बझाङमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

काठमाडौं, पुस १९ –
पहाडी जिल्लाहरूमा जीप यातायातको सहज साधन मानिए पनि दुर्घटनाको जोखिम पनि उत्तिकै छ । बझाङ जिल्लामा एकै दिन दुईवटा जीप दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाएका छन् ।

बझाङको मष्टा गाउँपालिका–१ मा बिहीबार राति जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मष्टाको कोटदेवलमा भएको जीप दुर्घटनामा परेर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापा छन् । बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप दुर्घटना भएको हो ।

जीप सडकबाट करिब सय मिटर तल खसेको थियो । जीपमा चालकबाहेक अन्य यात्रु थिएनन् ।

बिहीबार राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको जीप धमेनानजिक दुर्घटना हुँदा चारजनाको घटनास्थलमा नै मृत्यु भएको थियो।

दुर्घटनामा जीप चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, निजकी ७२ वर्षीया आमा जोगेनी देवी र पाँच वर्षीया छोरी आकृतिको मृत्यु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *