Category: Banner तल ताजा समाचार

  • चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

    चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

    काठमाडौँ, १४ चैत –
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो ।

    मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ । उहाँले यसअभियान पश्चात अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने जनाकारी दिनुभयो । (रासस)

  • चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान

    चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान

    काठमाडौँ, १३ चैत –
    चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ ।

    चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले बिदाई गर्नुभयो । परराष्ट्रमन्त्री डा नारायण खड्काको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका विदेशमन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार यहाँ आइपुग्नुभएको थियो ।

    नेपाल भ्रमणका क्रममा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बेग्लाबेग्लै भेट्नुभएको थियो । भ्रमणका क्रममा नेपाल र चीनका परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार द्विपक्षीय वार्ता हुनुका साथै दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ समझदारीमा हस्ताक्षर गर्नुभएको थियो । (रासस)

  • शेयर बजार : नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    शेयर बजार : नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    काठमाडौँ, चैत १३-

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा पुगेको हो ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार अघिल्लो कारोबार दिनका तुलनामा आज बजार १.५९ प्रतिशतले घटेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९५ प्रतिशतले घटेको छ । यस्तो परिसूचक ९.५५ अङ्कले ओरालो लागेर ४७९.३९ पुगेको छ । आज २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर रु चार अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।रासस

    निर्जीवन बीमाबाहेक सबै उपसमूहका शेयर मूल्यमा गिरावट

    नेप्सेका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहका शेयर मूल्य घटेका छन् भने निर्जीवन बीमा उपसमूह मात्रै बढेको छ । निर्जीवन बीमा उपसमूह १३३.३५ अङ्कले बढ्दा, बैंकिङ २१.०२, व्यापार ५५.८२ होटल तथा पर्यटन ६६.४२, विकास बैंक १४५.६८, जलविद्युत् ७६.०६, वित्त ६२.२५, उत्पादन १४५.७९, अन्य ९३.६५, लघुवित्त ३९.७१, जीवन बीमा ९८.६१, सामूहिक लगानी कोष ०.१३ र लगानी १.३७ अङ्कले ओरालो लागेका छन् ।

    आजको बजारमा कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ । यो कम्पनीको रु २७ करोड ५६ लाख ७४ हजार ३९३ मूल्य बराबरको कारोबार भयो । यस्तै गुँरास लाइफ इन्सुरेन्सको रु १७ करोड ५१ लाख दुइ हजार ८६०, एभरेष्ट इन्सुरेन्स कम्पनीको रु १६ करोड ३१ लाख ४७ हजार ६७, सूर्य लाइफ इन्सुरेन्स कम्पनीको रु १६ करोड २९ लाख २२ हजार ७२८ र प्रभु इन्सुरेन्स कम्पनीको संस्थापक शेयर रु १५ करोड ३३ लाख ४० हजार बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

    आजको कारोबारमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । इमर्जिङ नेपाल लिमिटेडको .।९९, राष्ट्रउत्थान लघुवित्त संस्था ९.९९, सानिमा जनरल इन्सुरेन्स ९.६७ र जनरल इन्सुरेन्स कम्पनीको शेयरमूल्य ९.६५ प्रतिशतले बढेको छ । उता मल्टीपर्पस फाइनान्स कम्पनीको शेयर मूल्य भने ५.५ प्रतिशले घटेको छ । नारायणी डेभलपमेण्ट बैंक ५.२५, नेरुडे लघुवित्त वित्तीय संस्था ४.८६, मञ्जुश्री फाइनान्स ४.८१ र युनाइटेड मोदी हाइड्रोपावरको शेयर मूल्य ४.६८ प्रतिशतले घटी शीर्ष पाँचमा परेका छन् ।

  • यी हुन् नेपाल र चीनबीच भएका ९ वटा समझदारी तथा सम्झौतापत्र

    यी हुन् नेपाल र चीनबीच भएका ९ वटा समझदारी तथा सम्झौतापत्र

    काठमाडौं, १३ चैत –
    नेपाल र चीनबीच आज ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएपछि दुई देशका सम्बन्धीत अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

    परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितीमा सम्बन्धीत अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

    हस्ताक्षर भएका सम्झौतामा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सहायता, ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहयोग सम्झौता (चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययन), भन्सारको सामान्य प्रशासन सम्बन्धी प्रोटोकल (नेपालबाट चीनमा सुरक्षित तवरमा हेलेज निर्यात), भन्सार छुट गराउने सम्बन्धी एक्सचेन्ज पत्रमा हस्ताक्षर, अरनिको राजमार्ग मर्मतसम्भार परियोजनाको हस्तान्तरण, रेल क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने, चीनको नेशनल रेलवे प्रशासनले नेपालको रेल क्षेत्रमा सहयोग बढाउने र नेपाललाई कोभिड–१९ खोप वितरण र स्वीकृति प्रमाणपत्रमा हस्ताक्षर रहेका छन् । – न्युज कारखाना

  • भारतीय चर्चित हास्य कलाकार राजपाल यादव सर्लाहीमा

    भारतीय चर्चित हास्य कलाकार राजपाल यादव सर्लाहीमा

    – एसवी थापा
    सर्लाही, १२ चैत –
    भारतीय सिने जगतका चर्चित हास्य कलाकार राजपाल यादव सर्लाही आइपुगेका छन् ।

    सदरमुकाम मलंगवास्थित कवडहलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिबार सर्लाही पुगेका हुन् । अन स्क्रिनमा मात्र देखिने गरेका कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि गाउँ-गाउँबाट सदरमुकाम मलंगवा पुगेका थिए । कलाकार यादव भने निर्धारित समयभन्दा ४ घण्टा ढिलो ३ बजेमात्र कार्यक्रम स्थल पुगेका छन् ।

    उनलाई गोपाल सेवा समितिको नवौं राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सर्लाही ल्याइएको हो । कलाकार यादवसँग फोटो र सेल्फी लिन भिड उर्लिएपछि आयोजकलाई भीड नियन्त्रण गर्न केही बेर हम्मेहम्मे परेको थियो । कलाकार यादवले पानमा दीप प्रज्वलन गर्दै कार्यक्रमको समुद्घाटन गरे । आयोजकको तर्फबाट उनलाई ५६ किलोको मालाले सम्मानसमेत गरिएको थियो ।

    मलंगवा नगरपालिका वडा नम्बर २ स्थित कभर्डहलमा महाधिवेशन उद्घाटन समारोह चलिरहेको छ । उद्घाटन समारोह राति अबेरसम्म चल्ने आयोजक गोपाल सेवा समितिले सर्लाहीले जनाएको छ ।

    राति अबेर हुने बन्दशत्रमार्फत गोपाल सेवा समितिको केन्द्रीय नेतृत्व चयन गर्ने आयोजकले जनाएको हो । स्थल मार्गहुँदै सर्लाही आइपुगेका उनी उद्घाटन समारोहकै बीच फर्किएका छन् । – न्युज कारखाना

  • दलित बस्तीका १३ घरमा आगलागी

    दलित बस्तीका १३ घरमा आगलागी

    मलङ्गवा, १३ चैत –
    सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किँदा स्थानीयवासी ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते थिए । सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जलेका घर फुसले छाएको बताउनुभयो । घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सबै सामान जलेपछि १३ दलित परिवारको बिचल्ली भएको छ ।

    आगलागीबाट स्थानीय प्रदीप हजारी, रामबली पासमान, ताहिर हजारी, शीतल हजारी, जीवन हजारी, भिखारी पासमान, रामविश्वास हजारी, बिकाउ पासमान, नन्नद किशोर पासमान, गगन हजारी, सरपलाल हजारी, रामनाथ हजारी र भुमेश्वर साह कानुको घर जलेर नष्ट भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

    मलङ्गवा, हरिवन नगरपालिकाको बारुणयन्त्र तथा सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ । गर्मीयाममा सावधानी नअपनाउँदा वर्षेनी आगलागीका घटना हुने गरेको छ । (रासस)

  • भरतपुर मेयर कपको उपाधि चितवनलाई

    भरतपुर मेयर कपको उपाधि चितवनलाई

    चितवन, चैत १२–
    चितवनमा भएको प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ । २२३ रनको लक्ष्य पछ्याएको मकवानपुर आज अन्तिम दिन ३७ ओभरमा १४४ रनमै अलआउट भएपछि चितवन ७८ रनले विजयी भएको हो ।

    दोस्रो इनिङमा मकवानपुरका लागि आकाश घिमिरेले ४७ र गौरव खड्काले ३४ रन बनाए । चितवनका लागि गौतम केसीले ११ ओभरमा ४७ रन खर्चिदै ६ विकेट लिए भने कृजन गुरुङले १५ ओभरमा ४४ रन खर्चिदै ३ विकेट लिए ।

    पहिलो इनिङमा चितवनले ५५ ओभरमा ९ विकेटको क्षतिमा १७६ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो । उसका लागि कप्तान दिपेश श्रेष्ठले ६७ र गौतम केसीले ३५ रन बनाएका थिए ।

    मकवानपुरका लागि कप्तान रामनरेश गिरीले १३ ओभरमा ३३ रन खर्चिदै ५ विकेट लिए भने सुर्वण भट्टले १३ ओभर ३३ रन खर्चिदै ३ विकेट लिए । पहिलो इनिङमा मकवानपुर पहिलो इनिङमा मकवानपुर १३८ रनमा अलआउट भएको थियो । उसका लागि रामनरेश गिरीले ३१ र गौरव खड्काले २९ रन बनाएका थिए । पहिलो इनिङमा चितवनका लागि कृजन गुरुङले १४ ओभरमा २८ रन खर्चिएर ५ विकेट लिए भने गौतम केसीले १०.४ ओभरमा २ विकेट लिए ।

    प्रतियोगितामा मकवानपुरका रामनरेश गिरीले सर्वाधिक ११ विकेट लिए भने चितवनका गौतम केसीले ८ विकेट लिदै प्लेयर अफ दि म्याच घोषित भए । चितवनका कृजन गुरुङले ८ विकेट लिए भने चितवनका प्रतिक श्रेष्ठले प्रतियोगितामा सर्वाधिक ९७ रन प्रहार गरे । – न्युज कारखाना

     

  • चितवनमा पतञ्जलीको रक्तदान कार्यक्रम सम्पन्न : ६० जनाले गरे रक्तदान

    चितवनमा पतञ्जलीको रक्तदान कार्यक्रम सम्पन्न : ६० जनाले गरे रक्तदान

    – विनय आचार्य
    चितवन, ०७८ चैत्र ११ –
    पतञ्जली योग समिति चितवनले भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज शुक्रबार बिहान नेपाल पोलिटेक्निक इन्स्च्यिुटको प्राङ्गगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

    पतञ्जली योग समिति बागमती प्रदेशका सल्लाहकार एकनारायण भूषालले कार्यक्रममा ६० जनाले रक्तदान गरेको जानकारी दिए ।

    पतञ्जली योग समिति चितवनले प्रत्येक तीनतीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

  • बाघको छाला किनबेच गर्ने मुद्दाका १६ वर्षदेखि फरार प्रतिवादी जेल चलान

    बाघको छाला किनबेच गर्ने मुद्दाका १६ वर्षदेखि फरार प्रतिवादी जेल चलान

    कुलप्रसाद काफ्ले

    चितवन,चैत १०-

    बाघको छाला किनबेच गर्ने मुद्दाका फरार प्रतिवादीलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । १६ वर्षदेखि फरार रहँदै आएका तनहुँको देवघाट गाउँपालिका साविक कोटा गाविस दुनचुली स्थायी घर भएका विष्णुबहादुर गुरुङलाई निकुञ्जले ३ चैतमा पक्राउ गरी चितवन कारागार पठाएको हो ।

    गुरुङ पक्राउ गर्नुलाई निकुञ्जले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । प्रतिवादीलाई निकुञ्जले १५ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । त्यतिबेला वन्यजन्तुसम्बन्धी मुद्दाको फैसला निकुञ्जले नै गर्ने व्यवस्था थियो ।

    १४ असोज २०६२ मा निकुञ्जको मध्यवर्ती क्षेत्र सौराहामा गोरखा साविक सिर्दिबास गाविसका सुरेन्द्र गुरुङ र साविक सिम्जुङ गाविसका वीरबहादुर गुरुङलाई निकुञ्जले एक थान बाघको छाला र नगद ४१ हजारसहित पक्राउ गरेको थियो ।

    उक्त घटनाको अनुसन्धान गर्ने क्रममा थप दुईजना फरार प्रतिवादीको संलग्नता रहेको खुलेको निकुञ्जको सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । ९ कात्तिक २०६२ मा निकुञ्जमा दायर भएको बाघको छाला किनबेच गर्ने मुद्दाका फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा निकुञ्जले चितवन प्रहरीको सहयोगमा गुरुङलाई भरतपुर महानगरपालिका-१ लिलाचोकबाट पक्राउ गरेको हो ।

  • माडीमा रहेका सशत्र प्रहरीका दुई वटा बीओपी आफ्नै भवनमा

    माडीमा रहेका सशत्र प्रहरीका दुई वटा बीओपी आफ्नै भवनमा

    चितवन, चैत ९ –

    चितवनको माडीमा रहेका सशत्र प्रहरीका दुई वटा बोर्डर आउट पोष्ट (बीओपी) आफ्नै भवनमा सरेका छन् ।

    विद्यालयको भवनमा राखिएको बाँदरझुलाको बीओपी र सामुदायिक भवनमा रहेको छरछरे बीओपीका लागि आफ्नै भवन बनेको हो ।

    नवनिर्मित भवनको सशस्त्र प्रहरी बल नेपाल नम्बर तीन गढीमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले बुधबार उदघाटन गरेका हुन् ।

    उदघाटन कार्यक्रममा माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकाल, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, १७ न गणका प्रमुख मनोज थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

    भारतसँग सीमा जोडिएको चितवनको माडीमा सशत्र प्रहरीका ६ वटा बीओपी रहेका छन् । ती सबैको आफ्नै भवन थिएन । मर्ज भएर खाली रहेका विद्यालय तथा सामुदायिक भवनहरूमा बीओपी रहेका छन् । अहिले दुई वटाको आफ्नै भवन बनेको हो ।

    सशस्त्र प्रहरी बल १७ नम्बर गण आँपटारीको मातहत माडीमा बीओपी रहेका छन् ।
    १७ नम्बर गणका सूचना अधिकारी एबम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुशील कुमार शाहीका अनुसार बाँदरझुला, छरछरेसँगै माडीमा बाल्मिकी आश्रम, कल्याणपुर, कान्छी बगाई र गर्दी भङ्गटामा सशस्त्रका बीओपी रहेका छन् ।

    डीएसपी शाहीका अनुसार हाल १ बिघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको बाँदरझुला बीओपीका लागि ८७ लाख १५ हजारको लागतमा भवनहरू निर्माण गरिएको हो ।

    यस्तै ५ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको छरछरे बीओपीका लागि ७८ लाख १२ हजारको लागतमा भवनहरू निर्माण गरिएको हो ।
    अन्य बीओपीको आफ्नै भवन बनाउनका सरकारले बजेट छुट्याउनुपर्ने उनले बताए ।

    निकुञ्ज क्षेत्र भएकाले मान्छेको आवतजावत माडीको सिमाना क्षेत्रमा खासै हुँदैन । त्यसैले अब माडीमा नयाँ स्थानमा बीओपी राख्नुपर्ने अवस्था न रहेको शाहीले बताए ।