Category: पर्यटन

  • मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ः करिब एक लाख पर्यटक भित्र्याउने तयारी

    मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ः करिब एक लाख पर्यटक भित्र्याउने तयारी

    खोटाङ, मंसिर ८ – 
    आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को थप पर्यटन प्रवर्द्धन गर्न आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ आगामी पुस १७ गतेबाट औपचारिक रुपमा सुरु हुँदैछ । मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको संयोजनमा आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ सफल पार्नका लागि आन्तरिक तयारीलाई तीव्रता दिइएको छ ।

    ‘मुन्दुम ट्रेल’ को स्तरोन्नति तथा पर्यटन प्रवर्द्धन गर्न आयोजना गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मा आन्तरिक तथा बाह्य गरी करिब एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिनुभयो ।

    “मुन्दुम ट्रेल पर्यटकका लागि भर्जिन गन्तव्य भएकाले कम्तीमा पनि एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको, यसका लागि आन्तरिक तयारीलाई तीव्रता दिएका छौँ”, उहाँले भन्नुभयो, “मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको संयोजकत्व र ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मूल व्यवस्थापन समितिको बैठक बसेर मुन्दुम ट्रेलसँग जोडिएका स्थानीय तहहरूलाई आ–आफ्नो क्षेत्रमा विभिन्न महोत्सव र पर्यटकलाई लक्षित गरेर पर्यटकीय क्रियाकलाप आयोजना गर्न लगाउने निर्णय गरिएको छ, यसले बाह्य पर्यटकका लागि आकर्षित गर्ने अपेक्षा गरेका छौँ ।”

    ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ को अवसरमा खोटाङको केपिलासगढी गाउँपालिकामा ‘हनी हन्टिङ’ महोत्सव तथा गोठ स्टे (गोठवास) महोत्सव, खोटाङकै साकेला गाउँपालिकामा उभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव, भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा गुराँस, घोडचढी तथा फिल्म सुटिङ महोत्सव, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथुन, माउन्टेन साइकिलिङ, साल्पा सिलिछो गाउँपालिकामा नछोङ (धामी) महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सवलगायत कार्यक्रम आयोजना गरिने पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष राईले जानकारी दिनुभयो ।

    पहिलो पटक आयोजना गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’मा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि मुन्दुम ट्रेल आसपासका स्थानीयले धमाधम होम–स्टे (घरवास) तथा गेष्ट हाउस (पाहुनाघर) निर्माण गरिरहेका छन् । नेपाल सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ करिब १०७ किलोमिटर लामो दुरीको छ । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइरहेको छ ।

    ‘मुन्दुम ट्रेल’ पदमार्गको दाँयाबाँया चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायत आधारभूत भौतिक पूर्वाधारको काम भएको छ । खोटाङ र भोजपुरको पर्यटन प्रवर्द्धन तथा विकासमा ‘मुन्दुम ट्रेल’ पदमार्गले ठूलो सहयोग पुगेको खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एव नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामकुमार राईले बताउनुभयो ।

    साकेला गाउँपालिका क्षेत्रभित्र पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गखण्डमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकारको ३५ प्रतिशत गरी रु ९१ लाख ४५ हजार २५२ मा ‘मुन्दुम ट्रेल’ स्तरोन्नतिको काम गरिएको छ । त्रिपक्षीय सम्झौताको आधारमा निर्माण सुरु गरिएको ‘मुन्दुम ट्रेल’ को अवधारणा विसं २०७५ पुस २१ गते औपचारिक रुपमा अघि सारिएको हो ।

    प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवं अनुसन्धान गर्न आउने पर्यटकका लागि ‘मुन्दुम ट्रेल’ रोजाइमा पर्ने गरेको छ । पूर्वीपहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बू तथा सङ्खुवासभा सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ ।

    खोटाङ र भोजपुरको सीमामा पर्ने खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको यो पदमार्ग तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडैपहाडको चुचुरामा निर्माण सुरु गरिएको मुन्दुम ट्रेल पदमार्ग पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि १० दिन लाग्ने गरेको छ ।

    हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि डाँडैडाँडा यात्रा गर्दा थकानको महसुस नहुने पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष राईले जानकारी दिनुभयो । पदमार्गमा अधिकांश किरात समुदायका बस्ती रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’ मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो ।

    ठूल्ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठका साथै घोडचढी अर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।

    मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर मौरी र विभिन्न जङ्गली जनावरसँग त्यत्तिकै लुकामारी खेल्न पाइन्छ । सगरमाथाको चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् २०१० मा यही पदमार्गको एउटा रुट (बाटो) प्रयोग गर्नुभएको जनाइएको छ ।

    मानव बस्ती कम पाइने ‘मुन्दुम ट्रेल’ पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै उनीहरुका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् । परम्परागतरुपमा सञ्चालन हुँदै आएको गोठलाई स्तरोन्नति गरेर गोठ–स्टे ९गोठवास०को व्यवस्था मिलाएर स्थानीय परिकार, चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन् । –  रासस

     

  • जाडो छल्न चितवन आइपुगे आगन्तुक चरा

    जाडो छल्न चितवन आइपुगे आगन्तुक चरा

    चितवन, कात्तिक २९-
    जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएका हुन् ।

    नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन् । उनले भने “अहिले नदी किनारमा आगन्तुक चार देख्न थालिएको छ । योसँगै चराहरु हेर्नका लागि आउने पर्यटकसमेत आइरहेका छन् ।”

    चखेवा, जलेवा, कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँस लगायतका चराहरु आएको उनले बताए । नेपालमा आउने पर्यटकमध्ये चार प्रतिशत पर्यटक चरा हेर्न आउने गरेको उनको भनाइ छ ।

    विभिन्न देशमा जाडो बढेसँगै हिउँ पर्ने र नदीहरु हिउँले ढाकिने हुँदा आहाराको खोजीमा चरा आउने गरेको उनले जानकारी दिए । यो समयमा एक सय ५० देखि एक सय ६० प्रजातीका चार यहाँ आउने गरेको उनको भनाइ छ ।

    संयोजक विडारीले भने, “अहिले आएका चराहरुले बच्चा कोरल्ने काम गर्दैनन् । गर्मी मौसम सुरु भएसँगै यी चराहरु फर्कने गर्दन् ।” तराईको कोशी टापुदेखि कर्णालीसम्म पानीमा आश्रित चरा नेपाल आउने गरेको उनले जानकारी दिए ।

    अहिले हाँस प्रजातिका चराहरु आइसकेको जनाउँदै उनले अन्य चराहरु पनि आउने क्रम जारी रहेको बताए । रासस

     

  • जलवायु जोखिमबाट जोगिन पर्वतीय र सामुद्रिक देश साझा कार्यक्रम बनाएर काम गर्न राष्ट्रपति पौडेलको आह्वान

    जलवायु जोखिमबाट जोगिन पर्वतीय र सामुद्रिक देश साझा कार्यक्रम बनाएर काम गर्न राष्ट्रपति पौडेलको आह्वान

    बाकु (अजरबैजान), २८ कात्तिक : 

    राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आह्वान गर्नुभएको छ ।

    अजरबैजानको बाकु सहरमा यही सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्षराष्ट्रहरुको सम्मेलन (कोप–२९) अन्तर्गत नेपालले आज यहाँ आयोजना गरेको ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ शीर्षकको उच्चस्तरीय ‘राउण्ड टेबल’ बैठकलाई सम्बोधन गर्दै उहाँले सो आह्वान गर्नुभएको हो ।

    “पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्नसक्ने र सामुद्रिक किनार माथि उठ्नसक्ने भएकाले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न म हार्दिक आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

    राष्ट्रपति पौडेलले मुख्यगरी कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्र र तीव्र दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रका लागि बढी सहयोग गर्नुपर्ने बताउनुभयो । “बढीभन्दा बढी जलवायु वित्तको व्यस्थापन गर्न २९औँ जलवायु सम्मेलन सफल हुने मेरो विश्वास छ”, उहाँले भन्नुभयो ।

    जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको र यसको सामाना गर्न हामी सबैको साझा बुझाइ तथा साझा प्रयास बनाउनुपर्ने भएकाले यस कार्यक्रमको आयोजना गरिएको राष्ट्रपति पौडेलको भनाइ थियो ।

  • मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो

    मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो

    कास्की, कात्तिक २८
    माछापुच्छे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक (गाइड) लालबहादुर तामाङको शव फेलापरेको छ ।

    मर्दी आरोहणका लागि काठमाडौँको सनराइज कम्पनीबाट एक विदेशी र सहयोगीका रूपमा गएका चार नेपाली यही कात्तिक २३ गते मर्दी आधार शिविरबाट हिँडेका थिए । सोही क्रममा नुवाकोटको काल्चे–१ का ६२ वर्षीय तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएका थिए ।

    तामाङको खोजीका लागि गएको उद्धार टोलीले मर्दीको पाँच हजार ३०० मिटर उचाइमा तामाङको शव फेला पारेर राति पुनः मर्दी आधार शिविर फर्किएको माछापुच्छे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए।

    उद्धार टोलीमा लाक्पाछिरिङ शेर्पा, छिरिङ लामा भोटे र पासाङ शेर्पा रहेका थिए । अन्य टोली भने मर्दी हाइक्याम्पमा रहेका छन् । “भिरको खोंचमा हिउँले पुरिएको शवलाई डोरीको सहायताले दुई सय मिटरमाथि ल्याएर सुरक्षित राखेर उद्धार टोली फर्किएको छ, उनहरूका अनुसार सो स्थानबाट शव ल्याउन सकिने अवस्था छैन, हेलिकप्टरबाट ल्याउनुको विकल्प छैन, त्यसका लागि पहल गरिरहेका छौँ”, वडाध्यक्ष क्षेत्रीले भने ।

    मर्दी आरोहणका लागि आएका नर्वेली नागरिकले टोलीका भरिया प्रेष्टिज बुर्लाकोटीलाई तामाङ लडेर हराएको जानकारी दिएपछि उद्धारका लागि मङ्गलबार बिहान पोखराबाट सुरक्षाकर्मी, तीन जना शेर्पा, बेपत्ताका परिवार र सनराइज कम्पनीका प्रतिनिधि मर्दीको हाइक्याम्प पुगेका थिए ।

    टोलीले सुरुमा हेलिकप्टरबाट घटनास्थलको निरीक्षणपछि उद्धार टोली पैदलमार्गबाट खोजीका लागि सम्भावित घटनास्थलतर्फ गएको वडाध्यक्ष क्षेत्रीले बताए । मर्दीको भौगोलिक कठिनाइ र प्रतिकूल मौसमका कारणले बेपत्ताको खोजीमा समस्या भएको बताइन्छ । रासस

  • कार्तिक शुक्ल एकादशी : तुलसी र दामोदरको विवाह गरी मनाइयो हरिबोधिनी एकादशी पर्व

    कार्तिक शुक्ल एकादशी : तुलसी र दामोदरको विवाह गरी मनाइयो हरिबोधिनी एकादशी पर्व

    काठमाडौँ, २७ कात्तिक :

    गुणयुक्त तुलसीको दामोदरसँग विवाह गरी हरिबोधिनी एकादशी पर्व आज देशभर मनाइएको छ ।

    हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोादरसँग विवाह गरिएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजाआराधना गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझिने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । आजको एकादशीलाई ठूलो एकादशी पनि भन्ने गरिएको छ ।

    हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

    आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

    तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले नटोक्ने र तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन भन्ने गरिन्छ । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

    तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोना एवं डेङ्गीबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ ।

    कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ भन्ने धार्मिक मान्यता रहेको छ ।

    आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भइ पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

    कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

    विष्णु क्षीरसागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

    आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लागेको छ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । यसै विश्वासले आज बूढानीलकण्ठमा पनि लाखौँ भक्तजनको भीड लागेको थियो । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइएको छ ।

    वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजाआराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी भक्तपुरको चाँगुनारायण र ललितपुर विशङ्खुनारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको थियो ।