विद्यालयले अनधिकृत शुल्क लिएको भन्दै अभिभावकको विरोध

रूपन्देही फागुन १७,

सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि रुपन्देहीको एक सामुदायिक विद्यालयले विद्यार्थीहरूसँग शुल्क असुली गरेको भन्दै अभिभावकले विरोध गरेका छन् ।

सम्मरीमाई गाउँपालिका–७ स्थित कृषक आदर्श माध्यमिक विद्यालय, बेतकुइयाँले कक्षा छदेखि १० सम्मका विद्यार्थीहरूसँग आन्तरिक मूल्याङ्कनको बहानामा शुल्क असुली गरेको अभिभावक विजय मिश्रको आरोप छ । शैक्षिकसत्र विसं २०८१ को अन्तिम परीक्षा अवधिमा प्रतिविषय रु ३० का दरले शुल्क उठाई शिक्षकहरूले आफूखुसी व्यक्तिगत रूपमा बाँडफाँट गरेको उनले बताए ।

विद्यालयका प्रधानाध्यापक उमाकान्त अर्यालले पनि उक्त रकम विद्यार्थीहरूको शैक्षिक सुधार तथा आन्तरिक मूल्याङ्कनमा खटिने शिक्षकहरूका लागि लिइएको स्वीकार गरे ।
गाउँपालिका शिक्षा शाखा प्रमुख रामदास गौंड र शिक्षा विकास तथा समन्वय इकाइ, रूपन्देहीका प्रमुख माधव बन्जाडेले सार्वजनिक विद्यालयका विद्यार्थीहरूबाट त्यस्ता कुनै शुल्क लिनु र व्यक्तिगत रूपमा बाँडफाँट गर्नु गैरकानुनी भएको भन्दै लिइसकेको शुल्क फिर्ता गर्न निर्देशन गरिएको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *