एसइई सकेका विद्यार्थीलाई सुझाव : ‘आफूभित्रको क्षमता पत्ता लगाउनुस्’

काठमाडौँ, २५ असार : 

“तपाईँलाई आफूभित्र के छ भन्ने पत्ता लगाउन केही वर्ष लाग्नेछ । जुन दिन त्यो पत्ता लाग्नेछ, त्यसमा घोत्लिएर लाग्नुहोस्, तपाईको जीवनमा सफलता मिल्छ ।’’

माध्यमिक शिक्षा परीक्षा (एसइई) पार गरेर कक्षा ११ र १२ को तयारी र भविष्यको योजना बुन्दै गरेका विद्यार्थीमाझ उत्प्रेरणात्मक वक्ता रञ्जित आचार्यको सल्लाह छ, “जसरी बेलुनभित्र रहेको शक्तिले उसलाई आकाशमा उडाउछ, त्यसैगरी तपाईभित्रको ऊर्जाले तपाईको जीवनलाई सफलतामा लानेछ, केवल तपाईले आफूभित्रको आगो बाल्न सक्नुपर्छ, ।

त्यो आगो कहाँ छ भनेर थाहा पाउन सक्नुपर्छ ।’’ उहाँले उत्कृष्ट हुन्छु भन्ने महत्वकाङ्क्षा बोकेर वा अरुलाई हराउन खोजेर भन्दा पनि आफैलाई प्रतिस्पर्धी ठानेर काम गरेमा हरेक समस्याभित्र समाधान भेटिने र त्यसले जुनसुकै पेसामा पनि सक्षम बनाउन सघाउने सुनाउनुभयो ।

‘केन्द्रविन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ मा ‘करिअर काउन्सिलिङ’ दिँदै आचार्यले उक्त सल्लाह दिनुभएको हो । कार्यक्रममा नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पढेर मात्र नहुने टिप्पणी गर्नुभयो ।
“सीपमूलक शिक्षा अहिलेको आवश्यकता हो । जो भविष्यमा केही गर्न चाहन्छ, उसले चुनौतीमा पनि अवसर देख्छ । तर, जो अल्छी छ उसले अवसरमा पनि चुनौती देख्छ ।’’

खल्ती एपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमित अग्रवालले  जीवनमा हार नमानी विद्यार्थीले अध्ययनलाई निरन्तरता दिए सफलता चुम्ने आधार तय हुने बताउनुभयो । “जे पढियो त्यही गर्नुपर्छ भन्ने छैन । शिक्षाको काम सहजताको एउटा आधार हो । हामीलाई बच्चैदेखि गरिब देश भनेर सिकाइयो, तर नेपाल गरिब देश होइन, धनी हो । अहिलेका पुस्ताले यही भावनाका साथ अध्ययनलाई अघि बढाउनुपर्छ ।’’

ग्लोबल एकेडेमी अफ टुरिजम् एण्ड हस्पिटालिटी एजुकेशन’का प्रमुख कार्यकारी अधिकृत खेम लकाइले संसारमा सबैभन्दा सुन्दर देशका रूपमा नेपाल रहेकाले यहाँ केही गर्न सकिन्छ भन्ने भावनाका साथ इमानदार रूपमा मेहनत गरेमा देशका लागि केही गर्न सकिने सुझाव दिनुभयो ।

कलाकार निशा अधिकारीले माथिल्लो शिक्षाका लागि विषय रोज्ने क्रममा अरुका कुरा धेरै नसुनेर आफ्नो रुचि र क्षमतालाई आत्मसात गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

केन्द्रविन्दु डटकमका प्रधानसम्पादक विदुर खतिवडाले शिक्षाका ज्ञानको ज्योति भएकाले यसलाई फैलाउन सकेमा विकास र समृद्धिको ढोका खुल्ने भएकाले अहिलेका पुस्ताले ज्ञानको विस्तार र अवसरको उपयोगका लागि हरदम प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेकपा (एमाले) का सचिव योगेश भट्टराईलगायतले उत्कृष्ट १४ सामुदायिक र ३१ संस्थागत विद्यालय तथा शिक्षासेवीलाई सम्मान गर्नुभएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *