Category: Banner तल ताजा समाचार

  • सेयर बजार राताम्मे, कारोबार रकममा भने सुधार

    सेयर बजार राताम्मे, कारोबार रकममा भने सुधार

    काठमाडौं, २२ चैत-

    साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सबै परिसूचक राताम्मे भएको छ । मंगलबार नेप्से ४६ दशमलब ५६ अंकले घटेर २४५२ दशमलब ०६ बिन्दुमा आएर बजार बन्द भएको छ ।

    मंगलबार कारोबार रकममा भने केही सुधार आएको छ। सोमबार एक अर्ब ५८ करोड बराबरको कारोबार भएको थियो ।

    आज भने २२८ वटा कम्पनीको सेयर कारोबार हुँदा दुई अर्ब ६७ करोड बराबरको भएको छ। बजार घट्नेक्रम जारी रहँदा पनि राष्ट्रिय उत्थान लघुवित्त र नेश्डो लघुवित्तको भने सर्किट लेबलमा कारोबार भएको छ ।

    यसैगरी जाल्पा सामुदायिक लघुवित्तको भने ६ दशमलव ०७ प्रतिशतले बढेर ४२० दशमलब ९ रुपैयामा अन्तिम कारोबार भएको छ।

    मंगलबार धेरै रकम गुमाउनेमध्ये इमर्जिङ नेपाल १० प्रतिशत घटेर १३ सय २३ रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंक ६ दशमलव ३७ प्रतिशत घट्दा ४ सय २५ दशमलव १ र युनाइटेड यडमार्दी ६ दशमलव ०१ प्रतिशतले घटेर अन्तिम कारोबार ९७७ दशमलब ५ रुपैयाँमा भएको छ।

    मंगलबार अन्य परिसूचक राताम्मे हुँदा होटेल समूह भने १५ दशमलब १२ अंकले उकालो लागेको छ।-न्युज कारखाना

     

  • १३ किशोरीलाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड

    १३ किशोरीलाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड

    काठमाडौं, २२ चैत-
    जकार्ता– इन्डोनेसियाको एक इस्लामिक बोर्डिङ स्कुलमा १३ किशोरीलाई बलात्कार गर्ने एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । हेरी विरावनले १२ देखि १६ वर्षका उमेरका १३ जना छात्राहरूसँग यौनसम्पर्क गरेका थिए । पीडितमध्ये नौ जनाले आफूहरू गर्भवती भएको बताएका थिए ।

    फेब्रुवरीमा विरावनलाई एक अदालतले जन्मकैदको सजाय सुनाएको थियो । तर, सो फैसलाप्रति असन्तुष्ट अभियोजकहरूले मृत्युदण्डको माग गर्दै पुनः उजुरी गरेका थिए ।

    ‘हामी प्रतिवादीलाई मृत्युदण्डको सजाय दिन्छौँ,’ बान्डुङ्ग उच्च अदालतको वेबसाइटमा सोमबार पोस्ट गरिएको एउटा विज्ञप्तिमा न्यायाधीशले भनेका छन् ।-न्युज कारखाना

  • २५ चैतमा काठमाडौंमा राप्रपाले शक्ति प्रदर्शन गर्ने

    २५ चैतमा काठमाडौंमा राप्रपाले शक्ति प्रदर्शन गर्ने

    काठमाडौं, २२ चैत-
    काठमाडौं उपत्यका बाहिर दिनहुँ आमसभा गरिरहेको राप्रपाले २५ चैतमा भने काठमाडौंमा हुने आमसभालाई भव्य, व्यवस्थित र विशाल बनाउन तयारीमा जुटेको छ । पार्टीको बागमती प्रदेश समितिले आज काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु, तीनवटै जिल्ला अन्तर्गतका महानगर, नगर, संघ र प्रदेश क्षेत्रीय समिति एवं भ्रातृ संगठनको संयुक्त बैठक गरेर आमसभा तयारीकोबारे समीक्षा गरेको छ ।

    बैठकमा आमसभाका लागि गठित जनपरिचालन समितिका संयोजक पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले देशभरि उर्लिएको जनलहर र पार्टी प्रवेश कार्यक्रमलाई काठमाडौंमा हुने आमसभामा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउदै पार्टीले शक्ति प्रदर्शनको तयारी गर्नुपर्नेमा जोड दिए ।

    उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आमसभाका लागि पार्टीको तर्फबाट गरिनुपर्ने तयारी बैठकलाई जानकारी गराए । देशका अधिकांश जिल्लामा आमसभा गरिसकेको राप्रपाले ९ वैशाखसम्मको आमसभाको मिति तय गरिसकेको र सबै सभामा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

    लामो समय देशको नेतृत्व गरेका राजनीतिक दलको असफलता, भ्रष्टाचार नियन्त्रण, रोजगारीको सिर्जना, जनजीविकाको सवालमा ति दलको उदासीनता र राष्ट्रिय राजनीतिमा राप्रपाको स्पष्ट दृष्टिकोण एवं राप्रपाले पार्टीको नेतृत्व परिवर्तन गरेको अवस्थामा राप्रपा प्रति जनताको आशा, विश्वास र भरोसा बढिरहेको प्रवक्ता श्रेष्ठ दाबी गर्छन् । ‘हामी चैत २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्छौं, श्रेष्ठ भन्छन्, ‘तयारी त्यहि अनुसार भइरहेको छ ।’
    बैठकमा उपत्यकाको प्रतिनिधित्व गर्ने उपाध्यक्ष रोशन कार्की र महामन्त्री भुवन पाठकले काठमाडौंका जनता परिवर्तनको पक्षमा रहेको र राप्रपालाई साथ दिने पक्षमा रहेको बताएका छन् ।

    पार्टीको बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रम बहादुर थापा, काठमाडौं जिल्लाका अध्यक्ष नवराज सिंखडा, ललितपुर जिल्ला अध्यक्ष अष्ट महर्जन, भक्तपुरका अध्यक्ष रामशरण लामिछानेले आफ्नो तयारी बारे बैठकलाई अवगत गराएका थिए ।

    झापा, मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली, कञ्चनपुर, कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, सुर्खेत, दाङ, नवलपुर, धनुषा, नुवाकोट, ललितपुर, भक्तपुर, सिन्धुली, लमजुङ, बर्दियामा आमसभा गरिसकेको राप्रपाले २५ चैतमा काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको हो ।

    स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा राप्रपाले आक्रामक ढंगबाट सभा गरिरहेको र पार्टी प्रवेश गराउने कामलाई तीव्रता दिइएको श्रेष्ठले बताएका छन् । काठमाडौंमा हुने आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरु पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी लगायत पार्टीका वरिष्ठ नेताहरूद्वारा सम्बोधन हुने कार्यक्रम रहेको पनि आमसभाका लागि गठित प्रचार समितिका संयोजक प्रवक्ता श्रेष्ठले बताएका छन् ।-न्युज कारखाना

  • प्रेमिकासँग ४२ लाख ठगी गर्ने युवक काठमाडौंबाट पक्राउ, बिरामी छु भन्दै पटकपटक माग्थे पैसा

    प्रेमिकासँग ४२ लाख ठगी गर्ने युवक काठमाडौंबाट पक्राउ, बिरामी छु भन्दै पटकपटक माग्थे पैसा

    काठमाडौं, २२ चैत –
    विवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका–३ घर भएका ५२ वर्षीय नबिन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

    विवाह गर्ने प्रलोभन देखाई पीडितलाई आफू अस्पतालमा रहेको जनाउँदै पटक पटक रकम पठाउन उनले लगाएको प्रहरीले जनाएको छ ।

    महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ठगी गर्ने कार्यमा संलग्न श्रेष्ठलाई काठमाडौं बिशाल नगरबाट पक्राउ गरेको हो ।

    उनलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । – न्युज कारखाना

  • विश्व बैंकद्वारा २०२२ मा पूर्वी एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण

    विश्व बैंकद्वारा २०२२ मा पूर्वी एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण

    वासिङ्टन, २२ चैत
    एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।

    कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस युक्रेन युद्धका बाबजुद सन् २०२२ मा यस क्षेत्रका देशको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको बताएको छ। (रासस-सिन्ह्वा)

  • ‘अभाव र गरिबी’को भूमरीमा परेको विक परिवार

    ‘अभाव र गरिबी’को भूमरीमा परेको विक परिवार

    बागलुङ, २२ चैत –
    म्याग्दीको धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती भेडिखाल्टा । यही गाउँमा आश्रय लिएर बसेका छन रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका बसवीर विकका परिवार । आफ्नो घर नभएको र टहराको बसाइ कष्टकर भएपछि उहाँको परिवार छिमेकी (माइती) गाउँमा ओत लाग्न पुगेका हुन् । उनीहरूको कुइनेखानीको बारी पहिराले बगाएको थियो ।

    विगत १२ वर्षदेखि विकका परिवार उनको श्रीमती लालमायाको कान्छो बुबाको घरमा आश्रय लिएर बसेका छन् । विक दम्पतीको अनमेल विवाह भएको थियो । न्यून दृष्टिविहीन रहनुभएकी लालमायाको ३९ वर्ष जेठा बसवीरसँग विवाह भएको थियो । अहिले लालमाया ३५ र बसवीर ७४ वर्ष पार गर्नुभएको छ ।

    विक दम्पतीका चार सन्तान छन् । गरिबी, अभावको चरम सामाना गरेको यस परिवारले आश्रय लिएको घरसमेत जीर्ण अवस्थामा पुगेको छ । माइतीमा आश्रय लिएको घरबाहेक खेती–किसानी गर्ने कुनै जग्गाजमिनसमेत छैन ।

    मजदुरी गरी परिवारको जीविकोपार्जन गर्दै आएका विक परिवारमा घरमुली बसवीर वृद्ध हुँदै गएको र उहाँको गत वर्ष एउटा आँखाको ज्योति गुमेपछि परिवार नै साहाराविहीन बन्न पुगेका हुन् ।

    “जेनतेन परिवार पालेको थिएँ, अघिल्लो वर्ष काम गर्ने क्रममा आँखामा ढुङ्गा प¥यो, समयमै अस्पतालमा उपचार गराउन जान नसक्दा आँखा नै बन्द भयो, अहिले त अर्को आँखाले पनि कम देख्न थालेको छ, पाखुरा बेचेर परिवार चलाउने मेसो पनि हरायो”, उहाँले भन्नुभयो । उहाँकी श्रीमती पनि न्यून दृष्टिविहीन हुनुहुन्छ ।

    घरमुली दम्पतीले नै काम गर्न नसक्ने र दुवैको कुनै पनि आम्दानीको स्रोत नभएपछि उनीहरूको दैनिक घर खर्चदेखि छोराछोरीको पालनपोषण र शिक्षामा समेत अभावले सताउन थालेको छ । आफूहरूले घरायसी सामान्य कामबाहेक केही गर्न नसक्ने र छोराछोरी साना भएकाले घरखर्च र पढाइलेखाइ गराउन समस्या भएको लालमायाले बताउनुभयो ।

    विक दम्पतीका ती छोरा र एक छोरीमध्ये एक जनाले स्कुल जान नै छाडेका छन् । जेठो १५ वर्षका छोरा सुविन्द्रलाई काठमाडौँको एक संस्थाले निःशुल्क पढाइदिएको छ । स्थानीय जनज्योति आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययन गर्दागर्दै ११ वर्षका माइलो छोरा राजेन्द्रले आर्थिक अभावकै कारण स्कुल जान छोडेका छन् ।

    घरको आर्थिक अवस्था कमजोर भएको र कापी, कलम तथा लत्ताकपडा व्यवस्था गर्न नसकेपछि राजेन्द्रले स्कुल जान छाडेर छिमेकी र गाउँलेको काम गर्न थालेको आमा लालमायाले दुःखेसो पोख्नुभयो । लालमायाकी १० वर्षीया छोरी सुशीलालाई पनि पढ्ने निकै रुचि छ तर उनको पढाइ पनि बीचैमा रोकिने त होइन भन्ने चिन्ता छ । विक दम्पतीको कान्छो छोरा तेजिन्द्र भर्खर दुई वर्षका छन् । नेपाल सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट गुजारा चलाउने विक दम्पती गरिबी, अशिक्षा र अभावको चपेटामा परेका छन् ।

    “छोराछोरी साना छन, श्रीमान् ७४ वर्ष पुग्नुभयो, काम गर्न सक्नुहुन्न म पनि आँखाको कमजोरी छु, लाउने खानेदेखि लिएर पढाउन पनि धरै समस्या भएको छ, कपडा त मोगेर लगाउँछौँ, बरु कुनै छाक भोकै बस्छौँ, छोराछोरीको पढाइका लागि कसैले सहयोग गरिदिए हुन्थ्यो”, लालमायाले भन्नुभयो । अहिलेसम्म त जेनतेन चलेको विक परिवारमा बिरामी भएमा कहाँ जाने भन्ने प्रश्नले पिरोलिरहन्छ । (रासस)

  • टिम नेपो चितवनले नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम गर्दै

    टिम नेपो चितवनले नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम गर्दै

    चितवन, चैत २१ –
    टिम नेपो चितवनले नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

    यही आउँदो चैत्र २५ र २६ गते टिम नेपो चितवन शाखाले दुई दिने नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो ।

    टिम नेपोका उपाध्यक्ष दिपेश ज्ञवालीका अनुसार रामपुरस्थित “एन एम आर पि को सभा हलमा” कार्यक्रम आयोजना गर्न लागिएको हो । नेतृत्वमा अघि बढ्न इच्छुक हुने व्यक्तिहरुलाई प्रोत्साहान गर्ने हेतुले आयोजना गरिएको बताउँदै उनले कार्यक्रममा इच्छुक सबै सहभागी हुन पाउने बताए ।

    युवाहरुलाई केन्द्रित गरी गर्ने लागिएको सोही तालिम टिम नेपोका संस्थापक अध्यक्ष डा. निगम पौडेलले तालिम दिने छन् । सहभागी हुनका लागि “टिम नेपो चितवन”को फेसबुक पेजबाट दर्ता गर्न सकिने कार्यक्रम संयोजक रस्मि श्रि सिहंले जानकारी दिइन् ।

  • नवलपुरमा सम्बन्धविच्छेदका मुद्दा एक तिहाइ बढी

    नवलपुरमा सम्बन्धविच्छेदका मुद्दा एक तिहाइ बढी

    नवलपुर, २१ चैत-
    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नवलपुर जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदका मुद्दा मात्रै एक तिहाइभन्दा बढी रहेका छन् । जिल्लामा गत महिना दर्ता भएका १५६ मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका रहेको जिल्ला अदालतले जनाएको छ ।

    अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालका अनुसार फागुनमा मात्रै सम्बन्धविच्छेदका ५६ मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका मुद्दाको तुलनामा सम्बन्धविच्छेदका मुद्दा एक तिहाइभन्दा बढी अर्थात् करिब ३६ प्रतिशत हुन आउँछ । सम्बन्धविच्छेदका मुद्दा बढ्दै जानुमा वैदेशिक रोजगार र सामाजिक सञ्जाल मुख्य कारकका रुपमा देखिएको पौड्यालले बताउनुभयो ।

    फागुनमा सम्बन्धविच्छेदका ५६, अंश÷अंशचलन÷अंशनामसारी÷अंशबन्डाका २७, लिखत बदरका २४, जालसाजीका १०, मानाचामलका आठ, डाँका चोरीका छ, चेक अनादरका चार, लेनदेनका दुई, सवारी ज्यानका दुई, लागूऔषधका दुई, ज्यान मार्ने उद्योगका दुई, आपराधिक उपद्रोजन्यका दुई, चलन चलाइका दुई, जबर्जस्ती करणीका एक, सवारी अङ्गभङ्गका एक, लिखत गाली बेइज्जतीका एक, निषेधाज्ञाका एक, वन अतिक्रमण÷वन पैदावारका एक, लुटपिटका एक, मिलापत्रका एक, कर्तव्य ज्यानका एक र फैसला बदरका एक गरी जम्मा १५६ मुद्दा दर्ता भएका पौड्यालले बताउनुभयो ।

    त्यस्तै चालु आर्थिक वर्ष २०७८÷७९ को आठ महिनामा अदालतमा ९३२ मुद्दा दर्ता भएका स्रेस्तेदार पौड्यालले जानकारी दिनुभयो । पौड्यालका अनुसार गत साउनदेखि फागुन मसान्तसम्म दर्ता भएका मुद्दामध्ये दुनियाँवादी देवानी ६८२, सरकारवादी फौजदारी १६४ र दुनियाँवादी फौजदारी ७९ मुद्दा रहेका छन् । दुनियाँवादी देवानी एक, सरकारवादी फौजदारी तीनसहित चार पुनरावेदन मुद्दा र रिट (निषेधाज्ञा) तीन गरी जम्मा ९३२ मुद्दा रहेको उहाँले जानकारी दिनुभयो । गत वर्षको जिम्मेवारी सरेर आएका एक हजार ५० मुद्दा छन् ।

    चालु आर्थिक वर्षको आठ महिनामा दर्ता भएका ९३२ नयाँ मुद्दासहित हाल जिल्ला अदालतमा एक हजार ९८२ मुद्दा रहेको पौड्यालले बताउनुभयो । त्यसमध्ये ८१२ मुद्दा फैसला भएका छन् भने एक हजार १७० मुद्दा प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । गत वर्षको जिम्मेवारी सरी आएका मुद्दामध्ये दुनियाँवादी देवानी ६६१, सरकारवादी फौजदारी २१६ र दुनियाँवादी फौजदारी गरी १७१ मुद्दा रहेका छन् । साथै दुनियाँवादी देवानी एक, सरकारवादी फौजदारी एक गरी जम्मा दुई पुनरावेदन मुद्दा रहेका छन् ।

    जिल्ला अदालतमा हाल एक वर्ष नाघेका २६१ मुद्दा छन् । अठार महिना नाघेका मुद्दाको सङ्ख्या ११३, दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या १६६ रहेको छ । अदालतबाट दर्ता भएका मुद्दा चाँडो फैसला गर्ने गरी प्रक्रिया सुरु भएको भए पनि विभिन्न कारणले फैसलामा ढिलाइ हुने गरेको पौडेलको भनाइ छ । (रासस)

  • कपिलवस्तुमा इँटा बनाउँदै स्कुले बालबालिका, विद्यालय र कापी किताबबारे अनविज्ञ

    कपिलवस्तुमा इँटा बनाउँदै स्कुले बालबालिका, विद्यालय र कापी किताबबारे अनविज्ञ

    चन्द्रौटा, २१ चैत-
    सात वर्षीय सकिल अहमद हातभरि हिलो छोपेर माटो मुछिरहेका छन् । हिलो माटोलाई डल्लो बनाएर इँटा बनाउने साँचोमा हाल्नमा उनी ब्यस्त छन् । सकिलको दैनिकी यसैगरी चलिरहेको छ । उनको शरीर पनि हिलाम्मे भएको छ । उनीसँगै परिवारका अन्य सदस्य पनि इँटा बनाउन ब्यस्त छन् ।

    उनी विद्यालय र कापी किताबबारे अनविज्ञ छन् । सकिलको परिवार भारतको बरेलीबाट रोजगारीका लागि यहाँ आएको हो । उनको परिवार कपिलवस्तुको फाइबस्टार इँटा उद्योगमा इँटा बनाउने काम गर्छ । सकिल दिनभरी इँटा बनाउँछन् । बालबालिकालाई श्रममा लगाउन नपाइने भए पनि जिल्लाका अधिकांश इँटा उद्योगमा परिवारसँगै उनीहरु पनि इँटा बनाउने गर्छन् ।

    विद्यालय जाने उमेरका बालबालिका इँटा बनाउनमा ब्यस्त देखिन्छन् । खासगरी भारतीय बालबालिका इँटा उद्योगमा मजदुरी गर्दैआएका छन् । भारतको बरेलीबाट सपरिवार मजदूरी गर्न आएका अम्जद खानका १६ वर्षीय छोरा करम र १३ वर्षीय रुक्सान परिवारसँगै इँटा उद्योगमा काम गर्दै आएका छन् । नेपाल आउनु अघि करम भारतमा अध्ययन गर्थे । नेपाल आएपछि उनले पढ्न छोडेको बताए ।

    नेपालमा धेरै भारतीय नागरिकका छोराछोरीले इँटा उद्योगमा काम गरिरहेको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । बालबालिकालाई काम गर्न लगाउने इँटा उद्योगको नवीकरण नगरिने उहाँ बताउनुहुन्छ । दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियार श्रमिकका बालबालिकाको शिक्षाका विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुहुन्छ । शिवराजसँगै महाराजगञ्ज र बुद्धभूमि नगरपालिकाका इँटा उद्योगमा ४०० भन्दा बढी बालबालिका इँटा उद्योगमा काम गर्छन् । शिवराज नगरपालिकाले इँटा उद्योगमा कार्यरत बालश्रमिकलाई अनौपचारिक शिक्षा प्रदान गर्न तीनमहिने कक्षा सञ्चालन गर्ने योजना बनाएको छ । (रासस)

  • अपराजित नेपाललाई त्रिदेशीय शृंखलाको उपाधि

    अपराजित नेपाललाई त्रिदेशीय शृंखलाको उपाधि

    काठमाडौं, २१ चैत-
    फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ र बलिङ दुबैमा दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले शत प्रतिसत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जितेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमात्र जोड्न सक्यो । यो सन्दीपको कप्तानीमा नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।

    पीएनजीका सेसे बाउले अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जितसम्म डोहोर्‍याउन सकेनन् । बाउले ३८ बलमा एक चौका र ६ छक्कासहित ५९ रन बनाए । यसबाहेक पीएनजीको खातामा ओपनर चार्ल्स एमिनीले १५ बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    पिएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रले सर्वाधिक चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दा मात्र १८ रन खर्चिए । टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो उत्कृष्ट बलिङ फिगर हो । यसअघि उनले चार विकेट लिँदा २१ रन खर्चिएका थिए ।

    यसबाहेक करण केसीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । करणले तीन ओभरमा २७ रन खर्चिंदा सन्दीपले चार ओभरमा २५ रन दिए ।

    यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित पीएनजीविरुद्ध १६९ रनको लक्ष्य प्रस्तुत गरेको थियाे ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रनको योगफल तयार गरेको थियो ।

    नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्रले सर्वाधिक ५४ रन बनाएका थिए । उनले ३८ बलमा पाँच चौका प्रहार गरे ।

    नेपालले स्कोरबोर्डमा ४४ रन जोड्दा दुई विकेट गुमाएको नेपालले ८२ रनमै तेस्रो, चौथो र पाँचौ विकेट गुमाएको थियो । यस्तै, नेपालले एक सय १४ रनमा छैटौं विकेट गुमाएको थियो ।

    नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः २५ रन र २९ रनमा आउट भएका थिए । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहितकुमार पौडेल दुई रनमा आउट हुदाँ दिलिप नाथ र आरिफ शेख डकआउट भएका थिए ।

    यसबाहेक, आक्रामक ब्याटिङ गरेका करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन जोडे ।

    पीएनजीका सेमो कामेआले तीन विकेट लिदाँ चाड सोपेर, काबुआ मोरेअ, रिले हाकुरेले समान एक विकेट हात पारे ।

    शृंखलामा नेपाल, पीएनजी र मलेसिया सहभागी थिए । टी-२० शृंखलाअघि नेपालले पिएनजीसँग दुई एकदिवसीय खेलको शृंखला खेलेको थियो । उक्त शृंखला पिएनजीले ‘क्लिन स्विप’ गरेको थियो ।- न्युज कारखाना