Category: Banner तल ताजा समाचार

  • डेढ रोपनी जग्गा बालकुमारी रिमिक्सको कब्जामा

    काठमाडौं, फागुन ११ –
    ललितपुरको प्रसिद्ध बालकुमारी मन्दिर सँगैको करोडौं मूल्य पर्ने गुठीको जग्गा बालकुमारी रिमिक्स क्लबले कब्जा गरेको छ । ललितपुर महानगरपालिका–८ कित्ता नं ९७ को क्षेत्रफल १ रोपनी १० आना २ पैसामध्ये करिब १ रोपनी क्षेत्रफल जग्गामा गुठीको स्वीकृतिबेगर अस्थायी टहरा बनाई २०७१ सालदेखि क्लबले आगटेको थियो ।

    क्लबकै अगुवाइमा अहिले पश्चिमतर्फ ९बालकुमारी मन्दिर छेउको बाटो हुँदै चक्रपथ जाने बाटोतर्फ० बाँकी रहेको करिब ६ आना जग्गामा पिलरसहितको करिब लम्बाइ ५२ फिट र चौडाइ १८ फिटको भौतिक संरचना निर्माण भइरहेको छ ।

    गुठी संस्थान जग्गा धनी, गुठी तैनाथी र बालकुमारी गुठी उल्लेख भई तैनाथी लालपुर्जा रहेको सो जग्गामा अनधिकृत रूपले प्रयोग र भौतिक संरचना बनाउने कामको अगुवाइ ललितपुर वडा–७ का अध्यक्ष कुलबहादुर महर्जनले गरेका छन् ।

    वडाअध्यक्ष महर्जन क्लबको पनि अध्यक्ष हुनुहुन्छ । वडाअध्यक्ष महर्जनकै प्रयासमा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनको तोक आदेशमा भइपरी बजेटबाट २० लाख रुपियाँ क्लबलाई दिने निर्णय गरिएको थियो । सोही रकमबाट अहिले अनधिकृत रूपमा संरचना निर्माण भइरहेको बुझिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

  • विदेशमा भोगेको दुःख पाएका ढालेन्द्र छन्त्याल : गाउँमै भेँडा पालेपछि मासिक तीन लाख आम्दानी

    विदेशमा भोगेको दुःख पाएका ढालेन्द्र छन्त्याल : गाउँमै भेँडा पालेपछि मासिक तीन लाख आम्दानी

    बलेवा, ११ फागुन –
    तमानखोला गाउँपालिका–२ कटेरी गाउँका ढालेन्द्र छन्त्याल वर्षमा एक दुई पटकमात्रै घरमा पुग्नुहुन्छ । उच्च पहाडका जङ्गलमा भेडाको बथानका पछि उहाँको बाँकी दैनिकी चलिरहेको छ ।

    वर्षाको समयमा तमानखोलाका उच्च पहाडमा चर्ने उहाँका भेडा हिउँदमा हिउँ परेपछि गलकोट नगरपालिकाको उच्च पहाडमा पुग्छन् । तीनै भेडाको पछि लाग्ने ढालेन्द्र र उहाँका साथीको दैनिकी हिउँद र वर्षामा फरक–फरक ठाउँमा चल्ने गरेको छ । ढालेन्द्रका साना ठूला गरेर १०० भेडा छन् । अरु सातजना साथीका पनि सोही सङ्ख्यामा भेडा छन् ।

    सबैका भेडा एकै ठाउँमा चराउँदा धमिरो लागेको काठजस्तै देखिन्छन् पहाड । भेडीगोठका गोठाला ढालेन्द्र पेशामा सन्तुष्ट हुनुहुन्छ । साथीभाइ पालो गरेर घरपरिवारको रेखदेख गर्न पाइने, आफ्नै माटो, आफ्नै भाषा र आफ्नासँगै बसेर काम गर्दा हुने आम्दानीले उहाँलाई सन्तुष्ट बनाएको छ । लामो समय दुबई, कतार र साउदी अरबको तातो हावामा काम गर्नुभएका ढालेन्द्रले भेडा पाल्न थालेको पाँच वर्ष भयो । उहाँजस्तै विदेशमा दुःख भोगेर देशको माटो सम्झेका साथीको सहकार्यमा भेडा पाल्न थाल्नुभएका ढालेन्द्रले सुरुमा रु चार लाख लगानी गर्नुभएको हो ।

    अहिले वर्षमा सबै खर्च कटाएर रु तीन लाख आम्दानी हुन्छ । “विदेशमा भोगेको दुःख सम्झेर यहाँ मेहनत गरेको छु, आफ्नै परिवारजस्तो लाग्छ भेडीगोठ”, उहाँले भन्नुभयो, “अब विदेश जान्न यतै रमाइलो छ ।” उनीहरुले एउटा वयस्क भेडालाई रु ३५ हजारसम्ममा बेच्छन् । साना पाठापाठीको पनि रु १० देखि १५ हजार पर्छ । “विदेश पुगेपछि गाउँमै केही गर्न सकिन्छ भन्ने बुझेँ”, उहाँले भन्नुभयो, “अहिले थालेको व्यवसायमा सन्तुष्ट छु ।” भेडापालनका लागि चरण क्षेत्र राम्रो भएकाले तमानखोला गाउँपालिका उपयुक्त क्षेत्र हो । अन्य उत्पादन कम हुने, जङ्गल र पाखा धेरै भएकाले यहाँका किसानले मासुजन्य उत्पादनमा ध्यान दिन्छन् । भेडाको उन र मासु दुवैबाट किसानले मुनाफा लिने गरेका छन् ।

    कटेरी गाउँकै ओम पुनले आफ्नो जीवनको महत्वपूर्ण समय विदेशी माटोमा बिताउनुभयो । ४८ वर्षीय ओम पुन बहराइन र साउदी अरबको तातो हावामा १२÷१२ वर्ष काम गरेर अहिले गाउँ फर्किनुभएको छ । विदेशमा कमाएको पैसाले उहाँको पोखरामा घर छ । तर, ओमबहादुर भने तमानको हावापानी सम्झेर गाउँ फर्किनुभएको छ । “पोखरा बस्नै मन लागेन, भाइ बसाइँ सरेर गयो, बाबाआमा एक्लै हुनुभयो, अनि म गाउँ फर्किएँ”, उहाँले भन्नुभयो, “यहाँ शिक्षा, स्वास्थ्य र पूर्वाधार नभएर सुविधा सम्पन्न ठाउँ खोज्ने हामी अब यहीँ ती सुविधा पु¥याउन लाग्नुपर्छ ।”

    पुनले बहराइनमा रहँदा गाउँकै जनज्योति आधारभूत विद्यालयको सुविधा सम्पन्न भवन बनाउन जग्गाका लागि सहयोग अभियान चलाउनुभएको थियो । अभियानमा सङ्कलन भएको रु आठ लाखले जग्गा खरिद गरेर अहिले विद्यालयको पक्की भवन बनेको छ । पैतृक सम्पत्ति गाउँकै पाखोबारीमा खेतीपाती गरेर ओमबहादुरले घरखर्च चलाउनुभएको छ । जन्मे–हुर्केको ठाउँमा रमेर बाबाआमाको सेवामा खटेका ओमबहादुर विदेशबाट गाउँ फर्केर पाखो बारी कोतर्ने उदाहरण हुनुहुन्छ । कटेरिकै चुडामणि छन्त्याल पनि विदेशको कमाइले आर्जेको सम्पत्तिको सुख सयल छोडेर गाउँमा तरकारी फार्म चलाएर बस्नुभएको छ ।

    बसाइँ सरेर जानेहरुले जग्गा नबेच्ने र बसाइँसराइको कागज नगर्ने भएकाले यहाँको वास्तविक तथ्याङ्क भने छैन् । तर गाउँमा सुविधा नभएको भनेर छोड्ने दिनानुदिन बढ्दै छन् । बसाइँ सर्ने रोगमा मलमपट्टी लगाउन गाउँ भित्रिएका ढालेन्द्र, ओमबहादुर र चुडामणिजस्ता युवा पनि छन् । विदेशबाट फर्केर गाउँमा उद्यम, व्यवसाय र खेतीपाती गर्नेलाई गाउँपालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याएको छ । “गतवर्षमा ४० वटा भेडीगोठ सुधारका लागि अनुदान दिएका थियौं”, गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो, “ऋणमा सहुलियत, व्यवसायमा अनुदान र प्रविधि तथा तालिम निःशुल्क उपलव्ध गराउने कार्यक्रम हामीसँग छन् ।” गाउँ फर्केका युवाले गाउँमै भविष्य खोज्ने उहाँले बताउनुभयो ।

    तीनै तहका सरकारले साथ सहयोग गरे गाउँमा पनि नमूना काम गर्न सकिने उदाहरण उनीहरुले दिएको स्थानीयवासी बताउँछन् । (रासस)

  • मिहिनेत गरे गाउँमै अवसरै अवसर

    मिहिनेत गरे गाउँमै अवसरै अवसर

    पाल्पा, १० फागुन –
    शिक्षा, रोजगारी र अवसरको खोजीमा अधिकांशको सहरी क्षेत्रमा छिर्ने क्रम बढ्दो छ । पहाडी जिल्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट ग्रामीण क्षेत्र त्यागेर रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत सहरी क्षेत्रमा अधिकांशले अवसरको खोजीमा बसाइँसराइ गरिरहेका छन् ।

    प्रशस्त अर्थोपार्जन गर्न सहर तथा विदेशै भाँैतारिन नपर्ने तर ग्रामीण क्षेत्रमै पनि मिहिनेत गरे के हुँदैन र भन्ने उदाहरण बन्नुभएको छ, जिल्लाको रिब्दीकोट गाउँपालिका–२ लघुवाका सन्तोषराज नेपाल । गाउँमा फर्केर अहिले उहाँ रिसोर्ट, कृषि तथा पशुपालन व्यवसाय गरेर अरूलाई पनि रोजगारी दिन सक्षम हुनुुभएको छ । ग्रामीण बस्तीबाट अवसरको अभावमा सहरी क्षेत्रमा युवाहरुको आकर्षक बढेर गाउँका घरहरु रित्तो हुन पुगेको अवस्थामा पछिल्ला वर्षहरुमा प्रशस्त अर्थोपार्जनका सम्भावनाले ग्रामीण क्षेत्रमै फर्कनेहरू पनि बढ्न थालेका छन् ।

    सोही स्थानका सन्तोषराज नेपाल चार वर्षअघि बाउबाजेको पुख्र्याैली गाउँ फर्किनु भएको हो । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने नाराका साथ गाउँ फर्केर रिसोर्ट, कृषि तथा पशुपालन व्यवसयामा उहाँ अहिले व्यस्त हुनुहुन्छ । चालीस रोपनी जग्गामा कागती, लिची, मुला, साग खेती गरिएको छ । फेस्रभ्याली एग्रो फार्म प्रालिमा लिची र अर्को वर्षदेखि कागती उत्पादन हुँदैछ । मुलाबाट मात्र यस वर्ष रु चार लाख आम्दानी भएको उहाँले बताउनुभयो ।

    मिहिनेत गरे गाउँमा पनि प्रशस्त आम्दानी गर्ने वातावरण सहरमा भन्दा झनै फराकिलो छ । सहरी क्षेत्रमा पैसा कमाउन ठूलै प्रतिस्पर्धा गर्नुपर्ने र लगानी पनि बढी लगाउनुपर्ने बाध्यता रहेको नेपालको भनाइ थियो । ग्रामीण क्षेत्रमा कृषि, पशुपालन तथा होटल व्यवसायमा सानो लगानी र विना प्रतिस्पर्धामा काम गर्ने वातावरण रहेको उहाँले जानकारी दिनुभयो।

    नेपालको कृषि फार्म नजिकै रिसोर्ट र उन्नत जातको बाख्रा र स्थानीय जातका कुखुरापालन व्यवसाय छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिस अहिले पशुपालन व्यवसायबाट विस्थापित भए पनि नेपालले भने यसवर्ष स्थानीय जातका दुई सय कुखुराबाट रु दुई लाख र उन्नत जातका बाख्राबाट रु चार लाख आम्दानी भएको जानकारी दिनुभयो ।

    स्याङ्जाका दीपक पाण्डेय कोरोना महामारीका बेला कृषि र पशुपालन व्यवसायतर्फ आकर्षित हुनुभयो । तानसेन नगरपालिकाको कैलाशनगरबाट रिब्दीकोट गाउँपालिकाको देउरालीमा फर्किनुभएका उहाँले चारवटा भैँसी र दुईवटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गर्दै आउनुभएको छ ।पाण्डेयले गाई तथा भैँसीको दूध बिक्रीबाट वार्षिक रु दश लाख आम्दानी गर्दै आउनुभएकोे छ । उहाँले व्यावसायिकरूपले गाईभैँसी र बाख्रासँगै तरकारी उत्पादन पनि गर्दै आउनुभएको छ । रु ७५ लाख खर्चेर रिसोर्ट सञ्चालनका लागि संरचना निर्माण गर्नुभएका पाण्डेयले करिब रु दुई करोडको लगानीमा एक वर्षभित्र रिसोर्टको सबै काम पूरा गरी सञ्चालन गर्ने तयारीमा रहे पनि कोरोनाले गर्दा संरचना निर्माणमा समस्या भएको बताउनुभयो ।

    आर्थिक अवसरहरुको खोजीमा सहरमा प्रवेश गरी आम्दानी गर्ने मान्यता अहिले बिस्तरै हटदै गएको छ । कृषि तथा पशुपालनका क्षेत्रमा अधिकांश युवा विदेशबाट फर्केर स्वदेशमै आयआर्जनमा सक्रिय रहेका छन् । पछिल्ला वर्षहरुमा सहरमा बसोबास गर्नेहरुको पनि ग्रामीण क्षेत्रमै फर्केर कृषि तथा पशुपालन, रिसोर्ट सञ्चालन गर्ने क्रम बढ्न थालेकाले मिहिनेत गर्नसके ग्रामीण क्षेत्रमा पनि प्रशस्त आम्दानी गर्न सकिने अवसरको ढोका खुल्ला गरिदिएको छ ।

    गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले ग्रामीण क्षेत्रका बासिन्दालाई रोजगार तथा स्वरोजगार बनाउन कृषि तथा पशुपालनका क्षेत्रमा अनुदानको व्यवस्था गरिएको बताउनुभयो । उहाँले पहिलाको तुलनामा अहिले कृषि तथा पशुपालनका क्षेत्रमा रामै्र प्रगति भएको, तरकारी, मासु, दूधमा बिस्तारै गाउँपालिका आत्मनिर्भर बन्दै गएको जानकारी दिनुभयो । (रासस)

  • आइसिसी टि२० विश्वकप छनोट : तेस्रो स्थानका लागि नेपाल र ओमान भिड्ने

    आइसिसी टि२० विश्वकप छनोट : तेस्रो स्थानका लागि नेपाल र ओमान भिड्ने

    चितवन, फागुन १०

    नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो स्थानको लागि घरेलु टोली ओमानसँग खेल्ने भएको छ । तेस्रो स्थानको लागि ओमान र नेपालबीच बिहीबार ओमान क्रिके एकेडेमी ग्राउन्ड-२ मा हुनेछ ।

    नेपाल र ओमान सेमिफाइनलबाट बाहिरिएपछि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । टेस्ट टोली आयरल्यान्ड र युएई आइसिसी टि२० विश्वकप २०२२ मा पुगेका छन् । मंगलबार भएको सेमिफाइनलमा युएईले नेपाल र आयरल्यान्डले घरेलु टोली ओमानलाई पराजित गर्दै टि२० विश्वकप २०२२ मा पुगेका छन् ।

    पहिलो सेमिफाइनल खेलमा युएईले नेपाललाई ६८ रनले पराजित गर्यो । दोस्रो सेमिफाइनलमा आयरल्यान्डले घरेलु टोली ओमानलाई ५६ रनले हराउँदै विश्वकपमा स्थान पक्का गर्यो । १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको ओमान १८.३ ओभरमा ओमान १ सय ९ रनमा अल आउट भयो ।

    १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा नेपाल १ सय ७ रनमा अल आउट भयो ।

    नेपाल समूह बी बाट ३ खेलमा अपराजित रहँदै समूह विजेता रुपमा सेमिफाइनलमा पुगेको थियो । तर सेमिफाइनको हारसँगै विश्वकप सपना समाप्त भएको छ । नेपालले समूह चरणमा ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो ।

  • नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै, युएईसँग पराजित

    नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै, युएईसँग पराजित

    चितवन, फागुन १० –

    नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै रहेको छ ।

    आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस (युएई)सित पराजित भएसँगै नेपाल विश्वकप खेल्नबाट चुकेको हो ।

    नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । एक सय ७६ रनको विजय लक्ष्य पछ्याएको नेपालले १८ दशमलव चार ओभरमा सवै विकेट गुमाउँदै एक सय सात रन मात्र बनाउन सक्यो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २०, आरिफ शेखले ११, विवेक यादवले ८, कुशल भुर्तेलले ७, जीतेन्द्र मुखियाले ५, कमलसिंह ऐरीले ४ र कप्तान सन्दीप लामिछानेले ४ रन बनाए । बलिङतर्फ युएईका अहमद राजाले ५, जुनैद सिद्दिकीले ३ तथा कशिफ दाउद र रोहन मुस्तफाले एक एक विकेट लिए । यसअद्धि युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय पारी खेलेका थिए । उनले ४८ बल खेल्ने क्रममा चार चौका र चार छक्का हाने । यस्तै भृत्य अरविन्दले ४६, मुहमद उस्मानले १७, जवार फारिदले ११, रोहन मुस्तफाले ९ रन र अहमद राजाले ६ रन बनाए ।

    बलिङतर्फ नेपालका जीतेन्द्र मुखिया र अविनाश बोहराले तीन तीन तथा सन्दीप लामिछानेले एक विकेट लिए । नेपालले तेस्रो स्थानका लागि बिहीबार ओमानसाग खेल्नेछ । जारी प्रतियोगिताबाट युएई र आयरलैण्ड अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटका लागि छनोट भएका छन् ।

    आयरलैण्डले आजै सम्पन्न दोस्रो सेमिफाइनलमा ओमानलाई ५६ रनले पराजित गरेको थियो ।

  • मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

     

    बागमती, १० फागुन –
    मकवानपुरमा आज भएको फरक फरक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    हेटौँडा–फाखेल–काठमाडौँ सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–२ मा भएको मोटरसाइकल दुर्घटनामा एक र पूर्वपश्चिम महेन्द्र राजमार्गको हेटौँडा मनहरि सडक खण्डमा भएको अर्को मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

    केहीबेर अघि हेटौँडाको बस्तीपुरबाट नेवारपानीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३– ००५प– १५०३ नंको मोटरसाइकल ना.५त ७३३८ नंको ट्र्याक्टरमा ठक्कर खाँदा मोटरसाइकल चालक स्थानीयवासी १७ वर्षीय सुदीप तितुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका तितुङको उपचारका क्रममा हेटौँडाको चुरेहिल अस्पतालमा मृत्यु भएको हो । त्यस्तै इन्द्रसरोवर गाउँपालिका–२ मा आजै भएको दुर्घटनामा एक जनाको मृत्युु भएको छ । कुलेखानी–फाखेल–काठमाडौँ सडक खण्डअन्तर्गत काठमाडौँदेखि इन्द्रसरोवर–२ कंलकीतर्फ जाँदै गरेको बा५७ प ८५७० नंको मोटरसाइकल कंलकी नजीक सुकौरा भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक सोही ठाउँका अन्दाजी ३३ वर्षीय दोर्जे लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मोटरसाइकल सडकबाट तीन सय मिटर तल खसेको थियो । लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । (रासस)

  • चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा भाले गोहीको अभाव

    चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा भाले गोहीको अभाव

    – कुलप्रसाद काफ्ले
    चितवन, फागुन १०-
    चितवन राष्ट्रिय निकुञ्जमा घडियाल गोही प्रजनन केन्द्र स्थापना गरेको ४३ वर्ष भयो । प्रजनन केन्द्र स्थापना गरेपछि यहाँ नारायणी नदीबाट गोहीका दुईवटा अण्डा ल्याएर भाले गोही कोरलिएको थियो ।

    दुईवटामध्ये एउटा भाले गोही १० वर्षअघि जुधेर मर्‍यो । अहिले प्रजनन केन्द्रमा एउटा मात्रै ४३ वर्षको बूढो भाले गोही छ । उसको प्रजनन क्षमतामा ह्रास आएपछि प्राकृतिक बासस्थानबाटै भाले लागेका गोहीका अण्डा ल्याएर बच्चा कोरल्ने र हुर्काउने गरिएको छ ।

    भाले गोहीको मुखमा सुँड निस्किने गर्छ । बाहिरबाट हेरेर गोहीको लिंग पहिचान गर्न नसकिने भएकाले सुँड हेरेर पहिचान गर्ने गरिन्छ । गोही पाँचदेखि छ वर्षको भएपछि मात्रै गोहीको मुखमा सुँड निस्के(ननिस्केको देख्न सकिन्छ ।

    प्रजनन केन्द्रमा भाले गोहीको अभाव भएपछि राप्ती र नारायणी नदीबाट भाले लागेका गोहीका अण्डा संकलन गरेर बच्चा कोरल्ने गरिएको हो । प्रजनन् केन्द्रमा विगत पाँच वर्षदेखि भाले गोहीको अभाव भइरहेको गोहीविज्ञ वेद खड्काले बताए । त्यसयता विभिन्न नदीबाट अण्डा प्रजनन केन्द्रमा ल्याएर बच्चा कोरल्ने गरिएको उनले जानकारी दिए । खड्का गोही प्रजनन केन्द्रका पूर्वप्रमुखसमेत हुन् ।

    ‘पोथीहरूले अण्डा पार्छन् तर बच्चाहरू निक्लिदैन । धेरैजसो बतासे अण्डा पारेको जस्तो छ । भालेकै कमजोरीले हो कि भन्ने छ । बुढो भएर प्रजनन् क्षमताका कमी आएको हो कि भन्ने अनुमान गरेका छौँ’, उनले भने ।

    यो भाले गोहीमा प्रजनन क्षमता राम्रो भएका बेला पोथी गोहीले वर्षमा तीन सयवटासम्म बच्चा पारेको उनले बताए । नेपालमा गोहीको प्रजनन् क्षमता परीक्षण गर्ने प्रविधि र चिकित्सक छैनन् । विदेशी गोहीविज्ञले गोहीको प्रजनन क्षमता परीक्षण गर्ने वा नयाँ भाले ल्याउनुपर्ने सुझाएको उनी बताउँछन् ।

    केही वर्ष पहिले बर्दियाबाट एउटा भाले गोही ल्याएर भेलौजीमा छाडिएको थियो । प्राकृतिक बासस्थानमा पाँचवटा भाले गोही रहेको उनी बताउँछन् । ‘प्राकृतिक बासस्थानमा हामीले छाडिएका भाले गोहीमा जीन क्षयीकरण हुन्छ । भरसक बाहिरबाटै ल्याउँ न भनेर मैले भनेको छु’, उनले भने ।

    मौसमको तापक्रमका आधारमा गोहीको बच्चा भाले वा पोथी निस्किने गर्छ । उनकाअनुसार ३० देखि ३२ डिग्री सेल्सियसको तापक्रममा भाले जन्मिने र त्यो भन्दा माथि र तल तापक्रम हुँदा पोथी गोही जन्मिन्छ । प्रजनन केन्द्रमा भाले गोहीको लागि आवश्यक तापक्रम कायम गरेर विभिन्न नदीमा भाले गोही छाड्ने गरिएको छ ।

    निकुञ्ज विभागबाटै गोही विशेषज्ञका रूपमा प्रजनन केन्द्रमा खटाइएका खड्काले नदीको प्राकृतिक बासस्थान नै गोहीमैत्री नरहेको बताउँछन् । गोहीले मुख्यगरी बालुवामा अण्डा पार्ने हो । ‘नदीको इको सिस्टम ब्यालेन्स छैन । किनभने नदीमा हुने ढलापडा काठ माछाको घर हो । माछा गोहीको आहारा हो । नदीमा बग्दै आउने काठ प्रयोगविहीन भनेर मान्छेले प्रयोग गर्ने गर्छन्’, उनले भने ।

    बगेर भारत पुग्छन् गोही

    चितवन राष्ट्रिय निकुञ्जले वर्षेनी नदीहरूमा घडियाल गोहीका बच्चा छाड्ने गर्छ । नदी नै गोहीको प्राकृतिक बासस्थान भएकाले निकुञ्जले २०३५ सालमा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । तर अहिलेसम्म जति गोही छाडियो त्यसको न्यून संख्यामा मात्रै नदीमा देखिएको निकुञ्जले बताएको छ ।

    नदीको पानीसँगै गोही बग्दै(बग्दै भारतसम्म पुग्ने तर फर्किन नसक्नु नै गोहीको संख्या बढ्न नसक्नुको प्रमुख कारण रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन् । नेपालका नदीमा छाडिएका गोही भारतको गंगा नदीसम्म पुग्ने गर्छन् । त्यसकारण ठूलो संख्यामा नदीमा गोहीका बच्चा छाडिए पनि अनुगमनका क्रममा न्यून संख्यामा मात्रै गोही फेला पर्ने गरेको उनी बताउँछन् ।

    प्रजनन केन्द्र स्थापनापछि हालसम्म राप्ती, नारायणी र कोसीमा गरी १६ सय ९२ वटा गोही छाडिसकिएको छ । ‘गण्डक ब्यारेज बनाउँदा गोहीलाई पुनः माथि आउन सक्ने खालको संरचना बनाउन नसक्दा पनि जति हामीले गोही छाड्यौँ त्यति संख्यामा हामीले फेला पारेका छैनौँ’, उनले भने । अनुगमनका क्रममा तीनवटा नदीमा करिब तीन सयवटा मात्रै गोही फेला परेको उनले बताए ।

    घडियाल गोहीलाई जोगाउन साँच्चिकै चुनौती रहेको उनी बताउँछन् । ‘यो बगेको स्वच्छ पानीमा बस्ने र माछा मात्रै खाने भएकाले पानीलाई प्रदूषणरहित बनाउन सक्यौँ भने यसको दिगो भविष्य सोँच्न सक्छौँ’, उनी भन्छन्, ‘त्यसका लागि निकुञ्जले मात्रै नभएर नदीको माथिल्लोदेखि तल्लो क्षेत्रसँग जोडिएका सरोकारवालाले नदी सरसफाइमा जोडिएर गोहीलाई जोगाउन सक्छौँ ।

    चालू आवमा राप्तीको कसरामा ४७, कोसीमा २०, जनकपुरघाटमा २० र नारायणीको दिव्यपुरीघाटमा २० गरी जम्मा १०७ वटा गोही प्राकृतिक बासस्थानमा छाडिएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं वन्यजन्तु प्रजनन् स्याहार तथा वन्यजन्तु उद्दार शाखाका प्रमुख सरोजमणी पौडेलले बताए । ‘गोही छाडेपछि वर्षेनी हामीले अनुगमन गरेका हुन्छौँ । दुई महिना अगाडि गरेको अनुगमनका आधारमा राप्ती र नारायणीमा करिब २५० वटा मात्रै गोही फेला पार्‍यौं’, उनले भने । नदीमा माछा मार्नेले तियारी जाल हाल्ने र त्यही जालमा फसेर गोही मर्ने पनि गरेका छन् ।

    गोहीको बासस्थानबाट ढुंगा, गिट्टी र बालुवा निकाल्दा गोहीको बासस्थान नष्ट हुने गर्छ । नदीमा विभिन्न प्रकारका घातक फोहोर फाल्दा नदी प्रदूषित बन्न पुगी गोहीको बासस्थानमा क्षति पुगेको उनी बताउँछन् । – न्युज कारखाना

  • एमसिसीका पक्षमा मतदान गर्न सकिँदैन भने सरकारमा बस्नुको अर्थ छैन : महामन्त्री गगन थापा

    एमसिसीका पक्षमा मतदान गर्न सकिँदैन भने सरकारमा बस्नुको अर्थ छैन : महामन्त्री गगन थापा

    चितवन, १० फागुन –
    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुन्छ भन्नुभयो ।

    उहाँले भन्नुभयो,“सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ । तरसँगै जान्छांै भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेरसँगै बसौं । फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन ।”

    हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीका विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै उहाँले छलफलपछि सबैले एमसिसीका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उहाँले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गर्नुभयो । एमसिसीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो,“यो सम्झौताको पक्षमा कांग्रेस किन उभियो भन्ने कुरा हामी जनता गएर भन्दछौँ । सिङ्गो पार्टी एमसिसीका पक्षमा छ । ” – रासस

  • तनहुँमा खेल पर्यटन प्रवद्र्धन गर्न अल्ट्रा म्याराथन

    तनहुँमा खेल पर्यटन प्रवद्र्धन गर्न अल्ट्रा म्याराथन

    तनहुँ, १० फागुन –
    व्यास नगरपालिकाले व्यास अल्ट्रा म्याराथन प्रतियोगिता गर्ने भएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले फागुन २८ गते सो खेल आयोजना गर्ने निर्णय गरेको हो ।

    खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले वर्सेनि अल्ट्रा म्याराथनको आयोजना गर्दै आएको हो । नगरपालिका–५ मानुङकोटदेखि नगरपालिका–८ सहीदग्राम सहीदपार्कसम्मको ४४ किलोमिटर दूरीमा सो प्रतियोगिता आयोजना गरिने भएको हो । मानहुँकोटलाई पर्यटकीय गन्तव्य बनाउने र पुलिम¥याङको सहीदपार्ककोसमेत विकासमा सघाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।

    हरेक वर्ष सहीद दिवसमा यो प्रतियोगिता आयोजना गर्दै आए पनि यसअघि कोरोनाका कारण स्थगित गरिएको थियो । ‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान’ भन्ने मूल नारासाथ प्रतियोगिता हुनेछ । नगरप्रमुख न्यौपानेले मानहुँकोट र पुलिम¥याङलाई पर्यटकीय गन्तव्य बनाउन सघाउने गरी प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

    राजमार्गको नजिक पर्ने भएकोले मानहुँकोट आन्तरिक पर्यटकमाझ निकै नै चर्चित छ । “तर, पुलिम¥याङ त्यति परिचित नभए पनि महत्वपूर्ण गन्तव्य हो”, उहाँले भन्नुभयो “अब मानहुँकोटको जस्तै प्रचार पुलिम¥याङको पनि गर्न जरुरी छ ।” त्यसैगरी महिला हाफ म्याराथन प्रतियोगिता दमौलीदेखि तनहुँसुरसम्म २०७८ फागुन २४ गते गरिने छ । (रासस)

  • बन्दीपुर केबलकारको टावर जडान सुरु, तीन महिनाभित्र सम्पन्न हुने

    बन्दीपुर केबलकारको टावर जडान सुरु, तीन महिनाभित्र सम्पन्न हुने

    दमौली, १० फागुन –
    तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम सुरु भएको छ । पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले टावर जडानको काम सुरु गरेको हो ।

    बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माका अनुसार तीनवटा टावर जडान सम्पन्न भएको छ । केबलकारका लागि कूल ११ वटा टावर जडान गरिनेछ । “तीन महिनाभित्र टावर जडान सम्पन्न गर्ने लक्ष्य लिएका छाँै, अहिले धमाधम काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

    केबलकार परियोजनाअन्तर्गत माथिल्लो स्टेशनमा पाँचतारे होटल पनि निर्माण भइरहेको छ । बीचमा कोभिडका कारण केही काम सुस्ताए पनि अहिले कामले तीव्रता पाएको शर्माले बताउनुभयो । उहाँका अनुसार तल्लो स्टेशनमा पनि पूर्वाधार निर्माणको काम भइरहेको छ । “कोभिडको प्रभावका कारण परियोजनाको काममा ढिलासुस्ती भयो, कोभिडको जोखिम कम हुँदै गएकाले समग्र कामलाई पनि तीव्रता दिएका छौँ”, उहाँले भन्नुभयो ।

    लिमिटेडले होटल र केबलकारको स्तरोन्नति गरेको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ । यसअगाडी केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पु¥याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु¥याइएको छ ।

    शर्माका अनुसार केबलकारको संरचनाको काम ९५ प्रतिशत सकिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइएको र कोभिड–१९ को प्रभावका कारण उक्त लक्ष्य प्रभावित भएको थियो । अब विसं २०७९ फागुन १ गते बटम स्टेशनको सम्पूर्ण काम र केबलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिनुभयो ।

    कम्पनीले विसं २०७९ वैशाख १ गतेदेखि होटललगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो । माथिल्लो स्टेशनको बहुआयामिक चारतारे होटलसहितको निर्माण सम्पन्न गरी विसं २०८० असोज १ गते परियोजना मूल योजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

    कम्पनीले त्यसभन्दा अगावै विसं २०७८ फागुन १ गते रेष्ट्रोजोन सञ्चालनमा ल्याउने भएको छ । “केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ”, शर्माले भन्नुभयो । उहाँका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेण्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ ।

    यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडीः बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभाउने विश्वास गरिएको शर्माले बताउनुभयो । यसैगरी वाटरपार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ ।

    बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केवलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ ।

    आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्शन प्रालि, पन्चासे केबलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केवलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो, जहाँ एक हजार १०० भन्दा बढी लगानीकर्ता रहेका छन् । (रासस)