Category: Banner तल ताजा समाचार

  • गहिरो श्वास लिनुका फाइदैफाइदा

    गहिरो श्वास लिनुका फाइदैफाइदा

    एजेन्सी, फागुन ८ –
    दैनिक केही समय गहिरो श्वास लिनाले तपाईंको स्वास्थ र जीवनशैलीमा धेरै सुधार हुन्छ । जब तपाईं चिन्तित या हैरान बन्नुहुन्छ, तब तपाईंको मुटुको धड्कन लगातार छिटो हुन्छ । रगतको प्रवाह तपाईंको मुटु र मस्तिष्कतर्फ बढ्छ ।

    यसबाट बच्नका लागि गहिरो श्वास लिने अभ्यास तपाईले दैनिक गर्नुपर्छ । चाहे तनाव होस् वा नहोस् । यसबाट २४ देखि ४८ घण्टामै मन र शरीरलाई आराम मिल्छ । निद्रा राम्रो आउँछ । सबैभन्दा महत्त्वपूर्ण पक्ष रोगसँग लड्ने क्षमता बलियो हुन्छ ।

    शरीरबाट विषालु तत्त्व घट्छ

    बिस्तारै, गहिरो, लामो श्वास लिना शरीर डिटोक्सिफाईड हुन र शान्त भाव पैदा हुन सहयोग मिल्छ । राम्रो निद्रा लाग्छ । यदी अनिद्राको गुनासो छ भने सुत्नुभन्दा पहिले गहिरो श्वास लिनुस् । कार्बन डाइअसक्साइड (प्राकृतिक विषाक्त फोहर) श्वासमार्फत नै बाहिर आउँछ । छोटो श्वासले फोक्सोलाई कम प्रतिक्रिया गर्छ । अन्य अंगबाट पनि यस फोहोरलाई निकाल्नका लागि कडा मेहिनत गर्नुपर्छ ।

    इम्युनिटी बलियो हुन्छ

    गहिरो श्वास लिनाले ताजा अक्सिजन मिल्छ र विषाक्त पदार्थ तथा कार्बनडाइअक्साइड बाहिर निस्कन्छ । जब रगत अक्स्जिनेटेड हुन्छ, तब शरीरको प्रतिरक्षा प्रणाली मजबुत हुन्छ । शरीरका महत्वपूर्ण अंगले ठिक रुपमा काम गर्छन् टक्सिन मुक्त र स्वस्थ रगतको आपूर्तिले संक्रमण फैलाउने किटाणुहरू जरैदेखि माग्छन् ।

    दुखाई महसुस कम हुन्छ

    जब तपाई गहिरो श्वास लिनुहुन्छ, तब शरीरले एन्डोर्फिन बनाउँछ । यो राम्रो हर्मोन तथा शरीरद्वारा बनाइएको एक प्राकृतिक पीडा निवारक हो ।

    तनाव कम हुन्छ

    गहिरो श्वास लिनाले चिन्ताजनक विचार र घबराहटबाट छुटकारा मिल्छ । हृदयको गति सुस्त हुन्छ । यसबाट शरीरले धेरै अक्सिजन पाउँछ । हर्मोन सन्तुलित हुन्छ । कोर्टिसोलको स्तर कम हुन्छ । कोर्टिसोल स्ट्रेस हर्मोन हो । जब कोर्टिसोलको स्तर निकै अधिक समयसम्म रहिरहन्छ, तब यसले अधिक नोक्सान पु¥याउँछ ।

    रक्त प्रवाह ठिक हुन्छ

    डायफ्रम माथि र तल हुँदाह रक्त प्रवाहको गति बढ्छ । यसबाट विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुग्छ । – स्रोत : दैनिक भास्कर

  • ब्राजिलमा बाढी : १४६ जनाको मृत्यु, १९१ हराए

    ब्राजिलमा बाढी : १४६ जनाको मृत्यु, १९१ हराए

    साओ पाओलो, ८ फागुन –
    ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४६ पुगेको बताइएको छ । यहाँ गएको पाँच दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ । यहाँका स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएका बताइएको छ ।

    शनिबार पाँचौ दिन पनिपनि वर्षा जारी छ । यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।यहाँ भारी मात्रामा वर्षा भएको बताइएको छ । सबैभन्दा बढी क्षति पेटोपोलिस सहरमा भएको यहाँका उद्धारकर्मीहरुले जानकारी गराएका छन् ।

    शनिबारसम्मा यो बाढीमा परेर कम्तीमा पनि १९१ जना हराइरहेका बताइएको छ । रियो डि जेनेरियोको उत्तरी क्षेत्रमा पनि बाढीले असर गरेको छ । यहाँ सन् १९३२ पछिको सबैभन्दा बढी वर्षा भएको छ । वर्षात्का कारण यहाँ मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ ।

    बाढी तथा डुबानका कारण करिब दर्जनौँ घर क्षतिग्रस्त भएका र सयौँ जनालाई प्रायजसो विद्यालयहरूमा आश्रय दिइएको बताइएको छ । विशेषज्ञहरूको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ ।
    सन् २०११ को जनवरीमा भारी वर्षाका कारण यस क्षेत्रमा ९०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो । जसले गर्दा पेट्रोपोलिस र छिमेकी सहरहरू नोभा फ्रिबर्गो र टेरेसोपोलिसलगायतका ठूलो क्षेत्रमा बाढी र पहिरो गएको थियो ।
    यहाँका राष्ट्रपति जयर बोलोस्नारोले शुक्रबार सो बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको थियो । उहाँले सो क्षेत्रमा निकै क्षति पुगेको बताउँदै आफूले आफ्नो जीवनमा बाढीको यस्तो वितण्डा कहिल्यै नदेखेको बताउनुभएको छ ।

    ब्राजिलका अधिकारीहरुले यहाँ अरु केही व्यक्ति हराएका छन् । त्यस्तै सयौँ व्यक्तिलाई उद्धार गरिएको छ । वर्षा जारी नै रहेको पनि अधिकारीहरुले जनाएका छन् । (रासस/सिन्ह्वा)

  • उम्मेदवारी दर्ताका लागि स्थानीय तहका जनप्रतिनिधिको राजीनामा पत्र अनिवार्य

    उम्मेदवारी दर्ताका लागि स्थानीय तहका जनप्रतिनिधिको राजीनामा पत्र अनिवार्य

    खोटाङ, ८ फागुन –
    निर्वाचन आयोगले पदमा बहाल रहेको अवस्थामा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिन नपाउने गरी आचारसंहिता मस्यौदा तयार गरेको छ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले यस्तो मस्यौदा तयार गरेको हो ।

    स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३३ को ९ग० मा नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

    त्यसै गरी सोही दफाको (घ) मा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति पनि उम्मेदवार हुन नपाउने प्रावधान रहेको छ ।

    सोही व्यवस्थाअनुसार आचारसंहितामा बहालवाला जनप्रतिनिधि पुनः उम्मेदवार बन्न नपाउने, उम्मेदवारी दिनुपरे राजीनामा दिनुपर्ने व्यवस्था गर्न लागिएको हो । आयोगका अनुसार जनप्रतिनिधिले उम्मेदवारी दर्ताका क्रममा राजीनामापत्र दर्ता गरेको निस्सासमेत प्रमाणको रूपमा पेस गर्नुपर्नेछ । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो । (रासस)

  • सूचना प्रविधि प्रयोगशालामा आगजनी

    सूचना प्रविधि प्रयोगशालामा आगजनी

    मलङ्गवा, ८ फागुन –
    बसबरिया गाउँपालिका–४ धनगढास्थित श्री पञ्चायत आर्दश माध्यमिक विद्यालयको सूचना प्रविधि प्रयोगशालामा अज्ञात समूहले शनिबार आगजनी गरेको छ ।

    ढोकाको ताल्चा फुटाइ गरिएको आगजनीबाट २४ कम्प्युटर जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । ती कम्प्युटरमध्ये सातवटा पूर्णरूपमा जलेको छ भने अन्यमा आंशिक क्षति पुगेकोे छ । आगजनी गर्ने समूहले केही थान मोनिटरलगयत केही उपकरणसमेत चोरेर लगेको प्रहरीले जनाएको छ ।

    यसअघि विसं २०७० मा पनि विद्यालयको कार्यालयमा आगजनी गरिएको थियो । साथै एकपटक तल्चा फुटाएर विद्यालयको अफिसमा चोरीसमेत हुँदा विद्यालय प्रशासनले सुरक्षामा कुनै चासो नलिएको स्थानीयवासीको आरोप छ ।

    घटना सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक नरेन्द्रकुमार मैरवैताले जानकारी दिनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा दुई वर्षअघि सो विद्यालयमा सूचना प्रविधि प्रयोगशालाको स्थापना गरिएको थियो । प्रयोगशाला स्थापनाका लागि २४ कम्प्युटरलगायत आवश्यक उपकरणका साथै विभिन्न सामग्री विद्यालयाई हस्तातरण गरिएको थियो । (रासस)

    तस्विर : प्रतिकात्मक

  • रत्ननगरका किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान

    रत्ननगरका किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान

    चितवन, ८ फागुन –
    जिल्लाको रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । प्राङ्गारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन सुरु गरेको हो । मलमा अनुदान दिन नगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ ।

    नगर क्षेत्रमा एक टेलर मलको रु तीन हजारदेखि रु तीन हजार ५०० सम्म पर्ने गरेको छ । नगरपालिकाले एक टेलर मल खरिदमा रु एक हजार ५०० उपलब्ध गराउने भएको छ । एक बिघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन् । एक बिघा जग्गाका लागि गोबर मल खरिद गर्न किसानले रु छ हजार अनुदान रकम पाउने नगरप्रमुख नारायण वनले बताउनुभयो ।

    नगरपालिकामा सूचीकृत भएका पशुपालन फार्मबाट किसानले गोबर मल खरिद गर्नुपर्ने छ । त्यसका लागि अहिलेसम्म १० वटा पशुपालन फार्म सूचीकृत भएका छन् । वनले रासायनिक मलको प्रयोग घटाउन गोबर मल खरिदमा अनुदान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानलाई अनुदानमा गाई दिएका छौँ, पशुपालनलाई कृषिसँग जोडेर उत्पादन बढाउने हाम्रो लक्ष्य हो ।” अन्नबालीमा रासायनिक मलको प्रयोगका कारण प्राणघातक रोगको शिकार हुनुपरेको भन्दै अग्र्यानिक उत्पादन गरेर स्वास्थ्य सुरक्षा गर्ने अर्को उद्देश्य रहेको उहाँको भनाइ छ ।

    नगर उपप्रमुख विमला दुवाडीले बाली लगाउने बेला हुने मलको हाहाकारबाट किसानलाई मुक्ति दिलाउन गोबर मलमा अनुदान दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकातिर गोबर नबिक्ने, अर्कातर्फ खेती गर्ने किसानले मल नपाउने समस्या छ, यसले समस्या समाधान हुन्छ ।” नगरपालिकाले कृषि क्षेत्रका विविध शीर्षकमा अनुदान दिँदै आएको छ । यसअघि गाई खरिद, दूध, मेसेरेनरी, सिँचाइलगायतमा अनुदान दिँदै आएको छ । (रासस)

  • पेट्रोलको मूल्यमा ३ रुपैयाँ वृद्धि

    पेट्रोलको मूल्यमा ३ रुपैयाँ वृद्धि

    चितवन, फागुन ७ –

    नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो ।

    नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा घाटा भएपनि मूल्य नबढाइएको निगमले जानकारी दिएको छ ।

    अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु.५.६१ ले बढेको, डिजेल रु.५.६२ ले बढेको र हवाई इन्धन रू. ४.९५ ले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करीब रू. २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको भनाइ छ ।

    मूल्य समायोजनलनिगमको १५ दिनको जम्मा घाटा करिब रू. २ अर्व ४० करोडबाट करिब रू. २५ करोडले घटी अझै करीब रू. २ अर्ब १५ करोड घाटा यथावत नै रहने निगमले जनाएको छ ।

  • फिलिपिन्सविरुद्धको खेलमा नेपाल विजयी, १२६ रनको अन्तर

    फिलिपिन्सविरुद्धको खेलमा नेपाल विजयी, १२६ रनको अन्तर

    काठमाडौं, फागुन ७ –

    टी२० विश्वकप छनोट अन्तरगत दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनको विशाल अन्तरले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा सीमित बनेको हो । रनको हिसाबले नेपालको यो तेस्रो ठूलो जीत हो ।

  • चितवनका ११ सहित देशभर ५०१ जना कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी

    चितवनका ११ सहित देशभर ५०१ जना कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी

    – विनिता रेग्मी
    चितवन, ०७८ फागुन ७ –

    प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका ११ कैदीबन्दीको सजाय मिनाहा गरेकी छिन् ।

    सरकारको सिफारिसका आधारमा प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीले चितवनसहित देशभरका ५०१ कैदीबन्दीको सजाय मिनाहा र १२ जनालाई आममाफी दिएकी हुन् ।

    यससँगै चितवन कारागारमा अब तीन आश्रित बालिकासहित ७१९ कैदीबन्दी रहेका छन् । तीमध्ये ५५ महिला र ६६१ पुरुष कैदीबन्दी रहेका छन् ।

    सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेश समेतको आधारमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४) लागुहुनु पूर्व गरेको कसुरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।

  • ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

    ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

    ब्राजिल [ब्राजिल], ७ फागुन, 
    दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।

    स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या झण्डै दोब्बर भएर २०० भन्दा बढी पुगेको बताएको छ । मङ्गलबारको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घरहरू ध्वस्त भएका थिए । शुक्रबार दिउँसो प्रकोप क्षेत्रमा उडेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले यो घटनाको दृष्य “युद्ध दृश्य” जस्तो देखिन्छ भन्दै मन्त्रीहरूलाई उद्धारका रचनात्मक उपाय अवलम्बन गर्न निर्देशन दिनुभएको थियो ।

    अग्निनियन्त्रकहरूले विपद्को चार दिन पछि पनि मानिसहरूलाई जीवितै उद्धार गर्न सम्भव भएको बताएका छन् यद्यपि प्रतिकूल मौसमका कारण भग्नावशेष सार्न भारी मेसिनरी प्रयोग गर्न गाह्रो भएकाले उद्धार प्रयासहरू सुस्त छ।

    ब्राजिल सरकारले प्रभावित क्षेत्रका लागि आपतकालीन राहतका लागि करिब ५० करोड रियास (लगभग ९५ मिलियन अमेरिकी डलर) घोषणा गर्ने अपेक्षा गरिएको छ। (रासस-एएनआई/सिन्ह्वा)

  • चितवनमा थप १० जनामा संक्रमण पुष्टि,  ६४ जना निको, एक जनाको मृत्यु

    चितवनमा थप १० जनामा संक्रमण पुष्टि, ६४ जना निको, एक जनाको मृत्यु

    चितवन, फागुन ७–
    चितवनमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार २६२ जनामा गरिएको पिसिआर परीक्षण र २६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १० जनामा पोजिटिभ देखिएको हो ।

    यससँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४०० पुगेको छ । तीमध्ये ३८० संक्रमित होम आइसोलेसनमा छन् भने २० संक्रमित अस्पताल आइसोलेसनमा रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा ६४ संक्रमित संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

    चितवनमा हालसम्म ३३ हजार ४९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३२ हजार ६४७ संक्रमित संक्रमणमुक्त भइसकेका छन् । हालसम्म ४४८ संक्रमितको मृत्यु भएको छ ।