Category: Banner तल ताजा समाचार

  • दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ सङ्क्रमित

    दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ सङ्क्रमित

    ४ बैशाख-
    दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ सङ्क्रमति भेटिएका छन् । यसैसँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको स्वास्थ्य अधिकारीहरूले आइतबार जनाएका छन् ।

    दक्षिण कोरियामा अघिल्लो दिन एक लाख ७ हजार ९१६ जनामा कोरोना सङ्क्रमण भएको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) ले जानकारी दिएको थियो । यहाँ एक हप्ताअघि एकै दिनमा एक लाख ६४ हजार ४५६ जनामा कोरोना सङ्क्रमण भएको थियो । यहाँ कोरोना सङ्क्रमण घट्ने क्रममा रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    गत २४ घण्टामा अर्थात शनिबार मध्यरातिसम्म कोरोना सङ्क्रमणको कारण २०३ जनाको मृत्यु पुष्टि भएपछि कूल मृतकको संख्या २१ हजार ९२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । यहाँ खोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख २६ हजार ४७१ पुगेको जनाइएको छ । यो संख्या दक्षिण कोरियाको कूल जनसंख्याको ८६.८ प्रतिशत भएको जनाइएको छ । (रासस÷सिन्ह्वा)

     

  • भक्तपुर महोत्सवमा पाँच करोडको कारोबार

    भक्तपुर महोत्सवमा पाँच करोडको कारोबार

    भक्तपुर, ४ वैशाख-
    औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले संयुक्तरुपमा आयोजना गरेको ११ दिने बृहत् छैठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आज अन्तिम दिनसम्ममा रु पाँच करोडको कारोबार भएको छ ।

    गत चैत २४ गतेदेखि भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनी जग्गामा सुरु भएको महोत्सवमा ११ दिनमा तीन लाखले अवलोकन गरेको जानकारी दिँदै संस्थाका अध्यक्ष सन्दीप महतले महोत्सव अवधिभर उक्त कारोबार गरेको जानकारी दिनुभयो ।

    वैशाख १ गते एकैदिन ५० हजारभन्दा बढीले महोत्सवको अवलोकन गरेको र त्यसदिनयता दैनिक ३५ हजारदेखि ४० हजारले अवलोकन गरेको उहाँको भनाइ छ ।

    सस्तो र गुणस्तरीय दैनिक उपभोग्य सामान एकैथलोमा पाउने भएपछि महोत्सवमा उपभोक्ताको भीड लागेको जनाउँदै उहाँले लत्ताकपडा, जुत्ता र अन्य घरासी सामानमा उपभोक्ताको आकर्षण बढेको र त्यस्ता सामानको कारोबार बढी भएको उहाँले बताउनुभयो ।

    महोत्सवमा दैनिक उपभोग्य खाद्यान्नका सामग्री, औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, ग्रामीण प्रविधि, अटो मोबाइल, विद्युतीय मेशिन कृषि औजार, मोबाइल तथा विद्युतीय सामानको प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय प्रदर्शनी, लत्ताकपडा तथा भाँडाकुँडाको प्रदर्शनी, एशियाकै उत्कृष्ट बालउद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव तथा विविध प्रस्तुतिसहितका २१० कक्ष राखिएको अध्यक्ष महतले जानकारी दिनुभयो ।

    महोत्सव विभिन्न सामानमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेपछि सामान खरिद गर्नेको भीड लागेको थियो । महोत्सवमा बालबालिकाका लागि सञ्चालन गरेका विभिन्न खेलौनामा पनि भीड लागेको थियो । बच्चादेखि युवा युवायुवती र सबै वर्गका पारिवारिक वातावरणमा महोत्सव आयोजना गरिएकाले महोत्सवमा आकर्षण बढेको महोत्सव आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिनुभयो ।

    दैनिक चर्चित गायक गायिका तथा कलाकारले साङ्गीतिक एवं हास्यव्यङ्ग्य प्रस्तुतिले युवा वर्गको आकर्षण बढाएको आयोजक मध्यपुर ब्वाइज व्याण्डका निर्देशक सुनिल बज्राचार्यले जानकारी दिनुभयो । (रासस)

  • चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द गरिँदै

    चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द गरिँदै

    –नारायण अधिकारी

    चितवन, ४ वैशाख-
    चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द गर्न लागिएको छ । प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन् प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो ।

    सन् २००८ मा निकुञ्जमा केन्द्र स्थापना गरिएको थियो । अण्डा र गिद्ध ल्याएर सुरु गरिएको केन्द्रमा हालसम्म १८ वटा बच्चा कोरलेर हुर्किएका छन् । चौध वर्षको अवधिमा सरकारको लगानीको तुलनामा प्रतिफल कम देखिएपछि प्रकृतिमा रहेका गिद्धलाई केन्द्रित गरेर जटायु रेस्टुरेन्टमार्फत कार्यक्रम गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हाल प्रजनन् केन्द्रमा १० गिद्ध मात्र छन् ।

    केही समयअघि त्यहाँका १० वटा गिद्धलाई नवलपरासीको पिठौलीमा रहेको जटायु रेस्टुरेन्टमा लगिएको छ । ती गिद्धलाई केही महिना त्यहीको खोरमा राखेपछि प्रकृतिमा छाडिनेछ । आचार्यका अनुसार ती गिद्ध छाडेपछि यहाँका १० गिद्धलाई लगिने कार्यक्रम छ । यससँगै कसरामा १४ वर्षदेखि सञ्चालन हुँदै आएको प्रजनन् केन्द्र बन्द हुने उहाँले बताउनुभयो । आगामी साउन महिनासम्ममा प्रजनन् केन्द्र बन्द हुनेछ । अघिल्ला तीन वर्ष गिद्धले अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेको छैन । कृत्रिमरुपमा गरिएको प्रजनन्भन्दा प्राकृतिकरुपमा प्रभावकारी देखिएपछि प्रकृतिमा नै संरक्षणमा जोड दिइएको हो ।

    निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार सन् २००८ बाट कसरामा गिद्ध प्रजनन् केन्द्र स्थापना गरी संरक्षण गर्न थालिएको हो । त्यसयता सन् २०१४ बाट प्रजनन् केन्द्रमा गिद्धले अण्डा पार्न सुरु गरेको हो । पहिलो वर्ष पाँच अण्डाबाट एउटा मात्रै बच्चा कोरलिएको थियो ।

    उहाँअनुसार सन् २०१५ मा सात अण्डाबाट एउटा पनि बच्चा कोरिलिएन । यस्तै सन् २०१६ मा १५ वटा अण्डाबाट नौ वटा बच्चा कोरलिएको भए पनि एउटा मरेको थियो । सन् २०१७ मा २१ अण्डाबाट छ बच्चा कोरलिएको थियो । सन् २०१८ मा २० अण्डाबाट दुई बच्चा कोरलिएकामा त्यसयता बच्चा कोरल्न सकेको छैन । सन् २०१९ मा १९ र २० मा १४ अण्डा पारे पनि बच्चा कोरल्न सफल नभएको उहाँले जानकारी दिनुभयो । गत वर्ष १२ वटा अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेन ।

    बाहिरबाट ल्याएर हुर्काइएका गिद्ध र केन्द्रमा नै अण्डा पारेर बच्चा कोरलेर हुर्काइएका गरी ४९ वटा गिद्ध प्रकृतिमा छाडिसकिएको छ । सन् २०१७ बाट प्रकृतिमा गिद्ध छोड्न सुरु गरिएको हो । पहिलो वर्ष छ गिद्ध छाडिएको थियो । सन् २०१८ मा १२, २०१९ मा १३ र यस वर्ष १८ वटा गिद्ध प्रकृतिमा छाडिएको छ । प्रकृतिमा छाड्नका लागि नवलपरासीको जटायु रेस्टुरेन्टमा जालीमा लगेर राख्ने गरिन्छ । प्रकृतिमा रहेका गिद्धसँग घुलमिल गराएर छोड्ने गरिन्छ । जटायु रेस्टुरेन्टमा प्रकृतिमा रहेका गिद्ध सँगसँगै खाने र उनीहरुको आनीबानी हेर्न मिल्नेगरी राखिएको हुन्छ । हाल प्रजनन् केन्द्रमा पाँच भाले र पाँच पोथी गिद्ध रहेका छन् । पाँच भाले र पाँच पोथी प्रकृतिमा छोड्नका लागि जटायु रेष्टुरेन्टमा लगिएको छ ।

    निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले पछिल्ला वर्षमा प्रकृतिमा रहेका गिद्धको प्रजनन् राम्रो र सङ्ख्या बढ्दै गएकाले प्रजनन् केन्द्रमा संरक्षण गरी हुर्काउनुभन्दा प्रकृतिमा नै संरक्षणमा जोड दिइएको बताउनुभयो । उहाँका अनुसार जटायु रेस्टुरेन्टलाई व्यवस्थित गरेर प्रकृतिमा रहेका गिद्धको संरक्षणमा विभाग लागेको छ ।

    नेपालले विश्वमा नै पहिलो पटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्ने काम गरेको हो । हाल नवलपरासीसँगै दाङ, कैलाली र कोशीटप्पुमा जटायु रेस्टुरेन्टमार्फत गिद्धको संरक्षण गरिँदै आएको छ । यसबाट परिस्थितीय प्रणालीको जगेर्नामा टेवा पुग्ने विश्वास लिइएको छ । मुख्यरुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने ‘डाइक्लोफिनाक’ नामक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मरेको संरक्षणकर्मी बताउँछन् । सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो ।

    त्यस्ता मासु खाँदा गिद्धको मिर्गौलामा खराबी हुने र गिद्ध मर्ने गरेको बताइएको छ । धेरै गिद्ध मरेपछि सरकारले संरक्षणमा जोड दिएको थियो । यो औषधिमा रोक लगाएसँगै प्रकृतिमा गिद्धको सङ्ख्या बढ्न थालेको महानिर्देशक कँडेलले बताउनुभयो । (रासस)

  • निर्वाचन नजिकिएसँगै चितवन जिल्लामा रगतको अभाव

    निर्वाचन नजिकिएसँगै चितवन जिल्लामा रगतको अभाव

    चितवन, ४ वैशाख-
    स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि जिल्लामा रगतको अभाव देखिन थालेको छ । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आवश्यकताअनुसार रगत उपलब्ध हुन छाडेको छ । राजनीतिक दल निर्वाचन केन्द्रित गतिविधिमा लागेकाले रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको हो । अहिले मागको ५० प्रतिशत मात्रै रगत उपलब्ध हुने गरेको केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिनुभयो ।

    अहिले केन्द्रमा दैनिक १५० युनिट रगत माग भएकामा ७० देखि ७५ युनिट मात्रै उपलब्ध गराउन सकिएको उहाँले बताउनुभयो । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र तीनका भ्रातृ संस्था निर्वाचन केन्द्रित कार्यक्रममा लागेपछि रगतको अभाव भएको उहाँले बताउनुभयो । प्रमुख पौडेलले भन्नुभयो, “सबैको ध्यान निर्वाचनमा केन्द्रित हुँदा रक्तदानमा ध्यान पुग्न सकेको छैन।” टोलटोलमा राजनीतिक कार्यक्रम भइरहेका छन् तर रक्तदान कार्यक्रम हुन नसकेको उहाँको भनाइ थियो ।

    अत्यधिक गर्मी, रक्तदाता बिरामी हुनु, क्याम्पसमा परीक्षाको समय हुनुलगायत कारणले पनि रक्तदान कार्यक्रम हुन नसकेको प्रमुख पौडेलले बताउनुभयो । नेपालको मध्यभागमा रहेको यस केन्द्रले चितवनसहित, नवलपरासी, परासी, धादिङ, गोरखा, मकवानपुर, बारा, पर्सा रौतहट, सर्लाही, लमजुङलगायत जिल्लाबाट रगत सङ्कलन गर्दै आएकोे छ । जिल्लामा एक सङ्घीय अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र दुई दर्जनभन्दा बढी साना अस्पतालमा दैनिक हुने शल्यक्रियाका लागि रगत सङ्कलन पर्याप्त हुन नसक्दा माग बढ्दै गएको छ । (रासस)

  • कोरोना सङ्क्रमण सामान्य भएपछि पर्यटकको सङ्ख्या बढ्यो

    कोरोना सङ्क्रमण सामान्य भएपछि पर्यटकको सङ्ख्या बढ्यो

    काठमाडौँ, ४ वैशाख-
    कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या दैनिक दुई हजार पुगेको छ ।

    सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्याङ्क हेर्दा दैनिक लगभग दुई हजार विदेशी पर्यटक नेपाल आउने गरेको अध्यागमन विभागले जानकारी दिएको छ । विभागका अनुसार अप्रिल १ तारिखमा एकैदिन दुई हजार ५१३ विदेशी पर्यटक नेपाल आएका छन् । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण दर करिब अन्त्य जस्तै भएकाले यहाँ भ्रमणका लागि पर्यटक आउनेक्रम एकाएक बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “कोरोना जोखिम शून्य जस्तै हुँदै गएको छ, अहिले पर्यटक आउनेक्रम बढेको छ, अझै पर्यटक आउनेक्रम बढ्नेछ ।” यसैगरी सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा कूल ७८ हजार १८२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ ।

    विभागले गरेको विश्लेषणअनुसार नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा देखिएको बढोत्तरी हेर्दा कोभिङ–१९ को नयाँ भेरियन्ट नआए वा अन्य कुनै कारणले पर्यटक आगमन प्रभावित नभएमा नेपालमा पर्यटक आगमनका हिसाबले सन् २०२२ आशायुक्त रहनेछ । नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै गएपछि उनीहरुको सहजताका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कारोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ ।

    पर्यटकको सङ्ख्या बढ्दै गएको र विमानस्थलमा राखिएका विद्युतीय कारोबार गर्ने सफ्टवयरले काम नगर्दा विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले २०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन आग्रह गरेको हो । (रासस)

  • द्यो स्वगं पूजा मनाइयो

    द्यो स्वगं पूजा मनाइयो

    भादगाउँ, ४ वैशाख-
    बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमेबाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

    जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर जात्रामा सहभागी भएका थिए । देवीदेवतालाई सगुन पूजा गर्न आआफ्ना द्योःछें (देवघर) बाट निकाली चोक तथा डबलीमा राखिएको थियो । जात्राका क्रममा सहभागीले देवीदेवतालाई आआफ्ना गच्छेअनुसारका परिकार चढाएका थिए ।

    यो पूजा प्राचीनकालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा उल्लेख रहेको पाइन्छ । बिस्का जात्राका क्रममा बिघ्नबाधा वा केही भुलचुक भए क्षमा पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताको पूजा गर्ने प्रचलनलाई सगुन जात्राका रूपमा लिने गरिएको भाषा वंशावलीमा समेत उल्लेख रहेको पाइएको संस्कृतिविद् ओम धौभडेलले जानकारी दिनुभयो । (रासस)

  • दलको चुनाव चिन्ह निर्धारण

    दलको चुनाव चिन्ह निर्धारण

    काठमाडौँ, ४ वैशाख-
    देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएकोे छ ।निर्वाचन आयोगकाअनुसार विस २०७४ को प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्याका आधारमा छ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको निर्वाचन चिन्ह निर्धारण गरिएको हो ।

    उक्त निर्वाचनमा नेकपा (एमाले)लाई ३१ लाख ७३ हजार ४९४, नेपाली कांग्रेसलाई ३१ लाख २८ हजार ३८९, नेकपा (माओवादी केन्द्र)लाई १३ लाख तीन हजार ७२१ र जनता समाजवादी पार्टी नेपाललाई नौ लाख ४२ हजार ४५५ मत प्राप्त भएको थियो ।विसं २०७४ को प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका र स्थानीय तहको निर्वाचनमा भाग लिन आयोगमा दर्ता भई राष्ट्रिय दलको मान्यता प्राप्त नगरे पनि जिल्लामा क्रियाशील सम्बन्धित दललाई आयोगबाट यसअघि प्रदान गरिएको निर्वाचन चिन्ह नै प्रदान गरिने भएको छ ।

    त्यस्ता राजनीतिक दलका निर्वाचन चिह्न स्थानीय तहको निर्वाचनका लागि तत् तत् जिल्लाका मतपत्रमा समावेश गर्ने आयोगबाट निर्णय भएको प्रवक्ता शालिग्राम शर्माले बताउनुभयो ।
    राष्ट्रिय मान्यता प्राप्त नगरेका तथा विस २०७४को निर्वाचनमा भाग नलिए पनि जिल्लाको राजनीतिक संरचनामा रही क्रियाशील रहेका राजनीतिक दललाई पनि आयोगको गत चैत १३ को निर्णयअनुसार स्थानीय तह निर्वाचनमा तत् तत् जिल्लाको मतपत्रमा सम्वन्धित दलका निर्वाचन चिन्ह समावेश गर्ने निर्णय भएको छ ।

    प्रमाणित जिल्लागत विवरण समावेश नगरिएका तर स्थानीय तह निर्वाचनका लागि दर्ता भएका राजनीतिक दलको तर्फबाट खडा हुने उम्मेदवार एव स्वतन्त्र उम्मेदवारलाई आयोगले निर्धारण गरेको स्वतन्त्र चिन्हको समूहबाट निर्वाचन चिन्ह प्रदान गरिने छ ।स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलमध्ये छ दल राष्ट्रिय मान्यता प्राप्त छन् भने २३ दल अघिल्लो निर्वाचनमा भाग लिएका हुन् । त्यस्तै ४० राजनीतिक दलले भने यस पटकको निर्वाचनमा भाग लिनका लागि आयोगबाट स्वीकृति पाएका छन् ।(रासस)

  • अपाङ्गता भएका व्यक्ति भन्छन् : मतदानस्थलसम्म जाने व्यवस्था गरियोस्

    अपाङ्गता भएका व्यक्ति भन्छन् : मतदानस्थलसम्म जाने व्यवस्था गरियोस्

    रुपन्देही, ४ वैशाख-
    अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुनुभयो । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो । मतदानस्थलसम्म आवात जावतका लागि सवारी साधनको व्यवस्थासमेत नभएपछि उहाँ निर्वाचनमा सहभागी हुन पाउनुभएन । “मेरो हिँडन सक्ने अवस्था थिएन त्यसैले भोट हाल्न पाइनँ, अहिले पनि भोट हाल्ने ठाउँसम्म पुग्न सक्दिनँ तर आउनेजाने साधनको व्यवस्था भए अबको चुनावमा भोट हाल्ने रहर छ ।”उहाँले सुनाउनुभयो ।

    लुम्बिनी–३ पडेरियाकी पुष्पा विश्वकर्मा पनि अपाङ्गता भएकै कारण मतदानको अधिकारबाट बञ्चित हुँदै आउनुभएको छ । पूर्ण अपाङ्गता भएका कारण विस्तारामै भएकाले निर्वाचनमा भोट हाल्न जान नपाएको उहाँको दुःखेसो छ । “चुनाव आयो भन्छन्, म त भोट हाल्न जान सक्दिनँ, अरुले लैजाँदैनन्”, उहाँले भन्नुभयो ।

    लुम्बिनी–१० का नेत्रबहादुर चुँदालीलाई यसपटकको चुनावमा पनि भोट हाल्न पाइँदैन भन्ने छ । गत निर्वाचनमा मताधिकार प्रयोग गर्न नपाएका चुँदाली कसैले जाने–आउने व्यवस्था गरे भोट दिन इच्छुक रहेको बताउनुहुन्छ । “मतदाता नामावलीमा नाम छ तर दुवै खुट्टा राम्रोसँग नचल्ने भएकाले भोट हाल्न जानसक्ने अवस्था छैन”, उहाँ भन्नुहुन्छ ।

    वडा नं १० कै सुराती धोबी, बबिता थारू, मार्कान्डे थारू र फूलमाया थापा पनि अपाङ्गता भएकै कारण मतदानस्थलसम्म पुग्न नसक्दा मताधिकारबाट बञ्चित हुँदै आउनुभएको छ । मतदाता नामावलीमा नाम भएर पनि यसपटकको चुनावमा समेत भोट हाल्न नपाउने हो कि भन्ने चिन्ता उहाँहरूलाई छ ।

    अपाङ्गता भएकै कारण निर्वाचनमा सहभागी हुन नसकेका अपाङ्गता भएकाहरू धेरै छन् । मतदान दिएकाले पनि निकै कष्ट खेपेर मतदानस्थल पुग्नुपरेको अनुभव उहाँहरूसँग छ । त्यसो त अझै पनि अधिकांश अपाङ्गता भएकाहरूको मतदाता नामावली नै नभएको राष्ट्रिय अपाङ्ग महासङ्घको भनाइ छ ।

    आसन्न स्थानीय तहको निर्र्वाचनलाई लिएर राजनीतिक दल र कार्यकर्ता निकै उत्साहित छन् यो बेला । तर सजिलै मतदान गर्ने अवस्था नहुँदा अपाङ्गता भएका व्यक्तिहरू भने निराश छन् । “न त हाम्रा उम्मेदवार छन् न हामीलाई भोट हाल्ने ठाउँसम्म लैजाने ल्याउने व्यवस्था छ”, अपाङ्गता भएकी फूलमाया थापा पीडा पोख्नुहुन्छ ।

    आफूहरूलाई सरकार र राजनीतिक दलहरुले प्राथमिकतामा नराखेको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो छ । “अपाङ्गता भएकाहरूलाई मान्छे नगन्ने परिपाटी अहिले पनि छ, त्यसै यो क्षेत्रलाई सरकार र राजनीतिक दलले प्राथमिकतामा राखेका छैनन”, बौद्धिक अपाङ्गताका अभिभावक लोकनाथ भुसाल भन्नुहुन्छ, “तर हामीले अपाङ्गतामैत्री मतदानस्थल र संरचना निर्माणका लागि निरन्तर दबाब दिइरहेका छौँ ।”

    निर्वाचनस्थलसमेत अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएकालाई भोट हाल्न निकै सकस हुन्छ । “राजनीतिक दलले अरु मतदाता ओसारपसार गर्छन् तर अपाङ्गता भएकालाई बोक्न गाह्रो मान्छन् आखिर भोट त सपाङ्गले दिए पनि अपाङ्गता भएकाले दिए पनि एउटै हो नि”, लुम्बिनीकी सामाजिक अगुवा मञ्जु ढकाल भन्नुहुन्छ । यसअघि भएका सङ्घीय, प्रदेश र स्थानीय तहका निर्वाचनमा लुम्बिनी क्षेत्रका अधिकांश मतदाताले भोट हाल्न नपाएको उहाँको भनाइ छ ।

    अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ११ ले अपाङ्गता भएका व्यक्तिलाई निर्वाचनमा उम्मेदवार बन्ने र कसैको सहायता लिएर वा नलिइकनै स्वतन्त्रतापूर्वक भयरहित वातावरणमा मत खसाल्ने र राजनीतिक अधिकार उपभोग गर्न पाउने कुरा सुनिश्चित गरेको छ । हरेक व्यक्तिलाई सिधै वा स्वतन्त्र किसिमले छानिएका जनप्रतिनिधिका रूपमा आफ्नो देशको सरकारमा सहभागी हुने अधिकार छ भन्नुहुन्छ, अधिवक्ता इन्दिरा आचार्य ।

    राजनीतिक तथा सार्वजनिक जीवनमा अपाङ्गता भएका व्यक्तिको सहभागिता, समावेशिता र प्रतिनिधित्व समावेशी, स्वस्थ्य र सुदृढ लोकतन्त्रका आधारभूत पक्ष हुन् । नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी राष्ट्रसङ्घीय महासन्धि (सिआरपीडी)को पक्षराष्ट्र हो ।

    यस सन्धिले अपाङ्गता भएका व्यक्तिले अरूसरह समानरूपमा राजनीतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था राज्य पक्षले प्रत्याभूत गर्ने भनेको छ । यसमा निर्वाचन तथा मतदान प्रक्रिया एवं निर्वाचन सामग्री अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त र उपयुक्त बनाउने, निर्वाचनका लागि उपयुक्त वातावरण बनाउने, सबै नागरिकले स्वतन्त्र किसिमले मताधिकार उपभोग गर्न पाउने सुनिश्चित गर्नेजस्ता कुरा पर्छन् ।

    कानुनले यस्ता अधिकार प्रत्याभूत गरेका भए पनि अपाङ्गता भएका व्यक्तिले निर्वाचन प्रक्रियामा सहभागी हुने क्रममा धेरैखाले व्यवधान र भेदभावको सामना गर्नु परिरहेको अधिवक्ता आचार्यको भनाइ छ । मतदान केन्द्रभित्र वा मतदान केन्द्रतिर जाने सिँढी, साना खुड्किला वा अग्लो सतह भएको ठाउँमा जान ह्वीलचियर प्रयोगकर्ताका लागि ¥याम्प आवश्यक हुन्छ, जुन आधारभूत संरचना हो तर यसतर्फ ध्यान नदिँदा मतदानस्थलसम्म पुग्न कठिनाइ हुने गरेको सैनामैना–१ निवासी ह्वीलचियर प्रयोगकर्ता मैया लम्साल गुनासो गर्नुहुन्छ ।

    अपाङ्गताका क्षेत्रमा कार्यरत अधिकारकर्मीहरूका अनुसार पार्किङ क्षेत्रबाट मतदान केन्द्रको प्रवेशद्वार पुग्ने पहुँचयुक्त बाटो, स्पर्श प्रणालीको मतपत्र र ब्रेल मतपत्र वा त्यससम्बन्धी निर्देशिका उपलब्ध गराएर, श्रव्य वा ठूला अक्षरमा निर्देशिका तयार पारेर, पर्याप्त प्रकाश, अक्षर ठूलो देखाउने म्याग्निफाइङ ग्लास आदिको चाँजोपाँजो मिलाएर दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिको मतदानमा पहुँच बढाउन सकिन्छ ।

    मतदानकार्य धेरै जनसङ्ख्यालाई पायक पर्ने स्कुलजस्ता सार्वजनिक भवनमा सञ्चालन गर्नुपर्छ । आवश्यक भए यस्ता भवनमा ¥याम्प निर्माण गर्नेबारे अतिरिक्त निर्देशिका पनि जारी गर्नुपर्छ । साथै निर्वाचनसम्बन्धी नियमावलीमा पहुँचसम्बन्धी मापदण्डमा आधारित भएर निर्वाचन केन्द्र स्थापना गर्नुपर्ने प्रावधान राख्नुपर्छ ।

    व्यवधानरहित पर्याप्त फराकिलो प्रवेशद्वार तथा बाहिर निस्कने बाटो, पहुँचयुक्त बस्ने व्यवस्था, पर्याप्त उज्यालो, पहुँचयुक्त शौचालय र सरसफाइसँग सम्बन्धित सेवा, ह्वीलचियर प्रयोगकर्ताका लागि मतदान केन्द्रभित्र हिँडडुल गर्नका लागि पर्याप्त ठाउँ तथा मतदान केन्द्र नजिकै ह्वीलचियर पार्किङ गर्ने ठाउँको व्यवस्था गर्नुपर्छ भन्नुहन्छ, राष्ट्रिय अपाङ्ग महासङ्घका प्रदेश सदस्य सावित्रा घिमिरे ।

    सम्बन्धित कानुनी दस्तावेजले निर्वाचनसम्बन्धी सामग्री तयार गर्दा पालना गर्नुपर्ने पहुँचसम्बन्धी मापदण्डबारे विवरण दिनुपर्छ । पहुँचयुक्त मतपत्र (बे्रल मतपत्र वा स्पर्श प्रणालीमा आधारित गाइड वा पर्याप्त ठूला आकारका चुनाव चिह्न), मतसङ्केत गर्न राखिएको टेबलको पहुँचयुक्त उचाइ र मतपेटिका, बे्रलमा रहेका चिह्न तथा मतदानसम्बन्धी निर्देशिका, श्रव्य निर्देशिका, ठूला अक्षरबारे विवरण दिनुपर्छ । यीबाहेक मतदान केन्द्रमा साङ्केतिक भाषाका दोभासेको पनि व्यवस्था हुनुपर्ने उहाँको भनाइ छ ।

    मतदान केन्द्र र मतदानस्थल अपाङ्गतामैत्री बनाउनेतर्फ निर्वाचन कार्यालयको समेत ध्यान पुगेको छैन । “यसअघि नै तोकिएका स्थल हुन् । अहिले थप अपाङ्गतामैत्री भनेर बनाउन सकिएको छैन”, निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारी भन्नुहुन्छ । उहाँका अनुसार यही वैशाख ३० गते हुन लागेको निर्वाचनमा रुपन्देहीमा ७०० मतदान केन्द्र र २०८ मतदानस्थल तोकिएका छन् । (रासस)

  • अझै कमी आएनन् लागुपदार्थ प्रयोगकर्ता

    अझै कमी आएनन् लागुपदार्थ प्रयोगकर्ता

    काभ्रेपलाञ्चोक, ४ वैशाख-
    सुरक्षाकर्मीले रातको समयमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार चालकलाई बुधबार राति नियन्त्रणमा लिए । अरनिको राजमार्गअन्तर्गत बनेपा क्षेत्रमा जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले दुई घण्टा जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि चारलाई पक्राउ गरेको हो ।

    जाँचका क्रममा शङ्कास्पद देखिएपछि धुलिखेलस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा लागुपदार्थ सेवन गरेको पाइएको जनाइएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार पक्राउ पर्नेमा बनेपा नगरपालिका–४ का ४२ वर्षीय महेश्वर श्रेष्ठ, रोतहटको गौर गाउँपालिका–१२ का ३६ वर्षीय गौरव सापकोटा, सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २४ वर्षीय राजकुमार बस्नेत र काठमाडौँको शङ्खरापुर नपा–२ का २७ वर्षीय विक्रम विष्ट रहेका छन् । उनीहरुलाई काभ्रे जिल्ला प्रशासनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइयो ।

    गत साता पनि सुरक्षाकर्मीको संयुक्त टोलीले रातको समयमा सोही क्षेत्रमा चालकको जाँच गर्दा चारैलाई पक्राउ गरिएको थियो । अघिल्लो साता भने दुई चालक पक्राउ परेको जनाइएको छ । राति र दिउँसो चालकमा जाँच गर्दा मादक पदार्थ सेवन (मापसे)को मासिकरूपमा सरदर २० चालक पक्राउ पर्ने गरेको जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार रातको समयमा निर्माण सामग्री ढुवानी गर्ने टिपरका चालक तथा दिउँसो अरनिको र बिपी दुई राजार्गमा यात्रुवाहक सवारीको पनि जाँच गर्न थालिएको छ ।

    मादक तथा लागुपदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना हुने भएकाले यसको न्यूनीकरण गर्न जाँचलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “५१ यात्रुवाहक सवारी जाँच गर्दा चार चालकले मापसे गरेको पाइयो, यसले स्थिति भयावह हो भन्ने आकलन गर्न सकिन्छ ।” उहाँका अनुसार कार्यालयमै लागुपदार्थ सेवन गरे–नगरेको पत्ता लगाउन धुलिखेलस्थित प्रादेशिक प्रयोगशालामा ‘किट’ माग गरिएको छ । हाल माग गरेअनुसार प्रयोगशालाबाट ५० देखि ६० वटासम्म किट उपलब्ध गराइएको छ । हाल साप्ताहिकरूपमा सवारीमा जाँच थालिएको हो ।

    यसो त काभ्रेको पनौती नपा–२ स्थित एक मेडिकलबाट दुई महिनाअघि चिकित्सकको आधिकारिक सिफारिसबिना प्रतिबन्धित औषधि (नशालु पदार्थका रूपमा सेवन गरिने) बिक्री गरेको भेटिएपछि ठूलो परिमाणमा विभिन्न औषधि बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनका अनुसार बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)बाट लागुऔषध ओसारपसार हुने गरेको घटनाक्रमले देखाएको छ । प्रहरीले सुराकीका आधारमा उक्त राजमार्गबाट आउने सवारी जाँच गर्दा दर्जनौँपटक प्रतिबन्धित औषधि बरामद गर्दै ओसारपसार संलग्न व्यक्तिलाई पक्रेर मुद्दासमेत चलाएको छ ।

    प्रहरीले ती घटनामा सुराकीको भरमा मात्रै जाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गरेको पाइन्छ । उसको तथ्याङ्कानुसार विशेषगरी ‘टिनएजर्स’ यसको तस्करी र प्रयोकर्ताका रूपमा देखिएका छन् । तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै लागुऔषध तस्करी आउने क्रममा प्रहरीले घटना विवरणानुसार लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ जिल्लालाई बनाएको देखिन्छ ।

    प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट भने प्रतिचक्की रु एक हजारदेखि एक हजार ५०० सम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा प्रतिबन्धित औषधि हो । काभ्रेपलाञ्चोक प्रहरीको तथ्याङ्कानुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३५ वटा मुद्दामा ६६ जना पक्राउ परेका छन् ।

    पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रूपमा रहेको बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताउनुभयो । यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका सहर तथा काठमाडौँमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेषगरी युवापुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको जनाइएको छ । पक्राउ परेकामध्ये अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिँदै आएका छन् ।(रासस)

  • इन्धनका लागि ‘गुइँठा’

    इन्धनका लागि ‘गुइँठा’

    बलेवा, ४ वैशाख-
    जिल्लाका ग्रामीण भेगमा गृहिणी इन्धनका लागि ‘गुइँठा’ (गाईभैँसीको गोबर पथारेर बनाइने दाउरा) को जोहोमा छन् । गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरनका चौरमा गोबर खोज्न निस्कनु यहाँका गृहिणीको दैनिकी नै हो । गोबर पथारेर फरक–फरक आकारका इन्धन प्रयोजनका ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ बनाइन्छन् ।

    प्रायःजसो जिल्लाका सबैजसो स्थानीय तहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिँदा छन् । आफ्ना वस्तुभाउ नहुने गृहिणी यसरी गोबरको खोजमा सडक, चौरमा छिटी बोकेर निस्कन्छन् । जिल्लाका १५ स्थानीय तहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगका गृहिणीको ‘गुइँठा’ बनाउने, सुकाउने र चाङ लगाएर राख्ने काम देखिएको हो ।

    “के गर्नु पकाएर खानु परिहाल्छ”, धमाधम गोबरको चिपरी पथार्न व्यस्त देखिनुभएकी बर्दिवास नगरपालिका–९ पशुपतिनगरकी गृहिणी शैलदेवी महतो भन्नुहुन्छ, “अहिले अन्य खेती कामको व्यस्तता नभएका बेला बर्खाभरिलाई चाहिने ‘चिपरी’ पथार्दै छु ।”

    जिल्लामा खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी, गुइँठा र गोरहामा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आम विश्वास छ । योभन्दा पनि इन्धनका लागि अन्य साधनको जोहो गर्न आर्थिक अवस्थाले नसक्नेहरूका लागि त गोबरको जोहो र गुइँठा पथार्ने काम अनिवार्य नै बनेको छ । त्यसो त स्वास्थ्यकर्मी ‘गुइठा’ मा पकाइएको खाना स्वस्थ्यकर हुने बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा गोबरका ‘चिपरी’ वा ‘गुइँठा’मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने बताउनुहुन्छ ।

    यहाँका महिला अहिले धेरैजसो कृषि कार्यबाट अलि फुर्सदिलो समय हुँदा वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’, ‘गुइँठा’ र ‘गोरहा’ पथार्ने (गोबरको ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ बनाउने कामलाई ‘पाथ्ने’ वा ‘पथार्ने’ भनिन्छ) गरेको बताउँछन् । घरमा पशुवस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर कुरी (थुप्रो) लगाउने र नहुनेले सडक र चरन क्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घरवरपर ल्याएर थुपार्ने महोत्तरी मात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ ।

    यसरी दुई–तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई–तीन दिन लगाएर ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ पाथ्ने गरिन्छ । सामान्यतया गोबरलाई चाक्लो पारेर घरका भित्ता–भित्तामा पथारिनेलाई ‘चिपरी’, भित्रपट्टि मसिना झिक्रा हालेर लामो डोलो बनाइने साना आकारका लाई ‘गुइँठा’ र भित्रपट्टि पराल हालेर पथारिने ठूला आकारका लाई ‘गोरहा’ भनिन्छ । यद्यपि सगोलमाभन्दा यसलाई ‘गुइँठा’ नै भनिन्छ । यसरी बनाइएका ‘गुइँठा’ घाम राम्रो लाग्ने ठाउँमा चाङ लगाएर राखिन्छ । यस्तो चाङ एक महिनाजति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकतानुसार खाना पकाउन प्रयोग गरिन्छ । खासगरी वन क्षेत्र टाढा भएका र घरको अर्थावस्थाले ग्यास किन्ने र प्रयोग गर्ने आर्थिक हैसियत नभएका घरमा इन्धनका लागि ‘चिपरी’ र ‘गुइँठा’ बालेर खाना पकाइन्छ ।

    मध्यपूर्वी तराई क्षेत्रमा घरपालुवा पशुवस्तु (गाई, गोरु, भैँसी र राँगा) को गोबर इन्धनमा खर्च हुने भएपछि जग्गा–जमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन् । “खेतबारीमा हाल्नुपर्ने कम्पोष्ट मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ”, महोत्तरीकै भङ्गाहा नगरपालिका–६ हतिसर्वा पर्साका ७० वर्षीय किसान दीपलालसिंह थारू भन्नुहुन्छ, “खेतबारी मलिलो बनाउने कम्पोष्ट मल नभएपछि उत्पादन निकै घटेको छ ।”

    अब इन्धनमा गोबरको विकल्प नखोजिने हो भने जग्गाको उर्वराशक्ति ह्रास भएर यहाँका जग्गा ढड्यान (उब्जा नहुने रुखो जग्गा) बन्ने किसान बताउँछन् । सरकारले सर्वसाधारण किसानलाई ग्यास चुलो जडान गर्न उत्प्रेरित गर्न र गरिब जनतासम्म वन सम्पदा (दाउरा) मा पहुँच बढाउन पहलकदमी लिनुपर्ने उनीहरुको भनाइ छ । (रासस)