Category: Banner तल ताजा समाचार

  • रेशम चौधरी निर्दोष छन् : प्रचण्ड

    रेशम चौधरी निर्दोष छन् : प्रचण्ड

    धनगढी, ८ वैशाख –
    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताएका छन् ।

    एक नाबालकसहित ८ सुरक्षा कर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै रेशमलाई आजीवन कारावासको सजाय सुनाइएको छ । तर, बिहीबार कैलाली पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने रेशम निर्दोष रहेको बताएका हुन् ।

    माओवादी केन्द्रले कैलालीको गौरिगंगा नगरपालिका स्थित मसुरियामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘रेशम चौधरीको टिकापुर घटनामा कुनै संलग्नता छैन, उनी निर्दोष छन्, तर उनलाई फसाइएको छ ।’

    स्थानीय तह निर्वाचनको मुखमा प्रचण्डले रेशम निर्दोष रहेको भन्दै थारु मतदातालाई प्रभावित पार्न खोजेका हुन् । तर माओवादी केन्द्रकै समर्थनमा बनेको सरकार भने सरकार गठन भएको १० महिना सम्म पनि सो विषयमा मौन छ ।

    अध्यक्ष प्रचण्डले रेशम चौधरी निर्दोष रहेको भन्दै उनका विषयमा एक दुई दिनमै सरकारसँग गम्भीर रुपमा छलफल गर्ने बताए । ‘घटनामा सामेल नहुने व्यक्ति अहिले जेलमा छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘दोस्रो चोटि प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई मैले नयाँ दिल्लीमा भेटेको थिएँ, त्यतिवेला मिडियामा ठूलो आलोचना भएको थियो, मैले रेशमलाई भेट्न नहुने केही कारण छैन, मैले रेशमलाई बाहिर पनि भेट्न सक्छु भित्र पनि भेट्न सक्छु ।’

    बुधबार मात्रै आफ्नो सचिवालयमार्फत रेशम चौधरीसँग कुरा भएको बताउँदै प्रचण्डले रेशमको समस्या समाधान गर्न सरकारसँग एक, दुई दिनमै गम्भीर रुपमा कुरा हुने बताए । उनले टिकापुर घटनाले ठूलो असर पारेको बताए ।

    माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकार गठन हुँदा टिकापुर घटनाका बारेमा सरकारले अध्ययन गरेको ‘लाल आयोग’ को प्रतिवेदन सार्वजनिक गर्ने घोषणा गरेको थियो । तर अहिले सम्म आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छैन । – न्युज कारखाना

  • असन्तुष्ट देखिएका साथीहरुले तालमेलको मर्म बुझ्छन्ः अध्यक्ष प्रचण्ड

    असन्तुष्ट देखिएका साथीहरुले तालमेलको मर्म बुझ्छन्ः अध्यक्ष प्रचण्ड

    काठमाडौं, ८ वैशाख-

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले असन्तुष्ट देखिएका साथीहरुले पाँद दलीय तालमेलको मर्म बुझ्ने बताएका छन् ।

    आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनका दलहरुभित्र नमिलेका कुरा छिट्टै मिल्ने विश्वास समेत व्यक्त गरे ।

    निर्वाचनको बेला देखिने असन्तुष्टि लोकतन्त्रकै एउटा रुप भएकोले त्यसलाई अन्यथा लिन नहुने उनले जनाए ।

    ‘गठबन्धनमा मात्रै होइन्, एउटै दलभित्र समेत एउटाले टिकट पाउँदा अर्को असन्तुष्ट हुनु स्वभाविक हो । झन् गठबन्धन नै तालमेलमा जाने भएपछि यसलाई सामान्यरुपमा लिनुपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘तर अहिले देखिएका सबै असन्तुष्टि हल हुन्छन् । गठबन्धनका दलहरुले निकै सुझबुझका साथ निर्णय गरेका छौं । अहिले असन्तुष्ट देखिएका साथीहरुले समेत तालमेलको मर्म बुझ्छन् । हामी एकढिक्का भएर अघि बढ्छौं ।’

    अध्यक्ष प्रचण्डले केन्द्रमा महानगर र उपमहानगरपालिका तालेमलबारे गठबन्धनले गरेको निर्णयको स्पिरिट अनुसार नगर र गाउँपालिकामा समेत गठबन्धन हुने दाबी गरे । उनले केही स्थानमा सम्भव नै नभएमा मात्र स्वस्थ्य प्रतिष्पर्धा हुने जनाए ।

    ‘अहिले संविधानविरोधी, अग्रगमनविरोधी र उपलब्धि उल्ट्याउन खोज्नेहरु एक ठाउँ पुगेका छन् । यसबाट पनि हामी सही छौं भन्ने देखाएको छ । देश दुर्घटनामा पर्ने बेला माओवादी र यसको नेतृत्वले खेलेको भूमिका सहि प्रमाणित भएको छ,’ अध्यक्ष प्रचण्डले भने ।- न्युज कारखाना

     

  • बदलिँदो राजनीतिक वातावरणले राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर गर्छः प्रधानसेनापति शर्मा

    बदलिँदो राजनीतिक वातावरणले राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर गर्छः प्रधानसेनापति शर्मा

    काठमाडौं, ८ वैशाख-

    प्रधानसेनापति प्रभुराम शर्माले बदलिँदो राजनीतिक वातावरणले राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर गर्ने बताएका छन् ।

    सैनिक मुख्यालय जंगी अड्डामा आयोजित दुई दिने ‘सैनिक आचार संहिता कार्यक्रम–२०७९’ को समापन समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

    सम्बोधनको क्रममा प्रधानसेनापति शर्माले सैनिक मूल्य–मान्यतालाई सदैव केन्द्रमा राख्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

    बदलिंदो सामाजिक, राजनैतिक र आर्थिक वातावरणका कारण प्रत्यक्ष अप्रत्यक्ष रुपमा सैनिक मूल्य मान्यतामा असर परिरहेको उनले जनाए । यो क्रम बढ्दै गएमा यसको दीर्घकालीन असर सङ्गठनमा मात्र सिमित नरही राष्ट्रिय सुरक्षामा समेत पर्ने हुँदा यस विषयमा स्वदेश तथा विदेशमा कार्यरत नेपाली सेनाका सकलदर्जा सजग हुनु पर्ने उनले बताए ।

    समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेनालाई समयानुकूल व्यावसायिक, आधुनिक र अनुशासित सङ्गठनको रूपमा विकास गरी राष्ट्रिय शक्तिको मजबुत अङ्गको रूपमा स्थापित गर्दै लैजानु सबैको साझा दायित्व भएको जनाए ।

    नेपाली सेनाका सकलदर्जामा उच्च स्तरको आचरण र अद्वितीय नैतिक चरित्रको विकास गर्दै सदाचारीतायुक्त कार्यसंस्कृतिको विकास गर्दै लैजानु आजको आवश्यकता रहेको समेत उनले औंल्याएका थिए ।

    कतिपय अवस्थामा सैनिक सङ्गठनलाई विवादमा तान्ने गरी सङ्गठन भित्रका विषयवस्तुहरु प्रचार प्रसार हुने गरेको हुँदा त्यसतर्फ सबैले विशेष ध्यान दिई सतर्क रहन जरुरी रहेको समेत उनले बताए ।- न्युज कारखाना

  • बालकोटमा एमाले सचिवालय बैठक जारी

    बालकोटमा एमाले सचिवालय बैठक जारी

    काठमाडौं, ७ वैशाख-

    एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा एमाले सचिवालय बैठक बसिरहेको छ ।

    आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी छनोट, निर्वाचनको तयारीलगायतका विषयमा बैठकमा छलफल भइरहेको छ ।

    सत्तारुढ पाँच दलीय गठबन्धन संयुक्त उम्मेदवार उठाएर निर्वाचनमा जाने भएपछि पार्टीको रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

    एमालेले राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, परिवार दलसहितका पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ । –  न्युज कारखाना

  • निर्वाचन आचारसंहिता पालनाप्रति दलहरूकाे प्रतिबद्धता

    निर्वाचन आचारसंहिता पालनाप्रति दलहरूकाे प्रतिबद्धता

    लमजुङ, ८ वैशाख-

    लमजुङका राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    जिल्ला समन्वय समितिको सभाहलमा आयोजित निर्वाचन आचारसंहिता कार्यान्वयन विषयक अन्तरक्रियामा सहभागी राजनीतिक दलहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    छलफलमा नेकपा एमालेका जिल्ला सचिव सुभाष पौडेल, नेपाली कांग्रेस लमजुङका उपसभापति आनन्द घिमिरे, माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य सुनिल सुनार र कांग्रेसका निर्वाचन आचारसंहिता पालना गर्न प्रतिवद्ध रहेको बताए । राप्रपाका ठाकुरप्रसाद गुरुङले निर्वाचन स्वच्छ र निस्पक्ष हुनुपर्ने बताए ।

    कार्यक्रममा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले राजनीतिक दल, पत्रकार र सन्चारमाध्यमले आचार संहिता पालना गर्नु कर्तव्य भएकाे बताए । निर्वाचनको लागि लमजुङमा १७ दल दर्ता छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले राजनीतिक दल स्वयंले निर्वाचन आचारसंहिता निर्माण गरेकाले स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाधँलीरहित बनाउन दलकै मुख्य भूमिका हुने बताए ।- न्युज कारखाना

  • लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    लमजुङ, ८ वैशाख-

    स्थानीय तह निर्वाचनका लागि लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला न्यायाधीश शिवप्रसाद खनालले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाएको बताए।

    लमजुङ सदरमुकाम बेसीसहरमा रहेको जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएकाे हाे । लमजुङ जिल्लाका सबै आठ स्थानीय तहमा पनि आजै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उनले बताए। लमजुङमा चार गाउँपालिका र चार नगरपालिका रहेका छन्।- न्युज कारखाना

  • अछामका ५५ मतदानस्थल अति संवेदनशील

    अछामका ५५ मतदानस्थल अति संवेदनशील

    अछाम, ७ वैशाख-

    अछामले स्थानीय तह निर्वाचन लक्षित सुरक्षा रणनीति तयार पारेकाे छ । निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा योजना निर्माण गरेकाे प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिए ।

    सुरक्षा समन्वय समिति अछामले ५५ मतदानस्थललाई ‘अति संवेदनशील’ को सूचीमा राखेको छ। यस्तै, एक सय ३० मतदानस्थलमध्ये सुरक्षाका हिसाबले ५४ संवेदनशील र २१ सामान्य रहेकाे प्रजिअ मरासेनीले बताए ।

    विगतको निर्वाचनको समीक्षा, संञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता तथ्यलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हाे । सोहीअनुसार सुरक्षा निकाय परिचालन हुनेछन् । मतदान केन्द्र, मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुनेगरी सुरक्षा योजना तयार गरिएको छ ।

    मतदान स्थलमा एक हजार चार सय ९० म्यादी प्रहरी परिचालन हुनेछन् । कमलबजार, मंगलसैन र साँफेबगर नगरपालिकामा नेपाली सेनाको बेसक्याम राखिने प्रजिअ मरासेनीले बताए । यस्तै, सुरक्षा दृष्टिकोणले एक निर्वाचनस्थलमा कम्तिमा आठ र बढी १५ जना प्रहरी परिचालन र नगरपालिका दुई र गाउँपालिकामा तीन सशस्त्र प्रहरी मोबाइल टोली खटाइने छ ।

    चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको अछाममा दुई सय सात वटा मतदान केन्द्र छन् । यहाँ एक लाख ५६ हजार दुई सय ८० मतदाता छन् ।- न्युज कारखाना

     

  • ३३ वर्षअघि मुम्बईको कोठीमा दुई जना महिला बिक्री गर्ने पुरुष पक्राउ

    ३३ वर्षअघि मुम्बईको कोठीमा दुई जना महिला बिक्री गर्ने पुरुष पक्राउ

    पर्सा, ८ वैशाख-

    जीउ मास्ने बेच्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–३ बस्ने पर्सा साविक ठोरी गाबिस–९ घर भएका ५७ वर्षीय विष्णु बहादुर थापा छन् । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनले २०४६ भदौ १८ गते दुई जना महिलालाई भारतको मुम्बईको कोठीमा लगी बिक्री गरेको प्रहरीले जनाएको छ ।

    सोही घटनामा जिल्ला प्रहरी कार्यालय पर्साबाट जीउ मास्ने बेच्ने मुद्दा दर्ता भई अनुसन्धान तथा अभियोजन पश्चात पर्सा जिल्ला अदालतले २०६१ चैत १४ गते उनलाई १० वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए ।

    उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उदयपुर कटारी नगरपालिका–३ मा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

    उनलाई फैसला कार्यान्वयनको लागि पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको छ ।- न्युज कारखाना

  • नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

    नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

    ललितपुर, ८ वैशाख-

    नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२८ हरिसिद्धी बस्ने बारा निजगढ नगरपालिका–७ घर भएका २८ वर्षीय राजेन्द्र घिमिरे छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घिमिरेले ९ वर्षीया बालिकालाई आफ्नो कोठामा लगि मोबाइल खेलाउन दिई बाल यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।- न्युज कारखाना

  • केपी ओलीको टिप्पणी : हाप्सिलो बोकेर हिँडेको छ कांग्रेस

    केपी ओलीको टिप्पणी : हाप्सिलो बोकेर हिँडेको छ कांग्रेस

    काठमाडौं, ८ वैशाख-

    एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन् ।

    एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन् ।

    ‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो,’ ओलीले भने, ‘कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ । कोही हाप्सिलोजस्ता छन् । कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ । हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ । योभन्दा अलच्छिन के हुन्छ ?’

    गठबन्धनसँगै कांग्रेस पनि सकिने ओलीको दाबी छ ।- न्युज कारखाना