिरी सङ्घले व्यवसायिक सुरक्षासंगै सामाजिक उत्तरदायित्वको कामहरूलाई समेत अगाडि बढाएको बताए ।

    प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासन कार्यालय परिसरमा निर्माण गरिएको एकसिँगे गैँडाको मूर्तिले जिल्लाको पहिचानलाई थप स्थापित गराउने बताए । रत्ननगर उद्योग वाणिज्य सङ्घले गरेको उक्त कामको प्रशंसा गर्दै प्रजिअ पौडेलले निजी क्षेत्रले एउटा उदाहरणीय कामको सुरुवात गरेको बताए ।

  • काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै

    काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै

    काठमाडौँ असार २७
    काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्दैछ । २ दिउँसो बजे बस्नेगरी कार्यपालिका बैठक तय गरिएको हो ।

    प्रत्येक महिना हुनुपर्ने भएपनि महानगरको कार्यपालिका बैठक नबसेको शुक्रबार नै १९४ दिन पुगेको छ ।

    पछिल्लो पटक पुस १४ गते महानगरको १६औँ नगर सभा बसेको थियो । लामो समयदेखि बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन शाहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।
    पछि फेरि जेठ १४ गते १५० भन्दा बढी नगर सभा सदस्यले अनौपचारिक रूपमा बैठक बसी कार्यपालिका बैठक राख्न मेयर शाहलाई दबाब दिएका थिए । उक्त बैठकमा रास्वपाबाट निर्वाचित वडा नम्बर १६ नम्बर वडाध्यक्ष रोजिना श्रेष्ठ बाहेक अन्य अधिकांश जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट नगर सभाले पास गर्न नसके ‘बजेट होली डे’को हुनेछ । कानुनी बाध्यताले गाँजेपछि मेयर बालेन बाध्य भएर कार्यपालिका बैठक बोलाउनु पर्ने अवस्थामा पुगेको महानगरका एक जनप्रतिनिधिले टिप्पणी गरे ।

    यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसँगको विवादकै कारण बालेनले कार्यपालिका बोलाएका थिएनन् । अहिले पनि सरोज नै प्रमुख प्रशासकीय अधिृकत हुन् । सुरुमा उनलाई हटाएर मात्रै कार्यापालिका बोलाउने अडानमा रहेका बालेन अहिले भने उनी भएकै अवस्थामा बैठक बोलाउने अवस्थामा पुगेका हुन् ।

    महानगर स्रोतका अनुसार शुक्रबार नै ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्ने छ । त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

    कानुनी औपचारिकता पूरा भए २ बजेको कार्यपालिका बैठकले नै नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने छ । सोही कार्यपालिकाले नगर सभाको मिति तोक्ने छ भने असार मसान्त भित्रै बजेट पास गर्ने तयारी रहेको महानगर स्रोतको भनाइ छ ।

  • बागमती प्रदेशसभाको बैठक सुरू

    बागमती प्रदेशसभाको बैठक सुरू

    मकवानपुर, १ असारः
    बागमती प्रदेशसभाको बैठक सुरू भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यक्रम सार्वजनिक गर्न आह्वान गरिएको बैठक सुरु भएको हो ।

    दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बजेट सूचना प्रणालीमा प्राविधिक विषयहरु मिलाउन नसक्दा ढिलाई भएको हो । जसका कारण प्रदेशसभाको बैठक २ पटक सम्म सारिएको थियो ।

    प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशतसम्म वृद्धि गरि बजेटको आकार तयार गरिएको जनाइएको छ ।

     

  • मुलुकका विभिन्न जिल्लामा सवारी दुर्घटनामा १० जनाको मृत्यु

    मुलुकका विभिन्न जिल्लामा सवारी दुर्घटनामा १० जनाको मृत्यु

    काठमाडाैं बैशाख ७,

    मुलुकका विभिन्न जिल्लामा सवारी दुर्घटना, डुबेर र करेन्ट लागेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । ललितपुर, कपिलवस्तु, ताप्लेजुङ, बैतडी, सुनसरी, बर्दिया, सुर्खेत, कञ्चनपुर, सिरहा र बाँकेमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।

    ललितपुर, महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीमा बागमती प्रदेश ०१–००३ क ८७३० नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानका राजन सञ्यालका दुई वर्षीय छोरा प्रजन सञ्यालको घटनास्थलमा मृत्यु भएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    कपिलवस्तुको बुद्धभूमी नगरपालिका–१ टिक्करमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल सोही स्थानका ६० वर्षीय गौतम केसी तथा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ चाँगामा मे १त ७७५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही स्थानका २८ वर्षीय भुछिरिङ शेर्पाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बैतडीको डिलासैनी गाउँपालिका–६ बाङ्गबगरमा गोकुलेश्वरबाट पन्ज्युनयातर्फ जाँदै गरेको बसबाट खसेर दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २७ वर्षीय विष्णुराज भट्ट, सुनसरीको इटहरी उपमहानगरपालिका–२० पानीपियामा कार अनियन्त्रित भई दुर्घटना हुँदा इटहरी–१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार घाइते दुई जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

    बर्दियाको मधुवन नगरपालिका–३ मा भएको सवारी दुर्घटनामा मधुवन–२ का २८ वर्षीय जानकु थारूको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन् । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ गाडीको ठक्करबाट पैदलयात्री जुम्ला हिमा गाउँपालिका–३ का ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको छ ।

    कञ्चनपुरको लालझाडी गाउँपालिका–६ ढक्का चान्देउस्थित मछली खोलामा डुबेर सोही स्थानका ११ वर्षीय सिद्धार्थ विकको मृत्यु भएको छ ।

    साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका विकको खोजीका क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

    त्यस्तै, सिराहाको सुखीपुर नगरपालिका–२ जगतपुर टोलका दिनेश यादवका चार वर्षीय छोरा धीरोज यादव घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका–१ का अमिन दर्जीको घरमा सवामिटर जडान गर्ने क्रममा नेपालगञ्ज–११ का २८ वर्षीय चानबाबु खाँनको मृत्यु भएको हो ।

    सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • बागमती प्रदेशको २५ प्रतिशत मात्र बजेट खर्च

    बागमती प्रदेशको २५ प्रतिशत मात्र बजेट खर्च

    बागमती, ९ चैत : 
    बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

    प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्दराज सन्यालका अनुसार चालु आवका लागि प्रदेश सरकारले रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा आठ महिना सकिँदा रु १० अर्ब ५० करोड २९ लाख नौ हजार खर्च भएको छ ।

    बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उहाँको भनाइ छ । सो अवधिमा चालुतर्फ ३५ दशमलव २२ प्रतिशत र पुँजीगततर्फ १९ दशमलव ९४ प्रतिशत बजेट खर्च भएको छ ।

    विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४७ दशमलव ६९ प्रतिशत, प्रदेशसभा सचिवालयले ३८ दशमलव २२ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले नौ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको सूचना अधिकारी सन्यालले बताउनुभयो ।

    चालु आवको दोस्रो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको छ । योजनाहरु कार्यान्वयनमा जान नसकेकाले खर्च कम देखिएको छ ।

  • बागमती सरकारले प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्ने

    बागमती सरकारले प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्ने

    मकवानपुर पुस २०,

    बागमती प्रदेश सरकारले आफ्नो सीमा प्रवेश गर्ने नाकामा अत्याधुनिक ‘चेकपोस्ट’ निर्माण गर्ने भएको छ । पहिलो चरणमा मधेश प्रदेशसँग सीमा जोडिएको मुख्य प्रवेशविन्दु पूर्वपश्चिम राजमार्गको रातोमाटेमा ‘चेकपोस्ट’ निर्माण गर्ने भएको हो ।

    पूर्वपश्चिम राजमार्गको प्रवेशविन्दु भएका कारण पनि रातोमाटे नाका बढी संवेदनशील रहेका कारण पहिलो चरणमा रातोमाटेमा अत्याधुनिक ‘चेकपोस्ट’ निर्माण गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

    शुक्रबार हेटौंडा–१४ स्थित रातोमाटेमा मुख्यमन्त्री बहादुरसिंह लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी, सुरक्षाप्रमुखहरूले ‘चेकपोस्ट’ निर्माणस्थलको अनुगमन गरेका छन् । मुख्यमन्त्री लामाले स्थानीय तहसँग समन्वय गरेर ‘चेकपोस्ट’ निर्माण गरिने जानकारी दिए ।

    दोस्रोचरणमा चितवनको मुग्लिनमा, तेस्रोचरणमा सिन्धुलीको नागथान, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको कोदारी र दोलखाको लामाबगरमा ‘चेकपोस्ट’ निर्माण गर्न लागेको बताइएको छ । ‘चेकपोस्ट’मा सवारीसाधानको चेकिङका लागि अत्याधुनिक मेसिनसहित सीसीक्यामेरा र सुरक्षाकर्मी परिचालन गर्ने योजना प्रदेश सरकारको छ ।

    ‘बागमती प्रदेशको प्रवेशविन्दुमा हामीले ‘चेकपोस्ट’ निर्माण गर्न लागेका हौँ । यसबाट आन्तरिक सुरक्षा अवस्था थप बलियो हुने अपेक्षा हामीले लिएका छौं उनले भने ।

  • बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस

    बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस

    मकवानपुर, असोज ६
    बागमती प्रदेशसभाको आज बसेको बैठकमा तीनवटा प्रतिवेदन पेस गरिएको छ ।

    शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकालले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरे ।

    उक्त बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले गरेको निर्णयको प्रतिवेदन पेस गरे ।

    सोही बैठकमा सभामुख भुवनकुमार पाठकले कार्य व्यवस्था परामर्श समितिको हेरफेरका क्रममा सांसद किरण थापा मगरको स्थानमा सांसद एकालाल श्रेष्ठलाई हेरफेर गरिएको जानकारी गराए । तीनवटै प्रतिवेदनमाथि असोज ७ गते बस्ने प्रदेशसभा बैठकमा छलफल हुने प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

    यसैगरी, उक्त बैठकमा मुख्यमन्त्री बहादुर सिं लामाले महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन, २०८१ प्रस्तुत गरेका थिए । सत्तापक्षका प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले राखेको ध्यानाकर्षणको प्रस्तावप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको सभामुख पाठकले बताए ।

    उक्त प्रस्तावमा काठमाडौँ जिल्लाको चन्द्रगिरि नगरपालिका–९ को २ (ख) मा विद्युत्को उच्च भोल्टेज भएको ट्रान्समिटर राखिएको जग्गामा सर्वसाधारणले आफ्नो कारोबार गर्ने अवसरबाट वञ्चित भएकाले प्रदेश सरकारमार्फत नेपाल विद्युत् प्राधिकरणले ती नागरिकलाई क्षतिपूर्ति दिन माग गरे ।

    प्रदेशसभाका सभामुख पाठकले प्रदेशसभाको अर्को बैठक असोज ७ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरे । रासस

     

  • स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्यामा वृद्धि

    स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्यामा वृद्धि

    बागमती, भदौ १०-
    मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढेका छन् । साउन सुरु भएसँगै मकवानपुरमा फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी पछिल्लो समय ठूलो सङ्ख्यामा देखा पर्न थालेको हो ।

    यही साउनदेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका बिरामीको सङ्ख्या ७० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले जानकारी दिनुभयो । डेङ्गी सङ्क्रमणजस्तै स्क्रब टाइफसका बिरामी सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा भेटिएका छन् ।

    हेटौँडा उपमहानगरपालिकामा ३९ जना स्क्रब टाइफसका बिरामी फेलापरेको प्रमुख मिझारले बताउनुभयो । यस्तै मकवानपुरगढीमा नौ, मनहरी गाउँपालिकामा छ, बकैया गाउँपालिकामा सात, भीमफेदी गाउँपालिकामा चार, बागमती गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा एक–एकजना स्क्रब टाइफसका बिरामी फेलापरेको प्रमुख मिझारले जानकारी दिनुभयो । मुसाको माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सचेतना अपनाउन प्रमुख मिझारले आग्रह गर्नुभयो ।

    डेङ्गी सङ्क्रमित बढ्दै
    पछिल्लो एक महिनामा मकवानपुरमा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यही साउन १ गतेदेखि हालसम्म मकवानपुरमा एक सय ४३ डेङ्गी सङ्क्रमित फेला परेका छन् ।

    जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारका अनुसार ७९ महिला र ६४ पुरुष गरी मकवानपुरमा एक सय ४३ जनामा नयाँ डेङ्गी सङ्क्रमित फेला परेका छन् । जसमध्ये सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा एक सय चार, मनहरी गाउँपालिकामा १६, मकवानपुरगढी गाउँपालिकामा आठ, बकैया गाउँपालिकामा छ, भीमफेदी गाउँपालिकामा तीन, बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा एक–एक जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको प्रमुख मिझारले बताउनुभयो ।

    वर्षायामको समय भएकाले डेङ्गी सङ्क्रमित अझै बढ्न सक्ने भएकाले स्थानीय तहसँगको समन्वयमा जनचेतनामूलक सन्देश प्रवाह तथा लामखुट्टे मार्ने अभियान अघि बढाइएको प्रमुख मिझारको भनाइ छ ।

    यता डेङ्गी सङ्क्रमणको उच्च जोखिममा रहेको हेटौँडा उपमहानगर क्षेत्रमा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु भएको छ । हेटौँडा उपमहानगरपालिकाले नगरका विभिन्न वडामा लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेको हो ।

    पानी जम्ने ठाउँलाई पुर्ने, लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने, जोखिम क्षेत्रमा स्प्रे गर्ने तथा डेङ्गीबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारीले बताउनुभयो । रासस