Category: Banner तल ताजा समाचार

  • जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

    जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

    वालिङ, ५ वैशाख-
    स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो ।

    अन्य पाँचजनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका हुन् । मृत्यु हुने र घाइते हुने सबै एउटै गाउँका भएका कारण अहिले गाउँ शोकमा डुबेको छ । वालिङ नगरपालिका–१२ डाँडाखर्कबाट बायँटारी आउँदै गरेको ग१ज ७३९९ नंको जीप आइतबार बिहान फिरफिरेमा दुर्घटनामा परेको थियो । जीप ग्रामीण कच्ची सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो । (रासस)

  • चितवनमा बालबालिकाले लगाए टाइफाइड रोगविरुद्धको खोप

    चितवनमा बालबालिकाले लगाए टाइफाइड रोगविरुद्धको खोप

    चितवन, ५ चैत-
    जिल्लामा सञ्चालन गरिएको टाइफाइड रोगविरुद्धको खोप एक लाख ७४ हजार १० जना बालबालिकाले लगाएका छन् । सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको हो ।

    गत चैत २५ गतेदेखि सुरु भएको खोप अभियानमा बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अभियान वैशाख ४ गते सकिएको छ ।

    कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ७९ हजार २१६ र खैरहनी नगरपालिकामा १५ हजार २२८ बालबालिकाले खोप लगाएका छन् । यस्तै माडी नगरपालिकामा आठ हजार ८०४, रत्ननगर नगरपालिकामा २० हजार ५६२, राप्ती नगरपालिकामा १५ हजार ८६३, कालिका नगरपालिकामा १२ हजार ५५ र इच्छाकामना गाउँपालिकामा सात हजार २२४ बालबालिकालाई खोप लगाइएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । सो अभियानमा ५४० खोप केन्द्रबाट खोप दिइएको हो ।

    टाइफाइडको समस्या बढीमात्रामा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई हुने भएकाले बालबालिकालाई यो खोप लगाइएको उहाँले जानकारी दिनुभयो । दूषित खानेपानी र दिसापिसाब गरिसकेपछि साबुन पानीले हात नधोइ खानेबानी बालबालिकामा बढी हुने भएकाले यो रोगबाट बढीमात्रामा बालबालिका प्रभावित हुने गरेको उहाँले बताउनुभयो ।

    यो रोग प्रति एक लाख जनसङ्ख्यामा एक हजार ६२ जनामा सङ्क्रमण देखिने गरेको छ । १५ वर्ष मुनिका बालबालिका एक लाखमा एक हजार ९६० जनामा देखिने गरेको पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययनले देखाएको उहाँले बताउनुभयो ।

    राम्ररी पकाएको खानामात्रै खाने र खानेकुरा छोपेर राख्ने, बासी सडेगलेका र झिँगा भन्केको खाना नखाने, सफा र सुरक्षित पिउने पानीको मात्र प्रयोग गर्नेगरी यो रोगबाट बाँच्न सकिने उहाँले जानकारी दिनुभयो । (रासस)

  • घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

    घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

    काठमाडौं, ५ वैशाख-

    पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचाेकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो ।

    सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।- न्युज कारखाना

  • श्रीलंकामा राजापाक्षेले गरे १७ सदस्यीय मन्त्रीमण्डल गठन

    श्रीलंकामा राजापाक्षेले गरे १७ सदस्यीय मन्त्रीमण्डल गठन

    कोलम्बो, ५ वैशाख-
    संकटमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले १७ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । विपक्षीले राजीनामाको माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला राजापाक्षेले १७ सदस्यीय मन्त्रीमण्डल नियुक्त गरेका हुन् ।

    राजापाक्षेले सुरुमा आफ्नो मन्त्रीहरूको मन्त्रिपरिषद् बर्खास्त गरेर विपक्षीलाई नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । तर, उनको प्रस्तावलाई विपक्षीले अस्वीकार गरेका थिए । तर, उनले अहिले आफ्नो पार्टीका केही सदस्यलाई विभिन्न पदमा पुनः नियुक्त गरेका छन् ।

    सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि यो श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ ।
    दैनिक १२ घन्टा लोडसेडिङ, खाद्यान्न, औषधि र इन्धनको अभावले चौतर्फी असन्तुष्टि बढेको छ ।- एजेन्सी

  • भारतमा फेरि बढे कोभिड संक्रमित, पछिल्लो २४ घन्टामा २१४ जनाको मृत्यु

    भारतमा फेरि बढे कोभिड संक्रमित, पछिल्लो २४ घन्टामा २१४ जनाको मृत्यु

    नयाँ दिल्ली, ५ वैशाख-

    भारतमा कोभिड संक्रमित फेरि बढेका छन् । दैनिक संक्रमितको संख्यामा निरन्तर गिरावट आएको भारतमा पछिल्लाे एक सातामा संक्रमण दर बढ्को हो । पछिल्लो २४ घन्टामा २ हजार १ सय ८३ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनमा ८९दशमलब ८ प्रतिशतले बढी हो । आईतबार १ हजार १ सय ५० जनामा संक्रमण देखिएको थियो ।

    पछिल्लो २४ घन्टामा कोभिडका कारण २१४ जनाको मृत्यु भएको छ । दैनिक संक्रमण दर शून्य दशमलब ३१ बाट बढेर शून्य दशमलब ३ प्रतिशत पुगेको छ । सक्रिय संक्रमितको संख्यामा भने थोरै मात्र गिरावट आएको छ । सक्रिय संक्रमितको संख्या ११ हजार ५५८ बाट घटेर ११ हजार ५४२ पुगेको छ ।

    दिल्ली र छेउछाउका शहर गाजियाबाद र नोयडाका धेरै विद्यार्थीहरूले पछिल्ला केही सातामा कोभिड पोजेटिभ देखिएको छ । विद्यार्थीमा कोभिड देखिएपछि केही विद्यालय बन्द गरिएका छन् ।- एजेन्सी

     

  • सातौँ कृषि गणना भोलिदेखि : परिणाम आउन ५० दिन लाग्ने

    सातौँ कृषि गणना भोलिदेखि : परिणाम आउन ५० दिन लाग्ने

    काठमाडौँ, ५ वैशाख-
    मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले राससलाई जानकारी गराउनुभयो ।

    यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक १०÷१० वर्षमा कृषि गणना सुरु गर्दै आएको छ । यो सातौँ कृषि गणना हो । नेपालमा पहिलो कृषि गणना २०१८ सालमा भएको थियो ।

    वैशाख ६ देखि १९ सम्म सञ्चालन हुने कृषि गणना स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कूल तीन लाख ५० हजार कृषक परिवारसँग व्यक्तिगत अन्तवार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने भएको छ । तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ ।

    सातौँ कृषि गणनामा गणकले सङ्कटमा रैथाने पशुपक्षीको तथ्याङ्क, सम्पूर्ण बाली, माछा, पशुपक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गर्नेछन् । राष्ट्रिय जनगणना सुरु भएको छ महिनापछि हुन लागेको यस कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिन केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कमा नेपालमा हाल झण्डै ६६ प्रतिशत किसान रहेका र कूल गार्हस्थ उत्पादनमा कृषि तथा पशुपक्षी क्षेत्रको योगदान २७ प्रतिशत रहेको उल्लेख छ । राज्यले कृषिप्रधान मुलुक भने पनि भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको आठ महिना फागुन मसान्तसम्म कूल आयातको करिब एक तिहाइ अंश प्रत्यक्ष कृषिजन्य उत्पादनको छ ।

    यस वर्षको कृषि गणनामा पारिवारिक, व्यावसायिक, तथा संस्थागतरुपमा बाँझो जमिनको तथ्याङ्क सङ्कलन गरिने भएको छ । यसअघिको कृषि गणनाले १० लाख हेक्टर जमिन बाँझो रहेको उल्लेख छ । विज्ञका अनुसार नेपालमा बाँझो जमिनको आँकडा फराकिलो बन्दै गएको छ ।

    साताँै कृषि गणनाले किसानको सङ्ख्या, पशुपक्षीको गणना, कृषि ऋण, कृषि मजदुर, कृषिमा महिलाको सहभागिता, सिँचाइ, अनुदान लिने किसानको सङ्ख्या, कृषि औजारको प्रयोग, कृषिमा यान्त्रिीकीकरण, कृषि बिमा, रासायनिक मल, उन्नत बीउविजनको प्रयोग आदिका बारेमा तथ्याङ्क बाहिर आउने भएको छ ।

    कृषि गणनाबाट योजना तर्जुमा तथा नीतिनिर्माण, अनुगमन तथा मूल्याङ्कन, नीति र निर्मातालाई सहयोग पुग्ने अपेक्षा गर्न सकिने विभागका निर्देशक राजन सिलवालले जानकारी दिनुभयो ।

    राज्यले कृषि उत्पादनलाई ध्यान दिएको भए पनि प्रतिफल सोचेअनुरुप प्राप्त हुन सकेको छैन । कृषि कर्म गर्नसक्ने युवा वैदेशिक रोजगारमा जानु, राष्ट्रिय गौरवका सिँचाइका आयोजना समयमा नै निर्माण हुन नसक्नु, खेतीयोग्य जमिन प्रायःघडेरीमा रुपान्तरण हुनु, राज्यले उचित समयमा रासायनिक मल, उन्नत बीउविजन उपलब्ध गराउन नसक्नु आदिले कृषिको परनिर्भरता बढ्दै गएको छ ।

    आर्थिक वर्ष २०७८÷०७९ का लागि प्रस्तुत बजेटमा कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिीकीकरणमार्फत आगामी पाँच वर्षभित्र कृषिको दिगो विकास गरी कृषिमा आत्मनिर्भर बन्ने योजना अघि सार्दै आए पनि बाँझो जमिनको उपयोग, भूमिहीन सुकुम्बासीलाई जमिन दिने विषय गौण रहेका छन् । नेपालमा भूमिहीन तथा साना किसानको सङ्ख्या ४० लाख रहेको अनुमान छ ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयले करार खेती गर्न चाहनेलाई आवश्यकताअनुसार जमिन उपलब्ध गराउन सकेको छैन । खेतीयोग्य जमिनको खण्डीकरण रोक्न नसक्नु, बाँझो र बगर जमिनलाई उपयोगमा ल्याउन नसक्नाले कृषिमा आयात चुलिँदै गएको छ ।

    राज्यले कृषि मजदुर, भूमिहीन र सिमान्तकृत, मझौला र कृषि क्षेत्रमा संलग्न किसानलाई जमिन उपलब्ध गराउन सकेको छैन । छैठौँ कृषि गणना २०६८ मा १ लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेशा गर्न नपाएको उल्लेख छ । गणना अनुसार ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेकामा ८३ प्रतिशत जनता कृषि पेशामा आत्मनिर्भर छन् भने ४२ प्रतिशत कृषकले कृषि ऋण पाउन सकेका छैनन् । अब हुने साताँै कृषि गणनाको परिणाम कस्तो प्राप्त हुने हो त्यसको परिणाम आउन झन्डै ५० दिन पर्खनुपर्ने भएको छ । (रासस)

  • किन मानिसको आयु जनावरको भन्दा लामो हुन्छ ? वैज्ञानिकहरूले गरे यस्तो खुलासा

    किन मानिसको आयु जनावरको भन्दा लामो हुन्छ ? वैज्ञानिकहरूले गरे यस्तो खुलासा

    न्युयोर्क, ५ वैशाख-

    के तपाईंले कहिल्यै सोच्नुभएको छ मानिस किन हाम्रो वरपरका जनावरहरूभन्दा धेरै लामो जीवन बाँच्छ ? निश्चय नै तपाइँले एक वा धेरै पटक यसबारेमा सोचेको हुनुपर्छ ।
    हाम्रा पशु साथीहरू– कुकुर वा बिरालाहरूका लागि २० वर्षको आयु लामो हुन्छ तर हाम्रा लागि ५०–६० वर्षको आयु कहिलेकाही छोटो मानिन्छ । किन ?

    यसको साधारण कारण मानिसको औसत ७०–८० वर्षको उमेरमा मृत्यु हुनु हो । सन् २०१७ मा राष्ट्रसंघले मानिसको औषत आयु ७२ दशमलब ६ वर्ष जनाएको थियो ।

    किन हाम्रो आयु लामो छ त ?

    आयुले हाम्रो शरीरको आकारसँग केही सम्बन्ध राख्ने वैज्ञानिकहरू बताउँछन् । विज्ञहरूका अनुसार सानो शरिरको आकारले छिटो ऊर्जा खपत गर्छ जसले द्रुत गिरावट निम्त्याउँछ ।

    उदाहरणका लागि एउटा मुसाको औसत आयु ३ दशमलब ७ वर्ष हुन्छ जबकी कुकुरको १० देखि १३ वर्षसम्म हुन्छ ।

    त्यसो हो भने केवल पाँच इन्चको नांगो तिल मुसाको आयु किन जिराफ जत्तिकै हुन्छ ? जिराफ सामान्यतया २४ वर्ष बाँच्छ भने सानो मुसा २५ वर्ष बाँच्छ ।

    नेचर जर्नलमा प्रकाशित क्याम्ब्रिजको वेलकम सेंगर इन्स्टिच्युटले गरेको नयाँ अध्ययनले लामो वा छोटो आयुका पछाडि आनुवंशिक क्षय र डीएनए उत्परिवर्तनको दर रहेको जनाएको छ ।

    अध्ययनअनुसार लामो आयु भएका जनावरहरूले सफलतापूर्वक आफ्नोे डीएनए उत्परिवर्तन ढिलो गर्छन्, जसले उनीहरूको लामो आयुमा योगदान पु-याउँछ ।

    सोमाटिक उत्परिवर्तनहरू आनुवंशिक परिवर्तनहरू हुन् जुन सबै कोषिकाहरूमा हुन्छन् र प्रायः महत्वहीन हुन्छन् । तर, तिनीहरूमध्ये केहीले क्यान्सरको मार्गमा कोष राखिदिन सक्छन् वा सामान्य कार्यलाई असर गर्न सक्छन् ।

    टेलीग्राफको एउटा रिपोर्टले अध्ययनका लेखकलाई उद्धृत गर्दै लेखेको छ, ‘मुसा र बाघजस्तै जनावरहरूमा आनुवंशिक परिवर्तनहरूको समान ढाँचा फेला पर्नु अचम्मको विषय थियो । ’

    अब जिराफ र नग्न तिल–मुसाको उदाहरणतर्फ फर्कौ। तिनीहरूको लगभग समान आयुको चाबी आनुवंशिक उत्परिवर्तनको संख्यामा निहित छ । जिराफको आनुवंशिक उत्परिवर्तनको संख्या ९९ छ भने मुसाको ९३ हो ।

    हामी मानिसहरूले एक वर्षमा मात्र ४७ उत्परिवर्तनहरू सामना फर्कौ । जबकी ३ दशमलब ७ वर्ष आयु भएका मुसाले हरेक वर्ष ७९६ उत्परिवर्तनहरू सामना गर्छन् ।

    अनुसन्धानकर्ताहरूका अनुसार खोजले बुढ्यौली प्रक्रिया, मृत्युको अपरिहार्यता र समयको बारेमा ज्ञानको ढोका खोल्छ ।- एजेन्सी

     

  • यौन दुर्व्यवहारको घटनामा विद्यालय प्रशासन गम्भीर नबन्दा ठूलो क्षति

    यौन दुर्व्यवहारको घटनामा विद्यालय प्रशासन गम्भीर नबन्दा ठूलो क्षति

    कुलप्रसाद काफ्ले
    चितवन, ५ वैशाख-

    पूर्वीनवलपरासीकाे गैंडाकोट नगरपालिका-५ स्थित जनक माध्यमिक विद्यालय आइतबार दिउँसो तनावग्रस्त बन्यो । आफै पढ्दै आएको विद्यालयमा विद्यार्थीहरूले आगजनी र तोडफोड गरे । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६० सेल अश्रुग्यास हान्यो । प्रहरी निरीक्षकसहित आठ प्रहरी घाइते भए ।

    शिक्षकले एक छात्रालाई अश्लील भिडियो देखाएको र अश्लील शब्द प्रयोग गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका थिए । २८ चैतमा भएको दुर्व्यवहारको घटनालाई विद्यालय व्यवस्थापनले गम्भीर रूपले नलिँदा आइतबार अप्रिय घटना हुन पुगेको हो ।

    जनक माविमा कक्षा १२ मा अध्ययन गर्ने १७ वर्षीया एक छात्रालाई सोही विद्यालयका शिक्षक ३३ वर्षीय कपिल घिमिरेले अश्लील भिडियो देखाएर यौन दुर्व्यवहार गरेको आरोप छ । यौन दुर्व्यवहारको घटनाको विषयमा ढिलो गरी थाहा पाएको विद्यालय प्रशासनले घटना बुझ्ने क्रममै रहँदा विद्यार्थीको आक्रोशले उग्ररूप लिएको हो ।

    पीडित भनिएकी छात्रा पढाइमा मध्यमस्तरकी विद्यार्थी हुन् । उनी विद्यालयको वातावरण बिगार्ने र अनुशासनमा नबस्ने खालको विद्यार्थी नभएको एक शिक्षकले बताए । आइतबार घटनाको विषयमा छलफलकै क्रममा रहँदा सुरक्षाका लागि विद्यालय व्यवस्थापन समितिले प्रहरीलाई विद्यालयभित्र परिचालन गरेको थियो ।

    विद्यालयभित्र प्रहरी देखेपछि आक्रोशितको भिड बढेको स्थानीय बताउँछन् । स्थानीय भन्छन्, ‘दोषीलाई समयमै प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गर्न भनेको भए तोडफोड र आगजनीको अवस्था हुने थिएन ।’ तोडफोड र आगजनीबाट करोड बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज कँडेलले बताए ।

    विद्यालयको विज्ञान प्रयोगशालामा पूर्ण रूपमा क्षति भएको छ । त्यस्तै, पंखा, कम्युटर ल्याब, पानीका धारा, डेस्क बेन्च, झ्याल, शिक्षकका कुर्ची सोफालगायत विद्यार्थीले तोडफोड गरेका छन् । प्रधानाध्यापक चुडामणि शर्मा कँडेलको प्र३–००२ प २७७६ र आरोपित शिक्षक घिमिरेको ना २४ प ६६१५ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ ।

    आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डिएपी सन्तोष पाठकले जानकारी दिए । भिडलाई नियन्त्रण गर्ने क्रममा आन्दोलनकर्ता विद्यार्थीले ढुंगामुढा गरेपछि आठ प्रहरी सामान्य घाइते भएको उनले बताए । आन्दोलनकर्ता भने घाइते नभएको उनले बताए ।

    गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले घटनाको विषयमा जानकारी नदिने प्रधानाध्यापकको राजीनामा माग्ने तयारी गरेका छन् । अनुसन्धानपछि आरोप लगाइएका शिक्षक दोषी ठहरिए उनलाई बर्खास्त गर्छौँ । घटनाको जानकारी नदिने प्रधानाध्यापकसँग पनि राजीनामा माग्ने छु’, उनले भने ।- न्युज कारखाना

  • विराटनगरमा मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

    विराटनगरमा मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

    मोरङ, ५ वैशाख-

    विराटनगर महानगरपालिका–९ मा पार्किङ गरेको को.२० प ५०१० नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१२ बस्ने २६ वर्षीय राज कुमार कामत र २० वर्षीय प्रबिन मण्डल रहेका छन् । उक्त मोटरसाइकल शनिबार साँझ चोरी भएको थियो ।

    उनीहरुमाथि जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ४ दिन म्याद थप गरी प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।- न्युज कारखाना

     

  • दलहरूलाई टक्कर दिन पोखराबाट अटेरी अभियान, देशभर सन्जाल बढ्दै

    दलहरूलाई टक्कर दिन पोखराबाट अटेरी अभियान, देशभर सन्जाल बढ्दै

    पोखरा, ५ वैशाख-

    स्थानीय निर्वाचनमा दलीय प्रतिनिधित्वको विरोध गर्दै राम्रो उम्मेद्‌वार उठाउनुपर्ने एजेण्डासहित पोखराबाट अटेरी अभियान सुरु भएको छ । पोखरा महानगरसहित देशका विभिन्न स्थानीय तहमा करिब चार हजार तीन सय जनाले अटेरी अभियानबाट उम्मेद्‌वारी घोषणा गरिसकेका छन् ।

    साहित्यकार तथा लेखक गनेश पौडेलले अघिल्लो स्थानीय निर्वाचनपछि स्थानीय तहको चुनाव निर्दलीय हुनुपर्ने एजेण्डा स्थापित गर्ने सोच बनाए । त्यसपछि निरन्तर नजिकका साथीहरूसँग छलफल गरेर पोखरा महानगरपालिकामा आफैंले मेयर पदको उम्मेद्‌वारका रूपमा घोषणा गरे ।

    ‘४/५ वर्षदेखि मैले यसको डिजाईन गरिरहेको थिएँ । दलका भ्रष्ट नेताहरू विरुद्ध आवाज कसरी उठाउने भनेर धेरै सोचे । त्यही सोचको उपज हो, अटेरी अभियान,’ उनले भने, ‘आज देशभर नराम्रा कुरामा हाम्रा साथीहरूले अटेर गर्नुभएको छ । दलहरूलाई प्रेसर बढेको छ ।’

    अहिले देशभर चार हजार दुई सय ८७ जनाले अटेरी उम्मेद्‌वारी घोषणा गरिसकेका छन् । पोखरा महानगरपालिकाभित्रै १५ वटा वडामा अध्यक्षका उम्मेद्‌वार निस्किएका छन् भने कास्कीका अन्य पालिकामा पनि उम्मेद्‌वारी घोषणा भइसकेको छ । अटेरी उम्मेद्‌वारहरूले भूगोल र परिस्थिति अनुसारको कार्ययोजनापत्र सार्वजनिक पनि गरिरहेका छन् । दुई साताअघि पोखरामा देशभरका अटेरी उम्मेद्‌वारहरू भेला भएर एकीकृत घोषणापत्र सार्वजनिक गरेका थिए।

    ‘जनप्रतिनिधि भनेको इमान्दार हुनुपर्छ । आफ्नो पालिकालाई के बनाउने भन्ने बुझ्न सक्ने हुनुपर्छ,’ पौडेल भन्छन्, ‘पैसाका भरमा जस्ताले पनि चुनाव जित्ने हुँदा हाम्रो भविष्य नै बर्बाद भयो । हामीले उनीहरूलाई अटेर गर्‍यौं ।’ तर अहिले दलहरूलाई पनि राम्रो उम्मेद्‌वार उठाउनुपर्ने दबाब सिर्जना भएको उनी बताउँछन् ।

    ‘मेरो पार्टीको उम्मेद्‌वार राम्रो नभए गनेशले भोट काट्छ भन्ने सबैलाई लागेको छ । राम्रो उम्मेद्‌वार खोजिरहेका छन्,’ उनले थपे, ‘हामी सही बाटोमा छौं । पहिले जे गर्न खोजेका थियौं अहिले त्यही भइरहेको छ ।’

    पार्टीका उम्मेद्‌वारहरूले भेला, जुलुस, आमसभा, कार्यकर्ता भेटघाट, चुनावको नाममा जे पनि गर्न पैसाको खोलो बगाउन थालेकोले भ्रष्टाचार बढेको भन्दै इमान्दार र राम्रा उम्मेद्‌वारले विना पैसा चुनाव जित्ने आधार निर्माण गर्न अभियानको थालनी गरिएको पौडेलले बताए । अटेरी अभियानले आमसभा र र्‍याली नगर्ने घोषणा गरिसकेको छ ।

    मतदातासम्म पुग्न प्रविधिको प्रयोग गर्ने र चोकचोकमा पुगेर मतदातालाई घोषणापत्र बेच्ने कामको सुरुवात गरिएको छ । चुनावी खर्च चलाउनका लागि ३० रुपैयाँमा घोषणापत्र बेच्ने काम थालिएको अभियानले जनाएको छ ।

    दलको विचार नबोकी राजनीति गर्न सक्ने गरी अभियान निरन्तर चलाइरहने अटेरी समूहले जनाएको छ । चुनावी अभियानसँगै देशभर यसको सन्जाल विस्तार भएको छ । विस्तारै यसलाई पार्टीको रूपमा विकास गर्ने तयारी भइरहेको बुझिन्छ । ‘साथीहरूले पार्टी बनाएर लैजाऔं भन्नुभएको छ । हामी यो चुनावलगत्तै एउटा भेला गर्छौं र छलफलको निष्कर्ष अनुरुप अघि बढ्छौं,’ उनले भने, ‘पार्टीको रूपमा विकास हुन पनि सक्छ । तर, अभियान भने निरन्तर रहिरहन्छ ।’ अहिले अटेर गरेर उम्मेद्‌वारी घोषणा गरेकाहरूलाई पार्टीले आफ्नो पार्टीबाट चुनाव लड्न भनेका छन् भने कतिपय ठाउँमा फिर्ता लिन दबाब दिइरहेको अभियानका सदस्यहरुले बताएका छन् ।
    – न्युज कारखाना