Author: admin

  • बालगृहका २२ जनामा कोरोना संक्रमण पुष्टि

    बालगृहका २२ जनामा कोरोना संक्रमण पुष्टि

    वाग्मती । मकवानपुरस्थित भीमफेदी बालगृहका २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    भीमफेदी गाउँपालिका–६ स्थित नेपाल बाल संगठनअन्तर्गतका सो बालगृहमा एकै दिन २२ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये बालगृहका दुई कर्मचारी र २० बालबालिका रहेको भीमफेदी गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

    एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएका उनीहरुलाई छुट्टै स्थानमा स्थानान्तरण गरिएको बताइएको छ ।

    बिहीबार मात्रै बालगृहनजिक रहेको भीमफेदी कारागारका ३५५ कैदीबन्दीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । रासस

  • जनयुद्धका लडाकु अटोरिक्साबाट जीवन चलाउंँदै

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ३ का ४२ वर्षीय गणेश चौधरी अटो रिक्सा चलाएर जीविका चलाउँदै आएका छन् । उनी रहरले नभएर बाध्यताले अटो व्यवसायमा संलग्न छन् । उनले चार कठ्ठा जग्गा बेचेर अटो खरिद गरेका हुन् ।

    सूर्योदयदेखि साँझ अबेरसम्म तत्लीन उनी सवारी नपाएको दिन रितो हात घरसमेत फर्किन्छन् । कमाई नभएको दिन निराश भने हुँदैनन् । औसतमा दैनिक उनको कमाई एक हजार जति हुने गर्दछ । अटोबाट हुने कमाइबाट सन्तुष्ट भएको उनी बताउँछन् ।

    “परिवारसँगै बस्न पाएको छु”, उनले भने, “दिनभरि अटो चलाउँछु साँझ परिवारसँग बसेर सुख दुःख साटासाट गरी बस्न पाएको छु । यसमै सन्तुष्ट छु ।” उनका परिवारमा एक छोरा, एक छोरी र श्रीमती  छन् । उनले दुई वर्ष वैदेशिक रोजगारमा साउदी अरेबिया र चार वर्ष मलेशियामा बिताएका थिए ।

    “धेरै कमाई हुन्छ भन्ने सपना बोकेर वैदेशिक रोजगारीमा कर्जा गरेर गएको थिए । कर्जा तिर्नमै ठिक्क भयो । दुई पटक विदेशिए पनि कमाई हुन सकेन”, उनले भने, “थोरै तलबमा धेरै काम गर्नु पर्दथ्यो ।

    केही आफनै खर्चका लागि ठिक्क हुन्थ्यो । बचेको रकम परिवारको खर्चका लागि पठाउँदा सकिन्थ्यो । बचत गर्न सकिएन । पैसा कमाउने उद्देश्यले वैदेशिक रोजगारीमा गएको थिए । पैसा नै बचत नहुने भएपछि घर फर्के ।” बेरोजगार भएर बस्नुभन्दा जग्गा बेचेरै भए पनि अटो किनेको उनी बताउँछन् ।  अटो किन्न चार कठ्ठा र वैदेशिक रोजगारीमा जानुअघि बिरामी पर्दा दुई कठ्ठा जग्गा बेच्नु परेको उनले बताए ।

    वैदेशिक रोजगारीमा जानुअघि उनी तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा समेत सहभागी भए । उनी विसं २०५८ भदौको २९ गतेलाई विर्षने प्रयत्न गरे पनि विर्षन सक्दैनन् । उनले भने, “ माटोका खाल्डोमा रातभरी बसे । ”

    गणेश जस्तै जनयुद्धमा सहभागी भएका वसन्त चौधरीसमेत अटो चलाएर जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा– ३ जोनापुरका चौधरीले अटो रिक्सा चलाउन थालेपछि परिवारको खर्च सहजरुपमा चल्न थालेको छ । बैंकबाट रु आठ लाख ऋण निकालेर चौधरीले अटो रिक्सा खरिद गरेका छन् ।

  • शुक्रबार हुने भनिएको भरतपुर अस्पताल विकास समिति कर्मचारी यूनियनको निर्वाचन स्थगित

    चितवन । भरतपुर अस्पताल विकास समिति कर्मचारी यूनियनको निर्वाचन स्थगित भएको छ । कोरोना भाईरसका बिरामीको संख्या बढ्दै गएपछि आज(शुक्रवार)हुने भनेको निर्वाचन स्थगित भएको हो ।

    जिल्ला प्रशासन कार्यालय चितवनले  भरतपुर अस्पताललाई निर्वाचन रोक्न अनुरोध गरेको थियो  । प्रशासनको आदेश आएपछि भरतपुर अस्पतालले अन्तिम समयमा आएर निर्वाचन स्थगित गराएको हो । निर्वाचनका लागि आज ११ देखि ४ बजेसम्मको समय तोकिएको थियो ।

    भरतपुर अस्पताल विकास समिति कर्मचारी यूनियनमा ३ सय ३५ जना सदस्य रहेका छन् । आज तोकिएको निर्वाचनमा साउन १३ गते नै उमेद्वारले मनोनयन दर्ता गराएका थिए । समितिमा पाँच पदाधिकारी सहित ९ सदस्य हुने व्यवस्था छ । अध्यक्ष पदका लागि तीन जनाले उमेद्वारी दिएका थिए । हालका उपाध्यक्ष कृष्णप्रसाद शर्मा, विष्णु बास्तोला र डा. दामोदर तिवारीले अध्यक्ष पदका लागि उमेद्वारी दिनुभएको थियो । त्यस्तै उपाध्यक्षमा डा.दिपेन्द्र न्यौपाने र सचिवमा शिव शर्माको एकल उमेद्वारी परेको थियो । कोषाध्यक्षमा डा. प्रतिक न्यौपाने र अस्मिता ज्ञवाली, सह–सचिव पदका लागि  उत्तम पौडेल, राजनबाबू तिवारी र शर्मिला ढकालले उमेद्वारी दिएका थिए । त्यस्तै सदस्य पदका लागि  अनुजा खनाल, रमा रिजाल, तलसी थापा, रमाकुमारी लामिछाने, ज्ञानबहादुर भण्डारी, बुद्धलाल गुरुङ, इरिना प्रधान र गौरी शर्माको उमेद्वारी परेको थियो ।

    भरतपुर अस्पताल विकास समिति कर्मचारी यूनियनको विधान अनुसार, एक कार्याकाल दुई बर्ष रहने व्यवस्था छ । यूनियनको नियम अनुसार, असार १ गते भित्र नै निर्वाचन हुनेपर्ने थियो । तर, कोरोना महामारीका कारण साउन सारिएको हो ।

    जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति निर्वाचन गराउने संस्थाका उपाध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार, निर्वाचन नहुँदा सम्म यही कार्यसमितिले काम गर्नेछ । यसअघि दिएका उमेद्वारको विषयमा भोलि बस्ने निर्वाचन समिति, हालको कार्यसमिति र पुर्व अध्यक्षको बैठकले अबको भावि कार्ययोजना प्रस्तुत गर्ने शर्माले जानकारी दिए ।

  • धार परिवर्तन गरेको मर्स्याङ्दीलाई पुरानै धारमा फर्काइयो

    मनाङ । मनाङ भएर बग्ने मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो ।

    नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिनादिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण चामे बजार उच्च जोखिममा परेको थियो ।

    जिल्लाका विभिन्न सुरक्षा निकाय र स्थानीयको महिना दिनभन्दा लामो प्रयासपछि बिहीबार मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काउन सफल भएको सशस्त्र प्रहरी बल मनाङका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए ।

    उनले भने, “महिनौँ दिनपछि आज मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काउन सफल भएका छौँ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र विभिन्न सुरक्षा निकायको निरन्तरको प्रयासपश्चात् नदीलाई पुरानै धारमा फर्कायौँ ।”

    अहिले नदी पुरानै बाटो हुँदै बगेको छ । नदीको बहावका कारण जोखिममा रहेका बस्तीको खतरा तत्कालका लागि हटेको स्थानीयले बताएका छन् । उता मर्स्याङ्दीमा आएको बाढीले चामे बजारमा रहेको एकमात्र झोलुङ्गे पुल पनि बगाएपछि समस्या थपिएको छ ।

    यही साउन ५ गते राति आएको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुङ्गे पुल बगाएको छ । माथिल्लो मनाङ जाने बेलिब्रिज जोखिममा परेपछि स्थानीय उक्त पुलबाट आवातजावत गर्दथे । झोलुङ्गे पुल पनि बगाएपछि स्थानीयलाई वारपार गर्नसमेत अहिले समस्या भएको छ ।

    असार १ को बाढीले मनाङमा सडक, पुल, विद्यालय भवन र बस्ती बगाउने खतरा बढेसँगै  सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक पन्थीले बताए । रासस

  • कोरोनाको कारण जलविरे झरनाको आम्दानी ३० लाख गुम्यो

    चितवन । कोरोनाका कारण चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल जलवीरे झरनालाई ठूलो असर परेको छ । १२ महीना नै पर्यटक आउने यो झरनामा निषेधाज्ञाका कारण पर्यटक आउन सकेका छैनन् ।

    चितवनको एकमात्र इच्छाकामना गाउँपालिकाको लागि यो राम्रो  आम्दानीको स्रोत थियो । मनकामना केबुलकार पछिकै आम्दानी गर्न सकिने पर्यटकीय गन्तव्य भए पनि विगत डेढ वर्षदेखि भने यहाँबाट हुने आम्दानी ठप्प बनेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन् ।

    उनका अनुसार जलवीरे झरनाबाट मात्रै हालसम्म करीब ३० लाख रूपैयाँभन्दा बढी आम्दानी गुमेको छ । ‘जाडोको सिजनमा नुहाउन त्यति पर्यटक नआएपनि अन्य महीनाहरुमा भिड हुन्थ्यो उनले भनिन्, कोरोनाले न पर्यटक आउँछन् न आम्दानी भएको छ ।’ गाउँपालिकाले यहाँ घुम्न आउने स्थानीयलाई प्रति व्यक्ति २० रुपैयाँ, बाह्य जिल्लाको आन्तरिक पर्यटकको लागि ३० र विदेशी पर्यटकको लागि ५० रुपैयाँ शुल्क तोकेको छ ।

    गाउँपालिकाको तथ्यांकअनुसार गर्मीको समयमा दैनिक १० देखि १५ हजार जना यहाँ आउने गर्थे । लामो झरना अवलोकन गर्न र नुहाउनका लागि काठमाडौं, पोखरा लगायतका आन्तरिक पर्यटकहरुको भीड हुने गरेको गुरुङले बताइन् । ‘देशकै मुटु मुग्लिन भएर जाने बाटोमै पर्छ, उनले भनिन्, पूर्व पश्चिम जहाँका मानिस पनि रमाएर फर्किन सक्ने भए ।’

    निषेधाज्ञा खुकुलो भएपछि पर्यटकको चहलपहलमा वृद्धि
    निषेधाज्ञा खुकुलो हुँदै गएपछि र यातायातको आगमन बढ्दै गएपछि पछिल्ला दिनहरुमा पर्यटकहरु जलवीरे झरना जान थालेका छन् । गर्मी बढ्दै गए पनि निषेधाज्ञा जारी गरेपछि पूर्णरुपमा ठप्प भएको गाउँपालिकाले आधिकारिकरुपमा खुलाएको घोषणा नगरे पनि झरना आउनेलाई नरोकेकोले चहलपहल बढ्दै गएको हो ।

    ‘त्यति साह्रै जोखिम र भिड पनि छैन, घुम्न आउनेलाई हामीले रोकेका छैनौं, गुरुङले भनिन्, सरकारको आदेश अनुसार औपचारिक रुपमा पछि खुल्ला ।’ अहिले कति पर्यटक घुम्न आए भनेर यकिन तथ्यांक नराखे पनि चहलपहल तुलनात्मकरुपमा बढ्दै गएको उनले बताइन् ।

    गाउँपालिकाभित्र कोरोना संक्रमितको संख्या न्यून भए पनि जिल्लाको अन्य क्षेत्रमा अझै कम नभएको हुँदा औपचारिक रुपमा खुलाउने वातावरण नभएको उनले बताइन् । ‘अहिले पर्ख र हेरकै अवस्थामा छौं संक्रमण घटे खोल्नु पर्ला, बढ्यो भने बन्द गर्नुपर्ने अवस्था आउँछ ।’ उनले भनिन्  कोरोनाको जोखिम घटेपछि थप व्यवस्थित गरेर पर्यटकको संख्या वृद्धि गर्ने योजना गाउँपालिकाको रहेको उनको भनाइ छ ।

    हाल बाह्य पर्यटक शून्य जस्तै भएपनि यहाँ परिवारका सदस्य, पौडी खेल्ने केही समूह र चितवन जिल्ला भएर अन्य जिल्ला जाने पर्यटकहरु आएको उनले जानकारी दिइन् । झरनाको आकर्षण बढाउन गोलघर, रेलिङसहितको सिँढी बाटो र शौचालयको सुविधा सहितका संरचना निर्माण गरिएकोे छ ।

  • दुध उत्पादनमा औजारीकरण : भरतपुरका किसानलाइ दूध दुहुने र घाँस काट्ने मेसिन वितरण

    चितवन । किसानलाई दूध उत्पादनमा औजारीकरण र व्यवसायीकरण गर्न दूध दुहुने मेसिन र घाँस काट्ने मेसिन वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले यहाँका ३८ जना दुग्ध उत्पादक किसानलाई उक्त औजार वितरण गरेको हो ।

    किसानहरुलाई वितरण गरिएको दूध दुहुने मेसिन र घाँस काट्ने मेसिनले किसानलाई धेरै सहजता दिलाउने महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले बताए ।

    किसानका सबै माग र आवश्यकतालाई आफूहरुले नीति तथा कार्यक्रममा पारेर पारित गरेर लैजाने उनको भनाइ छ । कृषिको विकासबाट पनि नै महानगरको विकास र समृद्धि हासिल गर्न मदत पुग्ने भन्दै उनले आफूहरु किसानसँग सहकार्य र हातेमालो गर्दै अघि बढ्ने बताए ।

    महानगर प्रमुख रेनु दाहालले कृषिमा आधुनीकिकरण, औजारीकरण र व्यवसायीकरण गरी किसानलाई दूध उत्पादनमा आकर्षित गराउने उद्देश्य सहित औजार वितरण गरिएको बताइन् ।

    कृषिमा यान्त्रिकरण र व्यवसायीकरण गर्न महानगर लागिहरेको भन्दै दाहालले उत्पादन लागत घटाउँदै किसानलाई कृषिमा आत्मनिर्भर बनाउनु महानगरको योजना रहेको बताइन् ।

    कृषि कर्ममा लाग्ने किसानलाई व्यवसायीकरण गर्न कार्यविधि बनाएर अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको  दाहालको भनाइ छ । पहुँचको भरमा अनुदान खाने तर वास्तविक किसानले नपाउने अवस्था सृजना हुन नदिन कार्यविधिले महत्वपुर्ण भुमिका खेल्ने उनले बताइन् ।

    युनिक गाई पालन फार्म भरतपुरका किसान एवम् राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालका केन्द्रिय अध्यक्ष आनन्द न्युरेले आफूहरुले धेरै वर्ष पछि बल्ल राहतको अनुभूति गरेको बताए । महानगरका किसानहरुको आत्मबल विकाससँगै किसानलाई यान्त्रिकरण र व्यवसायीकरणमा जोड दिनुपर्ने दायित्व सरकारको रहेको उनको भनाइ थियो ।

    महानगरले किसानलाई धान रोप्ने मेसिन, कृषि कर्ममा प्रयोग हुने ट्याक्टर, घासकाट्ने मेसिनदेखि दूध दुहुने मेसिन हस्तान्तरण गरिसकेको छ । हाल महानगरले दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान यसै वर्षदेखि लागू गरेको छ ।