Category: Banner तल ताजा समाचार

  • अख्तियारमा बाराका उजुरी बढी

    अख्तियारमा बाराका उजुरी बढी

    वीरगञ्ज, १ वैशाख-
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाराबाट बढी उजुरी परेका छन् । सबैभन्दा बढी जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको रहेको तथ्याङ्कले देखाएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका अनुसार बाराका १६ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७७÷७८ मा सबैभन्दा बढी जितपुरसिमरा उपमहानगरपालिकामा ३६ उजुरी परेका छन् । चालु आव २०७८÷८९ को फागुन मसान्तसम्ममा ४० उजुरी परेको आयोगले जनाएको छ । गत आव र चालु आवमा ३७ उजुरी फछ्र्याेट गरिएको छ ।

    यसैगरी बाराको कलैया उपमहानगरपालिकामा गत आव र चालु आवमा गरी ५४ उजुरी परेका छन् । यिमध्ये २९ उजुरी फछ्र्योट गरिएको । आयोगको क्षेत्राधिकारभित्र १५ जिल्ला पर्छन् । बाराबाट ३०४ उजुरी परेकामा १७५ फछ्र्योट गरिएको आयोगले जनाएको छ । (रासस)

  • बागमती प्रदेश प्रमुख यादवचन्द्र द्वारा नयाँ वर्षको शुभकामना

    बागमती प्रदेश प्रमुख यादवचन्द्र द्वारा नयाँ वर्षको शुभकामना

    मकवानपुर, १ वैशाख-
    बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको हो ।

    प्रदेश प्रमुख शर्माले मुलुकको विकासका लागि सबैले साझा सङ्कल्प लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक स्रोत र साधनले भरिपूर्ण हाम्रो देश यस वर्षदेखि ती साधनको समुचित उपयोग गरी समुन्नत राष्ट्र निर्माण गर्न तथा अतिकम विकसित राष्ट्रबाट माथि उठाउन सबैले साझा सङ्कल्प गर्नुपर्छ ।”

    शुभकामना सन्देशमा उहाँले अर्थतन्त्रमा देखिएको सङ्कट समाधानका लागि प्रत्येक प्रदेशको राजधानी वा उपयुक्त स्थानमा ठूला–ठूला उद्योग, आयोजना सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश प्रमुख शर्माले देशलाई आर्थिक, सामाजिक एवं राजनीतिकरूपमा प्रगतिको गोरेटोतर्फ लम्काउनका लागि सबैले अहम् भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभएको छ । (रासस)

  • ०७९ चुनावी वर्ष, कार्यभार सम्पन्न गर्न गठबन्धन : माधवकुमार नेपाल

    ०७९ चुनावी वर्ष, कार्यभार सम्पन्न गर्न गठबन्धन : माधवकुमार नेपाल

    काठमाडौं, १ वैशाख-

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको चुनाव हुने चुनावी वर्षको रुपमा रहेको २०७९ साल देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताएका छन् ।

    नयाँ वर्ष २०७९ को शुभकामना सन्देश जारी गर्दै नेपालले संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि जनताको साथमा हुने बताएका छन् । ‘समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्नेछौं भन्नेमा हामी विश्वस्त छौं । यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएका हौं,’ उनले भनेका छन् ।

    उनले वितेको वर्ष २०७८ देश, लोकतन्त्र र संविधान रक्षाका लागि क्रान्तिकारी विद्रोह गरेको वर्षको रुपमा स्मरणीय रहने बताएका छन् । ‘नयाँ वर्ष २०७९ को शुरुवातसँगै हामीले गत वर्ष गरेको त्यो विद्रोहलाई जनताबाट अनुमोदन गराउने ऐतिहासिक अवसर नजिक आएको छ,’ उनले भनेका छन् ।- न्युज कारखाना

  • नेपाली बैंकमा डलर खाता खोल्न अर्थमन्त्री जनार्दन शर्माको आग्रह

    नेपाली बैंकमा डलर खाता खोल्न अर्थमन्त्री जनार्दन शर्माको आग्रह

    लण्डन, १ वैशाख-

    अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले प्रवासी नेपालीहरुले डलर खाता खोल्दा नेपालको अर्थतन्त्रलाई मद्दत पुग्ने बताए ।

    ‘१ लाख एनआरएनले १० हजार डलरका दरले खाता खोलिदिनुस् । बैंकहरुमा तरलताको अभावमा मद्दत नै पुग्ला,’ अर्थमन्त्री शर्माले आग्रह गरे ।

    ‘ ६/७ महिनाको वस्तु र सेवा किन्ने विदेशी मुद्रा छ । राष्ट्र बैंकले हिजो मात्रै प्रकाशित गरेको प्रतिवेदन अनुसार ९ अर्ब ५८ करोड डलर छ,’ उनले भने, ‘पेट्रोलको मूल्य बृद्धि हुँदा लाखौं डलर बाहिर पठाउनु परेको छ ।’

    विदेशमा रहेका नेपालीलाई पनि फाइदा होस् भन्ने हेतुले डलर खाताका लागि नीतिगत प्रक्रिया पूरा गरेको मन्त्री शर्माले बताए ।

    ‘लगानी गर्न पनि मद्दत पुग्ला भनेर यहाँहरुको हितमा होस् भनेर गरेका थियौं । त्यहाँ रहेको निश्क्रिय पूँजीलाई सक्रिय बनाउन पनि खोजेको हो । खाता खोल्ने विषय, खाता खोल्न झन्झट छ भन्नेहरुलाई उत्तर हाम्रो नीति र निर्णयले दिइसकेका छौं’, उनले भने, ‘यी सबै झन्झट हटिसकेको छ अब तपाईंहरुले खाता खोल्नुहुन्छ कि हुन्न ?’

    डलर खातामा भएको रकम सहज रुपमा फिर्ता लिन मिल्ने बनाइसकेको उनले बताए । ‘एनआरएनमा संगठितलाई मात्रै होइन । नेपाली भन्ने कुनै पनि विवरण पेश गर्दा खाता खोल्न पाइनेगरी व्यवस्था गरेका छौं । यसमा एनआरएनएले सहजीकरण गरिदियोस् भन्ने हाम्रो आग्रह हो,’ मन्त्री शर्माले भने ।

    कार्यक्रममा अर्थ सचिव मधु मरासिनी तथा नेपाल राष्ट्र बैंककी कायममुकाम गभर्नर डा नीलम ढुंगानाले सहभागीहरुका प्रश्नको जवाफ दिएका थिए।

    गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले डलर खाता खोल्ने विषय प्रवासी नेपालीहरुलाई नेपालसँग जोड्ने एउटा माध्यम भएको बताए । उनले विदेशमा रहेका नेपालीहरुलाई विदेशी मुद्रामा खाता खोल्न नीति नियम परिवर्तन गरी सजिलो बनाइदिएकोमा सरकारलाई धन्यवादसमेत दिए ।

    ‘यो नेपालसँग जोड्ने कोशे ढुंगा हो । यो हाम्रो लागि जन्म भूमिको गुण तिर्ने मौका पनि भएकाले सबैले डलरमा खाता खोलिदिनु होला,’ अध्यक्ष आचार्यले भने । उनले गैरआवासीय नेपाली नागरिकताका लागि व्यवस्था गर्न मन्त्री शर्मालाई आग्रह गरे । ‘लगानीका विषयमा मन्त्रीज्यूहरुसँग छलफल भैरहेको छ । सबै सकारात्मक हुनुहुन्छ । हाम्रा समस्या धेरै छैनन् । छिटोभन्दा छिटो समाधान गरिदिनुहुनेछ भन्ने आशा छ,’ उनले भने ।- न्युज कारखाना

     

  • फिलिपिन्समा बाढी : मृत्यु हुने ६७ पुगे, अझै १५० बेपत्ता

    फिलिपिन्समा बाढी : मृत्यु हुने ६७ पुगे, अझै १५० बेपत्ता

    मनिला, १ वैशाख-
    फिलिपिन्समा यसै साता आँधीपछि आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । शक्तिशाली मेगी आँधीपछि आएको बाढीपहिरोमा अझै केही हराइरहेका छन् । बाढीपहिरोबाट मध्यप्रान्त लेयते सबैभन्दा बढी प्रभावित छ ।

    माटो र पानीको बहावले घरहरू जलमग्न छन् । अबुयोग नगरपालिकाको तटीय गाउँ पिलारमा १३ जनाको मृत्यु भएको र अझै १५० जना बेपत्ता भएको अबुयोगका मेयर लेमुएल ट्रायाले बताएका छन् ।

    पहिरोले सडक बगाएपछि २५० जनालाई डुंगाबाट उद्धार गरिएको उनले जानाकारी दिए । बाढी प्रभावित बेबे शहरमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । त्यस्तै २७ जना अझै बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    ठूलो संख्यामा मानिसहरू बेपत्ता भएकाले मेगीबाट मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । अबुयोगका प्रहरी प्रमुख क्याप्टेन जेम्स मार्क रुइजले पिलारमा पीडितका लागि थप डुङ्गाको आवश्यकता रहेको बताए ।

    ब्यूरो अफ फायर प्रोटेक्सनले फेसबुकमा पोस्ट गरेका तस्विरमा भवनहरु भत्किएको र केही पानीमा डुबेको देख्न सकिन्छ ।- एजेन्सी

  • विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ५० करोड नाघ्यो, ६२ लाखभन्दा बढीले गुमाए ज्यान

    विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ५० करोड नाघ्यो, ६२ लाखभन्दा बढीले गुमाए ज्यान

    काठमाडौं, १ वैशाख-

    विश्वमा कोरोना भाइरस कूल संक्रमितको संख्या ५० करोड नाघेको छ । कोरोना महामारी सुरु भएको साढे २७ महिनाको अवधिमा संक्रमितको संख्या ५० करोड नाघेको हो ।

    वल्डोमिटर्सको तथ्याङ्क अनुसार हालसम्म विश्वमा ५० करोड २१ लाख ५६ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ ।

    कोरोना संक्रमितमध्ये हालसम्म ६२ लाख १४ हजार १०९ जनाको मृत्यु भइसकेको छ । हालसम्म ४५ करोड २४ लाख १८ हजार १०३ जना संक्रमित निको भइसकेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख १८ हजार ७८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालमा रहेका संक्रमितमध्ये ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ लाख ६६ हजार १६० जना संक्रमित निको भइसकेका छन् ।

    विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।

    वल्डोमिटर्सका अनुसार विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ८ करोड २१ लाख ९२ हजार ८८० जनामा संक्रमण पुष्टी भएको भइसकेको छ ।

    यस्तै, हालसम्म भारतमा ४ करोड ३० लाख ३९ हजार २३, ब्राजिलमा ३ करोड २ लाख १० हजार ८५३, फ्रान्समा २ करोड ७३ लाख १० हजार ५ र जर्मनीमा २ करोड ३१ लाख १६ हजार ४०२ जनालाई कोरोना संक्रमण भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाउँछ ।

    कोरोनाका कारण ज्यान गुमाउनेको सबैभन्दा ठूलो संख्या पनि अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण १० लाख १४ हजार ११४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा ५ लाख २१ हजार ७६७, ब्राजिलमा ६ लाख ६१ हजार ७१०, रुसमा ३ लाख ७२ हजार ५१२ र मेक्सिकोमा ३ लाख २३ हजार ८४८ जनाको मृत्यु भएको छ । न्युज कारखाना

     

  • बारामा जिप दुर्घटना, एक जनाको मृत्यु १२ जना घाइते

    बारामा जिप दुर्घटना, एक जनाको मृत्यु १२ जना घाइते

    बारा, १ वैशाख-

    बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ आधाभार जंगलमा बिहीबार बिहान जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाई रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइते भएका जिपमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

    आज बिहान पौने ९ बजे सिमराबाट हेटौडातर्फ आउँदै गरेको बा १९ च ४३७७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।- न्युज कारखाना

     

  • विप्लव नेतृत्वको नेकपाले चुनावमा हुने शक्ति र पैसाको दुरुपयोगविरुद्ध संघर्ष गर्ने

    विप्लव नेतृत्वको नेकपाले चुनावमा हुने शक्ति र पैसाको दुरुपयोगविरुद्ध संघर्ष गर्ने

    खोटाङ, १ वैशाख-

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले चुनावमा हुने शक्ति र पैसाको दुरुपयोगविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । २९ चैतमा बसेको नेकपाको १२औँ पूर्ण बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा शक्ति र पैसाको दुरुपयोग हुने निष्कर्षसहित सोविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो ।

    नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्धको माहोल सिर्जना गर्ने, जनमत संग्रह र समाजवादको बारेका बहस छलफललाई तीव्रता दिने, एमसीसी पक्षधरको भण्डाफोर गर्ने, भ्रष्टाचारी, मिटरव्याजी, सामाजिक विभेद बिरुद्ध जनपरिचालन सहित संघर्ष चर्काउने निर्णय गरिएको विज्ञाप्तीमार्फत जानकारी दिएको छ ।

    कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सञ्जिप थापाले जारी गरेको विज्ञाप्तीमा दलाल संसदीय व्यवस्थाविरुद्ध वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रहको लागि जनमत सिर्जना गर्ने, अभियान सञ्चालन गर्ने निर्णय गरिएको उल्लेख छ ।

    पार्टीले पार्टीलाई आत्मनिर्भर बनाउन उत्पादनमा विशेष जोड दिने, जिल्लाको नगर कमिटि, गाउँ कमिटि, वडा कमिटि र सेल कमिटिको सुदृढिकरण तथा बैठक गर्ने, जनवर्गीय संगठन र मोर्चाको जिल्ला भेला तथा सम्मेलन गर्ने लगायतका निर्णय गरिएको जनाएको छ । १२ औं पूर्ण बैठक केन्द्रीय सदस्य सैलेसको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।- न्यूज कारखाना

     

  • विवेकशील साझा पार्टीले गठन गर्यो प्रवक्ता पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति

    विवेकशील साझा पार्टीले गठन गर्यो प्रवक्ता पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति

    काठमाडौं, १ वैशाख-

    विवेकशील साझा पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ ।

    पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं प्रवक्ता शरदराज पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो ।

    समितिमा नारायण कोइराला, शोभा शाक्य, समीक्षा बास्कोटा, अब्दुस मियाँ, नन्दप्रसाद काप्री, हरिकृष्ण अधिकारी, अनुपा श्रेष्ठ, हरिप्रसाद गौतम, दिपक प्रसाद उप्रेती, अमृत पुडासैनी, आशिष रेग्मी, सौरेन्द्र बहादुर शाह, सूर्य दीप रेग्मी र उद्धव राज भेटुवाल सदस्य रहेका छन् ।

    साथै नवगठित निर्वाचन परिचालन समितिको बैठकले स्थानीय निर्वाचनलाई लक्षित गरि विभिन्न उपसमितिहरू गठन गरेको छ । बैठकले नारायणप्रसाद कोइरालाको संयोजकत्वमा उम्मेदवार समन्वय उपसमिति गठन गरेको छ ।

    सौरेन्द्र बहादुर शाहको संयोजकत्वमा घोषणापत्र मस्यौदा उपसमिति, सूर्य दीप रेग्मीको संयोजकत्वमा सामाजिक सञ्जाल उपसमिति र उद्धवराज भेटुवालको संयोजकत्वमा सञ्चार उपसमिति गठन गरिएको छ। त्यस्तै, शोभा शाक्यको संयोजकत्वमा शुभेच्छुक समन्वय समिति, हरिप्रसाद गौतमको संयोजकत्वमा नेतृत्व भ्रमण उपसमिति, आशिष रेग्मीको संयोजकत्वमा कोष सङ्कलन उपसमिति र पार्टीको सचिवालय व्यवस्थापन प्रमुख समेत रहेका दीपकप्रसाद उप्रेतीको संयोजकत्वमा प्रशासनिक व्यवस्थापन उपसमिति गठन गरिएको छ।

    पार्टीले सबै प्रदेशमा प्रादेशिक निर्वाचन परिचालन समिति समेत गठन गर्ने जनाएको छ । प्रादेशिक समितिका संयोजकहरू पनि केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्य रहनेछन् ।

    ‘स्थानीय निर्वाचनमा सातै प्रदेशका बढिभन्दा बढी स्थानीय तहमा उम्मेदवारी दिने गरि पार्टीले तयारी थालेको छ,’ विवेकशील साझाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    पार्टीका तर्फबाट उम्मेदवार भएकाहरूको सशक्त र नतिजामुखी प्रतिस्पर्धा सुनिश्चित गर्न समिति र उपसमितिहरूले काम गर्ने केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टी प्रवक्ता शरदराज पाठकले जनाएका छन् ।- न्युज कारखाना

     

  • कुहिएको अवस्थामा शव फेला

    कुहिएको अवस्थामा शव फेला

    जलेश्वर, १ वैशाख
    महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा बुधबार एक व्यक्तिको शव फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित विपी राजमार्गभन्दा ५०० मिटर उत्तर–पश्चिममा पर्ने सातपत्रे भिरालो जङ्गलमा एक व्यक्तिको शव कुहिएर दुर्गन्धित भएको अवस्थामा फेला परेको हो ।

    नाम, थर, वतन नखुलेका अन्दाजी वर्ष ५०÷५५ का पुरुषको शव कुहिएर जङ्गलभरि दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले शवबारे खबर दिएपछि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली शव फेला परेको स्थानतिर गएर सो शव उठाएर परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ । (रासस)