Blog

  • भारतको भ्रमणमा निस्कनुअघि बेलायती प्रधानमन्त्रीले के भने ?

    भारतको भ्रमणमा निस्कनुअघि बेलायती प्रधानमन्त्रीले के भने ?

    लन्डन, ८ वैशाख-

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुससँग युद्ध अन्त्यका लागि भएका वार्ता असफल हुन सक्ने बताएका छन् । भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री जोनसनले रुसले राजधानी कीभमा ताजा हमला गर्न सक्ने बताए ।

    भारत भ्रमणका क्रममा युक्रेन युद्धबारे भारतको तटस्थता अन्त्य गर्न भारतीय समकक्षीलाई प्रोत्साहन गर्ने उनले बताए । तर, भारतले रुससँगको लामो समयदेखिको सम्बन्ध तोड्ने सम्भावनालाई भने उनले अस्वीकार गरे ।

    प्रधानमन्त्री नरेन्द्र मोदी र जोनसनबीच शुक्रबार नयाँ दिल्लीमा भेट वार्ता हुँदै छ । भेटका क्रममा जोनसनले आफ्ना भारतीय समकक्षीलाई रुस–युक्रन युद्धमा युक्रेनको पक्षमा उभिन मोदीलाई मनाउन प्रयास गर्ने अनुमान गरिएको छ ।

    ‘मैले युक्रेनको बारेमा नरेन्द्र मोदीसँग कुरा गरिसकेको छु र वास्तवमा भारतीयहरूले बुचामा भएको घटनाको निन्दा गरेका छन’ उनले भने ।

    प्रधानमन्त्री जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग व्यवहार गर्नु भनेको गोहीसँग ‘बार्गेनिङ’ गर्नुजस्तै भएको बताए । रुसले पछिल्लो समय आफ्नो सम्पूर्ण बल पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी युक्रेनबाट रूसी सेनालाई हटाएको आफूले हेर्न चाहेको उनले बताए ।

    सन् २०१४ मा रुसमा बिलय भएको क्रिमिया प्रायद्वीपबारे जेलेन्स्कीले छलफल गर्न सक्ने उनले बताए । युक्रेनी जनताले आफ्नो भविष्यको निर्णय आफै गर्ने उनको भनाई थियो । ‘युक्रेनबिना युक्रेनको बारेमा केही निर्णय गर्नु हुँदैन् ’, उनले थपे ।- एजेन्सी

     

  • ललितपुरमा तोकियो निर्वाचन कार्यालय र मतगणना स्थल

    ललितपुरमा तोकियो निर्वाचन कार्यालय र मतगणना स्थल

    ललितपुर, ८ वैशाख-

    ललितपुरका ६ वटै स्थानीय तहमा आजबाट निर्वाचन अधिकृतको कार्यालय खुलेका छन् । जिल्ला निर्वाचन कार्यालय ललितपुरका प्रमुख गोमा धमलाका अनुसार बुधबार नै सबै पालिकाका सरसामान पठाइएको छ ।

    ललितपुर महानगरको लागि जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको भवनमा कार्यालय स्थापना गरिएको छ । महालक्ष्मी कार्यालयको इमाडोलस्थित वडा नम्बर २ को कार्यालय भवन, गोदावरी नगरपालिकाको बज्रवाराहीस्थित नवनिर्मित भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

    दक्षिण ललितपुरको बागमती गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय भट्टेडाँडा छपेलीस्थित नवनिर्मित प्रशासनिक भवनमा कार्यालय स्थापना भएको छ ।

    महाँकाल गाउँपालिका कार्यालय गोटिखेलस्थित वडा नम्बर ३ मा कार्यालय खडा गरिएको छ । कोञ्ज्योसोम गाउँपालिकामा भने चौघरेस्थित पहिले भएको पुरानो गाउँपालिकाको कार्यालय परिसरमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ ।

    तोकिए मतगणना स्थल
    जिल्ला निर्वाचन कार्यालयले ललितपुरका सबै पालिकामा हुने मत गणनास्थलसमेत तय गरेको छ ।

    ललितपुर महानगरको मतगणना जावलाखेलको स्थानीय प्रशिक्षण भवनमा मत गणना हुनेछ । गोदावरीको कुस्ले चौरस्थित वडा नम्बर ११ मा रहेको वडा कार्यालय, महालक्ष्मी नगरमा इमाडोलस्थित महेन्द्र आर्दश माविमा मत गणना हुनेछ ।

    बागमती गाउँपालिकाको छपेलस्थित प्रशासकीय भवनमा मतगणना गरिनेछ भने महाँकाल गाँउपालिकाको गोटीखेलस्थित महाँकाल माविमा मत गणना गर्ने कार्यक्रम छ । कोञ्ज्योसोम गाँउपालिकाको बाघभैरव माविमा मतगणना गर्ने योजना रहेको छ ।- न्युज कारखाना

  • आज पनि यी प्रदेशमा वर्षाकाे सम्भावना

    आज पनि यी प्रदेशमा वर्षाकाे सम्भावना

    काठमाडाैं, ८ वैशाख-

    नेपालमा न्युन चापीय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

    दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    राति गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

    शुक्रबार गण्डकी, बाग्मती तथा प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको आँकलन गरिएकाे छ ।- न्युज कारखाना

     

  • एमाले सचिवालय बैठक बस्दै, महानगर र उपमहानगरमा उम्मेदवार टुंग्याउने

    एमाले सचिवालय बैठक बस्दै, महानगर र उपमहानगरमा उम्मेदवार टुंग्याउने

    काठमाडाैं, ८ वैशाख-

    आसन्न स्थानीय तहकाे निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)काे सचिवालय बैठक आज बिहीबार बस्दैछ ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीसहित सम्मिलित सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा पार्टीबाट उम्मेदवारका लागि सिटबाँडफाँट गरेकाे भाेलिपल्ट एमालेले सचिवालय बैठक डाकेकाे हाे ।

    एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठक दिउँसो १ बजे बालकोटमा बस्नेछ । उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने उनले बताइन् ।

    स्थानीय तहकाे निर्वाचन आगामी ३० वैशाखमा हुँदैछ ।

    सल्लाहकार परिषद्‌काे बैठक पनि बस्दै

    एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक पनि आज बस्दैछ । बैठक बिहान ११ बजे ए वान पार्टी प्यालेस, शंखमुलमा बस्न लागेकाे हाे । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बैठक बस्न लागेकाे हाे ।न्युज कारखाना

     

     

  • पेरुमा बलात्कारीलाई नपुंशक बनाउने कानुन ल्याइँदै

    पेरुमा बलात्कारीलाई नपुंशक बनाउने कानुन ल्याइँदै

    लिमा, ८ वैशाख-

    पेरु सरकारले नाबालिगलाई बलात्कार गर्नेलाई केमिल कास्ट्रेसन ( यौन हर्मोन उत्पादन रोक्न रसायन वा औषधिको प्रयोग) लाई अनुमति दिने विधेयक पेस गर्ने भएको छ । मन्त्रिपरिषद्का सदस्यहरूले यस्तो जानाकारी दिएका हुन् ।

    तीन वर्षीया बालिकाको बलात्कारपछि देशव्यापी आक्रोश बढिरहेका बेला सरकारले कडा कानुन ल्याउन लागेको हो । न्यायमन्त्री फेरलिक्स चेरोले भने, ‘यो उपाय बलात्कार गर्नेहरूका लागि थप सजाय हुनेछ ।’

    नाबालिगहरूलाई बलात्कार गर्नेहरूले जेल सजाय भोग्ने र सजायको अन्त्यमा दोषीलाई नपंशुक बनाइने उनले बताए ।

    ३ वर्षीया बालिकाको बलात्कारको आशंकामा ४८ वर्षीय पुरुष पक्राउ परेपछि सरकारले बलात्कारीविरुद्ध कठोर कानुन ल्याउन लागेको हो । पीडित बालिकाको परीक्षणपछि शल्यक्रिया गरिएको थियो ।

    सामाजिक रूपले रूढिवादी र विद्यालयका पूर्वशिक्षकसमेत रहेका राष्ट्रपति पेड्रो कास्टिलोले विद्येयकको समर्थन गरेका छन् । बालिका बलात्कार गर्नेलाई उदाहरणीय ढंगले सजाय दिनु पर्ने उनले बताएका छन् ।

    ‘हामीलाई आशा छ कि संसदले यो विद्येयक अनुमोदन गर्नेछ’, क्यास्टिलोले यसै साता भनेका थिए ।

    विद्येयकले कानुनको रूप लिन संसदबाट अनुमोदन हुनुपर्छ । तर, स्वास्थ्यमन्त्री जर्ज लोपेज, पीडितका अभिभावक र केही महिला अधिकार संगठनहरूले विद्येयकको आलोचना गरेका छन् । ‘हामीलाई खेद छ कि कार्यपालिकाले यौन हिंसा बुझ्दैन’, पेरुकाे महिला अधिकार समूह फ्लोर ट्रिस्टानले ट्विट गरेको छ ।

    ‘तीब्र न्यायिक प्रक्रिया, हेरचाहमा सुधार, दण्डहीनता विरुद्ध लडाइँ र रोकथामलाई बलियो बनाउने उपाय आवश्यक छन्’, समूहले अगाडि भनेको छ । एजेन्सी

  • वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन

    वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन

    विरगन्ज, ८ वैशाख-

    वीरगन्ज महानगरपालिकामा नेकपा(एमाले) र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)बीच गठबन्धनकाे सहमति जुटेकाे छ ।

    ३० वैशाखमा हुने चुनावमा वीरगन्जकाे मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् । सरावगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए ।

    एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले यसकाे पुष्टि गरे । वडा अध्यक्ष र सदस्यकाे हकमा टुंग्याउ बाँकी छ ।

    सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसकाे उम्मेदवारी रहने सहमति भइसकेकाे ५ ।- न्युज कारखाना

  • युद्ध मैदानकी चेली

    युद्ध मैदानकी चेली

    काठमाडौँ, ७ वैशाख :
    युद्धको मैदानामा हुन्छन् एक दिदीभाइ । दिदी विद्रोही लडाकू र भाइ सेनाका सिपाही । यतिकैमा आइलाग्छ विपत । युद्ध मैदानमै भाइको गोलीबाट भिनाजुको मृत्यु हुनपुग्छ अकस्मात् ।

    गोली ताक्दै जब भाइ नजिक पुग्छन् तब आफ्नै दिदी देख्छन् र झस्किन्छन् । कस्तो दुर्भाग्य ! गोली हान्ने आफ्नै भाइ अनि मृत्युवरण गर्ने प्रेमी । दिदीले सहनसक्ने कुरै भएन । दिदीभाइको बोलचाल बन्द हुन्छ तर सम्बन्ध विस्तारको प्रयास भाइले राखी नै रहन्छन् । उनका अनेकन प्रयास सफल हुँदैनन् ।

    शान्ति सेनामा जाने तयारीसम्मै खुसी हुदैन सिपाहीको मन । मनभरि अशान्ति बोकेर शान्ति खोज्न जानु पो कहाँ ? भाइलाई छटपटी हुन्छ । लगत्तै आएको भाइटीकामा दिदीको घर पुग्छन् भाइ तर दिदीले भाइटीका लगाइदिन्नन् । “अचानक भएको मुठभेडमा कर्तव्य निर्वाह मात्र गरेको थिएँ, सक्छेउ भने माफ देउ”, त्यस दिनको घटना परिबन्दमा परेर भएको कुरा भाइले सुनाउँछन् र घरबाट निस्किन्छन् । “भाइ !”, अली पर पुगेपछि भाइको कानमा दिदीको आवाज गुञ्जिन्छ । भाइ फरक्क पछि फर्किन्छन्, यत्तिकैमा कथा सकिन्छ ।

    त्यसपछि के होला ? यही कौतुहल जगाएर सकिने लघु चलचित्र ‘सेनाको चेली’ द्वन्द्वको परिघटनालाई स्मरणमा ल्याइदिने एउटा प्रतिविम्ब हो । जसले नेपालको दश वर्षे सशस्त्र द्वन्द्व र त्यसले उत्पन्न गरेका सामाजिक घाउहरुलाई पुनः एकपटक सम्झाइदिन्छ ।

    चलचित्रका शब्द र दृश्यमा जताततै भावना झल्किन्छ । सामाजिक वाध्यता, देशको परिवेशसँगै मानिसका सम्बन्ध र शान्तिका सन्देश छरपष्ट पाइन्छन् सेनाकी चेलीमा । यही कथावस्तु बोकेर लघु चलचित्र प्रतियोगितामा प्रवेश गरेको सेनाकी चेलीले मुल्याङ्कन समितिको ध्यान आकर्षण गर्न सक्यो । जसले यसपालि उत्कृष्ट लघु चलचित्र घोषित हुँदै नेपाली सेनाबाट रु दुई लाख पुरस्कार लिन सफल भयो ।

    शान्तिका लागि दौडिरहेको एक कर्तव्यनिष्ट सैनिक जवानको मनभित्रको अशान्तिलाई उधिन्ने लघु चलचित्र सेनाको चेलीमा जनयुद्धको कालखण्ड छुँदै अघि बढेको मर्मस्पर्शी कथावस्तु छ । कलाकार इँगिहोपो कोइँचले उक्त चलचित्रको लेखक, निर्देशक तथा निर्माण गर्नुभएको हो ।

    चलचित्रमा सेना र विद्रोहीको अवस्थालाई समेत झल्काइएको छ । उहाँले आफ्ना हजुरबुबा ब्रिटिस लाहुने, दाइहरु आर्मी भएकाले पनि सेनाको भावनामा चल्ने चित्रमा खेल्न मन लागेको सुनाउनुभयो । गतसाल उत्कृष्ट भएको चलचित्रमा मुख्य भूमिका निभाउनुभएका कोइँचले यसपालि लघु चलचित्र निर्माण गरेरै सफलता प्राप्त गर्नुभयो ।

    सेनाका जवान घरबाट टाढा हुनुपरेको आफ्नै कथा हुन्छ होला भन्ने कल्पना उहाँमा जाग्यो । त्यसभित्र आफ्ना परिवार इष्टमित्रसँगको सम्बन्ध कति विछोडिन पुग्छ । अझ दिदीभाइको सम्बन्धमा आघार पुग्दा के होला, यस्तै यसतै कुरा मनभित्र छचल्किँदै जाँदा उक्त चलचित्रको कथा तयार भएको उहाँले सुनाउनुभयो । मुख्यत दिदीभाइका भावनालाई उहाँले उन्नुभएको छ ।

    मुलुकको कर्तव्यनिष्ट व्यक्तिले कर्तव्य पालनाका सिलसिलामा के सम्म गर्नुपर्ने हुन्छ भन्ने सन्देश यो सानो चलचित्रले दिन खोजेको छ ।

    भाइले ल्याएको उपहारसमेत नलिने गरी दिदीभाइको सम्बन्धमा आएको दरार र सम्बन्ध विस्तारमा भाइले गरेको प्रयास मन छुनेका खालको छ । चलचित्रका केही दृष्य दर्शकको आँसु खसाउने खालको छ ।

    “विगतको जनयुद्ध एउटा घटना हो, तर जुनसुकै बेला मानिस आफैँमा अशान्त हुन्छ नी त्यो कुरालाई शान्ति सेनाका माध्यमबाट शान्त बनाउने प्रयास गरेको छु”, चलचित्रको कथाबारे कोइँचले रासससँग भन्नुभयो ।

    कथामा सशस्त्र द्वन्द्व सकिन्छ, त्यसपछि विद्रोही योद्धामा के समस्या आउला, उसले पाउने दुःख के होला, दुःख समस्या मात्रै होइन त्यसले सुख पनि दिनसक्छ भनेर परिवर्तनको सन्देश समेत मिसिएको छ । विगतको सशस्त्र द्वन्द्वमा बाहिर नआए पनि यस्ता घटना नभएका होइन्न । अन्तत द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने खालको चलचित्र बनेको छ ।

    “मैले तीन घण्टाबीचमा सोचेको कथा हो”, उहाँले भन्नुभयो, “हरेक काम यती हतारमा भएको छ की सम्झनै सकिन्न ।” उहाँका अनुसार १५ दिन भित्रमा ‘स्क्रिप्ट’ तयार पारिएको हो । ‘टप टेन’मा छनोट भएपछि कलाकार टिम खोजेर उहाँले चार दिनमा छायाङ्कन सक्नुभएको सुनाउनुभयो ।

    शान्ति सेनामा जाने तयारीका एक सिपाहीका माध्यमबाट घर शान्ति ठूलो कुरा हो भन्ने सन्देश छर्नुभएको छ । अरु देशमा शान्तिका लागि हिँड्न लागेको सेनाको जवानभित्र अशान्तिको भुङ्ग्रो छ, त्यसले मुटुमा हानिरहेको हुन्छ । खासमा त्यो परिबन्द र एक अर्कामा बुझाइमा आएको कमीले हो भन्ने कुरा कथाको अन्तिमतिरको दृष्यले बुझाउँछ ।

    उहाँका अनुसार हरेक परिवारमा सम्बन्ध बिग्रिन्छ भने एक पटक कुरा गरेर कारण बुझाउन सक्नुपर्छ, एकपटक मात्रै संवाद भयो भने समस्या हल हुन्छ, तर समाजमा मानिस अरुको कुरा सुन्ने प्रवृत्ति र कुरा नबुझी व्यवहार गर्ने प्रवृत्ति जकडिएको छ, त्यसलाई चिर्न सक्नुपर्छ भनेर देखाउन खोजिएको छ ।

    छोटो प्रयासमा बनेको लघु चलचित्र उत्कृष्ट भएर रु दुई लाख पुरस्कार पाउँदा उहाँमा खुसीको सीमा छैन । चलचित्रमका मुख्य भूमिका (दिदीको भूमिकामा कलाकार सङ्गीता थापा मगर र भाइको भूमिकामा किरण चाम्लिङ राई)ले जीवन्त अभिनय गर्नुभएको छ । (रासस)

  • अन्तत: सत्ता गठबन्धनले टुङ्ग्यायो महानगर र उपमहानगरमा सिट बाँडफाँट, भरतपुर माओवादीलाई

    अन्तत: सत्ता गठबन्धनले टुङ्ग्यायो महानगर र उपमहानगरमा सिट बाँडफाँट, भरतपुर माओवादीलाई

    काठमाडौँ, ७ वैशाख –
    पाँच दलीय गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाहरुका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारको सिट बाँडफाँट टुङ्ग्याएका छन् ।

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको गठबन्धनका शीर्षनेताको बैठकले सो सहमति गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    गठबन्धन दलबीच कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुखमा तथा वीरगञ्ज, भरतपुर र पोखराको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।

    यसैगरी कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको प्रमुखमा तथा जितपुर–सिमरा, घोराही र हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने बैठकको सहमति छ ।

    नेकपा (माओवादी केन्द्र)का तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुखमा र ललितपुर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ । यस्तै माओवादी केन्द्रले जितपुर–सिमरा र घोराही उपमहानगरपालिकाको प्रमुख तथा धरान र धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनेछ । गठबन्धनको अर्काे घटक नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकाको प्रमुख तथा काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनेछ ।

    एकीकृत समाजवादीले हेटाँैडा उपमहानगरपालिकाको प्रमुख तथा इटहरी, बुटवल र तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।

    यस्तै जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिकाको प्रमुखमा र विराटनगर महानगरपालिकाको उपप्रमुखमा तथा जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।

    पाँचदलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरेको छ ।

    साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिनेसमेत समझदारी भएको छ । सो सहमतिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ । (रासस)

  • पल शाह प्रकरण : नाबालिगका बुबाले पनि फेरे बयान, पल अझै थुनामा

    पल शाह प्रकरण : नाबालिगका बुबाले पनि फेरे बयान, पल अझै थुनामा

    ६ वैशाख, काठमाडौं –
    अभिनेता कलाकार पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिकाका बाबुले पनि बयान फेरेका छन् ।

    आफ्नी नाबालिग छोरीलाई शाहले विभिन्न प्रलोभन देखाई विभिन्न ठाउँमा पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएका नाबालिगका बुबाले मंगलवार जिल्ला अदालत तनहुँमा उपस्थित भएर बकपत्र गर्ने क्रममा बयान फेरेका हुन् ।

    ‘जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शंका छैन,’ पीडितका बाबुको बकपत्र उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’ उनले बयान फेरेसँगै पल कानुनी रुपमा बलियो बनेका छन् । दुई दिनअघि तनहुँ जिल्ला अदालतमा नाबालिगले पनि आफूलाई शाहले करणी नगरेको भन्दै बयान फेरेकी थिइन् ।

    नाबालिगका बुबाले प्रहरीमा दिएको जाहेरीमा पल शाहले ०७७ चैत ३१ गते गलकोट महोत्सव जाने–आउने क्रममा नाबालिगमाथि गाडीभित्रै संवेदनशील अंग चलाउने, जिस्काउनेजस्ता कार्य गरेको, गत वैशाख १४ गते पोखराको एक घरमा मदिरा पिएर नाबालिग बसेको कोठामा गई जबर्जस्ती करणी गरेको, नवलपरासीमा एक सुटिङको क्रममा होटलमा जबर्जस्ती करणी गरेको उल्लेख छ ।

    बालिकाका बाबुको जाहेरीका आधारमा नै प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा लिएर जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान अघि बढाएको थियो । उक्त मुद्दामा अदालतको आदेशमा पल शाह हाल पुर्पक्षका लागि थुनामा छन् ।

  • भारतमा कोरोना भाइरसबाट २४ घण्टामा दुई हजार सङ्क्रमित

    भारतमा कोरोना भाइरसबाट २४ घण्टामा दुई हजार सङ्क्रमित

    नयाँ दिल्ली, ७ बैशाख –
    भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई हजार ६७ जना सङ्क्रमित भएका हुन् ।

    संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन भन्दा ८२० जना बढी सङ्क्रमित देखिएको जनाएको छ । मङ्गलबार सार्वजनिक गरिएको विवरणमा एक हजार २४७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको उल्लेख थियो । भारतमा अहिले १२ हजार ३४० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरु रहेका अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५४७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    महामारी सुरु भएदेखि अहिलेसम्म कुल चार करोड २५ लाख १३ हजार २४८ जना सङ्क्रमणमुक्त भएका छन् ।त्यसैगरी कोरोनाका कारण अहिलेसम्म भारतमा पाँच लाख २२ हजार छ जनाको मृत्यु भएको छ । ती मध्ये ४० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । (रासस/एएनआई)