Category: Banner तल ताजा समाचार

  • खानेपानीको सङ्कट बढ्दैः स्थानीयवासी चिन्तित

    महोत्तरी, २४ चैत-
    मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरीक्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् ।

    चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरीक्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । पानीका मुहान धमाधम सुक्न थालेपछि जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो ।

    नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि चैतमै खानेपानीको सङ्कट बढेको यहाँका बासिन्दाले बताएका हुन् । सामान्यतया अत्यन्त राप बढ्ने वैशाख र जेठमा खानेपानीको समस्या भोगिँदै आए पनि यसपालि भने मध्यचैतपछि नै पानीका मुहान सुक्दै गएका हुन् । अब असारमा राम्रो वर्षा नहउञ्जेल खानेपानीको हाहाकार बढ्दै जाने यस भेगका बासिन्दा बताउँछन् ।

    “देशमा ठूलावडालाई चुनावी रन्को छ, हामीलाई पानी खान नपाइने हो की भन्ने चिन्ता छ”, भङ्गाहा नगरपालिका–४ टोका बस्तीका राजकुमार दासले भन्नुभयो, “इनारको पानी रसातलमा पुगिसक्यो, राम्ररी डोल (बाल्टिन डुब्न खोज्दैन, चापाकलले त मध्य चैतअघि नै जवाफ दिईसके ।” चैत नबित्दै पानीको यो हाहाकारले वैशाख÷जेठ कसरी टर्ने हो, सम्झेरै अत्यास लाग्ने उहाँले बताउनुभयो । भङ्गाहा नगरक्षेत्रका ४ र ५ नं वडा बस्तीमा वर्षेनि गर्मीयाममा खानेपानीको सङ्कट पर्दै आएको छ । “हामीले थाहा पाउँदै १५ हातभन्दा बढी इनार खन्न सकिदैनथ्यो, पानीको मुल भेटिन्थ्यो, अब त ती पुराना इनार सबै सुके”, भङ्गाहा–४ कै ६० वर्षीय हरिदेव साहले प्रश्न तेस्र्याउँदै भन्नुभयो, “किन होला पानीका मुहान गहिरिएका ?”

    चुरे पहाडी काछका बस्तीमा पनि खानेपानीको समस्या बढेको छ । जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या बढेको काछवासी बताउँछन् । चुरे पहाडी काछमा बर्दिबास नगरपालिका–३, ४, ५, १० र ११ नम्बर वडामा ३० भन्दा बढी बस्ती छन् । पाखाबस्तीका सबैको गर्मीयाममा खानेपानी सङ्कट झेल्नु समान पीडा बनेको छ । “एक दशकअघिसम्म यहाँका जरुवा कहिल्यै सुक्दैन्थें, पछिल्ला केही वर्षयता नदी, पाखा र बगरपर्ति जग्गामा बालुवा ढुङ्गा झिक्न ठूलठूला यन्त्र चल्न थालेपछि मुहान सुक्दै गएका हुन्”, बर्दिबास–१० खयरमाराका सामाजिक, राजनीतिक कार्यकर्ता प्रेमध्वज लामाले पानीका मुहान सुक्दै जानुको कारणबारे भन्नुभयो, “वन उजाडिँदै जानु र अवैध उत्खनन नियन्त्रण हुन नसक्दा पानीका मुहान चाँडै सुक्ने गरेका हुन् ।”

    बर्दिवास–१, २, ३ र १४ का सघन सहरी बस्तीमा धाराबाट पनि खानेपानी झर्न निकै कम भएको बर्दिबास–२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले बताउनुभयो । “हाम्रो यताका धारामा पानी कहिल्यै सुक्दैनथ्यो”, केही वर्ष पहिलेको अनुभव प्रष्ट्याउँदै उहाँले भन्नुभयो, “पछिल्ला तीन÷चार वर्षदेखि गर्मीयाममा पानी झर्न कम भएको छ ।” त्यसैगरी खानेपानीको स्रोत इनारमात्र भएका बर्दिवास नगरपालिका–८ को हाथीलेटमा पर्ने विजयबस्तीमा पनि इनारको पानी सुक्दै गएपछि त्यहाँका बासिन्दा समस्यामा परेका छन् ।

    यस बाहेक हाथीलेट बस्तीमा पनि खानेपानीका धारामा पानी निकै कम झर्न थालेको स्थानीय बासिन्दा होमबहादुर श्रेष्ठले बताउनुभयो । बर्दिवासकै किसाननगर, विजलपुरा, मनहरिपुर, प्रेमनगर र पशुपतिनगरसहितका बस्तीमा धमाधम चैतमध्यमै इनार सुक्न थालेपछि वैशाख, जेठमा के हालत हुने हो भन्दै त्यहाँका बासिन्दामा पिरोलो बढेको छ ।

    यस्तै गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिया र रामनगर एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर, भूचक्रपुर, धतियाटोल र रामनगरसहितका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि चैत अन्तिम नहुँदै खानेपानीको सङ्कट बढेको हो । बर्दिवास–८ हाथीलेटको विजयबस्तीमा ५५ घरकाबीच रहेको एउटा इनार पनि चैतको दोस्रो सातामै सुक्न थालेपछि अब खानेपानीका लागि के गर्ने भन्ने चिन्ताले त्यहाँका बासिन्दा पिरोलिएका छन् । “पहिले÷पहिले पनि इनार त सुक्थे”, विजयबस्तीकी गृहिणी मनमायाले भन्नुभयो, “जेठसम्म पानी नपर्दा इनार सुक्ने त ब्यहोरिएको थियो, पछिल्ला दुई÷तीन वर्षदेखि त चैतमै इनार सुक्न थालेका छन् ।”

    बस्तीका ५५ घरका बासिन्दा पानी भर्न इनारमा पुग्दा इनारभित्र पानीका लागि झारिएका डोल (बाल्टिन) पानीमा डुब्न छाडेको सो बस्तीका गृहिणी बताउँछन् । “बाल्टिनभरि पानी आउँदैन, बाल्टिनमा तानिएको आधाउधी पानी पनि एकैपटक इनारभित्र झारिएका १५÷१६ वटा डोल ठोक्किँदा अलिकति पानीमाथि आइपुग्छ”, बस्तीकै अर्की गृहिणी सुभग्यादेवीले भन्नुभयो, “चैतमै यो हालत छ, जेठसम्म के होला ?”

    पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यी तीनवटै नगरपालिका (बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका) बस्तीका बासिन्दाको भनाइ छ । त्यसअघि लामो खडेरी पर्दा २०५४ सालको जेठमा केही इनार सुकेका सँम्झदै बर्दिवास–६ कृष्णपुरका सामाजिक कार्यकर्ता राजु महतोले पाँच वर्षयताभने इनार चैतमै सुक्न थालेका बताउनुभयो । आफ्ना वरिपरिका इनारहरु धमाधम सुकेपछि यसक्षेत्रका बासिन्दा खानेपानीको जोहो गर्न टाढा–टाढा पुग्नु परेको छ । सरदर ५० फिट गहिराइका ५० प्रतिशत इनारको पानी तल्लो गोल (इनार बनाउँदा लगाइने सिमेण्ट, छड लगाएर बनाइएको रिङ्ग) मा पुगी सकेको बर्दिवास–९ पशुपतिनगरका सामाजिक, राजनीतिक कार्यकर्ता सुरजसिंह कुशवाहाले बताउनुभयो ।

    बस्तीका इनार र चापाकल धमाधम सुकेपछि खानमात्र नभई न्वाइध्वाइसँगै बस्तुभाउलाई पानी ख्वाउनसमेत निक्कै सकस परेको भङ्गाहा–४ का बासिन्दाको गुनासो छ । भङ्गाहाको करिब ५०० घरधुरी बसोबास रहेका रामनगर बस्तीका २५ प्रतिशतभन्दा बढी इनार र चापाकल सुकी सकेका सो बस्तीका भरत यादबले बताउनुभयो । इनारहरु धमाधम सुकेपछि सिचाइँको अर्को विकल्प नभएका आफूहरुको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको रामनगर बस्तीकै अर्का किसान नारायण दाहालको दुखेसो छ ।

    यसपालि राम्ररी हिउँदे वर्षा नभएको, नदी क्षेत्रमा वालुवा ढुङ्गा उत्खनन् गर्नेहरुले ठूलठूला गहिरा खाल्डा बनाएका र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिँदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिदै गएर चैतमध्यमै खानेपानीको हाहाकार मच्चिन लागेको विज्ञहरु बताउँछन् । “हामी प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापर्वाही गयौं”, महोत्तरीमा वर्षौंदेखि जलाधार क्षेत्र र चुरे संरक्षण अभियानमा जोडिँदै आउनुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेब यादवले भन्नुभयो, “नदीहरुको अनियन्त्रित दोहन, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो सङ्कट बढ्दै जानेछ ।”

    स्थानीय तहको निर्वाचन सम्पन्न भएर २०७४ यता जनप्रतिनिधिहरुले काम गर्न थालेपछि खानेपानीका थुप्रै योजना बनेर धमाधम इनार खनिएपनि खानेपानीको समस्या भने झन्झन् बढ्दै गएको छ । इनार धमाधम खनिएपनि खानेपानीका स्रोत र मुहानको संरक्षण हुन नसक्दा नयाँ खनिएका इनार पनि चैतमध्यमै सुक्दै गएका विज्ञ बताउँछन् । चुरे क्षेत्रका खोल्साखोल्सी, वनक्षेत्र , नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएका र खनिने इनारमा पनि यिनै स्रोतको प्रभाव हुने भएकाले यिनको संरक्षण एवम् उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुङ्गिने भङ्गाहा–७ का बासिन्दा वन, वातावरण र चुरे विज्ञ डा. विजयकुमार सिंहले बताउनुभयो ।

    विगतमा राष्ट्रपति चुरे संरक्षण अभियानमा संलग्न रहनु भएका डा. सिंहले यस भेगका सबै स्थानीय तहको नेतृत्वलाई प्राकृतिक सम्पदाको उपयोग र संरक्षण नीति स्पष्ट बनाउन अपिल पनि गर्नुभयो । यसपालि हुन लागेको स्थानीय तह निर्वाचनमा मुख्य मुद्दा यो बन्नुपर्नेमा उहाँको जोड छ । पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट वालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनास बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिदा खोपानीका मुहान चाँडै सुक्न थालेका विज्ञहरुको भनाइलाई स्थानीय तहले भने वास्ता नगरेका सर्वसाधारणको गुनासो छ ।

    यता स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षण र उपयोग नीतिको स्पष्ट खाका बनाउन बेखबर नभएको बताएका छन् । “हामी प्राकृतिक सम्पदाको संरक्षण र यसको दीर्घकालीन उपयोेग कसरी गर्न सकिन्छ भन्ने कुरामा गम्भीर भएका छौं”, बर्दिबास नगरपालिकाका प्रमुख बिदुरकुमार कार्कीले भन्नुभयो, “विकास र पूर्वाधार निर्माणका योजनामा प्राकृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।”

    स्थानीय तहले खानेपानीका समस्या समाधान हुने बताउँदै आए पनि प्राकृतिक सम्पदाको उपयोग नीति स्पष्ट नपारेसम्म समस्या समाधान हुन नसक्ने विज्ञहरु बताउँछन् । (रासस)

  • वर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना

    वर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना

    बागमती, २४ चैत-
    मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ । उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुँमागार्इंले उद्घाटन गर्नुभयो ।

    कुुखुरामा वर्डफ्लु रोग देखिएपछि त्यसको रोकथामका लागि चेकपोष्ट स्थापना गरिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । सो अवसरमा मन्त्री हुमागार्इंले वर्डफ्लु रोगका कारण कुखुरा व्यवसायी समस्यामा परेको उल्लेख गर्दै उक्त रोग नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको छ भन्नुभयो ।

    कार्यक्रममा निर्देशनालयका निर्देशक मुगलप्रसाद शाह, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरेलगायतको उपस्थिति रहेको थियो । (रासस)

  • नेप्सेमा दोहोरो अंककाे सुधार

    नेप्सेमा दोहोरो अंककाे सुधार

    काठमाडाैं, २४ चैत-
    यस हप्ता लगातार चार दिन घटेको बजार पाँँचाैं दिन बिहीबार भने दोहोरो अंकले उकालो लागेको छ । ३५ दशमलब ६९ अंकले बजार उकालो लाग्दा २४ सय ६४ दशमलब ३६ बिन्दुमा आएर बजार बन्द भएको छ ।

    बजार उकालो लागे पनि कारोबार रकममा भने खासै उल्लेखनीय सुधार आएको छैन । २२४ वटा कम्पनीको सेयर कारोबार हुँदा कारोबार रकम भने दुई अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । २२४ वटा कम्पनीमध्ये १९० वटा हरियो २७ वटा रातो र सातवटा भने स्थिर रहेका छन् ।

    बजार उकालो लाग्दा नेश्डो लघुवित्त र हिमालयन पावर दुई कम्पनी सर्किट लेबलमा कारोबार भएका छन् । नेश्डो लघुवित्तको अन्तिम कारोबार १७ सयमा र हिमालयनको भने ४६२ रुपैयाँमा भएको छ । यसैक्रममा नेपाल दूरसञ्चारको शेयर मूल्य भने ६२ अंकले बढ्दा अन्तिम कारोबार ११३० मा भएको छ ।

    अत्याधिक घट्नेमध्ये राष्ट्रिय उत्थान ७ दशमलव ७१ प्रतिसतले घट्दा १५ सय ३२ मा कारोबार भएको छ भने इमजिन नेपाल ६ दशमलव ६१ प्रतिशतले घट्दा १११२ मा अन्तिम कारोबार भएको छ ।

    बजारमा सबैभन्दा धेरै कारोबार हुनेमध्ये नबिल बैंक ७ करोड ३८ लाख बराबरको भने प्राइम बैंक ६ करोड ७१ लाख बरबरको सेयर कारोबार भएको छ । अत्याधिक बढ्ने क्रममा भने ३ दशमलब ५९ प्रतिशतले अन्य इन्डेक्स र १ दसमलब ७ प्रतिसतले डेभलपमेन्ट बैक इन्डेक्स उकालो लागेको छ ।- न्युज कारखाना

  • नम्रता श्रेष्ठ भन्छिन्- विनय र सारुकसँग जोडिन पाउँदा खुसी लागेको छ

    नम्रता श्रेष्ठ भन्छिन्- विनय र सारुकसँग जोडिन पाउँदा खुसी लागेको छ

    काठमाडौं, २४ चैत-
    सन् २००८ मा बनेको फिल्ममार्फत विनय श्रेष्ठ र नम्रता श्रेष्ठले नेपाली फिल्ममा पाइला टेके । डिजिटल फर्म्याटमा निर्माण भएको दोस्रो फिल्म भएकाले पनि यसले राम्रो चर्चा पायो । म्युजिक भिडियोमा निकै नाम कमाएका आलोक नेम्वाङले निर्देशन गरेको फिल्मले सहर केन्द्रीत हलमा सन्तोषजनक नै व्यापार गर्यो ।

    विशेषतः नेपालभर डिजिटल प्रविधि नभएकाले पनि धेरै स्टेसनमा फिल्म प्रदर्शन भएन । तर, विनय र नम्रताको राम्रै चर्चा भयो । उनीहरूसँगै कार्मको पनि प्रशंसा भयो । तर, त्यसपछि यो जोडीलाई दर्शकले देख्न पाएका छैनन् । आउँदो वर्षसम्म विनय र नम्रतालाई भने ‘ग्रहण’ फिल्ममा दर्शकले देख्न पाउनेछन् ।

    ‘हामीले किन काम गरेनौ भन्दा पनि साइत जुरेन । हामीलाई लिएर केही फिल्म अफर भएका थिए, तर त्यो विविध कारणले बनेनन्,’ नम्रताले भनिन्, ‘म विनय दाईसँग फिल्म गर्दैछु तर कर्मासँग पनि फिल्म भएको छैन । विनयसँग यसपटक कथा मिलेको छ । मैले आफ्नो क्यारेक्टरको बारेमा धेरै खुलाउन मिल्दैन । मेरो क्यारेक्टर एरियल योगा इन्स्ट्रक्टरको हो ।’

    विनय फिल्ममा कलाकारसँगै कार्यकारी निर्माता पनि छन् । ‘राजीवजी (निर्देशक) को कुरा सुनेर म पनि फिल्ममा अनुबन्धित भएको हुँ । उहाँ नयाँ हुनुहुन्छ केही गर्छु भनेर आउनु भएको छ । हामीले सघाउनुपर्छ,’ विनयले भने । उनले फिल्ममा आफू नम्रताको लभ इन्ट्रेस्ट भएको बताए । ‘राजीवजीले कथा लेख्दा नै मलाई र नम्रतालाई हेरेर कथा लेख्नु भएको रैछ । र, हामी पनि मन परेर जोडिएका हौँ,’ विनयले भने ।

    फिल्ममा सारुक ताम्राकार पनि छन् । उनले नम्रताको ब्वाईफ्रेन्डको क्यारेक्टर निर्वाह गर्नेछन् । ‘म प्रोटागोनिस्टको ब्वाइफ्रेन्डको क्यारेक्टरमा छु । उहाँहरूसँग प्रोजेक्टमा जोडिन पाउँदा निकै उत्साहित छु । प्रोजेक्ट प्लानिङमै पनि मैले राम्रो उहाँहरूबाट सिकिरहेको छु,’ उनले भने ।

    राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किमस्थित गान्तोकमा यसै साता मात्र घोषणा गरिएको थियो । ‘फिल्मको कथा सिक्किमसँग जोडिएकाले नै सिक्किममै पुगेर घोषणा गरेका हौँ । फिल्मका लागि सिक्किमकै एउटा लिड क्यारेक्टर खोजिरहेका छौँ,’ राजीवले भने । अमेरिकाबाट फिल्मसम्बन्धी अध्यन गरेर नेपाल फर्किएका राजीवले फिल्मलाई स्तरीय बनाउन र कथा सुहाउँदो पात्र छनोट गर्दा विनय, नम्रता र सारुक परेको बताए ।

    थ्रिलर ड्रामा जनरा रहने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने भएको छ । भारतको सिक्किम र नेपालमा छायांकन हुने फिल्मले दुवैै देशको पर्यटनमा सघाउने विश्वास उनको छ । ‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्ने भएका छन् । फिल्ममा हरि हुमागाईंको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन, विशाल सापकोटाको स्क्रिप्ट र स्क्रिनप्ले रहेको छ भने यसको स्टोरी निर्देशक गुरुङको छ ।- न्युज कारखाना

     

  • सर्लाहीमा छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो बालकको शव

    सर्लाहीमा छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो बालकको शव

    मलङ्गवा, २४ चैत-
    सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ ।

    मलङ्गवा नगरपालिका–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षीय छोरा आकाश ठाकुर भनिने मिठुको शव आज बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा भेटिएको हो ।

    आकाश गत चैत २० गते आइतबार राति ८ बजेदेखि हराएका थिए । बालक हराएको सम्बन्धमा सोही राति ११ बजे मृतकका परिवारले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो । बालकको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा ल्याइएको छ । प्रहरीले बालकको हत्यामा संलग्न भएको आरोपमा जगदीश ठाकुरसहित उनका परिवारका सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

    घटना अनुसन्धानमा खटिएको प्रहरी टोलीले जगदीश ठाकुरसहितलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनैले बालकको शव देखाएको मलङ्गवा–१२ गम्हरीयाका वडा अध्यक्ष रामदरश रायले जानकारी दिनुभयो । जगदीशका परिवारले बालकलाई बन्धक बनाएर तीन दिनअघि नै आफ्नै घरको माथिल्लो तलामा हत्या गरेर बोराभित्र शव राखेर सेफ्टी ट्याङ्कीभित्र लुकाएको वडाध्यक्ष रायले बताउनुभयो ।

    बालकको शव सेफ्टी ट्ययाङ्कीभित्र लुकाएर माटोले लिपिएको अवस्थामा फेला परेको उहाँले जानकारी दिनुभयो । ‘मृतक बालकका परिवारसँग रु १५ लाख फिरौतीसमेत माग गरिएको थियो”, वडाध्यक्ष रायले भन्नुभयो, “फिरौतीका लागि बालकको अपहरण गरिएको थियो तर पोल खुल्ने डरले बालकको हत्या गरिएको रहेछ ।”

    छोरो हत्याको घटना सुनेर उनको आमा अहिले बेहोस भएकी छिन् । उनको मलङ्गवास्थित ओम अस्पतालमा उपचार भइरहेको छ । (रासस)

  • संविधानमाथि आक्रमण र च्यात्ने अधिकार कसैलाई छैन : प्रचण्ड

    संविधानमाथि आक्रमण र च्यात्ने अधिकार कसैलाई छैन : प्रचण्ड

    सिरहा, २४ चैत-
    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार कसैलाई नभएको बताएका छन् ।

    सिरहाको मिर्चैयामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुनै पनि बहानामा संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार नरहेको बताएका हुन् ।

    संविधानमा धेरै विषय समेट्न बाँकी रहेको भन्दै उनले आफू प्रधानमन्त्री हुँदा दुईपटक मधेसीसहितका अधिकार समेट्न संविधान संशोधनको प्रस्ताव दर्ता गराएको बताए । नागरिकतासम्बन्धी समस्या मधेसमा रहेको बताउँदै उनले अध्यादेशमार्फत भए पनि नागरिकताको समस्या समाधान गरिने बताए ।

    एकअर्काे प्रसंगमा उनले पार्टीभित्र अल्पमतमा परेपछि तत्कालीन प्रधानमन्त्री र साविक अध्यक्ष केपी ओलीले संसद विघटनको प्रयास गरेको बताए । तर, ओलीको प्रतिगमनलाई गठबन्धनले परास्त गरेको प्रचण्डको भनाइ छ ।- न्युज कारखाना

  • बेवारिसे अवस्थाका सात वटा बुलेट बाइक बरामद

    बेवारिसे अवस्थाका सात वटा बुलेट बाइक बरामद

    काठमाडौं, २४ चैत-
    प्रहरी बेवारिसे अवस्थामा रहेका सात थान रोयल ईन्फिल्ड कम्पनीका बुलेट बाइक बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न करिब २१ लाख मूल्य बराबरका बुलेट बाइक बरामद गरेको हो ।

    भारतीय नाकाबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइ नक्कली नम्बर प्लेट राखि कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सात थान बुलेट बाइक बरामद गरेको हो । बरामद मोटरसाइकललाई आवश्यक कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाएको महाशाखाले जनाएको छ ।
    सबै बाइकमा नक्कली नेपाली नम्बर राखिएको थियो ।- न्युज कारखाना

     

  • कानुन मन्त्रीमा शर्मा नियुक्त

    कानुन मन्त्रीमा शर्मा नियुक्त

    काठमाडौँ, २४ चैत-
    राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा कोइरालालाई नियुक्त गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७८ को उपाधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री नियुक्त गर्नुभएको हो ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका मन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । (रासस)

  • संघले शिक्षाको कानुन पारित नगरेसम्म प्रदेश सरकारले कानुन बनाउन मिल्दैन : मन्त्री हिमबहादुर शाही

    संघले शिक्षाको कानुन पारित नगरेसम्म प्रदेश सरकारले कानुन बनाउन मिल्दैन : मन्त्री हिमबहादुर शाही

    सुर्खेत ,२४ चैत-
    आन्तरिक मामिला तथा योजना मन्त्रालयको जिम्मा पाएपश्चात् मन्त्रालयका गतिविधिहरू निरन्तर रूपमा अघि बढेका छन् । नौवटा विधेयकहरू सदनमा पेस भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयमा भएका गतिविधि र आगामी योजनाबारे आन्तरिक मामिला तथा योजनामन्त्री माननीय हिमबहादुर शाहीसँग न्युजकारखानाकर्मी जितेन्द्र थापाले गरेको कुराकानीः

    मन्त्रालयको पदभार ग्रहण गरिसकेपछि के कस्ता समस्याहरु झेल्नुपर्‍यो ?

    आन्तरिक मामिला तथा योजना मन्त्रालयकोे पदभार ग्रहण गरिसकेपछि आन्तरिक समस्याहरू रहेको पाएँ । जनशक्तिको अभावका कारण जति समयमा हुनुपर्ने हो त्यत्ति मात्रमा हुन सकेको छैन र म अहिले पनि अफ्ट्यारोमा परिरहेको छु । जिम्मेवारी समालेपछि मन्त्रालयले निरन्तर गति पाइरहेको छ । नौवटा विधेयकहरू सदनमा पेस गरेर प्रमाणीकरण भइसकेको छ । पेस गरिएका सात विधेयकहरू छलफलमा छ ।
    त्यसैगरी स्थानीय तहसँग विपत् व्यवस्थापनसम्बन्धीको गोष्ठी, प्रदेश सुरक्षा गोष्ठी र चारवटा प्रहरी चौकीहरूको पनि निर्माण भइसकेको छ । अहिले यस मन्त्रालयको जिम्मेवारी इमान्दारी र निरन्तर लगनशीलताका साथ अघि बढाइरहेको छु ।

    कानुन निर्माणमा कत्तिको अभ्यास गर्नुभएको छ ?

    कानुन बनाउने विषयमा कर्णाली प्रदेशले नौलौ अभ्यास गरेको छ । कानुन निर्माणमा कानुनविद र विज्ञहरूसँग मात्र छलफल गरेका छैनौँ । नागरिक समाज, साधारण जनताको आवश्यकता र भनाइहरू लिन जिल्ला जिल्लामा गएर छलफल गरी कार्य अगाडि बढाएका छौँ ।

    निर्माणकाे जिम्मा लिएर बीचमै काम अलपत्र पार्ने निर्माण कम्पनीलाई कडाइका साथ कार्य गराउनका लागि मन्त्रलयले कदमहरू चाल्न सक्दैन ?

    तपाईं विश्वास गर्नुस् । निर्माण कार्यको लागि वर्तमान सरकारले प्रतिवद्धताका साथ पहल कदमहरू चालिएका छन् । प्रदेशअन्तर्गत भएका निर्माण भएका कार्यहरुलाई सम्पन्न गराउनका लागि सम्पूर्ण निर्माण कम्पनीहरूलाई चैत मसान्त भित्रमा प्रतिबद्ध गर्न लगाएका छौँ । चैत मसान्तसम्म काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुलाई कालो सूचीमा सुचिकृत गर्ने निर्णय गरिसकेका छौँ । सुर्खेतकै वरिपरि हेर्ने हो भने एकदम तीव्रताका साथ विकास निर्माण कार्य भइरहेका छन् । श्रम मन्त्री स्वयं नै प्रत्येक निर्माण स्थलमा पुगेर अनुगमन गर्ने कार्य पनि भइरहेको छ ।

    तपाईंहरूको प्राथमिकताहरू विकास निर्माणमा मात्र छ की, सुशासनमा पनि ध्यान छ ?

    सुशासनमा ध्यान नहुने त कुरा नै भएन । देशको लागि चाहिने सबैभन्दा महत्वपूर्ण शान्ति र अमनचयन हो । विकास भनेको दोस्रो पाटो हो । शान्ति र अमनचयनका लागि सरकार सधै गम्भीर सतर्क हुनु नै पर्छ । यसको लागि कुनै किसिमको शंका गर्नु आवश्यक छैन ।

    स्रोत र साधनको अभावले सामुदायिक विद्यालयहरु गुणस्तरीय हुन सकेका छैनन् । के प्रदेश सरकारले कानुन बनाएर अगाडि बढ्ने अधिकार छैन ?

    एकदमै आवश्यक र अपरिहार्य प्रश्न गर्नुभयो । संविधानअनुसार संघले शिक्षाको कानुन पारित नगरेसम्म प्रदेश सरकारले कानुन बनाउन मिल्दैन । विश्वविद्यालयस्तरीय प्रदेश सरकारको जिम्मा र मावि तहदेखि बालविकाससम्म स्थानीय तहको जिम्मा भनेर संविधानमा उल्लेख गरेको छ । तर, संघीय सरकारले कानुन नबनाउँदा शिक्षा विधेयकको निर्माण कार्य छायाँमा परेको छ । शिक्षाको कानुन किन बनाएन भनि संघीय सरकारलाई मिडियाहरूले स्वतन्त्र रुपमा लेखिदिनका लागि अनुरोध गर्दछु । संघले कानुन नबनाएसम्म शिक्षाको क्षेत्र स्वस्थ्य हुँदैन । शिक्षाको क्षेत्र अहिले पनि गैरजिम्मेवारी पूर्वक अल्झिएको छ ।

    कर्णाली प्रदेशलाई सम्वृद्ध बनाउन सत्ता पक्ष र प्रतिपक्षदलहरु बिच के कस्तो समन्वय छ ?

    वर्तमान गठबन्धनको सरकारले ११ महिनासम्म चल्न नसकेको विवादग्रस्त रहेको सदनलाई सञ्चालन गर्न सफल भयौँ । कर्णाली प्रदेशको सम्वद्ध यात्राका लागि सत्ता पक्ष र प्रतिपक्ष दलका नेताहरूबीच छलफल गरेर गरिबी, बेरोजगार, अशिक्षा, भ्रष्टचारलाई निर्मूल पार्न सदनको १६औँ बैठक सम्पन्न गरेका छौँ ।- न्युजकारखाना

  • ‘अद्वितीय प्रतिविम्ब’ फेसन शो

    ‘अद्वितीय प्रतिविम्ब’ फेसन शो

    काठमाडौँ, २४ चैत-
    नमूना कलेज अफ फेसन टेक्नोलोजीले बिहीबार साँझ ग्र्याजुएशन फेसन शो आयोजना गरेको छ । सिर्जनात्मक प्रस्तुतिका दृष्टिले नेपाली फेसन बजारमा उत्कृष्ट परिचय स्थापित गरेको उक्त समूहले शोको १६औँ संस्करण प्रस्तुत गरेको हो ।

    काठमाडौँको होटल सोल्टीमा आयोजित उक्त शोमा मोडलहरुले आ–आफ्ना प्रस्तुति पस्किएका थिए । नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरसहितका मोडलहरू रनवेमा उपस्थिति भएसँगै सुरु भएको उक्त शोमा फरक ११ वटा ‘थिम’ मा विविध ८२ विद्यार्थीको कलात्मक प्रस्तुति आयोजना गरिएको थियो ।

    उक्त शोमा २३ मोडल युवती र आठ युवा मोडलको प्रस्तुति थियो । उक्त फेसन शोको कोरियोग्राफी र निर्देशन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गर्नुभएको थियो । अद्वितीय प्रतिविम्ब नाम दिइएको सो फेसन सो करिब तीन घण्टाको थियो । (रासस)