रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

पाल्पा, १ माघः 
पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको आज पहिलो दिन कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बिहनैदेखि घुइँचो लागेको हो ।
रुरु क्षेत्रमा रहेको कालिगण्डकी नदी तटमा स्नान गरी ऋषिकेशव मन्दिरमा पूजा गर्नाले पुण्यलाभ प्राप्त हुनुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएकाले माघे सङ्क्रान्तिमा भक्तजनको घुइँचो लाग्ने गरेको रुरु सञ्चार प्रालिका अध्यक्ष चुरामणी तिमिल्सेनाले उल्लेख गर्नुभयो ।
माघे सङ्क्रान्तिको अवसरमा परम्परादेखि कालीगण्डकी रुरु क्षेत्रधाम रिडिमा जेठी, माइली र कान्छी सङ्क्रान्तिका रूपमा धार्मिक मेला लाग्दै आएको उहाँले जानकारी दिनुभयो । नेपालका चारधाममध्ये एक रुरु धाममा देशभित्रका साथै भारतबाट समेत दर्शनार्थी आउने गरेका अध्यक्ष तिमिल्सेनाले बताउनुभयो । माघे सङ्क्रान्तिको अवसरमा कालीगण्डकीमा स्नान गर्नाले नजानेर गरेका पाप नाश हुने, मृत्यु पछि स्वर्गमा बास हुने जनविश्वास रहेकाले श्रद्धालुहरू यहाँ आउने गरेका तिमिल्सेनाले विश्वास व्यक्त गर्नुभयो ।
मुक्तिनाथबाट बग्दै आउने कालीगण्डकी नदीमा स्याङ्जातर्फ जान तीनमुखे पुल निर्माण भएको छ । पाल्पा, गुल्मी र स्याङ्जातर्फ जाने तीनमुखे पुलमा पनि भक्तजनको बाक्लो उपस्थिति रहेको रुरु सञ्चार प्रालिका अध्यक्ष तिमिल्सेनाले बताउनुभयो । “कालीगण्डकी जलविद्युत् आयोजना मिर्मिमा पानी थुनिएकाले यहाँ नदी सानो छ । स्नान गर्न र ऋषिकेशव दर्शन गर्न आउने भक्तजनलाई तीनमुखे पुलले सहज बनाएको छ”, उहाँले भन्नुभयो ।
पाल्पातर्फ रहेको प्रसिद्ध ऋषिकेशव मन्दिरमा स्याङ्जा र गुल्मीबाट मेला भर्न आउने दर्शनार्थी पूजा गर्न घुइँचो लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पर्यटक आकर्षित गर्न यस वर्ष युवाहरूले रिडी खोलालाई थुनेर ताल निर्माण गरेका छन् ।
धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पा, मनाङ, मुस्ताङलगायत जिल्लाबाट काम्लो, कम्मल, राडी, पाखी, बाँसबाट उत्पादित विभिन्न किसिमका डाला, पाथी, काइयोलगायत घरेलु सामग्रीका साथै हुम्ला, जुम्लाको ओखरको घाँजीलगायत सामग्री बिक्रीका लागि राखिएका रुरु सञ्चार प्रालिका अध्यक्ष तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार पाल्पा तथा गुल्मीको थोर्गासहित आसपासका किसानले गुँड, खुदो, चाकुका साथै स्थानीय उत्पादनका दुई सयभन्दा बढी कक्ष राखिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *