एनआरएनए निर्वाचन कुनै पनि हालतमा नरोकिने दावी

काठमाडौं, फागुन ८ –
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियान्ताहरुले मार्च महिनाको तेस्रो साता तय गरिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने दावी गरेका छन् । गैरआवासीय नेपाली संघको मार्च २१ र २२ तारिख तय गरिएको निर्वाचनको तयारीको लागि बद्री केसी पक्षले शनिवार राति आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले संघको निर्वाचन हुन ढिला हुँदा अभियान नै गम्भीर दुर्घटना उन्मुख हुन लागेको भन्दै चिन्ता व्यक्त गरे ।

गैरआवासीय नेपाली संघको गत अक्टोवरको लागि तय भएको १० औं महाधिवेशन पटकपटक रोकिएपछि संघका अभियान्ताहरुले संघलाई विघटनको दिशामा लैजान खोजिएको भन्दै आक्रोश व्यक्त गरे ।

करिब ४० देशका राष्ट्रिय समितिका अध्यक्षहरुको उपस्थिती रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित उच्चस्तरीय समितिका संयोजक शेष घलेले ६१ देशका महाधिवेशन प्रतिनिधि कटौती गर्न लागेकोप्रति असन्तुष्टी व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी डा. बद्री केसीले संघको निर्वाचनको प्रकृया अघि बढी सकेको बताउँदै उच्चस्तरीय समितिका दुई जना सदस्य निर्वाचन रोक्न लागि परेको आरोप लगाए ।

उनले उच्चस्तरीय समितिका सदस्यहरुलाई महाधिवेशन प्रतिनिधि विवाद मिलाउने बाहेक अन्य म्यान्डेट नभएको बताए । उच्चस्तरीय समितिका सदस्यहरु म्यान्डेटभन्दा बाहिर गएर मिलाउन भन्दा समस्या बल्झाउने दिसामा लागेको नियत रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *