एक अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौँ, २६ माघ :

चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपाल प्रहरीले फैसला कार्यान्वयनका क्रममा पाँच हजार तीन सय ६४ जनालाई पक्राउ गरी रु एक अर्ब १९ करोड जरिवाना असुल गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा पाँच हजार तीन सय ६४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । साथै उनीहरूलाई तोकिएको रु एक अर्ब १९ करोड ८४ लाख ४९ हजार तीन सय ६१ जरिवाना असुल उपर गरिएको छ ।

उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा करिब तीन सय १३ प्रतिशतले बढी हो । सो अवधिमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट ५४ जना, काठमाडौं उपत्यकाबाट ६ सय १३ जना, कोशी प्रदेशबाट आठ सय २५ जना, मधेश प्रदेशबाट एक हजार ७ सय ९७ जना, बागमती प्रदेशबाट पाँच सय २२ जना, गण्डकी प्रदेशबाट चार सय ४७ जना, लुम्बिनी प्रदेशबाट नौ सय १६ जना, कर्णाली प्रदेशबाट ८३ जना र सुदूरपश्चिम प्रदेशबाट १ सय ७ जना पक्राउ परेका हुन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तीन हजार एक ५० जना पक्राउ परेका थिए । कर्तव्य ज्यान, लागुऔषध, जबरजस्ती करणी, बैंकिङ कसूर, ठगीलगायत विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान नै सञ्चालन गरी फैसला कार्यान्वयनलाई तीव्र गतिमा अघि बढाएको अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बताउनुभएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *