Category: Banner तल ताजा समाचार

  • सानेपामा कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक जारी

    सानेपामा कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक जारी

    काठमाडौं, २ वैशाख-

    नेपाली कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ ।

    उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिमा रहेका सदस्यहरूले आगामी स्थानीय निर्वाचनमा कसरी प्रस्तुत हुनेबारे आफ्ना धारणा राख्ने क्रम जारी छ ।

    समितिमा कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन्। समिति ५६ सदस्यीय रहेको छ । आजको बैठकमा जिल्लामा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्नेबारे छलफल भइरहेको छ ।
    न्युज कारखाना

     

  • जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक : गृहमन्त्री खाँण

    जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक : गृहमन्त्री खाँण

    काठमाडौँ, २ वैशाख-
    गृहमन्त्री बालकृष्ण खाँणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिनुभएको छ । गृह मन्त्रालयमा आज सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भएको भेटवार्तामा गृहमन्त्री खाँणले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुनअनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताउनुभयो ।

    उहाँले जनमत पार्टीलाई मूलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचन भागलिने तयारी गर्नु स्वागतयोग्य कुरा भएको बताउनुभयो । मन्त्री खाँणले सबै राजनीति दलले आफ्नो दलको चुनाव चिह्न पाउने व्यवस्था गर्न आयोगसँग आग्रह गरेको र सोहीअनुरुप आयोगले निर्णय गरिसकेको जानकारी दिनुभयो ।

    भेटमा सो पार्टीका नेताले आगामी स्थानीय तह निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा दल दर्ता गराएको जनाउँदै आफूहरुले यसअघि सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग गरेको थियो ।

    उक्त पार्टीले आफूहरुले गरेको कृषि आन्दोलनमा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ गर्न माग गर्दै किसान आन्दोलनका माग सम्बोधन गर्न आग्रहसमेत गरेको छ ।

    भेटमा गृहमन्त्री खाँण, गृहसचिव टेकनारायण पाण्डे, महान्यायाधिवक्ता खम्बबहादुर खाती र सहसचिव फणीन्द्रमणि पोखरेल तथा सो पार्टीको तर्फबाट अध्यक्ष राउत, उपाध्यक्षत्रय वसन्त कुशवाह, दीपक साह, नरेन्द्र साह र महासचिव चन्दन सिंहको सहभागिता रहेको थियो । (रासस)

  • चार महिनापछि यसरी पक्राउ परे अर्जुन दासका हत्या आराेपी

    चार महिनापछि यसरी पक्राउ परे अर्जुन दासका हत्या आराेपी

    काठमाडौं, २ वैशाख-

    कैलालीका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अर्जुनको हत्यामा संलग्न चारजनालाई पक्राउ गरेको हो ।

    गत ३ पुसमा कैलाली जानकी गाउँपालिका-९ अमरावती सामुदायिक वनमा सोही ठाउँका अर्जुनको रूखमा बाँधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स तरिकाले हत्या गरेका थिए ।

    उनको हत्यामा संलग्न रहेर फरार रहेका सुमित साउद, बमे भनिने बम बहादुर बोहरा, रोनी परियार भनिने दिलिप दास र मनोज भण्डारी छन् । जानकी गाउँपालिका-९ कैलाली घर भएका सबै जना १९ वर्षका छन् ।

    रूपन्देहीको सिद्धार्थ नगरपालिका-१ बेलहिया सिमानाकाबाट गोप्य सूचनाको आधारमा अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । हिजो पक्राउ परेका चारैजनालाई कर्तव्य ज्यान कसुरमा मुद्दा रहेकाले थप अनुसन्धानका लागि कैलाली प्रहरीलाई बुझाएको हो ।

    कसरी पक्राउ परे ?

    हत्या गरेर भारततर्फ फरार भएका चारैजना लुकिछिपी बस्दै आएका थिए । भारतमा बस्दा पनि त्यहीँबाट फेसबुक लाइभ आएर धम्की दिनेसमेत गरिरहेका थिए । नेपालको प्रहरीले पक्राउ गर्न नसक्ने उनीहरूको दाबी थियो ।

    नयाँ दिल्लीतर्फ लागेका उनीहरू पछिल्लो समय काम खोज्दै बेलहिया नाकातर्फ आएका थिए । सुमित, मनोज, दिलीप र बमे बेहलिया नाकातर्फ आएको सूचना महानगरीय अपराध महाशाखाले पायो । त्यसपछि खटिएको विशेष टोलीले १ वैशाखको ४ः१५ बजेतिर पक्राउ गरेको थियो । पक्राउ परेका चारैजनालाई आज कैलाली प्रहरीलाई बुझाएको छ ।

    कसरी भएको थियो हत्या ?

    घटना हुनुभन्दा तीन दिन अगाडि कमल साउदको मोबाइल फोन हराएको विषयलाई लिएर सुमित साउदलाई शंका गरी कुटपिट गरेको थिए । सुमित कुटिएको विषयमा मनोज भण्डारी र बमबहादुर समेतले कमल साउदको २५ हजार रुपैयाँ बराबरको लागूऔषध चोरी गरी जंगलमा लुकाएका थिए ।

    अर्जुनले मोबाइल चोरी हर्के भाटलाई दिएको कुरा सुमितले पत्ता लगाई कमललाई फिर्ता दिएका थिए । कमलको मोबाइल चोरी गरेको र सुमितलाई कुटपिट गरेको विषयमा मुख्य दोषी अर्जुन हो भनी मनोज, सुमित, बम, सुशील मयाल, दिलीप दास, बादल विक, करण दर्नालले कुटपिट गर्ने योजना बनाएका थिए ।

    २ पुस बेलुका ६ बजेतिथर अर्जुन र उनका साथीहरू लागुऔषध सेवन गर्न उक्त सामुदायिक वनमा भेला भएका थिए । सबैजनाले लागुऔषध सेवन गरेपश्चात कमलको चोरी भएको मोबाइल र सुमितलाई कुटपिट गरेको विषयमा अर्जुनलाई दोषी देखाई सबैजना मिलेर कुटपिट गरी हातखुट्टा बाँधेका थिए ।

    अर्जुनलाई हातखुट्टा बाधेर ४-५ घण्टा राखेपछि सबैजनाको मार्ने योजनाअनुसार सुशील मयाल खुकुरी उपलब्ध गराएर घर फर्किएका थिए । राति ११ बजेतिर मनोजलगायतको समूहले अर्जुनलाई साजको रूखमा हातखुट्टा बाँधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स हत्या गरी टाउको दुई फिट टाढा राखी सबैजनाले लागुऔषध सेवन गरी रातभरि घटनास्थलमै बसेका थिए ।

    भोलिपल्ट बिहान ५ बजेतिर मनोज, बादल, दिलीप, बमे, सुमित र विवेक भारतको दिल्लीतर्फ लागेका थिए । कनकलाल, करण, सुशील कैलालीमै साथीको घरमा लुकेर बसेका थिए । सुमित, मनोज, दिलीप र बमे भारतका विभिन्न स्थानमा बस्दै आएका थिए ।- न्युज कारखाना

  • एसियन कप छनोटको लागि प्रशिक्षण सुरु

    एसियन कप छनोटको लागि प्रशिक्षण सुरु

    काठमाडौँ, २ वैशाख-
    एएफसी एसियन कप छनोट तयारीको लागि नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको प्रशिक्षणमा नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीलाई बोलाउनुभएको छ । ती खेलाडीमा किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ छन् ।

    यसैगरी मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, तेज तामाङ र विशाल राई छन् ।

    मुख्य प्रशिक्षक अल्मुताइरीले एसियन कप छनोटको लागि नेपाललाई धेरै मेहनत आवश्यक रहेको जनाउँदै अहिले छनोट नहुने उल्लेख गनुृभयो ।

    उहाँले आफूहरु निकै कठिन समूहमा र एसियन कप छनोटमा उत्कृष्ट खेल प्रर्दशन गर्न सक्दो प्रयास गर्ने बताउनुभयो ।

    छनोटमा नेपाल समूह ए मा छ । नेपालको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । नेपालको समूहको छनोट खेलहरु भने कुवेतमा आयोजना हुनेछ ।

    हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् । छनोट खेल आगामी जुन ८ देखि १४ तारिखसम्म हुनेछ ।

    यसमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोट प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल जुन ११ मा कुवेतको सामना गर्नेछ भने जुन १४ मा नेपालले इन्डोनेसियासँग खेल्नेछ । (रासस)

  • आईडीएबाट प्राप्त हुने १८ अर्ब रुपैयाँ ऋण स्वीकार्ने सरकारको निर्णय

    आईडीएबाट प्राप्त हुने १८ अर्ब रुपैयाँ ऋण स्वीकार्ने सरकारको निर्णय

    काठमाडौं, २ वैशाख-

    सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १५० मिलियन अमेरिकी डलर (१८ अर्ब रुपैयाँ) सहुलियत ऋण सहायता स्वीकार्ने लिने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आईडीएबाट १८ अर्ब रुपैयाँ बराबर सहुलियत ऋण सहायता स्वीकार्ने सरकारले निर्णय गरेको जानकारी दिए ।

    अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआईडीबाट प्राप्त हुने ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम पनि स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।
    -न्युज कारखाना

     

  • सिंगो बुटवल: एक विद्यालय अवधारणा

    सिंगो बुटवल: एक विद्यालय अवधारणा

    लुम्बिनी, २ वैशाख-
    बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता रायमाझी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत आजभोलि आफ्नो विद्यालयको दैनिक शैक्षिक तथा प्रशानिक कामको जिम्मेवारीसँगै नगरका अन्य विद्यालयमा पुगेर शैक्षिक अभ्यासका विषयमा अनुभव आदानप्रदान गर्नुहुन्छ ।

    बुटवल उपमहानगरपालिकाले ल्याएको ‘सिङ्गो बुटवल एक विद्यालय’ कार्यक्रमअन्तर्गत प्रअ बस्नेतले गत माघ २४ गते अभिभावक विद्यालयभित्रका समूह विद्यालयका प्रधानाध्यापकहरूसँग सामूहिक छलफल गर्नुभयो ।

    विद्यालयमा आयोजित छलफलमा अभिभावक विद्यालय र समूह विद्यालयका प्रधानाध्यापकले हाल विद्यालयमा भएको समग्र अवस्था, अवसर, चुनौती, समस्यालगायत शैक्षिक विषयमा अनुभव साटासाट गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    कान्ति माध्यमिक विद्यालयका विज्ञान शिक्षक डिल्लीप्रसाद बेल्वासे पनि केही दिनअघि आफूले अध्यापन गराउने विद्यालय छाडेर दिनभरिजसो बुटवलकै लक्ष्मी माध्यमिक विद्यालयमा व्यस्त रहनुभयो । बेल्वासेले लक्ष्मी माविमा शिक्षण अध्ययनका विषयमा एकापसमा अनुभव आदानप्रदानका लागि छलफल गर्नुभयो ।

    ‘सिङ्गो बुटवल, एक विद्यालय’ कार्यक्रम कार्यान्वयनका सन्दर्भमा विज्ञान विषयका शिक्षक बेल्वासे लक्ष्मी माविमा आयोजित विज्ञान विभागका छलफलमा पाठ्यक्रमको शिक्षण क्रियाकलापका विषयमा छलफलमा गरिएको बताउनुहुन्छ । “यस खालको कार्यक्रमले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरमा एकरुपता कायम हुन्छ, अध्यापन क्रियाकलापमा एक स्कुलको अर्को स्कुलका शिक्षकसँग अनुभव आदानप्रदान हुँदा कमजोर शैक्षिक अवस्थामा रहेका विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुनसक्छ”, उहाँ बताउनुहुन्छ ।

    बुटवल उपमहानगरपालिकाले नगरका सामुदायिक विद्यालयमा शिक्षामा एकरुपता र समानता ल्याउन जीवनोपयोगी शिक्षामा जोड दिई श्रम बजारयोग्य प्रतिस्पर्धी र सहयोगी जनशक्ति निर्माण गर्ने उद्देश्यले ल्याएको कार्यक्रम कार्यान्वयनको प्रारम्भिक चरणमा छ ।

    अहिले ल्याइएको अवधारणा भोलि नै कार्यान्वयन भइहाल्ने भन्ने नभई कार्यान्वयनका लागि कसरी र कस्ता कार्यक्रम तय गर्ने भन्ने विषयमा सूचक बनाएर विषयविज्ञमार्फत नियमित अनुगमनको समेत प्रबन्ध मिलाइएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी बताउनुहुन्छ । “नगरभित्रका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार, सेवा सुविधा, शिक्षक उपलब्धता, शिक्षण विधि, नतिजा, पाठ्यक्रम, शिक्षक विकास र व्यवस्थापन, मूल्याङ्कन पद्धति, कक्षा सञ्चालन समय, बिदा आदिमा एकरूपता ल्याउन यो अवधारणा ल्याइएको हो”, उहाँले स्पष्ट गर्नुभयो ।

    कार्यक्रम कार्यान्वयनमा आएपछि सबै विद्यालयको भौतिक, आर्थिक, मानवीय, प्रशासनिक एवं अन्य प्रकारका साधनस्रोतको उच्चतम प्रयोग भई अपेक्षित नतिजासमेत हासिल गर्न सकिने बुटवल उपमहानगरको अपेक्षा छ । विसं २०७४ मा नगर शिक्षा योजना र नयाँ ऐन लागू गरेको उपमहानगरको सो अवधारणा कार्यान्वयन भएमा बुटवल शैक्षिक क्षेत्रमा नमुना बन्ने विश्वास शिक्षाविद्ले गरेका छन् ।

    प्रमुख सुवेदीका अनुसार नगरका सबै सामुदायिक विद्यालयमा शिक्षाको समानस्तर कायम गरी विद्यार्थीलाई नजिकैको विद्यालयमा अध्ययन गर्ने वातावरण तयार गर्न यस्तो अवधारणा अगाडि बढाइएको हो । बुटवलभित्रका जुनसुकै सामुदायिक विद्यालयमा अध्ययन गरे पनि शैक्षिकस्तर एउटै हो भन्ने मान्यता स्थापित गर्न सबै विद्यार्थीलाई समान शैक्षिक क्रियाकलाप प्रदान गर्न कार्यक्रम बनाएर कार्यान्वयन भइरहेको उहाँको भनाइ छ ।

    उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ देखि आफ्नो शिक्षा कार्यनीतिमा सबै बालबालिकालाई गुणस्तरीय शिक्षाको समान अवसर उपलब्ध गराउने उल्लेख गरेको थियो । पालिकाभित्र ३८ सामुदायिक विद्यालय (आधारभूत १२, माध्यमिक २२, विशेष एक र मदरसा तीन) तथा संस्थागत ५७ छन् ।

    सामुदायिक विद्यालयतर्फ माध्यमिक शिक्षक दरबन्दी ५४, निमावि दरबन्दी ५७ र प्राथमिक तह दरबन्दी १७८ जना छन् । यस्तै राहत मावि २१, राहत मावि (११ र १२) १९, निमावि राहत २२ र प्रावि २२ गरी जम्मा ३८३ जना अनुदान कोटासमेत गरी जम्मा ४२० र बाल विकास केन्द्रमा ६१ जना गरी कूल ४८१ शिक्षक कार्यरत छन् । तीमध्ये सबैभन्दा धेरै सामुदायिक विद्यालय वडा नं ११ मा सात सामुदायिक विद्यालय सञ्चालनमा छन् । यस्तै वडा नं ५ मा चार, वडा नं ७ र १ मा तीन÷तीन तथा वडा नं २, ४, ६, १२, १४, १५ र १७ वडामा दुई÷दुई सामुदायिक विद्यालय छन् । सामुदायिक र संस्थागतमा गरी यहाँ करिब ६० हजार विद्यार्थी अध्ययनरत छन् ।

    शैक्षिक गुणस्तर सुधार नवीन अवधारणा

    नगरका सामुदायिक विद्यालयमा पनि भौतिक पूर्वाधार, सेवासुविधा, शिक्षक, शिक्षण विधि, नतिजा, पाठ्यक्रम, शिक्षक विकास र व्यवस्थापन, मूल्याङ्कन पद्धति, कक्षा सञ्चालन समय, बिदा आदिमा एकरूपता नहुँदा सबै विद्यालयमा विद्यार्थीको चापमा एकरुपता हुन सकेको छैन ।

    सो अवधारणाअनुसार निश्चित मापदण्डका आधारमा नगरका सामुदायिक विद्यालयलाई आठ समूहमा विभाजन गरिएको छ । ती समूहमा पर्ने कमजोर विद्यालयको नेतृत्व शैक्षिकस्तर राम्रो भएको विद्यालयले गर्ने भनी तोकेर कार्यान्वयनमा लगिएको छ । त्यस्तो अभिभावक विद्यालयले आफ्नो समूहमा रहेका अन्य विद्यालयलाई शैक्षिक, प्राविधिक सहयोग गर्ने, पाठ्यक्रम, शिक्षण प्रक्रियाको सिकाइलगायत नमूना पाठ प्रदर्शन, विद्यार्थी व्यवस्थापन, परामर्श, शिक्षक तथा कर्मचारी नियुक्तिमा सघाउनुपर्ने अवधारणामा उल्लेख छ ।

    ‘सिङ्गो बुटवलः एक विद्यालय’ अवधारणा विद्यालय शिक्षा सुधार योजनाअन्तर्गत आएको शिक्षाविद् प्रा डा आनन्दमान सिंह शाक्य बताउनुहुन्छ । उहाँले यस किसिमको कार्यक्रमले सबै विद्यालयमा समान शैक्षिक गुणस्तर हुने तथा विद्यार्थीले विद्यालय छान्ने र केहीमा मात्र भीड लाग्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यक्रम कार्यान्वयन हुँदा नगरको शैक्षिक गुणस्तर सूचक राम्रो देखिनाका साथै सबै क्षेत्रका बालिबालिकाको शैक्षिकस्तरमा एकरुपता आउँछ ।”

    उहाँका अनुसार कार्यक्रम कार्यान्वयनपछि नगरको शिक्षामा प्रशासनिक, भौतिक, शैक्षिक, विद्यार्थी, आर्थिक र सामाजिक व्यवस्थापनमा एकरूपताका साथै नगरवासीमा गुणस्तरीय शिक्षाको अनुभूति हुन्छ । उहाँ यसका निम्ति सबैका लागि गुणस्तरीय आधारभूत शिक्षा, माध्यमिक शिक्षा र उच्च शिक्षाको आधार तयार पारी समयसापेक्ष शिक्षा दिलाउन नगरवासीले आआफ्ना क्षेत्रबाट सकारात्मक सहयोग गर्नुपर्ने बताउनुहुन्छ ।

    अभिभावक विद्यालयमा क्षेत्रगत प्रधानाध्यापकका लागि कार्यशाला सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख टीकाराम पन्थीले जानकारी दिनुभयो ।

    बुटवलमा सबै बालबालिकालाई समानस्तरको गुणस्तरीय र समयसापेक्ष जीवनोपयोगी शिक्षा प्रदान गर्नु सो अवधारणाको दूरदृष्टि रहेको छ । शिक्षाका माध्यमबाट प्रतिस्पर्धी तथा सहयोगी भावना भएको नागरिक तयार गर्ने सो अवधारणाको मुख्य लक्ष्य राखिएको छ ।

    सामुदायिक विद्यालयमा कक्षा सञ्चालन समय, बिदा, विद्यालयको शैक्षिक उपलब्धि र विद्यार्थी भर्ना सङ्ख्याको चापमा एकरुपता नहुनेजस्ता समस्याको समाधानका लागि समग्र नगरको शैक्षिक अवस्थामा सन्तुलन ल्याई सबै बालबालिकामा घरपायक विद्यालयमा नै गुणस्तरीय शिक्षाको सर्वसुलभता र सहज पहुँच सुनिश्चित गरी विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्न आवश्यक देखिएकाले सो अवधारणा ल्याइएको बताइएको छ ।

    नगरका सम्पूर्ण विद्यालयका बालबालिकाले घरपायक विद्यालयमा नै गुणस्तरीय शिक्षाको अवसर पाउने, तिनको समय बचत हुने र अभिलेखीकरण कार्य सरल हुने, छात्रवृत्ति व्यवस्थापनमा सजिलो हुने, यातायातको चाप घट्ने, तिनको क्षमता र अनुभवानुसारको शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन हुनेजस्ता सकारात्मक परिणामको अपेक्षा गरेर सो अवधारणा ल्याइएको उपमहानगरपालिका शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल बताउनुहुन्छ ।

    उहाँका अनुसार पाँचवर्षे कार्यक्रम कार्यान्वयनको पहिलो वर्ष छ महिना मात्रै कार्यक्रम सञ्चालन गरिँदा कार्ययोजनानुसार विद्यालयलाई आठ समूहमा विभाजन गरिएको र अभिभावक विद्यालयलाई स्रोत केन्द्रका रूपमा विकास गर्ने काम भएको छ । कार्यक्रम आफैँमा महत्त्वाकाङ्क्षी भएको तथा विद्यालयमा पूर्वाधार, भौतिक सुविधा विस्तारका लागि पर्याप्त ठाउँ नहँुदा सही कार्यान्वयनमा केही चुनौती रहेको उहाँ स्विकार्नुहुन्छ । उहाँका अनुसार नगरका सबै विद्यालयको शैक्षिक, भौतिकलगायत सबै क्षेत्रमा समान बनाउने लक्ष्य रहे पनि उत्कृष्ट, मध्यम र कमजोर सबै विद्यालयलाई सबै क्षेत्रमा समान बनाउनु चुनौतीपूर्ण नै छ । यस्तै विद्यालयका व्यवस्थापन समिति, शिक्षक र अभिभावक सबैलाई सहमत बनाएर समान बनाउनु पनि चुनौतीपूर्ण रहे पनि तिनको पहिचान गरेर कार्यान्वयनमा लागिएको छ ।

    सो कार्यक्रमानुसार समूहभित्रको कुनै एक उत्कृष्ट विद्यालयलाई अभिभावकका रूपमा छनोट गरी अभिभावक विद्यालयको मातहतमा रहने समूहभित्रका विद्यालय यकिन गर्ने कार्यक्रम समावेश गरिएको छ । अभिभावक विद्यालयलले फिडर विद्यालयलाई शैक्षिक, प्राविधिक सहयोग गरी नगरका सबै विद्यालयका शैक्षिक व्यवस्थापनमा समानता ल्याइने र आगन्तुक शिक्षकको व्यवस्था गरी नमुना पाठ प्रदर्शन गरिने छ ।

    उपमहानगरपालिकाका नगर शिक्षा समिति सदस्य तथा अभिभावक विद्यालयमध्येको नहरपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिश्वर गौतम उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा सबैभन्दा उत्कृष्ट र प्रभावकारी कार्यक्रम ल्याएको बताउनुहुन्छ । उहाँ शिक्षक विद्यालयबीच समन्वयको वातावरण बनेको, नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा शिक्षण सिकाइमा एकरुपता हुने क्रममा रहेको र परीक्षा प्रणालीमा एकरूपता कायम गर्ने विषय कार्यान्वयन हुनु उपलब्धिमूलक मान्नुहुन्छ । यस्तै शिक्षामा समान गुणस्तर कायम गर्दै शिक्षण सिकाइ आदानप्रदान भएको पनि उहाँ बताउनुहुन्छ ।

    प्रअ गौतम सो कार्यक्रमअनुसार आआफ्ना योजनाका साथ चलाइएका विद्यालय सामूहिक प्रणालीमा चलाउनु आफैँमा चुनौतीपूर्ण रहेको बताउनुहुन्छ । यसरी विद्यालय चलाउँदा आर्थिक, भौतिक र शिक्षक कर्मचारीको जनशक्ति अभाव पनि कायमै रहने उहाँको भनाइ छ ।

    सो कार्यक्रमबाट नगरका विद्यालयमा शिक्षण मूल्याङ्कन र उपलब्धिमा समानस्तर कायम गर्ने लक्ष्य राखिएको छ । यस्तै विद्यार्थी व्यवस्थापन, परामर्श, शिक्षक तथा कर्मचारी नियुक्ति, पदस्थापनलगायत काममा सल्लाह र निर्देशनसमेत प्रदान गर्न सक्ने यसको अवधारणा उल्लेख छ । सो कार्यक्रमबाट आर्थिक साधन स्रोत सङ्कलन र परिचालन गरी दिगो विकास गर्ने, अन्य विद्यालय र सरोकार पक्षसँग सहकार्य गरी विद्यालय विकास प्रस्ताव तयार गरेर सबै विद्यालयमा प्रअ छनोट गरिने विषय पनि समावेश गरिएको छ । कार्यक्रमबाट दिगो विकास लक्ष्य ४ अनुरुप सन् २०३० सम्म सबैका लागि समावेश तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने तथा आजीवन सिकाइलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । (रासस)

  • शेयर बजारमा नयाँ इतिहास कायम भएको वर्ष २०७८

    शेयर बजारमा नयाँ इतिहास कायम भएको वर्ष २०७८

    काठमाडौँ, २ वैशाख-
    बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो ।

    सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१ लाख २१ हजार ८६१ वटा हितग्राही खाता खुलेका छन् । यस्तै, ४२ लाख ३५ हजार ३९३ वटा मेरो शेयरको एकाउण्ट खोलिएको छ । कूल आठ अर्ब ३६ करोड १५ लाख ४३ हजार ६८४ कित्ता शेयर अभौतिकीकरण गरिएको छ । यो विवरणले पनि नेपालको शेयर बजारमा भएको विस्तार र विविधिकरणको चित्रण गर्दछ ।

    दोस्रो बजारमा शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा हालसम्म ३३० कम्पनी सूचीकृत भएका छन् । नेप्सेमा अझै पनि बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीको बोलवाला देखिन्छ । वर्ष, २०७८ ले शेयर बजार नयाँ उचाइमा पुग्न सक्छ भन्ने एउटा रेकर्ड कायम गरेको छ । मिश्रित एवं पूँजीवादी अर्थ राजनीतिक प्रणाली अवलम्बन गरेका धेरै देशमा शेयर बजारमार्फत पूँजी सङ्कलन गर्ने र लगानी विस्तार गर्ने गरिएको छ ।

    कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण लगानीका अन्य स्रोतमा भएको बञ्चितीकरणले पनि शेयर बजारमा असाध्यै ठूलो उभार आएको थियो । नेप्सेको विवरणअनुसार २०७८ भदौ २ गते नेप्से तीन हजार २०० को अङ्क नजिक पुगेको थियो । यो बिन्दु हालसम्मकै उच्च हो । त्यस दिन बजार पूँजीकरण रु ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९० हजार बराबर पुगेको थियो । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) रु ४१ खर्ब बराबर छ तर, बजार पूँजीकरण जीडीपी भन्दा रु तीन खर्ब बढी भएको थियो ।

    त्यस दिन बजार पूँजीकरण रु ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९० हजार बराबर पुगेको थियो । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) रु ४१ खर्ब बराबर छ तर, बजार पूँजीकरण जीडीपीभन्दा रु तीन खर्ब बढी भएको थियो । विसं २०७७ चैत ३१ को अन्तिम कारोबार दिन नेप्से परिसूचक दुई हजार ७१४.७९ अङ्कमा बन्द भएको थियो । गत वर्षको पहिलो कारोबार दिन अर्थात् २०७८ वैशाख २ गते नेप्से परिसूचक २०.६७ अङ्कले बढेर दुई हजार ७३५.४६ मा बन्द भएको थियो ।

    अनेकन उतारचढावका बीच नेप्से परिसूचकले गत भदौ २ गते सबैभन्दा उच्च बिन्दुको इतिहास कायम ग¥यो । त्यसदिन नेप्से परिसूचक तीन हजार १९८.६० मा पुगेको थियो । शेयर बजारमा थोरै पूँजी लगानी गर्नेले समेत राम्रै नाफा कमाएका थिए । तर, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यक्तिगत रुपमा रु चार करोड र परिवारका थप तीन जनाले रु १२ करोड बराबर मात्रै शेयर धितो कर्जा लिन पाउने बन्दोबस्ती गरेपछि शेयर बजारमा राम्रै हलचल भयो । शेयर लगानीकर्ताका विभिन्न समूहले केन्द्रीय बैङ्क शेयर बजार मैत्री नभएको भन्दै असन्तुस्टि व्यक्त गरे ।

    शेयर बजारलाई उत्पादनशील क्षेत्र मान्ने कि अनुत्पादक क्षेत्र मान्ने भन्ने बहस सधँैजसो चलिरहेको छ । केन्द्रीय बैंकको लगानी सीमाले पनि सो बहसलाई सतहमा ल्याइदियो । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना गैरकानुनी शेयर कारोबारमा संलग्न भएको पाइएपछि यसै वर्ष बर्खास्तीमा पर्नुभयो ।

    सर्वोत्तम सिमेन्ट कम्पनीको साधारण शेयर बुक बिल्डिङ विधिबाट बिक्री गर्ने प्रयोजनका लागि बोर्डमा आवेदन दिनुुअगावै अध्यक्ष ढुङ्गानाले छोरी रेविकाको नाममा १० हजार कित्ता शेयर खरिद गरेको समाचार सार्वजनिक भयो । नियमक निकायको प्रमुखले नै शेयर खरिद गरेको भन्दै चौतर्फी रुपमा आलोचना भयो । अर्थ मन्त्रालयले ढुङ्गानालाई के कसो भएको हो भन्ने जिज्ञासा राख्दै पत्राचार ग¥यो । मन्त्रालयले आन्तरिक रुपमा मात्रै नभई विशेष छानबिन समिति नै गठन गरेर ढुङ्गानामाथि अनुसन्धान ग¥यो । अनुसन्धानबाट ढुङ्गानाले गैरकानुनी रुपमा शेयर खरिद गरेको पुष्टि भयो । अन्ततः उहाँ आफ्नो पदबाट हट्नुप¥यो । नेपालको शेयर बजारको इतिहासमा नियमक निकायको प्रमुख नै बर्खास्तीमा परेको पनि यो पहिलो पटक देखियो ।

    त्यतिमात्रै नभई, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पनि सर्वोत्तम सिमेन्ट प्रकरणले राजीनामा दिन बाध्य बनायो । साउदले समेत श्रीमतीको नाममा शेयर खरिद गरेको पाइएको थियो । नियामक र बजार व्यवस्थापकको रुपमा रहेको नेप्सेका प्रमुखलाई नै कारबाहीको दायरामा ल्याउने विषय शेयर बजारका लागि कालो इतिहासको रुपमा स्थापित भयो । विसं २०७७ को असार मसान्तमा १७ लाखको हाराहारीमा रहेको हितग्राही खाता हालसम्म आइपुग्दा ५१ लाख बढी पुग्नु पनि शेयर बजार क्रमशः विस्तारित हुँदै गएको छ भन्ने अर्थमा लिन सकिन्छ । धितोपत्र बजारमा लगानीकर्ता क्रमशः प्रविधिमैत्री बन्दै गएका छन् ।

    आव २०७७÷७८ मा साधारण शेयरको प्राथमिक निष्काशनमार्फत २२ सङ्गठित संस्थाले रु १५ अर्ब १९ करोड, हकप्रद शेयरमार्फत सात सङ्गठित संस्थाले रु १४ अर्ब पाँच करोड, ऋणपत्रमार्फत २३ कम्पनीको रु ६९ अर्ब ६० करोड र सामूहिक लगानी कोषमार्फत नौ वटा योजनाको रु नौ अर्ब ९० करोड गरी रु एक खर्ब आठ अर्ब ७४ करोड बराबरको पूँजी परिचालन गरिएको थियो । चालु आवको हालसम्म कूल १४ कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिइएको छ । ती कम्पनीले ३७ करोड ९२ लाख पाँच हजार ८०५ कित्ता शेयर रु तीन अर्ब ७९ करोड २५ लाख ८० हजार ५०० मूल्यमा बिक्री गर्नेछ । बोर्डमा विभिन्न २३ कम्पनीले साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको अवस्था छ ।

    वर्षभर नै आशा जगाएको बजारले पछिल्ला केही महिनामा भने निराश बनाएको लगानीकर्ताको टिप्पणी छ । यद्यपि वर्ष, २०७८ को शेयर कारोबार हुने अन्तिम दिन गत बुधबारअर्थात् चैत ३० गते भने आशा जगाएर बन्द भएको थियो । त्यसदिन नेप्से ३०.२४ अङ्कले उकालो लागेर दुई हजार ४१५.२४ मा बन्द भएको छ । यस आधारमा हेर्दा पनि बजार पूँजीकरण झण्डै रु १० खर्ब बराबरले ओरालो लागेको देखिन्छ । त्यसबाट शेयर लगानीकर्ताले रु १० खर्ब बराबरको सम्पत्ति गुमाएका छन् । नेप्सेमा पछिल्ला दिन जलविद्युत् कम्पनीको बोलवाला बढ्दै गएको देखिन्छ । कूल ४७ वटा जलविद्युत् कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ । सबैभन्दा धेरै शेयर भएको मानिएको माथिल्लो तामाकोशी समेत १० शीर्ष बजार पूँजीकरण भएको कम्पनीको रुपमा यसै वर्ष स्थापित भएको थियो । नेपाल टेलिकम हालसम्म पनि धेरै बजार पूँजीकरण भएको कम्पनीको रुपमा नेप्सेमा सूचीकृत छ ।

    केन्द्रीय बैंकको नीति, बैंक तथा वित्तीय संस्थाको तरलताको अभावजस्ता कारणले बजार सुस्ताएको छ । इतिहास कायम गरेको नेप्सेले यस वर्ष अर्को नयाँ इतिहास कायम गर्ने विश्वास पनि व्यक्त गरिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक फरक प्रसङ्गमा विश्व शेयर बजार र एकाधिकार पूँजीपतिको अर्थराजनीतिक विषयमा गर्नुभएको टिप्पणीलाई लिएर केही दिन नेपालको शेयर बजारसमेत प्रभावित भयो । गत पुसमा सम्पन्न माओवादीको आठाँै राष्ट्रिय महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमा पनि साना शेयर लगानीकर्ताको हितमा शेयर बजारले काम गर्न नसकेको विषय समेट्नुभएको थियो । शेयर बजार विरोधी अभिमत आएको भन्दै केही लगानीकर्ताले त्यसमा असन्तुष्टि जनाए । अध्यक्ष ‘प्रचण्ड’ले विश्व शेयर बजारको सन्दर्भमा उल्लेख गरेको विषय नेपालको शेयर बजारसँग सम्बन्धित नभएको भन्दै स्पष्टीकरण नै दिनुप¥यो ।

    बोर्डमा सरकारले रमेशकुमार हमाललाई नियुक्त गरेको छ । यस्तै, नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । शेयर बजारको विकास र विस्तारमा सरकारले विशेष ध्यान दिएको अर्थमन्त्री जनार्दन शर्माले पटक–पटक दोहो¥याउनुभएको छ । वास्तविक क्षेत्रलाई शेयर बजारमा ल्याउन आफू प्रयासरहत रहेको बोर्डका अध्यक्ष हमालले प्रतिबद्धता सार्वजनिक गरिसक्नुभएको छ । बैंक तथा वित्तीय संस्थाको शेयरले मात्रै बजार विस्तार हुन नसक्ने उल्लेख गर्दै उहाँले वास्तविक क्षेत्रलाई शेयर बजारमा ल्याउने, बजारको आधुनिकीकरण गर्ने र लगानीका नयाँ क्षेत्रको पहिचान गर्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाइसकेको तथ्य सार्वजनिक गर्नुभएको छ । त्यस्तै, नेप्सेका प्रमुख कार्यकारी अधिकतले बजारमा हुने अनाधिकृत कारोबार, इन्साइडर टे«डिङ रोक्न आफूले प्रयास थालिसकेको बताउनुभएको छ ।

    वर्षभरि नै शेयर बजारमा अलिक चलाख लगानीकर्ताको बोलवाला देखिएको थियो । नेप्से परिसूचक लगातार उकालो लाग्दा नाफा कमाइयो भनेर बसेका लगानीकर्ता पछिल्ला दिनमा आइपुग्दा धेरै गुमाउन पुगेको अवस्था छ । नेप्से उकालो लाग्दा बजारमा प्रवेश गर्ने लगानीकर्ता ओरोलो लागेको बजारमा भने प्रवेश गरेका छैनन् । तरलताको सहजता एवं लगानीमैत्री वातावरण बन्ने अपेक्षामा लगानीकर्ता यतिबेला पर्ख र हेरको अवस्थामा पुगेका छन् । यस्तै, साधारण शेयरमा आवेदन दिनेको सङ्ख्यामा पनि उल्लेख्य प्रगति हुनु, गाउँ गाउँमा समेत शेयर बजारको बारेमा चासो बढ्नु तथा प्रविधिमैत्री बन्दै जानुले पनि नेपालको शेयर बजार नयाँ उचाइमा पुगेको छ । वर्ष, २०७८ मा कायम गरेको भन्दा नयाँ उचाईमा बजार पुग्ने र ठूलो पूँजी परिचालन हुने अपेक्षामा सरकार र लगानीकर्ता समेत व्यग्र प्रतिक्षारत छन् ।

    देशको आर्थिक अवस्था सङ्कटग्रस्त हुने दिशामा पुगेको भन्ने आशङ्का बीच नेपालको शेयर बजारले वर्ष २०७९ लाई सकारात्मकरुपमा स्वागत गर्ने धेरैको अपेक्षा छ । बोर्डका अध्यक्ष हमालको शब्दमा बजारमा नयाँ लगानीको अवसर खोज्दै जाँदा त्यसले पक्कै पनि सकारात्मक प्रभाव पार्नेछ । किनकी, रातपछि दिन आउँछ र उज्यालो घाम लाग्छ भने जस्तै ‘बियरिस टे«ण्ड’ मा रहेको शेयर बजारले पक्कै पनि ‘बुलिस टे«ण्ड’ पछ्याउने नै छ ।

    किनकी, यसै वर्ष, स्थानीय तह र सङ्घीय संसद्को निर्वाचन हुँदैछ । कोरोनाको कहर क्रमशः अन्त्य भएको छ । सरकारले नयाँ आर्थिक नीतिको तर्जुमा गर्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा क्रमशः तरलताको सङ्कट हट्दै जाने अपेक्षा गरिएको छ । गैरआवासीय नेपालीले शेयर बजारमा लगानीका लागि तयार भएका छन् । सरकारले विलासी वस्तुको आयातमा रोक लगाएको छ । बजारसमेत मनोवैज्ञानिक रुपमा सबल बन्दै गएको छ । यी र यस्ता कारणले नेपालको शेयर बजारमा सुनौलो घाम उदाउने विश्वास व्यक्त गर्न सकिन्छ । (रासस)

  • विद्यालय जान दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता

    विद्यालय जान दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता

    गलेश्वर, २ वैशाख-
    म्याग्दीको दुई गाउँका बालबालिकालाई कक्षा १ मा पढ्नका लागि दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता छ । रघुगङ्गा गाउँपालिका–६ ठाँटी र मूलपानीका बालबालिका दिनहुँ यसरी विद्यालय ओहरदोहर गर्न बाध्य छन् ।

    झोलाभरि किताब र कापी बोकेर दैनिक चारघण्टा हिँडेर विद्यालय जान र घर फर्किन उनीहरुलाई निकै सकस हुने गरेको छ । बालबालिका भिर, पाखा र खहरे खोलालाई छिचोल्दै रायखोरस्थित रायखोर आधारभूत विद्यालय पुग्छन् । पहिरो, जङ्गल र खोला भएको अप्ठ्यारो र भिरालो बाटो हुँदै दैनिक विद्यालय आउजाउ गर्ने ठाँटी र मूलपानीका १७ बालबालिका गाउँमा प्राथमिक तहसम्मको विद्यालय नहुँदा यस्तो समस्या भोग्न बाध्य छन् ।

    सडक सञ्जालले नछोएको ठाटी र मूलपानीकी सजिना शेरपुञ्जा र रजिना शेरपुञ्जा मूलपानी बालविकास केन्द्र पढ्न जाने गरेका छन् । उनीहरु जस्तै गाउँका २७ परिवारका विद्यार्थीले वर्षौंदेखि यस्तै पीडा झेल्दै आएका रायखोरका विकास पुर्जाले बताउनुभयो । टाढा भएकाले विद्यार्थी नियमित विद्यालय नआउने गरेको उहाँले बताउनुभयो ।

    कक्षा १–५ रायखोर र कक्षा ६–१० का लागि विद्यार्थी पढ्न पाखापानी र छिमेकी कुइनेमङ्गलेको रितुङ मावि जानुपर्ने भएकाले कतिपय बीचमै विद्यालय छोड्न बाध्य छन् । “विद्यालय पुग्न दुई घण्टा लाग्छ, बर्खाको समयमा तीन महिना नियमित विद्यालय जानै पाउँदैनन्”, पुर्जाले भन्नुभयो । उहाँले गाउँबाट विद्यालयसम्म पुग्ने पैदलमार्गमा चार ठाउँमा पहिरो जाने भएकाले असारदेखि भदौसम्म विद्यार्थीलाई सकस हुने गरेको बताउनुभयो ।

    “दैनिक चारघण्टाको यात्राले थकाइ लागेर पढ्नै सक्दैनन्, गाउँमै विद्यालयको आवश्यकता छ”, अभिभावक इन्द्रा पुनले भन्नुभयो । भिरको बाटो भएकाले एक्लै पठाउन समस्या हुने गरेको मूलपानीकी धनकुमारी पुनको भनाइ छ । “बिहान उठ्ने बित्तिकै विद्यालय जाने हतारो हुन्छ, घर फर्किंदा झमक्क साँझ परिसकेको हुन्छ”, उहाँले भन्नुभयो ।

    मूलपानीमा प्राथमिक तहको विद्यालयका लागि पहल भइरहेको तर विद्यार्थी सङ्ख्या थोरै भएकाले मापदण्ड पूरा गर्न नसक्दा समस्या भएको वडासदस्य लिलाबहादुर पुनले बताउनुभयो । “मूलपानीमा प्राथमिक तहसम्मको विद्यालय सञ्चालनका लागि माग गरेका छौँ”, उहाँले भन्नुभयो ।

    रघुगङ्गा–६ का वडाध्यक्ष मनप्रसाद शेरपुञ्जा बस्ती छरिएकाले सबै ठाउँमा विद्यालयको अनुमति पाउन समस्या भएको बताउनुभयो । मूलपानीमै कक्षा १ सम्म पठनपाठनको व्यवस्था मिलाउन लागिएको उहाँ बताउनुहुन्छ । बस्तीसम्म सडक खने राहत हुने शेरपुञ्जाले बताउनुभयो ।
    (रासस)

  • सिन्दुर जात्राले राताम्य बन्यो मध्यपुर थिमि

    सिन्दुर जात्राले राताम्य बन्यो मध्यपुर थिमि

    भक्तपुर, २ वैशाख-

    भक्तपुरको मध्यपुर थिमिको विस्का जात्राको छैटौं दिन शुक्रबार मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ । ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइने भएपनि केही वर्षयता खटको सङ्ख्यामा कमी हुँदै आएको जनाइएको छ ।

    देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ ।

    जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर (अबिर) दलेर नगर परिक्रममा गर्ने परम्परा छ ।

    सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन रहेको छ ।

    अविर जात्रामा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठसहित सयौं मध्यपुर थिमिबासीहरू रमाएका छन् । उनीहरू सवै अविरले राताम्य भएका छन् ।- न्युज कारखाना

     

  • पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा

    पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा

    कञ्चनपुर, २ वैशाख-
    पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ । नगरपालिकाले पाँच वर्षको अवधिमा पर्यटकको सुविधाका लागि सडक, पुल, पदमार्ग निर्माणसँगै नयाँ पर्यटकीय गन्तव्यको पहिचानको काम पनि गरेको छ । पर्यटन महोत्सव आयोजना गरी शुक्लाफाँटा निकुञ्जमा पर्यटकको आवागन बढाएका छौँ”, नगरप्रमुख सुरेन्द्र विष्टले भन्नुभयो, “नगर पर्यटन विकास समिति गठन गरी पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ ।” उहाँका अनुसार ७७ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी गड्डाचौकी नाकामा ७७ फिट अग्लो स्तम्भमा नेपालको झण्डा राखी उद्यान निर्माण गरिएको छ ।

    नगरपालिकाको १९ वटै वडाको प्रतिनिधित्व हुने गरी वडा नं १ स्थित रौटेला धाममा १९ फिटको त्रिशूलसहित उद्यान निर्माण गरिएको छ । झोलुङ्गे पुलमा सौर्यबत्ती जडान गरिएकाले राति पर्यटकलाई पुल क्षेत्रमा हिँडडुल गर्न सहज भएको छ । भक्तजनलाई धार्मिक पर्यटकीय क्षेत्रमा सहजरुपले पुग्न बाटो निर्माण गरिएका छन् । रौटेला, विष्णुमन्दिर, भम्कनीधाम, झिलमिलालगायत क्षेत्रलाई पाँच वर्षको अवधिमा सडक सञ्जालमा जोडिएको छ । नगरपालिकाका १९ वटै वडालाई जोड्नका लागि शुक्लाफाँटा पर्यटनमार्ग पनि निर्माण गरिएको छ ।

    उक्त मार्गले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई सहज भएको छ । बाह्रमासे झर्ना, कालिताल, कालोढुङ्गा, बाउन्ने कोठे दरबार, सेल्फीडाँडा, साइलेन्ट रिभर, खन्याखोला लिङ्गालगायत नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी संरक्षणका कार्यक्रम अगाडि बढाइएका छन् । बाह्रकुण्डा क्षेत्रका पुरिँदै गएका १२ वटा ताललाई पुरानै स्वरुपमा फर्काइ पानी भरिएको नगरप्रमुख विष्टको भनाइ थियो ।

    महाकाली नदीको बहुउपयोगअन्तर्गत महाकाली नदीमा ¥याफ्टिङ सफल परीक्षण पछि खल्लाका १५ युवालाई ¥याफ्टिङसम्बन्धी तालिम प्रदान गरिएको छ । महाकाली नदीको सुनसान क्षेत्रमा पर्यटकीय सम्भावनाको स्थल पहिचान गर्नाका साथै ¥याफ्टिङका माध्यमबाट प्रचारप्रसार पनि गरिएको छ ।

    “नगरपालिकाको वडा नं ९ ब्रह्मदेवमा बहुसांस्कृतिक सङ्ग्रहालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “सङ्ग्रहालय निर्माणमा सहयोग गरेका छौँ । यसबाट यस क्षेत्रको रहनसहन, संस्कृति, सामाजिक परिवेश, धार्मिक कार्यबारे आन्तरिक तथा बाह्य पर्यटकले जानकारी लिन सक्ने छन् ।”चुरे फेदीमा रहेको रमणीय पर्यटकीय क्षेत्र झिलमिलामा पर्यटकको सुविधाका लागि सौर्यबत्ती र पदमार्ग निर्माण गरिएको छ । भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणका लागि नगरपालिकाका तर्फबाट रु ५० लाख उपलब्ध गराइएको छ ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ठूलो बथानका रुपमा रहेको बाह्रसिङ्गालाई चिनाउन प्रचारप्रसारसँगै नगरको ब्राण्ड घोषणा गरिएको छ । महाकाली नदीमाथिको झोलुङ्गे पुल हेर्न पुग्ने पर्यटकको सहायताका लागि नदी किनारमा सजावट तथा भौतिक संरचना निर्माण गरिएको छ । नदी किनारामा स्मार्ट सौचालय, स्मार्ट लाइटसँगै डिजिटल साइनेज तथा सूचना बोर्डको व्यवस्था गरिएको छ । पर्यटकीय क्षेत्रको विकासमा योगदान गर्दै आएको नगरपालिकालाई पर्यटन प्रवद्र्धन सङ्गठन (टिपिओ) को सदस्यतासमेत उपलब्ध गराइएको छ ।

    नगरपालिका क्षेत्रको पर्यटकीय क्षेत्रका रुपमा रहेको विष्णु मन्दिरदेखि राई ढुङ्गासम्म आठ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । नगर क्षेत्रको सुविधाका लागि १७२ वटा सौर्य सडक बत्ती जडान गरिएका छन् ।

    यसैगरी नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा उज्यालो भीमदत्त अभियानअन्तर्गत (स्मार्ट लाइट) महेन्द्रनगर बजारका मुख्य चोक (पुष्पलाल चोक, बसपार्क, बाह्रसिङ्गा चोक, झोलुङ्गे पुल, नगरपालिका कार्यालय परिसर, मदन चोक)मा स्मार्टलाइट र क्याम्पस रोडमा सौर्य बत्ती जडान गर्न थालिएको छ ।

    यसैक्रममा नगर क्षेत्रभित्रका ८४ वटा मन्दिरमा पूर्वाधारका संरचना निर्माण एवं मर्मत गरिएको नगरपालिकाका इन्जिनियर हिमालय ऐरले बताउनुभयो । उहाँका अनुसार पर्यटकलाई आराम गर्न ११ वटा चौतारा निर्माण गरिएका छन् । नगरपालिकाको वडा नं १, २, ४, ८, ९, ११, १३, १४, १६ र १८ मा गरी ११ वटा पार्क निर्माण गरिएको छ । उनन्तीस किलोमिटर धार्मिक पर्यटन मार्गको दुई दशमलव पाँच किलोमिटर क्षेत्रमा कालोपत्रे गरिएको छ ।

    बाँकी क्षेत्रमा निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत सडक डिभिजन कार्यालयको सहकार्यमा ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको इन्जिनियर ऐरले जानकारी दिनुभयो । पाँच वर्षकै अवधिमा शुक्लाफाँटा पर्यटन मार्गको पाँच दशमलव ७५ किलोमिटर क्षेत्रमा कालोपत्र गरिएको छ । जिल्ला र नगरलाई हवाई सेवाद्वारा जोड्न र पर्यटक भित्र्याउन मझगाउँ विमानस्थललाई सङ्घ, प्रदेश, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको सहलगानीमा विमानस्थल पुनः निर्माण गर्न थालिएको छ । नमूना सडक तथा सडक सौन्दर्य बढाउन सिद्धनाथ विज्ञान क्याम्पस मार्गमा रोड साइड गार्डेनिङ बनाइएकोे छ । (रासस)