Category: पर्सा

  • पर्सामा ट्रयाक्टर दुर्घटनामा परेर दुईको मृत्यु, एक घाइते

    पर्सामा ट्रयाक्टर दुर्घटनामा परेर दुईको मृत्यु, एक घाइते

    वीरगञ्ज (पर्सा), १३ असार :

    पर्सामा ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।

    वीरगञ्ज महानगर–२८ बगहीबाट इनर्वातर्फ जाँदै गरेको ना५त ९९४१ नम्बरको ट्रयाक्टर आज दिउँसो १ः३० बजे भेडाहा खोलामा पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले जानकारी दिनुभयो ।

    मृत्यु हुनेमा वीरगञ्ज महानगर–२८ बगहीका शिवु पटेल (राउत) र सोही ठाउँका आकाश पटेल (राउत) रहेका छन् । सोही समयमा सवार सोही ठाउँका जयकुमार पटेल भने घाइते भएका छन् । मृत्यु भएका दुवै जनाको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको छ ।

  • सीमावर्ती भारतीय बजारमा वर्डफ्लू भएपछि पर्सामा कुखुराको पैठारीमा पूर्ण रोक

    सीमावर्ती भारतीय बजारमा वर्डफ्लू भएपछि पर्सामा कुखुराको पैठारीमा पूर्ण रोक

    वीरगञ्ज (पर्सा), १८ फागुनः 
    जिल्ला प्रशासन कार्यालय पर्साले छिमेकी मुलुक भारतमा वर्डफ्लूको प्रकोप फैलिएपछि सीमावर्ती भारतीय भूमिबाट कुखुरा, चल्ला र सेतो अण्डा आयातमा पूर्ण रोक लगाएको छ ।

    प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा आज सरोकार भएकाहरूसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

    प्रजिअ अर्यालले सीमावर्ती क्षेत्रमा वर्डफ्लूको प्रकोप देखिएकाले उच्च सावधानी अपनाउँदै कुखुरा तथा कुखुराजन्य उत्पादनको पैठारीलाई रोक लगाउने निर्णय गरेको बताउनुभयो । “आन्तरिक बजारमा यस्ता वस्तुको उपभोग एवं बेचबिखन कार्यलाई निरुत्साहित गर्न तत्काल संयुक्त अनुगमन गर्ने र सीमा क्षेत्रमा थप निगरानी बढाउने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो ।

    बैठकले भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र, पर्साका प्रमुख डा राजकुमार शाहको संयोजकत्वमा ‘¥यापिड एक्सन टिम’ गठन गर्ने निर्णय गरेको छ । सदस्यमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि कृष्णाकुमार कुशवाहा, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका शिवानी कलवार, नेपाल प्रहरीका, सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधि र नेपाल लेयर्स कुखुरापालक सङ्घका प्रतिनिधि रहने गरी टोली गठन गरिएको हो ।

    सो टोलीलाई सोमबारबाट अनुगमन सुरु गर्ने र त्यसक्रममा प्राप्त वस्तुस्थितिका आधारमा सम्बन्धित पक्षलाई कारबाही र त्यसको प्रचारप्रसार गर्ने प्रकाशन तथा प्रसारण गर्ने कार्यादेश दिइएको छ ।

  • पर्सामा ६० प्रतिशत रोपाइँ

    पर्सामा ६० प्रतिशत रोपाइँ

    वीरगञ्ज (पर्सा), २५ असारः 
    जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आजसम्म पर्सामा ६० प्रतिशत रोपाइँ भएको छ । हालसम्म २८ हजार दुई सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । यो जिल्लामा ४७ हजार एक सय ३० हेक्टरमा धानखेती हुने गरेको छ ।
    केन्द्रका अनुसार साउनको दोस्रो सातासम्म पर्सा जिल्लाका सबै ठाउँमा रोपाइँ सकिने छ  । विगतको वर्षको तुलनामा यो वर्ष मनसुन पनि चाँडो भित्रिएको र भारतीय पक्षले गण्डक नहरबाट पानी पनि उपलब्ध गराएकाले रोपाइँले गति लिएको हो । पर्सामा आव २०७८÷७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन उत्पादन भएको थियो । यहाँ हरदिनाथ, सोनामन्सुली सावित्री जातका धान रोप्ने गरिन्छ ।
  • बिना अनुमति सञ्चालित पाँच विद्यालय वीरगञ्ज महानगरले गर्यो शिलबन्दी

    बिना अनुमति सञ्चालित पाँच विद्यालय वीरगञ्ज महानगरले गर्यो शिलबन्दी

    वीरगञ्ज (पर्सा), २९ जेठ :

    नगर क्षेत्रमा बिना अनुमति सञ्चालित पाँच वटा विद्यालय वीरगञ्ज महानगरले मङ्गलबार शिलबन्दी गरेको छ ।

    शिक्षा समितिको अनुगमन समितिले अवैध रुपमा सञ्चालित पाँचवटा विद्यालयमा शिलबन्दी गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको महानगरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिनुभयो ।

    शिलबन्दी भएका विद्यालयहरुमा सिजी एजुकेसनद्वारा सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्वप्राथमिक तह (मन्टेश्वरी), निनोस वीरगञ्जको नामबाट वीरगञ्ज महानगरपालिका वडा नं १२ मुर्ली बगैँचामा सञ्चालित विद्यालय छन् । वीरगञ्ज महानगरपालिका-२६ सुगौलीमा विसं २०५७ सालदेखि सञ्चालित सिटिजन पब्लिक स्कुल, विसं २०७५ देखि सञ्चालित एएस नलेज एकेडेमी र वडा नं १८ भवानिपुरमा सञ्चालित सुरज एकेडेमी रहेको महानगरले जनाएको छ ।

  • अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द

    अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द

    पर्सा, १४ जेठः

    अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।

    वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक,विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै महानगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।

    “वीरगञ्ज महानगर शिक्षा समितिको आज बसेको बैठकले अत्यधिक गर्मीको कारणले विद्यालयको पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो, “तीन दिन वर्षे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न÷गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुनेछ ।” भोलि अर्थात मङ्गलबार भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ । महाशाखा प्रमुख कर्णले बिदा घोषणा गरेपनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने पनि बताउनुभयो ।

    महानगर शिक्षा समितिको २०८१ वैशाख १७ गतेको निर्णयअनुसार प्रतिकूल मौसम (अत्यधिक गर्मी) का कारणले दिउँसोको समयमा पठनपाठन कार्य असहज भएको भन्दै बिहान ६ बजेदेखि गर्ने निर्णय गरेको थियो । गत वैशाख २० गतेदेखि वीरगञ्ज महानगर क्षेत्रमा बिहानीको समयमा पठनपाठन हुँदै आएको थियो ।

    महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्रथामिक विद्यालय रहेको छ ।

  • आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

    आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

    काठमाडौँ, १३ जेठ :
    नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१÷२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुहुने जानकारी गराए।

    उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरे ।

  • पर्सामा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइँदै

    पर्सामा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइँदै

    वीरगञ्ज (पर्सा), १२ जेठ : 

    जिल्लामा आइतबारदेखि पहिलो चरणअन्तर्गत पोलियोविरुद्धको (आइपिभी) खोप अभियान सञ्चालन हुँदैछ । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालयले तीन चरणमा गरी जिल्लाका ३१ हजार आठ सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी भएको जनाएको छ ।

    आइपिभी खोपको विश्वव्यापी अभाव हुँदा विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिका सो खोपबाट बञ्चित हुनुपरेको थियो । सो अवधिमा जन्मिएर खोप लगाउन छुटेका बालबालिकामा पोलियो लाग्ने जोखिम रहने भएकाले उनीहरुलाई लक्षित गरी अभियान देशव्यापीरुपमा अघि बढाउन लागिएको हो ।

    जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण श्रेष्ठले २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएर आइभिपी खोप लगाउन बञ्चित रहेका बालबालिकालाई लक्षित गरेर अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । “तत्कालीन समयमा विश्वव्यापीरुपमा आइभिपी खोपको अभाव भएकाले धेरै मुलुकका बालबालिका खोपबाट बञ्चित हुनुप¥यो”, उहाँले भन्नुभयो, “सो अवधिमा जन्मिएका, खोप लगाउन छुटेका बालबालिकालाई अभियानमा सहभागी गराउन अभिभावकलाई अनुरोध गर्दछौँ ।”

    कार्यालयका जनस्वास्थ्य अधिकृत मोदप्रसाद ठाकुरले आइपिभी विशेष गरेर बालबालिकाको दायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र शून्य दशमलव पाँच मिलिलिटरको मात्रा दिनुपर्ने जानकारी दिनुभयो । “आइपिभी खोप ढुवानी तथा भण्डारण दुई डिग्री सेल्सियसदेखि आठ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “पोलियोविरुद्धको खोप दुई प्रकारका छन् । मुखबाट खुवाइने (ओपिभी) र सुईबाट दिइने आइपिभी हुन् ।”

    जनस्वास्थ्य अधिकृत ठाकुरले पर्सामा खोप अभियान तीन चरणमासञ्चालन गरिने बताउनुभयो । “खोप लगाउन छुटेका उमेरसमूहका बालबालिकालाई तीन चरणको अभियानमा सहभागी गराउने गरी तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।

    खोप समन्वय समिति सचिवालयका अनुसार पहिलो चरणमा जेठ १३ गतेदेखि १६ गतेसम्म वीरगञ्ज महानगरपालिका–१ देखि वडा नं १६ सम्म, बहुदरमाई नगरपलिकाका साथै विन्ध्वासिनी, पकहामैनपुर, छिपहरमाई, कालिकामाई, धोविनी र ठोरी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।

    दोस्रो चरणमा पोखरिया र पर्सागढी नगरपालिका तथा जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकामा अभियान सञ्चालन हुनेछ । तेस्रो चरणमा जेठ २३ गतेदेखि २६ गतेसम्म वीरगञ्ज–१७ देखि ३२ नं वडा क्षेत्रमा खोप लगाइने जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार तीनै चरणमा भवानी अस्पताल लिङ्करोड र वीरगञ्ज हेल्थ केयर अस्पताल बहुअरीमा खोप लगाइनेछ ।

    खोप अभियानमा सात सय आठ जना खोप कार्यकर्ता, स्वयंसेवक एक हजार चार सय १६ जना खटिनेछन् । त्यसैगरी एइएफआई एक सय १२ जना स्वास्थ्यकर्मीका साथै नारायणी अस्पतालका तीन जना चिकित्सक पनि तयारी अवस्थामा रहने ठाकुरले बताउनुभयो ।

    जिल्ला खोप समन्वय समितिका अध्यक्ष नीरञ्जनप्रसाद सोनारले खोप अभियानमा कुनै पनि प्रकारको त्रुटि र कमजोरी नगर्न स्वास्थ्यकर्मी, खोप कार्यकर्ता, स्वयंसेवकलाई अनुरोध गर्नुभयो । “सचिवालयले अभियानको सुक्ष्मरुपमा अनुगमन गर्नेछ । अनुगमनका क्रममा कुनै त्रुटि वा कमजोरी भेटिएमा तत्कालै कारबाहीको सिफारिस सङ्घीय तथा प्रदेश मन्त्रालयमा पठाइनेछ”, उहाँले भन्नुभयो ।

    अभियानलाई स्वच्छ, सुरक्षित र भरपर्दाे ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिँदै अध्यक्ष सोनारले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा लगी खोप लगाउने कार्यमा सहयोग गर्न अभिभावकलाई अनुरोध गर्नुभयो । मधेस प्रदेशमा दुई लाख ९२ हजार नौ सय ५९ जनालाई सो खोप लगाउने लक्ष्य राखिएको छ ।

  • बालसुधारका तीनसहित छ कैदीबन्दीले लिए परीक्षा

    बालसुधारका तीनसहित छ कैदीबन्दीले लिए परीक्षा

    वीरगञ्ज, १४ वैशाखः 

    पर्साको बालसुधारगृहमा रहेका तीन जनासहित छ जना कैदीबन्दीले कक्षा १२ को परीक्षा दिएका छन् । शुक्रबारदेखि सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षामा बालसुधारगृह पर्सामा रहेका तीन जना र कारागार कार्यालय पर्सामा रहेका तीन जना कैदीबन्दीले पनि परीक्षामा सहभागिता जनाए ।

    बालसुधारगृह पर्साका प्रमुख टीकाकृष्ण काफ्लेले त्रिजुद्ध माध्यमिक विद्यालय अन्तर्गत रही तीन जना बालसुधार गृहमा रहेका विद्यार्थीले परीक्षा दिएको बताउनुभयो । “त्रिजुद्ध विद्यालयबाट एक जना परीक्षा लिनका लागि प्रतिनिधि आउनुभएको थियो । उहाँकै निरीक्षणमा बालसुधारगृहबाट तीन जना सुधारगृहमा रहेका बालकहरुले परीक्षा दिएका छन्”, उहाँले भन्नुभयो, “बालसुधारगृहमा रहेर अध्ययन गर्न चाहनेका लागि सहज वातावरण उपलब्ध गराउँदै आइरहेका छौँ ।”

    परीक्षा दिने तीन विद्यार्थीमध्ये दुई जना जर्बरजस्ती करणी अभियोग पुष्टि भएर बालसुधार गृहमा आएका हुन भने एकजना भने सवारीज्यान मुद्दामा आएका हुन् । बालसुधार गृहमा एक सय १९ जना बालक छन् ।

    गत चैतमा भएको एसइई परीक्षा यहाँका चार जना विद्यार्थी सहभागी थिए । कारागार कार्यालय पर्साबाट पनि यसपालीका कक्षा १२ को परीक्षामा तीन जना कैदीबन्दीले परीक्षा दिएका छन् । उनीहरुले पनि त्रिजुद्ध माध्यमिक विद्यालय अन्तर्गत कारागार परिसरबाटै परीक्षा दिएका हुन् । तीनै जना कैदीबन्दी पुरुष छन् ।

  • पर्सामा सामाजिक सद्भाव कायम राख्दै ईद मनाइयो

    पर्सामा सामाजिक सद्भाव कायम राख्दै ईद मनाइयो

    वीरगञ्ज (पर्सा), २९ चैत :

    पर्सा जिल्लामा पनि इस्लाम समुदायले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै पर्व मनाएका हुन् ।

    वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँ सङ्ख्यामा रहेका मुस्लिम समुदायले एकापसमा खुसी साटासाट गरेर ईद मनाएका छन् । वीरगञ्जका अन्य समुदायका धर्मावलम्बीले पनि एकापसमा शुभकामना आदानप्रदान गरेका छन् ।

    वीरगञ्ज–२ छपकैयाँका शाहिद मियाँ सिद्धिकीले चाडपर्वलाई सामाजिक सद्भाव कायम गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । “वीरगञ्जमा हिन्दू, मुस्लिम, शिखलगायतका समुदायका मानिस एकापसमा सद्भाव कायम गरेर बसोबास गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “मेरा हिन्दू तथा शिख समुदायका साथीहरूले ईदको शुभकामना दिनुको साथसाथै आफ्नो चाडपर्वमा पनि बोलाउनुहुन्छ । हामी पनि ईदमा उहाँहरूलाई बोलाउँछौँ ।”

    दुवै समुदायबीच शुभकामना साटासाट गर्दै आइरहेको सिद्धिकीको भनाइ छ । जुनसुकै चाडपर्वलाई पनि आपसी भाइचारा र सामाजिक सद्भाव कायम गर्र्नेगरी अघि बढाउन जरुरी रहेकामा उहाँले जोड दिनुभयो ।

    वीरगञ्जका मस्जिद तथा ईदगाहमा बालकदेखि ज्येष्ठ नागरिक उमेर समूहका मुस्लिम समुदायका मानिसको उपस्थिति थियो । साथै शारीरिकरूपमा अपाङ्ग तथा अशक्तहरू पनि नमाज गर्नका लागि ईदगाह तथा मस्जिदमा सहभागी भएका थिए ।

    “हामीले ईदको अवसरमा एक महिनासम्म भोकै बसेर रोजा ‘व्रत’ बस्यौँ । अब नमाज पढेर रोजा तोडेका छौँ”, मुस्लिम समुदायका अगुवा सहवीर अहम्मदले भन्नुभयो, “आज हामीले घरमा इष्टमित्र बोलाएर सेबई र अरु मीठो परिकार खाने र खुवाउने परम्परा रहेको छ ।” उहाँका अनुसार मुस्लिम समुदायले आफ्नो आम्दानीको दुई दशमलव पाँच प्रतिशत रकम दुःखी तथा अनाथलाई सहयोग गर्ने परम्परा पनि रहिआएको छ ।

    ईदका दिन मुस्लिम समुदायका बर्तालु बिहानै मस्जिद र ईदगाहमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारको तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाह (भगवान्)सँग आशीर्वाद लिने गर्दछन् ।

    वीरगञ्जमा करिब तीस हजारको हाराहारीमा मुस्लिम समुदाय रहेको अनुमान गरिएको छ । वीरगञ्जमा ईदगाहचोक, छपकैया, मुली, नगवा, नयकाटोलालगायत स्थानमा पुगी नमाज पढेर दुवा अर्थात् आशीर्वाद मागेको दृश्य देखिन्थ्यो । ंनमाज पढेर सकेपछि मुस्लिम समुदायले एकापसमा अङ्कमाल गर्दै ईदको शुभकामना साटासाट गरी यो पर्व मनाएका छन् ।

  • वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी

    वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी

    पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फूयू जारी गरेको हो ।

    सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरी अर्काे सूचना जारी नभएसम्मका लागि कर्फ्यू जारी गरिएको जानकारी गराएका छन् ।
    उनका अनुसार पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र)मा लागू हुनेगरी कर्फ्यू जारी गरिएको हो ।

    मिति २०८० फाल्गुन ०३ गते बिहीवार रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्ष बीच विवाद र झडप भएको बिषयलाई लिएर आज मिति २०८०।११।०७ गते बीरगंजमा भएको विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम शान्ति भंग हुन जाने स्थिति देखिएकोले बीरगंज महानगरपालिका क्षेत्रको तपसिल बमोजिमको सीमा क्षेत्र भित्र कसैले आवत जावत गर्न, भेला हुन, बाहिर हिडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ –याली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति २०८०।११।०७ गते बेलुका ०५ः०० बजे देखि अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क. बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ । उक्त आदेशको बर्खिलाफ भएमा कानून बमोजिम कडा कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ प्रमुख जिल्ला अधिकारी भुसालले जारी गरेको आदेशमा भनिएको छ ।