Category: पर्सा

  • सडक अतिक्रमण गरी बनाइएको संरचना भत्काइयो

    सडक अतिक्रमण गरी बनाइएको संरचना भत्काइयो

    पर्सा, ११ माघ : 

    हुलाकी सडकअन्तर्गत पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चौकमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइएका छन्।

    केही स्थानीयले सडक अतिक्रमण गरेर संरचना बनाएपछि सडक निर्माण अवरुद्ध भएको थियो । अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर संरचना भत्काएपछि सडक निर्माणको बाटो खुलेको छ ।

    महानगर प्रमुख राजेशमान सिंहको पहलमा सडक निर्माणको ठेक्का लागेसँगै अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुख इन्जिनियर राजेशकुमार यादवले बताउनुभयो । उहाँका अनुसार रू ६९ लाख १५ हजारमा हुलाकी सडकको मापदण्डअनुसार आगामी जेठ ३० गतेभित्र सडक तथा नाला निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

    ठेकेदार कम्पनीका सञ्चालक दीपु साहले अबको एक महिनाभित्रमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी काम थालिएको बताउनुभयो । सडक निर्माणका लागि अवरोधका रुपमा रहेका संरचना हटेसँगै (साइट क्लियर भएसँगै) काम सुरु गरिएको उहाँको भनाइ थियो । “एक महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी काम काम अघि बढाएका छौँ”, उहाँले भन्नुभयो ।

  • पर्सामा कोरोना संक्रमित भेटिएपछि नाकामा बढाइयो निगरानी

    पर्सामा कोरोना संक्रमित भेटिएपछि नाकामा बढाइयो निगरानी

    वीरगन्ज । कोरोनाका नयाँ संक्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगन्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै जानुका साथै केही दिनअघि वीरगन्जस्थित सीमानाकामा नयाँ संक्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो ।

    सीमा नाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गरी भारतबाट आउनेहरूको निरीक्षण र निगरानी गन थालिएको छ । भारतबाट रेल, बस र निजी सवारी साधनमा आउने यात्रुलाई स्वास्थ्य सहायताकक्षमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी भित्रिन दिने गरिएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिए ।

    उनका अनुसार महानगरले सञ्चालन गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले भारतबाट यात्रा गरेर आउनेलाई सुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन परीक्षण गर्ने गरेका छन् ।

    संयोजक यादवले गत पुस १ गतेदेखि सञ्चालित उक्त हेल्थ डेस्कमा हालसम्म पाँच हजार दुई सय पाँचजनाको स्क्रिनिङ गरिएको जानकारी दिए । जसमध्ये दुई सयमा एन्टिजेन परीक्षण गर्दा गत बुधबार दुई भारतीय र एकजना नेपालीमा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

    भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा आउनेहरूको स्क्रिनिङ गर्ने गरिएको र त्यसमध्ये शङ्कास्पद व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएको यादवको भनाइ छ । एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा पठाउने गरिएको उनले बताए ।

    हेल्थ डेस्कमा हाल दुई स्टाप नर्स, तीन हेल्थ असिस्टेन्ट, दुई ल्याब टेक्निसियन र एक ल्याब असिस्टेन्ट गरी आठजना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ । पछिल्लो केही समययता भारतको गोवा, महाराष्ट्र, कर्नाटक, तेलागनलगायत राज्यमा पुनः कोरोना संक्रमण फैलिन थालेपछि भारतीय सीमासँग जोडिएका क्षेत्रमा स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

    होल्डिङ सेन्टर तयारी अवस्थामा

    वीरगन्जस्थित सीमानाकामा स्थापना गरिएको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको छ । कोभिड– १९ को पहिलो लहर फैलिएपछि सरकारको विसं २०७८ वैशाख ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना रोकथाम तथा नियन्त्रणकोे उद्देश्यका साथ यहाँस्थित सीमानाकामा होल्डिङ सेन्टर निर्माण गरिएको थियो ।

    निर्माण गरिएको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको वीरगन्ज महानगरका स्वास्थ्य शाखा संयोजक यादवले जानकारी दिए । कोरोनाको पहिलो तथा दोस्रो लहरमा क्वारेन्टिन अभावका कारण विद्यालय र कलेजलाई क्वारेन्टिन बनाइएको भन्दै आलोचना भएपछि निर्माण गरिएको होल्डिङ सेन्टरलाई अहिले नेपाली सेनाले सुरक्षा दिएर राखेको उनको भनाइ थियो ।

    भारतबाट आएकालाई क्वारेन्टिनमा राख्नका लागि पर्सामा करिब रु २८ करोडको लागतमा कूल ६० भवन निर्माण गरिएका यादवले जानकारी दिए । उनका अनुसार उक्त भवनमा १३ भान्सा घर र २२ शौचालय बनाइएका छन् ।

    उक्त क्वारेन्टिनमा एक हजार शय्या छन् । जसमध्ये नौ सयमा सामान्य लक्षण भएकालाई र एक सय शय्यामा जटिल अवस्थाका बिरामीलाई राखिने छ । त्यस्तै, अन्य तीन वटा एसीसहितका भवन अनुगमन गर्न आउने सरकारी प्रतिनिधिका लागि निर्माण गरिएको संयोजक यादवले बताए ।

     

  • पर्सामा धान उत्पादन घट्यो

    पर्सामा धान उत्पादन घट्यो

    पर्सा, ६ पुस :
    पर्सा जिल्लामा यस वर्ष धान उत्पादन घटेको छ । ढिलो गरी धानबाली लगाउनु, औसतभन्दा कम वर्षा हुनु, धानबालीमा गवाँरो कीराको सङ्क्रमण हुनुलगायत कारणले गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

    पर्सामा कूल धान रोपाइँ हुने खेतीयोग्य जग्गामध्ये आव २०७९/८० मा ९५ प्रतिशतअर्थात् ४५ हजार चार सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको केन्द्रका प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिहेक्टर चार दशमलव एक मेट्रिक टनका दरले एक लाख ८६ हजार दुई सय ६३ मेट्रिक टन धान उत्पादन भएको छ ।

    आव २०७८/७९ मा ४५ हजार चार सय ६० हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर चार दशमलव चार मेट्रिक टनका दरले दुई लाख २४ मेट्रिक टन धान उत्पादन भएको थियो । पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको कुशवाहाले बताउनुभयो । उहाँका अनुसार जिल्लामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएका छन् ।

    धान रोपाइँ समयमा नहुनु, वर्षा नहुनु, सिँचाइ तथा मल अभाव, रोगको सङ्क्रमणलगायत कारणले उत्पादन घटेको प्रमुख कुशवाहाको भनाइ थियो ।

  • सिमेन्ट उद्योग बन्द हुँदा ५ सय मजदुर बेरोजगार

    सिमेन्ट उद्योग बन्द हुँदा ५ सय मजदुर बेरोजगार

    पर्सा । बारा–पर्सा औद्योगिक कोरिडोमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द हुादा त्यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदुर बेरोजगार भएका छन् । आर्थिक मन्दिका कारण देशकै सबैभन्दा ठूलो आर्थिक कोरिडोरमा सञ्चालित इन्टरनेशनल सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कृष्णा सिमेन्ट र आरमेसि सिमेन्टले उत्पादन बन्द गरेपछि त्यहाँ कार्यरत मजदुर र कर्मचारी बेरोजगार भएका हुन ।

    कोरिडोरमा सञ्चालित १२ उद्योग मध्ये चारवटा बन्द भएका छन् । बाँकी उद्योग पनि बन्द हुने अवस्थामा पुगेका वीरगन्ज उद्योग बाणिज्य सङ्घका अध्यक्ष एवं श्री सिमेन्ट उद्योगका सञ्चालक अनिल अग्रवालले जानकारी दिए । उनले बैंकहरुको बढ्दो व्याज, पूर्वाधार विकासको निर्माणमा कमी र भएको निर्माण कार्यको भुगतानी नगरिएका कारण समस्या उत्पन्न भएको हो । सिमेन्टको माग घट्दै गएकाले पनि उद्योग रु बन्द भएका अधयक्ष अग्रवालले बताए ।

    भारतले नेपाली सिमेन्ट उद्योगलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको खरानीमा प्रति टन रु एक हजार कर लिँदै आएको छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक भएको उनको भनाइ छ । नेपाली सिमेन्ट उद्योगले वर्षौँदेखि माग गर्दै आएकोे भारतीय गुणस्तर चिन्ह बिआइएस दिलाउन सरकारले पहल गरे नेपाली सिमेन्ट भारत निर्यात गर्न सकिने तथा यसले उद्योगलाई फाइदा पुग्ने उद्योगीहरुको भनाइ छ ।

  • नातिको लाठी प्रहारबाट हजुरबुबाको मृत्यु

    नातिको लाठी प्रहारबाट हजुरबुबाको मृत्यु

    पर्सा ११ मङ्सिर

    पर्साको ठोरी गाउँपालिकामा नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु भएको छ । छोरीका छोरा (नाति) ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठी ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामामाथि प्रहार गर्दा उनको मृत्यु भएको हो ।

    छिमेकीको घरमा नाति कृष्णबहादुरले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण पनि त्यहाँ पुग्नुभएको थियो । उहाँले नातिलाई ‘तिमी छाडिदेऊ म चुट्छु’ भन्दा आवेगमा आएका कृष्णबहादुरले हजुरबुबा लक्ष्मणमाथि लाठी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

    लाठी प्रहारबाट लक्ष्मण बेहोस भएर ढल्नुभएको थियो । टाउकामा गम्भीर चोट लागेर अचेत भएपछि उनलाई उपचारका लागि ठोरी गापा–२ स्थित स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ । कृष्णबहादुरलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । लक्ष्मणको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

  • पर्साको ठोरीमा आतंक मच्चाउने बाघ नियन्त्रणमा

    पर्साको ठोरीमा आतंक मच्चाउने बाघ नियन्त्रणमा

    वीरगन्ज, भदौ १६-

    पर्साको ठोरी गाउँपालिका क्षेत्रमा आतंक मच्चाउँदै आएको पाटेबाघलाई शनिबार पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ।

    निकुञ्जबाट खटेको टोलीले ठोरी गाउँपालिका–५ बाघमोर्चा छघरे नजिककै खोल्साबाट पाटेबाघ नियन्त्रणमा लिएको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले जानकारी दिए।

    निकुञ्जबाट निस्केको सो पाटेबाघको आक्रमणबाट गत भदौ १३ गते स्थानीय ५५ वर्षीय कान्छा दोङको मृत्यु भएको थियो।

    सोही दिन बाघले मृतक दोङको एक गोरूलाई पनि मारेको थियो।

    बाघ नियन्त्रणमा लिन भदौ १४ गतेदेखि नै प्रयास थालिएकामा शनिबार डार्ट गरिएको अध्यक्ष पाख्रिनले बताए।

    बाघ नियन्त्रणका लागि निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी एवं हात्ती प्रयोग गरिएको थियो।

  • जन्ती बस दुर्घटना एकको मृत्यु, ४० घाइते

    जन्ती बस दुर्घटना एकको मृत्यु, ४० घाइते

    पोखरिया, १७ फागुन –

    पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

    भारत विहारको बेतिया जिल्ला साठी थाना परसोना गाउँबाट बिहे गरी फर्किंदै गरेको ना५ख ११९८ नम्बरको बस आज बिहान अनियन्त्रित भई पल्टिँदा बसमा सवार पोखरिया नगरपालिका–२ झाख्रा टोल निवासी १८ वर्षीय ओमप्रकाश साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सोही दुर्घटनामा परी करिब ४० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । मृतको शव घर ल्याइएको र केही घाइतेको बेतिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

  • भालुको आक्रमणबाट पर्सामा दुई जना घाइते

    भालुको आक्रमणबाट पर्सामा दुई जना घाइते

    वीरगञ्ज,माघ २० –

    भालुले आक्रमणबाट पर्साको ठोरी गाउँपालिकामा दुई जना घाइते भएका छन् ।

    ठोरी गाउँपालिका-३ रामनगर बस्ने बिबिलाल लोप्चन र सुकमाया तामाङ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू श्रीमान श्रीमती हुन् ।

    शुक्रबार दिउँसो जंगलबाट घाँस लिएर फर्कने क्रममा सुकमाया तामाङलाई भालुले आक्रमण गरेको थियो । सुकमायालाई बचाउन गएका बिबिलाल पनि घाइते भएको प्रहरीको भनाइ छ ।

    जंगल क्षेत्रबाट निस्किएका तीन वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा चोट लागेको छ भने बिबिलाल सामान्य घाइते छन् ।

    घाइते दुवैजनालाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ ।

  • अनुसन्धानमा रहेको व्यक्तिलाई छुटाइदिन्छु भनि प्रलोभन देखाइ ठगी गर्ने व्यक्ति पक्राउ

    अनुसन्धानमा रहेको व्यक्तिलाई छुटाइदिन्छु भनि प्रलोभन देखाइ ठगी गर्ने व्यक्ति पक्राउ

    पर्सा – अनुसन्धानमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भनी प्रलोभन देखाई ठगी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका-५ बस्ने ५२ वर्षीय धिरेन्द्र बहादुर श्रेष्ठलाई यातायात कार्यालय पर्सास्थित सडकबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    उनी उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

  • माघ ९ र १० गते पर्सामा बालबालिकालाई फाइजर खोप दिइने

    माघ ९ र १० गते पर्सामा बालबालिकालाई फाइजर खोप दिइने

    वीरगञ्ज ,माघ ३-

    पर्साका १४ वटै पालिकामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ ।

    जिल्ला खोप समन्वय समिति पर्साले माघ ९ र १० गते फाइजर खोप लगाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । फाइजर खोप लगाएका बालबालिकामा कोभिड–१९ को संक्रमणबाट हुने जटिलता कम देखिएको चिकित्सकहरूले बताएका छन् ।

    स्वास्थ्य कार्यालय पर्साले खोप अभियान सञ्चालनका लागि सबै पालिकाहरुमा समन्वय गर्ने, खोप अभियान सञ्चालनका लागि जिल्ला स्थित शिक्षक महासंघ रेडक्रस, प्याब्सन, एनप्याब्सन, अभिभावकसँगसँग समन्वय गर्ने निर्णय गरेको छ ।

    पालिकाका विद्यालयहरुमा खोप केन्द्र राखी खोप अभियान सञ्चालन गर्ने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।