कालिकामा भोलिदेखि निमा स्‍मृति नक आउट फुटबल प्रतियोगिता

चितवन माघ ३

चितवनको कालिका नगरपालिकामा भोलि (बुधबार) देखि कमरेड निमा स्‍मृति खुला नक आउट फुटबल प्रतियोगिता हुने भएको छ ।

जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिले प्रतियोगिता आयोजना गरेको हो । १९ गतेसम्म हुने प्रतियोगिताका खेलहरु कालिका ८ स्थित गैरिबारी खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा चितवन र छिमेकी जिल्लाबाट १५ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कमरेड निमा र आयाम युवा समाज भिड्नेछन् । खेल दिउँसो २ बजे हुनेछ ।

त्यस अघि बागमती प्रदेशका पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम दाहाल (अविनास) ले प्रतियोगिताको उद्घाटन गर्ने अनेरास्ववियू (क्रान्तिकारी) कालिका नगर समिति अध्यक्ष सिद्धान्त मगरले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको मगरले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न चार लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *