Category: अन्तर्राष्ट्रिय

  • १३ किशोरीलाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड

    १३ किशोरीलाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड

    काठमाडौं, २२ चैत-
    जकार्ता– इन्डोनेसियाको एक इस्लामिक बोर्डिङ स्कुलमा १३ किशोरीलाई बलात्कार गर्ने एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । हेरी विरावनले १२ देखि १६ वर्षका उमेरका १३ जना छात्राहरूसँग यौनसम्पर्क गरेका थिए । पीडितमध्ये नौ जनाले आफूहरू गर्भवती भएको बताएका थिए ।

    फेब्रुवरीमा विरावनलाई एक अदालतले जन्मकैदको सजाय सुनाएको थियो । तर, सो फैसलाप्रति असन्तुष्ट अभियोजकहरूले मृत्युदण्डको माग गर्दै पुनः उजुरी गरेका थिए ।

    ‘हामी प्रतिवादीलाई मृत्युदण्डको सजाय दिन्छौँ,’ बान्डुङ्ग उच्च अदालतको वेबसाइटमा सोमबार पोस्ट गरिएको एउटा विज्ञप्तिमा न्यायाधीशले भनेका छन् ।-न्युज कारखाना

  • श्रीलङ्कामा आपतकालीन स्वास्थ्य अवस्था घोषणा

    श्रीलङ्कामा आपतकालीन स्वास्थ्य अवस्था घोषणा

    कोलम्बो [श्रीलंका], २२ चैत-
    श्रीलङ्कामा औषधिको चरम अभावका कारण मङ्गलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ।

    देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (GMOA) को आपतकालीन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपतकालीन सामान्य समितिको बैठकपछि यो निर्णय घोषणा गरिएको डेली मिररले जनाएको छ। जीएमओए सेक्रेटरी डा सेनाल फर्नान्डोले आपतकालीन स्वास्थ्य अवस्था घोषणा गर्ने यो निर्णय बिरामीको जीवन रक्षाका लागि लिएको बताएका छन

    बैठकमा जीएमओएले सरकारको कमजोर व्यवस्थापनका कारण मुलुकमा औषधिको चरम अभाव हुने खुलासा गरेको छ ।

    श्रीलङ्काको अखबारले वर्तमान आर्थिक सङ्कट जारी रह्यो भने औषधिको अभाव भविष्यमा निकै गम्भीर अवस्थामा पुग्ने बताएको छ ।

    यसअघि सरकारले फागुन १२ गते सार्वजनिक स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा घोषणा गरेको थियो ।

    ‘स्वास्थ्य सेवालाई अत्यावश्यक घोषणा गरेपछि सरकारले अत्यावश्यक औषधिको आपूर्ति मुलुकमै पु-याउने व्यवस्था मिलाउनुपर्ने थियो,’ डा फर्नान्डोले भने ।

    त्यसैले आपतकालीन औषधि अभावको पूर्ण जिम्मेवारी सरकार र स्वास्थ्य मन्त्रालयले लिनुपर्ने उनको भनाइ छ ।

    शनिबार श्रीलङ्काले देशलाई समातेको आर्थिक सङ्कटसँग जुध्न सरकारको प्रयासप्रति जनताको असन्तुष्टिलाई लिएर कोलम्बोमा व्यापक विरोध प्रदर्शन भएपछि तीन दिन कर्फ्यू लगाएको छ।

    श्रीलङ्काका राष्ट्रपतिले शुक्रबार “सार्वजनिक सुरक्षा र सार्वजनिक व्यवस्थाको” सुनिश्चितता गर्न देशव्यापी आपतकालको घोषणा गरेका थिए।(रासस-एएनआई)

  • गोली लागेर अमेरिकामा ६ को मृत्यु, १२ घाइते

    गोली लागेर अमेरिकामा ६ को मृत्यु, १२ घाइते

    लस एन्जलस, २१ चैत-
    अमेरिकामा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ ।

    क्यालिफोर्नियाको राजधानी सहरमा भएको सो घटनामा स्थानीय समय अनुसार आइतबार बिहान भएको अधिकारीहरूले जनाएका छन् ।

    सामान्य घटनामा पनि गोली प्रहार गरी हत्या गर्ने घटना अमेरिकामा धेरै हुने गरेको र यो राष्ट्रिय समस्याका रुपमा रहेको उनीहरूको भनाई छ ।

    मृत्यु भएका मध्ये तीन जना महिला र तीन जना पुरुष रहेको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

    घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएकाले थप विवरण भने पछि मात्रै दिन सकिने प्रहरी अधिकारीहरूको भनाई छ । – (रासस÷सिन्ह्वा)

  • रुसी सेनाले सहर छोडेपछि धमाधम सर्वसाधारणको शव फेला, अधिकांशको विभत्स हत्या

    रुसी सेनाले सहर छोडेपछि धमाधम सर्वसाधारणको शव फेला, अधिकांशको विभत्स हत्या

    किभ, २१ चैत-

    युक्रेनको बुचा सहरमा आइतकार सडकको छेउमा एउटा शव घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको हात पछाडि बाँधिएको र टाउकोमा गोली लागेको थियो । युक्रेनमाथिको रुसी हमलामा मारिएका सयौँ स्थानीयमध्ये उनी एक हुन ।

    रुसी सेनाले सहर छोडेपछि विभत्स हत्या भएका शव धमाधम फेला परेका छन् । रुसी फौजले सो सहर छाडेपछि त्यहाँ ५० जनाको शव फेला परेका बुचाका उपप्रमुख तारास साप्रभस्कीले जानाकारी दिए ।

    रुसी सेनाको गैरन्यायिक हत्याको शिकारमा सयौँ सर्वसाधारण परेका छन् । मस्कोले युद्ध अपराध गरेको युक्रेनी अधिकारीहरूले बताउँदै आएका छन् ।

    तर, ती घटनाहरूमा आफ्नो संलग्नता नभएको रुसी सेनाले बताउँदै आएको छ । रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका सबै तस्बीर र भिडियो उत्तेजना फैलाउने खालका भएका र बुचामा कुनै पनि बासिन्दाले रुसी सेनाको हातबाट हिंसा भोग्नु नपरेको दाबी गरेको छ ।

    सर्वसाधारणको गैरन्यायिक हत्यामा कसको संलग्नता थियो भन्नेबारेमा स्वतन्त्र ढंगले पुष्टि हुन सकेको छैन् । दुबै देशले एक अर्कामाथि आरोप लगाएका छन् ।
    -एजेन्सी

  • श्रीलङ्काका सबै मन्त्रीद्वारा राजीनामा

    श्रीलङ्काका सबै मन्त्रीद्वारा राजीनामा

    कोलम्बो, २१ चैत्र –
    श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन् ।

    प्रधानमन्त्री महेन्दा राजापाक्षे बाहेक सबै मन्त्रीहरूले राजीनामा दिएको अधिकारीहरूले जनाएका छन् ।

    देशमा आर्थिक सङ्कट बढेपछि सरकारका विरुद्धमा आन्दोलन सुरु भएकाले सरकारले सङ्कटकाल लागू गरेको छ । सङ्कटकालसँगै राजनीतिक सङ्कट बढ्न थालेपछि उनीहरूले राजनीतिक सङ्कट न्यूनिकरण गर्न भन्दै राजीनामा दिएको बताएका छन् ।

    मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएको शिक्षामन्त्रीले पुष्टि गर्नु भएको छ । उहाँका अनुसार मन्त्रीहरूले आइतबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन । राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि रहेको उहाँले जानकारी दिनुभयो ।

    विदेशी मुद्राको अभावका कारण इन्धनको आयातको भुक्तान गर्न नसकिएपछि मुलुकमा बहुपक्षीय सङ्कट उत्पन्न भएको छ ।

    अहिले दैनिक आधा समय लोडसेडिङ हुने गरेको छ भने खाद्यान्न, औषधि र इन्धनको अभावका कारण सर्वसाधारण आक्रोशित भएका छन् ।

    आक्रोशित जनता खाद्यान्न र इन्धन अभाव हुनुमा सरकार दोषी रहेको भन्दै सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलन चर्किदै गएपछि सरकारले ३६ घण्टाको कफ्‌र्यु घोषणा गरेको छ ।

    आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबय राजापाक्षेको निवास घेराउ गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका कारण आन्दोलन अझ चर्किने देखेर सरकारले सङ्कटकाल घोषण गर्दै कफ्‌र्यु आदेश जारी गरेको हो ।

    कर्फ्युका कारण मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा प्रतिबन्ध लगाइएको छ । त्यसैगरी केही समयका लागि भन्दै सामाजिक सञ्जाल पनि बन्द गराएको छ । (रासस/एएनआई)

  • भूमध्यसागरमा डुङ्गा दुर्घटनामा परी ९० भन्दा बढी आप्रवासीको मृत्यु

    भूमध्यसागरमा डुङ्गा दुर्घटनामा परी ९० भन्दा बढी आप्रवासीको मृत्यु

    जेनेभा [स्विजरल्याण्ड], २१ चैत-
    लिबियाबाट शरणार्थी बोकेको डुङ्गा दुर्घटनामा परी करिब १०० आप्रवासीको भूमध्यसागरमा मृत्यु भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन्।

    “अर्को भूमध्यसागरीय त्रासदीमा ९० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। युरोपले युक्रेनबाट ४० लाख शरणार्थीहरूलाई उदारतापूर्वक र प्रभावकारी रूपमा आमन्त्रित गर्ने क्षमता प्रमाणित गरेको छ। यसले अब ढोका ढकढकाउने, संकटमा परेका अन्य शरणार्थी र आप्रवासीहरूलाई यो कसरी लागू गर्ने भनेर तुरुन्तै विचार गर्नुपर्छ,” ग्रान्डीले आइतबार ट्विटरमा भने। आप्रवासीहरू बोकेको भीडभाड भएको डुङ्गाले “धेरै दिन अघि” लिबिया छोडेको थियो।

    “व्यावसायिक ट्याङ्कर एलेग्रिया १ ले आज बिहान मात्रै ४ जना जीवितहरूलाई उद्धार गरेको छ। हामीलाई एलेग्रिया १ सँगको हाम्रो प्रारम्भिक सम्पर्कबाट थाहा छ कि बाँचेकाहरूले कम्तिमा चार दिनसम्म डुंगामा थिए। उक्त डुङ्गामा करिब १०० जना सवार रहेका थिए,” एमएसएफले शनिबार ट्विटरमा लेखेका छन् ।

    सहायता समूहले रोम र माल्टाका समन्वय केन्द्रहरूलाई जीवित आप्रवासीहरूका लागि सुरक्षित स्थान तोक्न आग्रह गरेको छ।
    युरो-मेडिटेरेनियन ह्युमन राइट्स मनिटरले यस वर्षको शुरुमा आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२० मा १,४०१ आप्रवासीको तुलनामा २०२१ मा लगभग १,८६४ आप्रवासीको मृत्यु वा बेपत्ता भएको बताएको थियो।

    हालैका वर्षहरूमा, इयु, अफ्रिका र मध्य पूर्वमा गरिबी र युद्धबाट भागेर भूमध्यसागर पार गर्ने प्रयास गर्दा उत्पन्न आप्रवासन सङ्कटसँग संघर्ष गरिरहेको छ। समुन्द्रमा अलपत्र परेका आप्रवासीहरुलाई उद्धार गरी युरोप ल्याउने प्रयासमा धेरै संघसंस्था र मानवअधिकारवादी समूहहरु लागेका छन् ।- (रासस-एएनआई/स्पुतनिक)

  • पाकिस्तानी राष्ट्रपतिद्वारा संसद् विघटन, ९० दिन भित्र निर्वाचन हुने

    पाकिस्तानी राष्ट्रपतिद्वारा संसद् विघटन, ९० दिन भित्र निर्वाचन हुने

    इस्लामावाद, चैत २०-

    पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले संसद विघटनको प्रस्ताव सदर गर्नु भएको छ ।

    प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उहाँले आइतबार सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ ।

    संसद् विघटनसँगै उहाँले आगामी ९० दिन भित्र निर्वाचन गर्ने घोषणा पनि गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्री खानले संसद्‌मा आफू विरुद्धको अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गर्नु भएको हो ।

    विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उहाँले स्पष्ट पार्नु भयो ।

    पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उहाँ नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए ।

    राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गर्नु भएको छ ।

    विपक्षले आफु विरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उहाँले यसलाई देशमाथि गरिएको ‘धोका’ को सज्ञा दिनुभएको थियो ।

    प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताउनु भएको छ ।

    उहाँले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताउनुभएको छ ।

    खानले प्रतिपक्षी दलका नेताहरूले आफूहरूविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिने चेतावनी पनि दिनुभएको छ । (रासस÷एएनआई)

  • पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध स‍ंसदमा पेस भएको अविस्वासको प्रस्ताव खारेज

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध स‍ंसदमा पेस भएको अविस्वासको प्रस्ताव खारेज

    इस्लामाबाद, २० चैत –
    पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ । तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले आइतबार खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन् । प्रस्ताव संविधानको धारा ५ विपरित भएको सुरीले बताए ।
    एउटा अनौठो पहलस्वरुप विपक्षी राजनीतिक दलहरुले सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरीले बैठकको अध्यक्षता गरेका थिए ।
    प्रस्तावबारे आइतबार मतदान हुने कार्यतालिका थियो ।

    यसैबीच आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले राष्ट्रपति अरिफ अल्भीलाई संसद भंग गर्न सुझाव दिएको बताएका छन् । -एजेन्सी

  • रुसी हमलामा युक्रेनका कम्तीमा ५३ ओटा ऐतिहासिक सम्पदा क्षतिग्रस्त : यूनेस्को

    रुसी हमलामा युक्रेनका कम्तीमा ५३ ओटा ऐतिहासिक सम्पदा क्षतिग्रस्त : यूनेस्को

    एजेन्सी किभ, १९ चैत –
    रुसी हमलामा युक्रेनमा धार्मिक भवन र संग्रहालयसहित कम्तीमा ५३ ऐतिहासिक भवन तथा क्षेत्र क्षतिग्रस्त भएको राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन यूनेस्कोले जनाएको छ ।

    ‘यो पछिल्लो सूची हो, तर यो पूर्ण छैन । किनकि हाम्रा विज्ञहरूबाट युक्रेनी अधिकारीहरुले फाइल गरेका धेरै रिपोर्टहरू प्रमाणीकरण गर्ने कार्य जारी छ’, युनेस्कोका प्रवक्ताले भने । युनेस्कोले देशको उत्तर तथा पूर्वी भागमा क्षतिग्रस्त क्षेत्रको एउटा सूची नै सार्वजनिक गरेको छ ।

    युक्रेनी अधिकारीहरूले प्रदान गरेको सूचना पुष्टि गर्न यूनेस्कोले घटनास्थलबाट स्याटलाइट तस्बीरहरु र साक्षीका रिपोर्टहरू प्रयोग गरेको प्रव्रक्ताले बताए । युनेस्कोका अनुसार रुसी गोलाबारीमा पूर्वी खार्किभ क्षेत्रका एक दर्जनभन्दा बढी क्षेत्रहरु क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त भवनमा चर्चदेखि आधुनिक सम्पदा छन् । क्षतिग्रस्त सम्पदाहरुमध्ये पाँच ओटा राजधानी किभ र अरु पाँच ओटा उत्तरी युक्रेनको चेर्निभका छन् । चेर्निभ ऐतिहासिक स्थलहरुको घरसमेत मानिन्छ ।

    यूनेस्कोका अनुसार रुसी हमलमा समग्रमा २९ ओटा धार्मिक स्थल, १६ ओटा ऐतिहासिक भवन, चार ओटा संग्रालय र चार ओटा स्मारक क्षतिग्रस्त भएका छन् । सूचीमा रुसी सेनाले घेरा हालेको मारिओपोल र खेर्सन सहरको विवरण भने समावेश छैन् ।

  • दुर्घटनाग्रस्त चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परे

    दुर्घटनाग्रस्त चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परे

    वासिङ्टन [अमेरिका], १७ चैत –
    दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४०,००० भन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

    चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक्षा कार्यालयका प्रमुख झु ताओले भग्नावशेषका अधिकांश टुक्राहरू क्रमबद्ध र थप परीक्षणका लागि भण्डारण स्थलमा सारिएको बताए ।

    करिब एक करोड वर्ग मिटर वरिपरिखोजि कार्य जारी राखिएको थियो । खोज तथा उद्धार कार्यमा २१६ दमकल र १६ वटा ड्रोन लगायतका उपकरण प्रयोग गरिएको थियो ।

    कुनमिङबाट ग्वाङ्झाउका लागि उडेको बोइङ ७३७ विमान दिउँसो २ -३८ बजे गुआङ्सीको टेङ्सिआन काउन्टीको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । मार्च २१ मा १२३ यात्रु र नौ चालक दलका सदस्यहरू सहित जहाजमा रहेका सबै १३२ जनाको मृत्यु भएको थियो। (रासस-एएनआई/स्पुतनिक)