Blog

  • चितवनका ११ सहित देशभर ५०१ जना कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी

    चितवनका ११ सहित देशभर ५०१ जना कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी

    – विनिता रेग्मी
    चितवन, ०७८ फागुन ७ –

    प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका ११ कैदीबन्दीको सजाय मिनाहा गरेकी छिन् ।

    सरकारको सिफारिसका आधारमा प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीले चितवनसहित देशभरका ५०१ कैदीबन्दीको सजाय मिनाहा र १२ जनालाई आममाफी दिएकी हुन् ।

    यससँगै चितवन कारागारमा अब तीन आश्रित बालिकासहित ७१९ कैदीबन्दी रहेका छन् । तीमध्ये ५५ महिला र ६६१ पुरुष कैदीबन्दी रहेका छन् ।

    सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेश समेतको आधारमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४) लागुहुनु पूर्व गरेको कसुरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।

  • ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

    ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

    ब्राजिल [ब्राजिल], ७ फागुन, 
    दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।

    स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या झण्डै दोब्बर भएर २०० भन्दा बढी पुगेको बताएको छ । मङ्गलबारको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घरहरू ध्वस्त भएका थिए । शुक्रबार दिउँसो प्रकोप क्षेत्रमा उडेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले यो घटनाको दृष्य “युद्ध दृश्य” जस्तो देखिन्छ भन्दै मन्त्रीहरूलाई उद्धारका रचनात्मक उपाय अवलम्बन गर्न निर्देशन दिनुभएको थियो ।

    अग्निनियन्त्रकहरूले विपद्को चार दिन पछि पनि मानिसहरूलाई जीवितै उद्धार गर्न सम्भव भएको बताएका छन् यद्यपि प्रतिकूल मौसमका कारण भग्नावशेष सार्न भारी मेसिनरी प्रयोग गर्न गाह्रो भएकाले उद्धार प्रयासहरू सुस्त छ।

    ब्राजिल सरकारले प्रभावित क्षेत्रका लागि आपतकालीन राहतका लागि करिब ५० करोड रियास (लगभग ९५ मिलियन अमेरिकी डलर) घोषणा गर्ने अपेक्षा गरिएको छ। (रासस-एएनआई/सिन्ह्वा)

  • चितवनमा थप १० जनामा संक्रमण पुष्टि,  ६४ जना निको, एक जनाको मृत्यु

    चितवनमा थप १० जनामा संक्रमण पुष्टि, ६४ जना निको, एक जनाको मृत्यु

    चितवन, फागुन ७–
    चितवनमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार २६२ जनामा गरिएको पिसिआर परीक्षण र २६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १० जनामा पोजिटिभ देखिएको हो ।

    यससँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४०० पुगेको छ । तीमध्ये ३८० संक्रमित होम आइसोलेसनमा छन् भने २० संक्रमित अस्पताल आइसोलेसनमा रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा ६४ संक्रमित संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

    चितवनमा हालसम्म ३३ हजार ४९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३२ हजार ६४७ संक्रमित संक्रमणमुक्त भइसकेका छन् । हालसम्म ४४८ संक्रमितको मृत्यु भएको छ ।

  • टुँडिखेलमा यसरी मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस (फोटोफिचर)

    टुँडिखेलमा यसरी मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस (फोटोफिचर)

    काठमाडौँ, ७ फागुन –
    नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ ।

    राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।

    समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अङ्कित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाइएको थियो ।

  • बतासलाई नारायणहिटीभित्रै होर्डिङ बोर्ड राख्न काठमाडौं महानगरको अनुमति

    बतासलाई नारायणहिटीभित्रै होर्डिङ बोर्ड राख्न काठमाडौं महानगरको अनुमति

    नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले होडिङ बोर्ड पनि राख्ने भएको छ । काठमाडौ महानगरपालिकाले दरबार संग्राहलय हातामा डिजिटल विज्ञापन बोर्ड राख्न अनुमति दिएको हो । यसअघि दरबारकै अघिल्लो भागमा यति ग्रुपलाई पनि विज्ञापन बोर्ड राख्न महानगरपालिको अनुमति दिएको थियो ।

    गत साउन अगावै बतास समूहको बी म्यानेजमेन्ट प्रालिलाई होर्डिङ बोर्ड राख्न अनुमति दिइएको महानगरपालिकाले जनाएको छ । नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट चलाउन सेटिङबाट ठेक्का हात पारेको कम्पनीलाई नै महानगरपालिकाले ठूलो आकारको होडिङ बोर्ड राख्न अनुमति दिएको खुलेको हो ।

    महानगरपालिकाले नारायणहिटी दरबार परिसरभित्रै होर्ड राखेबापत वार्षिक २ लाख ४५ हजार विज्ञापन कर लिनेछ । नारायणहिटी परिसरमा अग्लो टावर बनाएर बोर्ड राख्न लागिएको हो ।कानूनले यसरी स्मारक क्षेत्रमा होर्डिङ बोर्ड राख्न निषेध गरेको छ । प्राचीन स्मारक संरक्षण ऐन २०१३ले सम्पदा क्षेत्र विरुप हुने भएकाले विज्ञापन बोर्ड राख्न अनुमति नदिने गरी स्पष्ट व्यवस्था गरेको छ ।

    ऐनमा पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालय ले जारी गर्‍यो महत्वपूर्ण सूचना

    मध्यपश्चिमाञ्चल विश्वविद्यालय ले जारी गर्‍यो महत्वपूर्ण सूचना

    सुर्खेत मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय सुर्खेत ले , घर ( फल्याट ) भाडामा लिने सम्बन्धि सूचना जारी गरेको छ । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय सुर्खेत ले Mid – West University Center for Cosmopolitan Languages and Professional Development को लागि फ्ल्याट भाडामा लिन आवश्यक परेकाले उक्त प्रयोजनका लागि फ्ल्याट भाडामा दिन इच्छुक घर धनिलको लागी यो सुचना प्रकाशित गरेको हो, फ्ल्याट भाडामा दिन इच्छुक घर धनिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात र तपशिलमा उल्लेखित विवरण सहितको निवेदनमा रु ।१० – ( दश ) को टिकट टाँसगरी प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।
    सुचनामा भय अनुसार्,
    तपशिल :
    १ घर वीरेन्द्रनगर नगरपालिका वडा नं । ८ मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसको नजिकै मुख्य सडकसंग जोडिएको हुनुपर्नेछ ।
    २ घर कम्तीमा ६-८ कोठा , २ वटा शौचालय र एक वाथरुम भएको फ्ल्याट , गाडी पार्किङ्को सुविधा भएको हुनुपर्नेछ ।
    ३ प्रस्तावमा निवेदकले करसहितको भाडा रकम पेश गर्नुपर्नेछ ।
    ४ अपाङ्गता भएका व्यक्तिको पहुँचलाई समेत मध्यनजर गरी सकेसम्म भुईतला भएको फ्ल्याटलाई प्राथमिकता दिइनेछ ।
    ५ प्रस्ताव केन्द्रीय कार्यालय , सुर्खेतमा जग्गाधनी पुर्जा , नक्सा पास सहितको विवरण पेश गर्नुपर्नेछ ।

    अब हेर्नुहोस जारी गरियको सुचना जस्तको त्यस्तै

  • उडानअघि जहाजको इन्जिन जाँच्ने नेपाली इञ्जिनियर दाजु–बहिनी

    उडानअघि जहाजको इन्जिन जाँच्ने नेपाली इञ्जिनियर दाजु–बहिनी

    ‘राइट ब्रदर्स’को ‘बालसुलभ बदमा’सी’ र ‘सपना’ फलस्वरुप आज आकाशमा उडिरहेका जहाज हुन्। विल्भर र ओर्भिल दुई दाजुभाइको सपनात्यति बेला जागेको थियो, जतिबेला उनीहरूको उमेर ११ र ७ वर्ष मात्र थियो।
    विल्भर ११ वर्षका थिए, ओर्भिलको उमेर ७ वर्षका थिए। यी दाजुभाइका बुवाले बजारबाट ल्याइदिएको उड्ने खेलौनाले उनीहरूभित्र ‘हवाईजहाज निर्माता’को चेतना जागृत गरायो। बाँस, प्वाँख, कागज, रबरललगायतबाट बनाइएको उडाउने खेलौना नै ‘राइट ब्रदर्स’को जीवनमा ‘माइल स्टोन’ बनिदियो ।
    एउटै कोखबाट जन्मेका दाजुभाइ, दिदीबहिनीको सोच पनि एकै भने संयोगमात्र हुने गर्छ।
    नेपालमा पनि त्यस्तै दुई जना दाजुबहिनी छन्, जसको सोच ‘संयोग’ हो। काठमाडौंको कुमारीगाल–६ बौद्धका २७ वर्षीय सुमित गौतम र २६ वर्षीय सुम्निमा गौतम ती उदाहरण हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको इन्जिन परीक्षण गर्दा देखिने सुमित र सुम्निमा दाजुबहिनी हुन् भन्ने चाहिँ कमैलाई मात्र थाहा छ।

    बुद्ध एयरमा कार्यरत एरोनेटिकल इञ्जिनियर सुमित र सुम्निमा सँगै कार्यालय जान्छन्, सँगै काम गर्छन्, एउटै काम अनि एउटै कम्पनीमा। पहिलो त सोच मिलेर नै हो, एउटै फिल्डमा सँगै काम गर्दा दुबै जना फुरूङ्ग छन्। ‘दाजुले एउटा विषय रोजे भाइबहिनीले अर्कै फिल्डको विषय रोजेका उदाहरण प्रशस्तै छन्,’ सुम्निमाले भनिन्, ‘तर, हामी दाजुबहिनीमा त्यस्तो छैन, हामीले सल्लाहले नै एरोनेटिकल इञ्जिनियरिङ पढेका हौँ।’ बाल्यकालदेखि दुबैको सोच एरोनेटिकल इञ्जिनियरिङ गर्ने नै थियो। आकाशमा हवाईजहाज उड्दा पनि उनीहरूलाई ‘यो कसरी उड्छ होला’ भन्ने खुुल्दुली लाग्थ्यो रे। त्यो उत्सुकताले पनि सुमित र सुम्निमालाई एरोनेटिकल इञ्जियर बन्न प्रेरित गरेको रहेछ। ‘बस वा कार त यसरी चल्छ भनेर लजिक लगाउन सकिन्छ,’ सुमितले भने, ‘तर, हवाईजहाज कसरी उड्छ भन्ने लजिक लगाउन गाह्रो छ, प्लेन कसरी उड्छ भनेर हामी बहस गरिरहन्थ्यौँ, अहिले प्लेनका पार्टपुर्जा र इञ्जिनको सबैथोकको ज्ञान हासिल गरिसकेका छौँ।’ जिज्ञाशु स्वभावका यी दाजुबहिनीलाई सानो उमेरमा बुवाले किनेर ल्याएको खेलौना नै अध्ययनको साधन बन्ने गर्दथ्यो। ‘खेलौना खोलेर त्यसका पार्टपुर्जा हेर्दा पनि केही सिकेजस्तो आभाष हुन्थ्यो,’ सुमितले भने, ‘बुवा–आमा रिसाउनु पनि हुन्थ्यो, तर सिकाईको प्रक्रिया चाहिँ त त्यहीँबाट सुरू भएको हो।’ बाराको कलैयाका दीपक र साधना गौतमका छोराछोरी हुन्, सुमित र सुम्निमा। वि.सं. २०५८ सालमा काठमाडौं आउँदा सुम्निमा कक्षा पाँचमा पढ्दै थिइन्। एक वर्षपछि २०५९ सालमा स–परिवार काठमाडौं आउँदा सुमित कक्षा सातमा पढ्दै थिए। प्यारागन पब्लिक स्कुलमा पढ्दा–पढ्दै उनीहरू काठमाडौं आएर, दुबै जनाको पढाइ डेफोडिल पब्लिक स्कुलबाट अघि बढ्यो। एसएलसीपछि सुमितले युनाइटेड एकेडेमी र सुम्निमाले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टरबाट प्लस–टु पास गरे। एसएलसीमा विशिष्ठ श्रेणीमा पास भएकी सुम्निमाले प्लस–टुमा ६७ प्रतिशत अंक हासिल गरिन्। एसएलसीमा ७१ प्रतिशत ल्याएका सुमितले ६१ प्रतिशत अंक ल्याएर प्लस–टु उत्तीर्ण गरे। अनि सुरू भयो, दाजुबहिनी सुमित र सुम्निमाको लक्ष्य प्राप्तिको असली उडान। सन् २००९ मा सुमित र सुम्निमा एरोनेटिकल इञ्जिरियरिङ अध्ययनका लागि भारतको राजस्थान गए। सन् २०१३ सम्म भगवन्त विश्वविद्यालयमा एरोनेटिकल इञ्जिरियरिङ अध्ययन गरेपछि सुमित र सुम्निमा उत्साह र जोश लिएर नेपाल फर्किएका थिए। ‘हाम्रो लक्ष्य राम्रो एरोनेटिकल इञ्जिनियर बन्ने थियो,’ सुम्निमाले भनिन्, ‘त्यसैले सुरूदेखि नै लगनशील भएर अध्ययन गर्याै।’
    हवाईजहाज सम्बन्धी इञ्जिनियरिङ गर्ने सुमित र सुम्निमाको बाल्यकालदेखिकै चाहना थियो। पढ्दा, खेल्दा वा जुनसुकै काम गर्दा पनि उनीहरूको छलफलको विषय ‘एयर प्लेन’ बन्ने गर्दथ्यो। जब भगबन्त विश्वविद्यालयमा पढाइ सुरू गरे, उनीहरूको हवाई उडानको सपना साकार हुने दिन नजिकिँदै गयो। ‘पढाइ सुरू भए पनि कहिलेदेखि हवाईजहाज सम्बन्धी कुरा पढ्न पाइएला भन्ने कौतुहता हुन्थ्यो,’ सुमितले भने, ‘तर, चौंथो सेमेस्टरबाट मात्रै सुरू भयो।’ उनका अनुसार त्यसअघि आधारभूत विषयमा अध्ययन हुने गर्दथ्यो। विश्वविद्यालयमा पढाइसँगै उनीहरूलाई अभ्यास र व्यावहारिक ज्ञान पनि दिइन्थ्यो।

    त्यही क्रममा उनीहरूले हवाईजहाज पनि बनाए, एडिएएलएन सिस्टम। साधारण भाषामा भन्दा नमूना हवाइजहाज। ‘सबैले बनाए पनि केही विद्यार्थीको मात्रै उड्यो,’ अध्ययन गर्दाको क्षण सम्झिँदै सुम्निमाले भनिन्, ‘त्यो दिन मलाई निकै ठूलो सफलता हासिल गरेजस्तो लागेको थियो।’ बाल्यकालमा विभिन्न आकारका र विभिन्न साइजका जहाज बनाएर उडाएको भन्दा पनि आनन्दको अनुभूति उनलाई भएको थियो। तर, हवाईजहाजकै वास्तविक आधारमा नमूना विमान बनाएर उडाएको चाहिँ सुम्निमाको यो पहिलोपटक थियो। हवाईजहाजमा यात्रा गर्दा दुबै दाजुबहिनीको ध्यान ककपिटमा हुने गर्दथ्यो।

    पाइलटका गतिविधिमा उनीहरूको ध्यान केन्द्रित हुने गर्थ्याे। ‘पहिले पाइलट बन्न मन थियो,’ सुम्निमाले भनिन्, ‘तर, एरोनेटिकल इञ्जिनियरिङ गर्दा चाहिँ विमानका सबै पक्षको ज्ञान हुने थाहा भएपछि अध्ययन यसतर्फ मोडिएको हो।’ अहिले हवाईजहाजका पार्टपुर्जासँग खेल्दा उनलाई आफ्नो बाल्यकालदेखिको सपनाले मूर्त रुप पाएको अनुभूति हुन्छ। एरोनेटिकल इञ्जिनियर सुम्निमा र सुमित हरेक दिन बिहान कार्यालयका लागि निस्किँदा सधैँ यात्रुको सुरक्षाप्रतिको दायित्व स्मरण गर्छन्। बुद्ध एयरका आठ वटा हवाइजहाज छन्। प्राविधिक पक्ष हेर्ने लाइसेन्स प्राप्त २२ जनासहित करिब ७० जनाको टिम छ।

    त्यही टिमका जिम्मेवार सदस्य हुन्, सुमित र सुम्निमा। ‘स्वभावैले आफ्नो काम जिम्मेवारीपूर्वक पूरा गर्न सकुँ भन्ने कामना गरिन्छ,’ सुमित भन्छन्, ‘सामान्य त्रुटिले भयानक स्थिति ल्याउन सक्छ भन्ने कुरासँग हामी सचेत छौँ।’ दोस्रो सेमेष्टरमा विश्वविद्यालयकी दोस्रो उत्कृष्ट भएकी सुम्निमा अहिले बेस मेन्टिनेन्समा कार्यरत छिन्। ‘मर्मतको काम गर्नुपर्छ, जुन विभिन्न चरणमा चल्छ,’ उनले भनिन्। सुम्निमाका अनुसार हवाईजहाजको सुरक्षाको सम्पूर्ण जिम्मेवारी प्राविधिकलाई हुन्छ। ‘एक दिन, पाँच दिनदेखि एक महिनासम्मको मेन्टिनेन्स चल्छ,’ उनले थपिन्, ‘निर्धारित अवधिमा काम पूरा गर्नैपर्ने पनि हुन्छ।’ एयरक्राफ्ट मेन्टिनेन्स टेक्निसियनको लाइसेन्स प्राप्त इञ्जिनियरको निर्देशन अनुसार मर्मत–सम्भारको काम अघि बढ्ने उनले जनाइन्। यात्रुको सुरक्षालाई मध्यनजर गर्दै विमान उड्ने बेलामा तीन तहको निरीक्षण हुन्छ। ‘प्राविधिकले हेरेपछि पाइलटले अनि को–पाइटलले पनि विमान निरीक्षण गर्छन्,’ उनले भनिन्, ‘कुनै किसिमको त्रुटि भएको रहेछ सुधार्न सकिन्छ, यात्रुको सुरक्षामा कुनै किसिमको कमी रहन दिनु हुँदैन।’वातारणीय र भौगोलिक बनावटले पनि हवाई यात्रालाई सुरक्षित बनाउने गर्छ। त्यसैकारण नेपाली आकाश अलि जोखिमपूर्ण रहेको तर्क प्राविधिकहरूको छ। ‘हवाईजहाज सधैँ नयाँ हुन्छ, उडानका लागि योग्य रहेको प्रमाणपत्रबिना विमान ल्याउन र उडाउन पाइँदैन,’ सुमित भन्छन्, ‘त्यसैले नेपालमा प्रयोग भएका सबै विमान सुरक्षित छन्।’ तर, वातावरणीय प्रभावले केही समस्या हुने उनको बताए। ‘कर्णाली अञ्चल वा ताप्लेजुङ, सोलुखम्बुजस्ता उच्च हिमाली भागमा मौसम अनुकूलता हेरेर मात्रै उडान भर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यो मौसमी कारण हो, विमानका कारणले होइन।’ हवाईजहाज उचाईमा पुगेपछि फुल्ने र पृथ्वीको सतहमा आउँदा सुक्ने उनले बताए।

    ‘विमानमा प्रेसर मेन्टेन गरिएको हुन्छ,’ सुमित भन्छन्, ‘यस्तो स्थितिमा कहीँ कुनै किसिमको क्य्राक आयो कि भनेर सजगता अपनाइएको हुन्छ।’ उनका अनुसार हवाईजहाजलाई सुरक्षित बनाउने जिम्मा प्राविधिकपछि पाइलटमा निर्भर रहन्छ। ‘मौसमका कारण समस्या हुनसक्छ कहिलेकाहीँ,’ उनले थपे, ‘विमान उडिसकेपछि यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउने जिम्मा चालककै हुन्छ।’ नेपालमा टर्बो प्रप र टर्बो फ्यान विमान सञ्चालनमा छन्। ‘जुन नेपाली आकाशका लागि सही मानिन्छ,’ सुमितले भने। नेपाली समाजमा छोरीलाई घरबाहिर पठाउनु हुँदैन भन्ने मानसिकता अहिले पनि व्याप्त छ। जुन मानसिकता छोरीचेलीले उच्च शिक्षा हासिल गर्ने मार्गका लागि तगारो बन्छ। तर, सुम्निमाले कहिल्यै त्यस्तो स्थितिको सामना गर्नु परेन। ‘आमा–बुवाले सधैँ साथ र हौसला दिइरहनु हुन्छ,’ उनी भन्छिन्, ‘त्यसैले हामीलाई निरन्तर अघि बढ्न सहज भइरहेको छ, म सन्तुष्ट र आभारी पनि छु।’ एरोनेटिकल इञ्जिनियरिङको एक तहको पढाइ पूरा गरेका सुमित र सुम्निमा अझै दक्ष बन्न चाहन्छन्।

    एरोनेटिकल इञ्जिनियरिङको स्नातक तह पूरा गरेपछि स्नातकोत्तर अध्ययनका लागि पनि विदेश नै जानुपर्ने बाध्यता छ। ‘नेपालमा प्राविधिक शिक्षाका लागि विश्वविद्यालय छैनन्,’ सुम्निमाले भनिन्, ‘त्यसैले भारत वा अन्य कुनै देशमा गएर पढ्ने चाहना छ।’उनी दक्ष भएर नेपालमै सेवा गर्ने सोचमा छिन्। पर्यटन क्षेत्रको बृहत् विकासले नेपाली हवाई क्षेत्र पनि उक्सिने उनको तर्क छ। दक्षता हासिल गरेपछि स्वदेश फर्किएर जनताको सेवा गर्ने उनको सोच छ। ‘अहिले मुलुकको स्थिति ठिक छैन भनेर चिन्ता लिनु हुँदैन, विस्तारै सुध्रिन्छ,’ सुम्निमाले भनिन्, ‘त्यो दिन आफूले इच्छा गरेको काम सम्मानपूर्वक मुलुकमै काम गर्न पाइन्छ। सुम्निमा बुद्ध एयरबाट राजीनामा गरेर हाल अमेरिकामा छिन्।

  • बाहादुरी नेपाली काबुलबाट अमेरिकी सेनाका हतियार कुवेत पुर्‍याएर काठमाडौं फर्किएका प्रकाश

    बाहादुरी नेपाली काबुलबाट अमेरिकी सेनाका हतियार कुवेत पुर्‍याएर काठमाडौं फर्किएका प्रकाश

    अमेरिकी सेनाले अफगानिस्तान छाड्दै जाँदा विद्रोही तालिबानले देशका विभिन्न प्रान्त कब्जा गरिरहेका थिए। उनी बसिरहेकै ठाउँमा अमेरिकी सेनाका अधिकारीले सूचना दिए, ‘रेडी भएर बस्नु, आदेश आउनासाथ काबुल छाड्नुपर्छ।’

    प्रकाश छुट्टीमा घर आएर काबुल फर्केको जम्मा १ सातामात्र भएको थियो। लमजुङको सूर्यपाल निवासी प्रकाश अहिले स-परिवार तनहुँको दमौली बस्छन्। भारतीय सेनाबाट अवकाश लिएपछि केही वर्ष नेपालमै बसेका प्रकाश ३ वर्षअघि अफगानिस्तान पुगेका थिए।

    काबुलस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्ड बनेका प्रकाशले यसअघि कुनै पनि अप्रिय घटनाको सामना गर्नु परेको थिएन। विद्रोही तालिबानले यति छिट्टै देश कब्जा गर्ला भनेर उनले सोचेका पनि थिएनन्।

    ‘यति छिट्टै फर्कनुपर्छ भनेर पहिल्यै थाहा भए त नेपालमै बस्थें नि,’ उनले भने, ‘फर्कनुभन्दा २ दिनअघिसम्म पनि यस्तो होला भनेर सोचेकै थिएनौं।’

    काबुल पुगेर उनले कोरोनाविरूद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएर ड्युटी थालिसकेका थिए। वैशाख २१ मा छुट्टी मनाउन नेपाल आएका प्रकाश फर्कने बेला काठमाडौंको सुन्धारास्थित होटल सिङ्गापुर वनमा २९ दिन क्वारेन्टिन बसेको थिए। छुट्टी आउनुअघि कोभिसिल्ड खोपको पहिलो डोज लगाएका उनले दोस्रो डोजमा कोभिसिल्ड लगाउन पाएनन्। अमेरिकी दूतावासले नै उनलाई कोभिसिल्डको ‘भ्यालिडिटी’ सकियो भन्दै जोन्सन एण्ड जोन्सन खोप लगाइदिएका थिए।

    अमेरिकी सेनाका अधिकारीले काबुल छाड्नु पर्ने सूचना दिएलगत्तै प्रकाशले आफ्ना सामान मिलाउन थाले। काबुल छाड्ने आदेशको प्रतीक्षा गरे।

    भोलिपल्टै अर्थात् साउन ३१ गते काबुल छाड्ने आदेश आयो। प्रकाशसहित दूतावासमा कार्यरत नेपाली र अन्य देशका नागरिकले पनि फर्कने मेलो मिलाए।

    त्यतिबेला प्रकाशसँग सुरक्षा गार्ड बस्दा बोक्ने हतियार साथमै थियो। अमेरिकी सेनाले हेलिकप्टरमार्फत् प्रकाशलाई दूतावासबाट काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल लग्यो। त्यतिबेलासम्म विमानस्थल अमेरिकी सेनाले कब्जा गरिसकेको थियो। विमानस्थलमा सैनिक जहाजबाहेक अन्य व्यवसायिक उडान बन्द गरियो। अमेरिकी दूतावासमा मात्रै होइन, अन्य देशका दूतावासमा कार्यरत विदेशीलाई पनि विमानस्थल लैजान थालिएको थियो।

    ‘अमेरिकी सेनाको हेलिकप्टरले हामीलाई दूतावासबाट एयरपोर्ट ओसार्न थाल्यो,’ प्रकाशले भने, ‘हामी विमानस्थल पुग्दा भिड बढिसकेको थियो।’

    विमानस्थलमा उनीहरू हुँदा नै गोली चलेको प्रकाशले बताए। अमेरिकी पासपोर्ट बोकेका अफगानीसमेत अमेरिका वा अरू देश जान चाहेकाले विमानस्थलमा भिड बढेको उनले बताए।

    विमानस्थलमा टर्कीको सेनाले २ जनालाई नियन्त्रणमा लिएको प्रकाशले बताए। टर्कीको सेनाले कसलाई नियन्त्रणमा लियो र किन नियन्त्रणमा लियो भन्नेबारे आफूहरूलाई केही थाहा नभएको उनले बताए। त्यही बेला अमेरिकी सेनाले ‘फायर खोलेको’ हुन सक्ने उनको भनाइ छ।

    प्रकाशका अनुसार आइतबार काबुलस्थित विमानस्थलमा हेलिकप्टरबाट समेत गोली चलेको आवाज आएको थियो। तर कसले किन चलायो भन्ने जानकारी उनले पाएनन्।

    अमेरिकी सेनाको जहाजले प्रकाशसहित अरू नेपाली र अन्य देशका नागरिकलाई कतार लग्यो। जहाज चढ्दा प्रकाशसँग आफूले बोकेको एमफोर राइफल, यसका १५० राउण्ड गोली, एउटा पेस्तोल र त्यसमा लाग्ने ४५ वटा गोली पनि थिए। अमेरिकी सेना र सुरक्षा गार्डमा बसेका सबै जना हतियारसहित जहाज चढेको प्रकाशले बताए।

    काबुलबाट उडेको सैनिक जहाज कतारतर्फ लाग्यो। जहाजमा आएका अधिकांशसँग हतियार साथमै थियो। अमेरिकी सेनाले हतियार कुवेतमा जम्मा गर्ने भन्यो। प्रकाशसहितका टोली कतारबाट सैनिक जहाजमै कुवेततर्फ लागे। कुवेतमा हतियार राखेपछि नेपाल आएको उनले बताए। कुवेतबाट नेपाल आउन पनि अमेरिकी दूतावासले नै जहाज चार्टर गरिदिएको थियो।

    प्रकाशसहित ११८ जना नेपाली अफगानिस्तानबाट कतार, कुवेत हुँदै मंगलबार काठमाडौं आइपुगेका छन्। उनीहरूलाई नेपाली सेनाले सामाखुशी लगेर कोरोना परीक्षण गर्ने र होम आइसोलेसन पठाउने तयारी गरेको छ।

    प्रकाशका अनुसार अफगानिस्तानमा तत्काल ठूलो खतरा छैन। तालिबान विद्रोहीले अहिलेसम्म विदेशी नियोगमा आक्रमण गरेका छैनन्। अहिलेसम्म सबैजना सुरक्षित रहेको उनले बताए। तालिबानले अफगानी प्रहरी र सेनालाई आत्मसमर्पण गर्न लगाएको उनले बताए।

    ‘अफगानी प्रहरी र सेनाले आत्मसमर्पण गरेर तालिबानलाई हतियार बुझाए,’ उनले भने, ‘त्यसपछि तालिबान राष्ट्रपति कार्यालय छिरे।’

    अफगान प्रहरी र सेनाले तालिबानलाई हतियार बुझाएर घर गएको उनले बताए। तालिबान विद्रोहीले काबुलस्थित अमेरिकी दूतावास र अन्य देशका दूतावासलाई अहिलेसम्म केही नगरेको उनले बताए।

  • हामी पनि एमसीसी एमसीसी भनेर बुरुक बुरुक नउफ्रिउँः यज्ञराज सुनुवार

    हामी पनि एमसीसी एमसीसी भनेर बुरुक बुरुक नउफ्रिउँः यज्ञराज सुनुवार

    प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसदहरुले अफगानिस्तान प्रकरणलाई उदाहरणका रुपमा लिँदै एमसीसी–एमसीसी भनेर उफ्रिन नहुने बताएका छन् । सांसद यज्ञराज सुनुवारले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अफगानिस्तानमा जुन ढंगले अमेरिकाले सेना र सहयोग जुटायो, त्यसको अहिले कुनै प्रभाव नदेखिएको बताए ।

    उनले भने, ‘जुन देशका नागरिकले सरकारलाई सहयोग गर्दैनन्, बाहिरको सेना र सहयोगले मात्र सत्ता टिक्दैन भन्ने कुरा अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छोड्नु परेको घटनाले पनि देखाएको छ ।’ उनले नेपालको सन्दर्भमा अहिले अमेरिकी सहयोग ‘एमसीसी’ बारे भइरहेको बहसप्रति लक्षित गर्दै भने, ‘हामी पनि एमसीसी एमसीसी भनेर बुरुक्क बुरुक्क नउफ्रिऊँ ।’

    सांसद मोहन बानियाँले अफगानिस्तानको काबुल सहर तालिबानले कब्जा लिएको भन्दै त्यहाँको अमेरिकी दूतावासमा ३०० नेपाली सुरक्षामा खटिएका र उनीहरु अहिले ‘रेड जोन’ मा परेको बताए । ‘तिनीहरु रेड जोनमा परेका छन्, त्यो कुरा नेपाल सरकारलाई थाहा छ कि छैन रु’ उनले भने । सरकारसँग अफगानिस्तानमा कति नेपाली छन् भन्नेसमेत प्रस्ट तथ्यांक नरहेको भन्दै उनले कटाक्ष गरे ।

  • प्राधिकरणमा कुलमानलाई गरिएको नियुक्तिविरूद्ध हितेन्द्रले दिए सर्वोच्चमा रिट

    प्राधिकरणमा कुलमानलाई गरिएको नियुक्तिविरूद्ध हितेन्द्रले दिए सर्वोच्चमा रिट

    विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
    उक्त पदमा आफू रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्र शाक्यले सोमबार रिट दिएका हुन्।

    उक्त रिट दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ।

    ‘प्राधिकरणको कार्यकारी निर्देशक पदबाट मैले राजीनामा दिएको छैन भन्न कुरा निर्विवाद छ। त्यसैगरी मलाई विपक्षी नेपाल सरकारले उक्त पदबाट सुनुवाइको मौका प्रदान गरी कुनै कानूनी आधारमा हटाउने निर्णय गरेको छैन भन्ने कुरा पनि निर्विवाद छ,’ उनको रिटमा भनिएको छ, ‘यस्तो अवस्थामा मेरो यथावत रहेको नेपाल विद्युत प्राधिकारणको कार्यकारी निर्देशक पदमा विपक्षी कुलमान घिसिङलाई नियुक्ति गर्ने कार्य कानून र औचित्यको समेत प्रतिकूल छ।’

    साउन २५ गते बसेको मन्त्रपरिषद बैठकले आफूलाई ऊर्जा आयोगको विज्ञको रूपमा नियक्ति गरेकोमा पनि उनले असन्तुष्टि जनाएका छन्।

    आफूले उक्त पद स्वीकार नगर्दै आफूलाई विस्थापित गर्न कुलमानलाई नियुक्ति गरिएको शाक्यको जिकिर छ।

    ‘एउटा पदमा दुई व्यक्ति रहन नसक्ने र मलाई गरिएको ऊर्जा आयोगको विज्ञको पदलाई मैले स्वीकार गरेको अवस्था नहुँदै अप्रत्यक्ष तवरमा मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट विस्थापित गर्ने उद्धेश्यले विपक्षी कुलमान घिसिङलाई उक्त पदमा नियुक्त गर्ने विपक्षीहरूको कामकारबाहीले सो पदमा रही सेवा गर्ने र प्राधिकरणको नेतृत्व गर्ने मेरो वैध अपेक्षामा प्रतिकूल असर गरेको छ।’

    मन्त्रिपरिषदका निर्णयले आफूलाई संविधानले दिएको पेशा रोजगार गर्न पाउने स्वतन्त्रता, समान संरक्षणको हक, इच्छाविरूद्ध काममा लगाउन नपाइने हक लगायतका हक हनन गरेको शाक्यको रिटमा उल्लेख छ।