Category: Banner तल ताजा समाचार

  • नवौँ राष्ट्रिय खेलकुदको तयारी

    नवौँ राष्ट्रिय खेलकुदको तयारी

    कास्की, ४ वैशाख-
    सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको छ । दुई वर्षअघि हुनुपर्ने सो प्रतियोगिता कोरोनाका कारण स्थगन भएकामा हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ संस्करणको राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो ।

    सरकारले प्रतियोगिताको मिति तोकेसँगै यहाँका सरोकार भएका निकायले आवश्यक प्रारम्भिक तयारी सुरु गरेका छन् । प्रतियोगिताका लागि मुख्यगरी खेल पूर्वाधार निर्माण र त्यसको स्तरोन्नति आवश्यक रहेको उनीहरूले औँल्याएका छन् । पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद निश्चित भएसँगै क्षेत्रीय खेलकुद विकास समितिमार्फत प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेलको प्रस्ताव गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेशकुमार गुरुङले बताउनुभयो ।

    उहाँले प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र त्यसको स्तरोन्नति तत्कालै सुरु गर्नु अहिलेका लागि महत्वपूर्ण विषय रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय खेलकुदलाई भव्यरूपमा सफल बनाउनका लागि खेल पूर्वाधार नै महत्वपूर्ण हुन्छ । अधिकांश खेलका पूर्वाधार तयार भए पनि केहीको स्तरोन्नति गर्नु आवश्यक छ ।”

    राष्ट्रिय खेलकुद आयोजना हुनुपूर्व देशका ७७ जिल्ला र सातै प्रदेशमा खेलाडी छनोटका प्रतियोगितासँगै बन्द प्रशिक्षणलगायतका कार्यक्रमसमेतलाई अघि बढाउनुपर्ने हुन्छ । प्रतियोगितामा कम्तीमा ३६ वटा खेल प्रस्तावका रूपमा अघि सारिएको सदस्य गुरुङले जानकारी दिनुभयो ।

    राखेपका पूर्वसदस्य एवं अग्रज खेलाडी खड्गबहादुर रानाभाटले प्रतियोगिता आयोजनाको अवसरलाई चुनौतीका रूपमा ग्रहण गर्दै चार दशकअघिको इतिहास दोहो¥याउने जिम्मा पोखरेलीहरूको काँधमा आएको बताउनुभयो । उहाँले सबै पोखरेली तथा प्रदेशवासीले प्रतियोगितालाई सफल बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

    राष्ट्रिय खेलकुदको तयारीका लागि राखेपले सातै प्रदेशका सदस्यसचिव सम्मिलित बैठकको आह्वान गरेको छ । सोको तयारीका लागि शनिबार गण्डकी प्रदेश परिषद्ले पोखरामा सुझाव सङ्कलन गरेको थियो । पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा प्रदेश खेलकुदका सदस्यसचिव तेजबहादुर गुरुङले नवौँ राष्ट्रिय खेलकुदको तयारीस्वरुप राखेपमा हुने बैठकमा आयोजक प्रदेशका रूपमा उठाउनुपर्ने विषयमा सुझाव सङ्कलन गरिएको बताउनुभयो ।

    नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले राष्ट्रिय खेलकुद आयोजनाको हिसाबमा छोटो समय भए पनि यसलाई सफल बनाउन प्रदेशवासी एकजुट हुनुपर्ने बताउनुभयो । प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य दिलबहादुर गुरुङले सरकारले गण्डकीमा प्रतियोगिता आयोजना गर्ने निर्णय स्वागतयोग्य रहेको बताउँदै प्रदेश खेलकुद र राष्ट्रिय खेलकुद परिषद्बीच रहेका विभिन्न प्रशासनिक झन्झटबाट मुक्त हुनुपर्ने उल्लेख गर्नुभयो ।

    नवौँ राष्ट्रिय खेलकुदका लागि खेलकुद पूर्वाधार स्तरोन्नतिका राखेपबाट यस वर्ष पोखरामा रु १७ करोड विनियोजन गरिए पनि कार्यक्रम कार्यान्वयन सुरु हुनसकेको छैन । (रासस)

  • मुलुक निर्वाचनमय

    मुलुक निर्वाचनमय

    काठमाडौँ, ४ वैशाख-
    निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तक्र्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्रशिक्षण पूरा गरेको छ ।

    निर्वाचनसम्कन्धी गतिविधि र कार्यक्रम अक केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहतर्फ उन्मुख भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । राजनीतिक दल उम्मेदवार सिफारिसको अन्तिम तयारीमा जुटेका छन् भने निर्वाचन आयोग व्यवस्थापन गरिएको सामग्री र निर्वाचन अधिकृतलाई खटिएका तत्तत् पु¥याउने कार्यमा लागिपरेको छ ।

    आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचत अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि मुलुकका आठ स्थानमा निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिसकेको छ । प्रशिक्षण विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्ज चैत ३० र जनकपुर, हेटौँडा, बुटवल र धनगढीमा वैशाख २ गते सम्पन्न भएका हुन् । राजनीतिक दलले पनि यसबीचमा स्थानीय तहमा भेला र प्रशिक्षणका अधिकाश कार्यक्रम पूरा गरिसकेका छन् ।

    यही वैशाख ३० गते शुक्रवार देशका सबै स्थानीय तहमा एकै चरणमा हुने निर्वाचनका लागि निर्वाचन अधिकृतलाई चैत २९ गतेदेखि लागू हुने गरी आयोगले नियुक्ति दिइसकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । निर्वाचन अधिकृत कार्यक्षेत्रतर्फ प्रस्थान गरी पूर्वतयारीका काममा जुट्ने कार्य ुसुरु भइसकेको छ । दुर्गम जिल्लामा खटिएका कतिपय अधिकृत केन्द्रबाट त्यसतर्फ प्रस्थान गरिसकेको आयोगले जानकारी दिएको छ ।

    तालिम प्रशिक्षण लिएका निर्वाचन अधिकृतले मुलुकका सबै स्थानीय तहमा यही वैशाख ८ गते विधिवतरूपमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउनुहुनेछ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयमा कम्तीमा नौ जनाका हिसाबले मुलुकभर करिब दुई लाखको सङ्ख्यामा कर्मचारी खटिने आयोगले बताएको छ । आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको समन्वय र सहकार्यमा यसबीचमा सञ्चारकर्मीका लागि निर्वाचन आचारसंहितासम्बन्धी प्रदेशस्तरीय प्रशिक्षणसमेत सम्पन्न भइसकेको छ ।

    मतदाता शिक्षा

    परम्परागत पद्धति खर्चिलो र प्रभावकारी नभएको निष्कर्षसहित यसपटक आयोगले मतदाता शिक्षाका लागि विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालको अधिकतम् प्रयोगमा जोड दिएको छ । त्यसका लागि आयोगले बेवसाइटलगायतका अन्य सामाजिक सञ्जाल, इ–बुलेटिन प्रयोग, सञ्चालन र प्रकाशनमा ल्याएको छ ।

    विभिन्न भाषाभाषीमा मतदाता शिक्षासम्बन्धी सूचनामूलक कार्यक्रम सञ्चालन तथा जिल्ला निर्वाचन कार्यालयले स्थानीय एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनबाट पनि निर्वाचन शिक्षाको आवश्यक प्रचार–प्रसार गरिरहेको छ । आयोगले मतदाता शिक्षालाई प्रभावकारी तुल्याउन तथा बदर मत प्रतिशत घटाउन मतदानस्थलमा यसपटक दुई दिनअघि मतदाता शिक्षा सूचना केन्द्र स्थापना गरी स्वयंसेविकामार्फत मतदान गर्ने तरिका सिकाउने व्यवस्था गरेको छ ।

    मतपत्रमा दलका चुनाव चिह्न छापिएता पनि आयोगले डमी मतपत्रका आधारमा मात्र मतदाता शिक्षा दिनेछ । वास्तविक मतपत्रमा दल विशेषका मतपत्र हुने भएकाले आयोगले त्यसका आधारमा मतपत्र शिक्षा दिन मिल्दैन । राजनीतिक दलले आफ्ना मतदातालाई मत माग्न जाँदा बढीभन्दा बढी मत कसरी कम बदर हुन्छ भन्ने विषयमा पर्याप्त ज्ञान दिलाउने गरी सिकाउने अपेक्षा आयोगले राखेको छ । आफ्नो पार्टी र उम्मेदवारलाई विजयी गराउनुपर्ने भएकाले मतदाता शिक्षामा सबैभन्दा ठूलो भूमिका राजनीतिक दल र उम्मेदवारकै रहन्छ ।

    विगतमा निर्वाचन शिक्षाका लागि गरिएको खर्चको तुलनामा कार्यक्रम प्रभावकारी नभएको ठहरसहित यसपटक आयोगले पर्चा, पम्प्लेट छपाइ गरी निर्वाचन शिक्षा नगर्ने नीति लिएको हो । पर्चा, पम्प्लेट कारण वातावरण दूषित हुनुका साथै सहरको शोभासमेत कुरुप हुने भन्दै आयोगले राजनीतिक दललाई पनि आचारसंहिताको परिधिभित्र रही मापदण्डविपरीत झण्डा र पर्चा, पम्प्लेट प्रयोग नगर्न–नगराउन भनेको छ ।

    सामाजिक सञ्जाललगायत विकसित नयाँ प्रविधिको प्रयोग गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन आयोगले राजनीतिक दल र उम्मेदवारलगायत सबै सरोकारवाला पक्षलाई अनुरोध गर्दै आएको छ । आयोग स्वयं पनि निर्वाचनको प्रचार–प्रसार, सामाजिक पत्रपत्रिका, सञ्जाल र रेडियो, टेलिभिजनका माध्यमद्वारा होस् भन्ने मान्यता राखेर आयोग त्यसतर्फ लागिरहेको छ ।

    मुलुकको राजधानी, प्रदेश र स्थानीय तहका मुकाममा मात्र नभई वडा, टोल, मेला, भेला, चोक, चिया पसल र घरपरिवारमा समेत स्थानीय तह निर्वाचनसम्बन्धी विषयमा हुने चर्चा र परिचर्चाले निर्वाचनको वातावरण बनाएको छ । (रासस)

  • जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    बझाङ, ४ वैशाख-
    जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

    मृत्यु हुनेमा विनोद बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिनुभयो । यसैगरी घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ का १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका–२ का १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा छन् । घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्जुको उपचार हुन नसकेपछि धनगढी सिफारिस गरिएको छ । प्रहरीका अनुसार जीपमा तीन महिला र छ पुरुष सवार थिए ।

    जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टसहितको टोली घटनास्थलतर्फ गएको र नेटवर्कको समस्याका कारण घटना के–कति कारणले घटेको हो भन्ने विवरण नखुलेको समेत सूचना अधिकारी चौधरीले बताउनुभयो ।(रासस)

  • गठबन्धन सङघीय निर्वाचनसम्म : अध्यक्ष प्रचण्ड

    गठबन्धन सङघीय निर्वाचनसम्म : अध्यक्ष प्रचण्ड

    कावासोती, ३ वैशाख

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विरोधीहरूले गणतन्त्रलाई उल्ट्याउन खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी रहेको बताउनुभएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धन सङ्घको निर्वाचनसम्म कायम रहने बताउनुभयो ।

    “गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा सजिलो कुरा होइन, सबैलाई आफ्नो पार्टीले धेरै पाए हुन्थ्यो भन्ने छ । तर स्थानीय तहदेखि सङ्घको निर्वाचनसम्म गठबन्धन कायम हुन्छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो ।

    आउने चुनाव माओवादीका लागि चुनावमात्रै नभएर ‘ब्याटल’ ( लडाइँ) भएको उहाँको भनाइ थियो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “आउने चुनाव, हाम्रा लागि चुनाव हैन, ब्याटल हो, लडाइँ हो ।” आउने चुनाव माओवादीले हर हालतमा जित्नुपर्ने बाध्यता भएकोसमेत उहाँले बताउनुभयो । “आउने चुनाव माओवादीले हरहालतमा जित्नुपर्ने बाध्यता छ, अहिले माओवादीले हा¥यो भने संविधान, गणतन्त्रले हार्छ, महिला, दलित, जनजाति, थारू, आदिवासी, मधेशी सबैको प्रतिनिधित्व भएको छ यसले हार्छ, सिंहदरबारको अधिकार गाउँमा ल्याइएको छ, त्यो अधिकारले हार्छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो । (रासस)

  • संविधान रक्षाका लागि गठबन्धन आवश्यक : मुख्यमन्त्री पाण्डे

    संविधान रक्षाका लागि गठबन्धन आवश्यक : मुख्यमन्त्री पाण्डे

    काठमाडौँ, ३ वैशाख

    बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको)द्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पतालको १६औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधान, सङ्घीयता र समावेशी लोकतन्त्रको रक्षाका गठबन्धन आवश्यक रहेको बताउनुभएको हो ।

    “संविधानको रक्षाका लागि लागेका दलहरू सँगसँगै अगाडि बढ्दै देशको विकासलाई अगाडि बढाउन गठबन्धन आवश्यक छ”, उहाँले भन्नुभयो । प्रगितमनकारी दलहरूबीच हुन लागेको गठबन्धनले पाँच दलीय गठबन्धनलाई कुनै फरक नपर्ने उहाँको भनाइ थियो ।

    मनमोहन मेमोरियल अस्पतालका संस्थापक अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री पाण्डेले मनमोहन अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्नका लागि विदेशी लगानी भित्र्याउनुपर्ने बताउनुभयो । “अस्पताललाई अब नयाँ ढङ्गले सञ्चालन गर्नुपर्छ” उहाँले भन्नुभयो ।

    मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशले उच्च शिक्षा ऐन पारित गरेको बताउँदै सोही ऐनअनुसार मनमोहन अस्पताललाई पनि विश्वविद्यालयका रूपमा अगाडि बढाउन सकिने धारणासमेत राख्नुभयो । उहाँले मनमोहन अस्पतालमा कर्मचारी भर्ना, बढुवा, सरुवा गर्दा निश्चित मापदण्ड बनाउनुपर्ने बताउँदै नयाँ सञ्चालक समितिलाई इमान्दार र लगनशील भएर काम गर्न आग्रह गर्नुभयो ।

    विसं २०६२ चैत ४ गते सहकारी दर्ता गरेर विस २०६३ जेठ १ गतेदेखि काठमाडौँमा सञ्चालनमा आएको मनमोहन अस्पतालले अहिले झापाको बिर्तामोडमा समेत १०० शय्याको अस्पताल सञ्चालन गरेको छ ।

    यस्तै काठमाडौँको रविभवनमा मनमोहन मेमोरियल इन्च्टिच्युट अफ हेल्थ साइन्स, काठमाडौँको दहचोकमा अस्पताल भवनसमेत निर्माण गरेको छ । स्थापनामा २८ जना संस्थापक शेयर रहेको अस्पतालमा हाल दुई हजार ६०० भन्दा बढी शेयरधनी रहेको सो अस्पतालले जनाएको छ ।
    (रासस)

  • ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको छ : अध्यक्ष ओली

    ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको छ : अध्यक्ष ओली

    सर्लाही, ३ वैशाख-

    आफूलाई मधेशका ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए ।

    शनिबार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब आफूलाई कसैले मधेशको ठेकेदार नठान्न चेतावनी दिएका छन् ।

    विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै ओलीले मधेशका नागरिकलाई मधेशको ठेकेदार ठान्नेहरूले नै शोषण गरेको दाबी गरे ।

    २०४६ सालको आन्दोलनपछि २०४७ साल वैशाखमा सर्लाही सदरमुकाम मलंगवा आएको स्मरण गर्दै उनले ३२ वर्षपछि आउने अवसर जुरेको भन्दै खुसी व्यक्त गरे । मधेशको जनताको आर्थिक, सामाजिक तथा समग्र विकासको लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघिसारेको उनले दाबी गरे ।

    एमाले सरकारले कुरा नभई काम गरेर देखाउने गरेको ओलीले बताए । २२ वर्ष पहिला आफ्नो सरकारले ल्याएको हुलाकी सडकको अवधारणाले मधेशको विकासले काँचुली फेरेको ओलीले बताए ।

    जनकपुरबाट ढल व्यवस्थापन सुरु गरेको बताउँदै मधेशका सबै ठाउँमा ढल र पानीको सुविधा पुर्‍याउने उनले बताए । आफ्नै सरकारले सामाजिक सुरक्षा भत्ता वितरण सुरुगरेको उनको जिकिर छ । यसलाई एमालेको सरकारले बढाउँदै लैजाने उनले बताए ।

    उनले मधेशका नेकपा एमालेप्रति जनताको आकर्षण बढेको बताउँदै यस पटक चुनावमा अत्यधिक बहुमतसहित विजयी हुने ठोकुवा गरे । फरक प्रसंगमा बोल्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन विकास विरोधी भएको आरोप लगाएका छन् ।

    एसवी थापा/न्युज कारखाना

  • ब्राउन सुगरसहित एक युवक पक्राउ

    ब्राउन सुगरसहित एक युवक पक्राउ

    सिरहा, ३ वैशाख

    सिरहा प्रहरीले प्रतिवन्धित लागू औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

    गोलबजार नगरपालिका-६ डोहटयिाका २५ वर्षीय दिपेश रामलाई करिव २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीटोलीले विशेष सूचनाको आधारमा रामलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । न्युज कारखाना

  • कांग्रेस पोखराले खोल्यो मेयर र उपमेयरको आवेदन

    कांग्रेस पोखराले खोल्यो मेयर र उपमेयरको आवेदन

    पोखरा, ३ बैशाख-

    नेपाली कांग्रेसले पोखरा महानगरको मेयर र उपमेयरको लागि आवेदन खुलाएको छ । ४ बैशाख दिउँसो ४ बजेभित्र इच्छुकहरूले आफ्नो नाम महानगर समितिमा टिपाउनु पर्नेछ । कांग्रेस पोखराले सूचना जारी गरि आकांक्षी आफै उपस्थित भएर नाम दर्ता गराउनु पर्ने जनाएको छ ।

    सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले पोखराको मेयर उपमेयर पाउने नपाउने कुनै टुंगो छैन । श्रोतका अनुसार पोखराको मेयर एकीकृत समाजवादीले पाउने पक्का जस्तै छ । महामन्त्री गगन थापाले पनि माधवकुमार नेपालले पोखराको मेयर आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेको बताए ।

    ‘माधवकुमार जीले पोखराको मेयरमा बढी नै दावी गर्नु भएको छ । उहाँले भोटसहित कांग्रेससँगको बैठकमा छलफल गर्नुभएको छ,’ कास्की कांग्रेसको प्रतिनिधि मण्डलसँग कुरा गर्दै उनले भनेका थिए, ‘तपाईंहरुको दबाबले उथलपुथल भए मात्रै । नत्र यो एकीकृत समाजवादीले छोड्दैन ।’

    काठमाडौं पुगेर फर्केपछि पोखरा महानगर समितिले मेयर र उपमेयरको आवदेन खुलाएको हो । नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ अनुसार योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउन सूचना जारी गरिएको हो ।

    कांग्रेस कास्कीले पोखराको मेयर आफैले पाउनुपर्ने अडान राखेको छ । पोखराका सभापति सुरेन्द्रमान बिजुक्छेले आवेदन लिएर सकेसम्म सर्वसम्मत एउटै व्यक्ति प्रदेश हुँदै केन्द्रमा पठाउने बताए । ‘हामी हाम्रो तयारी गरेर बस्नुपर्छ । उम्मेदवार खोजेर जित्नेलाई अघि सार्नुपर्छ,’ उनले भने, ‘गठबन्धनको कुरा केन्द्रको हो । तर, आफ्नो जिम्मेवारी त पूरा गर्नै प¥यो ।’- न्युज कारखाना

     

  • जसको सिको गर्दै गाउँनै तरकारी खेतीमय बन्यो

    जसको सिको गर्दै गाउँनै तरकारी खेतीमय बन्यो

    खोटाङ, ३ बैशाख-

    १८ वर्षअघि व्यवसायिक रुपमा तरकारी खेतीमा लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बाँझघरेका ईन्द्र श्रेष्ठलाई छिमेकीलेनै पत्याएका थिएनन् । बजारबाट तरकारी ल्याएर खाने गरिन्थ्यो तर त्यही तरकारी आफ्नै बारीमा फलाउन सकिन्छ भन्नेमा कसैको ध्यान गएको थिएन ।

    त्यो बेला कृषिविज्ञ मदन राई र सूर्यबहादुर राईको नेतृत्वमा खाल्लेको नाहिमा कृषि श्रोत केन्द्र सञ्चालन थियो । नाहिमा हाल शुभम् फाउण्डेसन (दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–२ सोल्मा)को रुपमा सञ्चालनमा छन् । त्यही कृषि श्रोत केन्द्र पुगेर व्यवसायिक तरकारी खेतीसम्बन्धी तालिम लिएर श्रेष्ठले बारीमा कृषि कर्म सुरु गरे ।

    गोलबेँडा, तिते करेला, फर्सी, काँक्रोलगायत तरकारी फलाउन थालेपछि भने ईन्द्रलाई छिमेकीले पत्याउन थाले । उनको बारीमा उत्पादित तरकारी दिक्तेल बजार पुग्न थाल्यो । तरकारी बिक्रीबाट राम्रो आम्दानी गर्न थाले । बिस्तारै छरछिमेकमा उनको सिको सुरु भयो । घर–घरमा तरकारी खेती हुन थाल्यो ।

    हाल खाल्ले बाँझघरेका स्थानीयले तरकारी खेतीलाई आम्दानीको माध्यम बनाएका छन् । बाँझघरेमा १७ घरपरिवारको बसोबास छ । यी सबै घरमा तरकारी खेती हुन्छ । तरकारी बिक्रीबाट किसानले मासिक ३५–४० हजार आम्दानी गर्छन । तरकारी खेतीबाटै घर खर्च टरिरहेको स्थानीय सूर्योदय कृषक समूहका अध्यक्ष टंक श्रेष्ठ बताउँछन् ।

    तरकारीसँगै मौरीपालन
    अगुवा किसान ईन्द्र श्रेष्ठ तरकारी खेतीमा मात्र सिमित भएनन् । उनले व्यवसायिक रुपमा मौरी पालन पनि सुरु गरे । हाल वार्षीक ५० देखि ६० केजी मह बिक्री हुने गरेको श्रेष्ठ बताउँछन् । उनको घर वरपर मौरीका १७ घार छन् । मौरी पालनबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भएकाले घार थप्ने योजना बनाएको श्रेष्ठ बताउँछन् । मौरीपालन भने ६–७ वर्षअघि मात्र सुरु गरिएको हो ।

    मौरी पालनका लागि उनले आफैले मौरीको घार निर्माण गर्ने गरेका छन् । हाल उनले नयाँ २५ घार तयारी अवस्थामा राखेका छन् । मौरी पालनलाई थप वृहत बनाउन उनका छोरा इटहरी पुगेर तालिम लिएर फर्किसकेका छन् ।- न्युज कारखाना

  • जसले १८३ जनाबर, चराचुरुङ्गीलाई फ्रिजमा राखे

    जसले १८३ जनाबर, चराचुरुङ्गीलाई फ्रिजमा राखे

    न्युयोर्क, ३ वैशाख-

    अमेरिको एरिजोनामा प्रहरीले एक व्यक्तिलाई आफ्नो फ्रिजमा कुकुर, बिरालो, चराचुरुङ्गीलगायत १८३ जनाबर भेटिएपछि पक्राउ गरेको छ । ४३ वर्षीय माइकल प्याट्रिक टर्ल्यान्डले केही जनावरहरूलाई जीवितै फ्रिज गरेको स्वीकार गरेको मोहावे काउन्टी शेरिफको कार्यालयले जनाएको छ ।
    उनीमाथि ९४ वटा पशु क्रुरता गरेको आरोप लगाइएको छ । घटनास्थलका तस्बीरहरू ‘पूर्ण रूपमा घृणित र हृदयविदारक भएको’ शेरिफकी प्रवक्ता अनिता मोर्टेनसेनले बताइन् ।

    ‘एक पशु प्रेमीका रूपमा म तिनीहरूलाई हेरेर रोइरहेको थिए’ उनले भनिन् । अधिकारीहरूले टर्ल्यान्डकी श्रीमती ब्रुकलायन बेकको खोजी गरिरहेका छन् । एक महिलाले दिएको सूचनाको आधारमा उनी पक्राउ परेका थिए ।

    ती महिलाले सर्पहरू प्रजनन गर्न टर्ल्यान्डलाई दिएकी थिइन् । तर, उनी केही महिनापछि बेपत्ता भएका थिए । टर्ल्यान्ड र उनकी श्रीमती घरबाट बाहिरिएपछि मालिकले आफूलाई सम्पर्क गरेको महिलाले प्रहरीलाई बताएकी छिन् ।

    उनले जनाबरलाई फ्रिजमा राख्नुको उदेश्य प्रष्ट नभएको बताइएको छ । जनाबरलाई जिउँदै फ्रिजमा राखेर उनीहरूलाई यातना दिएको हुनसक्ने अनुमान गरिएको छ ।- एजेन्सी