Category: Banner तल ताजा समाचार

  • गण्डकी सरकारले हटायो खेलकुद समिति र संक्रामक अस्पतालका पदाधिकारी, अदालतमा जाने तयारी

    गण्डकी सरकारले हटायो खेलकुद समिति र संक्रामक अस्पतालका पदाधिकारी, अदालतमा जाने तयारी

    पोखरा, २५ चैत-
    गण्डकी सरकारले यसअघिको सरकारले नियुक्त गरेका खेलकुद विकास समिति र सरुवा तथा संक्रामक रोग अस्पतालका पदाधिकारी बर्खास्त गरेको छ । ११ वटै जिल्लाका खेलकुद विकास समिति र पोखरा स्थित सरुवा तथा संक्रामक रोग अस्पतालका पदाधिकारीलाई सरकारले काम चित्तबुझ्दो नभएको आरोपमा हटाएको हो ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई हटाएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । ‘उहाँहरूलाई काम चित्तबुझ्दो नभएकोमा स्पष्टीकरण सोधिएको थियो । उहाँहरुले दिएको प्रष्टीकरणमा चित्त नबुझेपछि मन्त्रालयको सिफारिसमा पदबाट हटाईएको हो,’ उननले भने ।

    यसअघि सरकारले सबैलाई स्पष्टीकरण सोधेको थियो । सबै समिति एमाले नेतृत्वको सरकार भएका बेला गठन गरिएको हो । हटाइएकाहरुले भने सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् । संक्रामक तथा सरुवा रोग अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्राडा कृष्ण पौडेलले राजनीतिक परिवर्तनसँग यस्ता संस्थालाई चलाउनु उपयुक्त नहुने बताए ।

    ‘सरकार त परिस्थिति जन्य विषय हो । कहिले को आउँछ, कहिले को आउँछ । तर, मातहतका निकायलाई सरकार नयाँ भएपछि चलाउनु राम्रो होइन,’ उनले भने, ‘यसरी देशको विकास हुँदैन । काम राम्रो नभए सुधार्न सुझाव दिनुपर्छ । एकैचोटी हटाउनु राम्रो हुँदैन ।’

    बर्खास्तमा परेकाहरु भने अदालत जाने तयारीमा छन् । विनाकारण राजनीतिक विभेदका आधारमा हटाइएको भन्दै उनीहरु अदालत जान लागेका हुन् ।
    ‘विधि प्रक्रियाबाट नियुक्त भएका हौं । व्यक्तिगत कुरा होइन । सबै समितिसँग कुरा गर्छौं । त्यतिबेला नियुक्त गर्ने सरकारसँग पनि सल्लाह गर्छौं । कानुन अनुसार नियुक्ति थियो,’ उनले भने, ‘सरकारले सोधेपछि स्पष्टीकरण दिएका थियौं । हटाउला भन्ने चाहिँ लागेको थिएन । यसरी हटाउनु गैरकानुनी हो । हामी कानुनी उपचार खोज्छौं ।’ उनले राजनीतिक विभेद गरेर देश नबन्ने बताए ।

    ‘विल्कुल राजनीतिक विभेद हो । हामी राजनीति गर्ने नै मान्छे हौं । संकुचित भावनाबाट अघि बढ्यौं भने देश र खेलकुद क्षेत्र बन्दैन,’ उनले भने । बर्खास्तमा पर्नेहरूमा १४३ जना खेलकुद विकास समितिका पदाधिकारी र सदस्य तथा अस्पतालका अध्यक्ष छन् । सबै जिल्लामा १३ सदस्यका दरले समिति गठन भएको थियो । – न्युज कारखाना

  • भृकुटीमण्डपमा भोलि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता

    भृकुटीमण्डपमा भोलि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता

    काठमाडौं, २५ चैत-

    नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । एकदिने रेस्लिङ भृकुटीमण्डपमा हुने छ ।

    रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरको भिडन्त हुने फाउन्डेनकी अध्यक्षसमेत रहेकी रेस्लर भगवती खड्का (युनिका) ले जानकारी दिइन् ।

    नेपालबाट भगवतीसहित नेपाली ब्रो (कुमार थापा), कम्ब्याट किङ (अभिराज सिंह), अस्मिता सुनार (जुरेली), सपना माझी, सपना गोपाली, मनीषा रानाभाट, स्नेहा थापा मगरलगायलते प्रतिस्पर्धा गर्ने छन् ।

    अमेरिकाबाट पेट्रो ओटेगा, भारतबाट अमित र अस्सासियन तथा पाकिस्तानबाट शेर खानले प्रतिस्पर्धा गर्ने अध्यक्ष खड्काले जानकारी गराइन् । निर्णायक गुणराज रुचालले खेल सञ्चालन गर्ने छन् । प्रतियोगिता चैते दशैं तथा नयाँ वर्षको अवसरमा हुन लागेको हो । न्युुज कारखाना

  • कीर्गिस्तानको लिग विजेता फरवाटरसँग नेपाली फुटसल टिम पराजित

    कीर्गिस्तानको लिग विजेता फरवाटरसँग नेपाली फुटसल टिम पराजित

    काठमाडौं, २५ चैत-
    नेपाली राष्ट्रिय फुटसल टोली कीर्गिस्तानको साविक विजेता फरवाटर एफसीसँग पराजित भएको छ। कीर्गिस्तानस्थित बिस्केकस्थित मेडिकल युनिभर्सिटीमा सम्पन्न खेलमा नेपाली टोली २-० गोलअन्तरले पराजित भएको हो।

    खेलको २०औं मिनेटमा कीर्गिस्तानी टोलीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको नेपालले दोस्रो हाफमा दबाब बनाउँदै उत्कृष्ट पुनरागम गरेको थियो।

    दोस्रो हाफमा खेलमा दबाब बनाए पनि नेपालका तीनवटा प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएका थिए। तर, ४३ औं मिनेटमा कीर्गिज टोलीले काउन्टरमा गोल थप्न सफल भयो।

    त्यसअघि नेपाली टोलीका आदिल अहमदले कर्नरबाट पाएको बललाई पोस्टको दिशा दिँदै गोल गरे पनि त्यसलाई रेफ्रीले उक्त गोललाई मान्यता दिएनन्।

    फरवाटर टिमका प्रशिक्षक गफुरोभ रुस्लानले दुबै टोलीले राम्रो खेलको भए पनि आजको खेलमा आफूहरू भाग्यमानी रहेको बताए।

    ‘दुबै टोली राम्रा र उस्तै स्तरका थिए। तर, आजको खेलमा हामी भाग्यमानी ठहर्‍यौं। अन्य टिमका लागि नेपाल राम्रो प्रतिस्पर्धी हुन सक्छ,’ उनले भने।

    त्यस्तै नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले मैत्रीपूर्ण खेलमा सुधार भएको बताए। ‘अघिल्लो खेलमा भन्दा राम्रो भएको छ। पहिलो हाफमा केही कमजोरी रहे पनि दोस्रो हाफमा राम्रो पकड बनाउन सक्यौं। मौकाहरु धेरै बनाउन सक्यो। १३/१४ वटा टार्गेटमा सट प्रहार गरे पनि फिनिसिङ गर्न नसक्दा पराजय ब्यहोर्‍यौं,’ उनले भने । – न्युुज कारखाना

  • सबै मिलेर नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउनुपर्छ ः मन्त्री कार्की

    सबै मिलेर नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउनुपर्छ ः मन्त्री कार्की

    काठमाडौँ, २५ चैत-
    सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    नेपाल मोबाइल व्यवसायी महासङ्घको प्रथम साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उहाँले नेपाललाई दक्षिण एसियामै समृद्ध बनाउन सकिने धेरै आधार रहेको भन्दै पर्याप्त छलफलका आधारमा त्यसलाई सही ढङ्गबाट परिचालन गरी समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बताउनुभयो ।

    सरकारका प्रवक्ता कार्कीले भन्नुभयो, “हामी उदार अर्थतन्त्र र खुल्ला समाजमा विश्वास गर्दछौँ, आज हाम्रो अगाडि एउटै चुनौती छ कि मुलुकलाई यही पुस्तले कसरी धनी बनाउने । यो चुनौतीलाई पूरा गर्न हामी आ–आफ्ना क्षेत्रबाट इमान्दारी, समर्पण र प्रस्ट दृष्टिकोणका साथ अगाडि बढ्यो भने धेरै गाह्रो छैन ।”

    उहाँले समग्र मोबाइल क्षेत्रमा देखिएका समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित भएको बताउनुभयो । “मेबाइल व्यवसायीको प्रमुख जटिल समस्या मोबाइलको आयात र व्यवसाय हो भन्ने लाग्छ, यो समस्याको समाधान गर्नका लागि नेपाल दूरसञ्चार संस्था प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तदारुकताका साथ लागू हुनेछ, सरकार तपाइँको साथमा छ, मोबाइल व्यवसायलाई अगाडि बढाउन सरकार सहयोग गर्न तयार छ ।”

    ‘सामाजिक परिचानसहितको व्यवसायी सुरक्षा’ भन्ने मूल नाराका साथ यही असार २०७८ मा स्थापना भएको महासङ्घ मोबाइल व्यवसायीहरुको सङ्गठित सङ्गठन हो । महासङ्घका अध्यक्ष भरत भट्टराईले सरकारको नीतिनियमभित्र रही सञ्चालन भइरहेको मोबाइल व्यवसायलाई धराशयी बनाउन कर छली गरी ल्याइएका र ल्याइने अवैध सामग्रीमा पूर्ण रुपमा रोक लगाउन सम्बन्धित निकायसँगको सहकार्यमा पहल गर्ने बताउनुभयो । महासङ्घले सो कार्यक्रममा क्याप्टेन विजय लामा, समाजसेवी अनुराधा कोरइला र डा सन्दुक रुइतलाई सम्मान प्रदान गरेको थियो । -रासस

  • सबैतिर तालमेल गरेर जाने निर्णय भयोः प्रचण्ड

    सबैतिर तालमेल गरेर जाने निर्णय भयोः प्रचण्ड

    काठमाडौँ, २५ चैत –
    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताउनु भएको हो ।

    उहाँले भन्नुभयो, “मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।” अर्को एक फरक प्रसङ्गमा उहाँले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।” -रासस

  • सुदूरपश्चिम स्पोर्टस अवार्डः सुप आईकन महिला र पुरुष विधाको मनोनयन सार्वजनिक

    सुदूरपश्चिम स्पोर्टस अवार्डः सुप आईकन महिला र पुरुष विधाको मनोनयन सार्वजनिक

    काठमाडौं, २५ चैत-
    धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना हुने तेस्रो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक भएको हो ।

    सुदुरपश्चिम आइकन पुरुषको मनोनयनमा फुटबलका कुवेर सिंह, क्रिकेटका अर्जुन साउँद र भारात्तोलनका अशोक भण्डारी मनोनयनमा परेका छन् । त्यस्तै सुदुरपश्चिम आइकन महिला तर्फ क्रिकेटकी कविता कुँवर, बक्सिङकी स्वस्तिका तिरुवा र तेक्वान्दोकी गीता कठायत मनोनयनमा परेका छन् ।

    कुवेर सिंहको कप्तानीमा कैलालीको स्टार सिटी एन्फा प्रेसिडेन्ट कप च्याम्पियन बनेको थियो । त्यस्तै उनकै कप्तानीमा बाजुराको रानीवन क्लब सि डिभिजन छनोट भएको थियो । उनकै नेतृत्वमा रहेको विजय स्पोर्टस क्लब जिल्ला च्याम्पियन बनेको थियो ।

    अर्जुन साउँदले डेब्यु गर्दै प्रधानमन्त्री कपमा पहिलो शतक हानेका थिए । उनले एसीसी अण्डर १९ क्रिकेट प्रतियोगितामा श्रीलंका विरुद्ध अर्धशतक बनाएका थिए । अशोक भण्डारीले २४ औं राष्ट्रिय भारात्तोलन प्रतियोगितामा सुदुरपश्चिमलाई स्वर्ण जिताएका छन् ।

    उनी सोही प्रतियोगितामा उदयमान र सम्भाव्य खेलाडीको उपाधि जितेका थिए । त्यस्तै राजविराजमा भएकोमा भारात्तोलन प्रतियोगितामा पनि स्वर्ण जितेका थिए ।

    क्रिकेटर कविता कुँवरले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा सहभागी हुँदै नेपाली टोलीबाट डेब्यु गरेकी छिन् । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा ४ खेलमा ७ विकेट र ४० रनको योगदान दिएकी थिइन् । ललितपुर मेयर कपमा सुदूरपश्चिम उपविजेता हुँदा ५ खेलमा ४० रन र बनाउँदै उत्कृष्ट बलिङ गरेकी थिइन् ।

    स्वस्तिका तिरुवाले युएईमा सञ्चालन भएको जुनियर तथा युथ ब्वाइज एण्ड गर्ल्स बक्सिङ च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएकी छिन् । उनले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै पदक जितेकी हुन् । जोर्डनमा आयोजित बक्सिङ प्रतियोगितामा उनले तीन चरण पार गरेकी थिइन् ।

    त्यस्तै तेक्वान्दोकी गीता कडायतले हालै काठमाडाैँमा भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छिन् । उनले काठमाडाैँमा भएको मेयर कपमा रजत पदक जितेकी थिइन् ।

    अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करणको मुख्य प्रवर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् छ ।प्रवर्द्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद् छन् ।

    त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । वर्ष युवा खेलाडीलाई निर्ग अस्पताल वर्ष प्रशिक्षकलाई सारथि अस्पताल, सुदूरपश्चिम आइकन पुरुष विधालाई माया मेट्रो हस्पिटल, सुदूरपश्चिम आइकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ ।

    त्यस्तैगरी स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले प्रायोजन गरेको छ । अवार्डको सह–प्रायोजकमा केल्मी र नवजीवन को–अपरेटिभ्स रहेको छ ।

    विभिन्न आठ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड दिइनेछ ।

    उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

    उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

    यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । -न्युुज कारखाना

     

  • साप्ताहिक सेयर बजार विश्लेषणः होटेल समूहलाई फाइदा, माइक्रो फाइनान्स समूहलाई घाटा

    साप्ताहिक सेयर बजार विश्लेषणः होटेल समूहलाई फाइदा, माइक्रो फाइनान्स समूहलाई घाटा

    काठमाडौं, २५ चैत-
    यो साता नेप्से बजार करिब ८१ अंकले ओरालो लागेको छ। साताको ६ कारोबारको दिनमध्ये पाँच दिन नेप्से परिसूचक घटेको थियो । साताको अन्तिम दिन बिहीबार भने ३५ अंकले बढेर सेयर बजार २४६४ बिन्दुमा आएर बन्द भएको छ । यो साता नेप्से आइतबार २५८५ उच्च बिन्दु र बुधबार २४१६ मा झरेको थियो ।

    यो साता इन्डिकेटर आरएसआईमा डाइभर्सन देखिन खोजेको छ । लगातार घटेको बजार बिहीबार ३५ अंकले उकालो लाग्दा आरएसआइ २८ बाट ३५ अंकमा अएको छ भने इन्डिकेटर एमए सिडीले भने बिहीबारसम्म बाइ सिग्नल दिएको छैन ।

    साप्ताहिक बजार हेर्दा होटेल इन्डेक्स भने पहिलाको हप्ताको हाइ ३१४० मै बन्द भएको देखिन्छ । होटेल इन्डेक्स यो साता खासै घटेको देखिन्न । अन्य परिसूचक भने यो साता करिब ८३ अंकले घट्दा १९६९ बिन्दुमा आएर बन्द भएको छ ।

    डेभलप्मेन्ट बैंक इन्डेक्स १४ अंकले, कमर्सियल बैंक इन्डेक्स २९ अंकले घटेको छ । हाइड्रो इन्डेक्स, माइक्रो फाइन्न्स इन्डेक्स भने ३३, ४९ र १०२ अंकले घटेको छ ।

    यसरी लगातार बजार घट्नुको कारण बजारमा तरलताको कमी रहेको अर्थविद्हरूको भनाइ छ । नेपाल राष्ट्र बैंकले आयात गर्ने करिब ३०० वस्तुमा कडाइ गरेकाले बजारमा बिस्तारै तरलताको समस्या समाधान हुने अर्थविद्हरू बताउँछन् । -न्युज कारखाना

  • नीति तथा कार्यक्रम पुस्तिकाको छपाइमा आर्थिक अनियमितताको आशंका

    नीति तथा कार्यक्रम पुस्तिकाको छपाइमा आर्थिक अनियमितताको आशंका

    सुर्खेत , २५ चैत-

    दैलेख नारायण नगरपालिकाको आर्थिक वर्ष ०७८/०७९ को वार्षिक नीति तथा बजेट कार्यक्रम पुस्तिकाको छपाईमा आर्थिक अनियमितताको आशंका गरिएको छ । एउटै किताब छपाईको मूल्य एक हजार तीन सय ४५ रुपैयाँ राखिएपछि अनियमितताको आशंका गरिएको हो ।

    नगरपालिकाले मागेको कोटेशनमा सबैभन्दा कम मूल्य प्रतिकिताब एक हजार तीनसय ४५ रुपैयाँ कवोल भएको भन्दै एक छापाखानालाई दुई सय ३० वटा किताब छाप्न दिएको छ ।

    किताब छाप्नका लागि प्रतिकिताब एक हजार तीन सय ४५ का दरले तीन लाख नौ हजार तीन सय पचास रुपैयाँ भुक्तानी गरेको पाइएको हो ।

    यो विषयमा परेको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा विचाराधीन अवस्थामा छ । -न्युज कारखाना

  • नेपाल कोरिया मैत्रीनगर अस्पतालमा आजबाट स्वास्थ्यबीमा सेवा सुचारु

    नेपाल कोरिया मैत्रीनगर अस्पतालमा आजबाट स्वास्थ्यबीमा सेवा सुचारु

    भक्तपुर, २४ चैत-
    मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आजबाट पुनः स्वास्थ्यबीमा सेवा सुरु भएको छ ।

    सरकारले स्वास्थ्यबीमा वापतको रु नौ करोडको भुक्तानी गर्न ढिलाइ गरेपछि गत असोज १ गतेबाट बन्द भएको स्वास्थ्यबीमा सेवा ६ महिनापछि आजबाट पुनः सुचारु भएको हो ।

    आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले स्वास्थ्यबीमा सेवा शुभारम्भ गर्दै अब यस अस्पतालमा सेवा लिँदै आएका बिरामीले उपचार र बीमाको सेवा प्राप्तिका लागि अन्त भौतारिनु नपर्ने बताउनुभयो । अस्पतालले ६ महिना अगाडि बिरामीलाई दिँदै आएको सम्पूर्ण सेवा र सुविधा आजदेखि पुनः सुचारु गरिएको बताउनुभयो ।

    उहाँले स्वास्थ्य बीमा कार्यक्रम सरकारको एकदमै राम्रो र प्रभावकारी कार्यक्रम भए पनि रकम भुक्तानीमा हुने ढिलाइले समस्या आएको भन्दै अस्पताललाई बीमा बोर्डले तिर्नुपर्ने रु नौ करोड बाँकी भए पनि बाध्य भएर सेवा बन्दगर्नु परेको बताउनुभयो । यहीँ चैत ११ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र राज्यमन्त्री भवानीप्रसाद खापुङले नेपाल कोरिया मैत्रीनगरपालिका अस्पतालको अनुगमन गरी बीमावापतको बाँकी रकम भुक्तानी गर्ने तथा बीमा सेवा छिटो सुरु गराउने बताउनुभएको थियो ।

    नगर प्रमुख श्रेष्ठले स्वास्थ्यमन्त्रीले अनुगमन गरेपछि बाँकी रकम आएको र बीमा बोर्डले अब एकतर्फी रुपमा सेवा बन्द नगर्ने सहमति बनेपछि आजबाट सेवा सुरु गर्नुभएको बताउनुभयो । सेवा शुभारम्भ कार्यक्रममा (नेकपा समाजवादी)भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतले स्वास्थ्यबीमा सूचारु गराउने स्वास्थ्यमन्त्रीलाई ल्याएर अनुगमन गराएर यहाँका बिरामीले पाएको समस्यका बारेमा जानकारी गराएरपछि बीमा सूचारु गराउन सफल भएको बताउनुभयो ।

    यसअघि बीमा सुचारु गराउन माग गर्दै (नेकपा माओवादी) केन्द्र मध्यपुरथिमिका सभापति विजय श्रेष्ठको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको थियो भने नेकपा समाजवादीका अध्यक्ष श्यामसुन्दर बस्नेतले स्वास्थ्य मन्त्रालयमा बीमा सेवा सुचारु गर्न पहलगर्नु भएको थियो । आज अस्पतालमा नगर प्रमुख श्रेष्ठ, समाजवादीका जिल्ला अध्यक्ष बस्नेत र माओवादी केन्द्रका नगर समिति अध्यक्ष श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । बीमा सेवा सुरु भएपछि आजैदेखि बिरामीको चाप पनि अस्पतालमा बढेको छ ।

    दैनिक कम्तीमा ६०० देखि बढीमा ७०० जनासम्म बीमा कार्ड भएका बिरामी अस्पतालमा सेवा लिन आउने गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । यस अस्पतालमा बीमा कार्ड भएका बिरामीले बहिरङ्ग तथा अन्तरङ्ग सेवा, शल्यक्र्रिया, प्रसूति, फार्मेसी, ल्याब, फिजियोथेरापी, एक्सरेलगायत अस्पतालले प्रदान गरेका सम्पूर्ण सेवा लिँदै आएका छन् ।

    हाल १०२ शय्या सञ्चालनमा रहेको यस अस्पतालमा १६ शय्याको आइसीयु, १५ थान भेन्टिलेटर, बच्चाका लागि दुई भेन्टिलेटर सञ्चालनमा छन् ।आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्दै कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारदेखि पिसिआर परीक्षणसम्ममा राम्रो काम गरेको अस्पतालका रुपमा चिनिएको थियो । अस्पतालले सिटीस्क्यान, एमआरआई, मुटुका बिरामीका लागि क्याथल्याब, मिर्गौलाका बिरामीका लागि छ वटा डायलायसिस मेसिन सञ्चालन तयारी गरेको उहाँले बताउनुभयो ।

    स्वास्थ्य बीमा कार्ड भएका बिरामीको प्रथमबिन्दु अर्थात् सिफारिस केन्द्रमध्येको एक यस अस्पतालले भक्तपुर जिल्लाका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखादेखिका बिरामीलाई स्वास्थ्य बीमा अन्तर्गतको सेवा प्रवाहगर्दै आएको छ । (रासस)

  • समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह

    समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह

    ललितपुर, २४ चैत-
    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।

    ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले ठूलो राजनीतिक परिवर्तनपछि सार्वजनिक, निजी र सहकारी गरी तीनखम्बे अर्थनीति अवलम्बन गरी देशको आर्थिक विकास गर्न सकिन्छ भन्ने लक्ष्य लिइएको स्मरण गर्नुभयो ।

    चेम्बर अफ कमर्सले देशको आर्थिक विकासमा पु¥याएको योगदानको कदर गर्दै मन्त्री भुसालले भन्नुभयो, “अर्थतन्त्रमा चेम्बरले पु¥याएको योगदान सराहनीय छ, आगामी दिनमा देशको आर्थिक विकासमा सफलता मिलोस् ।” उहाँले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने निजी क्षेत्रको सङ्गठन भए उपयुक्त हुन्थ्यो भन्ने आफूलाई लागेको बताउनुभयो ।

    मन्त्री भुसालले निजी क्षेत्रका जति संस्था भए पनि देशको आर्थिक विकासमा मिलेर र समन्वय गरेर आफ्ना क्रियाकलाप बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबै संस्था मिलेर आपसी सहकार्य गरेर अगाडि बढ्नु हुनेछ भन्ने मैले विश्वास राखेको छु ।”

    सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा सरकारसँग निरन्तर सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । संस्थाका ललितपुर अध्यक्ष पुष्परत्न शाक्यले स्थानीय र केन्द्रीय सरकारका एकाइमा चेम्बरको प्रतिनिधित्व हुनुपर्ने माग गर्नुभयो । (रासस)