झापास्थित बालुवाटारको ३८४ रोपनी सरकारी जग्गा हिनामिना, १ सय ८७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ,फागुन १३।

झापाको दमकस्थित बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने १८७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दमक नगरपालिका १३ र १४ स्थित बालुवाटारको ३८४ रोपनी ८ आना एक दाम सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्दा ४१ करोड ६२ लाख १९ हजार रुपैयाँ हानिनोक्सानी भएको निष्कर्ष निकाल्दै मुद्दा हालेको हो।

आज विशेष अदालत काठमाडौँमा दायर गरिएको आरोपपत्रमा अख्तियारले नापी कार्यालय झापाका ९ जना कर्मचारी, गैरकानुनी तरिकाले जग्गा दर्तावालाहरू ६५ जना र बिगो असुल गर्न तथा जग्गा जफत गर्ने प्रयोजनका लागि ११३ जनालाई प्रतिवादी बनाएको छ।

प्रतिवादीहरूबाट एक करोडदेखि साढे ४१ करोड रुपैयाँसम्म बिगो माग दाबी लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

झापास्थित बालुवाटारकै २९ बिघा १७ कट्ठा ४ धुर जग्गा गैरकानुनी रूपमा व्यक्तिविशेषको नाममा घुसाई हालसाविक जग्गा दर्ता गर्ने कर्मचारी जग्गा दर्तावालासहित १७२ जनालाई प्रतिवादी बनाउँदै अर्को मुद्दा पनि अख्तियारले दर्ता गरेको छ। दोस्रो मुद्दामा अख्तियारले नापी कार्यालय झापा चन्द्रगढीका १० कर्मचारी, दमकका ७ जना, मालपोत कार्यालय झापाका ११ जना कर्मचारी, जग्गा दर्तावाला ३६ जना र बिगो असुलउपर तथा जग्गा जफत प्रयोजनका लागि १०८ जनालाई प्रतिवादी बनाएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *