Category: पर्यटन

  • जेन–जीको आन्दोलन र पर्यटनमा अवसर

    जेन–जीको आन्दोलन र पर्यटनमा अवसर

    – रोमन सापकोटा
    चितवन, असोज ४ –
    नेपालमा २०७२ सालको भूकम्पपछिको विनाशले पर्यटन क्षेत्रलाई ठूलो आघात पुर्यायो । लामो संघर्ष र पुनर्निर्माणपछि पुनः उठ्न थालेको यो क्षेत्रमा जेन–जी (नयाँ पुस्ता) को आन्दोलनले थप चुनौती ल्याएको छ ।

    जेन–जी पुस्ता पारदर्शिता, सामाजिक न्याय, दिगोपन र वातावरणमैत्री अभ्यासमा जोड दिन्छ । यस कारण पुरानो ढाँचामा चलेको पर्यटन व्यवसाय दबाबमा परेको देखिन्छ ।

    तर यो चुनौतीलाई अवसरका रुपमा पनि लिन सकिन्छ । जेन–जीले माग गरेको दिगो विकासलाई आत्मसात् गरी पर्यटनमा नयाँ मोडल अपनाउन सकिन्छ । डिजिटल प्रविधि, सामाजिक सञ्जाल र नयाँ प्रवर्द्धन शैलीमार्फत पर्यटनलाई विश्व बजारमा अझ आकर्षक बनाउन सकिन्छ । साथै, स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र समुदायलाई प्राथमिकता दिई पर्यटन विकास गर्न सकिन्छ ।

    यसरी गर्दा पर्यटनले वातावरण जोगाउने मात्र होइन, स्थानीयलाई प्रत्यक्ष लाभ दिने खालको दिगो स्वरूप पाउँछ ।

    अन्ततः जेन–जीको आन्दोलन पर्यटनका लागि अवरोध होइन, बरु नयाँ सम्भावनाको ढोका हो । यसलाई सकारात्मक दृष्टिले लिएर नेपालले पर्यटन क्षेत्रलाई आधुनिक, दिगो र प्रतिस्पर्धी बनाउन सक्छ ।

    • लेखक रोमन सापकोटा पर्यटन व्यवसायी हुन् । उनी फ्लाईट्स ज्ञानीका सञ्चालक हुन् ।
  • पर्यटकीय गन्तव्य मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा

    पर्यटकीय गन्तव्य मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा

    चितवन, वैशाख २९

    आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्षपछि होटल सञ्चालनमा ल्याइएको हो ।

    मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा स्वीट तथा डिलक्स गरी ६५ वटा कोठा, एक हजार जना अट्ने क्षमताको ब्याङक्वेट तथा सभाहल, रेष्टुरेन्टको सुविधा रहेको आइएमई ग्रुप तथा मौलाकाली केवलकारका अध्यक्ष चन्द्र ढकालले बताउनुभयो । स्थानीयको साझेदारीमा आइएमई समूहले केवलकार र होटल सञ्चालन गरेको हो । केबलकार र होटल निर्माणले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिमा आउने पर्यटकका लागि सहज भएको ढकालले बताउनुभयो ।

    ढकालका अनुसार आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ । यहाँबाट नवलपुर, देवघाट एवं चितवनको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको यस स्थानमा होटल सञ्चालनमा आएसँगै रात्रिकालीन बास बस्ने पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

    उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले मौलाकालीकामा केवलकार र होटलले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । केवलकार सञ्चालनमा आएसँगै भारतीय र तेस्रो मुलुककासमेत पर्यटक आएको भन्दै उहाँले होटल सञ्चालनले पर्यटकको बसाइँ लम्भ्याउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।

    मौलाकालिका मन्दिरमा जाने यस केवलकार सञ्चालनमा आएपछि २५ प्रतिशतभन्दा बढी भक्तजन आउने गरेका छन् । होटल सञ्चालनसँगै भक्तजनको सङ्ख्या थपिने अपेक्षा गरिएको छ ।

    आइएमई ग्रुपले हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् । लुम्बिनी केबलकारको टप स्टेसन वसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ ।

    त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने गु्रपका अध्यक्ष ढकालले जानकारी दिनुभयो । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रक्रियामा छ । रासस

  • १८औं चितवन हात्ती तथा पर्यटन महोत्सवको आयव्यय सार्वजनिक

    १८औं चितवन हात्ती तथा पर्यटन महोत्सवको आयव्यय सार्वजनिक

    चितवन फागुन ११

    सौराहामा आयोजना गरिएको १८औं चितवन हात्ती तथा पर्यटन महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ ।

    महाेत्सवकाे आयाेजक संस्था क्षेत्रीय हाेटल संघ चितवन साैराहाले आइतबार औपचारिक कार्यक्रमकाे आयाेजना गरि आयव्याय सार्पजनिक गरेकाे हाे ।

    उक्त महोत्सवमा ३९ लाख ४३ हजार आम्दानी हुँदा ४६ लाख ६० हजार ५३९ खर्च भएर ७ लाख १७ हजार ५३९ रूपैया घाटा भएको महाेत्सवका संयाेजक रामकुमार अर्यालले जानकारी दिए । उठ्नु पर्ने रकम १७ लाख ४३ हजार हुँदा तिनुर्ने रकम २४ लाख ३५ हजार रहेकाे उनले जानकारी दिए ।

    चितवनकाे पर्यटन विकासकाे लागि पुस ११ गते देखि १५ गते सम्म हात्ती तथा पर्यटन महाेत्सव आयाेजना गरिएकाे थियाे । कार्यक्रममा संघका अध्यक्ष गंगा गिरीले हात्ती महाेत्सवलाई परिमार्जन गरि चितवन पर्यटन महाेत्सवका रुपमा अगाडि बढाउने प्रस्ताव गरेका छन् ।

    हात्तीलाई जाेड्दा अधिकारका कुरा उठाएर महाेत्सवलाई ध्वस्त पार्ने खेल सुरु भएकाे भन्दै उनले हात्ती महाेत्सवलाई परिमार्जन गरि चितवन पर्यटन महाेत्सवका रुपमा अगाडि बढाउन प्रस्ताव गरेका हुन । संघका महासचिव गुणराज थपलियाले सञ्चालन गरेकाे साे कार्यक्रममा संघका उपाध्यक्ष ओम पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।

    संघका अध्यक्ष गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष किरण महताे, वडा नं ७ का वडासदस्य सुर्यबहादुर तामाङ, संघका पूर्वअध्यक्षहरु दीपक भट्टराई, नारायण भट्टराई, सुमन घिमिरे, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा, रेवान साैराहाका अध्यक्ष ध्रुव गिरी, बाघमारा वनका अध्यक्ष जीतु तामाङ, मृगकुञ्जकी सदस्य विन्दा कार्की लगायतकाे उपस्थिति रहेकाे थियाे ।

  • रसुवामा पर्यटक आवागमनमा उल्लेख्य कमी, पर्यटन व्यवसाय ठप्प

    रसुवामा पर्यटक आवागमनमा उल्लेख्य कमी, पर्यटन व्यवसाय ठप्प

    रसुवा,माघ १७ –
    पछिल्ला दिनमा मौसममा देखिएको गडबडीका कारण हिमाली जिल्ला रसुवामा अत्यधिक चिसो बढेसँगै पर्यटक आवागमनमा उल्लेख्य कमी आएको छ ।

    लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार जिल्लाको उच्च भागमा हिउँ परेको तथा प्राकृतिक रूपमा रहेका गहिरा खोँच, ताल, कुवासहित ओसिलो पदमार्गमा पानी जमी अस्वाभाविक रुपमा चिसो बढेपछि पर्यटक आउनेक्रम कमी भएको हो ।

    सामान्यतया हरेक वर्षको जाडो मौसममा पर्यटकको आवागमन कमी हुने तथा फागुन १५ गतेपछि क्रमिक रूपमा यो वृद्धि हुँदै जाने भएपनि यसवर्ष माघको पहिलो हप्तादेखि मौसम गडबडी भएसँगै जिल्लाको जनजीवन कष्टकर बनेको होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निसान गजुरेलले जानकारी दिनुभयो ।

    जिल्लामा अत्यधिक चिसो बढेपछि त्यसको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा परेको बताउँदै अध्यक्ष गजुरेलले तामाङ सम्पदा पदमार्गअन्तर्गत गतलाङ पार्वतीकुण्ड र थुमनको नाकथली क्षेत्रसहित गोसाइँकुण्ड, लाङ्टाङ क्षेत्रमा भ्रमण गर्न चाहने प्रकृतिप्रेमी पदयात्री तथा तीर्थयात्रीको अभावमा पर्यटन व्यवसाय करिब बन्द अवस्थामा पुगेको स्पष्ट गर्नुभयो ।

    जिल्लाको उकाली–ओराली, भञ्ज्याङ–चौतारी, ताल–तलैया, दुर्लभ बन्यजन्तु, स्थानीय संस्कृतिसहित रहनसहन, नाँचगान, पानी–झर्ना, निकुञ्जभित्रका संरक्षित बन तथा वनस्पतिलगायत सम्पदाले आकर्षित गरी पर्यटक आउने गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत साहले जानकारी दिनुभयो । यसैगरी पवित्र तीर्थस्थल गोसाइँकुण्डको स्नान गर्नाले मनोकांक्ष पूरा हुने धार्मिक विश्वासहित तीर्थयात्री तथा विशेषगरी उत्तरगयाको डाँडाँगाउँस्थित लामो तथा ठाडो भाँगेझर्ना हेर्न आउने पर्यटक पनि बढ्दै गएको उत्तरगया गापा वडा नं २ का वडाध्यक्ष टुकुप्रसाद सुवेदीले बताउनुभयो । – रासस

  • पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर

    पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर

    म्याग्दी, माघ १४ –
    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ ।

    अन्नपूर्ण गाउँपालिकाको रु एक करोड, नेपाल पर्यटन बोर्डको रु २० लाख र अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को रु पाँच लाख बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला सङ्ग्राहलय निर्माण थालिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूूर्ण आधार शिविर र पञ्चकुण्ड ताल क्षेत्रमा अस्थायी संरचना निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

    “एक्यापमा पर्ने भएकाले स्थायी संरचना निर्माण गर्न नीतिगत समस्या भएपछि पर्यटकको सहजताका लागि अस्थायी संरचना बनाउन थालिएको हो”, उहाँले भन्नुभयो, “अन्नपूूर्ण आधार शिविर र पदमार्गमा चिया तथा खाजा पसल सञ्चालनको गाउँपालिकाले ठेक्का आह्वान गरेको छ ।”

    योजनाको सर्वेक्षण, लागत अनुमान तयार र उपभोक्ता समिति गठन भइसकेको अन्नपूूर्णका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलले बताउनुभयो । सन्धीखर्क, भुुसकेट, पञ्चकुुण्ड ताल परिसरमा रु ४० लाखको लागतमा तीन वटा आश्रयस्थल निर्माण गर्न लागिएको छ ।

    हुमखोला, फुतफुते झरना, गुुफाफाट, भुसकेट र पञ्चकुुण्डमा खानेपानी र शौचालय निर्माणका लागि रु ३० लाख विनियोजन भएको छ । फुुटफुते झरना परिसरमा चिया पसल र आधार शिविरमा खुुला सङ्ग्रहालय निर्माणका लागि रु १०/१० लाख विनियोजन भएको छ । खुला सङ्ग्रहालयमा आधार शिविरमा रहेका अभिलेखलाई सङ्कलन र संरक्षण गर्ने लक्ष्य रहेको अन्नपूर्ण गाउँपालिकाका सवइञ्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो ।

    पदमार्ग निर्माण र सुधारका लागि पर्यटन बोर्डको रु २० लाख, गाउँपालिकाको रु १० लाख र एक्यापको रु पाँच लाख बजेट परिचालन गर्ने गरी उपभोक्ता समिति गठन भएको छ । प्रमुख प्रशासकीय अधिकृत कँडेल, सवइञ्जिनियर पौडेल र समुन्त यादवको टोली गत हप्ता आधार शिविर पुुगेर योजना निर्माणस्थलको निरिक्षण गरेर फर्किएको थियो ।

    मानव बस्तीदेखि टाढा, होटल र रेष्टुराँ नभएको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर जाने पर्यटकलाई खाना, बस्न र फोहर व्यवस्थापनमा समस्या भएपछि पूर्वाधार निर्माण थालिएको हो ।

    अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार दसैँ–तिहारको समयमा करिब पाँच हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए । मौरिस हर्गोज पदमार्गमा झोलुङ्गे पुुल, सञ्चार, विद्युुत् सुविधा विस्तार र पर्यटक चेकपोष्ट राख्नका लागि पनि पहल भएको उहाँले बताउनुभयो ।

    अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।

    तीन दिनको छोटो अवधीमा साहासिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो । हर्जोगको टोलीले अन्नपूर्ण चढ्न प्रयोग गरेको बाटो पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो ।

    सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किमी पदमार्ग तयार भएको छ । – रासस

  • पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल

    पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल

    म्याग्दी, पुस १९ –
    म्याग्दीको धवलागिरि गाउँपालिका-३ मा रहेको पर्यटकीयस्थल मुना मालिका क्षेत्र भौतिक पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ओझेलमा छ।

    हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, वन पैदावार, वन्यजन्तुको अवलोकन गर्न सकिने यो स्थान समुन्द्री सतहदेखि तीन हजार सात सय मिटर उचाइमा छ ।

    प्रचुर सम्भावना भए पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा मुना मालिकामा पर्यटकीय गतिविधि बढ्न नसकेका गाउँपालिका–३ का वडाअध्यक्ष देवेन्द्र रोकाले बताए ।

    उनका अनुसार यहाँबाट पुथा, गुर्जा, सिस्ने, धौलागिरि, मानापाथी, अन्नपूर्ण, नीलगिरि हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ। साथै म्याग्दी र बागलुङका बस्ती, बादल र पहाडको लुकामारी हेर्न पाइन्छ। मुनादेखि मालिका धुरी जाने पदमार्ग दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) को बासस्थान पनि भएको वडाअध्यक्ष रोकाले जानकारी दिए ।

    मुना मालिकामा हरेक वर्ष बुद्ध पूर्णिमाका दिन मेला लाग्ने गरेको छ । यस क्षेत्रमा जालिका, मालिका र कालिका देवीका थान रहेका छन् । बुद्ध पूर्णिमाका दिन मुना मालिकामा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

    मालिका गाउँपालिकाको देविस्थान र धवलागिरिको मुनाका बासिन्दा यहाँ पूजाआजाका लागि आउने गर्छन् । पहिले यहाँ धार्मिक मेला र ठेलो फाल्ने प्रतियोगितासमेत हुने गरेको जानकारहरू बताउँछन् । यो मुनाका कृषकहरुको गाईभैंसी र भेँडाबाख्रा चरिचरन गराउने महत्वपूर्ण क्षेत्र पनि हो ।

    धवलागिरिको केन्द्रसमेत रहेको मुनादेखि पाँच घण्टा उकालो यात्रा गरेपछि मालिका धुरीमा पुगिन्छ । यहाँ होटल तथा रेष्टुरेन्ट नभएकाले पाहुना, पर्यटक र भक्तजनले खाने र बन्दोबस्तीका सामान आफैँ लैजानुपर्ने हुन्छ । पछिल्लो समय यहाँको विकासका लागि स्थानीय तह र प्रदेश सरकारले चासो देखाउन थालेको छ ।

    धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडाअध्यक्ष रोकासहित जनप्रतिनिधि, पर्यटनकर्मी, सञ्चारकर्मी, स्थानीयवासी र गाउँपालिकाका कर्मचारीहरुको टोलीले केही दिनअघि मुना मालिकामा पुगेर पर्यटन प्रवद्र्धन कार्यक्रमसमेत गरिएको थियो।

    यसबाहेक यहाँ सडक निर्माणका लागि यस वर्ष प्रदेश सरकारबाट रु २० लाख र गाउँपालिकाबाट रु १५ लाख बजेट विनियोजन गरिएको छ। यसको कार्यान्वयनबाट यहाँको विकासमा टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । सडक निर्माणपछि एक घण्टाभन्दा कम समयमा यहाँ यात्रा गर्न सकिने वडाध्यक्ष रोकाले बताए ।

    यात्राअवधि र बाटो छोट्याउन, देविस्थान, ताकमकोत र ढोरपाटनको जलजलासँग मुना मालिकालाई जोडेर पदमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययनको कामसमेत भइरहेको गाउँपालिकाले जनाएको छ । – रासस

  • १ सातामा २ सयभन्दा धेरै पर्यटक सगरमाथा क्षेत्रमा

    १ सातामा २ सयभन्दा धेरै पर्यटक सगरमाथा क्षेत्रमा

    काठमाडौँ, पुस १९ –
    पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन्।

    पर्यटकको संख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ।

    कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीका अनुसार पुस ११ देखि १८ गतेसम्ममा ९१ महिला र एक सय ३७ पुरुष गरी दुई सय २८ जना विदेशी पर्यटक भ्रमणका लागि लुक्ला ओर्लिएका हुन्।

    पुस ११ गते २८, १२ गते ३१, १३ गते ३०, १४ गते ६६, १५ गते ३६, १६ गते १९, १७ गते चार र १८ गते १४ जना विदेशी पर्यटक भित्रिएको विमानस्थल कार्यालयको तथ्याङ्क छ। अफसिजनमा विगतमा पर्यटक आगमन शून्यजस्तै हुने गरे पनि यस वर्ष पर्यटकको आगमन राम्रो देखिएको पर्यटन व्यवसायी तोयाकुमार श्रेष्ठले बताए।

    चिसो समयको प्रवाह नगरी भ्रमण गर्ने विदेशीको सङ्ख्या बढेसँगै होटल व्यवसायी पनि उत्साहित भएका छन्।

    ‘अफसिजनमा भित्रिएका पर्यटकले हामीलाई निकै खुसी दिएको छ, पहिलापहिला त पुस–माघमा हामी यत्तिकै बस्नुपर्थ्यो, तर यो वर्ष अलिक राम्रैसँग विदेशी आइरहेका छन्। यसले होटल व्यवसायलाई राम्रो भएको छ’, होटल व्यवसायी जाङ्मु शेर्पाले भने।

    खुम्बुमा यो समय चिसोका कारण हिँडडुल गर्न निकै सकस रहेको बताइएको छ । हिमपातपछि अत्यधिक चिसोले पानी जम्दा दैनिकी असहज भएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । चिसोका कारण पाइपमै पानी जम्दा पिउने पानी आपूर्तिमा समस्या भएको उनले बताए।

    करिब एक साताअघि परेको हिमपातले खुम्बुमा झन् चिसो बढेको स्थानीयले बताएका छन् । जसका कारण धेरैजसो व्यवसायी जाडो छल्न काठमाडौँसहित अन्यत्र गएका छन् । खुम्बुमा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको बताइएको छ।

    सुरक्षामा प्रहरी तल्लीन

    पर्यटकको आगमनलाई मध्यनजर गर्दै नेपाल प्रहरी सुरक्षामा सक्रिय रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पर्यटकको शान्ति, सुरक्षाका लागि खुम्बु क्षेत्रको प्रहरी युनिटलाई सक्रिय गराइएको छ । अफसिजन पर्यटकको आगमन बाक्लिएसँगै प्रहरीलाई मोबाइल गस्तीसहित सुरक्षा व्यवस्थामा चुस्त गरिएको छ।

    ‘खुम्बुमा अफसिजन विदेशी पर्यटकको सङ्ख्या बढेको भन्ने सूचना आएसँगै नेपाल प्रहरीलाई थप सक्रिय गराएका छौँ, विदेशी पाहुनाको सुरक्षा व्यवस्थापनका लागि सगरमाथा क्षेत्रअन्तर्गतका सबै प्रहरी युनिटलाई ब्रिफिङ गराई सक्रिय गराइएको छ, शान्ति सुरक्षाका सवालमा हामी कुनै कमी हुन दिनेछैनौँ’, प्रहरी नायब उपरीक्षक घिमिरेले भने। – रासस

  • गत वर्ष साढे ११ लाख पर्यटक नेपाल भित्रिए

    गत वर्ष साढे ११ लाख पर्यटक नेपाल भित्रिए

    काठमाडौं, पुस १८ –
    सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

    बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ ।

    सन् २०२३ मा १० लाख १४ हजार ८७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए ।

    विदेशी पर्यटक आगमनको यो आँकडाले कोभिड–१९ महामारी (कोरोना भाइरस)का कारण शिथिल भएको मुलुकको पर्यटन क्षेत्र लयमा फर्किएको छ । कोरोनाले तीन वर्ष विदेशी पर्यटक आगमन खुम्चियो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन घट्यो ।

    उल्लेखित आँकडाले एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेको भनाइ छ ।

    संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) को ६ महिनाको आँकडाअनुसार विश्वव्यापी रुपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ ।

    निर्देशक लामिछानेका अनुसार पर्यटक आगमन सुधार हुनुमा बोर्डले बजारीकरणलाई तीव्रता दिएको तथा नेपालमै पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना, बुद्धिष्ट सम्मेलनका दौरानमा भएका आठ सयभन्दा बढी चार्टड उडान, अन्तर्राष्ट्रिय बेलुन फेष्टिबल चिनियाँ ड्रागन फेस्टिबलका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भएका पर्यटन उत्सव, मेला र प्रदर्शनी रहेको छ ।

    विदेशी पर्यटक आगमन बढाउन बोर्डले क्षेत्रीय पर्यटन प्रवर्द्धालाइ प्राथमिकतामा राखेको बोर्डले उल्लेख गरेको छ ।

    कुन महिनामा कति पर्यटक ?
    मार्च महिनामा सबैभन्दा बढी एक लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

    अक्टोबरमा एक लाख २४ हजार ३९३, अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक नेपाल आएका थिए ।

    डिसेम्बरमा ८९ हजार ७६५, नोभेम्बरमा एक लाख १४ हजार ५०१, सेप्टेम्बरमा ९६ हजार ३०५, जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक नेपाल आएका थिए ।

    मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका थिए । – रासस

  • गत वर्ष ३१ हजार पर्यटकद्वारा अन्नपूर्ण पदमार्गको भ्रमण

    गत वर्ष ३१ हजार पर्यटकद्वारा अन्नपूर्ण पदमार्गको भ्रमण

    लमजुङ, पुस १८ –
    विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा गत सन् २०२४ मा ३० हजार आठ सय ६६ विदेशी पर्यटक आएका थिए । विश्वकै १०औँ स्थानमा पर्ने यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १८ हजार चार सय ९९ पुरुष, १२ हजार तीन सय ६२ महिला र पाँच अन्य व्यक्ति रहेका थिए ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार सार्क राष्ट्रका एक हजार पाँच सय ६७ पुरुष र दुई सय ८७ महिला यहाँ आएका थिए । त्यस्तै, अन्य राष्ट्रका १६ हजार नौ सय ३२ पुरुष, १२ हजार ७५ महिला र अन्य पाँच विदेशी पर्यटक आएका थिए । फ्रान्स, इजरायल, जर्मनी, बेलायतलगायत देशका नागरिक बढी आएका केन्द्रका इन्चार्ज गुरुङले बताउनुभयो ।

    कोरोना महामारीले थला परेको यस क्षेत्रमा केही वर्षदेखि क्रमशः पर्यटक बर्सेनि बढ्दै गएको पाइन्छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा नौ हजार ६ सय १९ बढी विदेशी पर्यटक आएका थिए । सन् २०२३ मा २१ हजार दुई सय ४७ विदेशी पर्यटक आएका थिए । सोमध्ये १२ हजार नौ सय ८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ । यस केन्द्रका इन्चार्ज गुरुङका अनुसार सन् २०२३ मा एक सय २२ देशका नागरिक यस पदमार्गमा आएका थिए ।

    त्यस्तै, सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक यहाँ आएका थिए । सोमध्ये १० हजार तीन सय ६४ र पाँच हजार पाँच सय ३६ महिला रहेका केन्द्रले जनाएको छ । सन् २०२२ यसको तुलनामा सन् २०२३ मा पाँच हजार तीन सय ४७ विदेशी पर्यटक बढी आएका थिए । सन् २०२२ मा आएका पर्यटकमध्ये सबैभन्दा बढी फ्रान्सका दुई हजार १२ जना रहेका थिए । केन्द्रका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार ६ सय २७ पर्यटक बढी आएका थिए । सन् २०२१ मा एक हजार पाँच सय ६२ पुरुष र सात सय ११ महिला गरी दुई हजार दुई सय ७३ पर्यटक आएका थिए ।

    त्यस्तै, सन् २०२० मा एक हजार नौ सय ७६ पर्यटक आएका थिए । केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६ सय ४७ पर्यटक, सन् २०१८ मा २९ हजार चार सय ८४ पर्यटक तथा सन् २०१७ मा २१ हजार ६८ पर्यटक पदमार्गमा आएका थिए । सन् २०१७ देखि पर्यटक आगमन वृद्धि हुँदै गएकामा सन् २०२० मा कोरोना सङ्क्रमणका कारण पदमार्ग क्षेत्र प्रभावित भएको थियो । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीशहर नगरपालिका–७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्ला जोडिएका छन् । पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटकहरु आउने गर्छन् ।

    साथै मनाङमा रहेको विभिन्न हिमाल चढ्न, संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताललगायत हेर्नका लागि पनि पर्यटक यहाँ आउने गरेका छन् । यस पदमार्गमा पर्यटक आगमन हुँदा यहाँ होटल व्यवसाय फस्टाएको छ । – रासस

  • अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक

    अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक

    गण्डकी, पुस १७ –
    पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।

    सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।

    गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’का प्रमुख डा रबिन कडरियाले बताउनुभयो । “अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ”, उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा उल्लेख्य संख्यामा पर्यटक बढेका छन् ।”

    अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ ।

    चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

    कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ । – रासस