१६ लाख किशोरीलाई माघमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

काठमाडौं, कात्तिक २८-
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन्।

खोप लगाउनेबारे मंगलबार मन्त्रिस्तरीय निर्णय भएको हो। आउँदो माघ २३ गते क्यान्सर दिवसको अवसरमा देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ। अभियान १५ दिनसम्म चल्नेछ। यो निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९ सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गरेको उनको सचिवालयले जानकारी दिएको छ।

जसअनुसार यसैवर्ष नियमित खोपमा समावेश हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकालेसमेत यो खोप लगाउन पाउनेछन्। आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको प्रवक्ता डाक्टर बुढाथोकीले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *