नारायणी नमुना मावि भरतपुरले एसईई रिजल्टमा यसवर्ष पनि ल्यायो उत्कृष्ट नतिजा

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, साउन ११ – नारायणी नमुना मावि भरतपुरले यसवर्ष पनि एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालयबाट कुल ३८२ जना विद्यार्थीले एसईई दिएकोमा ९३ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन् ।

विद्यालयका शिक्षक इन्द्रकमल दवाडी ‘आइके दवाडी’ का अनुसार ४ जिपिए ल्याउनेमा १ जना र ३.६० देखि ४ जिपिए ल्याउने ९२ जना गरी ९३ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । यसैगरी ३.२० देखि ३.६० जिपिए अर्थात ‘ए’ ग्रेड ल्याउने १०९ जना, २.८० देखि ३.२० जिपिए अर्थात ‘बी प्लस’ ग्रेड ल्याउने ८४ जना, २.४० देखि २.८० जिपिए अर्थात ‘बी’ ग्रेड ल्याउने ५० जना, २ देखि २.४० जिपिए अर्थात ‘सी प्लस’ ग्रेड ल्याउने ४३ जना र १.६० देखि २ जिपिए अर्थात ‘सी’ ग्रेड ल्याउने ३ जना परीक्षार्थी रहेका छन् ।

भरतपुर महानगरपालिका– १० मा रहेको यस विद्यालय नेपालकै नमुना माविका रुपमा परिचित सरकारी विद्यालय हो । नारायणी नमुना माविले वर्षेनी उत्कृष्ट नतिजा ल्याउँदै आइरहेको छ । ०७५ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउनेमा यस विद्यालय नेपालमा दोश्रो र मध्यमाञ्चलको पहिलो भएको थियो । ०७६ र ०७७ मा कोरोनाका कारण राष्ट्रिय परीक्षा बोर्ड ‘एनईबी’ ले परीक्षा सञ्चालन नगरी विद्यालय आफैले परीक्षा सञ्चालन गरेका थिए । त्यस्तै होमसेन्टरमै परीक्षा गराइएको थियो । त्यसैले देशव्यापी तुलना गरिएन ।

यसवर्ष ०७८ को नतिजामा भने एनईबी आफैले परीक्षा सञ्चालन गरेको हो भने परीक्षा केन्द्र पनि फरक विद्यालयमा राखिएको थियो । यो वर्षको नतिजा हेर्दा नारायणी मावि दोश्रो होइन पहिलो नै हुने अनुमान गरिएको शिक्षक आइके दवाडी बताउँछन् । यद्यपी तुलनात्मक परिणाम भने आइसकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *