बुलन्दसहरमा भीषण दुर्घटना : ट्रयाक्टर ट्रली र कन्टेनर ठोक्किँदा ८ भक्तजनको मृत्यु, ५० घाइते

एजेन्सी

उत्तर प्रदेश अगस्त २५
भारतको उत्तर प्रदेश राज्यअन्तर्गत बुलन्दसहरको खुर्जा क्षेत्रमा आइतबार साँझ एक भीषण सडक दुर्घटना भएको छ।

एनएच ३४ को अर्निया क्षेत्रको घाटाल गाउँ नजिक तीव्र गतिको कन्टेनरले भक्तजनहरू बोकेको ट्रयाक्टर ट्रलीलाई पछाडिबाट ठक्कर दिँदा ८ जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन्।

घटनास्थलमा बुलन्दशहरकी डीएम श्रुति र एसएसपी दिनेश कुमार सिंह पुगेका थिए र घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्।

एसपी ग्रामीण डा. तेजवीर सिंहका अनुसार कासगंज जिल्लाको सोरो क्षेत्रको रफैदपुर गाउँका करिब ६० भक्तजन आइतबार साँझ राजस्थानको हनुमानगढ जिल्लास्थित गोगामेदी मन्दिर दर्शनका लागि ट्रयाक्टर ट्रलीमा निस्किएका थिए। घाटाल गाउँ नजिकै ट्रली पुग्दा कन्टेनरले पछाडिबाट ठक्कर दिँदा ट्रलीमा सवार श्रद्धालुहरू सडकमा पछारिएका थिए।

दुर्घटनापछि प्रहरी टोली, एम्बुलेन्स र स्थानीयको सहयोगमा घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये २९ जना कैलाश अस्पतालमा, १८ जना मुनि सीएचसीमा र १० जना जतिया अस्पतालमा भर्ना छन् ।

कैलाश अस्पतालमा दुई बालबालिकासहित ६ जनाको मृत्यु पुष्टि गरिएको छ भने मुनि सीएचसीमा २ जनाले ज्यान गुमाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *