Category: पत्रपत्रिका

  • पाँच महिनामा भित्रियो चार अर्ब विदेशी लगानी

    पाँच महिनामा भित्रियो चार अर्ब विदेशी लगानी

    काठमाडौँ माघ १
    मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडिआई) मा सुधार आएको छ । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो ।

    नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिर महिनासम्म तीन अर्ब ९२ करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ । गत वर्ष सो अवधिमा ६० करोड ५९ लाख रुपियाँ भित्रिएको थियो । चालु आवको पहिलो महिना साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो लगानी एक अर्ब ४० करोड ऋणात्मक थियो ।

    लाभांश र रोयल्टीबापत बाहिरिएको रकम बढी भएको अवस्थामा खुद प्रत्यक्ष वैदेशिक लगानी ऋणात्मक देखिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

  • कुवेतद्वारा ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला

    कुवेतद्वारा ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला

    काठमाडौँ माघ १
    कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लङ्घनकर्तालाई देश निकाला गरेको जनाएको छ ।

    कुवेतले कानुन उल्लङ्घन गर्नेहरूलाई प्रक्रिया पूरा गरी सम्बन्धित देशमा फिर्ता पठाउने कार्यलाई निरन्तरता दिएको हो । आन्तरिक मन्त्रालयका सबै शाखाले सक्रिय रूपमा निवास र रोजगार कानुनको उल्लङ्घन गर्ने व्यक्तिहरूलाई पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको एक सुरक्षा अधिकारीले जनाएका छन् । रेसिडेन्सी र रोजगार कानुन उल्लङ्घन गर्नेहरूको ठुलो समूहलाई लक्षित गरी धरपकड गर्ने जनाइएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

  • हिरासतमा रहेका व्यक्तिलाई लाइसेन्स

    हिरासतमा रहेका व्यक्तिलाई लाइसेन्स

    काठमाडौँ माघ १
    यातायात व्यवस्था विभागका कर्मचारी र बिचौलियाको मिलेमतोमा सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० दिएको पाइएको छ । एक लाख दुई हजार थान लाइसेन्स अवैध तरिकाले जारी गरिएको सम्बन्धमा छानबिन गर्दा सवारी ज्यान मुद्दाका आरोपितलाई हिरासतमै लाइसेन्स उपलब्ध गराएको पाइएको हो ।

    मोटरसाइकलको मात्र लाइसेन्स भएका शशाङ्क बस्याल ९ सवारी चालक अनुमति पत्र नम्बर ०१(०८(०१०२१७४९० ले कार चलाउँदा भएको दुर्घटनामा एकजनाले ज्यान गुमाएका थिए । बस्यालले लिएको लाइसेन्समा दुईपांग्रे अर्थात् मोटरसाइकल मात्रै चलाउन मिल्ने ुक्याटगोरी एु मात्रै उल्लेख थियो । तर बस्याल थुनामा रहेका बेला उनको नाममा ुक्याटगोरी बीु को लाइसेन्स बनाएर दिइएको थियो ।

    उनलाई दिइएको बी क्याटगोरी लाइसेन्स नम्बर ०१(०८(०११६५५०४ छ । यातायात व्यवस्था विभागमा कार्यरत एक कम्प्युटर इन्जिनियरले मिलेमतोमा मोटो रकम लिई हिरासतमा रहेका बस्यालका नाममा कार, जिप, भ्यान चलाउन पाउने ुबी क्याटगोरी को लाइसेन्स उपलब्ध गराएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

     

  • शिक्षक कर्मचारीमाथि शोषण : तलब दिँदैनन् निजी क्याम्पस

    शिक्षक कर्मचारीमाथि शोषण : तलब दिँदैनन् निजी क्याम्पस

    काठमाडौँ पुस २४
    पछिल्लो समय निजी शिक्षण संस्थाबाट शिक्षक कर्मचारीमाथि शोषण गर्ने क्रम बढेको छ । काम लगाउने तर नियमित तलब सुविधा नदिने र तलब मागेमा रोजगारीबाटै निकालिदिने प्रवृत्ति पनि झाँगिदै गएको छ । काममा लगाएर पनि तलब भत्ता नदिने यस्ता शैक्षिक संस्थालाई कारबाही तथा आफूहरूको पारिश्रमिक दिलाइदिन माग गर्दै शिक्षकहरूले काठमाडौँको जिल्ला प्रशासन कार्यालय तथा काठमाडौँ महानगरपालिकालाई समेत गुहार्न थालेका छन् ।

    काठमाडौँ महानगरपालिकाका अनुसार आधा दर्जनभन्दा बढी शिक्षण संस्थाले तलब भत्ता नदिएको भन्दै शिक्षकले लिखित उजुरी नै दिएका छन् । पछिल्लो समय शान्तिनगरस्थित ग्लासियर इन्टरनेसनल कलेजका शिक्षकले आफूहरूको पारिश्रमिक प्राप्त गर्न आवश्यक सहयोग गरिदिन जिप्रका काठमाडौँलाई लिखित अनुरोध गरेका छन् ।

    उक्त क्याम्पसले आफूहरूको २० लाख रुपियाँभन्दा धेरै रकम नदिएको भन्दै शिक्षकहरूले पहिलो पटक गत असार १८ गते कामपामा लिखित उजुरी दिएका थिए । शिक्षकको उजुरीपछि महानगरको शिक्षा अधिकारी सीताराम कोइरालाले गत असार ३० गते क्याम्पसको नाममा पत्र काटेर शिक्षकको पारिश्रमिकबारे तथ्य जानकारी दिन एक साताको अल्टिमेटम दिएको थियो ।

    महानगरले ताकेता गरेपछि क्याम्पसले साउन ९ गते महानगरका शिक्षा अधिकारीलाई सम्बोधन गर्दै पठाएको पत्रमा शिक्षकहरूको बाँकी रहेको तलब असोज मसान्तभित्रमा भुक्तानी गरिसक्ने जानकारी गराएको थियो । तर अझै पनि आफूहरूलाई तलब नदिएको शिक्षकहरूको गुनासो छ । २१ जना शिक्षकको तलब दिन बाँकी छ । तीमध्ये कसैलाई छ लाख रुपियाँसम्म दिन बाँकी छ ।

    बैङ्क खातामा रकम नभएकाले विद्यालयका प्राचार्य दिवस शाक्यले शिक्षकलाई दिएको चेक साटिएको छैन । चार लाख ९३ हजार रुपियाँ लिन बाँकी रहेको दाबी गर्दै शिक्षक विपिनकुमार दाहालले भने, “जिल्ला प्रशासन कार्यालय, महानगरपालिका तथा प्रहरी कार्यालयसम्म निवेदन दिइसकेका छौँ । तर पनि पाउनुपर्ने रकम पाउन सकिएको छैन ।”

    काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले ग्लासियरलगायतका शिक्षण संस्थाले तलब नदिएको भनेर महानगरपालिकामा उजुरी आएको बताए । तलब भत्ता नदिएको विषयमा नेपाल प्रहरीले मात्रै कारबाही गर्न सक्ने बताउँदै उनले भने, “हामीले गर्न सक्ने अन्तिम कारबाही भनेको शैक्षिक संस्था बन्द गराउनेसम्म हो । अति नै भयो भने यो निर्णय गर्न पनि पछि पर्दैनौ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

  • इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा

    इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा

    काठमाडौं पुस २४
    मोरङ बयरबन–९ घर भई विगत केही वर्षदेखि रोजगारीका क्रममा इराकको अर्बिल सहरमा पुगेका चन्द्रबहादुर बस्नेतको गत ३ डिसेम्बरमा असामयिक निधन भयो । त्यसबेला बस्नेतको शव व्यवस्थापनका लागि अन्योल सिर्जना भएको भयो ।

    मृतकको श्रम स्वीकृति नहुँदा शव पठाउन झन्झटिलो र बढी खर्च हुने भएका कारण अहिले पनि शव अलपत्र अवस्थामा रहेको छ । मृतक बस्नेत अवैधानिक रूपमा बसेको र साथमा राहदानी पनि नभएकाले शव व्यवस्थापनमा ढिलाइ भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

    अहिले मृतकका दाजु सम्पर्कमा आई आमाका लागि भए पनि नेपालमा नै शव पठाउन सहयोग मागेको अध्यक्ष श्रेष्ठले बताए । ‘नेपाल सरकारबाट कुनै सहयोग हुँदैन, मृतकको राहदानी पनि छैन, कतैबाट सहयोग पाइँदैन,’ उनले भने, ‘यहाँ इराकमा मृत्यु भएका नेपालीको शव पठाउन हरेकपटक आर्थिक संकलन गर्नुपर्ने अवस्था छ ।

    मृतकको शवलाई नेपाल पठाउन एनआरएनएले आर्थिक सहयोग अभियान सुरु गरेको, कुर्दिस्तानमा स्थापित सक्रिय विभिन्न संघसंस्था र सहयोगी भावना भएका सम्पूर्णजनमा आर्थिक संकलन अभियान सञ्चालन गरी मृतकको शव नेपाल पठाउन अनुरोध गरिएको उनले बताए । यो समाचार राजधानी दैनिकमा छ ।

  • बिचौलियामार्फत ट्रायल नै नदिई घरघरमै लाइसेन्स

    बिचौलियामार्फत ट्रायल नै नदिई घरघरमै लाइसेन्स

    काठमाडौँ पुस २३
    करोडौँ रुपैयाँ घोटाला गर्दै अयोग्य नागरिकलाई लाखौँको सङ्ख्यामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाँडेर ज्यान जोखिममा पार्ने काममा यातायात व्यवस्था विभागका उच्च पदस्थ कर्मचारीहरू नै संलग्न रहेको पाइएको छ । लाखौँ नागरिकले ट्रायल पास गरेर पनि एक वर्षसम्म स्मार्ट लाइसेन्स (विद्युतीय सवारी अनुमति पत्र ) नपाउने तर बिचौलियामार्फत ट्रायल नै नदिएकालाई घरघरमै लाइसेन्स नै पुर्‍याइदिने काममा विभागकै कर्मचारीहरूको संलग्न रहेको अध्ययन प्रतिवेदनले खुलासा गरेको हो ।

    यो प्रकरणमा चार सहसचिव कुमारप्रसाद दाहाल, गोगनबहादुर हमाल, नमराज घिमिरे र डा. टोकराज पाण्डे मुछिएका छन् । अवैध ढंगले लाइसेन्स वितरणको सुरुवाती कालमा सहसचिव दाहाल विभागमा महानिर्देशक थिए । त्यसपछि महानिर्देशक भएका सहसचिवहरू हमाल, घिमिरे र पाण्डेले पनि सोही कार्यलाई निरन्तरता दिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहितको टोलीले तयार गरेको अध्ययन प्रतिवेदनअनुसार यातायात व्यवस्था विभागका एक दर्जन कर्मचारी सो प्रकरणमा मुछिएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

  • मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड तीव्र

    मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड तीव्र

    काठमाडौँ पुस २३
    मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ । मलेसियन प्रहरीले शुक्रबार कम्पुङ जालान केबुनमा रहेको रिसाइकल कारखानामा छापा मारेर चार महिलासहित सय विदेशीलाई पक्राउ गरेको हो ।

    बुकित अमान सीआईडी एन्टी ट्राफिकिङ इन पर्सन एन्ड स्मगलिङ अफ माइग्रेट्स (एटिप्सम) डी ३ का प्रमुख सहायक निर्देशक सोफियान सान्टोङले सेलान्गोर श्रम विभाग र वातावरण विभागसँगको सहकार्यमा उनको युनिटले गरेको छापामारीमा ६० वर्षीय वृद्ध पनि भेटिएको बताए ।

    ‘इलेक्ट्रोनिक पार्टपुर्जाजस्ता वस्तु प्रशोधन गर्ने कारखाना सञ्चालनका लागि चिनियाँ नागरिकलाई भाडामा दिइने जग्गाको मालिक स्थानीय व्यक्ति भएको जनाएको छ, अन्य १८ देखि ३९ वर्षका थुनुवामा १९ चिनियाँ, म्यानमारका १०, बंगलादेशी ६१, नेपाली दुई र कम्बोडियाली आठ जना रहेका छन्,’ सहायक निर्देशक सान्टोङले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

  • गैरआवासीय नेपालीलाई विदेशी लगानी भित्र्याउन सीमा नलाग्ने

    गैरआवासीय नेपालीलाई विदेशी लगानी भित्र्याउन सीमा नलाग्ने

    काठमाडौँ पुस २२
    गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा विदेशी लगानी भित्र्याउन सीमा लागु नहुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्ने गैरआवासीय नेपालीलाई विदेशी लगानीको न्यूनतम सीमा नलाग्ने व्यवस्था गरेको हो ।

    यसअघि नेपालमा लगानी ल्याउन न्यूनतम सीमा दुई करोड रुपियाँ निर्धारण गरेको थियो । गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा लगानी गर्न सीमा नलाग्ने व्यवस्थाले सानो सानो लगानी भित्र्याउन सहज हुने बताइएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी गत वर्ष कात्तिक २८ मा सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोडमा झारेको थियो । न्यूनतम लगानीको सीमा पाँच करोड रुपियाँ राख्दा साना लगानीकर्तालाई नेपालमा लगानी गर्न कठिन हुन थालेपछि लगानीको सीमा कम गरिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

  • शान्ति मिसनबाट फर्कंदै नेपाली सेना

    शान्ति मिसनबाट फर्कंदै नेपाली सेना

    काठमाडौँ पुस २२
    संयुक्त राष्ट्रसङ्घले मालीमा शान्ति स्थापनाका लागि परिचालन गरेको शान्ति मिसन बन्द गरेको छ । अफ्रिकी मुलुक मालीमा पछिल्लो समय तनावको अवस्था बढ्दै गएको र त्यहाँको सङ्क्रमणकालीन सरकारको अपिलपछि संयुक्त राष्ट्रसङ्घले शान्ति मिसन बन्द गरेको हो । शान्ति मिसन बन्द भएसँगै त्यहाँ खटिएका नेपालसहित विभिन्न मुलुकका शान्ति सैनिकलाई फिर्ता बोलाइएको छ ।

    मिनुस्मा मिसन नाम दिइएको मालीको शान्ति मिसनमा संयुक्त राष्ट्रसङ्घसहित विश्वका विभिन्न मुलुकका करिब १५ हजारभन्दा बढी शान्ति सैनिक तथा कर्मचारी खटिएका थिए ।

    विद्रोही समूह र सरकार पक्षको लामो तनावपछि सन् २०१३ मा नयाँ सैनिक सरकारको गठन भएसँगै त्यहाँ शान्ति मिसनको अनुमति दिइएको थियो । १० वर्षको अवधिमा शान्ति सैनिकमा कार्यरत ३११ जनाले मालीमा ज्यान गुमाएका थिए भने अन्य सात सय जनाभन्दा बढी घाइते भएका थिए ।

    पश्चिम अफ्रिकी भूपरिवेष्ठित मुलुक मालीका विभिन्न भेगमा द्वन्द्व रहँदारहँदै पनि शान्ति सैनिकले त्यहाँको नागरिकको जिउधनको रक्षासँगै स्थानीयलाई नेतृत्वदायी सिप विकास क्षमता बढाउन सघाएका थिए ।

    मालीमा अहिलेसम्म गरेको काम सराहनीय रहेको र आवश्यक परेको खण्डमा फेरि तैनाथ गर्न सकिने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । शान्ति सैनिक मिसन हटे पनि संयुक्त राष्ट्रसङ्घको कार्यालय र यसले सञ्चालन गर्ने परियोजनाका कार्यालय र तिनका काम भने मालीमा कायम रहने जनाइएको छ ।

    संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन मालीमा सकिएपछि नेपाली सैनिक फिर्ता हुने क्रम जारी रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार १८२ जनामध्ये अब १६ जना मात्र फर्कन बाँकी छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

  • लाइसेन्स वितरणमा व्यापक अनियमितता, बाँडियो हजारौं अवैध लाइसेन्स

    लाइसेन्स वितरणमा व्यापक अनियमितता, बाँडियो हजारौं अवैध लाइसेन्स

    काठमाडौं पुस २०
    यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै हजारौं अवैध लाइसेन्स वितरण भएको पाइएको छ।

    विगत ६ महिना यता लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमाणमा लाइसेन्स वितरण भएको पाइएको हो। स्रोतका अनुसार कर्मचारी र बिचौलियाको सेटिङमा त्यस्तो कार्य भएको पाइएको छ।

    स्रोतका अनुसार विगत ६ महिनामा मात्रै अवैध खालका २० हजार बढी लाइसेन्स वितरण भएको छ। स्रोतका अनुसार विभागमा अहिले पनि हजारौं संख्यामा अवैध लाइसेन्स तयार भएको र दुई तीन दिभित्रमा बाँडिसक्ने तयारी गरिएको छ।

    विशेष गरी विभागका आईटी शाखा प्रमुखसमेत रहेका निर्देशक मुकेश रेग्मी, विभागको डाटाबेसमा पहुँच प्राप्त गरेको एक कन्सल्टेन्सीका प्रतिनिधि सविन श्रेष्ठ तथा विभिन्न यातायात कार्यालयका प्रमुख एवं कर्मचारीको मिलेमतोमा ६ महिनाकै अवधिमा २० हजार बढी अवैध लाइसेन्स विभागको सिस्टममा प्रविष्ट भएको पाइएको स्रोतले जानकारी दियो।

    विदेशमा रहेका व्यक्तिको फोटो स्क्यान गरेर अर्कै व्यक्तिको बायोमेट्रिक गरी ब्याक डेटमा लाइसेन्स जारी गरिएको छ। आईटी शाखामा अनुभवी कर्मचारीलाई हटाएर सिकारुलाई राखिएको छ।

    राजधानी बाहिरका यातायात कार्यालयबाट १० देखि १२ वर्षअघिको मितिमा लाइसेन्स जारी गरेको विवरण अनलाइनमा प्रविष्ट गरी दुईपटकसम्म नवीकरण भएको देखाएर लाइसेन्स बाँड्ने काम भइरहेको छ। विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि यो धन्दा रोक्न नसकेपछि उनमाथि समेत आशंका सिर्जना भएको छ।

    सवारी लाइसेन्सका लागि काम गर्ने बिचौलियाहरूले प्रतिव्यक्ति ५० हजारदेखि १ लाख २५ हजार रुपियाँसम्म असुलेर यस्तो काम गरेको र सो रकम माथिसम्ममा नै पुग्ने गरेको स्रोतको दाबी छ।

    योमरी नामक कम्पनीले बनाएको पुरानो रेकर्ड सिस्टम (डीएल) विभाग तथा कार्यालयबाट हेर्न नसक्ने बनाएर पुरानो सिस्टमको रेकर्ड विभागकै कन्सल्टेन्सीका सविन श्रेष्ठमार्फत डाटाबेसमा पुरानो मिति राखेर लाइसेन्स जारी गर्ने गरिएको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।