डलर देखाइ ठगी गर्ने २६ वर्षीय फरार व्यक्ति पक्राउ

काठमाडौँ, २९ माघ
डलर देखाइ रु नौ लाख ठगी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने २६ वर्षीय दिलकुमार लामा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ घर भई हाल काठमाडौँ टेकु बस्ने ३२ वर्षीय गिरिराज लिम्बूलाई डलर देखाइ ठगी गरी फरार रहेका निज लामालाई आइतबार बूढानीलकण्ठ–५ टुसालबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

लिम्बूलाई ४० हजार डलर साट्ने प्रलोभनमा पारी गत कात्तिक २३ गते भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मुहानेपोखरी बोलाइ रुमालको पोको दिइ रु नौ लाख लगी गएकामा रुमाल खोली हेर्दा उक्त रुमालमा कागज रहेको हुँदा ठगी भएको भनी पीडितले निवेदन दिएको प्रहरीले जनाएको छ । डलर देखाई ठगी गर्ने कार्यमा संलग्न अर्का व्यक्ति सिन्धुपाल्चोकको बाह्रबिसे–४ बस्ने वर्ष ३६ का अमृतकुमार लामालाई गत मङ्सिर २१ गते प्रहरीले पक्राउ गरिसकेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *