Category: शिक्षा

  • अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

    अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

    वीरगन्ज, पुस ७-
    वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। त्यधिक चिसो र शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भन्दै महानगरपालिकाभित्रका विद्यालय तीन दिनका लागि बन्द गरिएको हो ।

    महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार तीन दिन यता चिसो बढेपछि महानगरपालिकाले पुस ७ देखि ९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

    उक्त बिदा वर्षे सट्टे विदाबाट कट्टा गरिने उनी बताउँछन्।

  • एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

    एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

    भरतपुर, २ पुस 
    एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले बुधबार आयोजना गरेको शैक्षिक मेला ‘ग्लोबल स्टडी फेस्टः क्यानडा–न्युजिल्याण्ड’ मा विद्यार्थीको घुइँचो लागेको छ ।

    भरतपुर–१०, स्थित एक्सपर्ट बेसक्याम्पमा गरिएको मेलामा विद्यार्थीहरुको दिनभर भीड लागेको थियो ।

    फेस्टमा क्यानडा र न्युजिल्याण्डका डेढ दर्जन युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले प्रत्यक्ष रुपमा जानकारी लिएको एक्सपर्टका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले जानकारी दिए । बिहान १० बजेदेखि सुरु भएको मेलामा अबेरसम्म विद्यार्थी उपस्थित थिए । उनीहरुले प्रत्यक्षरूपमा युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट नै प्रक्रिया र पढ्ने अवसरको बारेमा सबै जानकारी पाएकोमा खुसी व्यक्त गरे ।

    एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मेलामा सहभागी सबै विद्यार्थीहरुलाई धन्यवाद दिए । ‘ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीको उल्लेख्य उपस्थिति रह्यो, केही वर्षपछि जाने तयारीमा रहेका विद्यार्थीहरु समेत उपस्थित भएर मेलाको फाइदा उठाउनुभएको छ’–अधिकारीले भने ।

    फेस्टको बैंकिङ पार्टनरमा माछापुँछ«े बैंक रहेको थियो । विद्यार्थीहरुले त्यहाँबाट वैदेशिक अध्ययनमा जाँदा गर्नुपर्ने बैंकिङ प्रबन्धको बारेमा पनि जानकारी लिएका छन् ।

    एक्सपर्टले २२ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए तथा न्युजिल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिने अपरेसन म्यानेजर किरण पौडेलले जानकारी दिए ।

  • भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

    भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

    चितवन, पुष १ –
    विद्यार्थीहरूको वित्तीय ज्ञान वृद्धि गर्नुका साथै सूचना प्रविधिमा आधारित करिअरप्रति सचेत बनाउने उद्देश्यले भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुन लागेको छ।

    उक्त कार्यक्रम २०८२ पुष ३ गते (डिसेम्बर १८, २०२५), बिहीबार कलेज परिसरमा बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म VSC सेमिनार हल, भ्याली स्टेट कलेज मा सञ्चालन हुनेछ। कार्यक्रम विशेष रूपमा कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको हो।

    कार्यक्रम माछापुच्छ्रे बैंक लिमिटेड, हाकिम चोक शाखा, प्याराडाइज इन्फोटेक, चितवन तथा रोटर्याक्ट क्लब अफ नारायणी मिडटाउनको सहकार्यमा सञ्चालन हुनेछ। बैंकिङ क्षेत्र र सूचना प्रविधि क्षेत्रबीचको सहकार्यमार्फत विद्यार्थीहरूलाई व्यवहारिक र समयसापेक्ष ज्ञान प्रदान गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो।

    माछापुच्छ्रे बैंक लिमिटेडद्वारा वित्तीय सचेतनामा बैंकिङ प्रणालीको परिचय, दैनिक जीवनमा बैंकको भूमिका, बचतको महत्व, अनुशासित वित्तीय व्यवहार, मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, डिजिटल बैंकिङको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट जोगिने उपाय, साइबर सुरक्षा, लगानीका आधारभूत सिद्धान्त तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी दिइनेछ। यसबाट विद्यार्थीहरूले वित्तीय व्यवहारमा सचेत र जिम्मेवार बन्न सक्नेछन्।

    त्यसैगरी, प्याराडाइज इन्फोटेक, चितवनद्वारा आयोजित आईटी सचेतनामा आजको रोजगारी बजारमा सूचना प्रविधिको महत्व, बैंकिङ तथा वित्तीय सेवामा प्रविधिको प्रयोग, विद्यार्थीहरूले विकास गर्नुपर्ने प्रमुख डिजिटल सीपहरू, आधुनिक कार्यस्थलमा आईटीको भूमिका र भविष्यका करिअर अवसरबारे जानकारी दिइनेछ।

    आयोजकका अनुसार, कार्यक्रमले विद्यार्थीहरूलाई सूचित वित्तीय निर्णय लिन सक्षम बनाउने, आधुनिक बैंकिङ प्रविधिको सुरक्षित प्रयोगमा दक्ष बनाउने र प्रविधिमा आधारित उद्योगका लागि तयार गर्ने विश्वास लिइएको छ। यसले विद्यार्थीहरूको व्यवहारिक, जीवनोपयोगी र भविष्य उन्मुख ज्ञान अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

    कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रत्यक्ष प्रश्न सोध्न र छलफलमा भाग लिन सक्ने अवसर पाउनेछन्। यसले उनीहरूको सीप, समझदारी र भविष्यका करिअर सम्बन्धी निर्णयमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

  • लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

    लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

    माधव सापकोटा
    मङ्सिर २८, चितवन

    श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् यसअन्तर्गत संचालित श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्) भरतपुर -४ , धर्मचोक , लङ्कु, चितवनको साधारण सभा तथा अधिवेशन हिजो शनिवार सम्पन्न भएको छ।

    मन्दिर सञ्चालक समितिका अध्यक्ष एवम् पीठाधीश स्वामी जगन्नाथाचार्यको सभापतित्व, हरिहर सन्न्यास आश्रम , देवघाटधामका स्वामी विमलानन्द सरस्वती महाराजको प्रमुख आतिथ्य तथा शुकदेव भागवत आश्रम गैंडाकोटका उत्तराधिकारी स्वामी लक्ष्मणाचार्यको विशिष्टतम आतिथ्यमा सम्पन्न उक्त साधारणसभामा मन्दिर संचालक समितिका निवर्तमान सचिव भूमीश्वर सापकोटाले सचिवको प्रतिवेदन ,कोषाध्यक्ष ज्यो. माधव सापकोटाले लेखापरीक्षण प्रतिवेदन , गुरुकुल संचालक समितिका सचिव एवम् प्रधानाध्यापक नारायणप्रसाद सापकोटाले सचिवको प्रतिवेदन, गुरुकुल संचालक समितिका निवर्तमान कोषाध्यक्ष लक्ष्मीदेवी सापकोटाले गुरुकुलतर्फको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा वैदिक धर्म परिषद् नेपालका केन्द्रीय अध्यक्ष ध्रुवराज शर्मा अर्याल , शेषलक्ष्मीनारायण मन्दिर क्षेत्रपुरका मठाधीश स्वामी पद्मनाभाचार्य, हरिकीर्तन धार्मिक संस्थाका पीठाधीश स्वामी अनन्तप्रपन्नाचार्य( अखण्ड बाबा) , स्वामी रङ्गराजाचार्य , मन्दिरद्वारा संचालित गुरुकुलका पूर्व प्रधानाध्यापक दामोदर सापकोटा , डा. लक्ष्मीनाथ कंडेल , मन्दिरका संस्थापक धनेश्वर सापकोटा , जैसी टीकाराम सापकोटा , भूपतिदास सापकोटा लगायतको उपस्थिति रहेको थियो। सो कार्यक्रममा ८४ वर्ष पूरा भएका वृद्ध – वृद्धाहरूको सम्मानसमेत गरिएको थियो।

    मन्दिर संचालक समितिका निवर्तमान उपाध्यक्ष कमलनयन कंडेलको स्वागत मन्तव्य तथा गुरुकुलका विद्यार्थीहरूको वैदिक एवम् पौराणिक मङ्गलाचरणका साथ सुरुवात भएको उक्त कार्यक्रमको संचालन डा . गोपीनाथ कंडेलले गर्नुभएको थियो। अधिवेशनले आगामी ३ वर्षका लागि मन्दिर संचालक समितिमा २ जना सदस्य र गुरुकुल संचालक समितमा १ जना सदस्य पछि मनोनीत हुने गरी मन्दिर एवम् गुरुकुल संचालक समिति गठन गरेको छ। नेपाल संस्कृत विश्वविद्यालयका सह- प्रा. डा, रामचन्द्र कंडेल , रोमाकान्त कंडेललगायतको निर्वाचन समितिले निर्वाचनकार्य सम्पन्न गराएको थियो । मन्दिर संचालक समितिको अध्यक्षमा महन्त नै पदेन अध्यक्ष हुने विधानअनुरूप अध्यक्षमा स्वामी श्री जगन्नाथाचार्य , उपाध्यक्षमा राधादेवी शर्मा कँडेल
    सचिवमा डा. गोपीनाथ कँडेल ,सह- सचिवमा श्रीहरि ( हरीश )कँडेल,कोषाध्यक्षमा लक्ष्मीदेवी सापकोटा,सदस्यमा तुलसीदास ( तारानाथ) कँडेल,नारायण भण्डारी,कौशिला खरेल हरिनारायण सापकोटा चयन हुनुभएको छ।

    त्यस्तै अधिवेशनले कमलनयन कंडेलको अध्यक्षतामा श्री वैकुण्ठनाथ परमवैदिक विद्या-प्रतिष्ठानम्(गुरुकुलम्) सञ्चालक समिति गठन गरेको छ । नव गठित गुरुकुल समितिको
    उपाध्यक्षमा नृसिंह कँडेल , सचिवमा नारायणप्रसाद सापकोटा , सहसचिवमा श्रीहरि( हरीश) कँडेल,
    कोषाध्यक्षमा उमानाथ भण्डारी , सदस्यमा रामचन्द्र सापकोटा ,इन्दिरा भण्डारी ,उद्धव अर्याल, डा. गोपीनाथ कण्डेल ,लक्ष्मीदेवी सापकोटा चयन हुनुभएको छ।

  • बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

    बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

    आशिष उप्रेती, मंसिर १३-
    बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, खैरहनी ०८, चितवनकी विद्यार्थी सन्जिला विश्वकर्मा नेपाल तेश्रो र चितवन प्रथम भएकी छिन् ।

    त्रिभुवन विश्वविद्यालयले मंगलबार प्रकाशित गरेको बिबिएस प्रथम वर्षको नियमित तर्फको नतिजा अनुसार चितवनबाट इन्टरनेशनल कलेज, खैरहनी ०८, चितवनकी विद्यार्थी सन्जिला विश्वकर्माले ७९ दशमलव २ प्रतिशत (७९.२%) अंक सहित नेपालकै तेश्रो र चितवन प्रथम भएकी हुन् ।

    गत साउन महिनामा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायद्वारा बिबिएस प्रथम वर्ष नियमित तर्फको परीक्षा सञ्चालन भएको थियो ।

    राप्ती ०८, थ्री ग्रुप, चितवन घर भएकी सन्जिला विश्वकर्माले बिबिएस प्रथम वर्षको नतिजामा ७९ दशमलव २ प्रतिशत (७९.२%) अंक सहित नेपालकै तेश्रो र चितवन प्रथम भएको इन्टरनेशनल कलेज, खैरहनीका कलेज प्रमुख भीष्मराज पाठकले दाबी गर्नुभयो ।

    विद्यार्थीहरुको निरन्तर मेहनत, प्राध्यापक तथा कलेज प्रशासनबाट अथक प्रयास र अभ्यासले गर्दा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउदै कलेजको भौतिक पूर्वाधार सहितको आधुनिक प्रयोगशाला, आधुनिक डिजिटलाईज कक्षा कोठा, योग्य तथा अनुभवी दक्ष जनशक्ति सहितको कक्षा सञ्चालनले गर्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो ।

    उहाका अनुसार यसै शैक्षिक सत्रमा कलेजबाट व्यवस्थापन संकाय तर्फ चितवन जिल्लामै पटक पटक उत्कृष्ट नतिजा सहित उच्च अंक प्राप्त गर्न सफल भएको र अघिल्लो महिना र अघिल्लो वर्षहरुमा समेत त्रिभुवन विश्वविद्यालयका विभिन्न सेमेष्टरको नतिजाहरुमा राष्ट्रिय स्तरमै दशौं स्थान र चितवन प्रथम समेत हुन सफल भइरहेको छ ।

    कलेजका प्रमुख भीष्मराज पाठकले व्यवस्थापन संकायका लागी कलेज उत्कृष्ट शैक्षिक गन्तब्य रहेको र दक्ष प्राध्यापकहरुको महत्वपुर्ण भूमिकाले गर्दा कलेजका सम्पुर्ण कार्यक्रमहरु बिएचएम, बिआईएम, बिबिएस, एमबिएस र कक्षा १२ मा समेत उत्कृष्ट नतिजा ल्याईरहेको बताउनुभयो ।

    उहाँले कलेज सधैं विद्यार्थी केन्द्रीत गुणस्तरिय शिक्षामा समर्पित रहेको उल्लेख गर्दै नयाँ सत्रका लागि अहिले व्यवस्थापन संकाय अन्तर्गत बिबिएस प्रथम वर्षमा धमाधम भर्ना खुलेको र कक्षा सञ्चालन भईरहेको जानकारी समेत दिनुभयो ।

    इन्टरनेशनल कलेजमा व्यवस्थापन संकाय अन्तर्गत कक्षा ११ देखी स्नातकोत्तर तह (एमबीएस) सम्म पुर्ण डिजिटल प्रणालीमा पढाई हुदै आईरहेको छ ।

  • उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

    उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

    भरतपुर, १२ मङ्सिरः
    विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गरी उनीहरूको प्रतिभा पहिचान गर्न तथा प्रस्तुती कला र सञ्चार क्षमताको विकास गर्न आयोजित चौथो संस्करण मास्टर एण्ड मिस अङ्कुरम्–२०८२ शुक्रबार सम्पन्न भएको छ ।

    ‘मञ्च प्रदक्षिणा चरण, परिचयात्मक चरण, प्रतिभा प्रदर्शनी चरण र प्रश्नोत्तर चरण गरी चार चरणमा गरिएको स्पर्धाबाट उदयराज वाग्ले मास्टर अङ्कुरम्–२०२५ र श्रीद्धि कर्माचार्य मिस अङ्कुरम्–२०२५ घोषित भएका हुन् । मञ्च प्रदक्षिणा चरणबाट सहभागीको बहिर्गमन सुरु भएको थियो । विद्यालयभरिबाट प्रतियोगिताका लागि १५ जना छात्रा र १५ छात्र गरी ३० जनाले स्पर्धा गरेको प्रतियिोगिताको मञ्च प्रदक्षिणा (पहिलो चरण)बाट पाँच जना छात्रा र पाँच जना छात्र गरी १० जना बहिर्गमनमा परेका थिए भने परिचयात्मक चरणबाट चार जना छात्रा र चार जना छात्र बहिर्गमनमा परेका थिए ।

    प्रतियोगिताको तेस्रो चरण ‘प्रभिभा प्रदर्शनी’बाट उत्कृष्टता प्रदर्शन गर्ने चार जना छात्राहरू आरुषा गुरुङ, श्रृद्धि कर्माचार्य, समृद्धि भण्डारी र ग्रिष्मा पाण्डे तथा छात्रहरू स्वर्णिम घिमिरे, अनन्त पोख्रेल, रिवाज तिवारी र उदयराज वाग्ले गरी आठ जना अन्तिम चरणका लागि छनोटमा परेका थिए ।

    अन्तिम चरणमको स्पर्धामा उत्रिएका आठ जना छात्राछात्राहरूले निर्णायकले सोधेका प्रश्नको गहिकिलो उत्तर दिएका थिए । निर्णायकले सोधेको फेसबुकमा विद्यार्थी र शिक्षक साथी बन्न हुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा एक सहभागीले साथी बन्नु हुँदैन, शिक्षकको गोपनियता र व्यक्तिगत जीवनको कदर गर्नुपर्छ भन्न उत्तर दिएकी थिइन् ।

    तहप्रमुखद्वय अर्जुज जी शमा र सुमन शेर्पा लामाले सहजीकरण गरेको कार्यक्रममा शिक्षक समिरचन्द्र कोइराला र सुवेक्षा गुरुङ एवं कलाकार तथा शिक्षक सुमन गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए । तेस्रो संस्करणका विजेता आराध्या राउत र श्रीमन डल्लाकोटीले ताज तथा ढाका टोपी पहिराएका थिए । शिक्षक प्रमिला खातीले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व विद्यालयका आवासीय निर्देशक नईम चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    २३ कात्तिक, काठमाडौं ।
    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

    बोर्ड बैठक आज बसेर नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

    गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका हुन् । ४ जनाको परीक्षाफल रद्द गरिएको छ ।

    गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए ।

    नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस गर्नुपर्नेछ ।

  • सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

    सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

    भरतपुर कार्तिक १
    भरतपुर ४ पिपलचोकमा अवस्थित सनराइज इङ्लिस सेकेन्डरी स्कुलको इन्टर्याक्ट क्लब र टेक टाइटन्स क्लबको संयुक्त आयोजनामा “एक्सपर्ट क्विज एरेना भोल्युम–१” नामक अन्तरविद्यालयीय क्विज प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

    प्रतियोगितामा चितवन र नवलपुरका १८ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा रत्ननगरस्थित इन्टरनेशनल स्कुल पहिलो, गैडाकोट इङ्लिस स्कुल दोस्रो र नारायणगढस्थित लिटिल फ्लावर इङ्लिस स्कुल तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।

    विजेता विद्यालयले रु. २०,००० नगद, पदक र ट्रफी प्राप्त गरेका छन् भने पहिलो उपविजेताले रु. १२,००० नगद, पदक र ट्रफी तथा दोस्रो उपविजेताले रु. ८,००० नगद, पदक र ट्रफी प्राप्त गरेका छन्।

    कार्यक्रमका मुख्य अतिथि सनराइज इङ्लिस सेकेन्डरी स्कुलका अध्यक्ष श्री हेमराज शर्मा रहनुभएको थियो। त्यस्तै, टाइटल स्पोन्सर एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका म्यानेजर श्री विनोद बाबु रिजालले यस्ता शैक्षिक कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। सो अवसरमा विद्यालयका १०+२ संयोजक श्री जीवलाल चालिसेले माध्यमिक तहमा यस्ता प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना गर्नु विद्यार्थीको बौद्धिक विकासका लागि अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो।

    कार्यक्रमको सभापतित्व इन्टर्याक्ट क्लबका अध्यक्ष श्री लोकेन कार्कीले गर्नुभएको थियो। प्रतियोगिता सफलतापूर्वक आयोजना गर्ने आयोजक क्लब र सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण विद्यालय, सहभागी र सहयोगी संस्थाप्रति बिद्यालयका प्राचार्य शिबकुमार बगाले ले धन्यवाद ज्ञापन गर्नुभयो ।

  • त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

    त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

    काठमाडौं, २३ असोज –
    गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा त्रिभुवन विश्वविद्यालयका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जलेको छ ।

    परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार स्नातक तहको दोस्रो वर्षको आंशिक र मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो ।

    ‘तीन वटा सेन्टरको जलेको छ,’ परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीले भने, ‘उत्तरपुस्तका जलेका कारण पुन परीक्षाको सूचना निकाल्दै छौं ।’

    उत्तरपुस्तिकाहरू प्रहरी चौकीमा राखिएको थियो । चौकी जलेसँगै उक्त पुस्तिकाहरू पनि जलेको हो ।

  • एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

    एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

    काठमाडौँ असोज ११- ।
    एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

    परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो।